Tuesday, October 1, 2013

राष्ट्रसंघलाई कस कस्को पत्र

मित्र मदनमणि अधिकारी कुरा रमाइलो लाग्यो, ''हैसियत हुनेले मनमोहन सिंह गुहार्छन हैसियत नहुनेले बान कि मुन।"
यस अगाडि केही दिन यताका समाचार अनुसार सेना परिचालन रोक्न मोहन वैद्यले संयुक्त राष्ट्रसंघ गुहारे। प्रधान न्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद्बाट राजीनामा गराउन नेपाल बारले राष्ट्रसंघ गुहार्यो। काक्रेबिहारमा बुद्ध मूर्ति राख्ने ब्यवस्था मिलाइदिन आदिवासी जनजातिले राष्ट्रसंघ गुहार्यो। भ्रष्टाचारमा जेल भुक्तान गरी फर्केका जेपी गुप्ताले आफूमाथि राज्यले हिंसा प्रयोग गर्न सक्ने राष्ट्रसंघ गुहारेछन्।
मित्र मिलन बगाले भन्दैछन, "कुनै दिन स्टेशनरी पसलको भित्तामा पढ्न पाईनेछ, 'यहाँ राष्ट्रसंघलाई लेख्ने चिठीको फर्म्याट पाईन्छ।"

Wednesday, September 25, 2013

सचिव गाउँमा बस्छन् र ?

'जनसेवाका लागि छिटोभन्दा छिटो स्थानीय निकायको चुनाव गर्न केन्द्रीय नेताहरुलाई कसरी भन्ने होला ?' पिताजीले फोनमा भन्नुभयो, ' जनप्रतिनिधि नहुँदा गाउँमा सचिव बस्दै बस्दैनन् । नयाँ पिँढीलाई त सचिव गाउँमा बस्नपर्छ भन्ने नि थाहा नहुने भयो। जन्म दर्ता गर्न परे नि नागरिकताको सिफारिस चाहिए पनि जिल्ला सदरमुकाम वा सेवा केन्द्रमै धाउँने भए मानिसहरु।'

Tuesday, September 24, 2013

दुई माओवादीको वार्तालाप

एक नम्बर : मलाई त यी ड्यासको भरै लाछैन । चुनाव विथोल्छौं भनिरहेका छन्, कतै चुनावका बेला हाम्रै पार्टीका उम्मदेवारमाथि आक्रमण गर्ने पो हुन् कि ?
दुई नम्बर : मलाई त्यस्तो लाग्दैन । भोट हाल्ने दिन काँग्रेस एमालेका भोटरलाई बाटोबाटै फर्काइदिन्छन् र हाम्रा समर्थकलाई मात्र बुथसम्म पुर्याउँछन् । चुनाव विथोल्न् त विथोल्छन् तर माओवादीको हैन काँग्रेस र एमालेको मात्र ।
एमाओवादीका दुई कार्यकर्ता होलान्, राजधानीको एउटा मध्यम खाले रेष्टुँरामा गफ गर्दै छन्।

Monday, September 23, 2013

सभासदका उम्मेदवार छान्ने काइदा

बाहिर समाचारमा - संविधानसभाको दोस्रो चुनावमा उम्मेदवारको टिकटका लागि जिल्ला जिल्लाका कार्यकर्ताहरु नेताका घर, डेरा र पार्टी कार्यालय धाइरहेका छन् र टिकट नपाए बागी हुने घुर्की लाइरहेका छन्।
भित्री कोठाहरुमा - नेताहरु पार्टीको चुनावी प्रचार खर्च धान्न सक्ने उद्योगी व्यापारीहरु खोज्दै संविधानसभाको टिकट बाँड्दैछन्।
अनि म सोच्दैछु - यसरी मिसिएर आउने यी दुईथरी भविष्यका सभासद्ले देशलाई अब पनि बेलाबेलामा सरकारमात्र देलान् कि एक थान संविधान पनि देलान्?

Monday, September 2, 2013

किन आत्तिएका अरु दल?

एनेकपा माओवादीले भर्खरै पुनगर्ठित गरेको राज्यका नेताहरुको नाम हेरेको। मगरात राज्यको संयोजक गिरिधरीलाल न्यौपाने ।
तमुवान राज्यको इन्चार्ज भीम गौतम र संयोजक हरी अधिकारी ।
नेवा राज्यको इन्चार्ज देवेन्द्र पौडेल र संयोजक झक्कु सुवेदी ।
तामशालिनको इन्चार्ज विश्वभक्त दुलाल र संयोजक नारायण दाहाल ।
अवध राज्यको इन्चार्ज चन्द्रदेव खनाल र संयोजक वामदेव क्षेत्री ।
किरात राज्यको संयोजक वालकृष्ण ढुंगेल रहेछन् ।
जातीय पहिचाहन सहितको संघीयतामा विशेष जातिलाई अग्राधिकार भन्ने एमाओवादीले किन यसो गरेको ? तमुवान, नेवा, अवध सबका सबमा किन बाहुनलाई नेतृत्व दिएको?
अनि अरु दल किन आत्तिएको होला, धेरैजसो बाहुन, क्षेत्री छन् त  राज्यका प्रमुख तै पनि एमाओवादीले जातीय पहिचाहन सहितको संघीयता बनाउन लागे भनेर किन चिच्याउनु ?

