Tuesday, October 23, 2018

'बर्मामा आमाबा, श्रीमती/श्रीमान्, छोरी/छोराको पनि माया मारेर ज्यान जोगाउनुपर्ने बेला थियो'

नेपालीभाषी बर्मेली चन्द्रमाया। बर्माको कया प्रान्त अन्तर्गत ल्वेकमा भेटिएकी।

पहिलो कुरा, बर्मेलीलाई नाम सोध्दा थर भनेनन् भने अचम्म हुँदैन। किनभने, बर्मेलीको थर हुँदैन। नाम मात्र हुन्छ, जसरी यिनले भनिन्- चन्द्रमाया।

धेरै बर्मेलीका तीन शब्दका नाम हुन्छन्- फियो वाइ लिन, थेट उ मान।

कसैकसैको दुई शब्दको हुन्छ- राष्ट्रपति वी मिन्ट।

कसैकसैको चार शब्दको, परराष्ट्रमन्त्री आन सान सू ची। आन र सान भने बर्मेली नाममा धेरै प्रयोग हुने दुई शब्द हुन्।

दोस्रो कुरा, बर्मेली भाषामा नेपालीजस्तो अंक गणना हुँदैन। उनीहरूको गणनामा पचासी, चवालीस, त्रिसठ्ठीजस्ता शब्द छैनन्। उनीहरू अंग्रेजीमा झैं एट्टी फाइभ, फोर्टी फोर भन्छन्। नेपालीभाषी बर्मेली चन्द्रमायाले पनि आफ्नो उमेर त्यसैगरी बताइन्।

असी-पाँच। उनले पचासी भनिनन्।

तेस्रो कुरा, नेपालीभाषीले बर्माका सहर र गाउँलाई आफ्नै नाम दिएका छन्। जस्तो- चन्द्रमायालाई जन्मघर सोध्दा 'फापुङ' भनिन्।

मैले तीन-चार पटक सोधेपछि बल्ल थाहा पाएँ, उनले भनेको फापुङ त बर्मेलीले पा-हाँ भन्ने ठाउँ रहेछ। अंग्रेजीमा लेख्दा Hpa-An लेखिन्छ।

बर्मामा मान्छे वा स्थान जेको नाम पनि अंग्रेजी र बर्मेली उच्चारण फरक पर्छ। मेरो एक जना साथी छिन्, ट ट खाईं। उनी आफ्नो नाम अंग्रेजीमा Htet Htet Khine लेख्छिन्।

अब चन्द्रमायाका बारेमा कुरा गरौं।

चन्द्रामायाको जन्मघर फापुङ करेन राज्यमा पर्छ। करेन राज्यको नाम पनि अंग्रेजले शासन गर्दा बिगारिदिए भन्छन्, बर्मेलीहरू। अंग्रेजीमा Kayin State लेखिन्छ। बर्मेलीहरू 'कयेन' भनेर उच्चारण गर्छन्। विदेशीहरू 'करेन' भन्छन्।

म्यानमारमा करेनीको जनसंख्या बर्मेली र श्यानीपछिको तेस्रो स्थानमा छ।

चन्द्रमायालाई आफ्नो पुर्खा नेपालबाट आएको थाहा छ, तर कहाँबाट भन्ने यकिन छैन। यत्ति भन्छिन्, 'नेपालबाट सिधै फापुङ नै आएका हुन्।’

उनले भनेको फापुङमा अहिले एक जना पनि नेपालीभाषी भेट्न गाह्रो छ। मैले पाँच दिन प्रयास गर्दा पनि भेट्न सकिनँ। नेपालबाट आउनेहरू मेचिना, प्युलेँ, मोगोक, नाउँछ्यो, च्याउमे, लाश्यो, कलौ, टाउन्जी, मान्डलेमा धेरै भेटिन्छन्।

चन्द्रमायाले आफ्नो जन्मगाउँ जाने बाटो सम्झिइन्, ‘रंगुनबाट रेल चढेर थालिन नदीको किनारमा रहेको सहर, मलम्वाई। त्यसपछि लाइबुई, स्वेवाईं पट्वागाईं हुँदै बल्ल फापुङ।’

उनलाई मैले बर्माको पुरानो राजधानी रंगुनबाट करिब पाँच सय किलोमिटर उत्तरको ल्वेको सहरनजिकै '६ माइल' भन्ने गाउँमा भेटेको थिएँ। उनी भर्खरै गाईगोठबाट फर्केकी थिइन्।

बर्माका सहर र गाउँमा दुरी हिसाब गर्ने माइलसँग जोडिएका ठाउँका नाम प्रशस्तै भेटिन्छन्। सहरको केन्द्रबाट कुनै ठाउँको दुरी जति माइलको छ, त्यो ठाउँलाई त्यति नै माइल नाम दिने चलन छ। त्यसैले, यहाँ सहरैपिच्छे चार माइल, पाँच माइल, छ माइल, सात माइल भनिने ठाउँ छन्।

नेपालमा पनि त जिरो किलोमिटर भन्ने थुप्रै ठाउँ छन्।

चन्द्रमायाको बिहे १३ वर्षकै उमेरमा भयो। सात दशकअघि रजश्वला नहुँदै छोरीलाई कन्यादान दिने तागाधारीको चलन नेपालीले आफूसँगै बर्मा लिएर आएका थिए। चन्द्रमाया त्यसमा अपवाद हुन सकिनन्।

उनका मातापिता फापुङमै बिते। फापुङमा आम्दानी नभएपछि नेपालीहरू विस्तारै बसाइ सर्न थाले। चन्द्रमाया पनि श्रीमानलाई पछि लगाएर मोचीमा बसाइ सरिन्।

‘जन बढे, जग्गा बढेन, त्यसैले हामी सर्यौं,’ उनले भनिन्।

छ/सात दशक अघिसम्म यहाँ कस्तो चलन थियो भने, जुन ठाउँ सहर-बजार हुन थाल्छ, नेपालीभाषीहरू त्यो ठाउँ छाड्थे। त्यहाँबाट जंगलको छेउछाउ सर्थे। खेतीपाती गर्थे। गाईभैंसी पाल्थे। र, यसैगरी जीवन चलाउँथे।

किन त यस्तो?

यो प्रश्नमा चन्द्रमायाले भनिन्, ‘अरू जातिका नजिक बस्दा सबैभन्दा त जातधर्म नासिएला भन्ने पिर। अर्को, सहर-बजारको रहनसहन के हो हो!’

