Saturday, July 30, 2011

बिहारको सुशासनमा सूचना प्रविधिको प्रयोग

नेपालसँग सिमाना जोडिएको बिहारको प्रगति र विकासका बारेमा आजभोलि नेपाली पत्रपत्रिकामा थुप्रै लेख पढ्न पाइन्छ। अझ आजभोलि राजधानीका होटलहरुमा हुने गोष्ठीमा गयो भने बुद्धिजिवी टाठाबाठाहरुको थेगो नै भइसकेको छ- नेताले चाहेमा धेरै परिवर्तन गर्न सक्छन्, हिजोको बिहार कस्तो थियो।  नितिशकुमार मुख्यमन्त्री भएपछि कस्तो भयो।

अस्पताल जीन्दगी


मानिसहरु अस्पतालमा जन्मिन्छन्। बिरामी पर्दा बेलाबेलामा अस्पतालमा जान्छन् र मर्न वा मरेको घोषणा हुन पनि अस्पताल नै पुग्छन्। बेलाबेलामा अस्पतालले छुट्टि दिन्छ, त्यो बेलामा मानिसहरु के मात्र गर्दैनन्। केही वर्ष र महिना अस्पतालले छुट्टी दिनासाथ मानिसले बाहिर आएर उपद्रो गर्न सुरु गरिहाल्छ।

Friday, July 29, 2011

बसको पछाडि

 
झम्सिखेल ललितपुरस्थित कार्यालय नजिक शुक्रबार मध्यान्ह गुडेको एउटा बस पछाडीको साहित्य हो  यो। बसमा स्कुले विद्यार्थीहरु मात्र थिए र बसको अगाडि स्कूल बस लेखेको थियो। 

Wednesday, July 27, 2011

ओखती फ्याक्ट्री बन्द / चुरोट फ्याक्ट्री खोल

कस्तो छ यार यो देशमा संसदीय समिति पनि, अब ४ वर्षदेखि बन्द रहेको ओखती बनाउने सरकारी कम्पनी नेपाल औषधि लिमिटेडलाई खोल्न केही भन्दैन/गर्दैन। सरकारी नै चुरोट बनाउने जनकपुर चुरोट कारखानालाई भने संचालनमा ल्याउन उद्योग मन्त्रालयलाई निर्देशन दिएछ। उता सरकार रक्सीमा कर घटाउने, जुसमा बढाउने, यता संसद ओखती फ्याक्ट्री बन्द गरिराख्ने, चुरोट फ्याक्टी चलाउन भन्ने के हो यो देशको चाला। वैंशमै मार्छन् कि के हो सरकार र सांसद मिलेर ? (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

फटाहालाई पनि गाह्रो भा हो र

५/७ वर्ष मै २० करोड जति सम्पति जोडेका, ट्याक्स सायदै २/४ हजार भन्दा धेरै तिरका र  मैले पनि नजिकबाट चिनेका एक जना (फटाहा! अदातलते प्रमाणित नगरे पनि मेरो मनले प्रमाणित गरेको)  दाइले भनेका - नेपालमा बस्न नसकिने भो भाइ बुझ्नुभो, जम्मै फट्याइ मात्र छ जहाँ पनि। हैन फटाहालाई नि असजिलो हुन थाल्या हो र नेपालमा। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

कपालमा व्हिस्की दल्ने ?

एकजना साथीले सुनाएका महिला सुन्दरता सम्बन्धि रेडियो कार्यक्रममा सञ्चालिकाले एउटा एफएममा भनिन् रे- तेल लगाए झैं कपालमा व्हिस्की दल्नुहोस्। कपालको जरासम्म व्हिस्की दलेमा कपाल दह्रो हुन्छ। व्हिस्कीले तपाइको कपाललाई मुलायम र रेसमी पनि बनाउँछ। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

Tuesday, July 26, 2011

प्रधानमन्त्री र प्रचण्डको दिक्क लाग्दो फोटो


प्रधानमन्त्री कार्यालयले उपलब्ध गराएको प्रम झलनाथ खनाल र माओवादी अध्यक्ष प्रचण्डको तस्विर
हाम्रो देशका अहिलेका सबैभन्दा ठूला दुई राजनीतिक खेलाडीको कस्तो निरस, उत्साहबिहिन फोटो हो यो !  प्रधानमन्त्री झलनाथ खनालको यस्तो रुन्चे दिकदारीको भाव अनुहारमा भएको फोटो त मैले अन्त कतै देख्या जस्तो लाग्दैन। अब प्रधानमन्त्री कार्यालयले नै उपलब्ध गराएको फोटोमा यस्तो छ। खिचेका मध्ये सबैभन्दा राम्रो फोटो भनेर मिडियालाई दिएको होला। अरु फोटा झन् कस्ता हुँदाहुन् ...