Sunday, September 1, 2013

नेपाल सुहाउँदो नेता राजेन्द्र महतो

यी राजेन्द्र महतो भन्ने मान्छे खुब मन परो। एक त 'अब म मन्त्री बन्दिन' भने। अब नि संविधानसभामा बहुमत कसैको नआउला र गठवन्धन सरकारमा मन्त्री बन्ने चान्स पाइएला भनेर कोहीकोही उनको पार्टीमा लागे। दोस्रो, पार्टीमा १३ जना उपाध्यक्ष बनाउने निर्णय गरिसकेछन्, आवश्यक परे थप्ने गरी। जो जसलाई पद चाहिने हो (ठूलाबडा) उनको पार्टीमा प्रवेश गरे ठाडै उपाध्यक्ष। अनि यत्रा धेरै एफएम, टिभी, अनलाइन, पत्रपत्रिका छन् भनेर प्रवक्ता नै पनि ४ जना राख्ने निर्णय गरेछन्। पत्रकारलाई 'कोट' लिन नि सजिलो एउटा नभेटे अर्को त भेटिइहाल्छ। नेपाल सुहाउँदा नेता हुन् यिनी महतो जी।

Wednesday, August 28, 2013

शान्ति प्रकृया अझै भाँडिएन?

अख्तियारले भ्रष्टचारी भन्दै भकाभक पक्राउ गर्न थालेपछि तीन ठूला पार्टीका कर्मचारी संघले सामुहिक बैठक गरेर बिरोध गरेछन् । तर अहिलेसम्म पनि अख्तियारको 'यो कदमले शान्ति प्रक्रिया भाँडिने खतरा भो' भनेर कसैले किन नभनेको होला भनेर अचम्म मानिरहेछु।

Monday, August 26, 2013

तीज दरमा प्रहरी

जिल्लाबाट आ'र राजधानी बसिरहेकाहर्ले तीजको दरखाने कार्यक्रम राखेका थे, नयाँ बसपार्कको एउटा रेष्टुरेन्टमा। दुई सय ५० जति थे महिला पुरुष सराबरी। एक जना प्रहरी इनिस्पेक्टर ५ प्रहरी लिएर आए। तीज भड्किलो नबनाउन निर्देशन दे'को अख्तियारले पुलिस पठाएछ भनेर सातो मात्र गएन, तिजको दर खाँदा पक्राउ पर्ने पुरुषमा नाम आउने भो भन्ने शंकाले मनै अमिलो भो। तर प्रहरी इनिस्पेक्टर र साथीभाइबीच केहीबेर भालाकुसारीपछि इनिस्पेक्टर आफ्ना ५ प्रहरीसँगै दर खाएर डकारेर हिंडे।

Saturday, August 24, 2013

अदालतले के के मात्र गर्नुपर्ने हो

अस्करमा पठाउने फिलिम पनि सर्वोच्च अदालतले छान्न पर्ला जस्तो भो। छनौट समितिले 'सुनगाभा' पठाउने निर्णय गरेको विरोधमा 'वधशाला' निर्माण गर्नेहरु अदालत जाने भएछन्। बिचरा सर्वोच्च! सरकारै चलाउँदा पनि शान्ति पाएन।

Sunday, August 18, 2013

मरेपछि मरिचमान

सबै दलका शिर्ष नेतागण र फेसबुक, टि्वटरका जनतागणको कुरा सुन्दा लाग्दैछ अरु दुई चार वर्ष बाँचेका भए मरिचमान सिंह फेरि प्रधानमन्त्री हुन पाउनेरहेछन् । मरिचमानको यति धेरै गुणगान (उनी जस्ता राष्ट्रवादी, सदाचारी नेता नेपालले पाएको छैन भने नेताहरुले) गाएपछि २०४६ सालमा 'मरिचे चोर देश छाड' भन्ने नारा लगाउने तिनका कार्यकर्तालाई अहिले कस्तो लागिरा' होला

Thursday, August 15, 2013

यसपालि शान्ति प्रकियाँ भाँडिएला

अस्ति नै डेकेन्द्र थापाको हत्या अभियोगमा केही पक्राउ पर्दा पनि प्रचण्डले 'छानबिन नरोकिए शान्ति प्रकिया भाँडिन्छ' भन्थे। खोई भाँडिएको थाहा पाइएन। अहिले फेरि गोरखाका कृष्णप्रसाद अधिकारीको मुद्दामा 'अनुसन्धान गरे शान्ति प्रक्रिया भाँडिन्छ भनेछन्' उनै प्रचण्डले। यसपालि चाहिँ भाडिन्छ कि भाँडिदैन होला?