त्यति बेला ७० कटेका नेपालीभाषी बर्मेलीको पिरै 'कतै छोराछोरी ‘खोस्टे’ सँग सल्केलान् र जातधर्म नासिएला' भन्ने थियो। नेपालीभाषीले बर्मेलीलाई खसालेर भन्ने शब्द हो, खोस्टे।

करेनबाट हिँडेको चार दिनमा उनीहरू मोची पुगेका थिए। चन्द्रमायाको जोडीले फापुङबाट बसाइ हिँड्दा जोडा हात्तीमा सामान लादेका थिए। ‘व्यापार गर्ने भनेर पाँच सय बीसा गुड र पाँच सय बीसा नुन हात्तीमा हालेर ल्याका थिएम्,’ चन्द्रमायाले भनिन्।

बीसा भनेको बिसौली। बर्मामा अझै पनि मानापाथीजस्तै ढक र बीसाको चलन बाक्लो छ। एक बिसौली अर्थात् आधा धार्नी, एक किलो दुई सय पचास ग्राम।

‘थोरा आपतले आइएन त्यो चार दिनको बाटो,’ चन्द्रमायाले यात्रा वृत्तान्त लगाइन्, ‘हामी बाटोमा आउँदा आउँदै लौ बर्मेली घुसे रे मोचीमा भन्ने सुन्नमा आयो। चुनीमा पुगेपछि हात्तीधनीले सामान बाटामा अलपत्र फालेर करेन फर्के।’

बर्मा भर्खरै अंग्रेज शासनबाट मुक्त भएको बेला थियो। सन् १९४८ सम्म छुट्टै राज्यको अभ्यास गरिरहेका करेन, कया, श्यानमा त्यही बेला बर्माले आफ्ना सैनिक पठाएको थियो।

‘४५ च्याट तिरेर सामान नदी पार गर्न लगाइयो,’ त्यो बेलाको ४५ च्याट भन्नाले अहिलेको करिब ४५ हजार नेपाली रुपैयाँ हुनुपर्ने अनुमान मैले लगाएँ।

‘भिरै भिर हिंडेर आएको, जहाँ पाइताला टेक्यो, त्यहाँबाट ढुङ्गा गुड्थे,’ चन्द्रमायालाई भिरको मात्र पिर थिएन, ‘तल नदी किनारमा चिना जाति थिए, चिनाले पाए मार्छ भन्ने डर उत्तिकै थियो।’

‘बल्ल बल्ल बाँचेर आएको त्यो चार दिन चार वर्षभन्दा लामो भयो। सामान छन्, चोरडाँकाको डर छ, जंगलमा बास छ। जंगली जनावरको डर छ। खाने पिउने ठेगान छैन,’ चन्द्रमायाको कुरा नटुङ्गिदै मैले सोधेँ, ‘यहा आएका अरू नेपालीले पनि त्यस्तै दुःख पाए त्यति बेला?’

‘हाम्रा दुःख केही हैनन्, जापानीले मेचिनामा बम खसालेपछि नेपालीहरू चार महिना कहिल्यै नहिँडेका जंगलका बाटो वर्षामा लड्दैपड्दै भारतको लिडो पुगेका थिए रे,’ चन्द्रमायाले दोस्रो विश्वयुद्धताका नेपालीले पाएको दुःख विस्तार लगाइन्, ‘त्यति बेला हजारौं नेपाली हिँड्दा हिँड्दै हिँड्न नसकेर, बिरामी परेर बाटामै बिते। सबैभन्दा दुःखको कुरा त, बोक्न परेका बिरामी बालक, वृद्ध बाबुआमा, आफन्त, श्रीमान वा श्रीमतीलाई अलपत्र बीच बाटामै मर्न छाडेर भागेर नेपालीले ज्यान जोगाएका थिए।’

मलाई चन्द्रमायाको कुरामा विश्वास भएन। मान्छेले आफ्नै छोराछोरी, बाआमालाई मर्न छाडेर आफ्नो मात्र जीउ बचाउन हिँड्ला?

रंगुन फर्केर दोस्रो विश्वयुद्धताका नेपालीहरूले पाएको दुःखबारे प्रकाशित सामग्री खोज्न थालेँ।

त्यसरी हिँडेका टंकध्वज नेपालको पुस्तक फेला पर्यो। उनले लेखेका छन्, ‘बाटाभरि केटाकेटी, वृद्धका शव देखिन्थे, आफ्नो स्वार्थका लागि आफू बाँच्न मायामोह, आइनो-साइनोको नालीबेली सबै बिर्साएका थिए। … आज नपत्याउने कुरा भनिएला तर वास्तविकता। अलि समय अगाडिसम्म बाबुआमाको आँखाका तारा, मायाको पोका। तिनका लागि सर्वस्व त्याग्न तत्पर हुने बाबुआमा। आज तिनै केटाकेटीलाई बीच जंगलको बाटोमा अलपत्र छाडेर, तिनका रोईकराई नसुनेर आफ्ना जीउ बचाउन हिँडेका थिए। दया माया भन्ने शब्दको त्यहाँ कुनै अर्थ लाग्दैनथ्यो।’

त्यति दु:ख गरेर मोची आएपछि चन्द्रमायाको मनमा आशा पलाएछ। त्यो बेला मोचीमा राज गर्ने श्यानी रजौटाले उनीहरूलाई स्याबासी नै दिएछन्।

‘तिमीहरू करेनी छाडेर मेरो सरकार भनेर यता आयौ। ल यता जे जति जग्गा चाहिन्छ लिएर बस,’ श्यानी रजौटाले त्यसो भने पनि त्यहाँका सुरक्षाकर्मीले भने चन्द्रमायाका श्रीमानलाई दुई-चार थप्पड हानेछन्, कतै जासुस पो हो कि भनेर।

दुई वर्ष मोचीमा बसे पनि चन्द्रमायाको मन रमाएन। मोचीमा ठूलो फलाम खानी थियो। फौजीका साथ लाएर सुरु सुरुमा बर्मा आउने नेपालीहरू ती खानीमा काम गर्न आउँथे। अहिले मोचीमा पनि ज्यादै थोरै नेपालीभाषी बाँकी छन्। चन्द्रमायाले जस्तै अरू नेपालीभाषीले पनि मोची छाडेछन्।

‘यहाँ अमाजु, अमाजुको देवर, देवरका छोरी ज्वाईं र हामी गरी चार घर आएका हौं,’ चन्द्रमायाले मोचीबाट तीन सय किलोमिटर पश्चिम ल्वेको बसाइ सरेको सम्झना गरिन्।

‘मैले जीवनमा सबै काम गरेँ,’ चन्द्रमायाले कामको व्याख्या गरिन्, ‘मोचीमा होटल गरेँ। फापुङमा खेतीपाती र पसल गरेँ। अहिले कयामा गाईपालन गरेकी छु।’

उनले भनेको होटल बर्मेलीले भन्ने 'भात दुकान' हो, चिया र भात-तरकारी पाइने।

मलाई उनले हात्तीमा ल्याएको गुड र नुनको बारेमा बुझ्नु थियो।

‘त्यो त मोचीमा बिक्री भइहाल्यो नि,' चन्द्रमाया मज्जाले हाँसिन्, 'निकै नाफा भयो।’

‘अनि कयासम्मको बसाइ र अहिलेको बसाइ कस्तो छ त,’ दुईतले सिमेन्टले पोतेको घरको भुइँतलामा मैले उनलाई सोधिरहेको थिएँ।

‘१६ वर्षको उमेरमा आएको हो, ल्वेको। ७० वर्ष पहिले। जंगल त थियो। जंगल फाँडेर घरगोठ बनाइयो। खरघारी मात्रै थियो,’ चन्द्रमायाले थपिन्, ‘साता-दस दिन रूखैमुनि बसेर घर बनाएको हो। कसैले खर काट्ने, कसैले त्यही खरले घरगोठ छाउने गरियो।’

‘पैसा/तिरो तिर्नु परेन कसैलाई वन फाँड्न?’ मेरो प्रश्नले चन्द्रमायालाई अचम्म बनायो, ‘पैसा कल्लाई तिर्ने हो र? सरकारै को हो थाहा थिएन। सित्तैमा जति फाँडे पनि पाइन्थ्यो जंगल उतिखेर।’

