Wednesday, December 28, 2011

संविधान लेख्न छाडेर अदालसँग पौठाजोरी

सर्वोच्च अदालतले ६ महिना भन्दा स‌ंविधानसभाको म्याद थप्न नमिल्ने भनेपछि मु* हरुले अब त स‌विधान लेख्छन् कि भनेको त उल्टो अदालतलाई थर्काएर त्यो निर्णय नै उल्टाउलान् जस्तो पो गरे त। संविधान लेख्न छाडेर अदालतसँग झगडा गरेका यिनहरुले अब के संविधान लेख्लान् र खोई ?
कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रा हाले पनि बाङ्गोको बाङ्गै हुन्छ भनेको साँच्चै रहेछ।

ससुराली राम्रो सालीले

भाले राम्रो बासेको,
केटी राम्रो हाँसेको,
खेत राम्रो आलीले,
बारी राम्रो बालीले,
बँगैचा राम्रो मालिले,
ससुराली राम्रो सालीले।

प्रेमिले लेखे कुखुराको रगतले प्रेमपत्र

बाग्लुङ आएर सुनेको प्रेमी प्रेमिकाको कथा। एकजना प्रेमीले आफ्नी प्रेमिकालाई रगतले लेखेर चिठी पठाएछन्। प्रेमिकालाई शंका लागेछर त होला नि। तिनले त्यो चिठीको रगत परिक्षणको लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइछन्। त्यो रगत कुखुराको भएको प्रयोगशालाले प्रमाणित गरिदिएछ।

मान्छे चिसोले मर्छ कि गरिबीले ?

चिसोमा न्यानो भएर बस्ने पैसा नभएर मानिस मरेका मरै छन्। पत्रकारहरु जाडोले ५ को, १० को, २० को मृत्यु भनेर समाचार हालेको हाल्यै छन्। जाडोले नै मान्छे मर्ने भए तापक्रम शुन्य भन्दा कम माइनसमा पुग्ने नर्वे, स्विडेन, डेनमार्कतिर को बाँच्थे होलान् र। जाडोमा मरेको मान्छे होस् कि गर्मीमा मरेको मान्छे, तापक्रमले नै मर्छ कि गरिबीका कारण जाडो गर्मी छल्न नसकेर मर्छ ?
जाडोले हो कि क्याहो बिहानैदेखि जोसँग नि निहुँ खोज्न मात्र मन लाइराछ। आफ्नै वर्गका पत्रकारहरुसँगै खोज्दिउँ न त आज...

Monday, December 26, 2011

हेलो सरकारको छुट्टै वेवसाइट बनाउन परो

हेलो सरकार! प्रभावकारी नभएर हो कि धेरै प्रभावकारी भएर अरुले रिस गरेर हो कुन्नि? आजभोलि कता छ, के छ भन्ने कुरा पत्रिकाहरुमा आउन छाडे। बरु प्रधानमन्त्रीले एउटा वेवसाइट बनाएर हेलो सरकारमा के के उजुरी/सुझाव आए र तिनलाई सरकारले कसरी समाधान गर्यो भनेर राखिदिए नेपालाँ केही हुन्न भनेर उजुरी नगर्नेहरु नि यो जाडाँ अलिक तात्थे कि ?
हैन आफूले केही नगर्नै सुझावै मात्रै दिइरहने उमेर भइसकेछ क्या हो मेरो। खालि सुझाव मात्र फुर्छ त दिमागाँ।

Saturday, December 24, 2011

नेपाली हाकिमहरुलाई एउटा टिप

हाकिमहरुलाई एउटा टिप्स : लोडसेडिङको नयाँ नयाँ तालिका आउने वित्तिकै हाकिमले प्रिन्ट निकालेर दिने भएकाले मेरा एकजना साथीलाई उनको हाकिम मन पर्छ रे। जान्नेले लोडसेडिङबाट नि फाइदा लिएकै छन्...

साँच्चैका शहीदले के गर्लान्

यी शहीद घोषणा गर्नेहरु र शहीद घोषणाको माग गर्नेहरुलाई माथि पुगेसी साँच्चैका शहीदले के गर्दा हुन् ? कसैलाई जान्ने मन भए केही न केही उपाय गरेर शहीद हुने लाममा लागिहालम् है... मलाई त हतार छैन।

Monday, December 19, 2011

गाडी दुकान खोल्ने कि बाबुराम जी

आँफैले निर्णय गराएर लिएका कोहीकोहीले गाडी फिर्ता गर्न थाल्दा त १५ वटा फिर्ता भइसकेछ। अझ जब्बरजस्ति सुविधा लेका र आफन्त नेताले चढ्न मिलाइदेका सप्पैले सरकारी गाडी फिर्ता गरे भने त हजार जति गाडी पुग्लान। अब त्यो कल्लाई चढ्न दिनु ? ज्ञानेन्द्र, पारस, हिमानी, गिरिजा, प्रचण्ड चढ्या गाडीमा चढ्न कसैले करोडौं फाल्न सक्छ भन्ने हाम्लाई लाइराछ। सरकारले गाडी दुकान खोल्ने हो क्या हो बाबुराम जी?