Monday, July 25, 2011

थकाली भान्साघरमा खोई त थकाली ?

'थकाली'हरुले त कपिराइट लगाउन संघर्ष नगरी नहुने भएको रहेछ नि यो देशमा। शुक्रबार बिहान काठमाडौं बाहिरबाट काठमाडौंसम्म थकालीकहाँ खाना खाने भन्दै ४ वटा जति थकाली लेखेको भान्छा घरमा गइयो। कहीँ 'डन'हरुले चलाएको थकाली रहेछ, कहिँ बाहुनले चलाएको थकाली भेटियो। थकालीहरुले 'थकाली भान्छा घर' लेखेकाहरुसँग थकालीको प्रमाणपत्र माग्दिउन्, हामी उपभोक्ता नठगिउम्...

Saturday, July 23, 2011

माओवादी शिविरका ती दुई बालक


अँग्रेजी स्कुलबाट फर्केका बालबालिकाबीच टाइ लगाएर नाचिरहेका दिपेश घिमिरे पृष्ठभुमिमा शक्तिखोर ब्यारेक 

अखिल क्रान्तिकारीले एकिकृत माओवादीका नेताका छोराछोरीहरुलाई बोर्डिङ स्कूलबाट निकालेर सरकारी स्कूलमा पढाउने अभियान चलाइरहेका बेला दुई वर्ष अगाडि चितवनको शक्तिखोर जाँदा देखेको एउटा पाटोको सम्झना आयो।

शक्तिखोरमा माओवादी छापामारसँग एकदिन बिताउँदा भेटिएका दुई पात्र हुन्, बनेपाका दिपेश घिमिरे र प्युठानका ललित वि.क.। दुवैजना छापामार शिविरमा बस्दथे। बिहान सँगै खाने र खेल्ने भए पनि विद्यालय जाने बेलामा भने यी दुईमा भिन्नता थियो। दिपेश टाइ र पोलिस लगाएको कालो जुत्ता लगाएर अँग्रेजी बोर्डिङ स्कूल जान्थे भने ललितलाई स्कूल जान टाइ र जुत्ता चाहिदैनथ्यो।

मन्त्री दिन्छु भनेर आफ्नो पक्षमा ?

नारायणकाजीको दिन आरैछ भनिरहेछन्-कहिले प्रचण्डले तान्याछन् उपप्रधान र गृह मन्त्रालय दिन्छु भन्याछन्। कहिले बाबुराम-वैद्यले तान्याछन् उता गए भर छैन हामीले सिपी गजुरेललाई अगाडि सारेर अत्तो थाप्छम्, हामीसँग बस्यौ भने उप र गृहमन्त्री पक्का भन्याछन्। तर मलाई काजीलाई यतै तानी उतै तानी हिस्स पार्छन् जस्तो लाछ। हुन त आफ्नातिर बहुमत पुर्‍याउन बाबुरामले नै काजीलाई मन्त्री दिन थालेसी राजनीतिमा इमान त कोसँग रह्यो र...

होमवर्क नसक्ने माओवादी नेताहरू

खाली, गृहकार्य नसकेर माओवादीको मिटिङ सर्यासरै गरेको सम्चार आकोआई गरेको बेला लेख्या है। कता केटाकेटीले पनि त्यो सुनेर - बेलाँ होमवर्क नसकेका माओवादी नेताहरुले जे गरे पनि हुने, तिनीहरुलाई कसैले केही भन्दैन। हाम्लाई भने होमवर्क नगरेको भनेर कति कराको' भनेर डाइलग मार्छन् कि भनेर लुकेर टिभी रेडियो सुन्न थाल्याछु म त। बिचरा माओवादी नेताहरुले झन् भुराहरुलाई बेलाँ होमवर्क गर भन्दा तिनका छोराछोरीले के जवाफ देलान्... (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

