Tuesday, December 18, 2012

अस्पतालमा पनि 'सोर्सफोर्स'

आफन्तका उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं  पुगेको थिएँ। एकजना चिनजानका काँग्रेसी युवा कार्यकर्ता भेटिएपछि सोध्नै परो, 'अस्पतालमा किन?'
उनले फर्काए, 'एकजना गाउँले दाइको घाँटीको अपरेशन चार महिना पछि भनेका रहेछन् डाक्टरले, भनसुन गरेर बल्ल अर्को सातालाई सारें।'
उपचारका लागि गएका मेरा आफन्तले म पट्टि पुलुक्क हेरे। उनको आँखाबाटै मैले बुझें, उनको अपरेसन तीन महिना पछाडि थियो अब अझ थप एक हप्ता पछाडि परेछ किन कि उनको भनसुन गरिदिने कोही थिएन।
जब देश 'सिस्टम'ले चल्दैन अनि अस्पतालमा उपचारका लागि पनि सोर्सफोर्स लाउन नि नेता खोज्दै हिड्नपर्छ। मेरो नेपाल...

धनीकोमा बस्नुस् न प्रधानमन्त्री

प्रधानमन्त्री जनताकोमा बस्न गएकोमा मलाई त रमाइलै लाइराछ। तै पनि एउटा सल्लाह, बाबुराम जी तपाई गरिब किसानकै घराँ जन्मेको हुँ भन्नुहुन्छ। गरिबको स्थिति कस्तो छ भनेर जान्न तपाईलाई गरिबका घरैमा गएर बस्न पर्छ झैं मान्दिन। बरु यसो धनीका घराँ घुम्नु, बस्नु। हामी गरिबलाई नि तिनै धनीको जस्तै व्यवस्था गरिदिनु। गरिबकाँ मात्र डुल्दा डुल्दा तपाईंले त अलिअलि भाकालाई त्यस्तै बनाइदिनुहुन्छ कि भन्ने डर भो।

माओवादी नेताले गाई किसानलाई सुनाएको अनुभव

गाई किसानकै प्रसङ्ग चल्दा गोरखाका किसानले पालेका करिब दुई सय गाई हेरेपछि एमाओवादी वाइसिएलका एक जना नेताको प्रतिक्रिया तिनै किसानले सुनाएका :'हाम्रा केटाहरुले पनि गाई पाल्न सक्छन् कि भनेर बुझ्न आएको थिएँ, तर यहाँ तपाईंको लगन र परिश्रम हेरेपछि बुझें हाम्रा केटाहरुले बाँधेर राखेको गाई फुकाइदिएपछि नजिकैको माटो खाएर गोठमा आउने अनि एक पाथी दुध बाल्टीमा दिने भए मात्रै पाल्छन् नभए यति दु:ख गरेर पाल्दैनन्।'

दुग्ध सहकारीका अध्यक्षको गाई भैंसी छैन


दुई सय जति गाई पालेका, मेसिनबाट समेत दुध दुहुने, दैनिक पाँच हजार लिटर जति दुध बेच्ने गोरखाका एक जना किसानले भने, 'मैले धेरै गाई पालेर दुध बेच्छु भनेर के गर्नु, गाई भैसी नै नभएका मान्छे नेपालमा दुग्ध विकास सहकारीका अध्यक्ष छन्।'

Tuesday, December 11, 2012

गाला चड्काउन थप उत्साहित हुने पो हुन् कि

प्रचण्डलाई थप्पड हान्ने पदम कुँवरलाई देश/विदेशबाट आएको सहयोग अनि प्रचण्डले नै २८ हजार रुपैयाँ धरौटी दिएर जेलमुक्त गराइदिएपछि र पदम कुँवर अबिर माला लगाएर हिंडेको देखेपछि मलाई त केटाहरु ठूलाबडाका गाला चड्काउन थप उत्साहित हुने पो हुन् कि भन्ने डर लाग्यो त। होस गरौं है, बेलैमा सचेत बनाउने भन्दा अरु त मैले के नै गर्न सक्छु र ?

Monday, December 10, 2012

२८ हजार नहुँदा

पदम कुँवरले प्रचण्डलाई थप्पड हानेपछि कति देशी/विदेशीले त्यही प्रकरणको शोकमा र कति द‌ेशी/विदेशीले त्यसैको उन्मादमा २८ लाखको दारु खाए होलान् आजसम्म। तर, तिनै पदम कुवँर २८ हजार रुपैयाँ धरौटी राख्न नसकेर जेल चलान भएछन्। मलाई मेरो देश मन पर्छ।

बेलामा अफिस आउने अधिकार

बिहानैको ट्राफिक जामले बेलाँ अफिस आइपुग्ने अधिकार खोसियो। किन यति सबेरै जाम भएछ आज, भनेको त मानव अधिकार दिवसको उपलक्ष्यमा अधिकारकर्मीहरु जो सडक कब्जा गर्दै र्‍यालीमा हिंडिरहेका रहेछन्। जय मानव अधिकार...

Friday, December 7, 2012

किन तीन करोड भनिरहेको ?

मनमा लागिरहेको कुरो नि: नेपालको जनसख्या २ करोड ६४ लाख भनी तथ्याङ्क आइसक्दा पनि नेताहरूले भाषणमा 'तीन करोड जनताको सवाल छ ह्याँ', 'तीन करोड जनताको भावना विपरित हुन्छ' भनिरहेका छन्। कहाँकालाई जोडेका हुन् तिनले ?

Sunday, December 2, 2012

प्रचण्डले प्रमको नाम लिइदिएनन्

एकजना ठूलै नेताले मलाई भने भन्दै ठूलै पत्रकार सुनाएका, 'प्रचण्डले धेरैलाई प्रधानमन्त्री बाँड्दै हिंड्दा पनि मेरो नाम कतै आएन, लउ न एकपटक नाम लिइदिन भन्नुस्। पार्टीभित्र र बाहिर अलिकति भए नि इज्जत बढ्थ्यो कि।' कसलाई के को पिर कसलाई के को पिर।

Wednesday, November 28, 2012

सिमेन्टका कुरा

धेरैजसो सिमेन्टको टिभी विज्ञापनमा कर्णाली पुल देखाउँछन्। तर मलाई इन्जिनियरहरुले भने अनुसार कर्णाली पुल नेपाली सिमेन्टले बनेको होइन। अहिले देशमा निर्माण भइरहेका ठूला परियोजनाहरुमा पनि नेपाली सिमेन्ट प्रयोग गरिदैंन, कारण नेपाली सिमेन्ट कम्पनीले चाहेजति सिमेन्ट उपलब्ध गराउनै सक्दैनन्।

Friday, November 23, 2012

दिन बिताउने तरिका

हिजो प्रधानमन्त्रीको भाषण कुरेरै दिन बित्यो। आज राष्ट्रपतिको कदम हो कि आव्हान हो कुरेरै दिन बित्ने पक्का छ। आखिर दिनै बिताउनु त छ जसरी पनि।

Tuesday, November 20, 2012

फेसबुकेले मिल्नेभए पदम कुँवरलाई राष्ट्रपति बनाउने रैछन्

प्रचण्ड झापड काण्डमा को/कोले के के लेखे भनेर जान्न दुई घन्टा जति फेसबुक र टि्वटरमा अल्झिएपछि एउटा खतरा कुरा पत्ता लगाएँ मैले, 'यी फेसबुके र टि्वटेले सक्नेभए आउने चुनावमा राष्ट्रपतिमा पदम कुँवर (प्रचण्डलाई पड्काउने), प्रधानमन्त्रीमा देवीप्रसाद रेग्मी (झलनाथलाई झापड हान्ने ), गृहमन्त्रीमा प्रवेश बस्नेत (सुशीललाई ताक्ने) र बिना विभागीय मन्त्री भए पनि प्रेमराज देवकोटा (झक्कुलाई झपडाउने) लाई जिताउने थिए। धन्न यी फेसबुके र टि्वटेहरुले यहाँ मात्र हल्ला गर्छन्, भोट हाल्नमा ध्यान दिन्नन् र पो नत्र त ठूला नेताको बिजोकै हुने रैछ।

Monday, November 19, 2012

चिनेपनि नचिने झैं, राम्रै गर्‍यौ अभिनय


अफिस आउँदा चक्रपथ घुम्ने बसमा बजेको लोकगीत:
चिनेपनि नचिने झैं, राम्रै गर्‍यौ अभिनय !
कसरी दिउँ फेरि मैले, तिमीलाई मेरो परिचय !!

Saturday, November 17, 2012

रित्ता डोकाका कथा


हरेक फोटोको कथा हुन्छ भनेर मान्ने हो भने, यी रित्ता डोकाका पनि कथा छ। बेलायती सेनामा भर्ती हुन चाहने पोखराका युवाहरु एकाबिहानै यस्ता डोकामा ३०/३५ किलोका ढुङ्गा बोकेर नजिकको डाँडो-थुम्को तिर लाग्छन्। डाँडामा पुगेपछि ढुङ्गा फाल्छन् अनि सिटअप, पुसअप जस्ता शारीरिक व्यायाम गरे गरेर रित्तो डोको घर फर्कन्छन्। बेलायती सेनाले अचेल वर्षेनी एक सय जति तन्दुरुस्त नेपाली युवालाई भर्ति लिन्छ।

Friday, November 16, 2012

पत्रकारका कुरै ठूला

पत्रकार भएकैमा छिमेकीको गाली खाइयो आज, 'खोई पट्रकार जी, प्रचण्ड झापड खाको डृश्य कुनै टिभीले डेखाउन सक्या होइन, चाहिने कुरा खिच्नु छैन, कुरै ठूला टपाईंका..............!!

Wednesday, November 14, 2012

हतारिएकाहरु नेपालमा जन्मे

एउटा जोक:  पृथ्वीमा जन्म लिनको लागि स्वर्ग/नर्कमा थुप्रै आत्माहरु लाममा लागेर बसेका हुन्छन् रे। धैर्य गुमाएकाहरु छोटो लाइनमा बस्छन् रे। छोटो लाममा बसेकाहरु छिटै जन्मन त पाउँछन् तर नेपाल जस्ता अविकसित देशहरुमा।
त्यसैले अहिले नै कोहीकोहीले साथीले निर्णय सुनाएका छन्, 'अर्को जुनिमा विकसित देशमा जन्मन पर्ला जति कुर्न परे पनि लामो लाइनमा बस्छु।

कहाँ हराए ट्राफिकको चश्मा

काठमाडौंका ट्राफिक प्रहरीहरु दुई महिना जति अगाडि अष्ट्रेलियालीले दिएको चस्मा लगाएर सडकमा उभिन्थे। अष्ट्रेलियाले नेपाली ट्राफिक मार्फत त्यो चस्मा हितकारी छ कि छैन भनेर प्रयोग गर्न खोजेकाले आँखामा हानी पुग्या भएर ट्राफिक प्रहरीले त्यो लाउन छाडेका हुन् कि, ट्राफिक प्रहरीले ती चस्मा आफ्ना साथी भाइ, साला सालीलाई बाँडे कि के भो कुन्नि आजभोलि एक दुई जना मात्र आक्कल झुक्कल त्यो चस्मा लगाएका ट्राफिक प्रहरी देख्छु बाटामा।
एउटा जिज्ञासा लाग्या कुरा नि...

बजेट आयो कि दारुको दाम बढ्छ

'धन्न विपक्षीहरुले तिहार अगाडि बजेट ल्याउन दिएनन्, न त रक्सीको दाम बढेर तिहारै बिग्रन सक्थ्यो' - एकजना दारुवाज मित्रले बिहानै फोन गरेर विपक्षी दलहरुलाई धन्यवाद दिनपर्ने कुरा सुनाए। हुन पनि नेपालमा बजेट बनाउने हरेक अर्थमन्त्रीले गर्ने एउटा काम भन्या त्यही दारुमा कर बढाइदिने त हो नि। तर तिहारपछि आउने बजेटले बढ्ने कर सम्झेर अहिल्यै धेरै नपिउँ है, स्वास्थ्य बिग्रेला।

Saturday, November 10, 2012

गरिहालेछन् नि संकल्प

देशमै सबैभन्दा धेरै बिक्ने पत्रिका चलाउने कान्तिपुर समूहले 'हरेक नेपालीले परिवर्तनका लागि संकल्प गर्ने' भन्या होइन ! संकल्प गरिहालेछन् नि, चुनावको घोषणा गरिसकेको कामचलाउ माओवादी नेतृत्वको सत्ता गठवन्धनले जसरी पनि पूर्ण बजेट ल्याउने भनेर अड्को थापिरहने अनि काँग्रेस-एमाले नेतृत्वको विपक्षी गठवन्धनले राष्ट्रपतिलाई गुहारेर भए पनि आन्दोलन गरेर भए पनि बाबुराम भट्टराई नेतृत्वको सरकारलाई ढाल्ने भनेर देशलाई यथास्थितिमा राखिरहने। गरौं गरौं सकल्प...

कान्तिपुरका साथीहरले के के स‌कल्प गरे कुन्नि?

मेरा फेसबुकका साथीमा धेरैजसो कान्तिपुरका नै केही-केही पूर्व र अन्य वर्तमान पत्रकार, स्तम्भकार, लेखक, प्राविधिक, कर्मचारीहरु नै छन्। तिनले देश परिवर्तनका लागि आज के के संकल्प गरे कुन्नि यता फेसबुकमा नै भए पनि जान्न पाए हुन्थ्यो भन्ने लाइराको अवस्था छ।

Friday, November 9, 2012

विष्फोटक पदार्थ नहुँदा कामले गति लिएन

अबको तीन वर्षभित्र ४५६ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएर सुरुङ खन्ने काम भइरहेको माथिल्लो तामाकोशीमा विष्फोटक पदार्थ नभएर कामले गति लिन सकेको रहेनछ। दिनमा ४२ मिटरसम्म सुरुङ खनेकाहरु सरकारलाई तीन साता अगाडि नै विष्फोटक पदार्थ नभएको लेखेर पठाए पनि मन्त्रालयले ध्यान नदिएको भन्दै दुखेसो पोखे। हुन त बजेटमा व्यस्त काठमाडौंलाई के वास्ता रहला र? तै पनि...

Wednesday, November 7, 2012

पत्रिका किन्दा मोबाइल उपहार

धेरै नेपालीको अँग्रेजी सुधार्न होला पत्रिकाका साहुजीहरुले नेपालीभन्दा अँग्रेजी पत्रिका सस्तो बनाएकाले आज सत्र सौ रुप्पे तिरी The Kathmandu Post को वार्षिक ग्राहक बनियो। ग्राहक बन्दा पाइने स्क्य्राच कुपनमा मोबाइल परो। 'मायोजले जस्तो खेलौना कार' नदिएर कान्तिपुर पब्लिकेसन्सले मोबाइल सक्कली दिने त पक्कै छ तर आशा चाहिँ नेपालमा पाइने सबैभन्दा सस्तो १५/१६ सयको मोबाइल नदिएर राम्रै देलान् भन्ने हो। कति लोभी हुँदोरहेछ त मान्छेको मन, सित्तैमा उपहार पाउँदा नि गतिलै पाइयोस् भन्ने...

Sunday, November 4, 2012

दशैंको गाउँ अनुभव

दशैंको गाउँ अनुभव : गाउँघरमा 'एई माइला, ओए कान्छी, एहे बाबु' भन्दै चिच्याएर बोलाएको सुन्न छाडिएछ। वल्ला घरकाले पल्ला घरकालाई बोलाउन परे पनि मोबाइलको प्रयोग गर्दारहेछन्।

Friday, November 2, 2012

मोबाइलमा अश्लील फोटा

बिहानको खवर: भाग्यले पाइने माइक्राँ अगाडिको सिट पाइयो। दायाँतिर चालक थिए। देब्रेतिरका यात्रीले टच स्क्रिन वाला मोबाइलमा अश्लील फोटाहरु एकपछि अर्को गर्दै ठूला पार्दै हेरिरहेपछि चालक त्यतै तर्फ ढल्किरहे। गुरुजीको ध्यान त्यता नजाओस् भन्दै जीउलाई घरी अगाडि घरी पछाडि ढल्काएर गुरुजीको आँखा कमसेकम मोबाइलमा पर्न दिएर अफिस आइपुगियो, कुनै दुर्घटना नभई...

Tuesday, October 30, 2012

कस्तो हुनुपर्नेरहेछ सुनसान हुनलाई?

काठमाडौंमा यसपटक दशैंमा सुनसान भएन भनेर गाउँमै रेडियोमा समाचार सुनेको। तर अरु बेला घटीमा एक घन्टा लाग्ने अफिस आउन आज दशैं बिदा सकिएर पूर्णीमा परेवाको दिन जम्मा २५ मिनेटमै ल्याइपुर्याओ चक्रपथ घुम्ने बसले। यी रेडियोलाई कस्तो हुनुपर्ने रहेछ कुन्नि काठमाडौं सुनसान हुन?

