Thursday, August 30, 2012

सुदुरपश्चिम सदरमुकाममा


हुन त देशको राजधानीमा पनि पानीको कति पो सुविधा छ र ? तैपनि सुदुरपश्चिमकै क्षेत्रीय सदरमुकाम डोटीको सिलगढी-दिपायलमा बिहान साँढे ५ बजेतिर होटलको कोठाबाट देखिएको दृश्य। एकाबिहानै महिलाहरु/युवतीहरु प्लास्टिकको घै‌टो लिएर २५/३० मिनेट परको पँधेरोमा गइरहेका थिए। सडक सवारी साधनको हैन पानी लिन जाने र आउनेको कब्जामा थियो।
सदरमुकाममा यस्तो छ भने गाउँतिर कस्तो होला ?

Tuesday, August 28, 2012

एउटा फोटो दिनु न मलाई

'तपाईको एउटा फोटो दिनु न मलाई,' पाँच/सात वर्ष सँगै काम गरेका तर आजभोलि वर्षमा एकपटक पनि भेट नहुने साथीले एकाबिहानै फोन गरे। कुनै स‌स्था/वस्था खोल्न साथीले मेरो फोटो पनि बेच्न लागेछन् भन्ने सोच्दै सोधें, 'किन होला फोटो ?' उनले भने, 'अब तपाई बिजी मान्छे। तपाईसँग भेट त हुने गाह्रो भइगयो। कहिलेकाहीं साह्रै नियास्रो लाग्छ। त्यही बेलामा फोटो हेरेर चित्त बुझाउन नि।'
अनि म मुर्च्छा परें र सोचें - मैले पनि कुनै समय वर्षौं सँगै डेरामा बसेका, पढेका, काम गरेका कोही-कोहीसँग फोटो माग्न पर्नेछ, तिनको कहिलेकाहीं साह्रै नियास्रो मलाई पनि लागिरहन्छ।

Sunday, August 26, 2012

सडक धुलोले दुर्घटना

महाराजगञ्जबाट आएको माइक्रोको ड्राइभरले कलकींको सडक धुलोबाट बच्न एक हातले रुमाल समाएर नाक टाल्न थाले। अर्को एक हातले मात्र स्टेरिङ समाइरहेका तर एक हातले मात्र ब्यालेन्स नहुँदा गाडी गएर सडक किनारको नालीमा गएर फस्यो।  धन्न ठूलो दुर्घटना भएन।
बाँचियो बा! एकछिन त होसै हराउने रहेछ त्यस्तो हुँदा।

'हामीले हतियार उठाए देशको हालत के हुन्छ ?'

'स्वायत्त मधेश प्रदेश नभए ४२ प्रतिशत मधेशीले हतियार उठाए यो देशको हालत के हुन्छ?'-मधेशी नेता।
'जातीय पहिचाहन सहितको संघीय राज्य नभए ३७ प्रतिशत जनजातिहरुले हतियार उठाए यो देशको हालत के हुन्छ?'- जातीय नेता।
'२५ प्रतिशत रहेका बाहुन क्षेत्रीलाई वेवास्ता गरेर जातीय राज्य दिदाँ तिनले हतियार उठाए के होला?'- बाहुन क्षेत्री नेता।
एकिकृत माओवादी फुटाएकाहरुले हतियार उठाउने धम्की त दिनदिनै सुनिन्छ। फेरि हतियार उठाउने धम्कीमा अयोग्य लडाकुहरुको त झन् प्याटेन्ट राइट लाग्ने नै भयो।
युनिटी कम्पनीवालाहरुले पनि अस्ति नै हतियार उठाउने धम्की दिएका थिए।
अस्ति बाग्मती किनारका सुकुम्बासीहरुले पनि भन्दै थिए- 'हाम्रो विषयमा राज्यले कुनै ध्यान दिएको छैन। हामी देशभरका सुकुम्बासीले हतियार उठाए यो देशको हालत के होला?'
आज फेरि एकु हुल युवा आए र भने - 'सरकारले इपिएस प्रणाली अन्तरगत कोरिया पठाउने भनेर भाषा सिकेर जाँच दिदाँ पास भएका १५ हजार छौं। तर सरकारी उदासिनाताले ती मध्ये ५ हजार जना मात्र कोरिया जाने भए। हामी १० हजारको भविष्य के हो ? माओवादीका सात हजारले हतियार उठाउँदा त देशको हालत यस्तो भयो। हामी १० हजार युवाले हतियार उठाए के हुन्छ ?'