‘मोचीबाट त दुई दिनमा आइयो, ल्वेका। जंगलीको डर हुन्थ्यो,’ उनले भनिन्।

नेपालीभाषीले बर्माका सशस्त्र विद्रोहीहरूलाई 'जंगली' भन्छन्। स्वायत्त शासनसहित संघीयता र सैनिक शासन पूर्ण अन्त्यको माग गर्दै ६ दशकदेखि सक्रिय सशस्त्र समूहहरू बर्मामा अहिले पनि कतिपय युद्धरत त कतिपय शान्ति प्रकियामा छन्।

‘यहाँ आएपछि जंगलीले दुःख दिएनन्?’ मैले सोधें।

‘खासै दिएनन्, बरु पिछेपिछे चोर लाएर, डाँका लाएर कति दुख पाइयो त्यो नभनम्।’

‘चारचोटि डाँका लागे। यहाँ आउँदा सुरु सुरुमा पनि लागे। अस्ति भर्खरै (१० वर्ष पहिले) नि डाँका पर्यो। कयनी डाँका आउँदाखेरि ढोका खोल् खोल् भन्छन्। के के सामान छ ले भन्छन्,’ चन्द्रमायाले डाँकाहरूलाई आफूले छक्याइरहेको बताइन्।

‘केही पैसा र रसद पानी त लान्छन्, तर गरगहना र ठूलो धन अहिलेसम्म लगेका छैनन्,’ चन्द्रमायाले एकपटक डाँका लाग्दाको घटना विवरण सुनाइन्, ‘राति ११ जति बजेको हुँदो हो। डाँका आए। बाउ-छोरालाई गोठमा लगेर बाँधे। बुहारी र मलाई बाहिर लगेर आँगनमा बाँधे। कोठाकोठा, बाकस सबै खोलेर हेरे। मैले सुनका गहना बाकसमा नराखेर तिल राखेको डालामा राखेकी थिएँ। बाकसमा एउटा चाँदीको आठ आनीको हार थियो। डाँकाको सर्दारले चाँदीको हार झिकेर कम्मरमा बाँध्यो, कम्ति राम्रो देखिएको थिएन जुनको उजेलोमा।’

डाँकासँग जोगिएको सुनका गहना चन्द्रमायाले माइला छोरालाई दिँदै भनिन् रे, ‘ला डाँकाले लगेको भए लगिहाल्थ्यो, यो बेचर मोटरसाइकल किन्।’

छोरा खुसी भए। वर्षौंदेखि मोटरसाइकलका लागि आमासँग गनगन गरिरहेका थिए।

मोटरसाइकल भएपछि दूध बजार लगेर बेच्न पनि त सजिलो हुन्छ। अहिले पनि चन्द्रमायाको गोठमा २५ वटा गाईबाच्छा छन्। ‘पहिले त ६०, ७० वटा थिए। अब काम गर्न कसले जाँगर मान्छ र,’ यसो भन्दै गर्दा चन्द्रमायाले आफ्नो श्रीमान् सम्झिइन्।

उनको श्रीमान् बितेको १६ वर्ष भयो। नौ जना छोराछोरीकी आमा चन्द्रमायाका जेठो र कान्छो छोरा खसे। माइलो छोरा सहरमा छन्। किराना पसल गर्छन्। अन्य छोराछोरी छिमकमै छन्। खेतीकिसानी गरिरहेका छन्।

‘दूध बेचेरै हुर्काइयो सबै सन्तानलाई। काँधमा दूध बोकेर मेरा बाहुन ६, ७ किलोमिटर पर जानुहुन्थ्यो दिनदिनै। सुरसुरुमा साइकल किन्ने पैसा पुग्थेन। पैसै भए पनि साइकल चलाउन जान्न पर्यो। पछि सिक्नुभयो र साइकलमै दूध पुर्याइयो,’ चन्द्रमायाले पुराना दिन सम्झिइन्।

विदा मागेर हिँड्नुअघि चन्द्रमायालाई मैले आजकाल मनमा के कुरा खेल्छ त भनेर सोधेँ, ‘आनन्द लाग्छ। बसाइ सर्ने पिर छैन। चोर डाँका लाग्लान् भन्ने चिन्ता पनि रहेन। उही हो, अब नातिनातिनाका राम्रा खबर मात्र सुन्न पाइयोस्। काठमाडौंमा पशुपतिनाथ छन् नि, तिनले सबै सन्तानका रक्षा गरून्, त्यत्ति हो।’

चन्द्रमायाको हाँसो मनमा गडिरह्यो।

(यो लेख पहिलोपटक सेतोपाटी अनलाइनमा बिहिबार, असोज ११, २०७५ मा प्रकाशित भएको थियो।)

Sunday, October 21, 2018

कसरी र किन बढ्दैछन् नेपालमा क्रिश्चियन

दसैंको टीकाको दिन नयाँ सर्ट र धोएको पुरानो प्यान्ट लगाएको थिएँ। आमाले ‘बासँग मागेर ढाका टोपी पनि लगा’ भन्नुभयो। बाको र मेरो टाउकोको आकार उत्रै रहेछ। उहाँको पुरानो टोपी भिरेँ। घरमा टीकाटालो सकेर आफ्नै खलकका काका बा र हजुरबाका भाइका घरतिर परिवारै हिँड्यौं।

मेरा हजुरबाका एक जना सौतेनी भाइ हुनुहुन्छ। उहाँ हाम्रो खलकमै अलि बढी धार्मिक प्रवृत्ति भएको मान्छे हो। उहाँसँग टीका थाप्दै थिएँ।

‘फल्नाका छोरा, फल्नाका नाति क्या बात भन्ने गराए’ भन्दै हजुरबाले टीका लगाइदिन थाल्नुभयो।

अनि अन्तिममा भन्नुभयो, ‘प्रभु येशुले तेरो सधैँ रक्षा गर्नेछन्।’

म झसंग भएँ।

हिन्दू धर्मअनुसार पूजापाठमा बढी नै रुचि राख्ने हजुरआमा पनि हजुरबासँगै मलाई टिका लगाइदिँदै हुनुहुन्थ्यो। हजुरबाको पछिल्लो आशीर्वादसँगै हजुरआमाले अनुहार रातो पार्नुभयो। मैले लगाएको ढाका टोपीमा जमरा राख्दा उहाँका हात कामेको मैले महशुस गरेँ। उमेरले हो वा लाजले, ठम्याउन सकिनँ।

‘अनि टीका लगाउन हुन्छ त क्रिश्चियन भएपछि,’ मैले सोधेँ।

‘प्रभुसँग मागेर, प्रभुलाई भनेर जे गर्दा पनि हुन्छ बाबु,' हजुरबाले भन्नुभयो, 'टीकाको दिन बिहानै प्रभुलाई प्रार्थना गरेँ। आज टीका हो। घरमा पाहुना आउनुहुन्छ। हामीलाई माफ गर्नुहोला भनेँ। पहिलेदेखिको चलन हो, टीका लगाउँछु र लगाइदिन्छु भनेँ।’

हजुरबाले परमेश्वरसँग क्षमा मागेरै हामीलाई टीका लगाइदिनु भएको रहेछ।

‘हामीलाई त अब क्रिश्चियन नभन्नू भन्नुभएको छ सरमिसले। हामी त विश्वासी हौं,’ हजुरआमाले जवाफ दिनुभयो।

‘किन क्रिश्चियन नभन्ने नि,’ मेरो जिज्ञासा झनै बढ्यो।

‘अलि घृणा गरे के बाबु गाउँलेले। धर्ममारा भन्न थाले। आखिर परमेश्वर एउटै छन् भनेर हिन्दू धर्मले नै भन्छ। खास परमेश्वर त परमपिता नै हुन् नि,’ हजुरबाले थप्नुभयो।

