Wednesday, June 29, 2011

कलेजवालाहरुलाई फोकटमा सुझाव

यो +2 र ब्याचलर कलेज खोल्नेहरुले विज्ञापनमा सारै धेरै पैसा खर्च गरेको देखेर माया लागेर एउटा सल्लाह फोकटमा दिउँ झैं लाग्यो। मंहगा +2 र ब्याचलर पढ्न आउने विद्यार्थीमा 90% को लक्ष्य विदेश छिर्ने हुन्छ। त्यसैले विज्ञापनाँ धेरै खर्च गर्न साटो कलेजमा थप एउटा विषय चाहिँ IELTS,GRE,GMAT,SAT के के जाति हो राख्दिनु, विदेश पढ्न जानका लागि अँग्रेजी परिक्षणको सम्बन्धी विषय कलेजले नै पढाइदिने भनेपछि विद्यार्थी ओइरिएर आउँछन्।

संविधान नपाए चितवन जानु

अब देशाँ संविधानसभाले संविधान नबनाउने लगभग पक्का जस्तो हुन लाइसक्यो। चितवन भरतपुरकाले एउटा चोकको नाम नै 'संविधान चोक' बनाइदिएछन्। न्याय नपाए गोरखा जानु भन्ने उखान असाध्यै चलेको भएर त्यसै सिद्धान्त अनुसरण गर्दै भविष्यमा अरुले 'संविधान नपाए चितवन भरतपुर जानु' भन्लान् भनेर यो चोकको नाम संविधान राख्या होलान्।

Monday, June 27, 2011

राजेश हमालका कारण खाते (?)

फोटो साभार : ग्यामेरनेपाल डटकमबाट
भर्खरै एकजना मित्रले सुनाए नेपाली सडकमा आउने ७०-८० प्रतिशत सडक बालबालिकालाई किन सडकमा आएको हो भनेर  सोध्यो भने राजेश हमालको फिलिम हेरेर आएको भन्छन् रे। एक गैरसरकारी संस्थाले गरेको अनुसन्धानले त्यस्तो तथ्याङ्क देखाएको ती मित्रले दावी गर्दैछन्।

सडक बालबालिकालाई सोधिएका विभिन्न प्रश्नमध्ये एउटा प्रश्न के कारणले घर, परिवार, गाउँ छाडेर आएको हो भन्ने थियो र त्यसमा धेरैले फिलिममा राजेश हमाल गाउँबाट सडकमा गएर सडक बालबालिका हुँदै धनी भएको देखेर आएको भनेछन्।

Friday, June 24, 2011

थोत्रा सामानको भण्डार

हैन कामै नलाग्ने थोत्रा बस्तु नफालेर ढड्यान बनाएर घरको छतमा होस् कि भर्याङका कुनामा होस्।  नभए बरान्डामा थुप्य्राएर राख्ने मै मात्र हुँला कि अरु नि होलान्?

पाँच वर्षदेखि नलगाएको जुत्ता, बाउको पालाको बिग्रेको फोनको सेट, एलसिडी मनिटर ल्याइसकेसि नि पुरानो सिआरटी मनिटर, नयाँ सोफा ल्याएसि नि पुरानो सोफा, प्रयोगमा नआउने साङ्लाको घर भाको किचन र्याकले घर भरियाछ। आफू आँगनाँ सुत्न पर्ला जस्तो भइसक्यो..

समाचार छाप्न पत्रकारकै खप्पर रङ्याइदिन पर्ला र

माने यार यी डडेलधुराका माओवादी सभासद हरिलाल थापालाई। सभासदहरुमा अझै यस्तो हिम्मत बाँकी होला झै‍ मान्याथिन। आफ्नो भाइलाई मास्टरी गर्न दिएनन् भनेर दुई वटा स्कूलका हेडमास्टरलाई कुटी कुटी राजिनामा दिन लगाए रे त। पत्रकार कुट्ने युवा नेतालाई नछाड्नेहरुले यी सभासद्‍ले हेडमास्टरलाई कुटेको त हो नि हामी पत्रकारलाई हैन केरे भनेर बिचमै त नछाड्लान् नि। कि कोही फटाहा सटाहाको, अरुलाई अनाहकमा दुख दिनेको तीन पुस्ते निकाल्न पर्यो पत्रकारकै खप्पर रङ्याइदिन पर्छ...