कसैले कुखुरा काट्दा पनि डराउने म जस्तो काँतरले अझ क-कस्को हतियार उठाउने धम्की खाँन पर्ने हो बाँचुन्जेल र कुन दिन सातो जाने हो....

Wednesday, August 22, 2012

राती बसले पार्दियो अलपत्र

रात्रीबसमा चक्रपथ घुम्ने लक्ष्य तीन चौथाई बाटो यात्रा गरेपछि रोकियो। साँझ ८ बजेपछि चल्ने गाडी राती ११ बजेपछि चल्दोरहनेछ। बाटामा अलपत्र परेपछि ४ किलोमिटर हिंडेरै घर आइयो।
हुन त, ११ बजेसम्म मात्र चल्ने भनेकै थिए।आँफै ढिलो चढियो भन्न पर्ला। सामाखुशीबाट एक राउन्ड लगाउने भनेको तर कलकी पुग्दा नै ११ बज्यो।
काठमाडौं महानगरपालिकाले यातयात व्यवसायीलाई तीन महिनाको लागि ४५ लाख रुपैयाँ दिएर राति चल्ने बसको प्रवन्ध मिलाएको हो । तर यो रात्रिबसमा चढ्दा आफ्नो गन्तव्यसम्म पुग्छ कि पुग्दैन भनेर चाहिँ पहिल्यै सोध्न बिर्सन भने हुन्न। नभए दु:ख पाइने रहेछ।
रात्रीबसले साँच्चै सहज बनाउने हो भने कति बजे कुन ठाउ पुग्छ भन्ने कुरा निश्चित हुनपर्छ। नत्र त कुर्दाकुर्दै आउन्न कि भन्ने डर।
बसमा प्रहरी हुने रहेछन् दुई जना। हामी चढेको रिङरोड घुम्नुपर्ने बस राति ११ बज्न लागेपछि बल्खुबाट कंलकी जानुको साटो सुरक्षाकर्मीलाई छाड्न कालिमाटी पुग्यो हामी चढेको बस। अनि कालिमाटीबाट रबिभवन हुँदै कलकीं गयो बस।
अचम्म चाहिँ हामी जस्तै अनुभव लिउँ भनेर गाडीमा चढ्ने अरु पनि थिए। कोही कोही त मोटरसाइकल बाटामा छाडेर हेल्मेट सहित रात्री बसमा चढेका थिए। धेरै बस त त्यही दिउस चल्ने बस नै रहेछन्। मैले त नयाँ बस होला भन्ने सोचेको थिएँ।
हामी चढेको बसमा माइसंसारका ब्लगर सालोक्यले खिचेको यो फोटो चाहिँ गजबकै छ।
https://twitter.com/#!/dipakbhattarai/media/slideshow?url=pic.twitter.com%2FgKvfyKIV
फोटोमा 'महिला आरक्षित सिट'मा पुरुष पुलिस अनि 'फस्ट एड बक्स'मा टुथपेस्ट र ब्रस छ।

Saturday, August 18, 2012

दोष कम्प्युटरलाई

काम गर्दागर्दै कम्प्युटर क्य्रास भो, फाइल करप्ट भो, बत्ती गो। हेर्नु न! फेरि काम गर्दैछु, एकै छिन है। आजभोलि कसैले यस्तो भन्यो कि झुट बोले जस्तो लाग्न थाल्या होला कति जनालाई।

आजभोलिका धेरै काम जति कम्प्युटरमा गर्न पर्ने भो। तर यो समान कस्तो भन्ने जतिबेला नि बिग्रियो भन्न मिल्ने। के भो भो हेर्नु न तपाइको काम गरिसकेको तर कम्प्युटर बिग्रेर भन्नेहरु मध्ये कतिले साँच्चै काम गरेका होलान्  अनि कतिले कामै नगरी कम्प्युटरलाई दोष दिएका होलान् ?

