Wednesday, November 14, 2018

शौच कागजको भरमा बानी पर्न कति समय लाग्ला ?

२०४६ सालको परिवर्तनपछि पहिलोपटक प्रधानमन्त्री भएका वखत गिरिजाप्रसाद कोइराला राष्ट्रसंघको निमन्त्रणामा अमेरिका गएका रहेछन्। कोइरालाको भारत वा अन्य एसियाली देशमा जता जाँदा पनि  बाल्टीमा पानी थापेर लोटा/मग/कचौराले उभाएर नुहाउने बानी रहेछ। तराईमा चापाकलको पानी बाल्टीमा थापी नुहाएर हुर्केका कोइरालाका लागि प्रधानमन्त्री निवास बालुवाटारको स्नान कक्षमा पनि बाल्टी र मगको व्यवस्था गरिएको थियो, पक्कै।

अमेरिकामा उनी बसेको होटलको स्नान कक्षमा न पानी थाप्ने बाल्टी थियो न पानी उभाउने लोटा / कचौरा नै। तर, कोइराला त दिनदिनै नुहाउँथे। धाराको पानी (सावर)मा सिधै नुहाउने बानी नभएकाले उनले होटलको  आफ्नो कोठामा स्वकीय सचिव गोकर्ण पौडेललाई बोलाएर भनेछन्,  'बाल्टी र मगको व्यवस्था गर्नु।'

गोकर्णले सुनाए अनुसार, होटलसँग बाल्टी र मगको माग गरिएछ। तर होटलको हाउसकिपिङ विभागले पहिले त बाल्टी र मगको व्यवस्था गर्नै नसकिने बताएछ। तर नेपालको प्रधानमन्त्री कै माग हो भनेपछि होटलमा तत्काल उपलब्ध नभएकाले एक दिन कुरेमा व्यवस्था गरिन्छ भनेछन्।

प्रधानमन्त्री कोइरालालाई त्यो विषयमा जानकारी दिँदा 'एउटा बाल्टी र मगको पनि व्यवस्था गर्न नसकेको' भनेर गाली खानुभन्दा बरु आँफै बजार गएर किन्ने विचार गोकर्ण जीले गरेछन्। होटललाई भनेर ट्याक्सी व्यवस्था भएछ। उनले अमेरिकी गोरा ट्याक्सी ड्राइभरलाई बाल्टी र मग पाउने पसलमा लान भनेछन्। तर बिचरा ट्याक्सी ड्राइभरले पहिलो त बाल्टी र मग भनेकै बुझेनछ। पछि बल्लबल्ल बुझे पनि त्यो कहाँ पाइन्छ भनेर उसले सजिलै पत्ता लगाउन सकनेछ।

न्यूयोर्क शहरमा बाल्टी र मग खोज्न तीन घन्टा भन्दा धेरै समय लागेको र साँझ ७ बजे होटलबाट निस्केका गोकर्ण जी राति १० बजे मात्र होटल फर्केछन् । आफू बाल्टी र मगको जोहो गरेर फर्किँदा कोइराला सुतिसकेको गोकर्ण जीले सुनाएका थिए।

काठमाडौंको असन बजार जस्तो सबै चिज पाइने ठाउँ सायद न्यूयोर्कमा छैन होला। जति ठूलो शहर उती खोजेका समान कहाँ पाइएला भनेर पत्ता लगाउनै अप्ठेरो हुन्छ। यो त भयो कोइरालाको बानीको कुरा। यो बानी भन्ने चिज ज्यादै असजिलो हुँदोरहेछ। 'आदत से मजबूर' भनेर हिन्दीमा उखान बनेको त्यस्सै कहाँ होला र ? हामी नेपाली थप बृहत्तर रुपमा भन्दा एसियालीको नै एउटा बानी छ दिर्घशौच गरिसकेपछि पानीले नै चाक धुनुपर्ने, अझ हात कै प्रयोग गरेर। यो बानीको म पनि मजबूर नै छु।

युरोप अमेरिका तिर सबैजसो र तिनका नक्कल गरेर एसियाली अनि हाम्रै शहरतिर पनि खोलिएका कतिपय ठूला होटल, सपिङ मल र कार्यालयका शौचालयमा चाक धुनका लागि पानीको व्यवस्था गरिएको हुँदैन। सिर्फ ट्वाइलेट पेपर अथवा शौच कागज हुन्छ। एसियाका धेरै ठाउँमा शौच गर्ने भाँडो कम्बोटको नजिक एउटा सानो पिचकारी जस्तो पाइप हुन्छ जसलाई पहिलोपल्ट देखेका युरोपेली/अमेरिकीहरुले चकित परेर त्यस विषयमा लेखेका पनि छन्। मलाई भने त्यो पाइप देख्नासाथ आनन्द आउँछ।

अचेल आधुनिक भनिएका शौचघरमा त सिर्फ चाक पुछ्ने ट्वाइलेट पेपर मात्र राखिएको हुन्छ। यो कागजले पुछेर मलाई चित्तै बुझ्दैन। हुन त केटाकेटीमा ढुंगा, मकैको खोइला र स्याउलाले पुछेर काम चलाएको हो तर आजभोलि के भो भो, पानी नै चाहिने भएछ। 'आदत से मजबूर।'

