Tuesday, July 10, 2012

कलेजका विदेशी नाम

चेल्सी र लिभरपुल बीचको फुटबल दशरथ रंगशालामा' भन्ने समाचार देखेर एकजना साथीले ओहो खतरै हुनेभएछ भनेर सोचेछन्। तर समाचार पढ्दै गाको त नेपाली +2 कलेजहरु बीचको फुटबल पो रहेछ। यी अँग्रेजी नाम भाकोमा पढ्नेलाई सिधै ती देश र शहरका भिसा दिने त होइन होला, किन हो कुन्नि धेरै कलेजले विदेशी नाम राखेका?

ज्ञानेन्द्र बोल्दैमा के बिग्रियो

अदालतले कानून नभएकाले सुविधा नदिनु भनेपछि क्याबिनेटबाट निर्णयै गराएरै पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री, पूर्वसभामुखलाई र अदालतले सुविधा फेरि नरोकोस् भनेर पूर्व न्यायाधीसहरुलाई समेत गाडी, सचिवालय गरी ५० करोड रुपैयाँ भन्दा बढिको सुविधा थप्दै थप्दै गएका बाबुरामले पूर्व राजाको चाहिँ सुविधा खोस्दिन्छु भनेर धम्की दिएछन्। अब पूर्व प्रधानमन्त्री/मन्त्री त बाबुराम पनि हुने भइहाले तिनलाई सुविधा दिनपर्‍यो। पूर्व राजा त आफू हुन सकिन्न भनेर हो कि के हो सुविधा खोस्ने भनेको... ज्ञानेन्द्र बोल्दैमा के बिग्रियो। जति धेरै बोल्यो उति नाङ्गिदै जाने न हो नेपालमा जो पनि।

Monday, July 9, 2012

जनजाति पार्टी खोले पनि छिट्टै फुट्ला

असाध्यै शंकालु बनाइदिदो रहेछ यो पत्रकारिता पेशाले। अहिले बाहुनको नेतृत्व मानिन्न भनेर जनजाति पार्टी खोल्न तम्सिएकाहरु भोलिपर्सी फेरि आँफआँफै भित्र एकथरीले गुरुङको नेतृत्व मान्दैनम्, अर्काथरीले थारुको नेतृत्व मान्दैनम् भन्ने, कसैले नेवार र बाहुन उस्तै रहेछन् नेवारको नेतृत्व हामी लिम्बु र मगरले किन मान्ने, हामी थकालीले बाहुनको नेतृत्व त मानिएन अब राईको नेतृत्व कहाँ मानिन्छ भनेर नयाँ पार्टी खोलिहाले पनि छिट्टै फोड्छन् झैं लाइराछ। यस्तै यस्तै नचाहिने कुरो मनमा खेलेर हैरानै पार्छ मलाई त कहिलेकाहीँ...

Sunday, July 8, 2012

नेतालाई गाली


कतै चुनाव हुनेभयो भने मुन्छेहरुले घर/पर्खालको भित्तैमा पनि नेताहरुलाई गाली गरेका 'प्रवेश निषेध'का सूचना टाँस्ने पो हुन् कि के हो? फेसबुकका भित्ताँ मात्र होइन, गाडीको नितम्बमा (नितम्बको अर्थ बुझ्न तल हेर्नुहोला) नि नेताहरुलाई गाली गर्ने चलन बढ्या देख्दा मनमा ला'को कुरा नि।

कि पूर्व राजा झुठो बोले कि माधव नेपाल र कृष्ण सिटौला

पूर्व राजा दुई/चार जिल्ला घुम्न जाँदैमा र एक/दुईटा अन्तरवार्ता दिदैंमा राजा फर्कनेभए भन्नेहरु बढ्न थाल्यारछन् शहरमा। आँफै कल्पनामा रमाउन त कसैले छेक्दैन तर राजा न नेपाली जनताको मात्र चाहना र बलले फालिएका हुन् न यहाँका केहीले चाहदैँमा फर्कन्छन्। तर यहाँ कुरो त झुट्टा बोलेको पो आयो त। पूर्व राजा भन्छन् - २०६३ साल बैशाख ११ गते संसद पुनस्थापना गर्दा सात दलहरुसँग संवैधानिक राजसंस्था राख्ने सम्झौता भएको थियो। त्यो सम्झौता आफू वा अरु कसैसँग अझै पनि सुरक्षित छ। (भनेपछि पक्कै लिखत हुनपरो कि भ्वाइस रेकर्डड)
एमाले नेता माधव नेपाल भन्छन् - त्यतिबेला पूर्व राजासँग त्यस्तो कुनै सम्झौता भएको थिएन, यो आधिकारिक रुपमा मैले भनिरहेको छु, यदि त्यस्तो कुनै सम्झौता भएको थियो भने ल्याए हुन्छ।
यहाँ कि राजा कि माधव नेपाल र नेपालसँग बोली मिलाउने कृष्णप्रसाद सिटौला झुठो बोलेकै छन्। हामी स्कूल पढ्दा बोलेको कुरा झुठो ठहरिए कुखुरा बनेर एकछिन घाममा सेकिनपर्थ्यो। अब राजाले आफूसँग प्रमाण भए पेश गरौं माधव नेपाल र कृष्ण सिटौलालाई कुखुरा बनाउँला नत्र पूर्व मौसुफ नि कुखुरा बन्न तयार हुने कि भनेर भन्न नि मिलेन, ठूलो हुँदै गएपछि झुठ बोल्न पनि छुट हुँदै जानेरहेछ।

