Saturday, October 19, 2019

पहाडिने मान्छे, एसबी क्षत्री: नेपालीभाषी बर्मेलीको संघर्ष र सफलताको कथा

 

एस. बी क्षेत्री र उनकी श्रीमती विद्या

उनको 'बिजनेस कार्ड' मा एसबी क्षत्री लेखिएको थियो।

'बर्मेलीले ज्ञवाली उच्चारण गर्नै जान्दैनन्, त्यसैले क्षत्री लेख्दिएको,' उनले कार्ड मतिर सार्दै भने, 'ज्ञवाली भनेपछि गुल्मीबाटै आएको होला पुर्खा।'

रंगुनको ४० डिग्री उखरमाउलो गर्मी छल्न १७ डिग्रीको उनको वातानाकूलित कोठामा पंखासमेत घुम्दै थियो। म बर्माको पुरानो राजधानी रंगुनमा बस्न थालेको दुई वर्ष भयो। यहाँ तीनवटा मात्र मौसम छन्- गर्मी, अझ गर्मी र दर्के झरीसहितको थप गर्मी।

'म त पहाडिने मान्छे हो नि,' क्षत्रीले मलाई नयाँ शब्द सिकाए।

पहाडिने, अर्थात् पहाडतिर डुली हिँड्न रुचाउने। पहाडिने क्षत्रीलाई चिसै प्यारो। त्यही भएर पनि होला, नेपाल धेरैपटक गएका छन् उनी।

'एभरेस्ट बेस क्याम्प पुगेँ, स्याङ्जाको सिरुबारी गएँ, लमजुङको घलेगाउँ गएँ, पोखरा नजिकको घान्द्रुक पनि गएँ,' नेपाल भ्रमणको वृत्तान्त सुनाएर उनले मलाई सोधे, 'साँच्चै हाम्रो पुर्ख्यौली थलो गुल्मी चाहिँ कस्तो छ, पहाड हो कि तराई? गर्मी ठाउँ हो कि शितल?'

सन् २००८ मा बिम्स्टेक सम्मेलनमा भाग लिने म्यानमारको सरकारी टोलीमा सहभागी भएर पहिलोपटक नेपाल पुगेका रहेछन् क्षत्री। त्यति बेला नेपालका पर्यटन मन्त्री प्रदीप ज्ञवाली थिए। क्षत्रीले 'हाम्रा बूढाबाबु गुल्मीको हो' भनेपछि 'म पनि गुल्मीको हो, जानुपर्छ' भनेका थिए रे ज्ञवालीले।

क्षत्रीका हजुरबा कमलापति ज्ञवाली नेपालबाट बर्मा आएका हुन्। कमलापतिका चार जना छोरा यतै जन्मिए। तिनका दुई छोरा बेलायती फौजमा भर्ती हुन भारतको दार्जिलिङ गए। गोर्खा रेजिमेन्टमा भर्ती भए र दोस्रो विश्वयुद्ध लड्न बर्मै आइपुगे।

जापानी र बेलायती सैनिकबीचको त्यो युद्धमा बर्माको राजधानी रंगुन ध्वस्त भएको थियो। बर्मामा मात्र करिब १४ हजार मान्छे मारिए, ४४ हजार घाइते भए। चौध हजारभन्दा धेरै हराए। त्यसरी हराउनेमा उनको आमातिरका हजुरबा पनि एक हुन्।

'हजुरआमा १०६ वर्षको उमेरमा बित्नुभयो,' क्षत्रीले १४ वर्षअघि निधन भएकी हजुरआमालाई सम्झँदै भने, 'दोस्रो विश्वयुद्धमा हराएका हजुरबाको ६३ वर्षसम्म बाटो कुरेर बस्नुभयो।'

यहाँ आएका नेपालीले सबभन्दा बढी दुःख त्यही जापानले बर्मा लिएका बेला भोग्नुपर्यो। परिवार छुट्टिए। कति बर्मामै मरे। कति भागेर नेपाल जान खोज्दा बाटोमै बिते। कति हराए, कति भारतसम्म पुगेर उतै बसे। कति भने बल्लतल्ल नेपाल पुगे।

अंग्रेजहरूले बर्मामा शासन गर्दा 'हिल स्टेसन' बनाएको पहाड पि उँ लिनमा सन् १९६० मा जन्म भएको हो, गणेश ज्ञवालीको। एसबी क्षत्रीको न्वारनको नाम यही हो। 

एस बी क्षत्री।

रंगुनबाट सात सय किलोमिटर परको उनको जन्मथलोलाई नेपालीभाषीहरू 'पिउँले' भन्छन्। अहिले पनि गर्मी छल्न चाहने बर्मेलीका लागि रोज्जाको पर्यटन गन्तव्य यही हो। नेपालीभाषीले बर्मामा आफू बस्ने ठाउँलाई आफ्नै नाउँ दिएका छन्। पिउँले नजिकका गाउँ हुन्, बरबटे, सिलाङ, झिलबस्ती, नयाँ बस्ती, गोराबारी।

'दोस्रो विश्वयुद्ध सकिएपछि बाले बिहे गर्नुभएछ। घरबाट करिब दुई सय किलोमिटर परको लासियोमा। मेरी आमा सुरूमा बाबाको साली हुनुहुन्थ्यो। पछि उहाँले सालीलाई पनि ल्याउनुभएछ,' विनोदी स्वभावका क्षत्रीले भने, 'गुन्द्रुक पकाउन पर्दैन, सालीलाई फकाउन पर्दैन। यो उखान पनि नेपालबाटै ल्याएका थिए हाम्रा पुर्खाले।'

'हामी ज्ञवाली भए पनि क्षत्री हुम् है, बाहुनबाट खसेका। हजुरबाले सायद क्षत्रीनी बिहे गरेर होला,' उनले अनुमान लगाए।

उनको परिवारमा जेठी आमातिरका एक भाइ, चार बहिनी गरी पाँच जना र आफ्नै तीन भाइ गरी आठ जना केटाकेटी थिए। उनीहरू दुई आमा र बासँगै सिलाङमा बस्थे।

'बाले फेरि अर्की बिहे गर्नुभयो,' हाम्रो कुराकानी सुनिरहेकी आफ्नी श्रीमती विद्यातर्फ हेर्दै क्षत्रीले बाल्यकाल सम्झिए, 'तीन गुँड भएपछि छुट्टभिन्न भयो। बा कान्छीआमासित सिलाङमै बस्नुभयो। जेठीआमालाई बाले 'पेन्सन' दिनुभयो। जेठीआमा आफ्ना सन्तान लिएर पिउँले सहर जानुभयो। मेरी आमाको भागमा बाको खेतबारी भएको बरबटे पर्यो। हामी तीन छोरा लिएर आमा बरबटे झर्नुभो।'

'अनि तपाईंको पढाइ नि,' मैले सोधेँ।

बर्मामा सन् १९६२ मा सैनिक शासन सुरू भएपछि यहाँको शैक्षिक स्तर खुस्किँदै गयो। पहिले बच्चैदेखि अंग्रेजी सिकाइने भए पनि सैनिक शासनपछि पाँच कक्षाबाट मात्र अंग्रेजी पढाइ सुरू हुन्थ्यो।

क्षत्री बरबटेमा खेतबारी गर्दै हुर्किए। बिहान राँगा जोत्यो, दिउँसो स्कुल गयो। साँझ गोरी गुरूमाको पाउ मिच्न गयो। उनको दैनिकी यस्तै थियो।

बेलायतले सन् १९४८ मा बर्मालाई स्वतन्त्र छाडेर गए पनि केही गोरागोरीहरू उता फर्कन मानेनन्। तिनलाई बर्माको हावापानी र बर्मेली मायाले यतै रोक्यो। तिनैमध्ये एक जना पाको उमेरकी गोरिनी क्षत्री पढ्ने स्कुलकी शिक्षिका थिइन्। उनले सिकाउने अंग्रेजीमा क्षत्रीको मन गढ्यो। पाँच वर्षजति तिनै गोरिनीको खुट्टा मालिस गरेर अंग्रेजी भाषा सिके।

'ती अंग्रेजका सन्तान बस्ने ठाउँलाई नै नेपालीले गोराबारी नाम दिएका होलान् है,' क्षत्रीलाई सोधेँ, 'बेलायत नफर्केका गोरागोरीका कोही-कोही सन्तान अहिले पनि बर्मामा होलान्?'

