Wednesday, April 27, 2011

बेलायतमा अझै 'किङडम अफ नेपाल'



हैन बेलायतमा माओवादीको राम्रै सैगठन छ भनेको सुनेको। यहाँ त बकिङ्घम दरबार अगाडिको पिलरमा नेपालको नाम भएको ठाममा त अझै किङडम अफ नेपाल नै छ त। देशमा गणतन्त्र आको कुरा नेपालको दुताबासले थाहा नदिए पनि माओवादीले गएर मेटाउनुपर्ने। नेपालमा त गणतन्त्र आउनासाथ माओवादीको नेतृत्वमा राजतन्त्रका यस्ता सबै निशाना मेटाइए झैं मान्छु..

Monday, April 25, 2011

लन्डनका फोनका बुथ नगरवधुका प्रचार थलो

लन्डनको जताततै बाटामा इन्टरनेट लेखेर राखेको बुथ देखेपछि होटलको प्रतिदिनको १५ पाउन्ड जति तिर्न पर्ने इन्टरनेट के चलाउनु भनेर एउटा बुथमा छिर्या। के को इन्टरनेट हुनु। एउटा फोन मात्र तुर्लुङ्ग झुण्डाएको देखियो। अझ त्यो फोन माथि त फोन नम्बरसहित नगरवधुका अश्लिल तस्विर पो छन् त। इन्टरनेट भनेर बोर्ड राखेको टेलिफोन बुथ त नगरबधुको विज्ञापन गर्ने थलो पो भारछन् यहाँ। अब बेलायतका गोराले अँग्रेजी बुझेका छैनन् भनेर कसरी भन्नु। नभए किन फोन बुथलाई इन्टरनेट लेखेर राखेका... ठगे भनेर नि कसरी भन्नु.. कुरा बुझिएन भनेर आफ्नै वुद्धिलाई कमजोर भन्दियो हाइसन्चो।

किराको होटल


लन्डनको चर्चहरु घुम्दै गर्दा एउटा चर्च पछाडिको बगैंचामा देखेको दृश्य। किराको लागि भन्दै साना साना पाइप भित्र बाँस र झारपात राखिदिएको छ। सात वटा पाइपलाई तला बनाएर मिलाएर राखेको र त्यसको छेउमा लेखेको छ किराको होटल। गोराले अनेक जानेका..

Saturday, April 23, 2011

लन्डनको 'गे' बार बाहिर

बाँचीबसे के के देख्न पाइन्छ पाइन्छ भन्थे बुढापाकाले। लन्डनमा 'गे बार' पनि देख्न पाइयो। सोहोमा हामीले देखेको गेबारमा केटाहरु लौरी समाएर नाचिरहेका थिए कट्टु मात्र लगाएर। बारभित्र छिर्नेमा केटाकेटी सराबरी थिए। नेपालाँ 'गे' सभासद सुनिलबाबु पन्त भए नि 'गे बार' देख्न पाइयाछैन। त्यही भएर एकछिन सिसा बाहिरबाटै आँखा भित्र डुलाइयो। डराई डराई खिचेको फोटो...

Thursday, April 21, 2011

लन्डनको मसाज परी


काठमाडौंमा ठमेलको गल्लीपिच्छे दुई तिनवटा मसाजका बोर्ड टाँसेका देखेको र त्यसमा के के हुन्छन् भनेर पत्रिकामा पढिरहेको मलाई लन्डनाँ नि घुम्दै जाँदा एउटा यामानको सुपरमार्केटमा एउटी कुइरेनी केटी आएर मसाज गर्ने हो भनेर सोधेर जीउ नै शिरिङ्ग गराइदिइ। 