Saturday, July 7, 2012

सरकारी कार्यलय कि भगवानको फोटो बेच्ने ठाउँ


काम छ भने त दिक्कै हुन सक्छ तर काम छैन भने नेपालका सरकारी कार्यालय घुम्न रमाइलै हुन्छ। एउटा सरकारी कार्यालयको दर्ता चलानी (रिसेप्सन) शाखा। देश धर्म निरपेक्ष भनेर के गर्नु यहाँ दर्ता भएका चिठ्ठी भगुमान् कै खोपीमा पुग्ने झैं गरी फोटा टाँसेका छन्...

हरिवंश र धराबासीको बिहेले उत्साह थप्यो

श्रीमती बितेदेखि नै शोकमा डुबेर ११ वर्ष विधुर बसेका गाउँले काकाले फोन गरेका छन् - बिहे गर्न महिला खोजेर सहयोग गर्न सक्लास् केटा ? हरिवंश आचार्य र कृष्ण धराबासीको बिहेको खवरले उत्साह थप्यो होला।

कमनिस्ट नेतालाई सेतो कपालको पिर

हैन! कमनिस्ट नेताहरुलाई अझ त्यसमाथि पनि एकिकृत माओवादी नेतालाई सेतो कपालको कति पिर हो ? माउवादी नेता लेखराज भट्टपछि पार्टी प्रवक्ता दिनानाथ शर्माले नि कपाल रातै रङ्गाएछन्। घरको टिभी बिग्रेर कपाल रातो देखिएको हैन होला त...

Friday, July 6, 2012

प्रहरी व्युख्याँचा ?


सामाखुशी नजिकको खेतमा यो फोटो देखेदेखि मनमा एउटा कुरा खेलिराछ। प्रहरी पोशाकलाई वुख्याँचा बनाएर यिनले मान्छेलाई तर्साएको कि, चराचुरुङ्गी, जनावरलाई तर्साएको कि प्रहरीहरु वास्तवमा वुख्याँचा जस्तै भए भनेर प्रहरीलाई व्यङ्ग्य गरेको ?

Wednesday, July 4, 2012

सामान जति सब चिनीयाँ औपनिवेशवाद भारतको

ड्यास माउवादी कमरेडहरुले साह्रै भारतीय औपनिवेशवादको कुरा गरेपछि यसो आफूले प्रयोग गर्ने सामान हेरेको जीउ ढाक्ने कपडादेखि, बिहान उठेपछि गर्ने बुरुस, भान्साका राइसकुकुर, थर्मस, लसुन होस् कि अन्य कोठाका टिभी, फोन कार्यालयका कुर्ची, सोफा अनि राति सुत्ने ओछ्यान, ब्लाके‌ट, बोक्ने झोला, मोबाइल सबका सब चिनियाँ सामान पो रहेछन् त हउ। राजनीतिमा भारतीय औपनिवेश भए पनि आर्थिक औपनिवेश चिनतिर छ कि के हो कामरेड!

ठमेलको ठेला

गएको साता शुक्रबार दिउसो २ बजे कपनबाट नयाँबसपार्क आइपुगेको माइक्रोबसमा तपाईँले चिनेका कोही थिएनन् होला। मेरा भने कलेजका दुई साथी नारायण शर्मा र हरिकुमार ढकाल थिए।

शंकरदेव क्याम्पसमा बिबिएस पढ्दै गरेका हामी तीनमा धेरै कुरा मिल्दैन होला। तर चार कुरा भने एउटै रहेछ। उपत्यका बाहिरबाट काठमाडौं पढ्न आएका, साँझमा ठमेल कहिल्यै नघुमेका र अर्काको आम्दानीमा बाँचिरहेका। अनि काठमाडौ‍मा बाँच्नका लागि केही तत्काल सुरु गर्न पर्यो भन्ने हुटहुटी भएका।

Saturday, June 30, 2012

आफ्नो माग आँफैलाई राखिदियो भने

'जनयुद्ध' सुरु गर्नु अघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अहिलेका प्रधानमन्त्री बाबुराम भट्टराईले बुझाएको ४० सुत्रीय मागको ३३ नम्बर बुँदा ‘मल, बीउ सस्तो र सुलभ हुनुपर्छ। किसानहरुलाई उत्पादनको उचित मूल्य र बजारको व्यवस्था गरिनुपर्छ।' क्या सजिलो हुन्छ है माग राख्न...