मेरो जनगणना

जनगणनाको फारम भोर्न हिजो घरमा आका थिए रे। सानी छोरी एक्लै रछे। मलाई अनम्यारिड र ३४ वर्षको लाठे काकालाई २६ वर्षे भनेर टिपाएर पठाइदिछ। ती भाडामा बस्ने काका फेरि उता स्याङ्जा गएका रहेछन्। उतै दोहोर्याएर आएछन्। तपाइहरु कुन जातको र कुन धर्म मान्नुहुन्छ भनेर सोधेनन् बरु घरमा फल्स वाला ट्वाइलेट छ कि छैन भनेर सोधे भन्छे। क्षेत्री समाजलाई घाटा लाउला जस्तो भो कोही कोही भट्टराई क्षेत्री नि हुन्छन् गणना गर्नेले भट्टराई भन्ने वित्तिकै सबैलाई बाहुन भर्दिन्छन् कि। अब कोही क्रिश्चियन धर्म मान्ने नि होलान् सबैलाई हिन्दु नै लेखिदिइहाल्छन् कि..म आफू बाहुन र हिन्दु नै परे नि अरुको चिन्ता गर्या नि।

Thursday, June 23, 2011

काम ठग्ने बहाना

 हैन! काम ठग्न पनि कति जानेका हौं हाम्ले। SLC मा अलिक थोरै विद्यार्थी मात्र पास भएको भए पो एक दिन बिदा दिनु, धेरै विद्यार्थी पास भए भनेर दुई दिन बिदा दिएछ छोरीको स्कूलले। दुई दिन बिदा भनेसी आज बुधबार र भोलि बिहीबार बिदा हुनु। तर आज बुधबार त जनगणना दिवसको उपलक्ष्यमा सरकारले नै जब्बरजस्ति बिदा थुपारिदएकै छ नि भनेर बिहीबार र शुक्रबार बिदा गराएछन् सरहरुले। अब एकैचोटी अर्को साता रे स्कूल। जय होस्..

प्लास्टिकमा किन रङ्गभेद नीति

आजभोलि धेरै ठाउँमा कालो प्लास्टिक झोलालाई प्रतिवन्ध लगाएका छन् तर उस्तै गुणस्तरको सेतो रङको प्लास्टिकको झोला ती प्रतिवन्धित ठाउँमा चलिरहेको देखिन्छ। यो प्लास्टिकको रङ अनुसार त्यसको असर फरक पर्ने हो कि यो रङ्गभेदको नीति मात्र हो। आफू कालो भएर होला अलिक स‍वेदनशील हुँदै यो कुरा नबुझेर सोध्या, लउन कोही हुनुहुन्छ कि प्लास्टिङ विज्ञ...

Tuesday, June 21, 2011

गाउँमा पर्यटन महोत्सव

जीन्दगी पर्यटक नजाने हाम्रा छिमेकी गाउँमा १०/१२ जना केटाहरु मिलेर एक महिनादेखि पर्यटन महोत्सव गर्ने भन्दै निकै हल्ला खल्ला गरिरहेका थिए। महोत्सवको उद्‍घाटनको दिन कोही पर्यटक नआएसी एक गाउँले कलाकारलाई रङ्गिबिरङ्गी कपडा लाइदिएर पर्यटक भन्दै स्वागत गरी महोत्सवको उद्‍घाटन गरेछन्।

किन यस्तो गर्‍या होला भन्ने लागिराथ्यो,  बल्ल पो बुझें! २०११ पर्यटन वर्ष भाकोले गाउँ गाउँमा पर्यटन महोत्सव गर्नेलाई सरकारले अलि अलि पैसो दिदों रहेछ...

Monday, June 20, 2011

एसएलसी पास भएपछि

काठमाडौं र अन्य शहरकाले एसएलसीको रिजल्ट थाहा पाएको तीन दिन पछि मैले पनि गाउँमा रिजल्ट थाहा पाएँ। पसललाई सामान किन्न बुटबल बजार पुगेका बाले गोरखापत्र पाउनु भएनछ। बुटवलका कपडा पसले साहुका छोराले पनि त्यसै साल एस एल सी दिएका रहेछन्। साहुजीले छोरालाई नम्बर हेर्न लगाएछन्।

साहुका छोराले मेरो नम्बर देखाएपछि छोरो फस्ट डिभिजनमा पास भएको बाले थाहा पाउनुभएछ। साहुको छोराको नम्बर सेकेन्ड डिभिजनमा थियो रे अनि मेरो चाँहि फस्ट डिभिजनमा। हाम्रा बा मसँग जीवनमा त्यति धेरै खुशी भएको कहिल्यै देख्या छैन त्यस अगाडि र पछाडि।

ट्याक्सी ड्राइभर


अफिस आउन ढिला हुन लागेपछि गएर सोधें, झम्सिखेल जाने? पत्रिकाबाट उसले आँखा यताउता डुलाएन। पाँच मिनेटपछि जीउ तन्कायो र सोध्यो कहाँ जाने रे, मैले बिस्तारै भने झम्सिखेल, उसले भन्यो - नजाने। चोकको ट्याक्सी ड्राइभरले पढ्दै गरेको पत्रिका यसो हेरें लेख्याथ्यो- १० वर्ष अगाडिको ट्याक्सी ड्राइभर पर्शुराम राजनीतिमा लागेर डन भएपछि अर्बपति बने...