'छन् छन्,' उनले भने।

बर्मामा गर्नुपर्ने कामको सूचीमा अब अर्को एउटा काम पनि थपियो। बेलायतले छाडेर गए पनि बर्मा नछाडेका गोरागोरीका सन्तान भेट्ने।

'हामी तीन भाइले २४ कक्षा पढेम्,' रौसिए क्षत्री, 'सबै जना आठ, आठ, आठ क्लास। जोड्नुस् त।'

म फिस्सिएँ, फिस्स हाँस्नु के!

'दाजु आठ चढेपछि मोगोक जानुभयो, पत्थर खोज्न,' बर्माका १० प्रतिशतजति नेपालीभाषी रुबी, जेड, सफायर, निलमजस्ता अनेक नामका मणिमाणिक्य खोज्ने र बेच्ने काममा हिँड्छन्। त्यसले केही नेपाली परिवारलाई अर्बपति बनाइदिएको छ भने दर्जनौंलाई करोडपति। सयौं परिवारलाई लखपति र अरू सयौं परिवारलाई सडकपति।

'जसको भाग्य छ, त्यो मात्र चम्किने हो पत्थरमा, हाम्रो दाइको चम्केन,' दाजु मोगोक लागेपछि माइला छोरा क्षत्रीमा परिवारको दायित्व बढ्यो। आमालाई खेतबारी सघाउने र सानो भाइ हुर्काउने।

उनी खोरिया खन्थे। हलो जोत्थे। डल्ला फोर्थे। मकै, धान लगाउँथे। गोड्थे। काट्थे। थन्काउँथे। अर्मपर्म गर्थे। खेताला जान्थे। गोठाला जान्थे। खरले घरगोठ छाउँथे। यस्तै कामको चापले क्षत्रीले आठ कक्षापछि स्कुल छाडिदिए। खेतबारी नै थामेर बसे।

'बस्तीमा दुःख थियो, खानबस्नको हैन,' क्षत्रीले भने, 'पैसा हातै नपर्ने। 'क्यास फ्लो' नै नहुने।'

पैसा हात पार्न राति राति 'सेक्युरिटी गार्ड' को काम गरे उनले। दिनभर बरबटेमा खेतबारी स्याहार्ने, राति पिउँलेमा सेक्युरिटी गार्ड।

पिउँले फूलका लागि प्रसिद्ध छ। बर्मामा जताततै बौद्ध गुम्बा छन्। पुरानो काठमाडौंको भनाइजस्तै, मान्छेभन्दा मूर्ति धेरै, घरभन्दा मन्दिर धेरै। बर्मामा पनि मान्छेभन्दा बुद्धका मूर्ति धेरै छन् र घरभन्दा बौद्ध गुम्बा।

बुद्धलाई फूल चढाउने चलन असाध्यै धेरै छ। हरेक घरमा बुद्धका मूर्ति राखिएकै छन् र तिनमा हरेक दिन नयाँ फूल-पानी चढाउने गर्छन्। गाडीमा पनि फूलै राख्छन्। पसलमा पनि फूलैफूल।

रेल चढेर पिउँलेका फूल बर्माका सबै सहरमा पुग्थे, अझै पुग्छन्।

क्षत्रीले सागसब्जीभन्दा फूलबाट पैसा आउने निधो गरे। सेक्युरिटी गार्डको काम छाडे र लागे बारीमा नगद पार्ने फूल रोप्न- हलान्डिया फूल। त्यो फूलको यति धेरै व्यापार बढ्यो, बीउकै हाहाकार। नजिकका आफन्तले समेत हलान्डियाको बीउ आफन्तलाई नदिने। लुकाएर आफू मात्र लगाउने। क्षत्री फूलको बीउ खोज्दै खोज्दै ठूला सहरसम्म पुगे।

बाह्रै महिना पानी लाग्ने बारी छँदै थियो। जति पनि काम गर्ने जाँगर छँदै थियो। हातहातै पैसा पर्ने फूल लगाएपछि केही वर्षमै पिउँलेमा फूलको नम्बरी किसान भए, क्षत्री।

त्यसपछि उनले मोगोकबाट दाइलाई बोलाए। दाइको बिहे भयो। जन बढ्यो। बारीमा पसिना बढी बगे। अनि बढ्यो फूलको उत्पादन र व्यापार।

क्षत्रीलाई अंग्रेजी सिक्ने धुनले छाडेको थिएन। गोराका कोही न कोही सन्तानसित हरेक साँझ पिउँले पुगेर अंग्रेजी सिकिरहन्थे।

उनले २३ वर्षको उमेरसम्म फूलको खेतीपाती गरे। पैसा पनि भयो। फूल खेतीमै लाग्दा क्षत्रीले थाहा पाए किसानभन्दा हुनुपर्ने त व्यापारी रहेछ। पैसाको तराजु जहिले उस्कैमा धेरै जो ढल्किन्छ।

बस्तीमा हलो जोत्दा तालु माथिबाट हवाइजहाज उडेर गएको उनी देख्थे। मुन्टो बटारेर जहाज हेर्दै सोच्थे, 'यो जहाज जहाँ गएर ओर्लन्छ, त्यही ठाउँमा भविष्य खोज्न जाने हो म पनि।'

दाइभाउजू खेतीपाती गर्न सक्ने थिए। सघाउने आमा र भाइ थिए। गाउँको जिम्मा उनीहरूलाई छाडेर क्षत्री सहर छिरे, त्यो बेलाको राजधानी, रंगुन।

सुरूमा उनले गाडी चलाउन सिके। बर्मेली पाराको समाजवादी सरकारले त्यो बेला विदेशबाट नयाँ गाडी ल्याउन दिन्थेन। पुराना गाडी बिग्रिरहन्थे। मेकानिकको राम्रै माग थियो। यही देखेर उनी मेकानिक भए।

गाउँबाट ल्याएको पैसाले सहरमा कति पो थेग्थ्यो र? लाखौं मान्छेले हजार तरिकाले पैसा तान्ने बल्छी थापिरहेका हुन्छन् सहरमा। घरबाट ल्याएको पैसा सकिन थालेपछि एक छाक मात्र भात खान थाले उनले।

भात दोकानदारले उनको यो मर्का बुझेछ। निश्चित पैसा तिरेपछि दिउँसो दुई घन्टासम्म जति खाए पनि दिने भयो।

क्षत्रीले जुक्ति निकालेर एकदेखि तीन बजेसम्म खान थाले। यसो गर्दा बिहानको र साँझको छाक एकैचोटिमा टर्थ्यो। यस्तो अवस्थामा उनले घर फर्केर पैसा मागेनन्, 'स्वाभिमान' भन्ने चिज जो थियो।