डा गोविन्द केसीलाई बचाउँ

एउटा इमान्दार र आफ्नो कुनै स्वार्थ नभएको डाक्टर जताततै हुने गरेको राजनीतिक हस्तक्षेपविरुद्ध आमरण अनसनमा बसेर ज्यान फाल्न लाइसक्यो। देश हाँक्छु भन्नेहरु कहाँ छन् भनेको ?
ए ! शिक्षा मन्त्री दिनानाथ शर्मा, प्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रपति रामवरण यादव तिमीहरुले डाक्टर गोविन्द केसीलाई मर्न दिने हो ? होस् गर ! जनता कुन घटनाले कहिले जाग्छ भन्ने कुराको ख्याल नहुँदा स‍ंसारका जतिसुकै ठूला शक्तिशाली हुँ भन्नेहरु पनि ढलेर गएका छन्। डा केसीलाई बचाउँ।

Thursday, August 16, 2012

हातमा बोकेर हिड्ने हर्न पाइन्छ कि नाईँ ?

काठमाडौंमा धेरैजसो ठाउँमा सडकपेटी छैन। त्यसैले जीउ जोगाउनका लागि पनि जतिसक्दो आफूलाई खुम्च्याएर हिड्छु। तर गाडी र मोटरसाइकलवालाले यति धेरै ट्याट्याँ र टुँटुँ पार्दै हर्न बजाउँछन् कि छिट्टै बहिरो भइन्छ कि भन्ने डर मात्रै होइन हाइपर टेन्सन होला भन्ने डर भइसक्यो। आफ्नो मोटरसाइकल-गाडी केही बहान नभएकाले यसो सोचिरहेको, यी हर्न बजाउनेसँग रिस फेर्न हातैमा बोकेर हिड्ने हर्न मात्र किन्न पाइन्छ कि पाइन्न कुन्नि? नभए कहिलेकाहीं जाममा पर्दा कसैले अनावश्यक हर्न बजाए, त्यो हातको हर्न लगेर तिनका कानमै बजाइदिन हुन्थ्यो। कस्तो 'सिभिक सेन्स' नभएका मानिस हुन् यो काठमाडौंमा।

बाबुराम करनी / बाबुराम कथनी

बाबुराम करनी : प्राध्यापक र पिएचडी डाक्टरहरुलाई छाडेर आफ्नी जेठी सासु चिरिक शोभा ताम्राकार (यमी)लाई त्रिभुवन विश्वविद्यालय विज्ञान संकायको डिनमा नियुक्त (त्रिभुवन विश्वविद्यालयको कुलपतिको हैसियतले सोमबार रातिको बैठक)

बाबुराम कथनी : शिक्षण संस्थामा राजनीतिक भागबन्डा गर्न हुँदैन । त्यसका लागि विश्वविद्यालयको नेतृत्व चयनमा मैले कुनै रोकावट गर्दिन । (मंगलबार काठमाडौं विश्वविद्यालयको ६० औं बैंठकलाई सम्बोधन गर्दै)

Wednesday, August 15, 2012

क्रान्ति जो रगतमा बगिरहन्छ

देशका विभिन्न ठाउँ विशेषगरी (काठमाडौं पश्चिम) घुमेर आएका एकजना मलाई जब्बरजस्त सम्झाइरहेका छन्, 'संविधानसभाको चुनावताका माओवादी सबैभन्दा ठूलो दल हुन्छ भन्दा धेरैले पत्याउँदैनथे र अहिले मैले भनेको कुरा पनि धेरैलाई विश्वास नगर्ने छुट छ। तर पनि यथार्थ के हो भने, प्रचण्ड नेतृत्वको एकिकृत माओवादी भन्दा वैद्य नेतृत्वको नेकपा - माओवादी बलियो छ।' होला पनि, क्रान्ति हाम्रो रगतमा जो बगिरन्छ।

कस्तो संयोग

हिजो छापिएको नागरिक पत्रिकामा काम गर्न नदिएको भन्दै बाबुराम भट्टराईले अदालतलाई गाली गरेका थिए। आज छापिएको कान्तिपुरमा काँग्रेसीलाई मात्र भ्रष्टाचारमा फसाइएको भन्दै शेरबहादुर देउवाले अदालतलाई गाली गरेछन्। कहिलेकाही संयोग कस्तो कस्तो हुन्छ भने?