Tuesday, August 13, 2013

साइरन बजाउँदै ट्याक्सीमा

नर्वेली प्रधानमन्त्रीको नक्कल गर्दै नेपाली नेताहरु प्रचण्ड, सुशील कोइराला, झलनाथ खनाल, बाबुराम भट्टराई, माधव नेपाल, शेरबहादुरहरु देउवाहरुले पनि जनमत बुझ्न भन्दै ट्याक्सी चलाए भने कस्तो हुन्छ होला भनेको, कतारका साथी शिखर वैद्यले थपे, नेपाली नेताहरुले ट्याक्सी चलाए भने त अघि पछि राता बत्तीको सुरक्षामा टेक्सी कुद्ला । सुरक्षा घेरा भित्रको ट्याक्सीमा हिड्न पाउँदा - कत्ति रमाईलो हु्न्थ्यो होला।

Monday, August 12, 2013

प्रचण्ड र रामचन्द्र पौडेलबारे नयाँ कुरा (भ्रामक?)

चक्रपथ परिक्रमा गर्ने बसमा सामाखुशीबाट सानेपासम्म आउँदा यात्रुले गरेका दुई गफ।
क) प्रचण्डको ससुरा त क्रिश्चियन रहेछन्। क्रिश्चियनिटी बढाउन ठूलो रकम उनको हातमा आउँदो रहेछ। त्यसैको डिजाइनमा सबै कुरा भइरहेको छ।
ख) रामचन्द्र पौडेलले बै‌कमा पैसा राख्दैनन् अख्तियारले थाहा पाइहाल्ला भनेर। काठमाडौं र तनहुँका धेरै फाइनाइन्स कम्पनीमा दुई/चार लाख, दुई/चार लाख रुपैयाँ जम्मा गरेका छन्। फाइनाइन्सको सबै खाता त कसले पो हेर्ला भनेर।
पैसा नभएर हैन है, मैले मोटरसाइकल/गाडी नचढेको। बसमा नहिंडे यस्तो गफ कहाँ सुन्न पाइन्छ र? (के गर्नु अंगुर अमिलो छ भनेर चित्त बुझाउनै परो)

Tuesday, July 30, 2013

कहिले मान्छे बन भन्ने होला?

अस्तिमात्र 'माओवादी चिल हो' भनेका प्रचण्डले हिजो फेरि अर्का ड्यास माओवादीलाई कुखुरा चोर्ने 'स्याल' भन्दै आफ्ना कार्यकर्तालाई 'सिंह बनेर स्याल धपाओ' भनेछन्। के के मात्र हुनुपर्ने हो माउवादी कार्यकर्तालाई नि कहिले चिल, कहिले स्याल, कहिले सिंह ? यस्तै तालले 'चरा जनावर बन' भन्दै जाँदा एक दिन त मान्छे पनि बन्नु भन्लान् नि कार्यकर्तालाई प्रचण्डले।

Monday, July 22, 2013

चुनाव भइहाले कसलाई देखाएर भोट माग्ने होला यिनले ?

यसो सोच्छु, माओवादीले विगतमा प्रचण्ड/बाबुराम देखाएर चुनाव लडे र राम्रो मत ल्याए। काँग्रेसले उहिले बिपी/किसुनजी/गणेशमान देखाएर चुनाव लडे र कहिले दुई तिहाई त कहिले बहुमत ल्याए। कहिले मदन भण्डारी र कहिले मनमोहन देखाएर एमालेले चुनाव लड्यो र गतिलो मत ल्यायो। पहिले उपेन्द्र यादव देखाएर मधेशीले मत ल्याए। यस पटक अब यिनले कसलाई देखाएर मत माग्ने होलान् ? कोही बचाएर राखेका छन् कि। जनताले प्रचण्ड/बाबुराम हेरेर माओवादीलाई भोट देलान्? सुशील कोइराला/शेरबहादुर देउवा हेरेर काँग्रेसलाई भोट देलान्? झलनाथ खनाल/माधव नेपाल हेरेर एमालेलाई भोट देलान्? चुनावमा मत (जनता) आकर्षित गर्न विचार, दर्शन, योजना मात्र भएर पुग्दैन। जनताले विश्वास गर्ने नेतृत्व पनि दिन सक्नुपर्छ।

Thursday, July 18, 2013

चार दलको फुर्ती

Saroj Kshetri ले भनेकोमा अलिकति थप्न मन लाग्यो:  सरकार रेग्मीले चलाइदिनपर्ने, बैद्यलाई चीनले मनाइदिनपर्ने, यादवलाई भारतले फकाइदिनपर्ने तैपनि चुनावको भर नहुँदै चारदलले बैठकबसी संविधानसभाको दोस्रो चुनाव भएको एक बर्षभित्रै सबिधान लेख्ने फुर्ती लाउने ?

