Tuesday, May 31, 2011

दाताले संविधानसभालाई दिने पैसा विकासमा खर्च गरे हुने नि

कति रैछ यार यी स‌युक्त राष्ट्रसंघ, युरोपेली युनियन, अमेरिका, जापानजस्ता देशसँग पैसा नि। तिनैले देको डेड खर्ब भन्दा धेरै रुपैयाँ सिन्को नभाँची फू गरेर उडाउँदा नि संविधानसभाको म्याद थपेकोमा स्वागत गरेका गरै छन्। हुन त ती देशलाई, कतै म्याद नथप्ने हो भने यी नेपालका सभासद अनेक जुक्ति लगाएर आफ्ना देशतिर आउलान् र दुःख देलान् भन्ने लाइराहा होला...

प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र कति दिवस मनाउने...

स‌विधान नबनेर नि ठिकै भाछ भो अहिलेसम्म। उसै त बिदा धेरै भाको देशमा फेरि एकदिन बिदा थपिने भन्दा अरु त के होला र स‌ंविधान बने नि। त्यसै त एउटै कामका लागि अनेक नामका दिवस छन्। प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवस। स‌विधान बनेपछि फेरि त्यस्को नि दिवस भन्दै बिदा गर्दा हुन्...

साँचो गतिलाको हातमा देउ

संविधानसभाको म्याद थप्ने नथप्ने कुरा माओवादी लडाकुको हतियारको साँचोमा गएर अड्किएपछि कागती निचोरेको जस्ता अनुहार पारिरहेका साथीहरुलाई अफिसका एक बुज्रुकले दिएको सुझाव - केटाहरु हतियारको साँचोको चिन्तामा भन्दा घरको साँचो कसलाई बुझाउने भन्ने योजनामा लाग, त्यसमा तिम्रो कल्याण छ। पाका मान्छेका कुरै बेग्लै....केटाहो गतिलाको हातमा घरको साँचो परेन भने दुख भोग्छौ।

Thursday, May 26, 2011

सभ्य समाज त यस्तो छ..


यो 'नागरिक समाज' भन्ने त पहिले पहिले निकै सुनिन्थ्यो। कहाँबाट यो देशमा 'सभ्य समाज' भन्ने आएछ  फेरि, १० हजार जम्मा गर्यो भने ८ लाख रुपैयाँ दिने। यस्तो उडन्ते कुरा गर्नेलाई सभ्य समाज भन्ने हो भने असभ्य समाज कस्तालाई भन्ने हो... (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

श्रीमती ब्युटिसियन भएपछि

महिलाको जिद्धि-घुर्कीले पनि संसारमा धेरै कुरा बिग्रेको छ होला भन्नेमा मेरा मित्र सहमत भएको स्थिति रच। सँधै बुलबुले कपाल हल्लाउँदै आउने मित्र आज टोप लगाएर आका छन्। किन भन्या, टोपा फुकालेर देखाथे, कपाल कटाई त खत्तमै भारैछ नि खेतका गरा जस्ता। एकछिन पछि साथीले गुह्य कुरा खोले - श्रीमतीले ब्युटीसियनको तालिम लिंदैछन्। अनेक घुर्की लगाएर फस्ट कपाल काट्ने सिकाइ उसैको टाउकोमा  छानिन् रे...(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

मास्क लगाएर हिड्न हुन्छ कि हुँदैन

काठमाडौंमा धुवा धुँलो बढ्यो भनेर डेढ वर्षदेखि नाकमा लंगोटी लाएर हिड्न थालेको। कपडाको १५ रुप्पे वाला मास्कले काम चलाउँदै थेँ, एकजना आफन्तीले भने कहाँ यसले हुन्छ, 'पुरै धुवाँ धुलो छिर्छ।' उनैको अग्रसरतमा ६ महिना जति अगाडि गतिलो मास्क भन्दै १२ सय चुना लाइदिए। आज एउटाले सुनायो कहाँ मास्क लगाएर हिडेको आफैले फालेको कार्बनडाइअक्साइड नाकले लिएर नि स्वस्थ्य भइन्छ? यस्तै यस्तै कुरा सुनेर होला मानिस बहुलाउने... लउन मास्क लगाएर हुन्छ कि हुँदैन कुनै ज्ञान भए पाम्।

Monday, May 23, 2011

फेसबुकेको नारा चित्त बुझेन


हामी फुसबुकेहरुको ज्याला पुरा लियौ अब संविधान देउ भन्ने नारा फिटिक्कै चित बुझ्या छैन यार मलाई। ज्याल पुरा त पोहोर जेठ मै लिएका हुन् नि तिनले। 'एडभान्स नि धेरै लग्यौ,संविधान पनि दिएनौ, हामीलाई ठग्नु ठग्यौ, हामी हेरेका हेरै भएम्, हामी दुई चार दिन कराम्छम्, त्यसपछि आफ्ना आफ्ना काममा लाग्छम्, तिमीहरुलाई जे जे मन लाग्छ त्यही गर'हुनुपर्छ। अहिले यो कुरा भन्दा रिसाउँछन् फेसबुककर्मीहरु तर भोलिपर्सी त्यस्तै हुन्छ... 