ठोक्किन आम्छन् त गाडी नि, मान्छे नि

मोटर नगुड्ने ठाममा गोडा दशेक दिन बसेर आको त। यो काठमाडौं छातिमा आफूले हिड्नै नजानेर हो कि, ह्याँकालाई दशैंले नछोडेको हो, ठोक्किन आम्छन् त गाडी पनि, मान्छे पनि।

काठमाडौं फर्किदाँ धन्नै गाडीले थिचेन

काठमाडौं सँधै ठूला बसमा आउने जाने बानी परेको, सडकको खाल्डाखुल्डी खासै देखिन्थेन अलिअलि उफार्थ्यो मात्र। मौकाले/भाग्यले यसपटक सानो गाडीमा काठमाडौं फर्किन पाइयो। राम राम! खानीखोलाबाट नागढुंगासम्म आउँदा सानो गाडी त खाल्डोमा परेर माथिबाट अर्को गाडीले थिच्ला जस्तो पो हुनेरहेछ बेलाबेलामा। काठमाडौं गिटी बालुवा ल्याउने ट्रिपरले बाटो बिगारेर होला काठमाडौं भित्रिने तर्फको सडक लेन त अर्को भन्दा एक हात जति तल छ।
काठमाडौं फर्कँदा सकभर पाएसम्म ठूलै बस नभए टडकमै हिंड्न पर्ने हामीलाई नै रमाइलो रछ।

Saturday, October 27, 2012

युरिया हालेको जमरा

गाउँको चौतारीमा भेला भएकाहरुको गफ 'यसपटकको दशैंमा जमरा राम्रोसँग सप्रिएन त्यसैले अलिकति युरिया हालें मैले त।'

Sunday, October 21, 2012

दशैंमा सम्झने एक घटना

दशैं आएपिच्छे सम्झने एउटा घटना।
म नौ कक्षामा पढ्दै गर्दा दशैंमा एउटा कार्यक्रम राखेका थियौ गाउँमा। शहरतिरबाट दशैं मनाउन गएका गन्य-मान्य भन्नेहरुले गाउँ यस्तो भो/उस्तो भो, गाउँ बिग्रियो भन्दै गाउँलेका कुरा निकै काटे। त्यसपछि गाविसका अध्यक्षले भाषण गरे- 'वर्षमा पाँच दिन गाउँ आउँछन् दशैं मनाउन, अनि कार्यक्रम राखेर भाषण गर्दै गाउँ बिग्रियो, यसो गर उसो गर भन्छन्। गाउँलाई साँच्चै माया गर्ने हो भने गाउँ फर्किएर आओ। यही गाउँमा बसेर गाउँ बनाऔं। नभए दोष मात्र नदिओ।'
Note: दशैंमा गाउँ गएर भाषण गर्ने हो भने होस गरम् है।

Thursday, October 18, 2012

यो दशैं परिवारका लागि

यसपालि दशैंमा न हाइकिङ, न ट्रेकिङ, न बाइकिङ, न कुनै घुमघाम, न कुनै ध्यान क्याम्प। बा- आमाको लागि हो एक साता।
यतिकुरा लेख्दै मन भरिएर आइसक्यो। जतिसक्दो छिटो गाउँ हिडिन्छ अब।

Sunday, September 30, 2012

सरकारी अस्पतालको ट्वाइलेट सफा गर्ने संस्था छैन कुनै?



हैन, सरकारले गरेको कामले मात्र जनताको फलिफाप भएन भनेर नेपालीको जीवनस्तर उकास्ने भन्दै यत्रा एनजिओ आइएनजीओ ले काम गरिरहेका छन् नेपालमा। सरकारले त सकेन सकने सरकारी अस्पतालको ट्वाइलेट सफा गर्ने कोही एनजिओ आइएनजीओ छैन भन्या यो देशमा ?
वीर अस्पताल भित्रको एउटा शौचालय बाहिरबाट हेर्दा यती राम्रो देखेर भित्र छिरेको। राम राम! सात वर्षदेखि पिनासबाट थलिएकाले पनि थाहा पाउने गन्धले धन्नै 'फेन्ट' भइएन।
सरकारी अस्पतालका शौचालय सफा राख्ने मात्र कुनै संस्था भए वर्षको पाँच हजार रुपैयाँ मै पनि दान गर्थे‌ सक्दासम्म त बरु। किन सरकारी अस्पतालका शौचालय त्यति विघ्न फोहर हुन् भन्या ?

Wednesday, September 26, 2012

तपाईंको शौचालय कहाँ छ कुन्नि ?

कतै सुनेको : खोल्सा-खोल्सी, रूख वा ढुंगाको कापमा लुकेर शौच गर्ने परिवार आर्थिक हिसाबले मात्र होइन ज्ञानको हिसाबले पनि 'गरिब' हो। घरको अलि पर कान्लाछेउमा बोराले घेरेको शौचालय छ भने गरिब भन्दा अलिक माथिका। आँगनको छेउ वा करेसाबारीनिर अर्धपक्की शौचालय बनाएमा 'मध्यमवर्गीय' तर्फको यात्रामा। घरसँगै टाँसिएका तर मूल ढोकाबाहिर शौचालय बनाएका 'मध्यमवर्गीय'। घरको मूल ढोकाभित्र शौचालय भए पक्कापक्की 'मध्यमवर्गीय'। शयनकक्षभित्र शौचालय भए त 'उच्च मध्यमवर्गीय'।
तपाईंको शौचालय कहाँ छ कुन्नि ?

अछाममा दुई धाराको कथा

अछाम सदरमुकाममा एउटै मुलमा दुई धारा छन्। भाँडाको बढी भिड भएको धारा चाहिँ कथित उपल्ला जातको। कम भएको चाहिँ तल्ला बनाइएका जातिको। आजभोलिका केही दलित युवाहरु भने बाहुन क्षेत्रीका भनिएका धारामा गएर पानी भर्दारहेछन्। तर अहिलेसम्म पनि सबैको त्यो हिम्मत आइसकेको रहेनछ।
उता दलित बाहेककाहरु पनि भिड बढी नै भए पनि पालो कुरेर कथित माथिल्लो जातकै भनिएको धाराबाट पानी भर्दा रहेछन्। भिड कम भए पनि दलितको लागि छुट्टयाइएको धारामा जाँदा रहनेछन्।

नेपाली फिल्ममा 'बाई वन गेट वन फ्री'

मलाई चलचित्रकर्मीहरु मन पर्छन् कारण एक त उनीहरुमा 'सेलिब्रेटी'को आकर्षण हुन्छ। अर्को नेपाली चलचित्रकर्मीले कहिलेकाहीँ रमाइला घटना सुनाउँछन्। आज एकजनालाई सोधेको थिएँ,'फिलिम कत्तिको पाइरहिएको छ?
उनले सुनाइन्, 'आजभोलि Buy one get one free चलेको छ नेपाली फिलिम क्षेत्रमा, मेरो पिताजी पनि फिलिम क्षेत्रकै हुनुहुन्छ त्यसैले मलाई लिएपछि बाले फ्रीमा अभिनय गर्दिने भएकाले खाली बस्नुपरेको छैन।'
अरु पनि छन् रे नेपाली फिलिम इन्डष्ट्रीमा बालाई डाइरेक्टर लिए छोरीले फ्रीमा हिरोइन खेल्दिने, छोरालाई फिल्ममा खेलाए बाउले फ्रीमा डान्स/फाइट डाइरेक्सन गर्दिने।

Sunday, September 23, 2012

दुई थरी विश्लेषकलाई सुन्न नपरे हुन्थ्यो


प्रभु दुई किसिमका विश्लेषकहरुको कुरा सुन्नबाट मलाई बचाइदेउ,
1) विश्वमा अन्यत्र यस्तो कतै हुनै सक्दैन/भएकै छैन भनेर संसारकै ठेक्का लिनेहरुबाट।

2) यो निर्वीकल्प हो अरु विकल्पै छैन भन्नेहरुबाट।
(निर्वीकल्प भन्ने पञ्चायती व्यवस्था त ढल्दो रहेछ। संसारमा निर्वीकल्प भन्ने एक दुई कुरा मात्र होलान्। श्वास प्रश्वास नफेरी बाँच्न सकिदैंन, परिवर्तन भन्ने कुरा निर्वीकल्प हो)

Friday, September 21, 2012

'सुन्न नसक्ने' भनेर किन थपेको ?

समाचारको शिर्षकमा बहिरा मात्र नभनेर किन सुन्न नसक्ने थप्न परेको होला?
यो समाचार लेख्ने, सम्पादन गर्नेलाई सुन्न सक्ने पनि बहिरा हुन्छन् भन्ने लाग्छ कि ?  बनेपास्थित बहिरा स्कूलको सूचना पाटीमा टाँसेर राखेको एउटा समाचार। 

Thursday, September 20, 2012

मन्त्री मोडल


हाम्रा अर्थमन्त्रीलाई मोटरसाइकलमा चढेको पनि कस्तो सुहाउँदो रहेछ भनेर सकारात्मक कुरा मनमा आएको भए पनि हुने। तर कस्तो नकरात्मक कुरा खेल्यो भने मेरो मनमा। हेर त! व्यापारीले नेता अझ अर्थमन्त्रीलाई नै मोडल बनाएको। (ती पछाडि उभिएका पद्म ज्योती, माओवादीबाट विघटित संविधानसभामा मनोनित सभासद थिए।)

Tuesday, September 18, 2012

'खलनायक' नै भनी श्रद्धान्जली

कसैको मृत्युमा 'खलनायक' नै भनी श्रद्धान्जली व्यक्त गरेको विज्ञापन पहिलोपटक पत्रिकामा देखियो, सायद फिल्मको खलनायक थिए होलान् यिनी।

Monday, September 17, 2012

दशैंमा घर आउँने तर सुटुक्क

बिदेशमा बस्ने मध्ये कति जना बिचरा नेपालीहरुले 'बिदामा घर जाँदैछु' भनेर आफ्ना नेपाली साथी भाइलाई भन्न पनि सक्दैन रहेछन्। 'दशैंका बेलाँ घर आउँदैछु। तर कसैलाई भन्न मिल्दैन है, यहाँबाट सामान लगिदे भनेर हैरान पार्छन'- अमेरिकाबाट दशैंमा घर आउन लागेकी एक जना भद्र महिलाले भन्नुभयो।

तीजको ज्वाईं

चार वर्ष यता तीजको दर खाने दिन सबैभन्दा मन नपर्ने दिन मध्ये एक हो मेरा लागि। ससुराली नजिकै घर बनेदेखि दरमा आफ्नो चेलीसँगै बोलाउँछन् ससुरालीबाट। जति जान्न भनेर बस्दा नि सुख पाउन्न। 'कहाँ एक्लै' भन्दै घरै लिउन आउँछन्। कि गाउँमा बाबुआमासँगै बसेको भए आनन्द हुनेरहेछ। 'जान्न' भन्यो भने, 'एक्लै किन घर बस्ने' भन्दै बुढी पनि ठुस्सिएर हैरान पार्छे। जाम 'श्राद्धको सालो तिजको ज्वाईँ' भन्ने उखान सम्झेर साह्रै आत्मस्वाभिमान गिह्रे जस्तो लाग्छ।

Wednesday, September 12, 2012

अफिस टाइम जस्तोमा खुल्ने ATM


ATM भनेको Automated Teller Machine भए पनि म जस्तो अबुझहरुले Anytime Money भनेर बुझिन्छ। तर हाम्रो देशमा यो एउटा बैंक रहेछ ATM मा पनि निश्चित समयमा मात्र पैसो झिक्न पाइने। त्यो पनि बिहान ८ बजेदेखि ९.३० सम्म अनि साँझ ४ बजेदेखि ५.३० सम्म। अछाम सदरमुकाम मंगलसेनमा देखेको एउटा मात्र ATM मेसिन बाहिरको सूचना।

Tuesday, September 11, 2012

झ्याम्म लाग्ने दर

भदौ २४ गतेको कान्तिपुर दैनिकमा छापिएको एक विज्ञापन, वाइन खाऔं तीज मनाऔं
श्रीमान्: दर कस्तो थियो?
श्रीमती: खोई गिलासमा राखेका थिए। 2/3 गिलास पिइदिएको, एकछिनमा झ्याम्म पार्नेरहेछ। त्यसपछि एकछिन जोसले नाचियो।
तीजका अवसरमा भन्दै तीज आउन भन्दा महिना दिन अगाडि देखि नै दर खाने/खुवाउने चलन बढ्दो छ। तर दाजुभाइ, आमाबुबा, माइतीले दिदी बहिनी वा छोरी चेलीलाई बोलाएर घरमा होइन । व्यापारिक संघसंस्थाले पैसा लिएर दरको टिकट बेच्छन्। टिकट किन्नुस र दर खानुस्।

Monday, September 10, 2012

प्रचण्डले किन काठमाडौंमा डेरा पाएनन् ?

प्रचण्डले कान्तिपुरका पत्रकारहरुसँग आइबार कुरा गर्दै साउन पहिलो सातादेखि डेरा खोजे पनि भदौ अन्तिम साता अहिलेसम्म डेरा नपाएको कारण लाजिम्पाटमा बस्न वाध्य भएको गुनासो गरेछन्।
साउन पहिलो साताको माओवादी प्लेनम बैठकमा माओवादी कार्यकर्ताहरुले नेताहरु सुखभोगी भएको, तिनमा वर्ग विचलन आएको भनेपछि प्रचण्डले लाजिम्पाटको निवास र सरकारी सुविधाको गाडी छाड्ने घोषणा गरेका थिए।

मैले यसो सोचेको माओवादी अध्यक्ष प्रचण्डले किन डेरा पाएनन् होला ?

Sunday, September 9, 2012

न्याय हेल्थलाई एक भोट

न्याय हेल्थ संस्थाले सरकारसँग मिलेर अछामको बलयपाटामा चलाइरहेको अस्पतालमा विरामी र तिनका आफन्तहरु  चिकित्सक देखाउन पालो कुर्दै
गत साता सुदुरपश्चिमाञ्चलको दुर्गम जिल्ला अछाम जाने मौका मिल्यो। अछाम नेपालको विकास सुचाङ्कमा स्वास्थ्यस्थिति देखि हरेक क्षेत्रमा कमजोर जिल्लामा पर्दछ। अछामीहरुको कमजोर स्वास्थस्थिति, अपुग स्वास्थ्य संस्था र तिनको अव्यावसायिक हालत देखेर होला चिकित्साशास्त्र अध्ययन गरिरहेका केही विदेशी विद्यार्थीहरु अछाम आएर गाउँलेहरुलाई स्वास्थ्यसेवा पुर्याइरहेका रहेछन्।
बयलपाटा अस्पतालमा चिकित्सकलाई देखाउन अगाडि बाहिर कुर्ने कक्ष
'न्याय हेल्थ' संस्था मार्फत अमेरिकी चिकित्सकहरुले नेपाली सरकारसँग मिलेर अछामको बयलपाटामा अस्पताल सञ्चालन गरेका छन् भने सुदुरपश्चिमको दुर्गम क्षेत्रमा पाँच वटा निशुल्क क्लिनिक मार्फत स्वास्थ्य सेवा दिने योजना बुनिरहेका रहेछन्। (न्याय हेल्थको बारेमा बुझ्न link: http://www.nyayahealth.org/)

Friday, September 7, 2012

पंगु अमेरिका

अमेरिकाले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) लाई आतंककारीको सूचीबाट हटाएको भनेर सूचना जारी गरेछ। यसले त मात्रिका यादवको पार्टी पो आतंककारी सुचीबाट हट्यो। प्रचण्ड नेतृत्वको पार्टी त एनेकपा (माओवादी) हो। हुन त आतंककारी सूचीबाट हटाउन खोजेको प्रचण्ड नेतृत्वकै माओवादीलाई होला। तर, अमेरिकी सरकार पनि म जस्तै पंगु नै रहेछ, खास नाम पनि थाहा नपाएको।

आइजिपीको मोलमोलाई

अछाम जिल्लाका प्रहरी प्रमुख DSP को सरुवा भएको रहेछ। 'को आउँछ होला नयाँ ?' भनेको त्यहाँका सईले भने, 'अब सरलाई थाहा छदैँछ नि, चुनाव आउँदैछ। जसले चुनावमा सहयोग गर्न सक्छु भनेर ग्यारेन्टी गर्छ, उसैलाई पठाउलान्।'
काठमाडौंमा पनि IGP को मोलमोलाई भइरहेको समाचारहरु खुब आइरहेको सुनिन्छ। अछामका सईले भने जस्तो आउँदो चुनावमा सहयोग गर्ने आश्वासन जसले दिन्छ उसैलाई IGP बनाउने खेलमा नेताहरु लागेका छैनन् होला त?

Thursday, September 6, 2012

ठेकना छैन जीवनको, आज हो की भोलि


लिएर जाउ सम्झना, दिएर जाउ बोली !!
ठेगान* छैन जीवनको, आज हो की भोलि !!! 