Wednesday, July 17, 2013

पत्रकारलाई 30% डिस्काउन्ट

उद्योग वाणिज्य संघ, चितवनको गेस्ट हाउसमा ५ दिन बसेको बिल तिर्दा, 'तपाईलाई महासंघका मान्छेले राखिदिनुभएको 20% कर्पोरेट डिस्काउन्ट छ' भन्दै थिए। पैसा झिक्ने बेलामा परिचय पत्र देखेपछि थपे, 'ए पत्रकार पो हो । पत्रकारलाई त झन् 30% डिस्काउन्ट हो नि।' पत्रकारको कार्डले यस्तोसम्म पनि गर्छ भन्ने चाहिँ थाहा थिएन, यस अगाडि।

Wednesday, July 10, 2013

नेपाल ग्यास्ट्रिक पार्टी खोल्ने कि

अनेक नाम र थरका डेढ सय भन्दा धेरै पार्टी अर्को संविधानसभा चुनावका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन्। आयोगले ड्यास माओवादीलाई दर्ता गर्नका लागि फेरि दल दर्ता गर्ने समय देला जस्तो छ। सबै जसो देशी विदेशी वाद, ठाउँ, जातजाति, धर्मका नाममा दल दर्ता भइसक्या रहेछन् तर रोगका नाममा दल दर्ता भएको रहनेछ बरु नेपाल ग्यास्ट्रिक पार्टी खोल्यो भने समानुपातिकमा एक दुई सिट आइहाल्ला कि?

Tuesday, July 9, 2013

विवाहमा फ्युजन

YCL काठमाडौंका पूर्व अध्यक्ष शिव कोइरालाले फ्युजन गरेछन् - विवाहमा। बिहान विवाहको जग्गे बनाएर दुलहीका बाबुआमालाई खुट्टा धुन लगाएर कन्यादान लिएछन्। दिउसो प्रचण्डलाई बोलाएर जनवादी बिहे गरेछन्। प्रचण्डले फ्युजन सिद्धान्त सिकेकै छन् कार्यकर्ताले...

Saturday, June 29, 2013

कुरान माथि टुथपेस्ट राखेकाले जेल

कतार जेलबाट भर्खरै रिहा भएर आएका नेपालीले भने, एकजना नेपाली कामदार एउटा पुस्तकमाथि टुथपेस्ट राखेर दाँत माझ्दै रहेछन्। उनले टुथपेस्ट राखेको पुस्तक संयोगले कुरान पर्न गएछ। अनि ती नेपाली अहिले कतारी जेलमा छन्। कहिले छुट्ने हो कुनै टुंगो छैन।
स साना कुराको ज्ञान नभएर कति नेपाली यसरी विदेशी जेलमा सडेका होलान्?

धन्न हिरो बन्ने सपना देखेर जोवन गएनछ?

धन्न यो Raanjhanaa भन्ने हिन्दी फिलिम ९० को दशकमा बनेनछ। नत्र त मेरो जोवन 'म पनि हिरो बन्छु' भनेरै जाने रहेछ। अनुहार उसको अलिक राम्रो होला, तर जिउ त त्यो बेलाँ मेरो जस्तो थियो त्यस्तै छ त फिलिमको हिरो धनुषको। हिन्दी फिलिममा कमै हुने कालो ख्याउटे, जीउमा कतै पोकापोकी नभएको, एक जनाले मुड्की हान्यो भने तीन हात पर पुग्ने जस्तो देखिने मान्छेलाई पनि हिरो बनाएको रहेछ यो फिलिममा। हिन्दी फिलिमको हिरो हुनलाई चाहिने गोरो अनुहार, जुल्फीवाला कपाल, सुडौलो शरीर र वलिष्ट हात पाखुरा केही देखिदैंन धनुषको।
अहिलेका कति युवाले पनि यो फिलिम हेरेर हिरो बन्ने सपना देखिरा' होलान् कि नाईं?

Thursday, June 20, 2013

पश्चिममा त घाम पनि डुब्न मात्र पुग्दो रहेछ

कोशीमा बाढी जानासाथ कलाकार, ठूला-साना मिडिया हाउस, NRN, खेलाडी, बैंकदेखि धेरैले सहयोग उठाउन पहल गरेको सम्झना छ। अहिले महाकाली र कर्णालीमा बाढी जाँदा चाहिँ ? पश्चिममा त घाम पनि डुब्न मात्र पुग्दो रहेछ।

Monday, June 17, 2013

न्यायाधीश सपथपछि पार्टी कार्यालयमा

अन्नपूर्ण पोष्टमा Madhav Dhungel ले लेख अनुसार- पुनरावेदन अदालतका नवनियुक्त १० जना न्यायाधीश आइतबार सपथ ग्रहण लगत्तै एमाले पार्टी कार्यालय बल्खुमा पुगेछन् र आफूहरुलाई न्यायाधीश बनाइदिएकोमा अध्यक्ष झलनाथ खनाललाई धन्यवाद दिएछन्।
न्यायाधीशहरु सपथपछि पार्टी कार्यालयमा पुग्ने देशमा जन्मने सौभाग्य पाउनुभएकोमा तपाईहरुलाई हार्दिक वधाई। बाँकी के राखेका छन् होला यहाँ नेताहरुले ?

