Wednesday, August 31, 2011

प्रधानमन्त्री/ मन्त्रीको गाडी

प्रधानमन्त्री हुने बितिकै २० लाख रुपैयाँको नेपालमै बनेको * गाडी चढ्ने भनेर बाबुराम भट्टराईले सुरु मै ड्यास हान्दे प्रचण्ड, माधव नेपाल र झलनाथ खनाललाई। प्रचण्ड र माधव नेपालले प्रधान मन्त्री छोडेपनि करोड हारहारीको गाडी छोडेका छैनन्। झलनाथले पनि एक करोड रुपैयाँ माथि पर्ने गाडी लिएर बालुवाटार छाडेछन्। धन्न पलङ पनि नेपालमै बनेको ८ हजार सम्मको भन्याछैनन् बाबुरामले। तर यिनले 'मुस्ताङ' गाडीको पो व्यापार बढाइदिने भए जस्तो लाइराछ अब प्रधानमन्त्रीको आँखामा पर्न पनि कोकोले मुस्ताङ गाडी चढ्ने हुन्...

राष्ट्रपति/ प्रधानमन्त्री डाक्टर अनि देशको स्वास्थ्य !

त्यसै त घाँटीको अप्रेसन गर्नपर्नेको पाठेघार फालिदिएर डाक्टरहरुको आलोचना भइरहेको छ। यस्तै बेलामा देशका राष्ट्रपति पनि डाक्टर, देशका प्रधानमन्त्री पनि डाक्टर भए। राष्ट्रपति मेडिकल डाक्टर, प्रधानमन्त्री इन्जिनियर डाक्टर, यस्तो बेलामा पनि देश सप्रेन अथवा विग्रियो भने देशमा कसैले आफ्नो नाम अगाडि डा. राख्दैनन् होला। डाक्टरसापहरुले यो बेलाँ देश बनाउन तिर जोड दिएनन् भने त भोलिपर्सी डाक्टर देख्यो कि मान्छेको कन्सिरीको रौं तात्ला....

Tuesday, August 30, 2011

तीजमा ससुराली

छोराछोरी र श्रीमती तीजको दर खान माइत आउने भएपछि तपाई एक्लै घर के बस्नुहुन्छ/ के पकाउनुहुन्छ यतै पाल्नोस् भनेर ससुरालीबाट कतिलाई फोन आ' होला। तीजमा लाजै नमानेर ससुराली जाने भए पनि फेसबुक र टि्वटमा त किन भनिहाल्नु भनेर चुपो लाएर बसिरहेका होलान्... (हास्नुपर्ने कारण धेरै छन् हा हा हा....)

भट्टराईलाई केही सुझाव

खुशीको कुरा : धेरैले आशा गरेका व्यक्ति बाबुराम भट्टराई प्रधानमन्त्री भए।
दुखका कुरा : अब यिनले पनि केही गर्न सकेनन् भने नेपालीहरुमा झन् निराशा कति बढ्ने हो ? त्यसपछि नेताहरुको हालत के हुने हो ?
सुझाव : खराब भन्दा खराब स्थितिका लागि तयार भएर बस्नु। राम्रो भए गज्जब भइहाल्यो। खराब भए पनि निराशाले नाउनडी नगलोस्, डिप्रेसनको रोग नलागोस्।

तीन वर्षमा एउटा संविधान नदिए नि चार प्रधानमन्त्री दियो

'यो संविधानसभा काम नलाग्ने भो' भन्नेहरुले अब मुखभरीको जवाफ पाउने भए - संविधानसभा उत्पादनमुलक नै छ सिर्फ यसको नाम चाहिँ संविधानसभाको सट्टा प्रधानमन्त्रीसभा बनाउनपर्छ। स‌विधानसभाले ३ वर्ष ३ महिनामा एउटा संविधान लेख्न पो नसकेको हो चार-चार वटा प्रधानमन्त्री त बनाइसक्यो...