कति ठाउँमा क्रिश्चियन भन्दा गाउँलेले दुर्व्यवहार गर्ने, अर्मपर्ममा नबोलाउने, एक्ल्याउने र उस्तै परे भौतिक आक्रमण समेत भएछ। त्यसैले आजभोलि ‘सर मिस’ले क्रिश्चियन नभनेर 'विश्वासी' भन्ने रहेछन्। अझ 'सच्चाई धर्म' भन्दै बाइबल बाँड्दै हिँड्दा रहेछन्।

हजुरबाका ‘सरमिस’ मध्ये एक कमला थापालाई पछि पोखरामा भेटेको थिएँ। उनले दोलखा, उदयपुर, डोल्पा, पर्वतमा क्रिश्चियन धर्म प्रचारकमाथि भएको कुटपिटका समाचार मलाई देखाउँदै भनेकी थिइन्, 'आफ्नो आस्था मान्ने र त्यसको प्रवर्द्धन गर्ने अधिकार जति हिन्दू धर्मावलम्बीलाई छ, उति नै क्रिश्चियन मान्नेलाई पनि छ। मुस्लिम, बौद्धमार्गी सबैलाई छ। हामीले त्यही गरेका हौं। जबरजस्ति पो गर्न भएन। हाम्रा कुरा सुनेर कोही क्रिश्चियन बन्छ भने हामीलाई किन दुर्व्यवहार गर्ने?'

हजुरबा-आमाले आफूहरूलाई 'विश्वासी' भनेको यही भएर रहेछ।

टीका र प्रसाद ग्रहण गरेपछि सपरिवार अर्का हजुरबाका घरतिर लाग्यौं। बाटोमा बाले भन्नुभयो, ‘साईंला बा प्रभुतिर लागेको छ महिना जति भयो। यसपटक त टीका लगाइदिनुभयो। अर्को सालदेखि कुन्नि?’

बाको कुरा सुनेर म फिस्स हाँसे।

आठ/नौ वर्षयता गाउँका धेरै मान्छे क्रिश्चियन धर्मावलम्बी भइरहेका छन् भन्ने थाहा थियो। कतिलाई चिनेको पनि थिएँ। आफ्नै कूलमा क्रिश्चियन धर्म छिरेको भने थाहा पाएको रहनेछु। नवलपुरको पहाडी गाउँ डेढगाउँमा हाम्रो कूलका चार घर मात्र बाँकी छन्। अरु भट्टराई परिवार बसाइ सरेर कोही मधेश झरिसके। कोही सहर पसिसके। र, कोही विदेश पुगिसके।

बाटामा झुण्डिएको लिङ्गे पिङ देखेँ। दुई चार सर्को बल लगाउन कस्सिएँ।

‘दसैंमा भुइँ छाड्नपर्छ,’ आमाले सुनाउनुभयो।

टीकाको दिन आफन्तका घर चहार्दै सकियो। भोलिपल्ट गाउँ छाड्ने योजना थियो। तर कूलमा पसेको 'क्रिश्चियानिटी' का बारेमा बुझ्न मन लाग्यो। सहर पस्ने दिन सारेँ।

‘टीकाको भोलिपल्ट जेमघन्टाको दिन हिँड्न हुँदैन’ भन्ने आमा खुसी हुनुभयो।

एकादशीको दिन सखारै हजुरबाको घर गएँ।

‘अँ बाबु, ढाड दुख्ने बेथाले समात्यो। त्यसमा हिँड्न थालेपछि सन्च भा’ झैं लाग्याछ,’ हजुरबाले क्रिश्चियन धर्ममा लागेपछिको अनुभव सुनाउनुभयो, ‘छोराको घरबार पनि के-के भयो, भयो। तीन वटी बिहे गरिसक्यो। यसमा लागेपछि प्रभुले हेर्छन्। सबै राम्रो हुन्छ भन्नुभएको छ सरले।’

वर्ष दिनअघि गाउँमा 'संगति घर' बनेको रहेछ। हजुरआमा पनि हजुरबासँगै हरेक शनिबार चर्च जानु हुँदोरहेछ।

‘हजुरबाले जाम भनेपछि जान्न भन्न मिल्छ र बाबु मैले,’ हजुरआमाले थप्नुभयो, ‘भैंसी बिरामी थियो। सबै जनाले प्रार्थना गरिदिएपछि साता दिनमै राम्रो भयो।’

हजुरबा-आमाले ‘सर र मिस’ संबोधन गर्ने एक जोडी क्रिश्चियन धर्म प्रचारक हरेक साता गाउँ आउँदा रहेछन्। पोखराबाट शनिबार बिहान मोटरसाइकलमा गाउँ आइपुग्ने ‘सरमिस’ आइतबार साँझ फर्कँदा रहेछन्। तिनीहरूकै नेतृत्वमा ४०-५० जना महिला/पुरुष र तिनका छोराछोरी, नातिनातिना भेला भएर संगति घरमा प्रार्थना गर्ने र भजन गाउने गर्दा रहेछन्।

हजुरबासँग एकछिन गफिएपछि उहाँहरूसँग हरेक शनिबार संगति घरमा भेला हुने अरू गाउँलेका कुरा सुन्न हिडेँ।

यिनैमध्ये एक रहिछन् ५० वर्षकी पूर्णमाया विक। उनलाई मुर्छा पर्ने रोग लागेछ। र, उनका लागि यही रोग निदानको बाटो बनेछ क्रिश्चियन धर्म।

‘जति लामा धामी लाउँदा पनि भएन, ओखतिले पनि छोएन,' पूर्णमायाले भनिन्, 'विश्वासमा लागेपछि निको भए जस्तो भएको छ। रोग उपचार हुन्छ भनेरै क्रिश्चियन धर्म अँगालेको उनले बताइन्।

साँच्चै रोग निको भएको छ त?

उनका छिमेकी डम्मरसिंह विकलाई मधुमेह र उच्च रक्तचाप रहेछ। औषधि खाँदा-खाँदा भुक्तमान भइसकेका। क्रिश्चियन धर्ममा लागेपछि निको हुन्छ भनेर औषधि खान छाडेछन्।

डम्मरसिंह विक।

‘ओखती छाडेको तीन महिनापछि त धन्नै ढलिनँ नि। मरेर बाँचेको पो हो,’ डम्मरसिंहले सुनाए।

‘अनि फेरि क्रिश्चियन छाडेर ओखति सुरु गर्नुभयो त?’