(*माथि ठेकना छैन जीवनको भनेको छ। तर मैले त्यस्सै जान्ने भएर मिलाइदिएको वास्तवमा ठेकना भन्दा पनि केही बिग्रन्न। 
मलाई अति मिठो लाग्यो यी हरफ। डडेल्धुरामा रोकिराखेको एउटा ट्रक पछाडि यस्तो लेखेको देखेपछि हत्त न पत्त गाडी रोक्न लगाएर फोटो खिचिहालें।)

Tuesday, September 4, 2012

'अतिथि' भनेर बोलाएर 'अथिती' बनाइदियो भने


कसैकसैको अतिथि भनेर लगाइएका सबैजसो ब्याच संकलन गर्ने बानी हुन्छ। त्यस्तै एकजना भेटिए अछाम ठूलासेनमा। तर उनलाई लगाइएका ब्याचमा भाषिक बलात्कार भने चर्कै रहेछ। 'अतिथि'को अर्थ त थाहा छ, एक त तिथि मिति नदिइकन आउने पाहुना। त्यो भन्दा पनि उच्चस्तरमा भन्न पर्दा, कुनै कार्यक्रममा विशेष रुपमा आमन्त्रण गरेका व्यक्ति।
तर कसैले तपाईलाई 'अतिथि' भनेर बोलाएर 'अथिती' बनाइदियो भने के गर्ने। अथिती मतलब - थिती नभएको मान्छे।
भाषिक बलात्कार गर्ने चाहिँ फेरि पत्रकारकै स‌ंस्थारहेछ - प्रेस चौतारी।

Monday, September 3, 2012

बाटो बिगार्ने टेक्टर, गाउँ बिगार्ने टिचर

तास खालमा प्रहरीले छापा मारेमा पक्राउ पर्ने पनि शिक्षक, बाटोमा रक्सी खाएर कोही लडे भने ती पनि शिक्षकै हुने भएपछि अछाम मंगलसैन आएपछि सुनेको एउटा नयाँ उखान : 'बाटो बिगार्ने टेक्टर, गाउँ बिगार्ने टिचर' (सद्गुरुहरुसँग क्षमा माग्छु।)

Thursday, August 30, 2012

सुदुरपश्चिम सदरमुकाममा


हुन त देशको राजधानीमा पनि पानीको कति पो सुविधा छ र ? तैपनि सुदुरपश्चिमकै क्षेत्रीय सदरमुकाम डोटीको सिलगढी-दिपायलमा बिहान साँढे ५ बजेतिर होटलको कोठाबाट देखिएको दृश्य। एकाबिहानै महिलाहरु/युवतीहरु प्लास्टिकको घै‌टो लिएर २५/३० मिनेट परको पँधेरोमा गइरहेका थिए। सडक सवारी साधनको हैन पानी लिन जाने र आउनेको कब्जामा थियो।
सदरमुकाममा यस्तो छ भने गाउँतिर कस्तो होला ?

Tuesday, August 28, 2012

एउटा फोटो दिनु न मलाई

'तपाईको एउटा फोटो दिनु न मलाई,' पाँच/सात वर्ष सँगै काम गरेका तर आजभोलि वर्षमा एकपटक पनि भेट नहुने साथीले एकाबिहानै फोन गरे। कुनै स‌स्था/वस्था खोल्न साथीले मेरो फोटो पनि बेच्न लागेछन् भन्ने सोच्दै सोधें, 'किन होला फोटो ?' उनले भने, 'अब तपाई बिजी मान्छे। तपाईसँग भेट त हुने गाह्रो भइगयो। कहिलेकाहीं साह्रै नियास्रो लाग्छ। त्यही बेलामा फोटो हेरेर चित्त बुझाउन नि।'
अनि म मुर्च्छा परें र सोचें - मैले पनि कुनै समय वर्षौं सँगै डेरामा बसेका, पढेका, काम गरेका कोही-कोहीसँग फोटो माग्न पर्नेछ, तिनको कहिलेकाहीं साह्रै नियास्रो मलाई पनि लागिरहन्छ।

Sunday, August 26, 2012

सडक धुलोले दुर्घटना

महाराजगञ्जबाट आएको माइक्रोको ड्राइभरले कलकींको सडक धुलोबाट बच्न एक हातले रुमाल समाएर नाक टाल्न थाले। अर्को एक हातले मात्र स्टेरिङ समाइरहेका तर एक हातले मात्र ब्यालेन्स नहुँदा गाडी गएर सडक किनारको नालीमा गएर फस्यो।  धन्न ठूलो दुर्घटना भएन।
बाँचियो बा! एकछिन त होसै हराउने रहेछ त्यस्तो हुँदा।

'हामीले हतियार उठाए देशको हालत के हुन्छ ?'

'स्वायत्त मधेश प्रदेश नभए ४२ प्रतिशत मधेशीले हतियार उठाए यो देशको हालत के हुन्छ?'-मधेशी नेता।
'जातीय पहिचाहन सहितको संघीय राज्य नभए ३७ प्रतिशत जनजातिहरुले हतियार उठाए यो देशको हालत के हुन्छ?'- जातीय नेता।
'२५ प्रतिशत रहेका बाहुन क्षेत्रीलाई वेवास्ता गरेर जातीय राज्य दिदाँ तिनले हतियार उठाए के होला?'- बाहुन क्षेत्री नेता।
एकिकृत माओवादी फुटाएकाहरुले हतियार उठाउने धम्की त दिनदिनै सुनिन्छ। फेरि हतियार उठाउने धम्कीमा अयोग्य लडाकुहरुको त झन् प्याटेन्ट राइट लाग्ने नै भयो।
युनिटी कम्पनीवालाहरुले पनि अस्ति नै हतियार उठाउने धम्की दिएका थिए।
अस्ति बाग्मती किनारका सुकुम्बासीहरुले पनि भन्दै थिए- 'हाम्रो विषयमा राज्यले कुनै ध्यान दिएको छैन। हामी देशभरका सुकुम्बासीले हतियार उठाए यो देशको हालत के होला?'
आज फेरि एकु हुल युवा आए र भने - 'सरकारले इपिएस प्रणाली अन्तरगत कोरिया पठाउने भनेर भाषा सिकेर जाँच दिदाँ पास भएका १५ हजार छौं। तर सरकारी उदासिनाताले ती मध्ये ५ हजार जना मात्र कोरिया जाने भए। हामी १० हजारको भविष्य के हो ? माओवादीका सात हजारले हतियार उठाउँदा त देशको हालत यस्तो भयो। हामी १० हजार युवाले हतियार उठाए के हुन्छ ?'

कसैले कुखुरा काट्दा पनि डराउने म जस्तो काँतरले अझ क-कस्को हतियार उठाउने धम्की खाँन पर्ने हो बाँचुन्जेल र कुन दिन सातो जाने हो....

Wednesday, August 22, 2012

राती बसले पार्दियो अलपत्र

रात्रीबसमा चक्रपथ घुम्ने लक्ष्य तीन चौथाई बाटो यात्रा गरेपछि रोकियो। साँझ ८ बजेपछि चल्ने गाडी राती ११ बजेपछि चल्दोरहनेछ। बाटामा अलपत्र परेपछि ४ किलोमिटर हिंडेरै घर आइयो।
हुन त, ११ बजेसम्म मात्र चल्ने भनेकै थिए।आँफै ढिलो चढियो भन्न पर्ला। सामाखुशीबाट एक राउन्ड लगाउने भनेको तर कलकी पुग्दा नै ११ बज्यो।
काठमाडौं महानगरपालिकाले यातयात व्यवसायीलाई तीन महिनाको लागि ४५ लाख रुपैयाँ दिएर राति चल्ने बसको प्रवन्ध मिलाएको हो । तर यो रात्रिबसमा चढ्दा आफ्नो गन्तव्यसम्म पुग्छ कि पुग्दैन भनेर चाहिँ पहिल्यै सोध्न बिर्सन भने हुन्न। नभए दु:ख पाइने रहेछ।
रात्रीबसले साँच्चै सहज बनाउने हो भने कति बजे कुन ठाउ पुग्छ भन्ने कुरा निश्चित हुनपर्छ। नत्र त कुर्दाकुर्दै आउन्न कि भन्ने डर।
बसमा प्रहरी हुने रहेछन् दुई जना। हामी चढेको रिङरोड घुम्नुपर्ने बस राति ११ बज्न लागेपछि बल्खुबाट कंलकी जानुको साटो सुरक्षाकर्मीलाई छाड्न कालिमाटी पुग्यो हामी चढेको बस। अनि कालिमाटीबाट रबिभवन हुँदै कलकीं गयो बस।
अचम्म चाहिँ हामी जस्तै अनुभव लिउँ भनेर गाडीमा चढ्ने अरु पनि थिए। कोही कोही त मोटरसाइकल बाटामा छाडेर हेल्मेट सहित रात्री बसमा चढेका थिए। धेरै बस त त्यही दिउस चल्ने बस नै रहेछन्। मैले त नयाँ बस होला भन्ने सोचेको थिएँ।
हामी चढेको बसमा माइसंसारका ब्लगर सालोक्यले खिचेको यो फोटो चाहिँ गजबकै छ।
https://twitter.com/#!/dipakbhattarai/media/slideshow?url=pic.twitter.com%2FgKvfyKIV
फोटोमा 'महिला आरक्षित सिट'मा पुरुष पुलिस अनि 'फस्ट एड बक्स'मा टुथपेस्ट र ब्रस छ।

Saturday, August 18, 2012

दोष कम्प्युटरलाई

काम गर्दागर्दै कम्प्युटर क्य्रास भो, फाइल करप्ट भो, बत्ती गो। हेर्नु न! फेरि काम गर्दैछु, एकै छिन है। आजभोलि कसैले यस्तो भन्यो कि झुट बोले जस्तो लाग्न थाल्या होला कति जनालाई।

आजभोलिका धेरै काम जति कम्प्युटरमा गर्न पर्ने भो। तर यो समान कस्तो भन्ने जतिबेला नि बिग्रियो भन्न मिल्ने। के भो भो हेर्नु न तपाइको काम गरिसकेको तर कम्प्युटर बिग्रेर भन्नेहरु मध्ये कतिले साँच्चै काम गरेका होलान्  अनि कतिले कामै नगरी कम्प्युटरलाई दोष दिएका होलान् ?

डा गोविन्द केसीलाई बचाउँ

एउटा इमान्दार र आफ्नो कुनै स्वार्थ नभएको डाक्टर जताततै हुने गरेको राजनीतिक हस्तक्षेपविरुद्ध आमरण अनसनमा बसेर ज्यान फाल्न लाइसक्यो। देश हाँक्छु भन्नेहरु कहाँ छन् भनेको ?
ए ! शिक्षा मन्त्री दिनानाथ शर्मा, प्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रपति रामवरण यादव तिमीहरुले डाक्टर गोविन्द केसीलाई मर्न दिने हो ? होस् गर ! जनता कुन घटनाले कहिले जाग्छ भन्ने कुराको ख्याल नहुँदा स‍ंसारका जतिसुकै ठूला शक्तिशाली हुँ भन्नेहरु पनि ढलेर गएका छन्। डा केसीलाई बचाउँ।

Thursday, August 16, 2012

हातमा बोकेर हिड्ने हर्न पाइन्छ कि नाईँ ?

काठमाडौंमा धेरैजसो ठाउँमा सडकपेटी छैन। त्यसैले जीउ जोगाउनका लागि पनि जतिसक्दो आफूलाई खुम्च्याएर हिड्छु। तर गाडी र मोटरसाइकलवालाले यति धेरै ट्याट्याँ र टुँटुँ पार्दै हर्न बजाउँछन् कि छिट्टै बहिरो भइन्छ कि भन्ने डर मात्रै होइन हाइपर टेन्सन होला भन्ने डर भइसक्यो। आफ्नो मोटरसाइकल-गाडी केही बहान नभएकाले यसो सोचिरहेको, यी हर्न बजाउनेसँग रिस फेर्न हातैमा बोकेर हिड्ने हर्न मात्र किन्न पाइन्छ कि पाइन्न कुन्नि? नभए कहिलेकाहीं जाममा पर्दा कसैले अनावश्यक हर्न बजाए, त्यो हातको हर्न लगेर तिनका कानमै बजाइदिन हुन्थ्यो। कस्तो 'सिभिक सेन्स' नभएका मानिस हुन् यो काठमाडौंमा।

बाबुराम करनी / बाबुराम कथनी

बाबुराम करनी : प्राध्यापक र पिएचडी डाक्टरहरुलाई छाडेर आफ्नी जेठी सासु चिरिक शोभा ताम्राकार (यमी)लाई त्रिभुवन विश्वविद्यालय विज्ञान संकायको डिनमा नियुक्त (त्रिभुवन विश्वविद्यालयको कुलपतिको हैसियतले सोमबार रातिको बैठक)

बाबुराम कथनी : शिक्षण संस्थामा राजनीतिक भागबन्डा गर्न हुँदैन । त्यसका लागि विश्वविद्यालयको नेतृत्व चयनमा मैले कुनै रोकावट गर्दिन । (मंगलबार काठमाडौं विश्वविद्यालयको ६० औं बैंठकलाई सम्बोधन गर्दै)

Wednesday, August 15, 2012

क्रान्ति जो रगतमा बगिरहन्छ

देशका विभिन्न ठाउँ विशेषगरी (काठमाडौं पश्चिम) घुमेर आएका एकजना मलाई जब्बरजस्त सम्झाइरहेका छन्, 'संविधानसभाको चुनावताका माओवादी सबैभन्दा ठूलो दल हुन्छ भन्दा धेरैले पत्याउँदैनथे र अहिले मैले भनेको कुरा पनि धेरैलाई विश्वास नगर्ने छुट छ। तर पनि यथार्थ के हो भने, प्रचण्ड नेतृत्वको एकिकृत माओवादी भन्दा वैद्य नेतृत्वको नेकपा - माओवादी बलियो छ।' होला पनि, क्रान्ति हाम्रो रगतमा जो बगिरन्छ।

कस्तो संयोग

हिजो छापिएको नागरिक पत्रिकामा काम गर्न नदिएको भन्दै बाबुराम भट्टराईले अदालतलाई गाली गरेका थिए। आज छापिएको कान्तिपुरमा काँग्रेसीलाई मात्र भ्रष्टाचारमा फसाइएको भन्दै शेरबहादुर देउवाले अदालतलाई गाली गरेछन्। कहिलेकाही संयोग कस्तो कस्तो हुन्छ भने?

Tuesday, August 14, 2012

त्रिभुवनको शालिकले कसरी अवरोध गर्‍यो ?


प्रधानमन्त्री बाबुराम भट्टराईले 'नागरिक' दैनिकमा लेख्छन् : 'प्रधानमन्त्री निर्वाचित भएकै दिन मैले शान्ति, संविधान, सुशासन र संवृद्विका चार 'स' सरकारका प्रमुख प्राथमिकता बताएको थिएँ ....चार जना सहिदको टाउका माथि राखिएका राजाको मूर्ति अर्को ठाउँमा ससम्मान सार्न खोज्दा सम्मानित अदालतले किन रोक्नु परेको हो त्यो मैले अहिलेसम्म वुझ्नसकेको छैन।'

मैले चाहिँ चार 'स'शान्ति, संविधान, सुशासन र संवृद्विका लागि यो त्रिभुवनको शालिकले कसरी अवरोध गर्‍यो त्यो चाहिँ बुझ्न सकिन प्रधानमन्त्री ज्यू। कुरा नबुझ्ने म पनि अज्ञानि नै छु।

Monday, August 13, 2012

कति पुराना पुराना बाहनामा मात्र पिउने ?

1 नम्बरमा पानी, 2 नम्बरमा कोक, 3 नम्बरमा कफी, 4 नम्बरमा बियर र 5 नम्बरमा चिया परेको विश्वका उत्कृष्ठ पेय पदार्थको सूचिमा नेपालको रक्सीलाई ४१ औं नम्बरमा पारेछ सिएनएनले।
पिउनेहरुलाई फेरि एउटा बहाना पाए। कति पुराना पुराना बाहनामा मात्र पिइरहने.......

भोलिपर्सी Free Wifi Coach आउँछ होला !