शंकर लामिछानेको फोन नम्बर माग्ने पत्रकार

नेपाली साहित्यमा रिपोर्टिङ गर्छु भनेर नयाँ नयाँ परिचय भएकी एक जना पत्रकार बहिनीले भर्खरै अनलाइनमा सोधिन् - दाइ शंकर लामिछानेको फोन नम्बर होला तपाइसँग, दिनु न। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

Friday, June 17, 2011

राजा झैं बन्न नखोजम् न हो राष्ट्रपति जी

राष्ट्रपति रामवरण यादव केन्द्रीय तथ्यांक विभागका महानिर्देशक उत्तमनारायण मानन्धरलाई आफ्नो पारिवारीक लागत भराउँदै शुक्रबार बिहान । यहीबाट ११ औं राष्ट्रिय जनगणना सुरु भएको हो । तस्विर: सूर्यचन्द्र बस्नेत/रासस

हैन कति झुकेको हो यो तथ्याङ्क विभागका महानिर्देशक मानन्धर। पुरै निहुरी मुन्टी 'न' परेको छ। जनगणनाको लागत लिन गाको मान्छे, टिप्न कति गाह्रो भयो होला। कम्तिमा राष्ट्रपतिले पनि आफ्नो बिबरण लिन आउनेलाई कुर्चीमा बसाल्न पर्ने कि आफू पनि उठेरै लगत दिन पर्ने। जनगणनाको एउटा फारम भर्न आधा घन्टा जति लाग्छ भनेर रेडियो पत्रपत्रिकामा भनिरहेको छ। त्यो महानिर्देशकले चाकडी गरेर यसरी नै आधा घन्टा निहुरीमुन्टो लगाएर फारम भर्‍यो होला कि ?

राष्ट्रपति फेरि मजाले कुर्चीमा बस्याछ,  राजा हुन खोज्या हो कि ? जनताको छोराछोरी राष्ट्रपति भएपछि पनि उही पहिले राजाका अगाडि पर्‍या जस्तो गर्न पर्ने भए के को गणतन्त्र ? उहिले उहिले राजाले भाषणको अन्त्यमा 'पशुपतिनाथले हामी सबैको कल्याण गरुन्' भन्थे क्यारे आजभोलि राष्ट्रपतिले 'हामी सबै नेपालीको जय होस्' भन्ने गरेका छन्। सबै नेपालीको जय चाहने राष्ट्रपतिको व्यवहार पनि त्यस्तै हुन परो नि।

बिजुली चोर भगुमान


ई! टोलमा नयाँ मन्दिर बनाउने बित्तिकै भगुमानलाई सुरु मै चोर बनाइ दिएछन् छिमेकीहरुले त। तीन महिना जति अगाडि मन्दिर बनाउन भनेर पैसा उठाउँदै आथे। पाँच हजार सम्म रुपैयाँ दिनेको नाम मार्बलमा खोपेर राख्निने भनेकाले पाँच हजारै दिम् कि जस्तो पनि लाग्याथ्यो। तर यसो घाँटी हेरेको मार्बलमा नाम लेखाउन सकिएला जस्तो लागेन र दुई हजार मात्र दिएँ।

१० दिन जति अगाडि मन्दिरको उद्‍घाटन हुँदै थियो एक दिन कार्यालय आउँदै गर्दा देखेको थिए। अनि अफिसबाट साँझ घर पुग्दा राति हुँदा मन्दिर सँधै झलमल भएको देखेर मन्दिरको बिजुलीको पैसा कसले तिर्छ भनेर पुजारी बालाई सोधेको उनले तारमा लाको हुक देखाइदिए। यसो अरु मन्दिरमाँ नि विचार गर्‍या नेपालका सबै जसो भगुमानलाई मान्छेहरुले बिजुली चोर नै बनाइदिया रचन्.....

फोन संवाद


- खोइ राम्रोसँग बुझिएन
- ए हो र, सुन्नु भाछैन
- अहँ सुन्याछैन।
- पछि फोन गरौं त
- हुन्छ पछि फोन गर्नु न
धेरैजसो मोबाइल फोनको संवाद..
(बुझ्या हो कि नबुझ्या हो कुन्नि फोन)

घर नजिकै कलेज

आफूलाई त न कुनै फेसन सो हेर्न नि पर्छ, न राति राति फेसन टिभी! घर नजिकै दुई तिनवटा कलेज खुलेका छन्। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा....)