माओवादी बैठकपछि आउने वक्तव्य

माओवादीको बैठकमा सबैको ध्यान गएको देखेर पनि दिक्क लागिसक्यो। माओवादीको बैठकले गर्दा माओवादी पार्टी नै फुट्थ्यो भने झैं गरेर कोही दुःखी हुने र कोही खुशी हुने देखेर दिक्क लागिसक्यो। केन्द्रीय समितिको बैठकबाट पनि हुने केही होइन। बैठकपछि आउने वक्त्व्य आफूलाई त थाहा भइसकेको स्थिति छ।

Wednesday, July 20, 2011

राज्यले हामीलाई के दिएको छ ?

बिबिसी वर्ल्ड सर्भिस ट्रष्टको रेडियो र टेलिभिजन कार्यक्रम साझा सवाल रेकर्डिङका लागि विभिन्न ठाउँमा जाँदा दुखीजन हुन् कि सुखीजन धेरैको मुखबाट बोलिने एउटा वाक्य यही हो 'राज्यले हामीलाई के दिएको छ ?'

व्यापारिक वुद्धि

केही दिन अगाडि एउटा कार्यक्रममा सुनचाँदी व्यावसायी संघका अध्यक्ष तेजरत्न शाक्यसँग भेट भाथ्यो। एउटा त्यही नि पञ्चरत्नको औंठी लाका शाक्यलाई किन भनेर सोधेको उनले भने -देशमा दैनिक ३० किलो सुन चाहिन्छ सरकारले जम्मा १५ किलो मात्र आयात गर्न दिन्छ। भाको सुन आफूले लाउन भन्दा अरुलाई बेच्न फाइदा नि। व्यापारिक वुद्धि!

Tuesday, July 19, 2011

आर्यघाट पुर्‍याइएकाहरु

उमेर नपुगी आर्यघाट पुर्‍याइएकाहरु मध्ये केही टाइफाइड भएका बेलामा दारु खाएर, केही ब्लड प्रेसर हाइ हुँदा पनि ट्वाँट र बोसोयुक्त मासु कम नगरेर, केही न्युमोनिया भएको बेलामा लगातार सुरापान पेलेर र केही टन्न बिजुलीपानी पिएर मटरसाइकल चढेका हुँदारहेछन्। सानामा चिनी घोली घोली खोयाबिर्के खान सिकेको याद आइरहेछ ...

Saturday, July 16, 2011

कुन दिन रेडियो र टिभीबाट बजेटको प्रसारण रोक्लान्

यस्ता सभासदहरुले के देशमा पारदर्शीता र आइटीको विकास गर्लान र। अर्थमन्त्रीले संसदमा बजेट पढ्न थालिसकेपछि अर्थमन्त्रालयको वेवसाइटमा बजेट राखेर के बिग्रियो ? फेरि पोहोर परार देखि नै यो चलन छँदै छ। पोहोरसम्म कसैले इन्टरनेट हेर्न जानेका रैनछन् कि के हो ?  कि के निहुँ खोजुँ र विरोधका लागि विरोध गर्न बसौं भनेर बसिरहेका सांसदहरुलाई कुनै बेबकुफले इन्टरनेटमा बजेट भाषण राख्यो भनेर भनिदिएर हो कि।

Friday, July 15, 2011

समाचारको प्रभाव पर्दैन कि के हो

समाचारको प्रभाव खासै पर्ने रहनेछ। टिभीले देखाए-  शव नबिग्रयोस् भनेर प्रयोग गर्ने फर्मालिन बजारमा बेच्न राखेको माछा ताजा देखाउनका लागि प्रयोग हुन्छ, जुन खाए किड्नी चट। रेडियाले भने - ब्रोइलर कुखुरालाई छिट्टै खान योग्य बनाउन अति धेरै औषधि र भिटामिन खुवाका हुन्छन्। त्यो कुखुराको मासु खाएपछि विरामी पर्दा एन्टिवायोटिकले टेरपुच्छर लाउँदैन।
पत्रिकाले लेखे - काठमाडौंमा  तरकारीमा यति धेरै विषादी प्रयोग भइरहेको छ कि त्यस्ता तरकारी लगातार दुई वर्षसम्म खाइरहे क्यान्सर लाउँछ। सम्चारको प्रभाव पर्दो हो त मान्छेहरु ऋषि बनेर कन्दमुल खोज्न जंगल पस्दा हुन्...