उनी सहर पुगेपछि जहाज झर्ने विमानस्थल गइरहन थाले। कहिलेकाहीँ गोराहरू भेट्न रेल्वे स्टेसन पनि जान्थे। अलमल परेका गोरासँग एयरपोर्ट र रेल्वे स्टेसनमा अंग्रेजी बोल्थे। कसैलाई ट्याक्सी मिलाइदिन्थे, कसैलाई होटल। कसैलाई सहर घुमाइदिन्थे, कतिलाई पैसा साट्न मद्दत गर्थे।

समाजवादी सरकारले विदेशी चुरोट र मदिरामा बन्देज गरेको थियो। तर खाने मान्छेको कहाँ कमी थियो र? पर्यटकले ल्याएका एक बोतल ह्विस्की बेच्दा ८-१० डलर कमाई हुन्थ्यो।

रंगुनमा पनि विस्तारै पैसा फल्न थाल्यो। यही क्रममा सन् १९८७ को कुनै एकदिन क्षत्री गोरालाई पुर्याउन विमानस्थल गएका थिए। बंगलादेशको जहाज बेलामा आएन। जहाजका कर्मचारी, होटल फर्किन चाहने पर्यटक र ट्याक्सी ड्राइभर सब एकअर्कासँग भाषा नबुझेरै बाझाबाझ गरिरहेका रहेछन्। क्षत्रीको अंग्रेजी भाषाले त्यहाँ कमाल गरिदियो। उनले गरेको मध्यस्थतामा सबै जनाको चित्त बुझ्यो।

एकाधिकार गरिरहेका 'एयरपोर्ट ट्याक्सी'वालाहरूले क्षत्रीको भाषा दख्खल देखेर प्रस्ताव गरे, 'तिमीले चाहे एउटा गाडी किनेर हाम्रो समितिमा छिराऊ। हाम्लाई भाषाको अलमल पर्दा सहयोग गर। गाडी बरू हामी सस्तैमा मिलाइदिन्छौं।'

उनी घर गए। फूल बेचेर जम्मा पारेको पैसा धुरीखम्बा खोपेर लुकाइएको थियो। त्यति बेलाको ५० हजार च्याट रहेछ। त्यही सोहोरेर रंगुन आए। गाडी किने। आफ्नै ट्याक्सीमा पर्यटकलाई होटल पुर्याइदिने, सहर घुमाइदिने र लामो दुरी लगिदिने गर्न थाले।

जिन्दगीले रंगुनमा पनि रफ्तार लियो।

गाडी किनेको तीन महिनामै सरकारले रंगुनमा ३० वर्ष पुराना गाडी चलाउन नपाइने नियम ल्याइदियो। क्षेत्रीको सपना र आम्दानीमा ब्रेक लाग्यो। उनले रंगुनबाहिर लगेर आधा दाममा गाडी बेचे।

गाडी बेचेको १० दिनमै समाजवादी सरकारले नयाँ नियम ल्यायो। पुराना २५, ३५ र ७५ दरका बैंक नोट नचल्ने। उनीसँग गाडी किन्नेले तिनै दरका नोट दिएको थियो।

यस्तै गर्थ्यो, बर्माको सैनिक सरकार। त्यसअघि पनि 'बर्मेली मूलको समाजवादी बाटो' भन्दै दुईपटक आममानिससँग भएका बैंक नोट नचल्ने बनाइदिएर सबैलाई बराबरीमा झारेको थियो। उक्त निर्णयपछि थुप्रै भारतीय र चिनियाँ व्यापारी आफ्नै देश फर्केका थिए।

उता, पिउँलेमा फूलका बिरुवामा विकासे कीरा लाग्न थाले। फूलको व्यापार घरखर्च चलाउन पनि धौधौ हुने गरी बिग्रिँदै गयो।

'अरे यार मान्छे, म शून्यमा झरेँ,' क्षत्री मज्जाले हाँसे, 'जानेको टुरिस्ट गाइडको काम थियो। त्यही गरेर गुजारा चलाएँ।'

त्यति बेला नेपालमा 'पिसकोर' स्वयंसेवक भएर अमेरिका फर्केका जोडीले स्थापना गरेको टुर कम्पनी 'जर्निज एड्भेन्चर्स ट्राभल'ले नेपालमा पर्यटक पठाइरहेको थियो। पर्यावरणमैत्री र सामुदायिक पर्यटनका लागि प्रसिद्ध 'जर्निज ट्राभल' ले बर्मामा पनि पर्यटक पठाउने भएछ। बर्मा घुमेर गएका कुनै पर्यटकले अंग्रेजी भाषामा पोख्त क्षत्रीको नाउँ 'जर्निज ट्राभल' लाई सिफारिस गरिदिएछन्।

'जर्निज'ले समूह-समूहमा पर्यटक पठाउन थाल्यो। तिनलाई बर्मा घुमाउने जिम्मा क्षत्रीको थियो। उनले विमानस्थलनजिकै डेरा लिए र अघोषित 'ट्राभल एजेन्ट' भए। यी सबै कामका लागि 'गाइड लाइसेन्स' चाहिन्थ्यो, जुन उनीसँग थिएन।


एसबी क्षत्रीको होटलमा विदेशी पर्यटकहरू।

पर्यटन व्यवसायी एसबी क्षत्री पर्यटकलाई यसरी हलो जोत्ने अनुभव पनि गराउँछन्।

क्षत्रीलाई कुन दिन कसले सरकारमा सुट्के लाइदेला भन्ने पीर परिरहेको बेला थियो। नेपाली मूलका सैनिक कर्नेल टंकध्वज नेपाललाई सरकारले पर्यटन विभाग प्रमुख बनाएर पठायो। खासमा टंकध्वज नेपाल सेनामै माथि जान सक्थे। बर्मेली नभएकै कारण उनी सरकारी कोपभाजनमा परेर पर्यटन विभाग आइपुगेका थिए।

उनको सरुवा क्षेत्रीका लागि भने गाइड लाइसेन्स पाउने बाटो बन्यो।

'गुहार माग्न गएँ। गुरुबा! म गोरा घुमाउने गर्छु। सरकारी कागज छैन। गाइडमा रेकमेन्डसेन गरिदिनुपर्यो,' क्षत्रीले बिन्ती बिसाए।

बर्मामा सैनिकको बोली नै कानुन हुन्थ्यो। क्षत्री लाइसन्सवाला टुरिस्ट गाइड बने। उनको जीवनले फेरि रफ्तार लिन सुरू गर्यो। अफिस खोले। आमा र दाजुको परिवारलाई रंगुन बोलाए।

पर्यटन फाप्दै थियो। यसैबीच सन् १९८८ मा बर्मामा प्रजातान्त्रिक आन्दोलन चर्कियो। हजारभन्दा बढी मान्छे मारिए। सेनाले प्रजातान्त्रिक आन्दोलन दबायो। पश्चिमा देशले आफ्ना नागरिकलाई बर्मा नजान सल्लाह दिए। पर्यटक आउन छाडे। क्षत्रीको व्यवसाय डुब्यो।

'फेरि शून्यमा झरियो,' क्षेत्रीले थपे, 'बाँच्न त पर्यो।'

उबेला समाजवादी सरकारले एक दिनमा एउटा गाडीलाई २४ लिटर मात्र इन्धन उपलब्ध गराउँथ्यो। मान्छे दिनभर पेट्रोलपम्पका अगाडि गाडी राख्थे। इन्धनको कालोबजारी थियो।

क्षत्रीले जुक्ति निकाले। लाइनमा बस्न नचाहने ठूलाबडाका गाडीलाई पेट्रोलपम्पको लाइनमा राखिदियो। दिनभर घस्रिएपछि पाइने तेल भाग लगायो, साहुलाई आधा आफूलाई आधा। आफ्नो भागको तेल उनी कालो बजारमा बेच्थे।