Friday, June 14, 2013

बोर्डमा परेका विद्यार्थी खोज्दै सञ्चार माध्यम

यिनै रेडियो, टिभी पत्रपत्रिकाले पहिले SLC को बोर्ड प्रथाले विकृति ल्यायो। बोर्डिङहरु बोर्डमा विद्यार्थी पार्न लाखौं खर्च गर्न तम्सिए भने। सरकारले बोर्ड प्रथा हटायो। अहिले यिनै रेडियो, टिभी, पत्रपत्रिकाले को को बोर्ड आयो भनेर खोज्दैछन्। केही गरी सुख छैन यो संसारमा।

Tuesday, June 11, 2013

भ्रष्टाचार र रक्सीको नाता

लाउडा ताका लाख भ्रष्टाचारको समाचार आउँथ्यो, सुडान ताका करोड भ्रष्टाचारको कुरा आयो र अहिले त्रिशुलीका बेला अर्ब भ्रष्टाचारको खवर आइरहेको छ। भ्रष्टाचारको रकम बढे झैं नेपालमा भित्रिने रक्सी पनि महगिंदै गएको छ। पहिले १२/१५ सयको रेडलेबल, त्यसपछि ३५ सय/चार हजारको ब्ल्याक लेबल, अनि १३/१४ हजारको ब्लु हुँदै अहिले बोतलको ९९ हजार पर्ने रक्सी भित्रियो रे नेपालमा । रक्सी र भ्रष्टाचारको नाता गज्जब हुँदोरहेछ, जति भ्रष्टाचार बढ्दै जान्छ उति मह‌ंगो रक्सी नेपाल भित्रिदैं जान्छ।

Tuesday, May 28, 2013

भ्रमणको कि अन्तरवार्ताको निम्तो?

चीनबाट एमाओवादी अध्यक्ष प्रचण्ड फर्केको दुई महिना नहुँदै एमाले अध्यक्ष झलनाथ खनाल चिन जाँदै रहेछन्। त्यसपछि क्रमश: सुशील कोइराल र बाबुराम भट्टराईलाई पनि चिनले निम्ता दिने भन्ने समाचार पढियो। यसो सोचेर ल्याउँदा चिनले नेपालका नेताहरुलाई एक एक गरी भ्रणणका लागि नभई अन्तरवार्ताको लागि बोलाए झैं मानेको छु है, सबैलाई उही प्रश्न 'भाइ के छ तिम्रो चिनप्रतिको धारणा प्रष्ट पार।' अनि छान्ने होला चिनले योग्य उम्मेदवार।

Wednesday, May 22, 2013

काठमाडौंमा रुख मासिंदै

उसै त हरियाली कम भएको काठमाडौंमा सडक विस्तारका क्रममा रिङरोड र अन्यत्र भित्री मार्गमा पनि सबै रुख काट्न थाले। रुख जोगाएर नि सडक विस्तार गर्न सकिन्छ भन्ने चेतना र दबाब दिन पर्छ होला। नत्र त एउटा रुख हुर्काउन बिसौं वर्ष लाग्छ। अलिअलि बाँकी भएका रुख पनि काटिँदा भित्री काठमाडौंमा बस्नेहरु अक्सिजन नपाएर सुक्लान् है।

सगरमाथा नचढी मरेमा

एक बारको जुनीमा सगरमाथा नचढी मरियो भने त चित्रगुप्तलाई हिसाब देखाउन नसकेर, यमराजले फेरि पृथ्वीलोकमा फर्काइदेलान् जस्तो पो भो अइ।

Tuesday, May 21, 2013

भाउन्न हुने कुरा

भोट हाल्ने एक दिनका लागि लाखौं लाख तिरेर खेताला विद्यार्थी भर्ना गर्नेहरु देख्दादेख्दै पनि कोहीकोहीले युवा पिंढीलाई देशको जिम्मा दिने हो भने देश सुध्रिन्छ भनेको सुन्दा भाउन्न हुन्छ मलाई त।

Sunday, May 19, 2013

भालु आएर गहुँ हेर्दै फर्कदैं गरेको छ



'भालु आएर गहुँ पाकेको छ कि छैन भनेर हेर्दै फर्किने गरेको छ। अब पाकेपछि भालुबाट गहुँ कसरी जोगाउने होला। त्यही पीर छ मलाई', सोलुखुम्बु थाप्रेकी काईंली तामाङ, फाप्लुबाट जिरी हिंडेर फर्कदै गर्दा भेटिएकी।
यिनकै होटलमा एक कप नेपाली चिया र अर्को कप सु चिया पिएर हामी पिके पिक सम्मको भञ्ज्याङको यात्रा गरेका थियौं।

Monday, May 13, 2013

भ्रष्टाचार विरोधी संस्थाका अध्यक्ष

भ्रष्टाचार विरोधी जिल्ला स्तरीय संस्थाका अध्यक्षले फोन गरे- यसपालि एसएलसी दिएको छोराको पढाई एकदम राम्रो छ। परीक्षामा बिगारेको केही छैन । कसैलाई यसो केही गरेर 'नेपाल टप' बनाउन सकिएला ? पर्यो भने बरु केही पैसा गर्छ गर्न पनि तयार छु। तपाईं त पत्रकार धेरै जनासँग परिचय होला। केही आइडिया छ कि भनेर फोन गरेको हुँ। - गज्जब नेपाल।

