Tuesday, November 3, 2020

कोरोनाकालमा बर्मामा मेरो दशैं: सिम्रिकको टीका, पपकर्न भुट्ने मकैको जमरा र बल्लतल्ल पाइएको खसीको मासु

टीका, जमरा, खसीको मासु। सेलरोटी, तास, साथीसंगी। आमाबा, दाजुभाइ, दिदीबहिनी, ससुराली, इष्टमित्र। चंगा, पिङ। गाउँ, आशीर्वाद, दक्षिणा। दसैं भनेपछि यिनै चिज, वस्तु र भावनामा मन जातोझैं घुम्दो रहेछ।

पत्रिका (अनलाइनसमेत), रेडियो, टिभी र सामाजिक सञ्जालमा झ्याम्मिन थालेपछि दसैंका लागि सिफारिस गरिएका पुस्तक, फिल्म र घुमघामका लागि जाने ठाउँ पनि दसैंछेक बाटो छेक्न आउँदा रहेछन्। पछिल्लो समय दसैं बेलाको ध्यान पनि चलेकै छ।

यसअघिका दसैं, हातका ‍औंलामा गन्न सकिनेबाहेक, गाउँघरमै आमाबाका हातको टीका लगाएर मनाएको सम्झना छ। एकपटक दसैं 'विपश्यना ध्यान' मा गएर बसियो। अर्कोपटक साथीको लहलहैमा लागेर विदेश घुम्न गइयो। 


एकपटक ट्रेकिङ भन्दै हिमालतिर पुगेर दसैं मनाइयो। दुईपटक भने 'टेलिभजनको काम, दसैंमा पनि बन्द गर्न मिल्दैन' भनेर हाकिमले दसैं बेला काम गर्ने कारिन्दाको सूचीमा आफ्नो नाम राखिदिएपछि काठमाडौंमै मनाइयो। 

वैदेशिक रोजगारीमा हिँडेपछि पनि वर्षभरीको बिदा दसैंलाई साँचेर गाउँ पुग्ने गरेको थिएँ। तर परिस्थितिको तकाजाले यसपटकको दसैं बर्माको ठूलो सहर रंगुनमा मनाउनुपर्ने अवस्था आइलाग्यो। 

भदौ अन्तिमसम्म पनि अनलाइन वा टेलिफोनमा कुराकानी हुने साथीसंगी, आमाबा, इष्टमित्र सबैलाई भनिन्थ्यो, 'यसपालि दसैं ढिला छ, कात्तिकमा। जहाज त्यतिबेलासम्म कसो नखुल्ला र? दसैंसम्म त घर जान पाइएला।'

कोरोना नफैलियोस् भनेर संसारका अन्यत्रजस्तै बर्मामा पनि विदेशबाट जहाज आउन-जान रोकिएको छ। यहाँबाट नेपाल जाने जहाज सजिलै पाइएन। गएर पनि उता क्वारेन्टिनमा बस्नुपर्ने हो कि सिधै घर जान पाइने हो अन्यौल भयो। 

फेरि नेपाल फर्किन कोरोना परीक्षण गर्नुपर्ने होला। भाषा नबुझिने परदेशमा स्वाब टेस्ट गर्न कता जानु? त्यो कति घन्टालाई मान्य हुनु? ट्रान्जिटमा कति बस्नु? झन् परदेशबाट घर जाँदा थाहा नपाएरै बूढा आमाबालाई कोरोना सारिने पो हो कि?

यी अनेक झमेलाको जवाफ खोज्नुभन्दा नजानु नै ठीक लाग्यो। दसैंमा घर जाने कुराले असोजतिर हावा खायो। 

घर जाने कुराले हावा खाए पनि दसैं मान्ने कुराले हावा खाएको थिएन। 

टीकालाई चाहिने चामल छँदै थियो। दही पनि सजिलै पाइन्छ। नभए न्यूजिल्यान्डबाट बर्मा आयात गरिएका दूधका प्याकेट अनलाइन बिक्रेताले डेरामै ल्याइदिन्थे। त्यसैबाट दही बनाउन जानिएको छ। अब रह्यो रङको कुरा। श्रीमती मायाले नेपालबाट आउँदा सिम्रिकको एउटा डिब्बा पोहोरपरारै प्लास्टिकले बेरेर सुटकेसमा हालेकी रहिछन्। त्यसैलाई रङ मानेर अक्षता मुछ्ने विचार गरियो।

माया र म एकापसमा टीका साटासाट गर्दै।

उसै पनि नेपालीभाषी बर्मेलीले रङ मिलाएर टीका लगाउन थालेको दुई दशक पनि भएको छैन। यिनका पुर्खा नेपालबाट आउँदा नेपालमा पनि सेतै अक्षता लाउने चलन थियो होला। त्यसैले अझै पनि कतिपय गोर्खाली बर्मेली परिवारमा सेतै टीका लगाउँछन्।

दोस्रो जमरा। जमराका लागि यो कोरोना बेला जौ, गहुँ, मकै सबैको जोहो गर्न अप्ठ्यारो पर्‍यो। खोज्दै गए भारतीय मूलका व्यापारीकहाँ पाइँदो हो। तर जोखिम लिन सकिएन। म बस्ने १४ तले यामानको घरमा ७५ वटा अपार्टमेन्ट छन्। त्यसैको नवौं तलाको एउटा अपार्टमेन्ट हो डेरा। डेरामा हरियाली गराउन केही गमला किनिएको छ। गमलामा फूलबाहेक खुर्सानी, पुदिना, धनियाँ र तुलसीसम्म छन्। 