श्रीमतीसँगै दरमा

ध्यात्तेरिका हुँदा हुँदा तिजको दर खाने कार्यक्रममा केटाहरु पनि जान थालेछन्। आज बिदाको दिन यसो भेटघाट गरौं भनेर फोन गर्‍या दुई जना साथीले श्रीमतीसँगै दर खाने कार्यक्रममा जानुपर्ने छ भने। समावेशीको जो जमाना छ.. (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

Sunday, August 28, 2011

हाकिमको मोबाइल आतंक

अफिस ट्याम भएपछि मेरा प्राय हाकिम साथीहरु मोबाइल आतंकमा हुन्छन्। ९ बजे अफिस खुल्ने हो भने साढे ८ बजेतिरबाट कि त  मेसेज आउन सुरु गर्छ कि फोन नै आउँछ -  'आज ढिला हुन्छ है' र 'आज आउन नसक्ने भएँ' भन्ने। कहिलेकाही उनीहरुले यस्तो मेसेज र फोन १० बजेसम्म पनि पाउँछन्।

काँग्रेसलाई प्रम दिन नहुने एक कारण

धेरैबेर टिभी हेरे पछि एउटा निश्कर्ष निकालें मैले - काँग्रेसलाई अहिले प्रधानमन्त्री दिन हुने रहेनछ। काँग्रेसका नेताहरुले टिभीमा खालि 'शान्ति प्रकिया नटुगे‌सम्म हामीलाई सत्ता दिनोस्, हतियार र माओवादी लडाकुको व्यवस्थापन गर्नासाथ माओवादीलाई सत्ताको नेतृत्व हस्तान्तरण गर्छौं' भनिरहेका छन्। मलाई डर लाको चाहिँ काँग्रेसी प्रधानमन्त्री भइहाले भने कतै सँधै सत्ताको नेतृत्व गरिरहन भनेर कहिल्यै नि शान्ति प्रकिया नटुङ्याउने हुन् कि...

Friday, August 26, 2011

सभासदले चाहे उपाय कति कति

पहिलेको प्रम चुनावमा एमाले खुब धेरै तटस्थ बस्देको भएर सर्वोच्च अदालतले प्रधानमन्त्रीको चुनावमा कोही तटस्थ बस्न नि पाउँदैन, अनुपस्थित हुन नि पाउँदैन भन्ने निर्णय गरेकाले प्रम त आइतबारै छानिन्छ नि है भनेर एकजना सभासदलाई सोध्या। उनले 'तटस्थ बस्न र अनुपस्थित हुन पो पाइदैंन र। दुबैलाई भोट हालेर होस् कि कसैलाई नहालेर होस् मत बदर गर्देको हेर्नत सर्वोच्च आउँदैन, त्यसो भए कसको बहुमत पुग्छ र?' भने। ( सभासदले चाहे प्रमको चुनाव लम्बाउने अनेक उपाय निकाल्न सक्नेरचन् ...)

Thursday, August 25, 2011

सार्वजनिक गाडीमा कानै खाने गीत

कान जचाउन जान लाग्या म त ! चक्रपथ परिक्रमावाला बसमा धोबिघाटदेखि सामाखुशीसम्म आइपुग्दा ड्राइभरले यति ठूलो स्वरमा हिन्दी गीत बजाए कि कानको जाली फुटे झैं मान्याछु। हैन ! सार्वजनिक यातायातमा ड्राइभरहरु आफूलाई मन लागेको गीत किन कानै खाने गरी घन्काउने हुन् ? मानिसहरु कुन मुडमा हिडेका हुन्छन् ...

Tuesday, August 23, 2011

दुई एमाले सभासदका फेसबुक स्टाटस

यी दुई एमाले सभासदका कुरा फेसबुक नभए हामीले कहा थाहा पाउथ्यौ ?
Rabindra Adhikari ले लेखेका निदाएकालाई ब्युझाउन सकिन्छ, निदाएको अभिनय गरेकालाई ब्युझाउन सकिदैन, यस्तै हो भने टुडिखेलमा गोलाप्रथाद्वारा प्रधानमन्त्री छानेर भए पनि सहमति को सरकार बनाउनु पर्ने भो, यसका लागि तयार हुनुन्छ बाबुराम जी र शेर बहादुर जी ?

  Bishnu Rimal हे मह (मदनकृष्ण - हरिवंश ) जोडी यो के विज्ञापन बनायौ? आज मेरी सानी छोरीले मलाई नै औंला ठड्याउँदै भनिन् असार १४, साउन १४, भदौ १४। ख्याल गर्नुस् तपाईले एउटा काम गर्न बाँकी छ!
 (फेसबुक चलाउनुपर्ने कारण धेरै छन्..)