मेरो प्रश्नले उनलाई दिक्क बनाए जस्तो लाग्यो। टोपी निधारबाट माथि सार्दै भने, ‘अब आफ्नो धर्म नछाड्नु छाडिहालियो। गाउँलेले डामीसकेपछि अब के फर्कनु? त्यसैमा लागिएको छ,’ डम्मरसिंहले थपे, ‘यस धर्ममा राम्रो पन छ के। जातभात केही हुँदैन। हामी सबै जातका एकै ठाउँमा बसेर प्रार्थना गर्ने हो। छोइछिटो हुँदैन।’

क्रिश्चियन धर्ममा लागेपछि रोग निको हुन्छ र जातभात केही हुँदैन भनेर धर्म परिवर्तन हुनेहरू गाउँमा अरु पनि भेटिए। धर्म प्रचारकहरूले 'विश्वासी/सच्चाई धर्म' मा लागेपछि जाँड-रक्सी खान पाइँदैन भन्ने रहेछन्। त्यसले गर्दा पुरुषका जाँड-रक्सी खाने बानीले हैरान भएका महिलाहरू पनि आफ्ना परिवारसहित चर्चमा हिँड्ने बानी परेका रहेछन्।

‘पैसा पनि दिँदा हुन् नि त?’ नेपालमा क्रिश्चियानिटी फैलाउन डलरको खेती भइरहेको छ भन्ने समाचार/विचार हप्तै पिच्छे सुनेको मैले तुलसी विकलाई सोधेँ।

‘केको पैसा दिने हो? हामीले उल्टो हरेक शनिबार आफूले सकेअनुसार १०/२० रुपैयाँ जम्मा गरेर सरमिसलाई दिन्छौं,' तुलसीले जवाफ दिइन्।

‘सरमिस’ले दिएको बाइबल देखाउँदै उनले थपिन्, ‘यी ६ सय रुपैयाँ तिरेर यो बाइबल र डेढ सय रुपैयाँ तिरेर भजनको किताब किनेको हो।’

तुलसीसँग कुरा गरिरहेकै बेला मेरा बाको मावली काका लोकनाथ पोख्रेल, मौकाले त्यहीँ आइपुग्नुभयो। उहाँले सामाजिक र साहित्यिक गरी १० वटा किताब लेखिसक्नु भएको छ। गाउँका समाजसेवी मानिनुहुन्छ।

उहाँ पनि यो विषयमा छिर्नुभयो।

‘हिन्दू र बौद्ध धर्म तहस-नहस पार्न युरोपियन युनियन नै लागेको छ के बाबु,’ हजुरबा पोख्रेलले आफ्नो विचार राख्नुभयो, ‘यो धर्मकाले सामूहिक भावना भने ल्याइदिएका छन्। सातामा एक दिन दुई-तीन घन्टा सबैजना एकै ठाउँमा भेला हुन्छन्। दुःख-सुखका कुरा गर्छन्। गीत गाउँछन्। नाच्छन्। अनि कसैको घर-परिवारमा कोही बिरामी भयो, कसैलाई अप्ठ्यारो पर्यो भने सामूहिक प्रार्थना गर्छन्। त्यसले त उपचारको काम गर्छ नि। हामी हिन्दूले छाड्यौं यी काम। क्रिश्चियन फैलाउनेले त्यही काम गरेर धर्म बेचिरेहका छन्।’

पोख्रेल हजुरबाका कुरा त सँधै सुन्न पाइन्छ। मलाई भर्खरै धर्म परिवर्तन गर्नेका कुरा सुन्न बढी रुचि थियो।

अञ्जु श्रेष्ठको घर पुगेँ। उनले ‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र’ नामको संस्था दर्ता गरेर आफ्नै घरमा कार्यालय राखेकी छन्। हरेक शनिबार यहाँ उनी बाइबल पढ्ने-पढाउने गर्दिरहिछन्।

आफ्नै घरमा ‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र’ खोलेकी अञ्जु श्रेष्ठ। 

‘दुई वर्ष भयो दाइ म लागेको,’ ३० वर्षीया अञ्जुले आफ्नो मनका पोको खोल्न थालिन्, ‘रितिरिवाज केही त्याग्न पर्दैन भनेर भन्नुभयो पोखराबाट आएका सरमिसले। श्रीमान परदेश हुँदा मनमा अनेक कुरा खेलिरहन्थ्यो। यसमा लागेर प्रार्थना गर्ने गरेपछि शान्त हुन्छ। मलाई त राम्रो लागेको छ।’

उनका सरमिसले के-के भन्छन्, थाहा भएन। अञ्जुले भने मनका कुरा मात्र हैन रक्त क्यान्सरदेखि हेपाइटाइटिस बीसम्मको उपचार परमपिता परमेश्वरको कृपाले हुने गाउँलेलाई बताउने रहिछन्। उनले मलाई पनि भन्न बिर्सिइनन्।

‘यसमा लाग्दै गएपछि पोखरा गइयो। सैयौं मान्छे भेला भएर प्रार्थना गरियो। काठमाडौं पनि गएर बस्ने ठाउँ छन्। साथीभाइ छन्,’ अञ्जुले सुनाइन्।

'उनलाई साथ चाहिएको थियो, यो धर्मले दियो' मैले अर्थ लगाएँ।

‘पवित्र बाइबल घरमा लगेर राख्यो भने मात्रै पनि रक्षा हुन्छ नि दाइ,’ अञ्जुले हिँड्ने बेलामा भनिन्।

मैले हाँसेर टाँरे।

गाउँमा हजुरबा, तुलसी, अञ्जु जस्तै क्रिश्चियन हुनेहरू छन् चाहिँ कति? मलाई जिज्ञासा भइहाल्यो।

विक्रम सम्वत् २०६८ सम्म सरकारी तथ्यांकले डेढगाउँमा कोही क्रिश्चियन देखाएको छैन। आठ/दस परिवारले धर्म परिवर्तन गरिसकेका थिए। तै जनगणनामा गाउँका कसैले क्रिश्चियन धर्म लेखाएनन्। वा गणकले लेखिदिएनन्। तर अहिले करिब ८० घरभन्दा बढीमा बाइबल पुज्ने गरेको भेटियो। यसमा अधिकांश घर दलित परिवारका छन्। केही मगर छन्। थोरै बाहुन पनि छन्।

‘गाउँमा चार हजार जनसंख्या होला। नयाँ धर्मवाला आठ सय जति पुगे,’ गाउँ डुलिरहन मन पराउने मेरा सहपाठीले भने।

डेढगाउँ, बौंदीकाली गाउँपालिकाको वडा नम्बर २ मा पर्छ। वडाध्यक्षको पनि कुरा सुन्न मनलाग्यो।

मसँग एक जना रैथाने भाइ रमेश पनि थिए। गाउँलेका कुरा सुन्न र विश्वास जित्न रमेशलाई सँगै लिएर घुमेको थिएँ। करिब २० वर्षदेखि दसैंमा मात्र चार-पाँच दिन घर जाने मेरो कुरा गाउँलेले नसुन्न पनि सक्थे। जवाफ नदिन पनि सक्थे।

रमेश र मैले वडाध्यक्ष बालप्रसाद ठाडा मगरलाई भेट्यौं। उनलाई भने गाउँमा क्रिश्चियन बढेसँगै अर्को ठूलो चिन्ता थपिएको रहेछ।

भने, ‘हेर्नु बाबु, त्यसै त हाम्रो वडामा सार्वजनिक जग्गा कम छ। त्यो धर्मकाले त मान्छे मरेपछि पोल्न हुन्न, गाड्नु पर्छ भन्दा रहेछन्। तिनले निवेदन दिएका छन्। अब दसैंपछि क्रिश्चियनको चिहान खोज्न पर्नेछ।’

वडाध्यक्षका कुरा सुनेपछि फर्कदैँ गर्दा रमेशले भन्यो, ‘दाइ तपाईंले कुरै बुझ्नुभएको छैन। धर्म परिवर्तन पनि सबै भोटको राजनीति हो। हेर्दै जानुस्, अर्को पटक चुनावमा क्रिश्चियन जति सबैले एकै ठाउँमा भोट हाल्छम् भन्छन्। त्यसपछि तिनले जे-जे माग्छन्, नेताहरूले त्यही पुर्‍याइदिन्छन्।’