मायाले प्रभातकालीन हिँडाइ बेला भेट्टाएका टिकका पात संकलन गरेर ल्याइन्। दाँत कोट्याउने सिन्का 'टुथपिक' ले टपरी गाँसिन्। घटस्थापनाको दिन विभिन्न गमलाबाट अलिअलि गरी माटो निकालियो। त्यसैमा छरियो भुटेर खान ल्याइएको फूल उठ्ने मकै। 

'यो पपकर्न गराउने मकै के उम्रिएला र,' मायाको शंका फेल खायो।

मकैका जमरा टीका लगाउने दिनसम्म त राम्ररी हुर्के। गमलामा हाल्ने मल जमराले नि अलिकति पाएका थिए।  

टपरी र टपरीमा उमारिएको पपकर्नको जमरा।

तेस्रो खसीको मासु जोहो। 'गोट मिट' रंगुनमा सजिलै पाइन्छ। तर, खसीको मासु, अझ त्यसमाथि छालासहितको, अहँ। अनि रक्ति, आन्द्रा-भुँडीसहितको लगभग असम्भव। तै पनि वर्षमा एकपटक आउने दसैंमा खसी मासुमा हार मान्ने कुरा त भएन।

बोकालाई बन्ध्याकरण गरिएपछि खसी हुने हो। कोही किन बोका-पाठालाई बन्ध्याकरण गरोस्? तपाईंले कुखुराको भालेलाई बन्ध्याकरण गरिएको छ/ छैन भनेर सोध्नुहुन्छ र?

सोधिन्छ, नेपालका मध्यपश्चिमका केही क्षेत्रमा। त्यता बँधिया भाले पाइन्छ नि त! 

साधारणतः संसारमा खसी पाइँदैन। बर्मामा पनि खसीको चलन छैन। यहाँ बाख्रा पाल्ने किसान भने बर्माका १४ वटै प्रदेशमा भेटिन्छन्। तिनले बेचेका बाख्रा ढिलोचाँडो वधशालामा पुग्छ। 

करिब ८९ प्रतिशत बौद्धमार्गी भएको बर्मामा कुन जाति, समुदायकाले कुन मासु व्यापार गर्ने भन्ने अलिखित सम्झौताजस्तै छ, पुस्तौंदेखि चल्दै आएको। बाख्राको मासु व्यापार मुसलमान धर्मावलम्बीले गर्दै आएका छन्। कुखुरा मासु व्यापार सबै जातिले गरेको देखिन्छ। गाई, गोरुको मासु पनि धेरैझैं मुसलमान धर्मावलम्बीले व्यापार गर्छन्। मुसलमान धर्मावलम्बीले नछुने बंगुरको काटमार चाहिँ चिनियाँ मूलकाले गर्छन्।

बर्मामा जहाँतहीँ काटमार गर्न बन्देज छ। मासु व्यापारीले सरकारी मापदण्ड पूरा गरेको 'स्लटर हाउस' मा मात्र जनावरको वध गर्नुपर्छ। बौद्ध देश भएकाले जीवको हत्या आममानिसले देख्ने गरी गर्न पाइँदैन। मासु खाने भन्ते भिक्षुहरू भने प्रशस्त भेटिन्छन्। जीव हत्या आफैंले गर्नु हुँदैन भन्ने यहाँका बौद्धमार्गीको विश्वास छ। अरूले काटेको मासु चाहिँ चल्छ। 

म बस्ने घरमा तीन नेपाली परिवार छौं। एक जनाको बर्मेली बैंकमा काम छ। अर्काको गैरसरकारी संस्थामा। सबै जना परिवारसहित बस्छौं। खसी खोज्ने जिम्मा निजी बैंकमा काम गर्ने साथी शिरिषले लिए। यिनी सूचना प्रविधिका जानकार र जुझारु युवा छन्। जे काममा पनि अगाडि सर्छन्। यिनकी जहान विद्या अनलाइन सपिङमा पोख्त। कोरोनाकालमा यो दम्पतीले अनलाइनबाटै आवश्यक सामग्री मगाइदिनाले हामी पनि खाद्यान्न, पिद्यान्न, तरकारी वा अरू कुनै सामग्रीका लागि बजार जान परेको छैन।

आफ्नो पुरानो डेरा नजिकको बगरे कहाँबाट खसी ल्याउने कुरामा शिरिष ढुक्क थिए। म भने मासु पसलबाट कता यिनले खसी होइन, कोरोना ल्याउने हुन् कि भन्ने चिन्तामा थिएँ। 

माछा-मासु र तरकारीको 'वेट मार्केट' नै कोरोना फैलिने प्रमुख ठाउँ भनेर चीनमा सुरूमै थाहा भएको थियो। नभन्दै घटस्थापनाको दुई दिनअगाडि खबर ल्याए, 'त्यो बगरेलाई कोरोना लागेछ, खसी पाइएला जस्तो छैन।'

खबरले सबैको मुख निन्याउरो भयो। 

पोहोर बिदा छोट्याएर तिहारको दुई दिनअगाडि बर्मा फर्किएको थिएँ। यहाँको देउसी-भैलो हेर्न। मलाई त्यो बेला नेपालीभाषी बर्मेली गोपाल ज्ञवालीको रेस्टुरेन्टमा छालासहितको खसीको मासु खाएको सम्झना थियो।