दुःख परे पनि क्षत्रीले अंग्रेजी सिक्न भने छाडेनन्। त्यही बेला भर्खरभर्खर बर्मामा आएको कम्प्युटर र हिसाबकिताब राख्न 'बुक किपिङ' पनि सिके। आफ्नो सीप बढाउनुपर्छ भन्ने निकै ख्याल थियो उनलाई।

बर्मामा अनेक प्राकृतिक स्रोतमा इन्धन प्रमुख छ। सन् १९९० को सुरू-सुरूमा संसारका नाम चलेका ठूल्ठूला पेट्रोल कम्पनी उत्खनन् गर्न आए। 'हेलिकप्टर लिएर गाउँ-गाउँ, जंगल-जंगल गएर सर्वे गर्थे,' क्षेत्रीले ती दिन सम्झिए।

क्षत्रीको एयरपोर्ट जाने क्रम छुटेको थिएन। अंग्रेजी जानेको मान्छे पाउनै मुश्किल बेला थियो। क्षत्रीलाई पेट्रोल उत्खनन् गर्ने एउटा कम्पनीका व्यवस्थापकले छाड्दै छाडेन। उनी त्यहाँ दोभाषे भए। आवश्यक सरकारी कागजपत्र मिलाइदिन थाले।

गाडी चलाउने, बिग्रे बनाउने, पर्यटनको अनुभव भएको, अंग्रेजी जानेको, सरकारी कागजपत्र मिलाइदिन सक्ने उनको सीप देखेका विदेशीले बुझे, 'क्षत्री भयो भने काम सजिलो हुन्छ।'

न्वारनको नाम गणेशलाई परिवर्तन गरेर क्षत्रीका बुबाले स्कुल पढ्ने बेला राखिदिएको 'सीपबहादुर' नामको यहाँ काम आयो।

मेसिनरीमा रूचि भएका क्षत्रीले हेलिकप्टरका पार्टपुर्जाबारे केही दिनमै चाल पाइहाले। पहिलो महिनाको तलब भनेर कम्पनीले दियो, दुई हजार अमेरिकी डलर। रन्थनिए, क्षत्री। चिमोटे आफैंलाई।

त्यसपछि कम्पनीले दियो, घर। सेक्रेटरी। गाडी। ड्राइभर।

हवाइ उड्डयनमा त रेडियोमार्फत् सञ्चार गर्नुपर्ने। त्यो पनि क्षत्रीले टिपिहाले। त्यसमा पनि सामान्य बिग्रिए, बनाउन सक्ने भए। छ महिनाभित्र उनी आफ्नै सीपको बलमा 'असिस्टेन्ट म्यानेजर' भए। सातवटा हेलिकप्टरका मुख्य हर्ताकर्ता।

उनी गोराको संगतमा गल्फ मैदान पनि जान थाले। गल्फ खेल्न सिके।

'बर्मामा टिक्ने हो भने गल्फ खेल्नुपर्छ, जर्नेलहरू त्यहीँ हुन्छन्। शासन सत्ताको बागडोर तिनैसँग छ। सब सूचना गल्फ कोर्समै पाइन्छ,' राष्ट्रसंघका एक पूर्व हाकिमले मलाई भनेको सम्झेँ।

गोरालाई संगत दिन उनले साँझका 'पार्टी ज्वाइन' गर्नुपर्यो। 'वाइन पिउन सिकेँ, चिज खान सिकेँ,' क्षत्रीले सुनाए।

सेनाका गल्फकोर्स, अमेरिकन र ब्रिटिस क्लबको पेय, अनि हेलिकप्टरको व्यवसाय- क्षत्रीको पहुँच, उठबस, खानपिन, कुराकानी सबै सत्ता नजिककासँग हुन थाल्यो।

सन् १९९२ मा फेरि पर्यटनका लागि बर्मा खुल्यो। क्षत्रीले ट्राभल कम्पनी खोले। 'पहाडिने मान्छे, एड्भेन्चर टुरिजममा मन,' क्षत्रीले सुनाए, 'राम्रा र बलिया गाडी किनेँ, अनि लागेँ गोराहरूसँग पहाड घुम्न।'


बर्मामा त्यो समय गाडी किन्न कि सेनाको जर्नेल हुनुपर्थ्यो कि राजदूत कि तिनको विश्वास जितेको बर्मेली।

सन् १९९० को चुनावमा विजयी भएर पनि आङ साङ सू चीको पार्टीलाई सत्ता हस्तान्तरण नगरेको भन्दै बर्मेली सेनाको युरोपेली र अमेरिकी संसदमा विरोध भयो। बर्मामाथि नाकाबन्दीका कारण बर्मामा लगानी गरेका त्यताका कम्पनीहरू फिर्ता जाने भए। उनको हेलिकप्टर पनि युरोप फर्कियो।

क्षत्रीले अब फेरि शून्यमा झरेँ भन्छन् कि भनेको भनेनन्, 'जागिर गयो, तर आफ्नै टुरिजम् बिजनेस चलिरह्यो।'

उनले अब रंगुनमा जग्गा किन्न थाले। घर बनाउन थाले। सुखका दिनसँगै सबै परिवार पिउँलेबाट रंगुन आए।

'बिहेको कुरै निकाल्नुहुन्न त,' जिस्काउने पाराले सोधेँ।

'स्पष्ट थिएँ म,' क्षत्रीले जवाफ फर्काए, 'कि कामियाब भएर मनपरेकी बूढी बिहे गर्छु, सकिएन भने धनीकी छोरी बिहे गर्छु। त्यसैको गुलामी गरेर बस्छु।'

मोगोक नेपालीभाषीको सबभन्दा बाक्लो बस्ती भएको म्यानमारी सहर हो। मोगोकका पत्थर व्यापारी यामबहादुर पोख्रेलकी छोरी विद्या भारतको बम्बईमा 'टुरिजम' पढ्थिन। बर्माको 'रुबी'लाई बम्बई लगेर बेच्ने र बम्बईको 'हिरा' बर्मा ल्याएर बेच्ने गर्दा केही भारतीय र बर्मेली धनी पत्थर व्यापारीबीच पारिवारिक सम्बन्ध छ।

साथीभाइको सुरमा विद्यालाई भेट्न क्षत्री बम्बई पुगे। मनपराए। पर्यटनमा लागेका क्षत्रीलाई 'टुरिजम' पढेकी जोडा मिल्यो।

सन् १९९५ मा उनीहरूले बिहे गरे।

एस बी क्षत्री र श्रीमती विद्या।

बिहेपछि क्षत्री पर्यटन व्यवसायमै लागे भने विद्या हिरा व्यापारमा लागिन्। पत्थरको व्यापार विश्वासमा अडेको हुन्छ। खास ग्राहक को हो, पत्तै हुँदैन।

सन् १९९७ को एकदिन बर्मेली बिचौलियाले विद्याबाट दुई करोड च्याटको हिरा लिइन्, 'ग्राहक राम्रो छ, किन्छ' भन्दै। तर न पैसा दिइन्, न सामान फर्काइन्।'

'आफूलाई अरूले धोका दिए पनि आफूले अरूलाई धोका दिन भएन। अपार्टमेन्ट बेचेँ। पाँचवटा गाडी बेचेँ। घडेरी बेचेँ। भएका सम्पत्ति सबै सकेर ऋण तिरेँ,' क्षत्रीले बल्ल यसपालि भने, 'यार! अनि फेरि झरेँ शून्यमा।'

क्षत्रीसँगैको सोफामा बसेकी विद्यालाई भने दुई करोडको नोक्सानले धेरै कुरा सिकायो। २२ दिने छोरा च्यापेर सुत्केरी विद्या ती बिचौलिया महिलाको पछि लागिन्। पैसा उठ्ने छाँट नदेखेपछि अदालत गइन्।