Monday, August 22, 2011

तसलिमा काण्डपछि टि्वटर प्रयोगकर्ता बढ्लान

खाली फेसबुकमा मात्र फसेका मेरा केही मित्र 'तसलिमा नसरिन कान्ड' पछि टि्वट गर्न सिक्दैछन। राम्रै भो तसलिमाले गर्दा साथीहरुले सोसियल नेटवर्किङको प्रभावकारी मिडियामा पनि पहुँच बढाए। 
यस अगाडि प्रसिद्ध गायक ब्रायन आडम्स काठमाडौं आउँदा पनि धेरै जना टि्वटरमा आएको साथी दिनेश वाग्लेले बताए। ब्रायन आडम्सको फेसबुक एकाउन्ट रहेनछ। बेला बेला टि्वट चाहिँ गरिरहने भएकाले उनले नेपालका बारेमा गरेक कमेन्ट जान्न उनका फ्यान मात्र होइन कतिपय नेपाली पत्रकारहरुले पनि त्यतिबेला टि्वटर एकाउन्ट खोले। 

Saturday, August 20, 2011

मानिसको जीउमा लेख्न पाए हात्तीले के लेख्दो हो ?

हाम्रा नेताले बेलाँ स‌‌विधान नलेखिदिएर यो हात्तीले पनि दुःख पाएछ। यसरी जनावरको जीउमा मानिस (?)ले के के लेखर घुमाएको देख्दा धेरैजसो मेरो मनमा लाग्छ, यी जनावर (यसमा चाहिँ यो हात्ती) ले मानिसको जीउमा केही लेखेर शहर घुमाउन पाउने भए के लेखेर घुमाउँथे होलान् ?

रिसाएका सडकका इन्जिनियर

'राजमार्गको बीचबाट १५ मिटर दायाँ पनि बायाँ पनि सडकको सम्पति हो। जम्मै बिजुलीका पोल हामीसँग अनुमति नलिइकन सडक किनारमा गाड्याछन्। त्यस्को भाडा विद्युत प्राधिकरणले चाहिँ हामीलाई तिर्न पर्दैन ? हिरो भएर मात्र हुन्छ' उर्जामन्त्री गोकर्ण विष्टले बिजुलीको बिल नतिरेको भनेर सडक विभागको लाइन काटेकोमा भाउन्निएर बसेका रहेछन् सडक विभागको एक जना इन्जिनियर...

झलनाथले माओवादीसँग इख राख्लान् ?

प्रधानमन्त्रीबाट खनालको राजिनामाले संकट थप बढ्ने देख्छु म। सेना समायोजनका खाका माओवादीले नल्याएकै कारण राजिनामा दिन बाध्य भएँ भन्ने झलनाथलाई लागिरह्यो भने एमालेको संस्थापन पक्ष र माओवादीबीचको माधुर्यता पनि टुङ्गिएपछि माओवादीले झन् एक्ल्यिएको महसुस गर्नसक्छ। त्यसै पनि काँग्रेस, मधेशवादी दल र एमालेको एउटा खेमा माओवादी विरोधी नै थियो। एमालेको संस्थापन पक्ष पनि त्यहाँ थपिदा शान्ति प्रक्रिया र संविधान लेखनमा थप जटिलता थपिनसक्छ।

Monday, August 15, 2011

माओवादीका पनि हतियार बेच्न परो

हुन त देशका वुद्धिजिवीको विचार एकातिर फर्केको बेलाँ आफ्नो मात्र विचार अर्कोतिर फर्कनु राम्रो होइन। तर पनि विचार फर्कि त गयो, फर्केसी लेख्न मन लाओ। यो अमेरिकाको न्युजर्सीस्थित 'इन्टरनेसनल मिलिटरी एन्टिक्स' नामक कम्पनीलाई पुरातात्त्विक महत्त्वको ४ सय ५० टन हतियार बेचेको चाहिँ मलाई राम्रै लाग्याछ।   नेपालका पहिलो वैज्ञानिक गेहेन्द्र शम्शेरले बनाएका र अरु पनि केही भनौं न डेढ दुई सय पुरातात्विक हिसाबले महत्व बोक्ने हतियार चाहिँ संग्रहालयमा राख्नुपर्थ्यो। ती सबै बेच्न हुँदैनथ्यो तर तेत्रो चार हजार पाँच सय किलो हतियार नै नेपालमा राख्नुपर्थ्यो भन्नेमा चाहिँ म सहमत छैन। नेपालमा ती हतियार संरक्षण गर्ने ठाउँ नै राम्रो छैन। त्यसै कुहेर र सडेर जान्थे ती हतियार नेपालमा। बरु त्यो भन्दा त पैसा त आयो। कौडीको हिसाबमा चाहिँ नबेचेर ग्लोबल टेन्डर गरेर बेच्न पर्थ्यो।