कसैको ध्यान गुरुजी साहित्य (माथिको गजलमा) मा परेको भए माफ पाउँ । उहिले-उहिले बसमा Video Coach लेखेको हुन्थ्यो । त्यो गाडीमा चढ्दा शान नै बेग्लै। अस्ति एउटा गाडीमा Pen Drive Coach लेखेको देखे नि खिच्न भ्याइएन । तर, आज LCD Coach लेखेको चाहिँ खिच्न भ्याइयो। भोलिपर्सी Free Wifi Coach आउँछ होला ! समय परिवर्तनशील छ।

Saturday, August 11, 2012

महिलाहरु किन चुप


भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई भेट्न के पी ओली र विद्या भण्डारीसँगै गएका हुन्। दुबैले भर्खरै भारत भ्रमण गरेका हुन्। यता फर्केपछि खालि केपी ओलीको मात्र चर्चा छ, ओली मात्रै‍ प्रधानमन्त्री हुन योग्य झैं गरी। सँगै भारतीय राष्ट्रपतिलाई भेटेकी विद्या भण्डारीको चर्चा नै छैन। अचम्म लाग्छ बा! यस्तो हुँदा पनि महिलावादीहरु कोही केही बोल्दैनन्, कि मैले कसैले बोलेको नसुनेको हो कि, कि दुई जना एमालेका जो भए पनि उस्तै त हो नि भनेर चुपो बसेका हुन् कि... (फोटो : वुधबार साप्ताहिक)

Friday, August 10, 2012

प्रमको गफ पत्याएर केटाहरुले देशकै वेइज्जत गरेछन्

पोखराबाट काठमाडौं आउने पर्यटक बसमा दुई जना साथी आउँदै रहेछन्। दमौलीतिर आउँदा पानी पर्न थालेपछि गाडी चुहिने थालेछ। पर्यटकहरु छाता ओढेर बसेको देखेसी मेरो साथीहरुलाई रिस उठेछ र एकजनाले हेलो सरकारमा फोन गरेछन् । ल यति यति नम्बरको गाडीमा यसरी पर्यटकहरु रुझ्दै आएका छन् देशको वेइज्जत भो भन्दै।
अनि गएर कुइरेलाई फुर्ति लगाएछन्,'अब यो कम्पनीको खैरेत छैन, प्रधानमन्त्री अफिसमा फोन भो। यो गाडीलाई छिट्टै पुलिसले समात्छ हामीलाई अर्को गाडीमा चढाएर काठमाडौं पठाउँछ।' कुइरे दंग परेछन्। तर कहिँ कतै कसैले रोकेनछ।
मुसो रुझाई हुँदै खैरेहरु काठमाडौं आएसी साथीलाई भनेछन्, 'पहिले त यो ट्राभल एजेन्ट मात्र खत्तम होला भन्ने लागिराथ्यो तर तिमीहरूले प्रधानमन्त्रीलाई रिपोर्ट गर्दा नि केही नभएपछि थाहा भयो सरकारै खत्तम रहेछ।'
प्रधानमन्त्री बाबुरामको गफ पत्याएर केटाहरुले देशकै वेइज्जत गरेछन्।

Thursday, August 9, 2012

बेकारको टेन्सनले उमेर नपुग्दै ब्लडप्रेसरको ओखती

अफिस आउन पर्‍यो भनेर साउने झरीमा छाता लिएर ४५ मिनेट शहीदगेट नजिकको रोड छेउमा उभिरहें। सानेपा जाने टेम्पु आउँदै आएन। ढिला हुने भो भन्ने टेन्सन भइराख्याथ्यो। हुइकिँदै आएको एउटा कारले खोपिल्टो परेको सडकमा जम्मा भएको पानी जती जीउ नै हिलाम्मे हुनेगरी खन्याएर टाप कस्यो। ढुङ्गा खोजेर हान्न नि भ्याइएन। अफिस ढिलो हुनेभयो र हाकिमले मार्ने भए भन्ने सम्झेर टेक्सी लिएँ।
करिब चार किलोमिटर यात्राको ३ सय रुपैयाँ उठायो बिल। कति धेरै उठेको हो बिल, मिटर ठीक त छ भनेर के सोध्याथें, खाउँला झैं गरेर हेरे।
कस्तो मु* नेताहरुले नेतृत्व गरेको देशमा जन्मिएछ भने सिस्टम भनेको केही छैन, न सार्वजनिक गाडी बेलामा पाइन्छ, न रोड गतिला छन्, न टेक्सीले धेरै लियो भनेर गरेको सुनुवाइ हुन्छ।
बेकारको टेन्सनले उमेर नपुग्दै ब्लड प्रेसरको ओखती खान पर्छ।

Wednesday, August 8, 2012

भविष्य कस्तो बनाउन खोजेको ?

एउटा दल (ड्यास माओवादी) को भातृ संगठन स्कूले नानी चढेको बसमा आगो लगाउँछ। अर्को दल (नेकपा एमाले) को भातृ संगठन स्कूल जाने बेलामा बस नै चल्नै दिदैंन। अनि दुबै दलका युवा भनिएका नेताले भन्छन् : हामी देशको भविष्यप्रति चिन्तित छौं।
हैन यो स्कूल बन्द गरेर कस्तो भविष्य बनाउन खोजेको हो ?

Tuesday, August 7, 2012

बोल्न नजान्दा खाएको डाइलग

बोल्न नजान्दा भर्खरै खाएको डाइलग :- एक महिला मित्रलाई 'आजभोलि निकै मोटाउनु भएछ नि' भनेको। क्या सँग मुख फर्काइन भने - 'पोलिटिकल्ली करेक्ट बोल्न आउदैन तपाइलाई ? कसै-कसैलाई जीउ लाएको पनि कति सुहाको भने हुन्न?' यो थुतुनोले नि धेरै दु:ख देको छ मलाई।

बिल तिर्ने बेलामा फोन

आजभोलि बिल तिर्ने बेलामा फोन आउने फेसन बढेको त होइन नि ? अस्ति एउटाले जस्तै गर्यो आज फेरि अर्काले । खाको मालमा 23% (13% भ्याट र 10% सर्भिस चार्ज) भन्दा बढी जोडिने रेष्टुराँमा लाग्यो। मैले खल्ती बिचार गरी गरी नाईं/नाईं भन्दा भन्दै थोरै खुवायो/धेरै खायो/पियो र बिल मगायो र बिल आउने बेला भएदेखि फोनाँ झुण्डिन थाल्यो। मजाले ठगिएँ। कस्तो दरो टिरिक लाउन जानेका मान्छेहरु...

Monday, August 6, 2012

बन्द त नेताहरुलाई गरिदिनुपर्ने

ई! प्रधानमन्त्रीको राजिनामा माग्दै लगातार चार दिन (साउन २१ गते साउन २४ सम्म) बिहान १० बजेसम्म बन्द आयोजना गर्यारहेछन् त एमालेका युवाहरुले। अब बिहान १० बजेसम्मको बन्द भएसी स्कूल/कलेज बन्द भइगए।
पहिला पहिला त अमेरिकी राजदूत डेलिसी थिए र बन्दवालालाई अम्रिकाको भिसा नदिने भन्दै घुर्काएर बन्द फिर्ता गरिदिन्थे। अब उनी पनि सरुवा भइगए। अब कसले खोल्देला र यो बन्द ?
कस्तो बिनाशकाले बुद्धि आएको यो बन्दकर्ताको बरु बन्दै गर्न थियो भने नेताहरु जतिलाई बालुवाटार, शितलनिवासतिर निकास* ननिकालेसम्म थुनेर बन्द गरिदिए हुने। बेकारमा केटाकेटीको पढाइ मात्र ध्वस्त हुने बन्द गराएर... बेबकुफहरु !

Saturday, August 4, 2012

बाहुन हुँदा पाइने घुर्की

फेरि आज एक जनजाति मित्र उफ्रिए म बबुरोसँग - 'के के न महिला, जनजाती र मधेशीको पक्षमा लाग्ने भन्थेउ हैन बाबुराम र माओवादीलाई। यी अहिले मौका पाउँदा मुख्य सचिवमा महिला वृन्दा हाडालाई बनाए कि, जनजाति अरवीन्द्रकुमार श्रेष्ठलाई बनाए कि मधेशी उमाकान्त झालाई बनाए ? परेको बेलाँ सब तिमी बाहुनहरु एक हुन्छौ र बाहुनकै हीत गर्छौ।' जनै नभिरे पनि के अर्नु बाहुनको घराँ जन्मेका भ'र र अहिले त भट्टराई थर नि थपिएको भ'र धेरैको घुर्की खप्न परिरा'छ मैले बेकमारमा।

Friday, August 3, 2012

भिजिटिङ कार्ड बाँड्दा

अस्ति एकजना (खोई को हो/हो ?)मोटरसाइकल चालकले मोटरसाइकल लगेर गाडीमा ठोकेछन्। गाडी चालकले क्षतिपूर्ति मागेपछि ' अहिले हतार छ। एउटा जरुरी काम सकेर म दिउसो तपाइलाई फोन गर्छु र गाडी बनाउँदा लागेको खर्च दिन्छु' भन्दै पर्सबाट एउटा भिजिटिङ कार्ड दिएछन् ठोक्याएको गाडी चालकलाई।

गाडी चालक भलादमी रहेछन्, कार्ड हेरेपछि 'हुन्छ नि तपाइको काम सकेपछि मलाई फोन गर्नु' भन्दै आफ्नो पनि कार्ड दिएछन् मोटरसाइकल चालकलाई। साँझतिर मलाई फोन गरे, 'खोई त सम्पर्कै गर्नुभएन' भन्दै। म अलमलमा परें। पछि बुझ्दै जाँदा थाहा भयो, ती मोटरसाइकल चालकले मेरो भिजिटाङ कार्ड पो ती गाडी चालकलाई दिएका रहेछन्। आफू साइकल पनि नभएको मान्छे झन्नै मोटरसाइकल ठोक्काएको आरोपमा हर्जना तिर्नमा फसिएन।

Sunday, July 29, 2012

उपचार राम्रो हुँदा पनि पिटाई

दाङको सरकारी अस्पतालमा आठ/दश जना युवाले एकजना गम्भीर अवस्थाकी सुत्केरीलाई लिएर गएछन्। सुत्केरी र युवाहरुको अवस्था देखेपछि त्यहाँका डाक्टरले आफूले उपचार गर्न नसक्ने भन्दै नेपालगञ्जतिर लाने सल्लाह दिएछन्। युवाहरु आक्रोशित हुँदै परसम्म पुर्याउँदा अवस्था झन् नराम्रो हुन्छ भनेर, 'तुरुन्त उपचार गर्' भन्दै डाकटरलाई थप्पड हानेछन्।

डराई डराई डाक्टरले उपचार गरेछन्। सबै कुरा राम्रो भएछ। डाक्टर अलिक ढुक्क भएछन् तर हस्पिटलबाट निस्कने बेलामा फेरि डाक्टरलाई युवाहरुले कुटेछन्, 'आँफैले सक्ने भई-भई किन अन्त रिफर गर्याथिस्?' भन्दै। विरामी उपचार अससफल हँदा डाक्टरले पिटाई खाएको त सुनेको हो। तर उपचार सफल हुँदा पनि पिटाई खाएको चाहिँ पहिलोपटक सुनियो।

सुरुमै आश मार्दिने पुलिस

‎'कुनै दम्पतिको चार जना केटाकेटी मध्ये एक जनाले भान्सामा राखेको स्याउ चोरेर खाए त उसले नभनेसम्म त्यो कुरा पत्ता लगाउन सकिदैंन भने महानगरको कुनै निर्जन स्थानमा रातको समयमा संगठित र सुनियोजित तरिकाले गरिएको अपराध पत्ता लगाउन कति सहज होला?' काठमाडौंमा अपराध हुन नदिने र भए नि पत्ता लाउने जिम्मा पाको महानगरीय प्रहरी अपराध महाशाखा, हनुमानढोकामा टाँसिएको यो सूचना देखेर प्रहरीमा उजुरी गर्न ग'का कोहीकोही उजुरी नै नगरी फर्केका छन् कि छैनन् होला ? सुरुमै अपराधी पत्ता लाग्ने आशा मार्दिने रछ पो पुलिसले। (Photo: Rabindra Singh Baniya)

Friday, July 27, 2012

तिर गलत ठाउँमा

हुन त उनीहरु एकदुईटा बोर्डिङमा तोडफोड र तिनका बस जलाएपछि अरुलाई तर्साएर चन्दा माग्ने सुरमा होलान् तर पनि यसो सोचेर ल्याउँदा यो ड्यास क्रान्तिकारी विद्यार्थीको तिर यसपटक ठीक ठाउँमा लागेन। उच्च माध्यमिक विद्यालयमाथि आक्रमणको साटो, अहिले तिनले भुपूहरुलाई घर, गाडी, कर्मचारी सुविधा दिने अध्यादेशविरुद्ध तिर सोझ्याएको भए निशाना ठीक ठाउँमा लाग्छहोला। आफू त सर्वजन हिताय वाला परियो, तिनकै भलाईका लागि भन्दिया हो...

Thursday, July 26, 2012

जोशीले किताब बेचेरै ३१ लाख कमाए रे

गोविन्दराज जोशीले सम्पति विबरण बुझाउँदा किताबबाट ३० लाख ८७ हजार ८ सय १५ रुपैयाँ आम्दानी गरेको भन्यारहेछन्। यिनको कुरा पत्याउने हो भने त नेपाली भाषामा लेखेरै मात्र सबैभन्दा धेरै कमाउनेमा यिनै पर्नेरहेछन् कि के हो? अख्तियारले पनि हिसाब गर्न झ्याउ मानेर होला २ लाख रुपैयाँ सम्म किताब बेचेर कमाए होलान् भन्दिएछ। जोशीले किताब बेचेर धेरै कमाको भए २० हजार होला। दुई लाख पनि म त पत्याउँदिन।

Wednesday, July 25, 2012

नयाँ किनेको गाडी पुरानो परेछ

कति माइक्राँ हिड्ने आफ्नो मात्र कुरा गर्ने कहिलेकाहीँ गाडीवालाहरुको पनि कुरा गर्दिउँ न त। 'अफर' ला'को बेला सोरुममा गएर नयाँ हुन्डाईको I 20 भन्ने गाडी किनेछन् बिकु नारायण चौकामीले। दुई/तीन महिना चलाएपछि थाहा पाएछन्, गाडी त डेन्टिङ/पेन्टिङ गरेर नयाँ बनाएको रहेछ, आजको अँग्रेजी पत्रिका रिपब्लिकामा समाचार छ । संसारकै 'सोझा जाति' नेपाली; किन्न मात्र होइन बेच्ने पनि...

Tuesday, July 24, 2012

ट्राफिकको जरिवाना किन GLOBAL IME मा?

पुराना, ठूला अनि सरकारी थुप्रा बैंक हुँदाहुँदै पनि ट्राफिकले जरिवाना तिर्नलागि भक्तपुर जिल्लामा शाखै नभएको GLOBAL IME बैक किन छानेहोलान् भन्ने त लागिरहेकै थियो। आज बल्ल थाहा पाइयो। त्यो बैकका सञ्चालक, ट्राफिक जरिवानाको पैसा कहाँ जम्मा गर्ने भन्ने निर्णय गर्ने नेपाल राष्ट्र बैंकका अधिकारीका छोरीज्वाईं रहेछन् अनि बैंक सञ्चालक पनि निर्णय गर्ने पनि माउवादी निकट पनि हुन् रे।

भन्नेको सुरमा लाग्दा प्रचण्ड

अब भाको एउटा छोराले छाडेर हिडिगएँ। सरकारले उपहार दे'को गाडी र अनेक उपाए लगा'र ले'को लाजिम्पाटको घर नि छाडेर साधारण घरमा सर्ने हुनुभ'छ। केही गरे सुख छैन प्रचण्ड जी, कस्तो नुबझेको तपाईंले। तपाइले जापानी गाडी प्राडो सरकारलाई फिर्ता दिएर भारतीय स्कोर्पियो वा बोलेरो चढेर हिडें नि तपाईलाई अब फेरि विरोधीहरुले भन्नेछन् 'देख्यौ! भारतको अगाडि कतिसम्म नतमस्तक भने गाडी पनि भारतीय चढ्यो।'

Monday, July 23, 2012

फिर्ता पठाउनुपर्ने अध्यादेश पठाउनु छैन

आँफू चाहिँ बहालवाला हुँदा 'मुस्ताङ' चढ्ने प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्व भएका प्रधानमन्त्री, मन्त्रीहरुलाई प्राडो/पजेरो, घर, पिए सुविधा गरी एकै महिनामै ५० औं लाख राज्यबाट दिने कानून बनाइसके। एकदेखि तीन महिना मात्र मन्त्री भएकाले मात्र होइन एकपटक न्यायाधीश भएकाले नि त्यो सहुलियत पाउनेछन्। पूर्ण बजेट अध्यादेशबाट स्वीकृत गर्न सबै दलको सहमति चाहिन्छ भन्ने राष्ट्रपति रामवरण यादवलाई पनि पूर्वहरुलाई सुविधा दिने अध्यादेश पारित गर्न कसैको सहमति चाहिँदो रहेनछ। बारम्बार अध्यादेश ल्याउनु राम्रो होइन भन्ने राष्ट्रपतिले कम्तीमा भूतपूर्व पदाधिकारीलाई सुबिधा दिने अध्यादेश फिर्ता पठाइदिन सके बल्ल पो बोलेको कुरा गतिलो हुन्थ्यो।

Saturday, July 21, 2012

गोलीबाट मुक्का र कुर्चीमा झरेको पो

‎'पहिले गोली पो हान्ने हुम् त, अहिले मुक्का र कुर्ची मात्रै हानाहान गर्दा किन आत्तिएको' माओवादी अध्यक्ष प्रचण्ड र प्रम बाबुराम भट्टराईमाथि नै ठूला साना नेता/कार्यकर्ताको हात बजारियो रे नि भन्ने पत्रकारको प्रश्नमा विस्तारित बैठकमा सहभागी हुन आएका एक माओवादी कार्यकर्ताले दिएको जवाफ।

पूर्वहरु भिसा नलिइकन विदेश

अस्ति नै पूर्व नहुँदै मन्त्री लोकेन्द्र विष्ट भिसा नलिइकन जर्मनी उड्दा (युएई)को राजधानी अबुधाबीको एयरपोर्टमा एक दिन बसेका थिए। अहिले पूर्व राजा ज्ञानेन्द्र पनि दोहामा दुई दिन बस्ने योजना बनाएर फ्रान्स जाँदा पनि फेरि भिसा नलिइकन कतार पुगेछन्। के विघ्न ह्याउ बढेको हो नेपालीको... भिसा नलिइ/नलिइकन विदेश जान आँट भएका?