Tuesday, August 14, 2012

त्रिभुवनको शालिकले कसरी अवरोध गर्‍यो ?


प्रधानमन्त्री बाबुराम भट्टराईले 'नागरिक' दैनिकमा लेख्छन् : 'प्रधानमन्त्री निर्वाचित भएकै दिन मैले शान्ति, संविधान, सुशासन र संवृद्विका चार 'स' सरकारका प्रमुख प्राथमिकता बताएको थिएँ ....चार जना सहिदको टाउका माथि राखिएका राजाको मूर्ति अर्को ठाउँमा ससम्मान सार्न खोज्दा सम्मानित अदालतले किन रोक्नु परेको हो त्यो मैले अहिलेसम्म वुझ्नसकेको छैन।'

मैले चाहिँ चार 'स'शान्ति, संविधान, सुशासन र संवृद्विका लागि यो त्रिभुवनको शालिकले कसरी अवरोध गर्‍यो त्यो चाहिँ बुझ्न सकिन प्रधानमन्त्री ज्यू। कुरा नबुझ्ने म पनि अज्ञानि नै छु।

Monday, August 13, 2012

कति पुराना पुराना बाहनामा मात्र पिउने ?

1 नम्बरमा पानी, 2 नम्बरमा कोक, 3 नम्बरमा कफी, 4 नम्बरमा बियर र 5 नम्बरमा चिया परेको विश्वका उत्कृष्ठ पेय पदार्थको सूचिमा नेपालको रक्सीलाई ४१ औं नम्बरमा पारेछ सिएनएनले।
पिउनेहरुलाई फेरि एउटा बहाना पाए। कति पुराना पुराना बाहनामा मात्र पिइरहने.......

भोलिपर्सी Free Wifi Coach आउँछ होला !

कसैको ध्यान गुरुजी साहित्य (माथिको गजलमा) मा परेको भए माफ पाउँ । उहिले-उहिले बसमा Video Coach लेखेको हुन्थ्यो । त्यो गाडीमा चढ्दा शान नै बेग्लै। अस्ति एउटा गाडीमा Pen Drive Coach लेखेको देखे नि खिच्न भ्याइएन । तर, आज LCD Coach लेखेको चाहिँ खिच्न भ्याइयो। भोलिपर्सी Free Wifi Coach आउँछ होला ! समय परिवर्तनशील छ।

Saturday, August 11, 2012

महिलाहरु किन चुप


भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई भेट्न के पी ओली र विद्या भण्डारीसँगै गएका हुन्। दुबैले भर्खरै भारत भ्रमण गरेका हुन्। यता फर्केपछि खालि केपी ओलीको मात्र चर्चा छ, ओली मात्रै‍ प्रधानमन्त्री हुन योग्य झैं गरी। सँगै भारतीय राष्ट्रपतिलाई भेटेकी विद्या भण्डारीको चर्चा नै छैन। अचम्म लाग्छ बा! यस्तो हुँदा पनि महिलावादीहरु कोही केही बोल्दैनन्, कि मैले कसैले बोलेको नसुनेको हो कि, कि दुई जना एमालेका जो भए पनि उस्तै त हो नि भनेर चुपो बसेका हुन् कि... (फोटो : वुधबार साप्ताहिक)