कुन दिन प्रधानमन्त्रीको उम्मेदवार पाइन्न

काँग्रेसमा शेरबहादुर र रामचन्द्र पौडेल दुबैले प्रधानमन्त्रीका लागि दाबी गरे भनेर तिन्को उछितो काट्नेहरु देख्दा कत्ति चित्त बुझेको छैन। कम्तिमा धन्न काँग्रेस पार्टी छ फेरि प्रधानमन्त्रीको फोटो झुण्डाउने भन्दा अरु केही गर्न सकिन्न भनेर जान्दाजान्दै पनि लतो छोड्याछैन। एमालेले अब प्रम नलिने भनिसक्यो, माओवादीका बाबुरामले सहमतिको भए मात्र हुन्छु भनिसके। मलाई त डर लागिसक्यो सबै प्रम असफल हुँदै गए भने कुनै दिन हामीले नेतालाई लउन प्रम बन्दिनोस्न भनेर अनुरोध गर्न पर्ला...

Sunday, August 14, 2011

'भ्रष्टचारीलाई किरा परोस्' टिसर्टको व्यावसायिक उत्पादन

‎'भ्रष्टाचारीलाई किरा परोस्' त व्यापार पनि हुन थालेछ। मन लागेको कुरा टिसर्टमा छाप्दिने ATTSH को जावालाखेल र वर्ल्ड ट्रेड सेन्टरको पसलले ३ सय देखि ५ सय ७५ रुपैयाँमा त्यस्ता टिसर्ट बेच्दोरहेछ। यो 'मुभमेन्ट' व्यापक हुँदै गर्दा 'भ्रष्टाचारीलाई किरा परोस्' लेखेको टिसर्ट मै भ्रष्टाचार नहोस् भन्नेमा त 'मुभमेन्ट' सञ्चालकहरु पक्कै सचेत होलान्। नत्र फेरि कुन दिन 'भ्रष्टाचारीलाई किरा परोस्' टिसर्टमै यति भ्रष्टाचार भनेर सम्चार आउने हो कि..

Friday, August 12, 2011

पासपोर्टले मान्यता पाएन

नागरिकताको परिचय पत्र हराएको सजाय स्वरुप अबको चुनावमा भोट हाल्न पाइन्न जस्तो छ। चुनाव स्वच्छ गराउनको लागि निर्वाचन आयोगले अब हुने चुनावका लागि फोटोसहितको भोटर कार्ड वितरण गर्ने र त्यो कार्ड हुनेलाई मात्र चुनावमा भोट हाल्न दिने तयारी गरिरहेको छ। अहिलेको संविधान अनुसार नेपालमा भोट खसाल्न १८ वर्ष हुनुपर्छ। अब दुई वर्ष अगाडि चुनाव हुन्न भनेर होला अहिले १६ पुगेकाले पनि भोटर कार्डका लागि फोटो खिचाउन पाउँछन्। अझ यसपटक खिचाइएको फोटो भोटर कार्डका सँगसँगै राष्ट्रिय परिचय पत्रका लागि पनि हुने निर्वाचन आयोगले बताइरहेको छ।

खानेमुखलाई जुँगाले छेक्दैन, भ्रष्टाचारीलाई हुलाकले रोक्दैन

'अलिअलि पनि घुस खान नमिल्ने भएकाले भ्रष्टाचारी कर्मचारीको हुलाकमा सरुवा भयो भने छटपटिएर सुक्छ,' भन्थे एकजना। तर जान्नेले हुलाकमा पनि खाँदा रहेछन्, दुईटा किताब, दुईवटा थैली र सानो एउटा कपडाको  एउटा पार्सल साथीलाई पठाउन पर्यो भनेर राम्ररी प्याक गरेर हुलाक कार्यालय गएको थिएँ।  कर्मचारीले 'खोल्नुस्' भने। 'हैन दाइ भर्खरै तेत्रो दुःख गरेर पोको पारेर ल्याएको अब कहाँ प्याकिङ खोलेर भद्रगोल पार्ने' भनें। तर प्याकिङ नखोल्नलाई त मिलाउन पर्ने रहेछ।

Wednesday, August 10, 2011

फिलिमका पोस्टरले ब्लड प्रेसर बढाउला

दिनभर शहरका भित्तामा यस्ता पोस्टर हेर्दै साँझ घर पुगेपछि मान्छेलाई रिस नउठेर के उठ्छ त। हुन त अनुसन्धान भाछ कि छैन कुन्नि, तर मेरो विचारमा मान्छेमा चिडचिडाहट आउनु, ब्लडप्रेसर बढ्नुमा नेपाली फिलिमका पोस्टर पनि अलि अलि त दोषि होलान् है।