बर्मेली खसीको भुटन र सेलसँगको दसैं।

अरूलाई अग्रसर बनाउन पाए आफू किन अगाडि सर्नु? बेकारको झ्याङ्लो भनेर चुप लागेर बसेको थिएँ। केही उपाय नलागे अन्तिम अस्त्र मात्र थिए ज्ञवाली। त्यसै बेला गैरसरकारीवाला उमानाथ अगाडि सरे।

उमानाथ कम्बोडिया, पाकिस्तान, युगान्डा, अफगानिस्तान, अनेक देशमा बसेर दुई दशकभन्दा बढी गैरसरकारी संस्थामा काम गरेका, साथीसंगी भनेपछि हुरुक्कै हुने। यिनकी जहान उर्मिला ठूलो मनकी छन्। अरूलाई खुवाउन-पिलाउन पाउँदा धेरै खुसी हुने स्वभावकी। कम्बोडियामा यिनका छिमेकी भएर बसेका उज्ज्वल पनि अहिले अर्को गैरसरकारी संस्थामा काम गर्न बर्मा आइपुगेका छन्।

'यस्तो कुरामा त उज्ज्वलीजी धेरै तगडा,' उमानाथले अलिकति आशाको दियो बाले।

उनैले फोन सम्पर्क गरे उज्ज्वललाई। गैरसरकारी संस्थामा काम गर्ने उज्ज्वल फरासिला छन्। जोसँग पनि तुरुन्तै घुलमिल हुन सक्ने, विनोदी मान्छे।

छालावाला खसीको मासु भित्र्याँससहित फूलपातीका दिन डेरामा आइपुग्यो। मैले अष्टमीको दिन शनिबार बिहानै उज्ज्वललाई फोन गरेर सोधेँ, 'कमरेड, खसीको जोहो कसरी गरियो?' 

उनले डेढ घन्टा जति फोनमा बेलिविस्तार लगाए जसको संक्षेप यस्तो छ- 

बर्मामा तमिल मूलका बर्मेलीको संख्या नेपाली मूलका बर्मेलीभन्दा धेरै छ। ती तमिलमध्ये अधिकांश हिन्दु भए पनि कोहीकोही मुसलमान पनि छन्। जसरी नेपालीभाषीलाई पुस्तौंअगाडि अंग्रेजको शासनकालमा बर्मा ल्याइए वा आए, इश्लाम धर्म मान्नेहरू पनि तत्कालीन भारतबाट त्यसरी नै आए वा ल्याइए। तिनलाई रेलको लिक बनाउन सन् १८६० दशकदेखि बर्मा ल्याइएको इतिहास छ। 

तीमध्ये कति त बर्मामा अंग्रेजको शासन सन् १९४८ मा अन्त्य भएसँगै फर्किएर गए। तर कति अझै यहीँ छन्। कोहीकोही दुई पुस्ताअगाडि बर्मा आएका पनि भेटिन्छन्। 

उज्ज्वल बस्ने ठाउँ स्यान्जोङ मिनिगाउँ विविधताले सम्पन्न छ। त्यहाँ सय मिटरभित्रै मस्जिद छ। मन्दिर छ। गुरुद्वार छ। बौद्ध गुम्बा र विहार त बर्मामा टोलैपिच्छे हुन्छ। 

त्यहाँ भारतीय मूलका बर्मेली थुप्रो बस्छन्। उज्ज्वलले मासु किन्ने पसल चाहिँ तमिल मुसलमानको हो। हलाल गरेको बाख्राको मासु मात्र पाइँदो रहेछ। मुसलमानले छाला र रक्ति खाँदैनन्। त्यसैले पाइँदैन। रक्ति यत्तिकै फाल्दिन्छन्। छाला भने 'लेदर इन्डस्ट्री वा टेलरिङ' मा जान्छ। 

इश्लाम धर्मगुरुहरूले छालासहितको मासु खाँदा रौं पनि मिसिन सक्ने हुँदा छाला मिसिएको मासु नखान प्रेरित गर्छन्। साथै जनावरको रगतमा बिकार हुने भएकाले रक्ति पनि नखानू भन्छन्। फेरि बर्मामा बाख्रा भुत्ल्याएर छालासहितको मासु बेच्नुभन्दा रौंसहितको छाला उद्योगलाई बेच्दा फाइदा हुँदो रहेछ।

'पाकिस्तान, बंगलादेश, चीन, फिलिपिन्ससहितका देशमा पनि त्यस्तै हो,' विभिन्न देशको अनुभव भएका उज्ज्वलले भने।

उज्ज्वलको घरमा सहयोग गर्ने दिदी नेपाली मूलकी छिन्, मुमा बन्जाडे रिजाल। मोगोकमा जन्मी-हुर्केकी। उनका श्रीमान हरि रिजालको आफ्नै व्यापार छ। उनी बोतलबन्द खानेपानीका वितरक हुन्। उनले वितरणको ठेक्का लिएको पर्फेक्ट नामको खानेपानी कम्पनी नेपालीभाषीले चलाएको उद्योग हो। 

माया र म टीका पछि।

भाषा सहयोगका लागि हरिलाई लिएर उज्ज्वल तमिल मूलका तिनै बर्मेली मुसलमानको मासु पसल गएछन्। कुरा गर्दै, सम्झाउँदै, चाडको महत्व बुझाउँदै गएपछि बगरेले सिंगो बाख्रा उठाउने भए मात्र छालासहितको मासु बेच्न तयार भए। 

'तपाईंहरू तीन घर र म थपिँदा १४ बिसा जतिको बाख्रा उठाउन सकिन्छ भन्ने लाग्यो,' उज्ज्वलले भने। एक बिसामा १.६६ किलो हुन्छ। बर्मामा तरकारी, मासु बिसामा जोखिन्छ। नेपालमा धार्नीमा जोखेजस्तै।