Friday, July 20, 2012

नेपालमा जहाँ रोड राम्रो त्यहाँ धेरै दुर्घटना

'साझा सवाल' मा देशमा सडक दुर्घटना किन बढेको भनेर कार्यक्रम गरेको। एकजना विश्लेषकले भने, 'हाम्रोमा जहाँ जहाँ पक्की र राम्रो रोड छ त्यहाँ त्यहाँ दुर्घटना धेरै भएको रेकर्ड मैले अनुसन्धानबाट पाएँ।' सरकारलाई यस्तो विश्लेषण सुनाउँदा रहेछन् र पो हाम्रो रोडको गति यस्तो हुँदोरहेछ।

Thursday, July 19, 2012

'हाइवे' नहेरे त सोसाइटीमा परिन्न जस्तो भो



कोही कोही साथीहरुले आफू पनि तीन सेकेन्ड देखिएको फिलिम भनेर यसले प्रचारका लागि यस्तो लेख्यो भनेर आरोप नि लगाउलान्। तर सत्य कुरा के भो भने, यो 'हाइवे' भन्ने फिलिमको यति साह्रै प्रचार गरे कि त्यो हेरिएन भने त 'सोसाइटी'मा नपरिएला पो भन्ने डर भो।

Tuesday, July 17, 2012

पार्टीको नाम विदेशी राखे हुन्छ?

मन थाम्नै नसकेर कार्टुनिस्ट राजेश केसीको कार्टुन उनको फेसबुक वालबाट चोरेर यता आफ्नो ब्लगमा ल्याइयो। कलेजको नाम पो विदेशी राख्यो भने विद्यार्थीले तोडफोड गर्दिन्छन्। पार्टीको नाम विदेशी राख्दा कसले तोडफोड गर्ने? पार्टीको नामहरु कि छ नेपाली Congress, नेपाल Communist पार्टी Marxist, Leninist, Maoist, मधेशी जनअधिकार Forum। 
त्यसैले कलेजको नाम हो विदेशी राख्न नपाइने पार्टीको नाम त विदेशी राख्न भइहाल्छ नि....

Monday, July 16, 2012

ड्यास माओवादीले काम सुरु गरे

ए! नयाँ ड्यास माउवादीले काम सुरु गरेछन्। तिनका क्रान्तिकारी विद्यार्थीले रातो बंगाला स्कूलको बसका चालकलाई ओरालेर बिहानै पाटनढोकमा आगो लगाइदिएछन्। प्रहरीले आगो लगाएको भन्दै छ जना नयाँ क्रान्तिकारी विद्यार्थीलाई पक्राउ गरेको छ भन्ने समाचार एफएमले दिए। देशमा को भन्दा को बढी क्रान्तिकारी देखिने होड जो चलेको छ।
अब तिनको रिहाईको माग गर्दै नयाँ माओवादीले आन्दोलन गर्ने होला। सरकारले रिहाई नगर्ने होला, अनि द्वन्द्व बढ्दै जाने होला। कोही भुमिगत हुने होला अनि के के हुँदै जाने हो?  अबको हुनु हुनामी हेर्दै जाने भन्दा के गर्न सकिन्छ र...

Sunday, July 15, 2012

सहमति चुनावका लागि

बाबुराम भट्टराईको राजिनामा माग्नेहरुले बुझुन् उनको राजिनामाले देशले कुनै निकास पाउँदैन। भट्टराईले राजिनामा दिदैंमा सहमति हुने कुरा पनि छैन र सहमति भएपछि मात्र भट्टराईले राजिनामा दिने भन्ने एकिकृत माओवादी कुरा पनि जालीबाहेक अर्को हैन। कारण संविधानसभाको बिबादित विषय 'एकल जातीय पहिचानको प्रदेश'मा दलहरुबीच सहमति हुने छैन र एकिकृत माओवादी सँधै सहमति भएको छैन भनेर सत्तामा बसिरहन पाउँदैन। त्यसैले अब सहमति अरु कुरामा होइन चैतमा नयाँ निर्वाचनका लागि हुनुपर्छ र दलहरुले चुनावी सरकार गठन गर्नुपर्छ। चुनावी सरकार सहमतिमा प्रमुख दलहरु मिलेर बनाए अति राम्रो अन्यथा विशेषज्ञहरु सम्मिलित सरकार गठन गरिनुपर्छ। 

Saturday, July 14, 2012

भारतीयसँगको भेटपछि

सहमती हुनासाथ राजिनामा दिन्छु भनेका प्रधानमन्त्री बाबुराम भट्टराईले 'चुनावबाट नयाँ प्रधानमन्त्री नआएसम्म मै प्रधानमन्त्री' भन्न ब्राजिल पुगेर भारतीय प्रम मनमोहन सिंहलाई भेट्नुपरेको थियो। संविधानसभा पुनस्थापना गर्न बाबुरामलाई ढाल्न तयार प्रचण्डले त्यही कुरा 'प्रम भट्टराईको राजिनामा आउन्न' भन्न भारतीय राजदूत जयन्त प्रसादलाई भेटेपछि पुग्यो। (एउटा मान्छेको मायाँले कति फरक पार्दछ नेपालको राजनीतिमा...) तर कोही नआत्तिए हुन्छ संसार परिवर्तनशील छ। यस्ता कुराहरु पनि परिवर्तन हुँदै जान्छ।

Friday, July 13, 2012

कतिलाई चिनेर सक्नु?

अस्ति नै काँग्रेसकी महिला सभासद कल्याणी रिजाललाई नचिन्दा बागबजारका कुर्ता पसलेले हिरासतको हावा खान पुगे। केही समय अगाडि हेल्मेट नलाइकन मोटरसाइकल चलाएका एमाले कार्यकर्ता नचिन्दा दाङका ट्राफिक प्रहरीको जागिर मुश्किलले बच्यो। अहिले प्रहरीकी डीआईजी पार्वती थापालाई नचिन्दा महिला प्रहरीले काठमाडौं एयरपोर्टमा दुई चड्कन भेटिछन्।
यो देशमा तपाईहरु कतिलाई चिन्नुपर्ने हो कृपया आफ्नो नाम ठेगाना पद लेखेको एउटा बायोडाटा घाँटीमा झुण्डाएर हिड्नुहोस्न नत्र हामी धेरैले तपाइहरुलाई नचिन्दा बेकारको दुःख पाइने भो।

Thursday, July 12, 2012

कोही मान्छे विदेशबाट फर्केछ भनेर कसरी जान्ने


प्रश्न: कोही पनि नेपाली विदेश मतलब मुख्य गरी युरोप, अमेरिका, जापान, कोरिया सरहका देश गएर आ'को भनेर ५ मिनेट भित्रै कसरी थाहा पाउने ?
उत्तर : फुर्सद भए एकछिन फेसबुकको भित्तो हेरे हुन्छ नत्र कुनै बिहे भोज होस् कि माइक्रो वा गोष्ठी जहाँ भेटेर पाँच मिनेटसम्म उसको गफ सुन्नोस्। उसले कहीँ न कही, केही न उताको केही जोडेर भनिहाल्छ।(हास्नुपर्ने कारण धेरै छन् हा हा हा.... )

सोसाइटीमा पर्न पनि हेर्नै पर्ने भो


कोही कोही साथीहरुले आफू पनि तीन सेकेन्ड देखिएको फिलिम भनेर यसले प्रचारका लागि यस्तो लेख्यो भनेर आरोप नि लगाउलान्। तर सत्य कुरा के भो भने, यो 'हाइवे' भन्ने फिलिमको यति साह्रै प्रचार गरे कि त्यो हेरिएन भने त 'सोसाइटी'मा नपरिएला पो भन्ने डर छ।

Tuesday, July 10, 2012

ठगी चलिरहेकै छ

अगिल्लो स्टाटसमा +2 का विदेशी नाममा व्यङ्य गर्यो भनेर होला आज फेरि अर्का एकजनाले सुनाए कतिपय +2 ले कक्षा ११ मा स्कूलरसिप दिन्छौं भनेर विद्यार्थी भर्ना गर्छन् रे अनि कक्षा १२ मा पुगेपछि दुई वर्षकै फिस लिइदिएर ढाड सेक्छन् रे। अनि कोही कोही चलाख विद्यार्थी ११ एयरकन्डिसनवालामा पढे पनि १२ कक्षा पढ्न सरकारी उच्च माविमा जाने रहेछन्। ठगी चलिरहेकै छ, उही कसले कसलाई ठग्ने भन्ने प्रतिश्पर्धा मात्र हो....

कलेजका विदेशी नाम

चेल्सी र लिभरपुल बीचको फुटबल दशरथ रंगशालामा' भन्ने समाचार देखेर एकजना साथीले ओहो खतरै हुनेभएछ भनेर सोचेछन्। तर समाचार पढ्दै गाको त नेपाली +2 कलेजहरु बीचको फुटबल पो रहेछ। यी अँग्रेजी नाम भाकोमा पढ्नेलाई सिधै ती देश र शहरका भिसा दिने त होइन होला, किन हो कुन्नि धेरै कलेजले विदेशी नाम राखेका?

ज्ञानेन्द्र बोल्दैमा के बिग्रियो

अदालतले कानून नभएकाले सुविधा नदिनु भनेपछि क्याबिनेटबाट निर्णयै गराएरै पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री, पूर्वसभामुखलाई र अदालतले सुविधा फेरि नरोकोस् भनेर पूर्व न्यायाधीसहरुलाई समेत गाडी, सचिवालय गरी ५० करोड रुपैयाँ भन्दा बढिको सुविधा थप्दै थप्दै गएका बाबुरामले पूर्व राजाको चाहिँ सुविधा खोस्दिन्छु भनेर धम्की दिएछन्। अब पूर्व प्रधानमन्त्री/मन्त्री त बाबुराम पनि हुने भइहाले तिनलाई सुविधा दिनपर्‍यो। पूर्व राजा त आफू हुन सकिन्न भनेर हो कि के हो सुविधा खोस्ने भनेको... ज्ञानेन्द्र बोल्दैमा के बिग्रियो। जति धेरै बोल्यो उति नाङ्गिदै जाने न हो नेपालमा जो पनि।

Monday, July 9, 2012

जनजाति पार्टी खोले पनि छिट्टै फुट्ला

असाध्यै शंकालु बनाइदिदो रहेछ यो पत्रकारिता पेशाले। अहिले बाहुनको नेतृत्व मानिन्न भनेर जनजाति पार्टी खोल्न तम्सिएकाहरु भोलिपर्सी फेरि आँफआँफै भित्र एकथरीले गुरुङको नेतृत्व मान्दैनम्, अर्काथरीले थारुको नेतृत्व मान्दैनम् भन्ने, कसैले नेवार र बाहुन उस्तै रहेछन् नेवारको नेतृत्व हामी लिम्बु र मगरले किन मान्ने, हामी थकालीले बाहुनको नेतृत्व त मानिएन अब राईको नेतृत्व कहाँ मानिन्छ भनेर नयाँ पार्टी खोलिहाले पनि छिट्टै फोड्छन् झैं लाइराछ। यस्तै यस्तै नचाहिने कुरो मनमा खेलेर हैरानै पार्छ मलाई त कहिलेकाहीँ...

Sunday, July 8, 2012

नेतालाई गाली


कतै चुनाव हुनेभयो भने मुन्छेहरुले घर/पर्खालको भित्तैमा पनि नेताहरुलाई गाली गरेका 'प्रवेश निषेध'का सूचना टाँस्ने पो हुन् कि के हो? फेसबुकका भित्ताँ मात्र होइन, गाडीको नितम्बमा (नितम्बको अर्थ बुझ्न तल हेर्नुहोला) नि नेताहरुलाई गाली गर्ने चलन बढ्या देख्दा मनमा ला'को कुरा नि।

कि पूर्व राजा झुठो बोले कि माधव नेपाल र कृष्ण सिटौला

पूर्व राजा दुई/चार जिल्ला घुम्न जाँदैमा र एक/दुईटा अन्तरवार्ता दिदैंमा राजा फर्कनेभए भन्नेहरु बढ्न थाल्यारछन् शहरमा। आँफै कल्पनामा रमाउन त कसैले छेक्दैन तर राजा न नेपाली जनताको मात्र चाहना र बलले फालिएका हुन् न यहाँका केहीले चाहदैँमा फर्कन्छन्। तर यहाँ कुरो त झुट्टा बोलेको पो आयो त। पूर्व राजा भन्छन् - २०६३ साल बैशाख ११ गते संसद पुनस्थापना गर्दा सात दलहरुसँग संवैधानिक राजसंस्था राख्ने सम्झौता भएको थियो। त्यो सम्झौता आफू वा अरु कसैसँग अझै पनि सुरक्षित छ। (भनेपछि पक्कै लिखत हुनपरो कि भ्वाइस रेकर्डड)
एमाले नेता माधव नेपाल भन्छन् - त्यतिबेला पूर्व राजासँग त्यस्तो कुनै सम्झौता भएको थिएन, यो आधिकारिक रुपमा मैले भनिरहेको छु, यदि त्यस्तो कुनै सम्झौता भएको थियो भने ल्याए हुन्छ।
यहाँ कि राजा कि माधव नेपाल र नेपालसँग बोली मिलाउने कृष्णप्रसाद सिटौला झुठो बोलेकै छन्। हामी स्कूल पढ्दा बोलेको कुरा झुठो ठहरिए कुखुरा बनेर एकछिन घाममा सेकिनपर्थ्यो। अब राजाले आफूसँग प्रमाण भए पेश गरौं माधव नेपाल र कृष्ण सिटौलालाई कुखुरा बनाउँला नत्र पूर्व मौसुफ नि कुखुरा बन्न तयार हुने कि भनेर भन्न नि मिलेन, ठूलो हुँदै गएपछि झुठ बोल्न पनि छुट हुँदै जानेरहेछ।

Saturday, July 7, 2012

सरकारी कार्यलय कि भगवानको फोटो बेच्ने ठाउँ


काम छ भने त दिक्कै हुन सक्छ तर काम छैन भने नेपालका सरकारी कार्यालय घुम्न रमाइलै हुन्छ। एउटा सरकारी कार्यालयको दर्ता चलानी (रिसेप्सन) शाखा। देश धर्म निरपेक्ष भनेर के गर्नु यहाँ दर्ता भएका चिठ्ठी भगुमान् कै खोपीमा पुग्ने झैं गरी फोटा टाँसेका छन्...

हरिवंश र धराबासीको बिहेले उत्साह थप्यो

श्रीमती बितेदेखि नै शोकमा डुबेर ११ वर्ष विधुर बसेका गाउँले काकाले फोन गरेका छन् - बिहे गर्न महिला खोजेर सहयोग गर्न सक्लास् केटा ? हरिवंश आचार्य र कृष्ण धराबासीको बिहेको खवरले उत्साह थप्यो होला।

कमनिस्ट नेतालाई सेतो कपालको पिर

हैन! कमनिस्ट नेताहरुलाई अझ त्यसमाथि पनि एकिकृत माओवादी नेतालाई सेतो कपालको कति पिर हो ? माउवादी नेता लेखराज भट्टपछि पार्टी प्रवक्ता दिनानाथ शर्माले नि कपाल रातै रङ्गाएछन्। घरको टिभी बिग्रेर कपाल रातो देखिएको हैन होला त...

Friday, July 6, 2012

प्रहरी व्युख्याँचा ?


सामाखुशी नजिकको खेतमा यो फोटो देखेदेखि मनमा एउटा कुरा खेलिराछ। प्रहरी पोशाकलाई वुख्याँचा बनाएर यिनले मान्छेलाई तर्साएको कि, चराचुरुङ्गी, जनावरलाई तर्साएको कि प्रहरीहरु वास्तवमा वुख्याँचा जस्तै भए भनेर प्रहरीलाई व्यङ्ग्य गरेको ?

Wednesday, July 4, 2012

सामान जति सब चिनीयाँ औपनिवेशवाद भारतको

ड्यास माउवादी कमरेडहरुले साह्रै भारतीय औपनिवेशवादको कुरा गरेपछि यसो आफूले प्रयोग गर्ने सामान हेरेको जीउ ढाक्ने कपडादेखि, बिहान उठेपछि गर्ने बुरुस, भान्साका राइसकुकुर, थर्मस, लसुन होस् कि अन्य कोठाका टिभी, फोन कार्यालयका कुर्ची, सोफा अनि राति सुत्ने ओछ्यान, ब्लाके‌ट, बोक्ने झोला, मोबाइल सबका सब चिनियाँ सामान पो रहेछन् त हउ। राजनीतिमा भारतीय औपनिवेश भए पनि आर्थिक औपनिवेश चिनतिर छ कि के हो कामरेड!