'अदालतको भाषा जानेँ। कानुन जानेँ,' विद्याले थपिन्, 'कसरी कमाउने र कसरी ऋण तिर्ने भनेर अनेक उपाय निकाल्न बाध्य भइयो।'

सन् १९९६ म्यानमार भ्रमण वर्ष - क्षत्री पर्यटक बोलाउन युरोप, अमेरिका जान थाले। विद्या काखेछोरा च्यापेर हिराकै व्यापारमा लागिन्।

हिराले पुर्‍याएको क्षति हिरा व्यापारबाटै सन् २०१३ मा पूर्ति भयो। त्यसपछि विद्याले त्यो कारोबार छाडिन्। क्षत्री भने पर्यटन व्यवसायमा लागिरहे।

उनी सन् २००७ मा होटल खोल्न पुटाओ पुगे। पुटाओ बर्माको एक मात्र हिउँ पर्ने पहाड हो। त्यहीँबाट हिन्दकुश हिमालय क्षेत्र सुरू हुन्छ। बर्मामा पनि ट्रेकिङ रुट छन्, हिउँले ढाकिएका पहाड छन्, तिनमा चढ्न सकिन्छ भनेर विदेशी र बर्मेलीलाई थाहा दिए क्षत्रीले।

उता उनको ट्राभल कम्पनीसँग अस्ट्रेलियाली कम्पनीले साझेदारी गर्न चाह्यो। उनले ४० प्रतिशत शेयर आफूसँग राखेर अस्ट्रेलियाली कम्पनीलाई ट्राभल चलाउन दिए। समूहका समूह पर्यटक ल्याएर कम्पनीले नाफा गर्दै गयो। त्यसको हिस्सा क्षत्रीले पाउँदै गए। जीवनमा फेरि बहार आयो।

क्षत्रीको रूचि वातावरणमैत्री र दीगो पर्यटनमा हो। 'सफा तातो खाना, आरामदायी बिछ्यौना र नुहाउँदा चिसो, तातो पानी अनि सफा शौचालय, त्यत्ति मात्र गर्ने हो पर्यटकका लागि, अरू वरिपरिको वातावरण केही मास्नु-बिगार्नु हुँदैन,' क्षत्रीले पर्यटनको मन्त्र सिकाए।

'यही टुरिजम सिक्न म नेपाल गइरहेँ,' म्यानमारको पर्यटन मन्त्रालयका सल्लाहकार क्षत्रीको अनुहार खुसी र सन्तोषले मुजा पर्यो।

सन् २०१४ मा कलाउ भन्ने पहाडी ठाउँमा उनी अर्को होटल खोल्न पुगे। नेपालीभाषीको बाक्लो बस्ती भएको कलाउको पहाडले नेपाली पहाडकै झल्को दिन्छ। होटलमा लगानी गर्दै जाँदा ६० लाख अमेरिकी डलर खर्च भयो। आफूले मात्र धान्न सकिन्न होला भन्ने भएपछि नेपालीभाषी अन्य दुई जना रुबी व्यापारीलाई साझेदार बनाए।

तीस एकडमा फैलिएको होटलको क्षेत्रभित्रै गाउँले बस्ती बसाए। खेतबारी जोत्न खन्न मिल्ने बनाए। गाई, गोरु, भैंसी, बाख्रा पाले। अर्गानिक फार्मिङ गरे। अहिले त्यहाँ जाने पर्यटकले मौसमअनुसार किसानको जीवन बाँच्न पाउँछन्। गोरु लगाएर जोत्छन्। धान रोप्छन्। साग गोड्छन्, मकै भाँच्छन्।तिनैले टिपेका तरकारी, तिनैले मारेका कुखुरा पर्यटकलाई खुवाउँछन्। पर्यटक दंग, उनी पनि।

'अब त्यहाँ घोडा राख्ने तबेला बनाउँदै छु,' क्षत्रीले नयाँ योजना सुनाए, 'पहिले पहिले हाम्रा पुर्खा पहाडमा घोडामा यात्रा गर्थे। अंग्रेज शासनकालमा गोराहरू घोडा चढेरै त्यो कलाउको बाटो हिँड्ने रहेछन्।'

क्षत्री दम्पतीले दुई वर्षअघि बर्माकै सबभन्दा धेरै पर्यटक पुग्ने इन्ले ताल किनारमा फेरि अर्को होटल खोले। कलाउबाट दुई-तीनदिने 'ट्रेकिङ' गरेर इन्ले तालमा झरे पनि भयो। इन्लेबाट उक्लँदै कलाउ पुगे पनि भयो।

अर्को होटल खोल्ने सुरमा लागेका क्षत्रीले पिउँलेबाट लाश्यो जाने सडकमा नेपालीको बस्ती भएकै पहाडी ठाउँमा जग्गा किनिसकेका छन्।

'त्यहाँ जातीय अधिकारका लागि लडिरहेका सशस्त्र विद्रोहीले बेलाबेला आक्रमण गर्ने भएकाले अहिल्यै होटल खोल्न मिल्दैन,' क्षत्रीले सुनाए, 'त्यो ठाउँमा भविष्यमा होटल बनाउँदा हरियाली होस् भनेर रूखबिरुवा हुर्काइरहेका छौं। एकदिन त विद्रोह सकिएला अनि वातावरणमैत्री होटल खोल्ने हो।'

क्षत्रीका अरू योजना पनि छन्। बर्माका उत्तरी पहाडमा संसारकै उत्कृष्ट साहसिक कार, मोटरसाइकल र साइकलमा 'अफरोड ड्राइभिङ र बाइकिङ' रुटहरू बनाउने। बर्माकै पहिलो जीप लाइनिङ र बन्जी जम्पिङ स्थलहरू बनाउने, रक क्लाइम्बिङ र प्याराग्लाइडिङका लागि डाँडाहरू खोज्ने।

उनले भनेका साहसिक पर्यटनको फेहरिस्त दोहर्याएर पढ्दा पो थाहा भयो, करिब दुई हजार किलोमिटर सामुद्रिक किनारा भएको देश म्यानमारमा जन्मेर पनि उनको कुनै योजना समुद्रसँग जोडिएको छैन। सबै पहाडी भूभागसँग जोडिएको छ।

साँच्चै 'पहाडिने' क्षत्री।

(पहिलोपटक सेतोपाटी अनलाइनमा प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६)

Wednesday, June 12, 2019

नेपालीभाषी बर्मेली पत्रकारू

 'को कान्ता।'

समाचारमा रूचि हुने धेरै बर्मेलीले उनलाई यही नामले चिन्छन्।

नाम कमलकान्त लामिछाने हो। तर बर्मेलीलाई उच्चारण गर्न सजिलो हुने नाम बनाएका छन्, कान्ता।

नाम अगाडिको 'को' चाहिँ बर्मामा सम-उमेर वा आफूभन्दा दुई/चार वर्ष जेठा पुरुषलाई आदर गर्दा जोडिन्छ, 'दाइ' भनेजस्तै।

'तपाईंको नाम 'कान्ता' को नेपाली अर्थ त सुन्दर स्त्री वा प्रेमिका हुन्छ नि,' मैले भेट्नासाथ जिस्क्याएँ।

नेपाली बोल्दा कतै बिग्रिने पो हो कि भन्दै तौली-तौली बोलिरहेका लजालू स्वभावका कान्ताले मुस्कुराउँदै भने, 'हो र दाइ?'