पहिलोपल्ट युरोपमा त्यस्तो कागजले पुछ्न मात्र मिल्ने शौचालय प्रयोग गर्न पर्दा दिनभर खसखस भएर मैले ब्रसेल्स शहर घुमेको मजा लिन सकेको थिइन। त्यसयता मैले मिलेसम्म त होटलको कोठामा हुने गिलासको प्रयोग, नभए मञ्जन/ब्रस राख्ने भाँडोको प्रयोग गरेरै भए पनि पानीले धुने गर्छु । मिल्ने ठाउँ रहेछ भने ट्वाइलेट पेपरमा पानी हालेर भए पनि काम चलाउने प्रयास गर्छु। तर त्यो कागजमा पानी परेपछि यति छिट्टै गल्छ कि भनीसाध्ये छैन।  केही नभए हात धुने धाराबाट अँजुलीमा पानी ल्याएर पनि काम चलाउने गरेको छु।

तर धेरै झैं सपिङ मल, कार्यालय, रेष्टुरेन्टमा त्यस्तो सुविधा हुँदैन, ट्वाइलेट सानो हुन्छ र हात धुने ठाउँ सामूहिक हुन्छ। शौच गरिसकेपछि कट्टु नलगाएर हात धुने ठाउँसम्म जान त सकिदैंन नि। शौच सकेर कागजले पुछपाछ गरेर निस्केपछि चाक वरपर खसखस भइरहन्छ, जबसम्म पानीले धुन वा नुहाउन पाइदैंन। त्यसैले कतिपटक खसखस भएरै बासस्थानसम्म फर्किन परेको छ।

यस्तो बारेमा लेख्ने साहस हुने कुरै भएन, लेख्ने मन पनि थिएन । तर, खासमा खसखस त्यहाँ मात्र कहाँ हो र मनमा पनि लागिरहेको हुन्छ। यही बेलामा पूर्व पत्रकार, हिमाल आरोही शैली बस्नेतले अमेरिकी स्टान्ड अप कमेडीमा,‘मेरा श्रीमान् (उनका श्रीमान् अमेरिकी हुन्) ले चाक पुस्छन्। मैले त पानी र हातकै प्रयोग गर्छु। बाजी लगाम यो हलमा म नै सबैभन्दा सफा छु’ भनेको सुनेपछि, लाज पचाएरै यति लेख्ने आँट आयो।

हुन पनि शैलीले भने झैं वरपर पानी हुँदाहुँदै कुन मुर्खले कागज प्रयोग गर्ने बानी बसालेको होला। अझ मलाई थप्न मन लागेको, यो कागज प्रयोगलाई अब त निरुत्साहित गर्नैपर्छ, त्यही शौच कागज बनाउन कति रुख पात पतिगंर प्रयोग गर्नुपर्छ होला बेकारमा वातावरणको नाश।

हुन त रङ्गभेद विरोधी कतिपयलाई यो मन नपर्ला। जिम्बाबेको पूर्व राष्ट्रपति रोबर्ट मुगाबे ट्वाइलेट पेपर सेतो रङको हुनेहुँदा दंग थिए। उनले भनेका छन्, 'रंगभेद तबसम्म रहिरहन्छ जबसम्म सेतो कारले कालो टायर प्रयोग गरिरहन्छ, जबसम्म कालो रङलाई दुर्भाग्य र सेतो रङलाई शान्तिको प्रतिक मानिन्छ, जबसम्म मानिसले परिश्रम गरी कमाएको धनलाई सेतो धन र लुटपाट तथा फट्याईं गरी कमाएको धनलाई कालोधन भनिन्छ।' भन्दै भन्दै मुगाबेले अन्त्यमा भनेका छन्, 'तर म कालो भएकोमा पीर लाग्दैन जबसम्म ट्वाइलेट पेपर सेतो हुन्छ।'

फेरि कुरा कहाँ पुग्न लाग्यो। खास कुरा चाहिँ हगी सकेपछि मजाले पानी र हातले चाक नधोएसम्म खसखस लागिरहनु नै हो।  हुन त त्यस्तो खसखस लाग्ने मै मात्र हुँ कि? अहिले जान्न मन लागेको चाहिँ ट्वाइलेट पेपरले मात्र चाक पुछेर पनि सन्तुष्ट हुने बानी पर्न कति समय लाग्छ होला ?

जागिरको सिलसिलमा परदेशमा आएर एक वर्षदेखि कागजै मात्रको प्रयोग गर्नपर्दा पनि मलाई अझ खसखस लाग्ने बानी छाडेन। तपाईं विदेशमा लामो समयदेखि बस्ने नेपाली त बानी परिसक्नुभयो होला। लउन कसैले भनिदिनोस्न यो शौच कागजको भरमा बानी पर्न कति समय लाग्ला ? खसखस भइरह्यो ।