फोरम फेरि फुट्यो भने के नाम राख्लान्

संविधानसभाको चुनावमा ५२ सिट ल्याएर चौथो ठूलो दल भको मधेशी जनअधिकार फोरम फुट्दा फुट्दा अब सातौं तिर पुगेछ। २९ जना लिएर विजय गच्छदार र १३ जना लिएर जेपी गुप्ला हिड्दिए। त्यो भन्दा नि पिर त मलाई अब फेरि फोरम फुट्यो भने के नाम राख्लान् भन्ने छ। गच्छदारले 'लोकतान्त्रिक' र गुप्लाले 'गणतान्त्रिक' लिइसके। अब फुटाल्नेले मजफो 'तान्त्रिक' मात्र राख्ने हो कि ? फेरि फुट्ने त निश्चितै छ नि हरेकपटक प्रधानमन्त्रीको चुनावका बेला मधेशी दल फुट्छन् र अबको केही समयमा प्रमको चुनाव त होला नै...  

क्षेत्रीमा फुट र बन्दको पैसा

पूर्वाञ्चलतिर बन्द भएसी क्षेत्रीले सहमति बिपरित बन्द गरे भनेर लेख्दैछन् पत्रकारहरु। क्षेत्री समाज नि पाँच वटा भइसक्या रच, सरकारसँग एउटाले पो वार्ता गर्‍या। अरु त आन्दोलनमै छन नि एउटा भन्दा अर्को क्रान्तिकारी देखिन पर्‍याछ। रमाइलो चाहिँ नेपालाँ कुनै पनि संगठन अलिकति चर्चामा आयो कि आँफै फुट्छन्, कि अरुले फुटाइदिएर ३/४ भइहाल्छन्। आखिर गणित (पद,पैसा र पावर) को कुरा न हो कहाँ मिलेर बस्न सक्छन र..

Friday, May 20, 2011

अनिवार्य सैनिक तालिम हटाएर जीउ बिगार्ने भए

संविधान बनिहाले पनि मेरो चाहिँ विरोध रहने भो है त्यसमा। शारीरिक रुपले दिने जति सबै किशोर किशोरी अथवा युवायुवतीले एकपटक कम्तिमा ६ महिना नै सही सैनिक तालिम लिनै पर्ने नियम बन्यो भने भाइबहिनी छोरा छोरीको जीउ आफ्नो जस्तो बेलैमा बिग्रन्थेन होला भन्ने लाइराथ्यो। त्यही पनि सल्लाह गरेर सबै नेताहरुले मिलेर भेटाएछन्। धेरै नेपालीलाई आफू जस्तै भुँडे र रोगी बनाउने संभावना प्रवल भएर गयो। अरु कति त जाँगरिला नि होलान् तर म जस्तो अल्छिलाई त कसैले नियम बनाएर पछाडिबाट छडी नलाइन्जेल आँफैले शारीरिक अभ्यास गरेर जीउ ठीक राख्ने भन्ने कुरा कथै हुने रहेछ। राति सुत्ने बेलामा सँधै भोलिबाट भन्यो उठ्ने बेलामा आजलाई सकिएन अब फेरि भोलिबाट भन्दा भन्दै जीउ बिग्रिइसको...

Thursday, May 19, 2011

कति धेरै किताब विमोचन हो...

कति विघ्न किताब बिमोचन भा हो आजभोलि काठमाडौंमा। वसन्त ऋतुमा चराचुरुङ्गीले बच्चा जन्माए झैं नेपालमा चाहिँ लेखकले किताब जन्माउने रैछन्। यो किताब विमोचनको निम्तो फेरि छोरीको बिहेको निम्तो जस्तो लाओ। बोलाको ठाममा नजाम् भने किताब किन्न पर्ला भनेर आएन भन्ने हुन् कि भन्ने पिर, जाम भने यो महिनाको अन्तिममा दालचामल वाला साहुजीले उदारोको पैसा मागे भने तिनै किताब लगेर देखाउन पर्ला जस्तो छ...