छालासहितको मासुको जोहो हुने देखियो। तर 'खसी' नै पर्‍यो परेन भनेर कसरी निश्चिन्त हुने? हरि दाइलाई खसी र बोकाको भेद थाहा रहेछ। उनले खसी नै चाहिन्छ, नभए मासु फिर्ता हुन्छ भनिदिएछन्। बगरेले बुझे कि बुझेन भन्ने शंका मनमा भइरह्यो। तर आउँदा राजखानीसहितको खसीको मासु नै आयो। 

मैले भने बर्मामा किन खसी पार्छन् त भनेर बुझ्न थालेँ। नेपाली मूलका जस्तै भारतीय पनि कसैकसैको खसी नै खाने बानी हुँदो रहेछ। रंगुन नजिकैको बगोमा कोहीकोही बाख्रा पाल्ने किसानलाई पाठा खसी पार्‍यो भने मासु फरक स्वादको हुन्छ भन्ने थाहा रहेछ। दोस्रो विश्वयुद्धताका आएका सैनिकले खसी पार्न सिकाएका रे। 

बाख्राको रोज्जा रोज्जा एक बिसा मासुलाई २५ हजार च्याट (नेरू २,३५०) मा पाइन्छ। तर छालासहितको खसीको मासु माग्दा बजार भाउभन्दा एक बिसामा पाँच हजार च्याट धेरै तिर्न पर्‍यो। सिंगै खसी, भित्र्याँससहित पाइने हुँदा त्यो तिर्न सबै तयारै भयौं। 

'बगरेलाई रक्ति, आन्द्रा-भुँडी सबै चाहिन्छ भनेँ। तर लिन जाँदाको दिन त टाउको पनि छैन रगत पनि छैन। भाषा नजानेकाले धेरै विवाद गर्न सकिएन,' उज्ज्वलले भने, 'वधशालाबाट मुसलमानले रगत नल्याएको त ठीकै पनि हो। तर टाउको चाहिँ किन दिएनन् बुझ्न सकिनँ।'

'मैले नियमित प्रयोग गर्ने ट्याक्सीमा हालेर मासु पठाइदिएको थिएँ पले कन्डोमा। मासु कस्तो लाग्यो त?' उज्ज्वलले कुरा टुंग्याउँदै सोधे।

हामी बस्ने पर्ल कन्डोनियम बिल्डिङलाई बर्मेली जिब्रोले 'पले कन्डो' भन्दा सजिलो मान्छ। उज्ज्वललाई धेरै धेरै धन्यवाद भनेँ। मासु गाउँघरमै भाग लगाएर किनेजस्तो थियो। 

तर मलाई खसीको मासुबारे अझ खसखस थियो। फोन लगाएँ नेपाली रेस्टुरेन्टवाला गोपाल ज्ञवालीलाई। उनले सम्झाए, 'दाइ, मैले त बाख्रा सप्लाई गर्नेलाई गाउँमा जाँदा भिडिओ च्याट गर् भन्छु। उसले मोबाइलबाट पुच्छर उठाएर राजखानी देखाउँछ। अनि राजखानी सुकेको देखेपछि खसी हो भन्ने पक्को गरेपछि मात्र हो त्यो बाख्राको मासु काटेर ल्या'है भन्छु। नत्र त के पर्छ पर्छ नि।' 



टीका लगाउन आएका छिमेकी पाहुना विद्या, शिरिष र उनीहरूका छोरा।

मैले फेरि सोधेँ, 'हामीले सिंगै किन्दा टाउको पाइएन नि?'

गोपालले भने, 'बर्मेलीले खसीको गिदी र आँखाको विशेष परिकार बनाएर खान्छन्। त्यही भएर तपाईंलाई टाउको दिएनछन्।'

अब रह्यो सेल रोटी, तास, साथीसंगी। सेलरोटी पहिलेपहिले पनि बन्थ्यो। यो बिदामा पनि बन्यो। गाउँमा आमाले पो ढिकीमा गएर चामल कुट्थिन्। यहाँ दुई-चार घन्टा पानीमा भिजाएको चामललाई जुस, मसला हाल्ने ग्राइन्डरमा हालियो। पिठो बन्यो। घ्यू, चिनीमा पिठो मुछ्यो। कराईमा तेल बसायो। पाला त कहाँ पाउनु? कचौरा बीचमा राखियो। सेलरोटी पाक्यो।

तासमा म र माया दुवै अनभिज्ञ। एउटै घरमा तर फरक फरक तलामा बस्ने यिनै छिमेकीहरूले सिकाए। बढो दुःख गरीगरी म्यारिज खेल्न अर्ध सिक्यौं। गेम भयो कि भएन भनेर फाइनल हितकारी छिमेकीले जहिले पक्का गर्दिन पर्ने। तास पनि खेलियो। 

साथीभाइ त यहीँ बर्मा आएर चिनेका यही तीन परिवार मात्र भइयो। 

छिमेकीहरूसँग टीकाटालोपछि।

कहिलेकाहीँ झ्यालबाट चंगा उडाएको देखियो। बर्मामा भर्खरै वर्षात सकिएर शरद लागेको छ। बर्मेली पनि यो बेला चंगा उडाउँदा रहेछन्। 

पिङ, त्यो चाहिँ देख्न पाइएन। आमाले 'टीकाको दिन भुइँ छाड्नुपर्छ है' भन्थिन्। तर यसपटक भुइँ छाडिएन। 