देश बिग्रिसक्या रहनेछ

देश बिग्रिसक्या रहेनछ भन्ने प्रमाण भेट्टियो भन्ने कुरा मान्छेले कतिको ख्याल गरेका छन् कुन्नि।  हामीलाई विदेशमा काममा लाइदिन्छु भन्दै देशहेरी एक लाख देखि १०/१५ लाख सम्म लिएर दलालहरुले विदेश पठाउँथे। अब नेपालाँ जागिर लगाइदिन्छु भन्नेलाई २/२ लाख भारु ख्वाएर २३ जना भारतीय इन्जिनियरहरु यता आएर अलपत्र परेका समाचार आइरहेका छन् त।

Tuesday, July 12, 2011

छोराको भविष्य विगार्न पाइदैंन

पार्टीका सबै नेताका छोराछोरी सरकारी स्कूलाँ पढाउन दबाब दिन क्रान्तिकारी अखिलका अध्यक्ष हिमाल शर्माले छात्रवृतिमा चिनमा डाक्टरी पढिरहेका आफ्ना छोरालाई फिर्ता बोलाएछन्।  छात्रवृत्तिमा विदेश पढ्न नि रोक्न खोज्या हो क्रान्तिकारीले? धाँधली गरेर छात्रवृत्तिमा छोरा पढ्न पठाएको हो भने अर्कै कुरा नत्र त्यसरी आफ्नो छोराको भविष्य विगार्न पाइदैंन।

Monday, July 11, 2011

हाइकिङ, माइकिङ र आँप

'ल अब आँप खानुहोस्,' माइक्रोफोन बोक्ने उमेश श्रेष्ठले भनेपछि डेढसय जना हाइकर (पदयात्री)हरु पखेरोमा बसेर दोस्रो पटक आँप चुस्न थाले। भोकले आत्तिएकाले नियम मिचेरै मैले उकालोमै दोस्रो आँप बोक्रै नफाली कुमरिसकेको थिएँ। 
'अब एक घन्टा जतिमा ढेंडो खान पाइन्छ' उमेशले भनेपछि जीउमा अलिक फूर्ति बढेको थियो। देउरालीमा बसेर पहिलो आँप खाएपछि करिब डेढ घन्टा हिडाएर मात्र उमेशले दोस्रो आँप खान अनुमति दिएका थिए। बिहान ६/७ बजेतिरै दुई तीन लिटर पानी मात्र लिएर हाइकिङमा निस्कन उकास्ने उमेशको समुहसँग यसपटक बुढाबुढी सहभागी भएर हिडिएको थियो, काठमाडौंको भिमडुङ्गातिर। 

बजेट त माओवादीलाई मात्र आउँछ कि के हो

म केटाकेटी हुँदा गाउँमा एउटा आहान खुब चलेको थियो। बिदेशबाट (त्यतिबेला भारतबाट) बाउ आएकोमा केटाकेदीहरु खुब खुशी भए रे। आमालाई भने रे बा आए बा आए। आमाले तिनलाई भनिन् रे- 'बा आउन त आए तिमीहरुलाई के आए र बा मलाई पो आए त।'

Friday, July 8, 2011

कहाँ 'चौधवीको चाँद' खोजिरहेको

ज्ञानेन्द्र पूर्व राजा भएपछि के गर्दै होलान् भन्ने लाइराथ्यो। हिन्दी गीत संगीत सुन्दै रहेछन् क्या हो ? आफ्नो जन्मदिनमा पत्रकार सम्मेलन गरी 'अझै निरास हुनुभएन, असारको महिनामा रोपाईंको बेलामा तपाईंले चौधवीको चाँद त खोज्नुभएन' भनेछन्। पूर्णिमाको जुन भनेको होला हैन त्यो 'चौधवीको चाँद' भनेको। नेपालका अनलाइन पत्रिकाहरुले  चौधवीको चाँदलाई नबुझेर कसैले 'चौरवीको चाँद' त कसैले 'चौदमीको चाँद' लेखिराछन्...