Friday, August 10, 2012

प्रमको गफ पत्याएर केटाहरुले देशकै वेइज्जत गरेछन्

पोखराबाट काठमाडौं आउने पर्यटक बसमा दुई जना साथी आउँदै रहेछन्। दमौलीतिर आउँदा पानी पर्न थालेपछि गाडी चुहिने थालेछ। पर्यटकहरु छाता ओढेर बसेको देखेसी मेरो साथीहरुलाई रिस उठेछ र एकजनाले हेलो सरकारमा फोन गरेछन् । ल यति यति नम्बरको गाडीमा यसरी पर्यटकहरु रुझ्दै आएका छन् देशको वेइज्जत भो भन्दै।
अनि गएर कुइरेलाई फुर्ति लगाएछन्,'अब यो कम्पनीको खैरेत छैन, प्रधानमन्त्री अफिसमा फोन भो। यो गाडीलाई छिट्टै पुलिसले समात्छ हामीलाई अर्को गाडीमा चढाएर काठमाडौं पठाउँछ।' कुइरे दंग परेछन्। तर कहिँ कतै कसैले रोकेनछ।
मुसो रुझाई हुँदै खैरेहरु काठमाडौं आएसी साथीलाई भनेछन्, 'पहिले त यो ट्राभल एजेन्ट मात्र खत्तम होला भन्ने लागिराथ्यो तर तिमीहरूले प्रधानमन्त्रीलाई रिपोर्ट गर्दा नि केही नभएपछि थाहा भयो सरकारै खत्तम रहेछ।'
प्रधानमन्त्री बाबुरामको गफ पत्याएर केटाहरुले देशकै वेइज्जत गरेछन्।

Thursday, August 9, 2012

बेकारको टेन्सनले उमेर नपुग्दै ब्लडप्रेसरको ओखती

अफिस आउन पर्‍यो भनेर साउने झरीमा छाता लिएर ४५ मिनेट शहीदगेट नजिकको रोड छेउमा उभिरहें। सानेपा जाने टेम्पु आउँदै आएन। ढिला हुने भो भन्ने टेन्सन भइराख्याथ्यो। हुइकिँदै आएको एउटा कारले खोपिल्टो परेको सडकमा जम्मा भएको पानी जती जीउ नै हिलाम्मे हुनेगरी खन्याएर टाप कस्यो। ढुङ्गा खोजेर हान्न नि भ्याइएन। अफिस ढिलो हुनेभयो र हाकिमले मार्ने भए भन्ने सम्झेर टेक्सी लिएँ।
करिब चार किलोमिटर यात्राको ३ सय रुपैयाँ उठायो बिल। कति धेरै उठेको हो बिल, मिटर ठीक त छ भनेर के सोध्याथें, खाउँला झैं गरेर हेरे।
कस्तो मु* नेताहरुले नेतृत्व गरेको देशमा जन्मिएछ भने सिस्टम भनेको केही छैन, न सार्वजनिक गाडी बेलामा पाइन्छ, न रोड गतिला छन्, न टेक्सीले धेरै लियो भनेर गरेको सुनुवाइ हुन्छ।
बेकारको टेन्सनले उमेर नपुग्दै ब्लड प्रेसरको ओखती खान पर्छ।

Wednesday, August 8, 2012

भविष्य कस्तो बनाउन खोजेको ?

एउटा दल (ड्यास माओवादी) को भातृ संगठन स्कूले नानी चढेको बसमा आगो लगाउँछ। अर्को दल (नेकपा एमाले) को भातृ संगठन स्कूल जाने बेलामा बस नै चल्नै दिदैंन। अनि दुबै दलका युवा भनिएका नेताले भन्छन् : हामी देशको भविष्यप्रति चिन्तित छौं।
हैन यो स्कूल बन्द गरेर कस्तो भविष्य बनाउन खोजेको हो ?

Tuesday, August 7, 2012

बोल्न नजान्दा खाएको डाइलग

बोल्न नजान्दा भर्खरै खाएको डाइलग :- एक महिला मित्रलाई 'आजभोलि निकै मोटाउनु भएछ नि' भनेको। क्या सँग मुख फर्काइन भने - 'पोलिटिकल्ली करेक्ट बोल्न आउदैन तपाइलाई ? कसै-कसैलाई जीउ लाएको पनि कति सुहाको भने हुन्न?' यो थुतुनोले नि धेरै दु:ख देको छ मलाई।

बिल तिर्ने बेलामा फोन

आजभोलि बिल तिर्ने बेलामा फोन आउने फेसन बढेको त होइन नि ? अस्ति एउटाले जस्तै गर्यो आज फेरि अर्काले । खाको मालमा 23% (13% भ्याट र 10% सर्भिस चार्ज) भन्दा बढी जोडिने रेष्टुराँमा लाग्यो। मैले खल्ती बिचार गरी गरी नाईं/नाईं भन्दा भन्दै थोरै खुवायो/धेरै खायो/पियो र बिल मगायो र बिल आउने बेला भएदेखि फोनाँ झुण्डिन थाल्यो। मजाले ठगिएँ। कस्तो दरो टिरिक लाउन जानेका मान्छेहरु...

