Wednesday, January 25, 2023

यो हत्या हो

यो हत्या हो, 

आत्महत्या भनेर ढाक्न खोज्दा खोज्दै

हामी नाङ्गिइएको छौं।

यो हत्या हो,

परिवारले आफ्नै सदस्यमाथि गरेको हत्या

बैंकले ऋणीमाथि गरेको हत्या

सरकारले आफ्ना नागरिकलाई गरेको हत्या

नेताले कार्यकर्ता र मतदातालाई गरेको हत्या

धनीले गरीबलाई गरेको हत्या

समाजले गरेको हत्या

सरकारले गरेको हत्या।

घरैकाको मर्ने अवस्थासम्म पुग्दा सहयोग नगर्ने परिवार

आफ्नो फाइदा नदेख्दा हातमा नथुक्दिने साथीसंगत इष्टमित्र 

विद्यार्थीलाई जीवन बाँच्न नसिकाउने शिक्षक

मृत्युसँगै नर्क लान नसक्ने धन थुपारेका धनी

युवकको सामर्थले आत्महत्या गरेको हेरी बस्ने समाज

मृत्युमा समवेदनासम्म नदिने नकचरो सरकार

हत्यालाई आत्मदाह भन्ने पत्रकार

नागरिकलाई नौनाडी गलुन्जेल दुःख दिएर कमिसन खाने कर्मचारी

सबैको हात आज रगतले लतपतिएका छन् ।

हामी सबै मिलेर हत्यारा समाज निर्माण गर्दैछौं

हत्यारा संसार निर्माण गर्दैछौं

भो कमस नखाउ देश सपार्छु भनेर, 

तिमीले देखाएको आशा कति झुटो रहेछ

भो फेरि नभन भ्रष्टाचार गर्दिन भनेर

भो निर्देशन नदेउ अब पुग्यो।

बरु साथीको मृत्युमा चुपचाप कोही नबस 

सक्दैनौं भने- आऊ मसँगै आत्महत्याको लाममा

हाम्रो मृत्युपछि 'प्रेमप्रसाद' हरुको थप मृत्यु हुनेछैन

युवाहरुले रगत पसिनाको मोलको सट्टा 

आफ्नै जीउमा छर्कन पेट्रोल माग्ने छैनन्।

(प्रधानमन्त्री पुष्पकमल दाहालको कारगेटकै सामुन्ने संसद भवन अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यलाई श्रद्धान्जली)