Tuesday, May 7, 2013

'लोकमान' प्रकरणले मानौं आन्दोलनकै रुप लेला

मानिसका कुरा पढ्दा त 'लोकमान' ले लोकको लागि हितै गर्छन् झैं पो छ एई । फेसबुक र टि्वटरमा  'लोकमान' प्रकरणले नयाँ आन्दोलनकै जन्म देला जस्तो । मानौं कि 'लोकमान' प्रकरणको अन्त्य हुने बेलासम्म नयाँ विचार भएको नयाँ पार्टी जन्मनेछ वा भएकै यिनै पार्टीबाट पनि भ्रष्टाचारलाई सहनै नसक्ने लोकतान्त्रिक, पारदर्शी र जन उत्तरदायी भएको नयाँ नेतृत्व आउनेछ र सुशासन दिनेछ। - धन्न यो आशा भन्ने चिज छ र केही भइहाल्छ कि भनेर मानिसहरु एउटा एउटा भाउँतोमा भुलिरहन्छन्।

Wednesday, May 1, 2013

अस्पतालमा फ्री वाइफाइ


मलाई त रेष्टुरेन्टहरुले मात्र होला भन्ने लागिरहेको थियो, प्राइभेट अस्पतालले नि सुविधा बेच्नका लागि फ्री वाइफाइको विज्ञापन गरेका रहेछन् त काठमाडौंमा। ग्वार्कोस्थित एक अस्पताल।

Tuesday, April 30, 2013

काँग्रेसलाई फाप्ने चुनावी महिना

विगतमा कात्तिक महिनामा भएका चुनावहरुमा आफ्नो पक्षमा मत परिणाम राम्रा नआएकाले नेपाली काँग्रेसले कात्तिकको साटो मंसिरमा चुनाव गर्न दबाब दिइरहेको छ रे - के के सुनाउँछन् सुनाउँछन् साथीभाइ।

Tuesday, April 16, 2013

कानमा जतिखेर पनि इयरफोन

युवायुवतीले हिंड्दा/बस्दा/सवारीसाधनमा सधै कानमा ठेंडी मात्र घुसारेको देखेर एक बेलायती युवतीलाई सोधेको, 'किन हो यहाँकाले जतिखेर पनि इयरफोन लगाइरहने, गाना कति धेरै सुन्ने हुन् कि?' उत्तर आयो -'मान्छेले के के सोध्छन्, बोल्न खोज्छन्। इयरफोन कानमा घुसारेर नसुनिदिए झैं गरिदियो टन्टै साफ।'

Monday, April 15, 2013

विदेशबाट कोशेली बोक्दाको सास्ती


नेपालका आफन्तीलाई पठाएका कोशेलीहरुमा मैले सोचेभन्दा ८/१० किलो बढी नै माया गरिदिनुभएछ, साथीभाइले। एक किलो एक्स्ट्राको ३५ सय जति तिरेर ल्याउन सकिएन। घरी ह्याण्डब्याग ठूलो घरी लगेज ठूलो। डेढ घण्टा जति हिथ्रो एरयपोर्टमा पाउनु सास्ती पाइयो, यता कोचे नि हुँदैन उता कोचे नि हुँदैन। त्यही भएर पो विदेशबाट फर्किने बेला कतिजना सुटुक्क हिडिदिँदा रहेछन्।

Wednesday, April 10, 2013

कोही हुनुहुन्छ कुखुरालाई सम्झाइदिने


Recommended to read who loves- 'Many reasons to laugh'
आंगनमा चारो टिप्दै गरेको कुखुरा हेरेर टोलाइरहेको एउटा मनोरोगीले गम्न थालेछ– दर्शन ढुंगा पचाउन सक्ने यो कुखुराले कुनै दिन मलाई निल्न के बेर ! सोच्दासोच्दै अत्तालिएको ऊ चिच्याउन थालेछ– गुहार, कुखुराबाट बचाऊ !

जत्ति सम्झाए पनि माने पो ! आजित भएर परिवारजनले उसलाई मनोचिकित्सककहां पुर्याएछन् । सबै कुरा बुझेपछि डाक्टरले कुखुराको घांटी र पेट समेतको चित्र बनाएर सम्झाएछन्– अब त बुझ्नु भो, कुखुराले तपार्इंलाई निल्न सक्दैन भन्ने कुरा ? मनोरोगी सन्तुष्ट भएर घर फर्किएछ ।

तर यो के ? ऊ त भोलिपल्ट फेरि क्लिनिकमा आइपुग्यो, थर्थर काम्दै । मैले चित्र समेत बनाएर तपाइँलाई सम्झाएको होइन, फेरि किन डराएको ? जवाफमा उसले भनेछ– डाक्टरसा‘ब, मैले त अलिकति पढेको छु र तपार्इँको चित्र हेरेर कुरा बुझें । तर कुखुराले त कुरा बुझेको छैन नि । अनि, उसले क्वाप्लाक्क मलाई
निल्यो भने ?
अब ट्वां पर्ने पालो थियो डाक्टरको । यही कथाको हालत भयो हाम्रो मुलुकको । लौ न, कोही हुनुहुन्छ कुखुरालाई सम्झाइदिने !