ठमेलको ठेला

गएको साता शुक्रबार दिउसो २ बजे कपनबाट नयाँबसपार्क आइपुगेको माइक्रोबसमा तपाईँले चिनेका कोही थिएनन् होला। मेरा भने कलेजका दुई साथी नारायण शर्मा र हरिकुमार ढकाल थिए।

शंकरदेव क्याम्पसमा बिबिएस पढ्दै गरेका हामी तीनमा धेरै कुरा मिल्दैन होला। तर चार कुरा भने एउटै रहेछ। उपत्यका बाहिरबाट काठमाडौं पढ्न आएका, साँझमा ठमेल कहिल्यै नघुमेका र अर्काको आम्दानीमा बाँचिरहेका। अनि काठमाडौ‍मा बाँच्नका लागि केही तत्काल सुरु गर्न पर्यो भन्ने हुटहुटी भएका।

Saturday, June 30, 2012

आफ्नो माग आँफैलाई राखिदियो भने

'जनयुद्ध' सुरु गर्नु अघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अहिलेका प्रधानमन्त्री बाबुराम भट्टराईले बुझाएको ४० सुत्रीय मागको ३३ नम्बर बुँदा ‘मल, बीउ सस्तो र सुलभ हुनुपर्छ। किसानहरुलाई उत्पादनको उचित मूल्य र बजारको व्यवस्था गरिनुपर्छ।' क्या सजिलो हुन्छ है माग राख्न...

मल सहयोग माग्ने कि?

बाबुराम सर! 'चाहेजस्तो सहयोग दिन भारत तयार' भनेर भारतीय प्रधानमन्त्रीले यहाँलाई ब्राजिलमा भनेका छन् भनेर यहाँले उतै भन्नुभाथ्यो । अहिले तत्कालका लागि चाहिँ विकासे मल सहयोग माग्ने कि ? राष्ट्रपति, काँग्रेस, ड्यास माउवादीले सरकार ढाले पनि नढाले पनि किसान जति सडकाँ उत्रेर मलकै कारण यहाँको सरकार ढाल्ने पो हुन् कि जस्तो ला'र भनेको हुम्...

Friday, June 29, 2012

'जनयुद्ध'मा मर्नेहरु बढेको बढ्यै

कतिको ख्याल गर्नुभएको छ कुन्नि! माओवादी 'जनयुद्ध' मा मर्नेहरुको संख्या आजभोलि दिनदिनै बढ्याबढ्यै छ। पहिले १२ हजारको मृत्यु भन्थे, त्यसपछि १३/१४/१५/१६ हुँदै अहिले १७ हजार भन्दा धेरै नाघिसकेछ। थाहा छ नि किन यसरी किन मरेका मरै छन् भनेर, विद्रोहमा परेर मरेकाका आफन्तलाई सरकारलाई राहत दिंन्छ। त्यही पनि सुरुमा एक लाख हुँदै अहिले ३ लाख पुगिसक्यो। भविष्यमा पनि तिनका परिवारलाई अझ राहत रकम दिने भन्दै आइरहेको छ, माओवादी सरकार...। प्रचण्ड सरकारले सशस्त्र विद्रोहमा मरेका ७ हजार भन्दा धेरै विद्रोहीलाई शहीद घोषणा गरेको थियो। त्यसपछि माधव नेपाल सरकारले पनि विद्रोहका बेला मरेका अन्य दलका दुई हजार भन्दा धेरैलाई शहीद घोषणा गर्यो। शहीदलाई त दश लाख दिने चलनै छ नेपालमा, अहिलेसम्म तिनका परिवारले तीन लाख रुपैयाँ मात्र पाएका छन्। बिस्तारै 'जनयुद्ध'मा मरेकाहरुलाई दिने राहतसँगै त्यसमा मर्नेहरुको सख्या पनि बढ्दै जाला।

परशुराम बस्नेतले पत्रिकामा लगानि गर्ने

एउटा दैनिकको पूर्वाञ्चल संस्करणका लागि पर्शुराम बस्नेतले लगानी गर्ने समाचार आएपछि अब पत्रिका पनि डनका हातमा जाने भए भन्दैछन्। (पर्शुराम चिन्नुभो नि उनै विराटनगरका युथफोर्सवाला, नागरिक दैनिकका पत्रकार खिलानाढ ढकाललाई कुटपिट गरे भनेर समाचार खुब आयो नि एकताका)। मलाई चाहिँ अब हतियार भन्दा कलम बलियो रहेछ भनेर कोही कलमै पट्टि लाग्छ भने राम्रै हो नि भन्ने जस्तो लागेको छ, छन त तर पनि म अलि बढी नै सकारात्मक सोचतिर लागेंकी के हो..

Thursday, June 28, 2012

बाबुरामलाई कस कसले सल्लाह दिए

ब्रजिल जानुअघि दलहरुले सहमतीय उम्मेदवार ल्याए प्रधानमन्त्रीको पद छाड्ने भनेका बाबुराम भट्टराईले फर्केपछि 'अर्को निर्वाचित सरकार नआएसम्म यही सरकार रहन्छ' भने। ब्राजिलमा यिनले ककस्को सुझाव लिएछन् भनेर खोजिपस्दा पत्ता लाका नामहरु भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह, टर्कीका प्रधानमन्त्री रिसेप तायिप एरडोगान, श्रीलङ्काका राष्ट्रपति महिन्दा राजपाक्ष, क्युबाका राष्ट्रपति राउल क्यास्ट्रो, नर्वेका प्रधानमन्त्री जेन्स स्टोल्टेन्बर्ग, पेरुका राष्ट्रपति ओलान्टा मिमला र अस्ट्रेलियाका प्रधानमन्त्री जुलिया गिलार्डल। यी मध्ये कसकसले के के सल्लाह दिए कुन्नि, प्रचण्डले नै भने पनि पद छाडिहाल्दा अनिष्ट आइहाल्छ भन्याछन्...

डन - पत्रिकाको नाम

परशुराम बस्नेतको लगानीमा पूर्वमा पत्रिका निस्कने रे भन्दा कसैकसैले 'डन' राख्नेहोला पत्रिकाको नाम भन्दै थिए। 'डन' नामको पत्रिका त पोखरामा निस्किसकेको रहेछ। लागनी चाहिँ कस्को छ त्यो भन्ने बुझ्न पाइएको छैन।

Wednesday, June 27, 2012

मुस्ताङबाट भुपू भएपछि प्राडो ?

बाबुराम भट्टराई सरकारले भुपूहरु र तिनका आसेपासेलाई गाडी/घरभाडा सुविधा भन्दै बर्सेनी ५० करोड रुपैयाँ बराबरको सुविधा दिने निर्णय गरेछ। अझ ६ महिना/वर्षदिनमा सरकार फेरिने हाम्रो देशमा भोलिपर्सी कति भुपू थपिदै जाने हुन् अनि सुविधाका नाममा कति रकम थपिदैं जाने हो?

अस्तिनै भट्टराई सरकारले प्रकाश दाहालको टिमलाई सगरमाथा चढ्न एकपटकलाई दुई करोड दिदाँ चौतर्फी विरोध गर्नेहरु अझ सडकमा नै उत्रिएका काँग्रेस-एमालेसहितका विद्यार्थी संगठनहरु अहिले त पक्कै केही बोल्दैनन् होला, आखिर सुविधा पाउनेमा सबै दलका नेता छन्...
बाबुराम भट्टराई पनि प्रधानमन्त्री भइन्जेल मुस्ताङ चढ्ने र भुपू प्रधानमन्त्री भएपछि प्राडो चढ्न खोजेका रैछन् कि के हो। बेला न कुबेला भुपूहरुको सुविधा बढाएर बसिरहेका छन् त।

नरहे बाँस नबजे बाँसुरी

वुद्ध एयरको उडानमा विमान परिचारिकाले पहिले पहिले 'पिनट्स' भन्दै छोडाएको बदामको एउटा सानो प्याकेट दिन्थे। केही दिन अगाडि  भैरहवाका लागि उड्दा साह्रै भोक लागेपछि फन्टा भन्दा केही नल्याएकी परिचारिकालाई मुखै फोरें, 'पिनट्स पाइदैंन आज?' उनले भनिन् , 'अहँ, गुणस्तर विभागले पिनट्स गुणस्तरीय छैन भन्यो। हामीले बाँड्न छाडेम।' ए बा कस्तो मजा भएछ वुद्ध एयरलाई! अब यात्रीलाई बदाम खुवाउनपर्छ भनेर कहिँ नियम छैन अलि अलि बाँडेको पनि गुणस्तर छैन भनेसी झन् पैसा नि बच्यो, गुणस्तरको पनि टेन्सनै साफ। 'नरहे बाँस नबजे बाँसुरी' भनेको यस्तै होला।

नयाँ चुनावबाट नेता हुने भए


नयाँ चुनावले नयाँ नेता त जन्माइहाल्छ। कसैलाई अब हुने चुनावमा सासंद/सभासद हुने मन भए एउटा क्लीउ दिउँ न भनेर। यस अगाडिको संविधानसभा चुनावमा देशभरीबाट 23,512 भोट ल्याउने नेपाल परिवार दल भन्ने पार्टीबाट एक जना सभासद भएका थिए र तिनले पछिल्लो पटकको मन्त्रीपरिषद्‌मा 'सहकारी तथा गरिबी निवारण' मन्त्री पड्काएका छन्।
देशभरबाट २५ हजार जति भोट आउँछ भन्ने कसैलाई विश्वास छ भने एउटा पार्टी खोलेर समानुपातिकमा चुनाव लड्दे हुन्छ। अझ निर्वाचन आयोगमा यसो मिलाएर चुनाव चिन्ह सबैभन्दा धेरै भोट ल्याउने पार्टीको जस्तै जस्तै भयो भने त सभासद हुने पक्का।

Friday, June 22, 2012

एउटा कमनिस्टले अर्कालाई दिने विशेषण


कति अप्ठेरा हुन् विश्लेषण!
'नवसंशोधनवादी समूह प्रचण्ड र बाबुराममा गम्भीर प्रकारको विचलन पैदा भएको छ। यो विचलन दंक्षिणपन्थी विसर्जनवाद, वर्गीय आत्मसमर्पणवाद र राष्ट्रिय आत्मसमर्पणवादका रुपमा देखापर्‍यो।' नयाँ माओवादीले पुरानो माओवादीलाई लगाएको आरोप।
'वैचारिक रूपले यान्त्रिक संकीर्ण र जडसूत्रवादी, राजनीतिक रूपले वामपन्थी लफ्फाजीसहितको विसर्जनवादी र संगठनात्मक रूपले अराजकतावादी विचलन' प्रचण्ड पार्टीले नयाँ माओवादीलाई लगाएको आरोप।
यो 'लफ्फाजी' भन्ने शब्दको अर्थ शब्दकोषमा पनि भेट्टाइएन।

Thursday, June 14, 2012

सैनिक र प्रहरीका दुई खवर


सेनाका क्याप्टेन र पूर्वजर्नेल नवलपरासीमा मृग सिकार गर्दागर्दै गाउँलेले पक्रिए ...
पेप्सीकोला भक्तपुरमा पार्कीङ गरेर राखेको मोटरसाइकल चोरेर लाँदै गर्दा प्रहरी हवल्दार पक्राउ...
नागरिक पत्रिकामा छापिएका दुई समाचार

Saturday, June 9, 2012

‎गोरखपुरमें घर हे, हमको क्या डर हे

‎'गोरखपुरमें घर हे, हमको क्या डर हे' नेपालका केही नेताहरुको गतिविधि देखेर एक जना ट्याक्सी ड्राइभरले बनाएको नयाँ उखान रे...(भैरहवामा काँग्रेस नेता रमेश लेखकको मुखबाट सुनेको)

Monday, June 4, 2012

पानी छैन त्यसैले सेन्ट

फुन वार्तालापमा मौसमको हालखवर सोध्नासाथ धरानका साथीले भनेका "ए मित्र, यहाँ गर्मीले पाकेर मात्र त के हुन्थ्यो र, नुहाउने पानी पनि छैन। त्यसैले 'सेन्ट' किनेर जीउमा छर्केर हिडिरहेका पो छु है।" राजधानी काठमाडौंहित नेपालका अन्य धेरै शहराँ पनि धरानको भन्दा कहाँ फरक छ र हउ भनेर ती साथीलाई समवेदना प्रकट गरियो।

Wednesday, May 30, 2012

अब कति वर्षलाई चुनाव ?

एउटा कुरा नि बाबुरामले भन्न बिर्से कि मैले सुनिन कुन्नि? बाबुरामले फेरि संविधानसभाको चुनाव गराउने कुरा त गरे। तर त्यो भोट उनले कति वर्षका लागि मागेका हुन् साँच्चै? दुई वर्ष कि अहिले झैं चार वर्ष कि अझ त्यो भन्दा धेरै ? अनि फेरि ६०१ जनालाई नै चुन्ने हो हाम्रो भोटले ?

Monday, May 28, 2012

संविधानसभा भंग पछिको बाटो


कहिलेकाहीँ स्थिति कसैको पनि काबुमा हुँदैन र कसैले नचिताएको कुरा हुन जान्छ। संविधानसभा भंग पनि नेपालमा त्यस्तै हुन गयो। हुनुपर्ने /नहुनेपर्ने जे जे भए पनि समयले कसैलाई पर्खदैंन। त्यसैले फेरि भविष्यलाई कसरी लाने भन्ने योजनामा लागिहाल्नुपर्छ। संविधानसभा भंग भएपनि  अब हामी समक्ष दुई वटा बाटा छन्।
मिलेर जाने र अर्को  नमिलेर जाने।
अब मिलेर जाने हो भने प्रधानमन्त्री वा राष्ट्रपतिको अगुवाईमा सर्वदलीय छलफल हुनुपर्छ। छलफलपछि प्रधानमन्त्री बाबुराम भट्टराईले राजिनामा दिनुपर्छ। प्रमुख दलहरुकै सहभागितामा नयाँ सहमतिको सरकार बन्नुपर्छ र त्यो भट्टराईकै  कै नेतृत्वमा भए पनि हुन्छ नभए अरु कसैको। र, त्यसले सहमतिको आधारमा संविधानसभा निर्वाचनको नयाँ मिति (यही मिति मंसिर ७ गते बिहीबार पनि हुनसक्छ) घोषणा गरी चुनाव गराउनुपर्छ।
नयाँ चुनावका लागि निर्वाचन सम्बन्धी कानूनहरु बनाउनुपर्नेछ। नभए नयाँ मतदाताले मतदान गर्न पाउँदैनन्। कति सदस्यीय संविधानसभा निर्माण गर्ने र त्यसले संविधान निर्माणका लागि कति लामो समय पाउने भन्ने विषयमा छलफल हुनुपर्नेछ।
चुनावले जनतालाई बलियो बनाउँछ। मतदाताहरु पक्कै सचेत छन् र आउने चुनावमा केही नेताहरुलाई छानीछानी पराजित गर्नेछन्। बरु सबैको ध्यान निर्वाचन निष्पक्ष गराउने र निर्धक्क भएर मत खसाउन सक्ने वातावरण निर्माण गर्नेतर्फ हुनुपर्छ।
तर डर त नेताहरु नमिलेर जालान्, राष्ट्रपति र प्रधानमन्त्रीबीच शक्ति संघर्ष होला। चुनावको घोषणा गर्ने तर जातीय वा क्षेत्रीय नाममा साम्प्रदायिक हिंसा फैलाएर देशको कुभलो चिताउनेको मनोकामना पुरा गरिदेलान् भन्ने छ।

कति आशावादी हुन् सभासद्

सान्त्वना प्रकट गर्न एक जना सभासदलाई फोन गरेको उल्टो सम्झाए, 'बिर्सेउ र भाइ! पहिले पनि शेरबहादुर देउवाले भङ्ग गरेको प्रतिनिधिसभा आन्दोलन गरेर पुनः स्थापना भाथ्यो। अहिले आत्तिहाल्न पर्दैन भोलिपर्सी फेरि पुरानै संविधानसभा पुनःस्थापना गर्न पर्यो भनेर आन्दोलन हुनसक्छ।' राजनीतिको कुरा, के पो असंभव छ र अझ फेरि हाम्रो छिट्टै पुराना कुरा भुल्दिहाल्ने र माफी दिने बानी छ। अनि कति आशावादी हुन् यी सभासद्।

सगरमाथा चढेर संविधान नआउने रैछ

ई..... सगरमाथा चढेर त शान्ति र संविधान नआउने रैछ भो। (नोट: प्रचण्ड पुत्र प्रकाश दाहाल शान्ति र संविधानका लागै भन्दै सगरमाथाको आरोहण गरे। तर पनि यता भने संविधान आएन।)

संविधान आउँदैन भनेर त मैले त सुरु मै भनेको थिएँ नि

अब फेरि कति जना उडन्ते विश्लेषकहरुको भनाइ सुन्न पर्ने भयो 'मैले त सुरु मै भनेको थिएँ नि यो संविधानसभाले संविधान दिनै सक्दैन भनेर।' तर मलाई थाहा छ ती तिनै विश्लेषकहरु हुन् जसले पाँच वर्ष अगाडि संविधानसभाको चुनाव नै हुँदैन भन्थे र तिनैले ४ वर्ष अगाडि गणतन्त्र आउनै सक्दैन भन्थे।
कहिलेकाहीँ त त्यस्ता भविष्यवाणी मेरो छिमेकी ज्योतिषले गरेको नि मिल्छ। जो अन्त कहिँ काम नपाएपछि ३ महिने एउटा ज्योतिषको संगत गरेर फर्केर त्यही काम गरिरहेका छन्। उनले प्रायलाई एउटै भन्छन् - तपाइको मन चञ्चल रहेछ। केही कुरामा थिर भएर बस्दो रहनेछ। मनमा कुरा खेलिरहनेरहेछ।

सभासदहरु प्रति दया लागेर आयो

जीन्दगानीमा सभासदहरु प्रति साह्रै दया लागेर आयो अहिले ठ्याक्कै संविधान सभाको मृत्यु भएको अवस्थामा। बिचराहरुले संविधानसभा मृत्युको खवर पनि रेडियो र टिभी सुनेर थाहा पाउनुपर्ने भो। कमसेकम संविधानसभा अध्यक्षले सभासदहरुलाई बोलाएर बैठकमा बोल्न मन लाए जति बोल्न दिनुपर्ने थियो।

Saturday, May 26, 2012

संघीय प्रदेश बनेपछिको बन्द

महिनौं दिनका बन्दबाट वाक्क भएका मोफसलका नेपालीहरुले भोलिपर्सी संघीय प्रदेश बनेपछि आ-आफ्नो प्रदेशमा बन्द गर्न नपाइने र बन्द गर्नै गरी केही माग गर्न परे केन्द्रीय राजधानी गएर त्यहीं बन्द गर्नेपर्ने नियम बनाउलान्। भविष्यको नेपाल...