कोरोना कहरबीच गाउँ गएका साथीभाइले फेसबुकमा हालेका फोटा र भिडिओबाटै गाउँसँग जोडिइयो। उमेर र विचार दुवैले जेष्ठ उर्मिला र उमानाथको घरमा यसपटक टीका रहेनछ, आफन्त बितेकाले। विचार र परिपक्वताले जेष्ठ भए पनि उमेरले हामीभन्दा कान्छा विद्या र शिरिष टीकाको दिन आफ्ना दुई स-साना छोरा च्यापेर एक तलामाथि डेरामा आइपुगे।

कोरोनाकालमा गाईको गोबर खोज्न हिँडिएन। हिँडेको भए पनि यो रंगुन सहरमा पाइन्थेन होला। पिपलको पातमा अक्षता र जमरा राखेर डेराको मूल ढोकामा लगाइदिएँ।

मैले मायालाई र मायाले मलाई टीका लगाइदियौं। टीका, जमरा, आशिष साटासाट गर्‍यौं। आमाबा, भाइबुहारी, छोराछोरीसँग टीकाको दिन फेसबुकबाटै टीका र आशीर्वाद लिने-दिने काम भयो।

'फन्लाका छोरा क्या बात भनेर नाम चलाए' भनेर दसैंमा सधैं आशीर्वाद दिने गाउँले हजुरआमाको सम्झना मनमा आइरह्यो। 

शिरिष र विद्या अनि तिनका छोरालाई टीका, जमरा, आशीर्वाद, दक्षिणा दिइयो। मैले पाँच वर्षका अद्भिक र डेढ वर्षका अद्धृतलाई टीका लगाउँदा हजुरआमाबाट सापट लिएर त्यही आशिष दिएँ।

आफूले भने यसपटक दक्षिणा पाइएन। ससुरालीबाट टीकाको दिन भिडिओ कल आयो। सासू-ससुराले आशीर्वाद दिए। दक्षिणाको त कुरै भएन। मैले मायालाई मायाले चिमोट्दै जिस्काएँ, 'दक्षिणा ट्रान्सफर गर्ने एप्स नै नेपाली बैंकहरूले बनाएका छन् त। तिम्रा माइतीले कस्तो थाहा नपाएका?'

उर्मिला, उमानाथ, शिरिष, विद्या सबै मुस्काए।

अनि कोजाग्रत पूर्णिमा चाहिँ म साँच्चै जागा बसेर मनाएँ, यही लेख लेख्दै। मध्यरातमा गोर्खाली संघका अध्यक्ष सागर घिमिरेले एउटा भिडिओ पठाए।

पिउँलेका नेपालीभाषी नारायण भट्टराईले गाएको भजन रहेछ। मेरो लेखले दिक्क बनाएको छ भने पनि यो भजनले तपाईंलाई शान्ति दिन्छ। ग्यारेन्टी।

ह्याप्पी दसैं। सी यु इन तिहार।


यो लेख पहिलोपटक सेतोापटी अनलाइनमा आईतबार, कात्तिक १६, २०७७ मा प्रकाशित भएको हो।

Monday, October 26, 2020

नेपालीभाषी बर्मेलीको दशैँ: बर्मामा कसरी मनाइन्छ त दशैं

 दीपक भट्टराई, रंगुन, म्यानमार

अखिल म्यान्मा देशीय गोर्खा हिन्दु धार्मिक संघ म्यानमारमा रहेका करिब सवा लाख नेपालीभाषीको साझा संस्था हो।

त्यस संस्थाको धार्मिक विभागका उप प्रमुख मोहन भट्टराईले अक्टुबर १४ मा नेपाल पञ्चाङ्ग निर्णायक समितिलाई एक निवेदन पठाए।



उनले दुई, ढाई लाख नेपाली गोर्खालीहरू म्यानमारमा रहेको दाबी निवेदनमा गरे पनि म्यानमारको सरकारी तथ्याङ्क अनुसार यहाँ एक लाख पनि नेपालीभाषी छैनन्।

तर विभिन्न कारणले जनगणनामा छुटेका समेतलाई गणना गर्दा सवा लाख जति नेपालीभाषी पुग्ने सामाजिक अगुवाहरू बताउँछन्।

यो निवदेन परेको पाँच दिनपछि अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले बर्मामा दशैँ टिकाको साइत अक्टुबर २६ सोमबार बिहान १० बजेर १५ मिनेटमा उपयुक्त हुने भन्ने सन्देश पठायो।

त्यसपछि म्यानमारमा दशैँको साइत निश्चित गरेर सामाजिक सञ्जालमा सन्देश प्रवाह गरियो।


नेपालमा झैँ गरी म्यानमारमा पनि नेपालीभाषीले दशैँ मनाउँछन्।

गोर्खालीका जति बाक्लो बस्ती भयो उति रमाइलो गरी दशैँ मनाउने चलन यहाँ छ। बाक्लो बस्ती भएका ठाउँमा केही वर्ष अगाडिसम्म पिङ हाल्ने, सप्तमीमा धुमधामका साथ फूलपाती भित्र्याउने, अष्टमीमा मौलामा बलि दिने, कालरात्रिमा रातभर जाग्राम बसी भजन किर्तन गर्ने र टिकाका दिन मान्यजनको हातबाट टिका थाप्दै हिँड्ने चलन थियो।

त्यस्तै युवा विभाग, साँस्कृतिक विभागले नेपालीभाषी बाक्लो भएको बस्तीमा फूलपाती वा त्यसको वरपर राम चरित्रका नाटक, दुर्गा कवच, गीत सङ्गीत र हास्यव्यङ्ग्य सहितका प्रहसन पनि गर्दथे।