Wednesday, April 20, 2011

बेलायतमा पर्यटकका लागि रे राजपरिवार

बैबाहिक जीवनमा वाँधिन ठिक्क परेका प्रिन्स विलयम्स र केट, बिहेको निमन्त्रणा कार्डसँगै। यस्तो कार्ड  दुई हजार जति बाँडिएका यहाँका पत्रिकाले लेखेका छन्। 
बेलायतमा आजभोलि  प्रिन्स विलियम्स र तिनकी बेहुली केट मिडलटनको बिबाहको चर्चा धेरै नै छ। यहाँ भेट हुने धेरै कुइरे कुइरेनीले -बिबाहको बेलाँ यही हुन्छौ भनेर सोध्छन्। मैले एक जनालाई हाम्रो देशमा राजतन्त्र गइसक्यो केरे। अब हाम्राँ युवराज/राजकुमारीहरुको बिहे हेर्न पाइन्न। हेरम्ला तिमीहरुको भन्दिन्छु। आफ्नो फर्किने टिकट पनि बिहेको भोलिपल्ट छ नि त।

Tuesday, April 19, 2011

कहाँ राखेको होला मोबाइल


मान्छेले यो फोटो अश्लिल भनेर कुरा काट्ने हो कि। लन्डनका बाटामा देख्या कुरा हो के रे, काटे काटुन्। गाउँको हाम्रो दुकानाँ आउने महिलाले ब्लाउज भित्र पैसा राखेर ल्याएका हुन्थे। केटाकेटीमा पसलमा बस्दा लाग्थ्यो, कहाँ राखेर ल्याएको होला पैसा। नवलपरासीको गर्मीमा हाम्रो पसलाँ आउने महिलाले ब्लाउज भित्रबाट झिकेर दिएको पैसा पसिनाले भिजेर गन्हाएको पनि  हुन्थ्यो। तर दुकानदार परियो। पसिनाले भिजेर गन्हायोको पैसा भनेर नलिन कुरा भएन।

कुइरेको मन नपरेको बानी

अरु कुरा त ठिकै होला कुइरे कुइरिनीका बानी। तर सबैका सामु नाक ख्याँर ख्याँर र खुँर खुँर पारेर एक, दुई चोटी होइन पटक पटक सानो कागजे रुमाल सिंगानले भिजाउने, अनि त्यो कागजे रुमाल पोको पारेर खल्तिमै राख्ने फेरि त्यसैमा सिंगान पुछेको चाहिँ कत्ति चित्त बुझेन, घिनै लाग्ने। सँगैको तालिममा १२ जना जति बेलायती छन् कोही कोहीलाई रुघा लारच...

Monday, April 18, 2011

लन्डनमा ७५ पाउन्ड लुटाइयो


आज लन्डन ब्रिज भनेर चिनिने तर खासमा टावर ब्रिज हेर्न जाँदा बाटामा ७५ पाउन्ड जति एउटा खैरेलाई लुटाएपछि यो पाउन्डको नोट हेर्ने मन पनि छैन। यो फोटो चाहिँ २० पाउन्डको नोट हो। सुनेअनुसार बेलायतमा पाइने सबैभन्दा ठूलो नोट २० पाउन्ड हो रे। ५० पाउन्डको नि नोट भए पनि त्यो सितिमिति यहाँका पनि जो कोहीसँग नहुने रैछ। नेपाली करिब २ हजार तीन सय रुपैयाँ हुन्छ यो २० पाउन्डको।

Sunday, April 17, 2011

ठाम अन्सार भाषा फरक फरक..

हाकिम्नीले 'मेट' भनेकीरच खाली 'मेघ' मात्र सुनेर कति झुक्केकी हो मलाई Meghraj Rasaili भनेर भन्ने लागिराथ्यो। लन्डन आएसी थाहाभो ठामपिच्छे फरक हुनेरहेछ भाषा नि। जुने देशाँ नि शहराँ जमिन मुनी गुड्ने रेललाई मेट्रो भन्लान भन्या त यहाँ ट्युब भन्दा रचन्। मोबाइलाँ पैसा रिचार्ज गर्नेलाई टप अप अनि पाउन्डलाई क्विड्स रे। अझ नेपालीले 'रोटा' भनेको सुनिराछु, बुझ्न बाँकी नै छ के हो त्यो..