Wednesday, June 15, 2011

सरकार न परो, जसलाई जे को नि विज्ञ बनाइदिन सक्दोरछ

हैन सरकारमा गएपछि मान्छेको दिमाग खुस्किन्छ कि के हो, अस्ति नै फिल्मकर्मी अशोक शर्मालाई खानेपानी लिमिटेडको अनुगमन गर्ने समितिमा ल्याएको थियो, अहिले अर्का फिल्मकर्मी युवराज लामालाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव बनाएछ। बाँची बसे कुन दिन यो देशमा गणेश थापालाई चलचित्र विकास बोर्डको अध्यक्ष बनाएको नि देख्न पाइएला। सरकार न पर्यो जसलाई नि, जे को नि विज्ञ बनाउन सक्दोरहेछ...

तरकारी - चाउचाउको झोल

थालमा भात र कचौरामा चाउचाउको झोल दिदैं रसुवाकी दिदीले भनिन्- काठमाडौंबाट आउनुभाको करेलाको तरकारी तितो मान्नुहोला भनेर अरु तरकारी नभएकाले यही चाउचाउको झोल तरकारी बनाएकी अनि अलिकति आलु पनि भुटेकी छु।' आँगनको डिलमा झ्याङ्क्रामा फलेको करेला हेर्दै चाउचाउको झोलसँग भात खाइयो। हाम्रो गाउँघर...

Saturday, June 11, 2011

घिमिरे सरकार


झलनाथ, माधव नेपाल, प्रचण्ड, शेरबहादुर, रामचन्द्र मात्रै हैनछ, पाए त हामी सबलाई आफ्नै सरकार चाहिया छ। नुवाकोट देबिघाटमा भेटिएको यो बसका साहु हो कि ड्राइभर कस्को थर घिमिरे भएर होला देश हाँक्न नपाए नि गाडी त हाँकेकै छु भनेर होला गाडीमै 'घिमिरे सरकार' लेखेछन्...

झलनाथलाई हाइसन्चो

प्रधानमन्त्री झलनाथ खनाललाई अहिले सबैभन्दा हाइसन्चो भाछ रे एकजना उनका सल्लाहकारले भनेका 'कम्तिमा मन्त्री बनाइदिनु भनेर अहिले कोही भन्न आछैन नत्र दिनमा तीन चार घन्टा त मन्त्री बनाइदिनु भन्नेहरुलाई फकाउनै समय लाग्थ्यो झलनाथलाई।'

उनका सुझाव छ अब नयाँ सरकार बनाउँदा तत्काल राजिनामा गर्ने सहमति सहित लेख्नुपर्छ। त्यसोभए प्रधानमन्त्रीलाई मन्त्री बन्नेले हैरान पार्नेछैनन्..

रामदेवको सिको कसैले गरे त हुने

नेपालमा रामदेवको योग गर्छु भन्नेहरु त धेरै नै छन् झैं लाग्थ्यो। तर धेरै मान्छेहरु मै जस्ता गफाडी रचन् कि के हो। झुक्किएर कुनै दिन योग गर्यो भने तीन महिना गफ दिने। नत्र अरु आसन भन्दा रामदेवको यो 'अनशन आशन'को जताततै चर्चा भा बेला भ्रष्टचारीलाई कारबाही होस् भन्दै खोई नेपालाँ अनशन। एक जना चिरञ्जिवी वाग्लेपछि अदालत पनि सुते झैं छ। रामदेव जस्ता कोही अनशनमा बसे केही हुन्थ्यो कि। तर बामदेवहरु धेरै भाको देशमा...

Saturday, June 4, 2011

भाले की पोथी सर


फस्ट टाइम वेटरको यस्तो प्रश्न इटहरी आएर सुन्न पाइयो - मटन कि चिकन खाना सर ? (जवाफ - चिकन) लोकल कि ब्रोइलर सर? - (जवाफ- ए! छनौट छ, त्यसो भए लोकल)  भाले कि पोथी सर ?
(हास्नुपर्ने कारण धेरै छ हा हा हा...)

Friday, June 3, 2011

अब नेताहरु सगरमाथा चढ्नतिर

उ मैले भन्याथें नि, चुच्चे नाकवाला कर्मचारीहरु सगरमाथा चढेसी अब कुन कुन बाहुन क्षेत्रीले आगुम सगरमाथा चढ्ने हो भनेर। नभन्दै माउवादी माउ प्रचण्डका छोरा प्रकाश दाहालले पार्टीका झण्डासहित तीन जना भएर सगरमाथा चढ्ने घोषणा गरिसकेछन्।