Tuesday, August 9, 2011

एपेकबारे प्रचण्डले बोल्नुपर्छ

लुम्बिनी विकासकालागि ३ अर्ब डलर सहयोग गर्ने भनेको संस्था एपेकको मिटिङमा भाग लिने भन्दै प्रचण्ड महिना/२ महिनामा कहिले मलेशिया कहिले सिंगापुर जाने गर्छन्। नेपाली मिडियाले त्यो संस्था नै नरहेको र शंकास्पद रहेको बताउँदै आका छन्। यस्तो बेलाँ प्रचण्डले आफू भाग लिइरहन गइरहने एपेक संस्था र लुम्बिनी विकासबारे यथार्थ जानकारी दिन पर्छ कि पर्दैन? विदेशीले नेपालबारे गल्ती लेख्ने/बोल्ने बितिकै दबाब दिने हामीले खोई प्रचण्डलाई एपेक र लुम्बिनीबारे प्रष्ट पार्न दबाब देको...

Monday, August 8, 2011

मिस वैदेशिक रोजगार गराएर अरप पठाउलान्

ल गज्जपको सुन्दरी प्रतियोगिता भएछ देशमा। विदे्श पढ्न पठाउने एउटा भिसा कन्सल्टेन्सी (ग्लोबल भिसा कन्सल्टेन्सी)ले मिस ग्गोबल इन्टरनेशनल ब्युटी पेजेन्ट गरेछ। मिस ग्लोबल इन्टरनेशनल भएकी दीक्षा थिङले प्रथम पुरस्कार बापत विदेश पढ्नलाई छात्रवृतिस्वरुप सात सय डलर पाइछन्। प्रतियोगिता हेर्दै गर्दा उद्‍घोषकले उनलाई नेदरल्यान्डमा पढ्नका लागि कन्सलटेन्सीले भिसा मिलाइदिने पनि बताएका थिए।

Saturday, August 6, 2011

शहरबासीको बानी

जावालाखेल स्टेशनरी पसलका साहुले पढ्दै गरेको कान्तिपुर पत्रिकाको शिर्षक थियो, 'फोहोरले राजधानी दुर्गन्धित'। गर्मी भएर होला पत्रिका पढ्दै गर्दा फ्रुटी पिउँदै थिए साहुजी। फ्रुटी खाइसकेपछि बेलुनमा झैं फ्रुटीमा हावा भरे, सडकमा फाले। गाडीले फ्रुटी किच्दा बेलुन फुटे झैं आवाज आयो, उनी खुशी भए... हामी बाँचिरहेको समयका शहरबासी।

Friday, August 5, 2011

सरकारी भत्ता कता

गाउँबाट सचिवको फोन आयो, 'सरकारले दलित, जनजाति, अपाङ्ग,गरिब छात्रा सहितका लागि उपलब्ध गराएको भत्ता बाड्नासाथ तिन्का अभिभावकले रक्सी खाएर आएर मैलाई कुट्लान् झैं भयो। लउन के गर्ने हो।' के भन्ने भन्ने, मान्छेमा चेतना भर्न कहिले सकिएला कुन्नि...

सपथ हुन्छ हुन्नमा बित्यो साता

के के न माओवादीका नयाँ मन्त्रीले सपथ खाँदा र नखाँदामा सेना समायोजना र संविधानमा ठूलै फरक पर्ने झैं गरी जताततै मानिसले त्यही मात्र गफ गरिरेहका छन्। माओवादीका नयाँ मन्त्रीले सपथ हुन्छ। हुन्न। आजै हुन्छ। आज हुँदैन। नहुने पक्का भयो। सपथ हुने पक्का छ। सपथको समय तोकिसकियो। होइन एमालेले अवरोध गर्यो। सपथ ग्रहण भइसक्यो। अगिल्लो साता यस्तैमा बित्यो।

कृषिमा लागेर बिग्रेका पनि होलान् नि


यी पत्रिका, रेडिया, टिभीमा आजभोलि बिदेशबाट फर्केर, राम्रा जागिर छाडेर खेती किसानीमा लागेर प्रगति गरेकाका खुब समाचार/फिचर आर हैरान भयो। कृषिमा लाग्दासम्म लागेर कुखुरा पालेर होस् कि गोलभेडा फलाएर होस् कि च्याउ उमारेर जे गर्दा पनि घाटै मात्र भएर बैंकको ऋण तिर्न नसकेर बिदेश गएकाहरु पनि होलान्। सिक्काको दुबै बाटो देखाइदिम् न मित्र हो, नत्र त यहाँ साथीभाइहरु हुँदा खाँदाको जागिर छाडेर कृषिमा जाने भनेर खुब उचालिएर बसिनसक्नु छ...