छोराले बाइबल पढेको सुन्दै तारादेवी बिक (दाँया), उनकी छोरी र छोरा। 

(यो लेख पहिलोपटक सेतोपाटी अनलाइनमा मंसिर १, २०७५ मा प्रकाशित भएको हो।)

बर्मामा मम:ले जुराएको सम्बन्ध

आफ्नी श्रीमतीसँग गोपाल

गोपाल ज्ञवालीलाई म्यानमारको राजधानी नेपिद्अमा भेट्दा हामी दुवै अंग्रेजी सोमरसले रमरम भइसकेका थियौं।

आफूलाई नबोलाएको बिहेमा नेपालीको नाता जोडेर साखुल्ले पल्टिँदै पुगेको थिएँ, म। गोपाल भने दुलही पक्षबाट बकाइदा चाँदीको झल्को दिने बट्टा र त्यसभित्र हजारौं च्याट (बर्मेली पैसा) खर्च गरेर बनाइएको निमन्त्रणा पत्र पाएरै बिहेमा आएका थिए।

तीन सय ५० जति नेपालीभाषी बर्मेली र १५ जना भारतीय हिरा व्यापारीलाई दुलही पक्षले पाँचतारे होटलमा तीन दिनको गाँस, बास, खेल, मनोरञ्जन लगायत सबै व्यवस्था गरेको थियो। गोपालजस्ता आमन्त्रितलाई नेपिद्अ भ्रमण र यांगुनसहित म्यानमारका प्रमुख सहरबाट आउनेजाने व्यवस्था पनि दुलहीका पिता हिरा व्यापारी भेषराज न्यौपानेले गरेका थिए।

खाना खाने टेबल एउटै परेपछि मैले आफ्नो नाम भन्दै पछाडि थपेँ, ‘नेपालबाट।’

‘अनि म चाहिँ कहाँ’ट भन्ने सोच्या त?’ अलिक चर्को स्वर, अझ त्यसमा हाँसो थपेर गोपालले भने, ‘म नि नेपालै’ट हो।’

मसिनो स्वर भएका गोपाललाई बेलायती स्कचले स्वर उचो बनाउन सहयोग गरेको थियो।

‘हजुर हजुर,’ एक त सित्तैमा पाएको बेलायती स्कच र त्यसमाथि नेपालीभाषी बर्मेलीका सुखदुःखका कुरा धुत्न मैले भनेँ, ‘म त भर्खरै नेपालबाट आएको, यहाँ एउटा संस्थामा काम गर्छु। अनि तपाईं नि?’

‘ए,’ गोपालले लेग्रो तान्दै भने, ‘म रेष्टुरेन्ट चलाउँछु, रंगुनमा। कहाँ बस्नुहुन्छ?’

‘म नि रंगुनमै बस्छु। अफिसको कामले राजधानी नेपिद्अ आउन परेको थियो, यही बेला यहाँ नेपालीको बिहे रहेछ, छिरेँ,’ मैले ङिच्च दाँत देखाउँदै भनेँ।

‘डाकी न बोलाई, लेँडे पुच्छर डोलाई रहेछ,’ मैले पहिलोपटक यस्तो नेपाली उखान सुनेँ।

प्राय: नेपालीभाषी बर्मेलीका शब्द उच्चारण र वर्णविन्यास सुन्दा २० औं वर्ष भारतमा बसेर आएका पश्चिम पहाडका नेपालीको जस्तो लाग्छ।

‘रंगुनमा केही केस परे, कुनै प्रहरीले दुःख दिए मलाई भन्ने,’ गोपालले थपे, ‘सब पुलिसलाई भात खिलाउँछु, मिलटिरीसँग चाहिँ निहु नखोज्नू नि।’

पचास वर्षसम्म पूर्ण सैनिक शासनमा चलेको देशमा अहिले पनि अर्धसैनिक शासन छ। संसदमा २५ प्रतिशत सिट सेनाका लागि सुरक्षित छ। प्रधानसेनापतिले जर्नेल, कर्णेल र मेजरलाई संसदमा पठाउँछन्।

गृहसँगै रक्षा र सीमा सुरक्षा मन्त्रालयको जिम्मेवारी सेनाले नै लिएको छ। सैनिक प्रमुखले तोकेको व्यक्ति नै ती मन्त्रालयका मन्त्री हुन्छन्। गृह मन्त्रालय सेनाको हातमा भएपछि र कर्मचारी प्रशासनमा अहिलेसम्म पूर्वशासकले नियुक्ति गरेका सैनिकहरू नै भएपछि अर्धसैनिक शासन भन्नु अत्युक्ति नहोला।

‘तपाईंको रेष्टुरेन्टमा मम: खान आउन पर्‍यो,’ दुलहीका परिवार शाकाहारी भएकाले शाकाहारी बिहे भोजमा चिकेन मम:को स्वाद सम्झँदै मैले भनेँ, ‘तपाईंको रेष्टुरेन्टको ठेगाना दिनु त।’

‘ओहो, यो मोमो सुनेको त छु कि, बनाउन जानिएको छैन,’ पान खाँदा खाँदा खिया परेको दाँत देखाउँदै गोपालले भने।

सरकारी तथ्यांकअनुसार बर्माका ७० लाख जनसंख्या पानका अम्मली छन्। गाउँ-सहर जताततै पानले खिया परेको दाँत देखाएर हास्नेहरू बर्मामा टन्नै भेटिन्छन्।

‘म सिकाउँछु मम: बनाउन तपाईंलाई। तपाईंको रेष्टुरेन्टमा मम: बनाएर नखाई म नेपाल नफर्कने,’ आफ्नो केही ढंग नभए पनि श्रीमतीको सीप सम्झँदै मैले ध्वाँस दिएँ।

‘ल डिल है त डिल,’ गोपालले भने, ‘स्वीट नेपाली रेष्टुरेन्टमा मोमोको मेनु थपिन्छ।’

मैले सहमतिमा मुन्टो तलमाथि गर्दै भनेँ, ‘त्यो अब थपियो थपियो।’

केही दिनपछि गोपालको फोनले मोबाइलको घन्टी बज्यो। श्रीमतीलाई आफ्नो व्यथा सविस्तार सुनाएँ। नेपालबाट ल्याएको मम: उसिन्ने भाँडोसहित एक सप्ताहन्त हामी दुई गोपालको रेष्टुरेन्टमा हाजिर भयौं।

रेष्टुरेन्टमा चार जना १४/१५ वर्ष उमेरका बर्मेली नानीहरू खाना बनाउने, ग्राहकलाई पस्किने र भाँडा माझ्ने गर्दै थिए।

‘यिनका बाबुआमाले पैसा लगिसके,’ गोपालले भने, ‘दुई-तीन महिनामा एकपटक आउँछन्, पैसा पहिल्यै लान्छन्। यिनीहरूलाई मैले गाँसबासको व्यवस्था गरेर राखेको छु।’

अन्तर्राष्ट्रिय श्रम संगठनले सन् २०१५ मा निकालेको तथ्यांकअनुसार बर्मामा ११ लाख ३० हजारभन्दा बढी बाल श्रमिक छन्। बर्माका हरेकजसो सडकछेउका रेष्टुरेन्टमा स्कुल जाने उमेरका बालबालिका खाना पकाउँदै, जुठा भाँडा माझ्दै गरेका भेटिन्छन्। बाबुआमाले दिनको ५० नेपाली रुपैयाँभन्दा कम मूल्यमा छोराछोरीलाई बँधुवा मजदुरसरह काम गर्न साहुकहाँ पठाएका हुन्छन्।