लिलामीमा छु म

म एकथरी नेपाली
मलाई  आन्दोलनको नारा देउ
क्रान्तिको नारा देउ, परिवर्तनको नारा देउ
जस्ले सबैभन्दा कडा नारा दिन्छ
जसले अरुले भन्दा ठूला क्रान्तिको कुरा गर्छ
जसले छिटै परिवर्तन गरिदिने वाचा गर्छ
मलाई उसैले किन्छ,
किनकि म लिलामीमा छु

Saturday, April 16, 2011

एक किन्दा दुई फ्री भनेको त सर्ट किन्दा टाई फ्री...


अस्ति नैं भारत घुम्न जाँदा दिल्लीमा एउटा पसलाँ बाइ वन गेट सिक्स फ्री भनेर बेच्न राखेको देखेपछि लउ हान्दिन परो भन्दै पसल भित्र छिरेको थिएँ। हजार रुपैयाँ पर्ने एउटा टिसर्टलाई छ हजार मुल्य राखेर हाम्रा छिमेकी भारतीय भाइले ठग्न खोज्दैरहेछन्। नकिने फर्केको थिएँ।

Sunday, April 10, 2011

नेपाली पारा / बेलायती चलन...

एकजोडी खरायो दिन्छु भनेर दुईटा पोथी पोथी खरायो दिएर फर्किएको बेलायती सम्पादकले थेम्स नदीको किनारमा भेट हुनासाथ खरायो कस्ता भए भनेर सोध्दै थियो। तिमीले दिएका दुईटा खरायो मात्र हैन पछि थपेको एउटा खरायो पनि स्त्रिलिङ्गी परेछन्। तिनबाट प्रजनन् प्रक्रिया भएन बरु लेस्बियन हुने डर भयो त्यसैले तिनलाई मासाहारीको जिम्मा लगाएर अहिले कुखुरा पालेको छु भनिदिएको सम्पादक जी आँखामा चिप्रा आइन्जेल हाँसिरहे...

Saturday, April 9, 2011

कस्तो राम्रो माछापुच्छ्रे


काठमाडौंबाट दोहाको लागि उडेको कतार एयरवेजको जहाज पोखरा मास्तिर आउँदा होला, सस्तो खाले डिजिटल क्यामेराले खिच्दा पनि माछापुच्छ्रे र त्यसवरपरका अन्नपूर्ण र धवलागिरी हुनुपर्छ सारै राम्रो लागेकाले बाँड्न मन लाओ। घरेलु जहाजमा उड्दा र पोखरातिरबाट हेर्दा माछापुच्छ्रे पछाडिका हिमाल यति राम्रो देखिदैंन। एउटा खैरेलाई जहाजको झ्यालबाट देखाइदिएको मोराले हतारिएर टाउको माथि झोला राख्ने ठामबाट क्यामेरा झिक्दा १० किलाको झोलाले झन्नै मेरो टाउको भाँचिदिएन...

लन्डनको धाराकै पानी अनि तितो स्यान्डवीच

लन्डनको धारामा आउने पानी पिउन हुने भएर रै त होला नि, हाइड पार्कको यो धाराँ एउटा खैरे टुटीमा मुख जोडेर पिइरहेको देखें। मैले नि अन्जुलीमा पानी थापेर दुई माना जति पिइदिएँ....कहाँ पाउन्ड पैसो खेर फाली फाली मिनरल वाटर किन्नु, अझ त्यो पनि लाइनमा बसेर...(हास्नुपर्ने कारण धेरै छन् हा हा हा....)

भाको एउटै कोट नि मिसिनाँ घुसारेर जताततै..