बलि बन्देज

यी मध्ये मन्दिरमा बलि दिने चलन १५ वर्ष यता पूर्ण बन्देज छ। कुनै कुनै शहर र गाउँमा दुई, तीन दशक अगाडि देखि नै बलि दिन छाडिएको नेपालीभाषाका अग्रज साहित्यकार ठाकुरप्रसाद गुरागाईंले जानकारी दिए।

'बलि प्रथा त्यसै पनि राम्रो हैन। त्यसमाथि करिब ९० प्रतिशत बौद्धमार्गी भएको देशमा नेपालीभाषीले मन्दिरमा बलि दिन्छन् भन्दा राम्रो सन्देश जाँदैनथ्यो। त्यसैले गोर्खाली सङ्घले निर्णय गरेरै बलि प्रथा रोकेको हो,' गुरागाईंले भने।


पूजारी समेत रहेका भट्टराई म्यानमारको १४ वटा प्रदेशमध्ये कचिन प्रदेशको राजधानी मेचिनाका हुन्। मेचिनामा करिब २५ हजार नेपालीभाषी छन्। उनले गोर्खालीका मन्दिरमा दशैँका बेला बलि दिइने मौलाहरू उखेलेर नदीमा लगेर बिसर्जन गरिएको बताए।

हिजोआज केहीकेही बाँकी रहेका मौलामा केराको काँगियो, चिउरा र जमरा चढाउने चलन छ। कसैकसैले कुभिन्डोलाई छेस्काका खुट्टा हालेर बलि दिने पनि गर्दा रहेछन्।

'घटस्थापनाको दिन साइत हेरेर जमरा राखिन्छ। मन्दिरमा जमरा राख्ने पूजारी कपाल खौरेर शुद्ध भइ विधि विधान अनुसार चण्डी पाठ गरी जमरा राख्छन्। मन्दिरमा दैनिक नवदुर्गाको पूजा पाठ हुन्छ,' भट्टराईले भने, 'घरघरमा पनि चण्डी पाठ गर्ने चलन थियो। तर बिस्तारै कम हुँदै गएको छ।'

फुलपाती भित्र्याउने

फूलपाती लिन लावालस्कर, झाँकीसहित गाडी सजाएर बन गएको सम्झन्छन रोशन थापा मगर। मगर म्यानमारको सबैभन्दा ठूलो प्रदेश शान, कलाउ निवासी हुन्।

"पहिले त फूलपाती लिन जाने झाँकीमा भाला बोकेका सिपाहीको जस्तो पोशाक लगाएका मानिस अघिअघि हुन्थे। त्यसपछि पाठ गर्दै हिँडेका बाहुन र घडा लिएका महिलाको लावा लस्कर,' मगरले थपे, 'जङ्गलमा राम्रो बेलको रूख फेला पारेपछि त्यस वरपरका अन्य नौ प्रकारका बुटा र फूल टिपेर जयजयकार गर्दै फूलपाती ल्याएर मन्दिर भित्र्याइन्थ्यो," मगरले सम्झे।

कसैले भदौमा मनाए, कसैले असोजमा - तर यसपालि धेरैको दशैँ किन ढिलो

भट्टराईले भने, "२५ वर्ष अगाडिसम्म त राई, मगर, लिम्बु, गुरुङहरू मौलामा पशु नकाट भन्न को आउँदोरहेछ त्यसलाई काट्छौँ भन्थे तर कर्णेल लक्ष्मण राई नै अध्यक्ष भएको बेला धार्मिक सङ्घले मौलामा बलि नदिने निर्णय गरेपछि मौलामा बलि प्रथा रोकियो।"

"कालरात्रिको रात अझै पनि मन्दिरहरूमा खिरको हवन गरी महाकालीको पूजा गर्ने चलन छ' भट्टराईले थपे, 'नवमीका दिन कन्या, बाहुनलाई खिलाउने र दशैँका दिन घरघर र आफन्तकहाँ टिका लगाइन्छ।"


कतिपयले घरघरमा जमरा राखे पनि टिकाको दिन मन्दिरको जमरा लिन जाने चलन अझै पनि म्यानमारमा छ। घरको जमरामा मन्दिरको जमरा मिसाइन्छ।

'टिकाको दिन सबैभन्दा पहिले घरको मुल खाँबो वा ढोकामा घरमुलीले टिका लगाइदिन्छन्। त्यो राजालाई लगाइदिएको टिका भनिन्छ' साहित्यकार गुरागाईंले भने।

'पहिले बर्माका राजा अनि नेपालको श्री ५ लाई सम्झेर मुल ढोकामा टिका लगाइदिने हो। गाईको गोबरमाथि टिका जमरा र पैसा टाँसेर' भट्टराईले विस्तार लगाए। बर्मा अहिले गणतान्त्रिक मुलुक भए पनि विभिन्न प्रदेशमा पुराना राजालाई मान्ने चलन यद्यपि कायमै छ। राजा रानीका पोशाकमा सजिएका झाँकीहरू अहिले पनि बेलाबेलामा निस्कन्छन्।

राजा रानी झाँकी


राजा रानीको पोशाकमा सजिएर झाँकी निकाल्ने चलन अझै छ

'हामी त पितृभूमी नेपाल भनेर सम्झन्छौं, दशैँ, तिहार, चाडपर्वमा गजक्क पर्छौं। नेपालले संसारको टिकाको साइत भन्दा पनि हामी बर्मेली गोर्खालीलाई सम्झन्न र पो मन दुख्छ,' भट्टराईले भने।