श्रीमतीले तिनै नानीहरू र गोपालसँग मिलेर मम: बनाउन थालिन्। म भने गोपालका बुबासँग गफिन थालेँ।

‘मेरा बुबा नेपालको हुआँबाट आउनुभएको,’ गोपालका बुबाले भने।

हुआँ नेपालको कहाँ हो? यसको जवाफ न गोपालका बुबाले भन्न सके न त मैले पत्ता लगाउन सकेँ। गोपालले पछि मलाई भने, ‘गुल्मी हो रे, पुर्खाको थलो भन्ने थाहा पाएको छु।’

‘भारतको कलकत्ताबाट पानीजहाज चढेका मेरा बा सातौं दिनमा रंगुन आइपुग्नु भा होरे,’ गोपालका बुबाले भने।

त्यसपछि गोपालका हजुरबा रंगुनबाट ८ सय ८० किलोमिटर उत्तरपूर्वी सहर नाम्तु गएर बसेछन्।

नाम्तुको कोइला भट्टीमा काम गर्न धेरै नेपाली ८० वर्षअघि बर्मा पुगेका थिए। त्यसैमा एक जना रहेछन्, गोपालका हजुरबा पनि। भारतीयहरूले सञ्चालन गरेको त्यो भट्टीनजिक अहिले पनि एक सयभन्दा धेरै नेपालीभाषीको घर छ।

गोपालका हजुरबाले बर्मामै अर्की नेपालीभाषीसँग बिहे गरेछन्। ‘मेरी आमाको ७/८ वर्षकै उमेरमा पहिलो बिहे भएको रहेछ, बालविधुवी आमालाई बाले ३० वर्षको उमेरमा बिहे गर्नुभएको हो,’ गोपालका बुबाले भने।

गाईभैंसी हुर्काएर, बेचेर अलिकति पैसा जम्मा पारेपछि नेपाल फर्कने गोपालका हजुरबाको योजना थियो। त्यही बेला सन् १९४४ मा जापान सरकारले बर्मामाथि धावा बोल्यो। उनले जापानी पैसा लिएर गाईभैंसी बेचेछन्। त्यसको केही समयभित्रै बेलायतीले शासन लिएपछि त्यो पैसा काम नलाग्ने भएछ।

गोपालका परिवारले २०७७ सालमा घरैमा परिवारसँग खेलेका देउसी 

‘जापानी पैसा त खोस्टो भयो,' गोपालका बाबुले भने, 'पैसा कामै नलाग्ने भएपछि बा नेपाल फर्कन सक्नुभएन।’

नेपाल फर्कन नपाएका गोपालका हजुरबा नेपालीभाषीहरूको बाक्लो बस्ती मोगोक पुगेर भात दोकान (खाना खुवाउने होटल) गर्न थाले। त्यसको केही समयपछि रोगले थला परेर उनी मोगोकमै बिते।

‘मैले त सानैदेखि तुइनको काम गर्न थालेँ,’ गोपालका बुबाले पुराना दिन सम्झे।

बहुमूल्य रुबीपत्थर पाइने ठाउँ हो, मोगोक। रुबी खोज्न एक-दुई किलोमिटरसम्म जमिनभित्र सुरुङ खन्दै जानुपर्छ। तुइन चढेर भित्रसम्म जानुपर्ने भएकाले कहिले पहिरो त कहिले अक्सिजन कम भएर बर्सेनि १०-२० जना नेपालीभाषीको तुइनमा मृत्यु हुन्छ।

रुबी खानीमा काम गर्दागर्दै एकैपटकमा पाँच-छ सय जनाको मृत्यु भएका उदाहरण पनि छन्।

गोपालका बुबाले खानीमा काम गर्दै घरव्यवहार चलाए। उनका दुई छोरी र एक छोरा जन्मे। मैले नेपिद्अमा भेटेका एक मात्र छोरा गोपाल ४३ वर्षका छन्।

मोगोकबाट छोराको साथ लाएर रंगुन सहर बसाइँ सरेका गोपालका बुबाले पुराना दिन सम्झँदै भने, ‘हामीले मोगोकमा देउसीभैलो खेलेर एक वर्ष १२ वटा चिया पिउने कटौरा किन्यौं। अर्कान वर्ष मइन्टोल (पेट्रोमेस- मट्टीतेल हालेर बालिने र लाल्टिनले भन्दा धेरै उजेलो दिने दियो) किनियो। तिस्रा साल हार्मोनियम।’

गोपालका बुबाको सोख नै गानाबजाना हो।

‘एउटा दर्जी थियो मेरो साथी, उसैको सम्झना आउँछ आजभोलि यो सहरमा। उसले दुःखी तबेला बजाउँथ्यो। म गाउँथेँ। रमाइलो मोगोकमै थियो,’ बालपान, किशोरवय र आफ्नो पौरख गाउँमा गरेर सहर भित्रिने हरेक बाबुआमाका जस्तै छन् गोपालका बुबाको मन पनि।

गोपालका बुबासँग कुरा गर्दागर्दै मम: तयार भयो। मम:को डल्लो मुखमा हाल्दै गोपालले भने, ‘ओहो कति स्वादिलो हुँदो रहेछ नि!’

पतिना (पुदिना) को अचारसँगको मम: मलाई पनि राम्रै लागेको थियो।

‘एक जना नेपालबाट बैंकमा काम गर्न आउनुभएका दाइले अस्ति नै मोमो माग्नुभएको थियो। अब त बनाउन जानियो, गज्जब भयो,’ गोपालको आँखामा चमक थियो।

केही भारतीय मूलका ग्राहक र आफ्ना परिवारलाई गोपालले मम: चखाए। हामीलाई दालभात र खसीको मासु खुवाएर विदा गरे। मैले जति कर गरे पनि खानाको पैसा लिन मानेनन्। मम: भाँडो त्यहीँ छाडेर, मम: बिक्रीमा सफलता मिलोस् भन्ने शुभकामनासहित हामी फर्क्यौं।

म महिना, डेढ महिनामा गोपाललाई फोन गर्थें। ‘तपाईंको मोमो बनाउने भाँडा लिन आउनू नि,’ हरेकपटक उनी यसै भन्थे।

‘आउँला नि, मम: नि खाउँला’ म यसै भन्दै टारिरहन्थेँ।

चार महिनापछि गोपाललाई फेरि फोन गरेँ, ‘मम: खान आउनुपर्‍यो।’

उनले ‘आउनू आउनू रेष्टुराँमा’ भने। एक सप्तान्त फेरि गोपालको रेष्टुरेन्टमा पुगियो।

गोपाल मोगोकबाट रंगुन आएको नौ वर्ष भएछ। ‘रंगुन आएर डेढ साल एक्लै बसेँ, दसैं-दिवाली केही नभनी काम गरेँ,’ गोपालले थपे, ‘१२ वर्षको उमेरदेखि मोगोकमा रुबी बेच्न थालेको। त्यही रुबीको बिजनेस बढाउन रंगुन आइयो।’


‘कच्चा रुबी किन्यो, अलिकति नाफा कमायो, बेच्यो। कहिले घोटेर पलिस गरेर बेच्यो। त्यो बेला पैसा हुने त अर्बपति भए नि,' गोपाल १५, २० वर्षअघिका दिन सम्झँदै थिए, ‘अलिकति कमजोरी हुँदा (पैसा नहुँदा) मैले चाहिँ धेरै कमाउन सकिनँ।’