जान्नेले संघीयताबाट पनि पैसा कमाउँदै छन्

ए! संघीयताको बिबादमा अहिले कतिले त पैसा पो जम्मा पारिरा' रैछन्। बहिनीको गाउँबाट फोन आयो - गाउँलाई प्रादेशिक राजधानी बनाउन आन्दोलन गर्ने भन्दै घरघरबाट पाँच/दश हजार रुपैया उठाइरहेका छन् रे। अन्तका बजारहरुमा पनि प्रादेशिक राजधानी बनाउने भन्दै जान्नेले कति कति पैसा उठाइरहेका छन् होला? अझ प्रदेशै बनाउनका लागि आन्दोलन भन्दै पनि पैसा जम्मा गरिराका होलान्। आखिर राजधानी आफ्ना गाउँ/बजारमा होस् भन्ने मन कसलाई हुन्न र? रोगडा भेला पार्ने अनेक अनेक उपाए निकाल्छन् केटाहरु...

Friday, May 25, 2012

आखिर संविधान बनाउने यिनैले हो

सर्वोच्चको फैसलापछि संविधान आँफैले बनाउन पाइयो झैं गरी मानिसहरु तीन हात बित्ताको बुर्कुसी मारिरेहका छन्। तर 'संविधानसभा'ले बनाउने भनिएको संविधानको बाँकी भाग अब संसदले बनाउने भयो। के फरक भो? आखिर बनाउने यिनैले हुन्, प्रधान न्यायाधीश खिलराज रेग्मी आएर बनाइदिने होइनन्। धेरैले चिन्ता गर्ने गरेको सभासद (पर्सीबाट सांसद)को तलबभत्ता पनि सभासद हुँदा धेरै संसद हुँदा कम हुँदैन होला। जनता र अदालत संविधानसभा भंग भो भनेर मख्ख, सभासद संसद भइयो भनेर मख्ख, ठूला साना नेता आखिर संविधान बनाउने हामी नै हौं भनेर मख्ख। Win win situation भनेको यस्तै होला?

नेता बोलीमा एकछिन पनि अडिग हुन्नन्

आजभोलि फेसबुक भन्दा टि्वटर https://twitter.com/#!/dipakbhattarai चल्तीमा छ जस्तो छ। एकजनाले त्यसमा लेख्याथे: 'माधव नेपालले पहिलोपटक कुनै शिर्ष नेताका बारेमा टिप्पणी गर्दै सत्य बोलेका थिए त्यही नि फेरि २४ घन्टा नहुँदै माफ मागेछन्।' नेताहरु गतिलो कुरामा त एकछिन पनि टिक्नै सक्दैनन् किन हो? (हास्नुपर्ने कारण धेरै छन् हा हा हा....)

Thursday, May 24, 2012

प्रचण्डको डेरा

‎'प्रचण्डले नयाँबजारबाट लाजिम्पाट डेरा सर्‍या होइन सारिएको रहेछ लैनचौरबाट नजिक हुन्छ भनेर' - लास्टै जोक गर्छन् साथीभाइ।

Wednesday, May 23, 2012

सरकारले दिन सक्ने र नसक्ने

सरकारले दिन नसक्ने भनेको रोजगार, स्वास्थ्य उपचार, सुलभ र गतिलो शिक्षा, बिजुली, पानी, इन्धन, मल आदि रहेछ। पहिचान, राज्य, आरक्षण, आदीबासी जे माग्नोस् दिन तयार छ।

Tuesday, May 22, 2012

बन्दको रोग त पत्रकारमा पनि सरेछ

पत्रकारहरु माथि आक्रमणको विरोध भन्दै मंगलबार बुटवलका पत्रिका र एफएममा समाचार बन्द भयो। बुधबार र बिहीबार झापाबाट प्रकाशित हुने पत्रिका बन्द गर्ने निर्णय भएछ। बन्दको रोग त पत्रकारमा पो सरेछ...

Monday, May 21, 2012

मायाले अगाडि बन्द

मेरो घर छेउ बस्ने लैलालाई भेट्न एकजना मजनु RAV 4 जिपमा आइरहन्छन्। कान्छीलाई महिनाको १२ हजार रुपैयाँ पर्ने फ्ल्याट लिएर भाडामा राखेको भनेर कानेखुशी हुन्छ छिमेकमा। आजको यस्तो बन्दको (प्रेस र एम्बुलेन्सलाई पनि नछाडेका) दिन पनि उनी जिप लिएरै आए। नतमस्तक भएँ प्रभु....

११ प्रदेशले मर्का पर्ने भो

यो सहमति भयो भनिएको ११ प्रदेशको प्रस्तावले त मलाई साह्रै मर्का पर्ने भो। घर छ नवलपरासी जिल्लाको पहाड डेढगाउँमा। नुन तेल र बिहेबारीको सामान लिन तनहुँ र पोखरातिर पाइपर्छ। अहिले नवलपरासी जिल्लालाई बाँके-बर्दीयासँग लगेर जोडदिएछन्। जिल्ला सदरमुकाम परासी जान भन्दा अहिले त काठमाडौं आउन नजिक छ। भोलिपर्सी प्रदेशको राजधानी दाङ वा नेपालगञ्ज पुर्याए भने झन् के हाल हुनेहोला। यति बोलुँ संघीयता बिरोधी भन्देलान्। नबोलुँ आफूलाई मर्का परेको कुरो।

शुभकामना हजुर्बा .

अफिस आउँदा चक्रपथ परिक्रमा गर्ने बसको मसँगैको सिटमा अमेरिकामा ९ वर्ष काम गरेर फर्केका ७१ वर्षीय युवा भेटिए। वनस्थली घरमा एक्लै बस्दा दिक्क लागेर रिङरोडको बस यात्रामा निस्केका। उनको सर्टकर्ट कुरा: 'श्रीमती जेठो छोराको परिवारसँग अमेरिकामै बस्छु भनी, आउनै मानिन। कान्छो छोरा अमेरिकामै जर्मनी केटी बिहे गरेर जर्मन तिर लाग्यो। छोरी युकेको ज्वाइसँग उतै छे। मलाई उता बस्नै मन लागेन, म त यो उमेरमा एक्लै परें, त्यसैले अर्की बिहे गरौं कि भनेको अरुले जे सुकै भनोस्।' शुभकामना हजुर्बा ..

अर्को चुनावमा केही नेतालाई हराउनैपर्नेछ

‎'मिसप्लेस' भएको नागरिकता भेटिएपछि भोटर कार्ड बनाउनका लागि काठमाडौं निर्वाचन कार्यालय गएको थिएँ। मान्छेहरु दुई तीन घन्टा लगाएर लाइनमा बसी फोटो खिचाइरहेका थिए। एकजनालाई सोधें, नेपालीलाई अझै राजनीतिबाट वाक्क ला'रैनछ हगि। उनले भने, 'अर्को चुनावमा केही नेतालाई हराउनैपर्नेछ त्यही भएर भोट हाल्नु पर्नेभो।'
तिनी कुन जिल्ला कुन क्षेत्रका मतदाता भनेर सोध्नै बिर्सेछ। कसलाई हराउन खोजेका रैछन् कुन्नि ?

Friday, May 18, 2012

कति लामो होला राष्ट्रपतिको मतपत्र

‎'राष्ट्रपतिको उम्मेदवार हुन कति उमेर चाहिने गराए कुन्नि?' एक जनाले सोधेका। पहिलो प्रत्यक्ष राष्ट्रपतिको उम्मेदवार हुन मन छ अरे हारेपनि। यसो सोचिरहेको, जो पनि उम्मेदवार हुन पाउने अवस्थामा कति लामो हुन्छ होला राष्ट्रपतिको मतपत्र। देशभरीमा मिनिममै पाँच सय जना त राष्ट्रपतिको उम्मेदवार हुन खोज्लान् नि।

Tuesday, May 15, 2012

फेसबुकमा मेरिज एनिभर्सरी विज्ञापन

मान्छेहरुलाई जन्मदिनको शुभकामनाले मात्र नपुगेर हो कि के हो कुन्नि आजभोलि फेसबुकमा श्रीमान्/श्रीमतीको बिहेको फोटो राखेर हाम्रो बिहे भएको यति वर्ष भयो भनेर लेख्ने चलन बढ्या जस्तो लाइराच। कुन दिन जुकरवर्गले फेसबुकको दाइने कुनामा बर्थडे सँगसँगै मेरिज एनिभर्सरी डे पनि राख्दिन्छन् भन्ने हाम्लाई लाइराछ...

कत्रा ढुङ्गा हुन् खानामा?

कत्रा ढुङ्गा हुन् खानामा? शहरमा मान्छेले चामलमा हाल्ने सेता ढुङ्गा र दालमा हाल्ने दालको रङ अनुसारको कालो/रातो ढुङ्गा- माटोको कारखाना नै खोलेर पनि व्यापार गर्छन् कि के हो? ...दाँत धन्नै भाँचिएन।

प्रदेशको राजधानीका लागि कति मारमुङ्ग्री पर्ने होला?

एउटा अस्पताल होस् कि विश्वविद्यालय वा रंगशाला नै किन नहोस् कुनै क्षेत्रमा पर्दा त यो र त्यो ठाउँमा भन्नेमा बिबाद गरी बन्द प्रदर्शन हडताल आयोजना गरेर दुई चार जनाले ज्यान फाल्ने हामीहरुलाई भोलिपर्सी साँच्चै राज्य बाँडेर दिए भने यो ठाउँमा र त्यो ठाउँमा राजधानी चाहियो भनेर कति जनाले ज्यान फालिन्छ होला ? आजभोलि वीरगञ्ज र विराटनगर मा त प्रादेशिक राजधानी चाहियो भनेर आन्दोलन हुन थालिसक्यो।

अखण्ड सुदुरपश्चिमै भइहाले पनि त्यहाँ राजधानी धनगढी, महेन्द्रनगर, दीपायल कि डडेल्धुरा कहाँ राख्ने भनेर कति मारमुङ्ग्री पर्ने हो फेरि।

Sunday, May 13, 2012

सञ्चार माध्यममा विभत्स भिडियो र फोटो

जापानमा पोहोर आएको सामुन्द्रिक आँधीले २० हजार भन्दा धेरैको ज्यान गयो तर कुनै पनि जापानी मिडियाले एउटा पनि शव देखाएन रे। हाम्रोमा हिमपहिरोपछि सेती नदीमा आएको बाढीबाट मृत्यु हुनेको ३० जना जतिको शब भेटिएको छ। तर फेसबुक, वेवसाइट र टिभीमा शब देखाउनेकै होड छ।
प्राकृतिक विपद्‍मा परेर बितेका तिम्रो साथी, दाजु-भाइ, दिदी-बहिनी, आमा-बाबु वा इष्टमित्रको क्षतविक्षत शब फेसबुकका वाल, टिभी र पत्रिकाभर आएको तिमीलाई मन पर्छ? तिमीलाई आफ्नो आफन्तको क्षतविक्षत शबको चित्र मन पर्दैन भने अरुलाई पनि मन पर्दैन।

उपप्रधानमन्त्री मण्डल

माओवादीका नारायणकाजी, मधेशी मोर्चाका गच्छदार र काँग्रेसका सिटौला उपप्रधानमन्त्री भइसके। अहिले घुर्क्याए नि एमाले सरकारमा गए भने उप प्रधानमन्त्री चार जनाको हुने पक्कै भो। अझ साना दलहरु पनि सरकारमा जाने भए भने पाँच जना उपप्रधानमन्त्री हुने भए। दलहरुले सहमतिको मन्त्रिमण्डल होइन उपप्रधानमन्त्रिमण्डल पो बनाउने सहमति गरेका रैछन् क्याहो ?

सजिलै पेट्रोल

अफिस आउनासाथ हानिदैं कोठाँ आएर साथीले सुरुमै पत्रिका मागे र राशीफल हेरे, किन हो भनेर सोधेको आज लाइनमा नबसी पेट्रोल पाए रे। हाँस्नुपर्ने कारण धेरै छन् हा हा हा...

Thursday, May 10, 2012

काठमाडौं बाहिरको नेपाल हैन?

यी कुटनीतिक नियोगकाहरुलाई पनि काठमाडौं मात्र नेपाल लाग्दो रहेछ कि के हो? एक दिन कसैले काठमाडौं बन्द आव्हान गर्दा भिसा बन्दसम्मको ध्वाँस दिनेहरुले १५ दिनदेखि सुदुरपश्चिम बन्द छ, पूर्व पनि चार दिनदेखि बन्द छ। जेठ १४ सम्म अझ बढ्दै जाँदा कति कति दिन काँ काँ बन्द हुने हो। चुँइक्क क्यै बोलेका छैनन् त...

Sunday, May 6, 2012

मिस नेपाल पनि मध्य रातमा

सप्पै महत्वपूर्ण घोषणा र सहमति मध्यरातमै गर्ने राजनीतिक नेताहरुको बानीबाट सिकेर होला मिस नेपाल आयोजकहरुले पनि यसपालीको मिस नेपालको घोषणा मध्यरातम मै गर्ने भएछन् । मिस नेपाल कार्यक्रम राती ८:३० बजे सुरु हुने भएपछि नतिजा त पक्कै मध्यरातमा मात्रै आउला।

Saturday, May 5, 2012

मन्त्री बन्न छाडेर संविधान

अबको तीन सात्रा भित्र दुई दुई वटा सरकार; अझ एउटा त एक वर्षभित्र चुनाव गराउने भनिएको र चुनाव हुने परिस्थिति नभए वर्षौं लम्बिने सरकार बन्ने सहमति भाको बेलामा देशका गिनेचुनेका नेताहरु मन्त्री बन्ने लाइनमा लाग्न छाडेर संविधान बनाउन तिर ध्यान देलान् र २०/२२ दिनभित्र संविधान बन्ला भनेर म जस्तै पत्याएर बस्नेहरु कति छौं होला?

