Friday, July 1, 2011

गणकलाई राजाले भने - मेरो जात नेपाली हो

जनगणनाका लागि निर्मलनिवास पुगेका गणकहरूलाई पूर्वराजा ज्ञानेन्द्रले आफू कुन जातको हो भन्ने थाहा नभएको बताइदिएछन्। बुधबार प्रकाशित घटना विचार पत्रिकामा पढेको ज्ञानेन्द्रले जातको विषयमा प्रश्न सोध्दा भनेछन्, 'मलाई म नेपाली हुँ भन्ने मात्रै थाहा छ।'

 गणकले 'जात के हो?' भनेर सोध्दा 'खै थाहा भएन म त नेपाली हुँ' भनी जवाफ दिएपनि गणकले नै क्षेत्री, ठकुरीमा चिह्न लगाइदिएका घटना र विचारले उल्लेख गरेको छ।


पत्रिकाका अनुसार असार ६ गते सोमबार गणकहरू महाराजगञ्जस्थित निर्मलनिवास पुगेका थिए। पहिल्यै समय लिएर त्यहाँ पुगेका गणकहरूलाई घरमुलिका नाताले ज्ञानेन्द्र आफैंले प्रश्नका जवाफ दिएका थिए। निवास पुगेका गणकहरूलाई बस्ने आग्रह गर्दै राजाले प्रश्न सोध्नुअघि के छ भन्नुस् भनेपछि उनीहरूले प्रश्नको थालनी गरेका थिए।


जीवनमा पहिलोपल्ट जनगणनामा भाग लिएका ज्ञानेन्द्रले प्रश्नावली भर्नेक्रममा गणकले शिक्षा के–कति हो भनी जिज्ञाशा राख्दा पूर्वराजाले 'मैले खासै पढेको छैन' भन्ने जवाफ दिएका थिए। गणकहरूले 'हामीलाई यहाँको बारेमा थाहा छ, तर गणना हुने व्यक्ति स्वयम्ले आफ्नोबारेमा बताउनुपर्ने भएकोले हामीले भर्न मिल्दैन, यहाँले नै बताउनुपर्ने हुन्छ' भनेपछि 'ए हो' भनेर हाँस्दै जवाफ दिएका थिए।

छोरी प्रेरणा र छोरा पारस, बुहारी हिमानी, नातिनातिना, विवाह, धर्मजस्ता सबै प्रश्नको जवाफ दिएपछि गणकहरू हिँड्नेबेलामा पूर्वराजाले 'सबैलाई खुसी पार्न खोजिएको त छ तर कसरी सकिएला र? राष्ट्रलाई नभइनहुने कुरा मात्रै राखिएको भए उचित हुन्थ्यो' भनेका थिए।

पत्रिकाले यसपल्टको जनगणनामा जातजाति, भाषाभाषीलगायतका प्रश्न धेरै छन्, जुन प्रश्न भारत या अन्य मुलुकको जनगणनामा राखिएको पाइँदैन भनेको छ। । नेपालको जस्तै विभिन्न जातजाति, भाषाभाषी भएको भारतमा गत फेब्रुवरीमा भएको जनगणनामा सेड्युल कास्ट (दलित) का बारेमा मात्रै एउटा प्रश्न थियो, जातजातिका बारेमा थिएन।

1 comment:

  1. गणकलाई राजाले भने - मेरो जात नेपाली हो - raja lai purba raja banaye kaso hola?

    ReplyDelete

Please leave your comment here