३४ वर्षका कान्ताले मलाई नभेट्दै फोनमा पनि 'दाइ' भन्न थालिसकेका थिए। त्यही बर्मेली 'को' को सिको हुनुपर्छ।


बर्मामा सशस्त्र समूहहरूको सबभन्दा धेरै गतिविधि हुने शान प्रदेशको लाश्योबाट द्वन्द्वका समाचार, तस्वीर र अडियो/भिडियोहरू सञ्चारमाध्यममा पठाइरहने पत्रकार हुन् कान्ता। त्यसैले समाचारमा रूचि राख्ने बर्मेलीबीच कान्ता चर्चित छन्।

सशस्त्र विद्रोहले आम मान्छेको जीवनमा कसरी भय र निराशाको जग बसाल्छ? मन मस्तिष्कमा डर-त्रास भरिदिएपछि मान्छे कसरी लागुपदार्थमा फस्छ, र त्यसबाट युद्ध व्यापारीहरूले कसरी फाइदा लिन्छन्?

कान्ताका थुप्रै रिपोर्टिङ युद्ध र लागुपदार्थसँग सम्बन्धित छन्।

सन् २०१८ मा उत्कृष्ट पत्रकारिता गरेको भन्दै कान्ताले अमेरिकी सरकारको एजेन्सी 'फर ग्लोबल मिडिया' नामक संस्थाबाट दुई हजार पाँच सय अमेरिकी डलर नगदसहितको 'डेबिड ब्रुक अवार्ड' पाए। पुरस्कार लिन वासिङटन डिसी पुगेर भर्खरै फर्केका कान्ताबारे बर्माका सञ्चारमाध्यममा चर्चा भइरहेकै छ।

प्रेस स्वतन्त्रता सूचीमा एक सय ३८ औं नम्बरमा रहेको बर्मा पत्रकारका लागि असुरक्षित देशमध्ये एक हो। केही वर्ष अघिसम्म कुनै पनि समाचार, लेख, रचना 'सेन्सर' गराएर मात्र छाप्नु पर्थ्यो। अहिले प्रकाशन/प्रशारण अगाडि सेन्सर त छैन, तर पछि के हुने हो, भर हुँदैन।

कान्ताका रोयटर्स समाचार संस्थामा काम गर्ने दुई साथी पाँच सयदिन जेलमा बिताएर भर्खरै छुटेका छन्। त्यो पनि सफाइ पाएर होइन। राष्ट्रपतिले बर्मेली नयाँ वर्षको उपलक्ष्यमा कैदीहरूलाई बाँकी सजाय भुक्तान गर्न नपर्ने गरी आममाफी दिएकाले।

त्यसमाथि उत्तरी शान प्रदेशमा पत्रकारिता अझै अप्ठ्यारो छ। स्वतन्त्र जातीय राज्यको माग गरी पाँच-पाँच वटा सशस्त्र समूह राष्ट्रिय सेनासँग मात्र हैन आफू-आफूमै पनि लडिरहेका छन्।

कान्तालाई कहिले कुन समूहले, कहिले कुन समूहले आफ्नाविरुद्ध समाचार लेखेको आरोप लगाइरहन्छ।

'मेरा धेरै समाचार युद्धका चपेटामा परेका यहाँका मान्छेले पाएका दुःखका हुन्छन्। त्यसमा कहिले कुनै सशस्त्र समूह त कहिले सरकारी सुरक्षाकर्मी मुछिइहाल्छन्। अनि त्यस्तो आरोप लागिहाल्छ नि,' यसो भन्दै गर्दा कान्ता ढुक्क देखिन्छन्।

कान्ताको पछिल्लो चिन्ता अर्कै छ। उनी जुन घर भएको कम्पाउन्डमा डेरा गरेर बस्छन्, अहिले त्यही कम्पाउन्डमा 'पलाङ राज्य स्वतन्त्र सेना' नामक सशस्त्र समूहले कार्यालय राखेको छ। त्यसैले अन्य जातीय सशस्त्र समूहहरू 'शान स्टेट प्रगितिशल आर्मी,' 'स्वतन्त्र कचिन आर्मी,' 'शान स्टेट आर्मी,' राष्ट्रिय सेनाले कतै यो कान्ता पलाङको मान्छे त होइन भन्ने शंका गरेका छन्।

पहिले 'रेडियो फ्री एसिया'मा सँगै काम गरेका कान्ताका हितैषी च स लिनले मलाई सुनाए, 'एकदम जोखिम ठाउँमा बसेर द्वन्द्वको रिपोर्टिङ गरिरहेकाले उसको समाचारमा मान्छेको चाख छ। तर उसलाई केही हुने हो कि भन्ने डर लागिरहन्छ।'

केही महिनाअघि मात्र कान्ताले एक सशस्त्र समूहका नाइकेले सर्वसाधारणमाथि गरेको ज्यातदतीको समाचार पठाए। सडकमा ढाट राखेर मनपरी ट्याक्स (चन्दा) उठाउने सशस्त्र समूहलाई एक जना गाउँलेले चन्दा दिने बेलामा गलफती गरेछन्।

ती नाइकेले जानीजानी ती गाउँले सवार मोटरसाइकललाई गाडीले हानेर धन्न मारनेन्। कान्ताको त्यो समाचार प्रकाशित भएपछि, ती सशस्त्र समूहका कमान्डरले कान्तालाई नै भौतिक आक्रमण गर्ने धम्की दिए।

कान्ता दुई साता विस्थापित भए। लाश्योबाट करिब नौ सय किलोमिटर परको रंगुन सहर गएर सञ्चारमाध्यमको शरणमा बसे।

'बर्मामा मैले अरु त कोही नेपालीभाषी पत्रकार देखिनँ। तपाईं कसरी यो पेशामा लाग्नुभयो?' मैले सोधेँ।

कान्ता खासमा नेता हुन चाहन्थे।

'ठूल्दिदीको पार्टी नेशनल लिग फर डेमोक्रेसीमा लागेर पनि हिँडेको हो। तर जुन काम गर्न पार्टीका नेतालाई धेरै समय लाग्थ्यो, त्यही काम एउटा पत्रकारले छिटो गर्न सक्ने देखेँ। त्यसैले यसमा लागेँ।'

बर्मेली नेपालीहरूले नेता आङसाङ सूचीलाई 'ठूल्दिदी' भन्छन्। सर्वसाधारण बर्मेली पनि आङसाङ सूचीलाई 'आमा' वा 'दिदी' नै भन्न रुचाउँछन्।


नेताले गर्न नसक्ने तर पत्रकारले गर्न सक्ने के काम होला भन्ने लाग्यो।

उनले 'उपमा' दिए।

बर्मेली भाषामा उदाहरणलाई उपमा भनिन्छ। पाली भाषाबाट सापट लिइएका धेरै शब्द बर्मामा प्रयोग हुन्छ।

'यहाँ कतिले नागरिकता पाएका छैनन्। नेतालाई भन्यो भने महिनौं लाग्छ। अझ सरकारी अधिकारीलाई भने वर्षौं लाग्छ। उनीहरू माथि-माथि भन्दै केन्द्रसम्म पहिले निवेदन पुर्‍याउँछन्। त्यसपछि माथिको आदेश कुरेर बस्छन्। त्यो आदेश आएपछि मात्र काम बन्छ। मैले त्यस्ता समाचार लेखेर राष्ट्रिय सञ्चारमाध्यममा आएपछि तुरुन्तै नागरिकता बनेको उदाहरण छ।'

कान्ता ठाउपो, लाश्योमा जन्मेका हुन्। कान्ताका बुबा बर्मेली सेना थिए। सेनाको क्वार्टरमै यिनको जन्म भयो। सैनिक विद्यालयमै अध्ययन गरे।

'नेपाली बस्तीमा भए पो नेपाली बोल्न सिकिन्थ्यो। सैनिक ब्यारेकमा हुर्केँ। नेपालीभाषी साथी भएनन्। मेरो भाषा नै बर्मेली भयो,' कान्ताले पत्रकारितामा आउने एक मात्र नेपालीभाषी हुनुको अर्को कारण खोले, 'यहाँ पत्रकारिता गर्न बर्मेली भाषा राम्रो हुनुपर्‍यो। त्यसले पनि अन्य नेपालीभाषी पत्रकारितामा नआएका हुन् कि?'