गोरखापत्रको भाउ

अब बाबुरामका फ्यानहरुले मलाई भन्नेछन् - निजी पत्रिकाहरुले आफ्नो मूल्य शत प्रतिशत बढाएर पाँचबाट १० रुपैयाँ पुर्‍याउँदा सरकारी पत्रिका गोरखापत्रले एक रुपैयाँ बढाएको छैन। पाँचै रूपैयाँमा पत्रिका उपलब्ध गराएर सरकार जनजीविका प्रति गम्भीर छ भन्ने प्रमाणित गरिरहेको छ...

Sunday, December 18, 2011

नेपाली पत्रिका पढ्नेको धेरै आम्दानी ?

तीन्टा धेरै पढिने नेपाली दैनिक पत्रिकाले सिण्डिकेटै गरेर पत्रिकाको भाउ १० रुपैयाँ बनाएछन्। तिनैले निकाल्ने अँग्रेजी पत्रिकाको भाउ भने पाँच रुपैयाँ छ। डर लाइराछ- उसै त नेपाली मिडियामा विदेशी प्रभुहरुको हात छ भन्नेहरुले पत्रिका साहुहरुमाथि आफ्नो भाषाभन्दा अँग्रेजी भाषालाई माया गरेको भन्दै जेहाद छेड्ने हुन् कि ? हुन पनि हाम्रा पत्रिकाका साहुहरुलाई अँग्रेजी पत्रिका पढ्ने भन्दा नेपाली पत्रिका पढ्नेको आम्दानी धेरै छ भन्ने लाउँदोरछ त...

बोकाले लगेकाहरु

बोका चढाएर ज्ञानेन्द्र गए
नेपाल वायुसेवा निगम गो
अनि नेपाली फुटबल टिम पनि
बोकाहरु हर्ष जुलुस निकाल्या होलान्
अब त जीउ जोगिएला कि भनेर
तर मान्छेले ढुङ्गालाई रातो बनाउन
र पेटलाई तातो बनाउन तत्कालै छाड्दैनन्
किनकी, सबै तिमी जस्तै हुन् बोकाहरु

स्वर्गद्वारी मन्दिरमा गोडा सम्बन्धि नियम

केटाकेटीमा सरहर्ले गुडाफाट होकि घुँडाफाट - सतर्क भन्थे। अरुबेला उतिविघ्न बोलिचालीमा हाम्रातिर प्रयोग नहुने गोडा सम्बन्धी आफ्नै नियम रहेछ स्वर्गदारी मन्दीर प्युठानमा।

Saturday, December 17, 2011

बन्द फिर्ता भइहाल्ला नि

अरु त बन्दले कति आत्तिएका छन् कुन्नि, म त ढुक्क छु। अमेरिकी राजदूत जीले कुन बेला बन्द कर्तालाई न भिसा न डिभी भन्छन् अनि काँग्रेसी जनले बन्द फिर्ता लिन्छन्। बरु समवेदना त तिनीहरु प्रति छ जो भोलि र पर्सी बन्द भइदिए घराँ घाम तापेर आफ्नो गच्छेअनुसार सुन्तलादेखि सोमरस सम्म खाँदै अफिसको तलबको मिटर घुमाउने विचारमा थिए।

Monday, December 12, 2011

माओवादीले पैसै हराए कि ?

अस्तिनै ३४ हजार सेना, हतियार ४ हजार मात्र भन्दा प्रचण्डले ३ हजार हतियार त हरायो भनेका थे, अहिले ३ हजार लडाकु शिविरबाटै हरायो भन्याछन्, भोलिपर्सी नभएका लडाकुको नाममा ल'को १ अर्ब १८ करोड रुपैयाँ फिर्ता दिनु भनेर संसदले/दलहरुले निर्णय गरे भने पनि कामरेडहरुले त्यो पैसा नि हरायो भन्छन् कि जस्तो लाइराछ... आखिर देशाँ सुरक्षा छैन भन्ने कुरा सबैलाई थाहा छ क्यारे। हतियार र लडाकु हराएकाले पैसा हराउन के बेर।

सँधै मौसमले च्यालेन्ज दिइरहे हुन्थ्यो जस्तो लाग्ला बोतल कागज वालालाई

कति निस्कन्छर हउ काठमाडौंमा खाली बोतल फलाम ? घर बसेका दिन यसो बिचार गर्छु, बोतल, फलामवाला दिनमा ३ पटक जस्तो कराउँदै आउँछन्। दिलदार (कहिलेकाही मलाई नि व्यवस्था गर्ने) छिमेकीले श्रीमतीलाई भनेको सम्झिएँ - हामी नभए यिन्को (बोतल वालाको) पेट कसरी भरिन्छ हेर्त ?
तिन्कै पेटका लागि पनि मौसमले बेला बेलाँ च्यालेन्ज गरिदिइरहे हुन्थ्यो जस्तो लाउच होला कतिलाई। आखिर हुनेले नहुनेका लागि व्यवस्था गर्ने त हो नि लोक कल्याणकारी समाजमा।