(एमाले नेता प्रदीप ज्ञवालीको फेसबुक स्टाटस)

Saturday, April 6, 2013

गोरु जस्तो सजिलो छैन गधा जोत्न


'गोरु जस्तो हैन'छ गधा जोत्न, न मेलो समात्छ न भनेको मान्छ' कतारी मरुमुभिलाई पनि खनजोत र मल-पानी गरी गरी हरियाली पारेका नुवाकोटका प्रेबहादुर नेपालीले भनेपछि 'ट्राई' मारेको अवस्था।

Sunday, March 31, 2013

युवती नदेखेको ६ वर्ष भयो

कतारको भेंडिगोठमा भेटिएका एक नेपाली 'अरबको यो मरुभुमिमा आफूले युवती नदेखेको ६ वर्ष भयो। उता नेपालबाट श्रीमतीले फोनमा भन्छे, बिहे गरेर बसेको होलास् कतारमा, नत्र किन यतिबेलासम्म पनि आउँथिनस् घर ?'

Wednesday, March 6, 2013

नारी दीवसमा सम्मान


मार्च ८ - अन्तर्राष्ट्रिय नारी दीवस आएको बेला एक मित्रले भनेको सम्झेको - 'नेपालका धेरैलाई आफ्नी आमा, दिदी/बहिनी, भाउजु/बुहारी बाहेक अन्य सबै महिलाको अधिकारको चिन्ता हुन्छ।'
त्यस्तो भएकाहरुले यसपटक नारी दीवसको अवसरमा महिलामाथिको सम्मान आफ्नै घरबाट सुरु गर्ने प्रण गर्ने कि ?

Tuesday, March 5, 2013

खरबपतिलाई योगदान


विनोद चौधरीलाई अरबपति डलरको लिस्टमा टिकिरहन थप योगदान दिइयो । नेपाली रुपैयाँमा हिसाब गर्दा त अब खरबपतिको लागि पनि योगदान भयो ।
कार्यालय बाहिर खाजा खान पनि भ्याइएन कि मन लागेन। #waiwai जिन्दाबाद।
एक जना नेपाली संसारका अरबपति भएकोमा गौरव मानेका छौं । तर नेपालमा कर चाहिँ सही/सलामत नै तिरौं है।

Sunday, February 24, 2013

गाउँबाट आएको खवर

'पञ्चायत फालिएपछि नेपाली काँग्रेसको एकमना सरकार हुँदा काँग्रेसी भइकन शिक्षकमा स्थायी भएका थिए, एक जना दाजु । माओवादी शान्ति प्रकियामा प्रवेशसँगै माओवादीका नेता पनि भए, शिक्षक त छँदै थिए ।
अहिले आफ्नै पार्टीको सरकार भएको बेला भनेर खोलाखेतमा तटवन्ध बनाउने भन्दै जिविसबाट ४ लाख रुपैयाँ बुझेछन् । कामै नगरी कर्मचारीसँग मिलेर खर्च फर्स्यौट गरेछन्। गाउँमा खवर आएदेखि मान्छेहरु मुरमुरिएका छन्', गाउँबाट आएका आफन्तलाई खवर सोधेको थिएँ।

लाग्दैन कि बाडुली

माथि माथि आकाशमा सूर्यले खायो जुन
धर्तीमा मैले सकिन कि चिन्न मेरी प्रियतम हुन् कुन

उड्छ सँधै मन मेरो, तैपनि चरी हुन सकिन
रेल झैं दौडी आई तिमीलाई छुन सकिन

गुन्युचोली मिलाउँदै परालमा खेल्थ्यौं लडिबुडी
लाग्दैन कि आजभोलि तिमीलाई सम्झँदा बाडुली

वर्षेझरीले बढ्यो नदी, छैन घाटमा डुँगा
कहाँ छउ तिमी सँगीसँग, केवल छायाँ छ यहाँ।

Tuesday, February 19, 2013

पुस्तक पसलेको कथा

नारायणघाट शहरको चोकमा पुस्तक पसल थियो। पुस्तकबाट भन्दा भुटुवा-मासु (तास/सेकुवा) पसलबाट धेरै पैसा कमिने देखेपछि पसलेले पुस्तक पसल बेचेर १ किलोमिटर टाढा तास रेष्टुरेन्ट खोलेछन्।
आफूलाई पुस्तक पसल बेच्नेले भुटुवा-मासु पसल राखेर नाफा कमाएको देखेपछि नयाँ पुस्तक पसलेलाई लागेछ - मलाई भाडा तिर्न पनि धौ धौ हुने किताब पसल भिराएर आफूचाहिँ रेष्टुराँ चलाएर पैसा कमाउने।
लउजा भनेर भा'जति पुस्तक नयाँ पसलेले जलाएछन् र त्यहीँ भुटुवा-मासु कै रेष्टुरेन्ट खोलेछन्।
चोकको भुटुवा रेष्टुराँमा नाफा धेरै भएको सुनेपछि पुरानो पुस्तक पसलेले आफूलाई धिक्कारेछ, पहिल्यै मलाई त्यही चोकमा भुटुवा पसले खोल्ने वुद्धि किन आएन?

Tuesday, February 12, 2013

प्रचण्डलाई कस्तो पार्टनर चाहियो ?