Wednesday, August 3, 2011

आउलान् त यी सबै विदेशी साहित्यकार

अबका डेढ महिनामा नेपालमा नाम चलेका अन्तर्राष्ट्रिय साहित्यकारहरु आउँदैरहेछन्। दुईटा छुट्टाछुट्टै अन्तराष्ट्रिय साहित्यिक सम्मेलनमा भाग लिन वंगलादेशी लेखिका तसलिमा नसरिन, बेलायती लेखक प्याट्रिक फ्रेन्च, मार्क टली, भारतीय लेखिका इरा त्रिदेवी, तरुण तेजपाल, अलका सरोगी, जमैकाकी एलिसा मकेन्जीलगायतका आउँदै छन् भनेर आयोजकहरुले दावी गरेका छन्। नाम यिनको दिइए पनि आउने चाहिँ हो कि होइन कुन्नि।

नेपालमा कतिसम्म मन्त्री हुन सक्छन्

नेपालमा २७ मन्त्रालय छन्। भलै एकिकृत नेकपा माओवादीका अहिले १२ मात्र मन्त्री मात्र छन् र नयाँ ९ जना मन्त्रीले अस्ति सपथ लिए तर माओवादीले आफूले पाएको १२ मन्त्रालयमा मन्त्री र राज्यमन्त्री गरी २४ जनाको नाम पठाएको थियो। सरकारमा सहभागी अरु पार्टी नेकपा एमाले, मधेशी जन अधिकार फोरम सहितकाले नि माओवादीकै मति अनुसार आफूले पाएको मन्त्रालयमा एक मन्त्री र एक राज्यमन्त्री पठाउने हो भने एक जना प्रधानमन्त्री सहित यो मन्त्रिपरिषद ५५ सदस्यीय हुने रहेछ।

घिमिरे सरकार पनि ढलेछ


‎(पुरानो स्टासस फलो गरेकालाई मात्र) जसरी माधव नेपाल, दाहाल सरकार ढले, अब खनाल सरकार ढल्दैछ। त्यसरी नै यो घिमिरे सरकार पनि ढलेछ...( यो फोटो किशोर सुवेदीले पठाउनुभएको हो। यो सम्बन्धी पुरानो ब्लग वा स्टाटस  http://www.kalitimes.com/2011/​06/blog-post_8473.html  को लिंक अथवा तल पनि छ)


Monday, August 1, 2011

काठमाडौं बस्नेको गाउँ सपना

फेरि एउटा सपना सुनेर आइयो। काठमाडौंमा बसेर आफ्नो जन्म गाउँको विकासका कुरा गर्नेहरुले भने - एकिकृत विकास गरेर गाउँलाई देश, एसियाको होइन विश्वकै नमुना गाउँ बनाउनपर्छ। छलफल गर्नेहरु वर्षको एकपटक दशै‌मा गाउँ जादा हुन्, कुरा भने बिजुली निकाल्नेदेखि, अर्गानिक खेती गरेर अमेरिका पुर्याउनेसम्म, नदीमा र्‌याफ्टिङ गराउनेदेखि कुइरेलाई गाउँसम्म लाने कुरा गरे। काठमाडौं बस्ने अरु गाउँकाले नि शनिबार यस्तै छलफल गरेर दिन कटाउँछन् होला कि...

रेष्टुरेन्टमा ग्राहक तान्ने शैली


आइतबार साँझ टि्वटरे साथीहरुसँग भेटेको रेष्टुरेन्टको ऐनामा देखेको विज्ञापन। प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसको छ‌ेउमा रक्तसञ्चार केन्द्रले भाडामा दिएको सटरमा चलाएको रेष्टुरेन्ट हो कि क्याफेमा यस्तो विज्ञापन छ।

साउनमा खिर खानपर्छ भन्ने यिनले जेठमा सातु,  असार १५ मा दहि चिउरा, भदौमा तिजको दर, असोजमा दशैंताका चिउरा- मासु वा मासु- भात, कात्तिक तिहारमा सेलरोटी, पुसमा चाम्रे हो कि लट्टे, माघमा  फुरौला र तिलको लड्डुको विज्ञापन गर्दा हुन्।