म्यानमार सन् १९९५ सम्म दशैँमा रातो रङको टिका लगाउने चलन थिएन। सबैले दही र चामल मुछेका सेता टिका मात्र लगाउँथे। 'यताबाट नेपाल जानेले नेपालमा रातो टिका लगाएको देखेछन्। त्यस्तै च्यानल नेपालको स्याटलाइटबाट प्रसारण सुरु भएपछि शहरमा बस्नेले टीभीमा च्यानल नेपाल जोडे। अनि पो दशैँमा रातो टिका लगाउने भन्ने जानियो त' गुरागाईंले यहाँको टिकाको रङबारे बताए, 'रातो रङ पाउन मुश्किल छ। सिम्रिकले काम चलाउने हो। अझै पनि बर्माका कतिपय नेपाली गाउँमा सेतो टिका नै लाउँछन्।'

साहित्यकार गुरागाईंले यसपटक जमरा राखेनन्। 'कोरोनाका कारण लकडाउन भइरहेका बेला गहुँ जौ, मकै खोज्दै रंगुन शहरमा के निस्कनु' गुरागाईंले कारण खुलाए, 'यत्रो बिनास भइरहेको छ विश्वभर यस पटकको दशैँ जति साधारण गरेर मनाए पनि भयो।'

पीङको चलन हरायो

नेपालीभाषीको बाक्लो बस्ती भएको मोगोकमा जन्मेका गुरागाईंका अनुसार सन् ७० को दशकसम्म तीजदेखि नै म्यानमारमा गोर्खालीले लिङ्गे, चर्खे र कतैकतै रोंटें पिङ हाल्थे। तर बढ्दो शहरीकरण र बर्मेलीकरण सँगै पिङ हाल्ने चलन हिजोआज छैन।

दशैँमा हुने नाटक, प्रहसन पनि कमी हुँदै गएको छ। 'टीभी आयो, मोबाइल आयो, अब नाटक हेर्न कति नै आउँछन् र ? एक दुई ठाउँमा अहिलेसम्म पनि चलन धानेका छन्। तर त्यो पनि अब हराउँछ होला,' गुरागाईंले भने, 'रक्सी खाने गोर्खालीहरू पनि बढ्दै गए। रातीमा नाटक हुँदाखेरि रक्सी खाएर झगडा गर्न थाले। आयोजकहरूले पनि कति टाउको दुखाउन्, नाटक देखाउन छाड्दै गए।'

पारिवारिक दशैँ

नेपालमा जस्तै यहाँ पनि दशैँ भनेको नयाँ लुगा लगाउने, मीठो मसिनो खाने, आफन्तहरू भेट्ने र आशिर्वाद थाप्ने नै हो। दुई दशक अगिसम्म कुनै कनै गोर्खाली गाउँमा मालश्री गाउने चलन थियो। हिजोआज म्यानमारमा पनि मोबाइलमा मालश्री धुन बजाएरै काम चलाइन्छ।

'म्यानमारमा मतुवालीहरूले दशैँको टिका पूर्णिमाका दिनसम्म लगाउँथे भने तागाधारीहरूले एक दिन मात्र लगाउने चलन हो,' थापा मगरले भने, 'हिजोआज आ-आफ्नै खुशी छ, धेरैले पूर्णिमासम्म नै टिका थाप्न हिँडेको देख्छु।'

बर्मेलीहरूले गोर्खाली दशैँलाई 'सांखा पोए' नाम दिएका छन्। जस्को नेपाली अर्थ चामल (अक्षता) टाँस्ने भन्ने हुन्छ।

गुरागाईंले म्यानमारमा तिहारको बेलामा मात्र कौडा हान्ने चलन भएको बताए। उनले भने, 'नेपालमा झैं दशैँमा जुवा तास खेल्ने, केटाकेटीले लङ्गुर बुर्जा खेल्ने चलन यहाँ छैन। त्यो नेपाली चलन पनि हैन, खै कहाँबाट नेपालीले सिके?'

अखिल म्यान्मा देशीय किरात गोर्खा साहित्य एवं सांस्कृतिक संघकी केन्द्रीय उपाध्यक्ष माला लिम्बुले म्यानमारमा किराँतीहरूले पनि वर्षौंसम्म दशैँ मनाउँदै आएकामा केही वर्ष यता भने त्यो चलन धेरै किराँतीले रोकेको र कसै कसैले जारी राखेको बताइन्।

'देशभर किराँतीहरू सात हजारको हारहारीमा छुम् होला' लिम्बुले भनिन्, "पन्ध्र, बीस वर्ष अगाडि नेपाल गएर आएका हाम्रा धर्मगुरुहरूले 'किराँतीले नेपालमा दशैँ मनाउँदा रहनेछन्। अब हामी पनि नमनाउने' भनेपछि हाम्ले दशैँ मनाउन छाँड्यौं। तर कोहीकोही किराँतीले पुरानो चलन भनेर छाडेका छैनन्।"

किराँतीहरूले चुम्लुङ पर्व मनाउँछन्। आफूले भने दशैँको टिका लगाउने गरेको भन्दै मालाले थपिन्, 'पहिलेको जस्तो हुन छाड्यो है चाड पर्व। मान्छे शहर पस्न थाले। दशैँ तिहारका बेला पहिले रातरातभर रमाइलो हुन्थ्यो। आजभोलि बर्मेली चाडले किच्दै लगेको छ। हाम्रो पर्व त हराउँदै गाको छ।'