Monday, August 6, 2012

बन्द त नेताहरुलाई गरिदिनुपर्ने

ई! प्रधानमन्त्रीको राजिनामा माग्दै लगातार चार दिन (साउन २१ गते साउन २४ सम्म) बिहान १० बजेसम्म बन्द आयोजना गर्यारहेछन् त एमालेका युवाहरुले। अब बिहान १० बजेसम्मको बन्द भएसी स्कूल/कलेज बन्द भइगए।
पहिला पहिला त अमेरिकी राजदूत डेलिसी थिए र बन्दवालालाई अम्रिकाको भिसा नदिने भन्दै घुर्काएर बन्द फिर्ता गरिदिन्थे। अब उनी पनि सरुवा भइगए। अब कसले खोल्देला र यो बन्द ?
कस्तो बिनाशकाले बुद्धि आएको यो बन्दकर्ताको बरु बन्दै गर्न थियो भने नेताहरु जतिलाई बालुवाटार, शितलनिवासतिर निकास* ननिकालेसम्म थुनेर बन्द गरिदिए हुने। बेकारमा केटाकेटीको पढाइ मात्र ध्वस्त हुने बन्द गराएर... बेबकुफहरु !

Saturday, August 4, 2012

बाहुन हुँदा पाइने घुर्की

फेरि आज एक जनजाति मित्र उफ्रिए म बबुरोसँग - 'के के न महिला, जनजाती र मधेशीको पक्षमा लाग्ने भन्थेउ हैन बाबुराम र माओवादीलाई। यी अहिले मौका पाउँदा मुख्य सचिवमा महिला वृन्दा हाडालाई बनाए कि, जनजाति अरवीन्द्रकुमार श्रेष्ठलाई बनाए कि मधेशी उमाकान्त झालाई बनाए ? परेको बेलाँ सब तिमी बाहुनहरु एक हुन्छौ र बाहुनकै हीत गर्छौ।' जनै नभिरे पनि के अर्नु बाहुनको घराँ जन्मेका भ'र र अहिले त भट्टराई थर नि थपिएको भ'र धेरैको घुर्की खप्न परिरा'छ मैले बेकमारमा।

Friday, August 3, 2012

भिजिटिङ कार्ड बाँड्दा

अस्ति एकजना (खोई को हो/हो ?)मोटरसाइकल चालकले मोटरसाइकल लगेर गाडीमा ठोकेछन्। गाडी चालकले क्षतिपूर्ति मागेपछि ' अहिले हतार छ। एउटा जरुरी काम सकेर म दिउसो तपाइलाई फोन गर्छु र गाडी बनाउँदा लागेको खर्च दिन्छु' भन्दै पर्सबाट एउटा भिजिटिङ कार्ड दिएछन् ठोक्याएको गाडी चालकलाई।

गाडी चालक भलादमी रहेछन्, कार्ड हेरेपछि 'हुन्छ नि तपाइको काम सकेपछि मलाई फोन गर्नु' भन्दै आफ्नो पनि कार्ड दिएछन् मोटरसाइकल चालकलाई। साँझतिर मलाई फोन गरे, 'खोई त सम्पर्कै गर्नुभएन' भन्दै। म अलमलमा परें। पछि बुझ्दै जाँदा थाहा भयो, ती मोटरसाइकल चालकले मेरो भिजिटाङ कार्ड पो ती गाडी चालकलाई दिएका रहेछन्। आफू साइकल पनि नभएको मान्छे झन्नै मोटरसाइकल ठोक्काएको आरोपमा हर्जना तिर्नमा फसिएन।