हातमा रुबीका केही टुक्रा देखाउँदै गोपालले भने, ‘यो एक टुक्राको दाम २५ लाख हो। मैले १५ लाखमा किनेको।’

मैले जिब्रो ओठबाहिर निकालेर टोकेँ। बर्मेली २५ लाख च्याट भनेको नेपाली त्यही दुई लाख रुपैयाँजति।

गोपालले रुबी मेरो हातमा थमाइदिए। कता त्यो खस्ला र हराउला भन्ने चिन्ताले मैले पाँच सेकेन्ड पनि ती साना बहुमूल्य ढुंगा आफ्ना हत्केलामा राखिनँ।

‘थाहा छ दाइ, बर्मामा ३० हजारजति नेपाली यही रुबीको काम गर्छन्। बरू त्योभन्दा धेरै नै होलान्, कम छैनन्,’ गोपालले भने।

बर्मामा जति पनि नेपाली धनी भएका छन्, ती सबै यही पत्थरले भएका हुन् भन्ने थाहा थियो। तर, ३० हजार नेपालीले यही काम गर्छन् भन्ने जानकारी थिएन। संख्यामा गोपालले अलि बढाइचढाइँ गरे कि?

‘यो रुबीको काम विश्वासको काम हो। एउटा सामान हजार, लाखदेखि तीन-चार हजार लाखसम्मको हुन्छ, अर्कालाई विश्वास गरेर दिनपर्छ। कहिलेकाहीं विश्वासघात हुनसक्छ,’ गोपालले आफ्नो पुरानो घटना सम्झे।

‘सन् २०१४ मा मोगोक गाउँकै चिनियाँसँग मिलेर दलाली गरेको। चार सय लाखमा किनेर ६ सय लाखमा चीनमा लगेर बेचेको रुबीको अहिलेसम्म पैसा पाएको छैन,’ गोपालले थपे, ‘मान्छे भाग्यो, हाम्रो लक (भाग्य) रहेनछ।’

रंगुनमा भर्खरै १ सय २० लाख च्याट (करिब १ करोड १० लाख नेपाली रुपैयाँ) मा किनेको नयाँ अपार्टमेन्ट देखाउँदै गोपालले भने, ‘त्यसमा नठगिएको भए त चार वर्षअघि नै घर हुन्थ्यो नि रंगुनमा।’

‘रुबीको कारोबारमा एक-दुईचोटि जसलाई नि घाटा हुन्छ। विश्वासघात हुन्छ। कसैले भन्छन्, कसैले भन्दैनन्,’ गोपाललाई मैले सोधें, ‘एउटै टुक्रा ढुंगा बेचेर तपाईंले चाहिँ अहिलेसम्म कति कमाउनुभएको छ त?’

‘एउटै रुबीबाट दुई सय लाखभन्दा ज्यादा पारेको छैन। नेपालीमा हिसाब गर्दा २० लाखसम्म नाफा पारेको छु,’ गोपाल मख्ख परे।

‘त्यत्रो नाफा हुने रुबीको काम मात्र नगरेर किन यो भात खुवाउने रेष्टुरेन्ट खोलेको त?’ मेरो प्रश्न नसकिँदै गोपालले भने, ‘वर्षाको भलजस्तो हो रुबीको व्यापार। रेष्टुराँ सधैं चल्छ, विस्तार हुँदै जान सक्छ। रुबीको त कुनै दिन ठगिन पनि सकिन्छ, व्यापार बन्द हुन नि सक्छ।’

उनले अझ गाँठी कुरा खोले, ‘खासमा ग्राहक भेट्न अनि बाआमा र श्रीमतीलाई व्यस्त राख्न पनि यो रेष्टुराँले सहयोग गर्छ। मैले २०११ देखि नै रेष्टुराँ चलाइरहेको छु।’

‘नेपाल पुग्ने मन छ कि दाजु, तर अरूजस्तो १०/१५ दिन जाने होइन। दुई महिना गएर आफ्नो पुर्खाको भूमि पुगेर इतिहास बुझेर आउने हो,’ गोपालले भने, ‘आगो लिन छिमेकमा गएजस्तो एकछिन जाने होइन नि, आफ्नो पितृभूमिमा।’

भर्खरै किनेको अपार्टमेन्ट देखाउन लगेपछि गोपाललाई मैले 'अब भविष्यमा के गर्ने त' भनेर सोधेँ। उनलाई रुबीको व्यापार सँगसँगै रेष्टुरेन्टको व्यापार बढाउने मन रहेछ।

‘अरू त हैन, यी छोरीहरूलाई विदेश पढ्न पठाएर आफू पनि त्यतै गएर रंगुनको रेष्टुराँ शाखा खोल्ने मन छ,’ १० र ७ वर्षका दुई छोरीका पिता गोपालले भने।

गफैगफमा साँझ पर्न लागिसकेको थियो। अक्टोबर महिनासम्म बर्खायाम नै रहने रंगुनमा ठूलो पानी पर्ने लक्षण देखियो। ढिलो हुन लागेको संकेत गर्दै मैले भनेँ, ‘मम: नखुवाउने त?’

मेरो प्रश्नले गोपालको अनुहार कागती निचोरेजस्तो बिग्रियो।

‘खासमा कि दाजु, मोमो त चलेन नि यहाँ, मान्छेले स्वादै रुचाएनन्,’ गोपालले मम: पकाउने भाँडा फिर्ता दिँदै भनेँ, ‘बर्मेलीलाई मनपर्ने स्वादको बनाउन अलिकति समय लाग्ने भो। म आजभोलि यो रुबीको व्यापारमा व्यस्त छु। फुर्सद भयो भने पछि मोमोको स्वाद चेन्ज गर्न पर्ला।’

म र श्रीमती खिस्रिक्क पर्‍यौं। प्लास्टिकमा हालेको मम:को भाँडा समातेर हिँड्न आँटेका थियौं, गोपालले सोधे, ‘यो झोल मोमो चाहिँ कस्तो हो भाउजू, अस्ति नेपालबाट भर्खरै बर्माको युएनमा काम गर्न आएकाले माग्दै थिए।’

श्रीमतीको सीप रंगुनमा नबिकेकोमा उनलाई नरमाइलो लागिरहेको थियो।

‘त्यही उसिनेको मम:लाई स्वादअनुसार पातलो अचारको झोलमा डुबाएर खाने हो,’ श्रीमतीले भनिन्, ‘आजभोलि युट्युबमा थुप्रै भिडियो छन्, मम: बनाउन सिकाउने। त्यहाँ हेर्दा पनि हुन्छ।’

गोपालले जुक्ति निकाले, ‘बर्मेलीले दालको सुप खुब रुचाउँछन्, दालको सुपमा मोमो हालेर पो झोल मोमो बनाएर बेच्ने हो कि?’

‘हुन्छ हुन्छ नयाँ नयाँ प्रयोग गर्दै गर्नू, कुनै दिन मम: मेनुमा राख्न मन लाग्यो भने सम्झनूस् है, हामी फेरि आउँछौं,’ मैले गोपालको परिवारसँग विदा माग्दै भनेँ।

(पहिलोपटक बुधबार, असोज ३१, २०७५ मा सेतोापटीमा  अनलाइना प्रकाशित। तर त्यतिबेला माथिको भिडियो सेतोापाटीमा प्रकाशित थिएन)