Wednesday, May 18, 2011

एमालेले कसरी कोषमा १० करोड पुर्‍याउला त

एमालेले एक वर्षभित्र १० करोड रुपैयाँ संकलन गर्ने गरी कार्यकर्ता संरक्षण कोष बनाएछ। डर लाइराछ त्यो कोषाँ १० करोड जम्मा गर्न एमालेका नेताले कहाँ कहाँ भ्रष्टाचार गर्नपर्ने हो, कुन कुन व्यापारीलाई भ्याट छल्न दिने हो, कुन कुन डनलाई रिहा गर्ने हो, कुन कुन शंकास्पदलाई फेरि मन्त्री बनाउने हो, एमालेलाई चन्दा देको कुन कुन ठेकदारले पुल र सडक कमजोर बनाइदिने हो।

अब को को बाहुन क्षेत्री सगरमाथा चढ्न तम्सेर ज्यान फाल्ने हुन्

अब को को बाहुन क्षेत्रीले फेरि ज्यान फाल्ने भए। सगरमाथा चढ्ने ९ सरकारी कर्मचारीआँ धेरै जसो बाहुन क्षेत्री अलि अलि नेवार रैछन्। अब नेपालाँ एउटाले गर्या कामको सिको अर्कोले गरिहाल्छन्। आगुम को को बाहुन क्षेत्रीहरु सगरमाथा चढ्ने भनेर जाने हुन् र अनाहकमा जीउ फाल्ने हुन्। शैलेन्द्र उपाध्याय बुढा पनि अर्का बुढाको सिको गर्दा मरे। बेकारमा मेरो पिर बढाए कर्मचारीले सगरमाथा चढेर..

जो पनि 'गुगल'

हैन नेपालाँ मात्र होला कि अन्यत्र पनि यस्तै हुन्छन् मान्छे। सबै कुरा जान्ने के। कति धेरै जना हुन् 'गुगल' यार यो देशाँ। गुगललाई जे सोधे पनि सात आठ सय पेज देखाइदिन्छ नि। त्यस्तै नेपालाँ जो पनि जे विषयको पनि ज्ञाता हुने जस्तो। अझ नेपालको सरकारी निकायमा हुने नियुक्ति पनि त्यस्तै हुन्छ। कहिँ नपार काठमाडौं खानेपानीको मुल्याङ्कन गर्ने जिम्मा फिल्मी अशोक शर्मालाई दिएछन्.. हतेरिका।

म्याद थपको झलनाथलाई झ्याङ्लो

यी झलनाथ खनालले आत्तिएर संविधानसभाको म्याद थप्ने प्रस्ताव दर्ता गरे। मरे नि म्याद थपिन्न भनेर बस्या भए लउ माओवादी र झलनाथ मिलेर संविधानसभा भङ्ग गरी राज्य कब्जा गर्न लाए भनेर काँग्रेसीजनले नै म्याद थप्न भनेर धर्ना दिन थाल्थे। आँफै आतिनाले झलनाथलाई झ्याङ्लो भो...

किचन 'सेयर'

आफ्नो त कामै एयरपोर्टाँ गर हात हल्लाएर आउने जस्तो पो हुन थाल्यो त। हैन क्यानाडाँ सित्तैमा घर जग्गा पाइन्छ कि... काम गरेसी टन्न गाँठ पाइन्छ कि के हो। नजिकका आफन्त साथी भाइ घुँई घुँईती त्यतै लाउन थाले त।

Monday, May 16, 2011

जाँड खाने 'भट्टी' नी भारतीय...

रक्सी पिम्ने ठामलाई ठेट नेपालीमा 'भट्टी' भन्ने होला भन्ने बुझिराथें। लन्डनमा त छिमेकी भारतीयले 'भट्टी'लाई पुरै आफ्नो बनाएछन्... यो भट्टीमा गएर लोकल पाइन्छ भन्या त्यहाँकाले बुझे भा मार्दिनु। त्यसो भए के को भट्टी त भन्दै हिडियो...

Thursday, May 12, 2011

टाइफाइड उल्टेला है...

टाइफाइडको ज्वरो कस्तो हो भन्ने पनि जान्न पाइयो। टाउकाँ त चट्याङ परे झै‍ चट् चट् हुँदोरच। जीउ भुङ्ग्रोमा हालेर निकाले झैं पानी हाल्दा त झ्वाईं पर्ला जस्तो। त्यसमाथि जीउ क्या विघ्न दुखेको हो भने। जताततै तीन जना पहलमानले पिटेजस्तो।