म्यानमारमा मान्यजनको हातको टिका लगाउन जाँदा कोशेली लिएर जाने चलन छ। महिला पुरुष दुबैले फलफूल, बिस्कुट मिठाई, चिया, कपडा आदि लगेर मान्यजनलाई टक्र्याएर टिका जमरा थाप्ने गर्छन्।

मिना खड्काथोकी नेपालमा भनिने कथित दलित जातकी हुन्। रङ्गुनमै जन्मे हुर्केकी खड्काथोकीले नेपाली दूतावासले दशैँका बेला खसी, राँगा काटेर रंगुनबासी गोर्खालीलाई भोज खुवाउने चलन रहेको सम्झिन्। 'खोई पहिले त बोलाउँथ्यो, पिङ पनि खेल्न पाइन्थ्यो। १०, १२ वर्ष भयो होला थाहा पाउन छाड्यो पो,' उनले भनिन्।

'हामी त टिकाको दिन मन्दिरमा गएर पन्डितजीलाई पैसा दिएर जमरा ल्याउँथ्यौँ र घरमा टिका सुरु हुन्थ्यो। यो साल मेरा देवर बितेकाले टिका छैन,' खड्काथोकीले भनिन्।

घर फर्कने चलन

म्यानमारमा पनि दशैँ तिहारका बेला रोजगारका लागि परदेशिएका नेपालीभाषीहरू घर फर्कने चलन छ। दशैँ बर्मेली चाड नभएकाले विद्यालय र सरकारी कार्यालय यो बेला बन्द हुँदैन। तर दशैँको पूर्णिमालाई भने बर्मेलीहरूले पनि धुमधामाक साथ मनाउँछन्। तिनका लागि यो वर्षा मौसम र मलमास सकिएर हिउँद लागेको खुशीमा मनाइने पूर्णिमा हो। त्यसले गर्दा कामकाजी गोर्खालीहरूले पूर्णिमा भन्दा दुई चार दिन अगाडिदेखि पूर्णिमासम्म बिदा लिने चलन बर्मामा छ।

म्यानमारमा पनि पूर्णिमाको दिन टिका जमरा सेलाउने चलन छ। खोला नदी किनार हुनेले त नदी किनारमै सेलाउँछन्। कतिपयले गाई गोठमा लगेर सेलाउने गर्छन् भने कतिपयले खेतबारीमा। 'मैले त गाईको मलखादमा लगेर बाँकी जमरा, टिका, अक्षतापाति सेलाउने गरेको छु,' थापा मगरले भने, 'जमरा पनि पहिले पहिले टपरामा राखिन्थ्यो अब आजकाल पेपरबक्समा राख्ने चलन आयो।'

गोर्खालीका बाक्लो बस्ती भएको मोगोक, मेचिना जस्तो ठाउँमा बर्मेलीहरू पनि दशैँका दिन नेपालीभाषीकोमा टिका लगाउन आउँछन्। 'हामीहरू बर्मेली साथीकोमा उनीहरूको चाड मनाउन गए जस्तै त हो नि,' थापा मगरले सुनाए।

यो वर्ष कोरोना भाइरसको कारण आफ्नो परिवारमा मात्र दशैँ मान्न बर्मेली गोर्खा संघले अनुरोध गरेको छ। गोर्खाली संघका अध्यक्ष सागर घिमिरेले सन् २०२० को दशैँका अवसरमा शुभकामना वक्तव्य निकाल्दै भनेका छन्, 'दशैँ हामी नेपाली/गोर्खालीहरूको साझा महान चाड हो । दशैँ हाम्रो पहिचान हो, हाम्रो सान, मान र स्वाभिमान हो, पूर्खाले दिएको सांस्कृतिक धरोहर, सांस्कृतिक सम्पत्ति पनि हो। दशैँ संस्कृति हो, साधना हो, पुर्खाप्रतिको कृतज्ञता ज्ञापन हो।

यो वर्ष विश्वभरी फैलिएको महामारी कोभिड् १९ रोगले विश्वलाई नै त्रासित गराएको छ । त्यस कारण सबैमा यस वर्षको हाम्रो महान चाड हामी सबै आआफ्नो घरमा परिवार मात्र सीमित रही संक्षिप्तरूपमा मनाउनु हुन विशेष अनुरोध गर्दछौं । हाम्रो पर्व मनाएको ढंगले अन्य जाति समूहको नजरमा सभ्य र सुरक्षित ढंगमा मनाएको अनुकरणीय र सद्भाव बनिरहोस भनी उच्च विचार र भावनाले आफ्नो जातिको गौरव बनिरहने गरी मनाउन हुन पनि आग्रह गर्दछौं।

अन्तमा यो नेपाली शीर उचाली संसारमा लम्किन्छ भन्ने गीतका साथ तालमा ताल मिलाउदै अगि बडौं माता दुर्गा भवानीले सबको कल्याण गरुन्, घरघरमा जगजगमा सुख शान्ति समृद्धिको वृष्टि गरुन् यहिनै माता दुर्गा भवानीसंग हार्दिक प्रार्थना छ। नेपाली/ गोर्खाली मातापिता, दिदीबहिनी, दाजुभाइ र बन्धुबान्धवहरु सबैमा सुख शान्ति एवं प्रगति समुन्नतिका लागि केन्द्रीय समितिको तर्फबाट हार्दिक मंगलमय शुभकामना गर्दै शिघ्रनै यो महामारी रोगबाट विश्वले मुक्ति पाओस। जय होस मंगल होस्।'

(पहिलोपटक बिबिसी नेपाली सेवामा प्रकाशित)