बेलायत आउँदा कोट नै लाएर जाम्न त भनेर भिरेर आइयो। काठमाडौं होस् कि, दोहा होस् कि, लन्डन जुन जुन एयरपोर्टाँ रोके नि खाली कोट फुकाल्न लाउँदोरच। कोट, पेटी, मोबाइल र पर्स उनीहरुले दिने एउटा प्लास्टिकको बाटामा हालिदिनु पर्ने जाँच गर्ने ठाउँमा।

अब बल्ल जानियो विदेश यात्रा गर्ने बेलाँ जाँगे र टिसर्ट लाएर हिँडे जस्तो सजिलो केही नहुने रच... बिहेमा सिलाको भाको त्यही एउटा कोट नि खुब मेसिनाँ घुसारे...

काठमाडौं एयरपोर्टमा एयर ट्राफिक जाम

काठमाडौंका रोडाँ मात्र हैनछ नि ट्राफिक जाम। ट्राफिक जाममा परिस् भन्दै हिजो आधा घन्टा जति त्रिभुवन विमानस्थलमा कटार एयरवेजको जहाज भित्र थुने। त्यहाँको जामले दोहाबाट लन्डनको उडान छुटो। कटारका कर्मचारीलाई कराको - तेरै देशको ट्राफिकले त हो नि भन्छ। क्या विकसित देशको विमानस्थल जस्तो भो यार हाम्रो देशको एयरपोर्ट पनि भने जहाज नै ट्राफिकमा पर्ने।

साँच्चैको अन्तराष्ट्रिय भारहेछ हाम्रो विमानस्थल फेरि, आफ्नो देशको जहाज छैन खाली अरु देशकै जहाजले भरिएको विमानस्थल...

Wednesday, April 6, 2011

माधव-झलनाथ लफडा त जग्गाको पो रच

एमालेका झलनाथ खनाल र माधव नेपालको किन झगडा परिराछ भनेको त जग्गाको कारोबार पो रच। भुमिगतकालमा  दुई नेता मिलेर माधव नेपालको श्रीमतीका नाममा कोटेश्वरमा २० आना जग्गा किन्या रछन्। त्यो जग्गामा अहिले माधव काम्रेड र उनका दाजुभाइले घर बनाएर सिध्याएकी के हो... अहिले जग्गा बाँकी छैन होला।

तर 'जेन्टलमेन एग्रिमेन्ट' भन्दै  झलनाथ खनालले मेरो भागको ८ आना जग्गा खोई भन्दै खोंचे थाप्या रैछन्। उता माधव काम्रेडले पैसा दिइसकेको हो पहिल्यै भन्दा रहेछन.... म त के के न सैद्धान्तिक विवाद गरिराछन् काम्रेडहरु भनेर खुशी भइराको...

Tuesday, April 5, 2011

झलनाथले सके फकाउन नसके घुर्क्याउन पर्छ प्रचण्डलाई

मान्छेले कतिको बुझेका छन् कुन्नि, मैले त अहिले आएर माओवादीले नयाँ खोचें थापेर संविधान निर्माण गर्न नखोजेको झैं मान्या छु है।

संविधान बनाउँने क्रममा विवाद भाका विषयलाई मिलाउन भनेर माओवादीका अध्यक्ष प्रचण्डको संयोजकत्वमा एक उप समिति बनेपछि धेरै विवादका विषयहरु (चुनाव प्रणाली, न्याय प्रणाली, भाषा जस्ता विवाद) टुंगिएका थिए। तर अहिले आएर माओवादीले हाम्रो अध्यक्ष प्रचण्ड त्यस्को संयोजक भएको मिलेन। हाम्रा तर्फबाट त्यसमा अव नारायणकाजी श्रेष्ठ प्रकाश संयोजक हुनपर्छ भनेर अत्तो थापेको छ।