वयस्कले मात्र हेरिरहेका होलान् त 'दिल्ली बेली'

हिन्दी फिलिम धेरै हेरियो, त्यल्ले अलिअलि भाको पैसा चिलिम पार्ने भन्दा खासै प्रगति गरेन भनेर बस्नेहरुले पनि अब 'देल्ली बेल्ली ' हेर्ने भए। नेपाली सेन्सर बोर्डले फिलिमलाई सेन्सर गरेपछि सेन्सर गर्नपर्थ्यो पर्थेन भनेर मान्छेहरुको यति धेरै बहस सुनेपछि कस्तो चाहिँ फिलिम नेपालाँ सेन्सर हुँदोरच त भनेर जान्न नि हेर्नपर्ने भो। मान्छेलाई जे नगर्नु भन्यो त्यही गर्न काउकुती लाइरहन्छ। फिलिम धेरै चलाउने चालबाजी त होइन् नि यो..

Monday, July 4, 2011

एसएलसी पास भएकालाई के पढाउने

वर्षौं क्यारियर काउन्सिलङमा बिताका साथीले सुनाका 'एसएलसी पास भकी १५ वर्षकी बहिनीलाई के पढ्ने रुची छ भन्दा खासै उत्तर दिन सक्दिनन् रे। विज्ञान पढ्ने भने नि, नर्सिङ पढ्ने भने नि, म्यानेजमेन्ट पढ्ने भने नि, ओभरसियर पढ्ने भनेर सोधेनी - हुन्छ भन्छे। के पढाउने होला ?'

यसपटक एसएलसी पासभाका धेरैका अभिभावकलाई बल्ल थाहा भा होला, विद्यार्थीलाई जेमा रुची छ त्यही पढाउनु भनेर अरुलाई सल्लाह दिन पो सजिलो छ, आँफैलाई पर्दा व्यवहारमा उतार्न कहाँ सजिलो छ र..

Friday, July 1, 2011

गणकलाई राजाले भने - मेरो जात नेपाली हो

जनगणनाका लागि निर्मलनिवास पुगेका गणकहरूलाई पूर्वराजा ज्ञानेन्द्रले आफू कुन जातको हो भन्ने थाहा नभएको बताइदिएछन्। बुधबार प्रकाशित घटना विचार पत्रिकामा पढेको ज्ञानेन्द्रले जातको विषयमा प्रश्न सोध्दा भनेछन्, 'मलाई म नेपाली हुँ भन्ने मात्रै थाहा छ।'

 गणकले 'जात के हो?' भनेर सोध्दा 'खै थाहा भएन म त नेपाली हुँ' भनी जवाफ दिएपनि गणकले नै क्षेत्री, ठकुरीमा चिह्न लगाइदिएका घटना र विचारले उल्लेख गरेको छ।


पत्रिकाका अनुसार असार ६ गते सोमबार गणकहरू महाराजगञ्जस्थित निर्मलनिवास पुगेका थिए। पहिल्यै समय लिएर त्यहाँ पुगेका गणकहरूलाई घरमुलिका नाताले ज्ञानेन्द्र आफैंले प्रश्नका जवाफ दिएका थिए। निवास पुगेका गणकहरूलाई बस्ने आग्रह गर्दै राजाले प्रश्न सोध्नुअघि के छ भन्नुस् भनेपछि उनीहरूले प्रश्नको थालनी गरेका थिए।

वायुसेवा निगममा नियुक्तिको विरोध नगर्ने

अस्तिनै एक फिल्मकर्मी अशोक शर्मालाई काठमाडौंको खानेपानी गुणस्तरको हाकिम बनाउँदा होस् कि अर्का फिलिमकर्मी युवराज लामालाई खेलकुद परिषदको सचिव बनाइदिँदा,सरकार न परो जसलाई जे को नि विज्ञ बनाइदिन सक्दोरच भनेर असन्तुष्टि पोखें। तर बायुसेवा निगमको अध्यक्ष/महाप्रवन्धक सिएमए मात्रै पास साहित्यकार मनरुप नेप्चुनलाई देकोमा मैले मरें नि विरोध गर्दिन। यो चालाले सरकारले अप्रसाङ्गिक व्यक्तिलाई नियुक्ति दिदैं  जाने हो भने कुनै पनि दिन म पत्रकारलाई पनि विज्ञान तथा प्रविधि प्रतिष्ठानको उपकुलपति हुने संभावना देखिरहेको छु। अरुको नियुक्तिको विरोध गरेर आफ्नै खुट्टामा किन बन्चरो हान्ने?