अर्को त रूचि र साहसको कुरा पनि हो। राजनीतिका कुरा गरेको सैनिक शासनले देखी नसहने बेला थियो। अहिले पनि छ।

कान्ताले मलाई अर्थ्याए, यहाँका अल्पसंख्यक नेपालीभाषीलाई राजनीति र समसामयिक घटनाक्रममा रूचि लिइयो भने कुन दिन जेल परिन्छ कि, देशबाट लखेटिनुपर्छ भन्ने त्रासले सँधै गाँजिरहन्छ।

कान्ताका बुबा नेपालीभाषीको बाक्लो बस्ती भएको पहाडी भाग टाउँज्जीका हुन्। सैनिकमा भर्ति भएपछि उनी श्रीमतीको माइती गाउँ लाश्योमा काम गर्न पुगे र उतै बसे। कान्ताका बुबा दम रोगले बितेको १२ वर्ष भयो। आमा बितेको २४ वर्ष। दुई दाजु र एक दिदीका कान्छा भाइ कान्ताले दस वर्ष छँदै आमा गुमाएका थिए।

'आमा बितेसँगै घरमा काल पस्यो दाइ,' कान्ताले परिवारमा आएको वियोगको कथा बाँडे।

सानैमा पेटको विरामीले थला परेका उनका जेठो दाइलाई डाक्टरले गलत औषधि र सुई दिएछन्। गलत औषधिको परिणाम कान्ताका दाइलाई मस्तिष्क पक्षघात भएछ।

कान्ताले दस वर्षसम्म ती बिरामी दाइको सेवा गरेछन्।

'खाना खुवाउने, दिशा-पिसाब सोहोर्ने, नुहाइधुवाइ सबै गरिदिनुपर्थ्यो,' उनले सुनाए।

दाइ बुबा बित्नुभन्दा चार वर्ष अगाडि बितेछन्। त्यसअघि नै कान्ताकी दिदी मुटुरोगले बितेकी थिइन्।

आमा, दिदी, दाइ र बुबाले पालैपालो उनलाई छाडेर गए। सबैको उपचार खर्चका लागि उनले घर बेच्नुपर्‍यो।

कान्ता आफैं पनि शारिरीक अपांगतासँग जुधिरहेका छन्।

उनको गोलीगाँठा नजिकबाट खुट्टा फर्किएको छ। पैतालाले टेक्न मिल्दैन। उनी उल्टो पट्टीबाट टेक्छन्।

'२५ वर्षअघि ३० हजार च्याटमा किनेको घरबारी थियो। सबैको उपचार खर्च जुटाउन १० लाख च्याटमा बेच्नुपर्‍यो,' कान्ताले पीडा पोखे, 'अहिले त त्यो घरलाई चार सय लाख च्याट पर्छ। खासमा सुखी हुन केही चाहिँदैन। घर परिवारमा कोही बिरामी नभइदिए पुग्छ। घरमा दीर्घरोग पसेपछि दु:खले एकपछि अर्को गाँज्दै लानेरहेछ।'

'बुबाको पेन्सन आउँदो हो नि त सेनाबाट?' उनको आर्थिक स्थितिबारे थप उत्सुक भएँ।

'बुबा बाँचुञ्जेल आएको पेन्सन उहाँकै उपचारमा खर्च हुन्थ्यो,' कान्ताले बिरामी परिवारको कथा दुई दसकसम्म भोगेका छन्।

'पहिले-पहिले धेरै नेपालीहरू बर्मेली सेनामा भर्ती हुन्थे। अहिले कम हुँदै गएका छन् है,' मैले प्रसंग मोडेँ।

'दुई सय जति छन् होला गोर्खालीहरू पल्टनमा। पहिलेजस्तो गोर्खालीलाई सेनाले भर्ती पनि लिँदैन र गोर्खालीहरू पनि जाँदैनन्,' कान्ताले कारण खोले, 'अन्य जातीय समूहहरूले ससश्त्र समूह बनाएपछि बर्मेलीमा अन्य जातिको विश्वास घट्दै गयो। गोर्खालीसँगै अन्य जाति विशेषका पल्टनहरू तीस वर्ष अगाडि खारेज गरिए। सेनामा बर्मेलीको मात्र पदोन्नती भयो र संख्या पनि बर्मेलीका मात्र थपिए।'

किशोर वयसम्म सैनिक ब्यारकेमा बिताएका कान्ताले गोर्खाली भएकाले विभेद भोग्नुपरेको महशुस गरेनन्।

'हाम्री आमाले पकाएको सेलरोटी सैनिक अधिकृतहरूले खुब रुचाउँथे,' उनले पुराना दिन सम्झिए।

उनका माइला दाइको भोगाइ भने भिन्न छ।

कान्ताका माइला दाजुले बाबुको बाटो समातेका थिए। बर्मेली सेना भए। स्नातकोत्तरसम्म अध्ययन गरेका उनी हवल्दारभन्दा माथिल्लो पदमा पुगेनन्। पटक-पटक अनुरोध गर्दा उनले चाहेको लाश्योमा सरुवा पनि भएन। विभेदमा परेको महशुस गरी दस वर्ष काम गरेपछि सैनिक जीवन छाडिदिए।

सेनाबाट बाहिरिएपछि दाइले भिक्षु जीवन ग्रहण गरे। बौद्धमार्गी देश बर्मामा नेपालीभाषी बर्मेलीहरू पनि हिन्दु धर्म छाडेर बौद्धमार्गमा लाग्नेहरू बढ्दै गइरहेका छन्।

कान्ताका माइला दाजु अहिले मोगोकको बौद्ध बिहारमा बस्छन्। 'पाली' भाषा अध्ययन गरिरहेका छन्।

'सेनामा अफिसर हुन नपाएपछि र एकपछि अर्को परिवारको सदस्य गुमेपछि दाइ मानसिक रुपमा कमजोर हुनुभयो,' कान्ताले दाइ भिक्षु हुनुको कारण व्याख्या गरे।

रोग, शोक र गरिबीको पारिवारिक वियोगले कान्ताको अध्ययन अगाडि बढेन। दस कक्षा पास गरेपछि क्याम्पस जानुभन्दा घरमा आर्थिक भरथेग गर्नतिर लागे। तरकारी बेच्न थाले। एक वर्षसम्म तरकारी बेच्दै गर्दा बचेको केही समयमा कम्प्युटर सिके।

कान्ताको लगन र परिश्रमबाट परिचित एक जना नेपालीभाषीले १३ वर्ष अगाडि उनलाई मान्डले सहर लगे।

'रामबहादुर कार्की दाइले चीनबाट आयात गरेका जुत्ताचप्पल पसल-पसलमा बेच्दै हिँड्थे। उहाँसँगै काम गरेँ र मान्डले बस्दा नै नेपाली भाषा सिक्न पाएँ,' कान्ताले नेपाली बोल्ने र पढ्ने गरे पनि लेख्न असहज मान्छन्।

व्यापारमा दुई वर्ष भिजेपछि कान्ताले जुक्ति निकाले, 'अब सधैं अर्काकोमा काम गरेर भएन। आफ्नै केही गर्नपर्‍यो।'