Thursday, May 3, 2012

भारतीय राजदूत जी मन्त्रालय पनि भाग लगाइदिनुहोला

महामहिम भारतीय राजदूत जयन्त प्रसाद जी, सहमतिको सरकार र संविधान बनाउने दलहरुको बुधबारको शिर्षस्थ बैठकमा यहाँ सक्रीय हुनुहुन्थ्यो भन्ने समाचार विहीबारको कान्तिपुर दैनिकमा पढ्न पाइयो। अब कृपा गरेर यहाँले मन्त्रालय पनि भाग लगाइदिनुहोला नत्र फेरि कसलाई गृह, कसलाई अर्थ, कसलाई रक्षा भन्दै मन्त्रालयमै झगडा गरेर यिनीहरुले बाँकी २०/२२ दिन सकाइदिन्छन्। कस कसलाई कुन कुन मन्त्री/मन्त्रालय दिदाँ तपाइको हित हुन्छ त्यो तपाइलाई पनि थाहै छ र मह काढ्नेले हात चाट्छ भन्ने उखान हामीलाई पनि थाहा छ।

Wednesday, May 2, 2012

कसले फुक्यो नेताहरुको कान


चमत्कारिक रुपमा सहमतिको नजिक पुगेका भनेका दलहरु कतै संविधान जेठ १४ सम्म लेख्छन् कि जस्तो भाको थियो। फेरि नाटकीय रुपमा कताबाट सरकार फेर्ने राप आयो। दलहरु संविधान लेखन छाडेर सरकार फेर्ने र टिकाउने तिर केन्द्रीत हुन थाले झैं भाछ।
हात्तीवन रिसोर्टमा सात आठ प्रदेश र मिश्रीत शासकीय स्वरुपमा सहमत हुन तयार भनिएका प्रचण्ड कुनै अदृश्य शक्तिले गर्दा हो कि १० वा १४ प्रदेशतिरै र राष्ट्रपति प्रणालिमा फर्के।
अर्कातिर कुन अदृश्य शक्तिले गर्दा हो केपी ओली र रामचन्द्र पौडेलहरु संविधान छाडेर सरकार फेर्नतिर लागिरहेका छन्। कतै नेपालमा शान्ति पनि आउने भो संविधान पनि बन्ने भो भनेर अतालिएका कुनै अदृश्य शक्तिले माओवादी, काँग्रेस र एमालेलाई छुट्टाछुटै कान भरिदिएर ल्हासा जान कुतीको बाटो त देखाइरहेको छैन।
त्यो अदृश्य शक्तिले प्रचण्डलाई प्रदेशको संख्यामा सम्झौता गरे तपाइको पार्टीको पकड जनजातीमा गुम्छ र तपाई राष्ट्रपति त के अर्को चुनावमा एमालेको संविधानसभाको जस्तो हविगत हुनसक्छ भनिएको हुनसक्छ। काँग्रेस-एमालेलाई अहिल्यै सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याए माओवादी फुट्छ र अर्को चुनावमा तिमीहरुको बहुमत आउँछ भनेर त्यही अदृश्य शक्तिले कान भरेको हुनसक्छ र त्यो शक्ति आफू भने जनकपुरमा वम विष्फोट गराएर मख्ख परिरहेको हुनसक्छ।

Monday, April 30, 2012

बस्नेतले आत्मसमर्पण गरे, एमाले सरकारमा जाने भएछ

राष्ट्रिय सहमतिको त हुन्छ कि हुन्न तै पनि अब एमाले मिसिएको सरकार चाहिँ बन्ने भए जस्तो लाग्यो। युथफोर्स विराटनगरका नेता परशुराम बस्नेतले त्यसै अदालतसमक्ष आत्मसमर्पण गरेका हैनन् होला त। संयोग मात्रै होला र डनको आत्मसमर्पण? साह्रै मन शंकालु भएर हैरानै भो।

आँफैलाई बन्दी बनाइराख्ने

यी सुदुरपश्चिमबासीले शेर्पाहरुबाट केही सिक्नु नि। अखण्ड सुदुरपश्चिम चाहियो भन्दै आँफैलाई बन्दी बनार बसिराछन् शुक्रबारदेखि सुदुरपश्चिमेलीले। शेर्पाहरुले चाहिँ शेर्पा प्रदेश चाहियो भनेर कहिल्यै आफ्नो क्षेत्रमा बन्द गर्दैनन् बरु शिर्षस्थ नेताहरुको घर अगाडि धर्ना दिइरहेका छन्। आँफैलाई बन्दी गराउनु भन्दा त बरु नेताहरुको घर-गेट बन्द गराउनु नि सुदुरपश्चिमबासीले पनि।

Saturday, April 28, 2012

६०१ को साटो १००१

संविधान बनाउ बनाउ भनेर दबाब खुव दियाथ्यौ नि! बनाउने लागे त संविधान, अहिले ६०१ सभासद थिए, अब बन्ने संविधानमा हरेक प्रदेशमा करिब ५०/६० सांसद अनि केन्द्रमा ३८५ सांसद गराउँदा करिब एक हजार जति सांसद हुने भए। अब पालौं हामी जनता मिलेर ६०१ को साटो १००१ लाई ...

Friday, April 27, 2012

पुस्तक कभरमै मोबाइल नम्बर

मरे बुझिएन। साहित्यकार त्यसमाथि पनि एकदमै स्थापित, २० औं कृति लेखेका कृष्ण धराबासीले किन नयाँ कृति 'पाण्डुलिपि' मा आफ्नो मोबाइल नम्बर पुस्तकको अझ कभर पेजमै सार्वजनिक गरेका होलान्...

Wednesday, April 25, 2012

'लाइन'

केटाकेटीमा 'लाइन' लगाएरै गुरुहरुले राष्ट्रिय गान गाउन सिकाए
'लाइन' उभ्याएरै पिटी खेलाए
होमवर्क नगर्दा 'लाइन'मा राखेरै पिटे

अलि हुर्किएको के थिएँ साथीहरुले संगीलाई 'लाइन' मार्न सिकाए
एकै जनालाई धेरैले 'लाइन' मार्दा रहेछन्, त्यही 'लाइन'मा फसियो
सडक छेउमा 'लाइन' लागेरै पिसाब फेर्न सिकियो
'लाइन' बसेर फिलिमका टिकट किनियो

तन्नेरी भएपछि 'लाइन' लागेर फारम भरियो
पटक पटक घन्टौं 'लाइन'मा उभिएरै परीक्षा दिइयो
ढिलो-चाँडो 'लाइन' मिल्ने ठाउँमा जागिर पाइयो

तस्करको 'लाइन' मिल्ला र पैसा आउला भनेको
'लाइन' त ठूलाबडाले माथिबाटै मिलाएका हुनेरहेछन्
तस्करको 'लाइन' त मिल्यो तर आफ्नो मिलेन

तर पनि 'लाइन' बस्न छुटाइएन
पेट्रोलको 'लाइन'मा बसियो
फोनको नेटवर्क बिजी हुँदा 'लाइन' पाइएला नि भनेर ढुकियो
बिजुलीको 'लाइन' कुरेर बसियो

देशसँग दिक्दार भएपछि विदेशिनेको 'लाइन'मा लागियो
त्यो लाइनमा पनि 'लाइन' मिलाउनेहरु 'लाइन' मिचेरै अगाडि बढे
'लाइन'मा बस्दै गर्दा पालो आयो
एयरपोर्टमा 'लाइन' लागेरै जहाज चढियो
अब त 'लाइन' बस्न पर्दैन भनेर सोचियो
त्यसैले एयरहोस्टेजलाई 'लाइन' मार्न जाँगर चलाइएन

तर यता आएदेखि पनि 'लाइन'ले छाडेको छैन
बस चढ्न होस् कि पाउरोटी किन्न
'लाइन' मै बस्ने गरेको छु
उता झैं 'लाइन'मा ठेलम् ठेल धेरै छैन
तर पनि 'लाइन' मै बित्ने भो साला आधा जिन्दगी

अक्षय तृतीया

अक्षय तृतीया दिन गाउँतिर जौको सातु र सर्वत (दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी वा मिस्री मिलाएको) बाँड्ने चलन थ्यो। शहरमा त्यो त देख्न पाइएन तर अक्षय तृतीयाका दिन सुन-हिरा जोड्न पर्छ भन्दै एउटा गहना पसलले पत्रिकाभर बिज्ञापन देको पढ्न पाइयाछ। अब १०/१५ वर्षपछिकाले अक्षय तृतीया भनेको गहना किन्नै पर्ने दिन हो भनेर बुझ्छन होला। उपभोक्ताबादको जमानामा सामान बेच्ने बहाना हुन् हरेक धार्मिक तिथी, के को सातु के को सर्वत....

ट्याक्सीको भाउ

'मिटरको भर पर्नै सकिदैंन बरु मोलमोलाई गरौं भनेर ट्याक्सी ड्राइभरलाई भनेपछि चालकको जवाफ: तपाइले भनेको ठिकै हो तर पेट्रोलको भाउ बढ्या बेलाँ ट्याक्सीको भाउ समायोजन पनि गरिदिदैंनन्, पेट्रोल बेलाँ नि दिन्नन् अनि जस्तो पार्टीहरुको राजनीति छ, त्यस्तै छ ट्याक्सीका मिटर पनि, सद्दे त पाउन त मुश्किल।

Sunday, April 22, 2012

यहाँ खसाएको चिठ्ठी कहाँ पुग्ला?

विदेशीले यो पत्र मञ्जुषा देखे भने नेपालको कस्तो सोच बनाउलान्? सुन्धारा काठमाडौं मल नजिकको एउटा पत्र मञ्जुषा। देश बनाउँछौं भन्नेहरुलाई ठूलठूला कुरामा ध्यान छ यस्तो कुरामा कस्को ध्यान जाओस्।
तर खसखस लागेको कुरा चाहिँ यहाँ खसाएको चिठ्ठी कहाँ पुग्ला?

एक बोतल बियर; तीन घन्टा गनथन

हिमचिम भइनसकेको मानिससँग सोमरस पिउँदा कहिलेकाहीँ लाग्छ; यो मादक पदार्थको संगत नगरेकै भए बेस हुन्थ्यो। मैले पिएको दुई बोतल बियर वा तीन पेग व्हिस्कीको पैसा तिमीले तिरिदियौ भन्दैमा दुई/तीन घन्टासम्म तिम्रो पारिवारिक इतिहास, विश्वको भुगोल, मार्क्सको अर्थशास्त्र र देशको राजनीति सुन्न वाध्य म जस्तै साथीभाइ प्रति आज समवेदना प्रकट गर्दछु।

Saturday, April 21, 2012

मास्क (नाके लंगोटी) को व्यापार

सडक बिस्तार गर्ने भनेर पर्खाल र केही घर त भत्काइए। तर बेलैमा भत्काएका सामाग्री उठाएर व्यवस्थापन नगर्दा जताततै धुलो भएर हिंडी साध्य छैन काठमाडौंमा। कसैलाई 'फ्री'मा व्यापार आइडिया चाहिया भए: काठमाडौंमा सडक बिस्तार भाका ठाउँतिर गएर मास्क (नाके लंगोटी) को दुकान थाप्ने हो भने खुब चल्दो हो।

Thursday, April 19, 2012

३४ हजारबाट तीन हजार

मोटामोटी हिसाब: पहिले - ३४ हजार, अनमिन पहिलो प्रमाणिकरण - २३ हजार, अनमिन दोस्रो प्रमाणिकरण - १९ हजार, शिविरमा भेटिएका - १६ हजार। पहिलोपटक सेनामा जान इच्छुक - ९ हजार पाँच सय। अहिले सेनामा जान चाहने - ३ हजारको हारहारीमा। सेनाको ६ महिने तालिममा कति भाग्लान्, कतिले छाड्लान्। अन्तिममा त साँच्चै 'जनमुक्ति सेना'बाट नेपाली सेनामा समाहित हुने माओवादी सेना कति होलान् ? समयले बिस्तारै सबैलाई थकाउँदो रहेछ/ गलाउँदो रहेछ।

Saturday, April 14, 2012

विदेशमा ज्योतिषको माग

विदेशमा रहेका नेपालीहरुले नेपालबाट बेलाबेलामा कलाकार बोलाएर मनोरञ्जन गर्ने गरेको त थाहा थियो तर आज नयाँ कुरा थाहा पाइयो; कहिलेकाहीं ज्योतिषी पनि बोलाएर भाग्य देखाउने गरेका रहेछन्। कलाकारले भन्दा विदेश आउने ज्योतिषीले धेरै पैसा लिएर स्वदेश फर्कन्छन रे।

Saturday, April 7, 2012

चिन्ता वुद्ध र सगरमाथाको

संसारका जहाँ पुगेका नेपालीबाट पनि एउटा चिन्ता सुन्न पर्छ : ' कि त वुद्ध भारतमा जन्मेको भनेर लेखेका छन् यहाँका किताबमा कि सगरमाथा तिब्बतमा छ भनेर पढ्छन् यहाँका बालबालिका। कति मन्त्री, नेता, राजदूतलाई सच्याउनका लागि पहल गर्न भनियो सुन्दै सुनेनन्।'

Thursday, April 5, 2012

ओलम्पिकमा स्वर्ण जित्नेलाई एक करोड

सरकारले गज्जब निर्णय गरेछ त : ओलम्पिकमा स्वर्ण पदक जित्ने नेपाली खेलाडीलाई एक करोड रुपैयाँ दिने रे। अहिलेको अवस्थामा ओलम्पिक त के एसियाली प्रतियोगितामा पनि पदक जित्ने लक्षण छैन। निर्णय नै गर्न त कोही नेपाली चन्द्रमा पुगे भने १० करोड रुपैयाँ दिने फरमान जारी गरिदिए पनि भो नि।

कति हुन् जापानमा नेपाली रेष्टुराँ

हैन हउ लाखे, भारतीय, तिब्बती वा एसियन जे लेखे पनि नेपालीले जापानमा चलाएका जति रेष्टुराँ नेपालमै चाहिँ नेपालीले चलाएका छन् कि छैनन् जस्तो पो लाग्न थाल्यो त। जो पनि रेष्टुराँका साहु भेट हुन्छ त जापानमा त। एक जना जाने बुझेका जापानबासी नेपालीले भन्थे नेपालीले खोलेका करिब एक हजार  रेष्टुराँ होलान् जापानमा।
जे होस् संसारमा अन्यत्र जे भए भने जापानमा चाहिँ नेपालीले 'भारत' नामलाई मस्तै बेचेका रहेछन्। नेपालीका हरेक रेष्टुराँमा इन्डियन लेखेका र कतिपयमा त भारतको झण्डा पनि राखेका रहेछन्। जापानमा करिब ३०, ५० लाख रुपैयाँ खर्च गरेपछि रेष्टुराँ खोल्न पाइने रहेछ र रेष्टुरेन्ट खोलेपछि नेपालबाट कुक भनेर दुई, तीन जनलाई जापान ल्याउन पाइने रहेछ। एक जनालाई जापान ल्याउँदा १२/१५ लाख रुपैयाँ लिएपछि आफ्नो लगानी पनि उठ्ने रहेछ। त्यसैले कतिले त महिना दुई महिनामा रेष्टुराँ परिवर्तन गर्दै पनि हिड्ने रहेछन्। तर सबै रेष्टुरेन्ट त्यस्ता भने छैनन्। कुनै साँच्चैका राम्रा चलेका नेपाली रेष्टुरेन्ट पनि छन्।
यहाँ कसैको भिसा सकियो भने पनि उसले रेष्टुराँ खोलेर बस्ने रहेछन्।

Wednesday, April 4, 2012

तारा हेर्न नेपाल

‎'जहाँतही हुने झिलिमिलीको बीच रातीमा आकाशको तारा राम्रो देखिन्न। त्यसैले नेपालमा तारा हेर्न आउने विचार गरेको छु' एक जना नेपालीलाई जापानीले भनेका रहेछन्। जाने त लोडसेडिङबाट पनि टुरिजम् क्षेत्रले फाइदा लिन सक्छ कि के हो ?

Monday, April 2, 2012

जापानमा ठमेल र मुस्ताङ बियर


जापानमा आज देखिएका दुई नयाँ चिज 1) मुस्ताङ नामको बियरको पोस्टर र 2) जापानमा ठमेल नाम राखेर खोलिएको पसल।
ब्रबिम कार्की भन्ने साथी भन्दैछन् : मुस्ताङ गाडी चढ्ने प्रधानमन्त्री बाबुराम भट्टराईले मुस्ताङ बियर त पिउन्नन् होला नि।

Sunday, April 1, 2012

परम्परागत पोशाक; नाइट ड्रेस

Narayan Shrestha सँग किमोनो (खासमा युकाता रहेछ पछि मात्र थाहा भयो; जापानी परम्परागत पोशाक)मा। जापानीले होटल बेडमा किमोनो राखिदिएका हुने रहेछन्, रात्री पोशाकमा प्रयोग गरोस् भनेर। यसो मनमा खेलेको हाम्रा होटलले पनि दौरा सुरवाल राखिदिए भने विदेशीले लाउँदा होलान् कि नाईं...

पत्रकार निर्यातमा नेपाल अग्रणी ?

हैन पत्रकार निर्यात गर्नेमा पनि नेपाल सबैभन्दा अग्रणी देशमा पर्छ कि के हो? जापानमा आएर यसो हिसाब गरेर ल्याउँदा जुन जुन विकसित देशमा पनि नेपाल पत्रकार महासंघको शाखा भाको पाइयो यस्तो तालले त कुनै दिन सबैभन्दा धेरै विदेशका शाखा भाको राष्ट्रिय स्तरको पत्रकारहरुको संगठनमा नेपाल पत्रकार महासंघ पर्छ कि जस्तो लाग्न थाल्यो।

Saturday, March 31, 2012

सिकर्मीले बनाउँदा बनाउँदै दिक्क लागेर छोडेको घर

नेपाल पत्रकार महासंघको जापान शाखाका तीलक मल्लले भनेका 'नेपाल घुमेर फर्केका जापानीहरुलाई नेपाल सिकर्मीले बनाउँदा बनाउँदै दिक्क लागेर छोडेको घर जस्तो लाग्छ रे।'

Tuesday, March 27, 2012

रेष्टुरेन्टको आफ्नै नियम


गोंगुबस्थित राता मकै नामको रेष्टुराँसहितको मासुपसलको सूचना...
१. एक जनालाई ३ वटा वियर मात्र दिइन्छ। रक्सी खानुभयो भने एकजनाले एक क्वाटर र हाफ क्वाटर मात्र खान पाइनेछ।
२. आफ्ना परिवारका बाहेक अन्य महिला ल्याउन पाइदैंन
सायद जिम्मेवारयुक्त रेष्टुराँ भनेको यस्तै होला।