प्रचण्ड - अहिले पनि मलाई गिरिजाप्रसाद जस्तै राजनीतिक पार्टनर चाहिएको छ ।
बाबुराम - हेटौंडा महाधिवेशनपछि हामी (प्रचण्ड र बाबुराम) एकले अर्काबाट छुट्याउन नसक्ने गरी एक भएर आएका छौं।
टिप्पणी : प्रचण्डलाई गिरजाबाबुलाई के दिंदा र'छन् हो, बाबुरामले पार्टनर मै छु नि भन्दा पनि नपुगेको ?

Thursday, February 7, 2013

प्रधान न्यायाधीश कि प्रधान सेनापति

माओवादीले प्रधानन्यायाधीसलाई प्रधानमन्त्री बनाएर चुनावी सरकार बनाउने प्रस्ताव गरेछन्। अब प्रतिपक्षले प्रधान सेनापतिको नेतृत्वमा चुनावी सरकार माग गर्ने कि ? त्यो नयाँ प्रस्ताव गर्ने जिम्मा नि केही दिनपछि प्रचण्डलाई नै दिने ?

Friday, February 1, 2013

सहयोगी खोज्दिन अनुरोध

'यहाँ म मौरी पालेर वर्षको १० लाख जति कमाउँछु। काम गर्ने सहयोगी छैन। छोरा वर्षको एक डेढ लाख लागि खाडी मुलुक जाँदैछ' पर्वतका किसानले Narayan Shrestha लाई भने‌, 'खान बस्न दिएर वर्षको एक लाख अहिले नै दिन्छु, सहयोगी आएर थप आम्दानी भए उनलाई एक लाख भन्दा धेरै दिउँला, लउन कोही काम गर्ने सहयोगी खोज्दिन सक्नुहुन्छ ?

Friday, January 25, 2013

पार्टीलाई घाटामा पुर्याएको आरोप लाग्ला

लालध्वज (उहाँलाई यही नाम प्यारो भएर होला टि्वटरमा प्रयोग गर्नुभएको छ) जीले पार्टीको काममा गएको हेलिकप्टर खर्च पार्टीले वेहोर्छ भन्नुभएको छ। पार्टीले भर्खरै निर्वाचन आयोगमा बुझाएको हिसाब किताबमा पार्टीसँग १७ लाख रुपैयाँ मात्र छ। दिनदिनै हेलिकप्टरमा उडेकै उडै हुनुहुन्छ। त्यो १७ लाख त हेलिकप्टरमा उड्दा दुई दिन मै सकिन्छ रे। आफू प्रधानमन्त्री भएका बेला पार्टीलाई घाटामा लगेको आरोप लाग्ला है....

Thursday, January 24, 2013

चाहेकै त्यही हो

सार्वजनिक यातयातमा कोही पनि बोलेनन् भने त्यो दिन साह्रै खल्लो लाग्छ। आज चाहिँ प्रधानमन्त्रीले 'युद्धका घटना ब्युँताउने र एकले अर्कालाई मुद्दा लगाउँदै जाने हो भने काङ्ग्रेस एमालेका नेता नि बाँकी रहदैनन्' भनेको सुनेका कान्तिपुर यातायातका चालकले भन्दै थिए, 'चाहेकै त्यही हो नि अहिलेका चाहे माओवादीका हुन् चाहे काँग्रेस एमालेका कोही नि नेता बाँकी नरहुन्।'

Tuesday, January 15, 2013

महिला ग्राहकका लागि रेष्टुरेन्टमा छुट्टै तला


महिला हिंसाका समाचार पढिरहेका बेला बनेपाको नेवा किचन रेष्टुरेन्टमा जान पाइयो। रेष्टुरेन्टले महिलाहरूका लागि एउटा छुट्टै तलामा खाने व्यवस्था गरेको रहेछ। तर मदिरा र चुरोट पिउने महिलाहरुलाई भने अलिक अप्ठेरो पर्दोहोला, No smoking, No Drinks Please लेखेको छ।

Thursday, January 10, 2013

पोखरामा भेटिएका रेडियो पत्रकार

'लाइसेन्स त बोक्दै बोक्दिन, कहिलेकाहीँ कुनै ट्राफिकले ब्लु-बुक खोस्यो भने यहाँका ट्राफिक हाकिमलाई फोन गर्छु। भोलिपल्ट ट्राफिक प्रहरीले अफिसमै ब्लुबुक ल्याइदिन्छन्,' सुशासन सम्बन्धि रेडियो कार्यक्रम बनाउने एक जना रेडियो पत्रकार भेटिएका थिए पोखरामा। अजब नेपाल, गजब नेपाल...

Thursday, January 3, 2013

फेसबुक स्टाटस बेचेर पैसा

आजको The Himalayan Times पत्रिकामा देखेको विज्ञापन : Wondering what to update as your FACEBOOK STATUS? type FBS and send it to 3131.
मैले SMS पठाएको चार रुपैयाँ खर्च भो तर रिप्लाई भने आएन। तै मनमा लागेको कुरा- बाठा मान्छेले फेसबुक स्टाटस पठाइदिन्छु भनेर नि पैसा कमाएकै छन् र, संसारमा जे पनि बेच्ने र किन्नेका कमी छैन।