झलनाथको पुस्तक विमोचनमा कान्तिपुर र अन्नपूर्ण पोस्टका सम्पादक छाडिए

बेकारको कुरा हो कि के हो मेरो मनमा यो कुरा खेलेको खेल्यैछ। एमाले अध्यक्ष झलनाथ खनालले आफ्नो किताबको विमोचन किन नागरिक, राजधानी, समाचारपत्र र नयाँपत्रिकाका सम्पादकबाट गराए ? कान्तिपुर र अन्नपूर्ण पोस्टसहित अन्य सम्पादकलाई विमोचनका लागि बोलाएनन् कि बोलाएर पनि आएनन् कि? अरुले किताब विमोचन गर्याछन् मलाई किन हो कुन्नि खस खस लागिराको?

Thursday, December 8, 2011

लडाकुबाटै माओवादीलाई २ अर्ब ४० करोड रुपैयाँ

देशको सबैभन्दा ठूलो पार्टीले नभएका लडाकुको नाममा १ अर्ब १८ करोड रुपैयाँ लिएको कुरा प्रधानमन्त्रीलाई झिनामसिना लागेपछि भ्रष्ट देशहरुको सूचीमा नेपाल माथि नउक्लिएर तल झर्छ त ? भारतमा रहँदा/बस्दा सुन्याहोलान् नि: नाम हो या बदनाम हो गुमनाम नहो..

Tuesday, December 6, 2011

बोकाको सत्यानाशले देश उभो लाग्ला र?

अस्ति नै जहाज साह्रै बिग्रियो भनेर नेपाल वायुसेवा निगमकाले बोका चढाएका थे, निगमको हालत झन् बिग्रेको बिग्रै भो, ज्ञानेन्द्र शाहले आफ्नो शासन राम्रो होस्/टिकोस् भनेर दक्षिणकालीमा बोका मात्र होइन मनकामना पुगेर पाडो पनि चडाथे, राजसंस्थै ढल्यो। अब केही नपा'र नेपाली फुटबल टिमले नि साफ च्याम्पियनसिप जितम् भनेर हिजो दक्षिणकाली गएर बोकै चढाएछन्। बोकाको सत्यानाशले देश उभो लाग्दैन भनेर हाम्ले कहिले थाहा पाउने होला खोई...

Monday, December 5, 2011

अदालतले कनि अत्तो थाप्ने

अदालत जी, हुन त हजुरका कुराँ प्रश्न उठाए हजुरको मानहानी हुन्छ क्यारे, तर पनि वानेश्वरमा सडक मिचेर बनाका कम्प्लेक्स भत्काउन लागे नि सुकुम्बासीको भन्दै वाग्मती किनाराँ ठडाका बिल्डिङ खाली गर्न लागे नि, हजुरले किन हो अत्तो थाप्दिने ?

धन्न अमेरिका छ र

हामीले भनेको हाम्रा नेताले टेर्दैनन्, हाम्रो माग सुन्दैनन्। हामी नेपालीको दिएको दबाबले काम गर्दैन। अम्रिकाले भिसा नि दिन्न र डिभी परे नि हुँदैन भनेसी बन्द फिर्ता हुने संभावना बढ्छ। धन्न अमेरिका भन्ने देश छ यो पातलाँ र हाम्राँ बन्द आयोजना गर्नेले नि अम्रिकाले नै भसेसी फिर्ता गर्ने कि भनेर सोच्छन्...

Sunday, December 4, 2011

दो मिनटका मज्जा..


यो गुरुजी साहित्य पढेपछि यिनले के कारणले त्यो लेखे होलान् भनेर चिन्ता लाइराछ।
१) कि यस्का लेखक ज्यूलाई एड्स लाको हुनुपर्छ।
२) कि चाहिँ यिनले त्यस्तै कर्मको परिणाम स्वरुप करकापमा परेर बिहे गरेका हुनुपर्छ।
३) दुबै हैनन् भने नि अरु कसैका भोगाईलाई टिप्न तिनले जानेका रैछन्
भन्ने हामीलाई लाइराछ...

Friday, December 2, 2011

दाजुको स्टेटस त खतरै हुन्छ नि

एउटाले दाइको 'फेसबुक स्टाटस दामी हुन्छ नि' भन्दै दुनोट चिया बजाएर गयो। 'ओ हो दाइको फेसबुक स्टाटस... म त दाइको फ्यानै हुँ नि.. खतरै लेख्नुहुन्छ...' यस्ता कुरा भनेर आजसम्म मेरो सय कप जति चिया र ५० वटा जति विस्कुट, २५ प्लेट जति मःम खाइसके चिनेका/नचिनेका साथीहरुले। यसो सोचिरहेको हाम्रा नेता, नेतृ, अभिनेता, अभिनेतृलाई पनि यस्तै कुरा भनेर उरालेर मान्छले कति कति फाइदा लिँदाहुन्...