मावली काकाले अब काँग्रेसलाई भोट हाल्दैनन्

अब मावली काकाले जीन्दगीमा काँग्रेसलाई भोट नहाल्ने भए। के के न बिपीको नामको अस्पताल भन्दै बिपी मेमोरियल अस्पतालमा गएर खुट्टा मर्केको उपचार गराथे। सात हजार ठटाइदिएछ। बिपी हुन् कि पुष्पलाल, मदन भण्डारी हुन् कि गणेशमान तिन्का नाममा अस्पताल, स्कूल खोल्नेले नाम मात्र तिनका बेचेका हुन् 'गणित'*  का लागि, सके अन्तभन्दा धेरै पैसा लिन्छन् भनेको टेर्‍याथेनन्... महाराजगञ्ज शिक्षण अस्पतालाँ गाभा हजार रुप‍ैयाँमै हुन्थ्यो होला... यसमा जनक जीको कमेन्ट सारै घत लाग्यो। यी नेताहरुको नाम बेच्नेले पैसा यति धेरै लिएका छन्, मानौं तिनले गरेको आम्दानीको केही हिस्सा ती दिवगंत नेताहरुलाई कमिसन दिन पर्छ....

अँग्रेजी नबुझेर INDIA नमेट्या त होइन होला..


यो फोटो चिसापानीमा रहेको कर्णाली पुल नजिकै खिचेको। 'भारत' को नाम र झण्डा जति कसले मेटाउन खोजेको भनेर त बुझिहाल्नुभयो। तर एक ठाउँको भारत (INDIA) चाहिँ बिर्सिएर नमेट्या हो कि? जानी जानी राख्या हो कि। बा अहिलेका प्रधानशत्रु भोलिका परममित्र हुन सक्छन् त्यसैका लागि भए पनि भारतको नाम एक ठाममा भए पनि राख्न पर्छ भनेर राखिरहेको हो कुन्नि...कि India चाहिँ अँग्रेजीमा लेखेको भएर नबुझेर नमेट्या त होइन होला।

एमाले प्रधानमन्त्रीको फ्याक्ट्री ?

हैन के सोच्या हो एमालेले, झलनाथ पछि फेरि एमालेकै प्रधानमन्त्री हुने र त्यस्को नेतृत्व के पी ओलीले गर्ने भनेछन् त माधव नेपालले। अनि के पी ओलीले फेरि म तत्काल प्रधानमन्त्री हुन्न भनेछन्। कागतालीले एमालेका दुई प्रधानमन्त्री भए भन्दैमा एमालेले आफूलाई त प्रधानमन्त्रीको फ्याक्ट्री नै सोच्या छ कि के हो ? यस्तै चालले एमालेका अरु एक जना प्रधानमन्त्री थपिउन् अनि अर्को चुनावाँ कति सिट आउँछ, थाहा हुन्छ...

Monday, April 4, 2011

छोराछोरी पढाएर काम रहेनछ

‎'छोराछोरी पढाएर काम रहनेछ। नपढाएका भए त यही हुन्थें नी, अरु बेलाँ नभए नि बा सिकिस्त भा बेलाँ हस्पिटलमा भेट्न आउँदा हुन्।' ८४ पूजा गरिसकेका ठूलाबालाई हस्पिटलको आइसियुमा एक्लै कुर्न बसेकी गाउँकी ठूली आमाले निकाल्नुभाको निश्कर्ष। ठूला बाका दुई छोरा अमेरिका र एक छोरी अष्ट्रेलियामा छन्...

Friday, April 1, 2011

भन्ने रिचार्ज दिने सर्टा १० प्रतिशत छुट

५० लाख रुपैया बराबरको मोबाइल रिचार्ज कार्ड दिने भन्दै विज्ञापन गरेको कोक, नवलपरासीको गर्मीमा पिउँदा बिर्काँ नम्बर आयो। बिर्कामा देको निर्देशनाअन्सार नम्बर एसएमएस गरेर पठाएँ। एसएमएसाँ पठाको उपहाराँ त जोन प्लेयर सर्टाँ १० प्रतिशत छुट पो भन्छ। नवलपरासीको यो दुर्गमका ग्राहक कहाँको जोनप्लेयर स्टोरमा जानु? रिचार्ज कार्ड दिने भनेर विज्ञापन गर्ने अनि जोन प्लेयराँ छुट भन्ने? मैले एसएमएस गर्दा खर्च भाको ५ रुपैयाँ कल्ले बेहोरिदिन्छ..