लाश्योबाट चीनको सिमाना मुसे करिब तीन सय किलोमिटर पर छ।

अरुले झैं उनले पनि चीनको न्याउसोबाट सामान ल्याएर बेच्न थाले। जानेको त्यही जुत्ताचप्पल व्यापार थियो। त्यसैमा लागे।

त्यही बेला उनले द्वन्द्वका पीडा महशुस गरे।

सामान लिन जाँदा र व्यापार गर्दै गाउँगाउँ डुल्दा कान्ताले सशस्त्र समूहहरूका गतिविधि देखे। दोहोरो गोली हानाहान भएका बेला कतिपटक सडक नजिकको नालमा लुकेर आफ्नो ज्यान जोगाए।

कान्ताले आफ्ना भोगाइ र गाउँलेका पीडा एउटै घरमा डेरा बस्ने वकिललाई सुनाउँथे। पत्रिकामा लेख लेख्ने वकिलले यी तिम्रा अनुभव र गाउँलेका कुरा समाचार बन्छ भनेर हौस्याए। कान्ताले आफूले जानेका कुरा लेख्न थाले। वकिलले कान्ताले लेखेका समाचार पत्रिकामा छापिदिन थाले।

बिस्तारै कान्ताको बहीखाता पैसाको हिसाब-किताबभन्दा बढी मान्छेका समस्याले भरिन थाले। उनको रस व्यापारबाट पत्रकारितातिर बढ्न थाल्यो।

कान्ताको पत्रकारितामा रूचि जाग्नु अर्को कारण पनि छ।

कान्ताको बुबाको रेडियो सुन्ने बानी थियो। सरकारी रेडियो-टिभीमा 'विदेशी समाचार संस्थाले देशलाई टुक्र्याउँछन्, हामी हामीमा भिडाउँछन् त्यसैले बिबिसी, भ्वाइस अफ अमेरिका, रेडियो फ्री एसिया सुन्न हुँदैन' भन्ने विज्ञापन बजिरहन्थ्यो।

कान्ताका बुबा भने लुकीलुकी रेडियोमा तिनै बिबिसी, भ्वाइस अफ अमेरिका, रेडियो फ्री एसिया सुनिरहन्थे। कान्ताको मनमा सानैदेखि गढेका ती रेडियोमा बोल्ने पत्रकारकै कारण पनि आफू पत्रकार बनिएको हो भन्ने लाग्छ।

कठोर सैनिक शासनको अनुभव गरिरहेका कान्तालाई रेडियोमा स्वतन्त्रता र प्रजातन्त्रका कुरा सुन्दा विद्यार्थीकालमै राजनीतिमा लागेर हिँड्ने मन थियो।

'मेरा कारणले सैनिक बुबालाई दुःख हुन्छ भनेर मात्र म थामिएँ,' कान्ताले सुनाए।

न कहिल्यै पत्रकारिता अध्ययन, न कुनै तालिम। अभ्यासबाटै पत्रकारिता सिक्दै र खारिँदै आएका हुन् कान्ता। उनले वातावरणीय पत्रकारिताबारे दुई साता लामोबाहेक कुनै तालिम लिएका छैनन्।

'अचेल पत्रकारलाई तालिम दिन पो बोलाउँछन् त दाइ,' फेरि लजाए कान्ता। उनले युद्धका बेला कसरी गलत समाचार आउँछ भनेर भोगेका छन्। त्यो अरु पत्रकारलाई शिक्षा हुँदो रहेछ।

'युद्धमा अफवाह धेरै फैलिन्छ। युद्धका विभिन्न पक्षले आफ्नो हितअनुसारको समाचार मात्र पत्रकारलाई दिन्छन्। सुरक्षा र विविध कारणले घटनाको वास्तविकतासम्म पत्रकार पुग्न सक्दैनन्। युद्धरत पक्षले जे दावी गर्‍यो त्यही समाचार दिँदा गलत समाचार प्रकाशन भइरहेको हुन्छ,' कान्ता द्वन्द्व बेलाको पत्रकारिता बुझाइरहेका थिए।

यहाँको जातीय सशस्त्र द्वन्द्वमा नेपालीभाषी बर्मेली कहाँ छन् भन्ने मेरो उत्सुकता थियो। कान्ताले 'गाई चराउन गएका पुरन थापा कसरी बारुदी धरापमा परी मरे' भनी सुनाए।

'सशस्त्र समूहले पैसा मागेरै हैरान पार्छन्। चन्दा नदिँदा के हुने भनेर वर्षको तीन-चार लाख च्याट (करिब तीस-चालिस हजार नेपाली रूपैयाँ) सशस्त्र समूहलाई बुझाउने नेपालीहरू छन्,' कान्ता लडाइँ भइरहेका ठामका गोर्खालीबारे बताइरहेका थिए, 'सरकारी सेना वा सशस्त्र समूहले कहिले समान बोकाउने भरिया त कहिले मानव ढाल बनाएर आफूसँगै हिँडाउछन्। दुईतर्फको लडाइँ चलेपछि बस्ती छाडेर भाग्न बाध्य गोर्खालीहरू थुप्रै छन्।'

यस्ता नेपालीभाषी बर्मेलीका बारेमा यहाँका नेपाली संघसंस्थालाई कान्ता जानकारी दिन्छन्। यिनैको खबर पाएपछि लडाइँको चपेटामा परेका नेपालीलाई यहाँका संघसंस्थाले सहयोग गर्छन्।

कान्तासँग तीन घन्टा बिताइसकेपछि मैले सोधेको थिएँ, 'पत्रकारितामा नाम कमाइसक्नुभयो, भविष्यमा के गर्ने योजना छ त?'

'बर्मामा दुई लाख जति गोर्खाली छौं। तिनको आवाज व्यक्त गर्ने थलो छैन। गोर्खाली भाषा बोल्ने रेडियो-टिभी खोल्ने सपना छ दाइ,' कान्ता मुस्कुराए।

बर्मेली चिया दुकानबाट कान्तासँग बिदा मागेर हिँड्न आँटेको थिएँ।

'यहाँ सहरमा जस्तो ट्याक्सी पाइँदैन। तपाईंलाई होटलसम्म मेरो साथीले छोड्दिन्छ है,' भन्दै कान्ताले मलाई राम पोखरेलको जिम्मा लगाइदिए।

'कान्ता अलि जन्ड स्वभावका छन्,' कान्तासँगै छुट्टिएपछि पोखरेलले मलाई एउटा घटना सुनाए।

'लाश्योमा एक जना बर्मेली महिलालाई एक जना मुसलमान केटाले पेट्रोल छर्केर आगो लगाउन कोशिश गरेपछि सन् २०१३ मा दंगा फैलियो। बौद्धमार्गी बर्मेलीले मुसलमानका घर, पसल र मस्जिद आगो लगाउँदै हिँडे। हामी सबै लुकेर घरभित्र बस्यौं। कान्ता भने फोटो खिच्दै हिँडे। सरकारी कर्फ्यू थियो। मुसलमान देख्यो कि बौद्धमार्गीले मार्ने डर थियो।'

कान्ताले खिचेका मस्जिद आक्रमणका फोटा चर्चित भए।

अनि पोखरेलले सोधे, 'पत्रकारलाई समाचार पाएपछि केही चाहिँदैन हो? न अहिलेसम्म बिहे गर्‍याछन्, न घरजग्गा, सम्पति जोडेका छन्। खाली समाचारका पछि मात्र दौडन्छन् कान्ता। नेपालमा पनि पत्रकार यस्तै हुन्छन्?'

पहिलोपटक यो लेख सेतोपाटीमा सोमबार, जेठ ६, २०७६ मा प्रकाशित भएको थियो।