Tuesday, October 30, 2012

कस्तो हुनुपर्नेरहेछ सुनसान हुनलाई?

काठमाडौंमा यसपटक दशैंमा सुनसान भएन भनेर गाउँमै रेडियोमा समाचार सुनेको। तर अरु बेला घटीमा एक घन्टा लाग्ने अफिस आउन आज दशैं बिदा सकिएर पूर्णीमा परेवाको दिन जम्मा २५ मिनेटमै ल्याइपुर्याओ चक्रपथ घुम्ने बसले। यी रेडियोलाई कस्तो हुनुपर्ने रहेछ कुन्नि काठमाडौं सुनसान हुन?

ठोक्किन आम्छन् त गाडी नि, मान्छे नि

मोटर नगुड्ने ठाममा गोडा दशेक दिन बसेर आको त। यो काठमाडौं छातिमा आफूले हिड्नै नजानेर हो कि, ह्याँकालाई दशैंले नछोडेको हो, ठोक्किन आम्छन् त गाडी पनि, मान्छे पनि।

काठमाडौं फर्किदाँ धन्नै गाडीले थिचेन

काठमाडौं सँधै ठूला बसमा आउने जाने बानी परेको, सडकको खाल्डाखुल्डी खासै देखिन्थेन अलिअलि उफार्थ्यो मात्र। मौकाले/भाग्यले यसपटक सानो गाडीमा काठमाडौं फर्किन पाइयो। राम राम! खानीखोलाबाट नागढुंगासम्म आउँदा सानो गाडी त खाल्डोमा परेर माथिबाट अर्को गाडीले थिच्ला जस्तो पो हुनेरहेछ बेलाबेलामा। काठमाडौं गिटी बालुवा ल्याउने ट्रिपरले बाटो बिगारेर होला काठमाडौं भित्रिने तर्फको सडक लेन त अर्को भन्दा एक हात जति तल छ।
काठमाडौं फर्कँदा सकभर पाएसम्म ठूलै बस नभए टडकमै हिंड्न पर्ने हामीलाई नै रमाइलो रछ।

Saturday, October 27, 2012

युरिया हालेको जमरा

गाउँको चौतारीमा भेला भएकाहरुको गफ 'यसपटकको दशैंमा जमरा राम्रोसँग सप्रिएन त्यसैले अलिकति युरिया हालें मैले त।'

Sunday, October 21, 2012

दशैंमा सम्झने एक घटना

दशैं आएपिच्छे सम्झने एउटा घटना।
म नौ कक्षामा पढ्दै गर्दा दशैंमा एउटा कार्यक्रम राखेका थियौ गाउँमा। शहरतिरबाट दशैं मनाउन गएका गन्य-मान्य भन्नेहरुले गाउँ यस्तो भो/उस्तो भो, गाउँ बिग्रियो भन्दै गाउँलेका कुरा निकै काटे। त्यसपछि गाविसका अध्यक्षले भाषण गरे- 'वर्षमा पाँच दिन गाउँ आउँछन् दशैं मनाउन, अनि कार्यक्रम राखेर भाषण गर्दै गाउँ बिग्रियो, यसो गर उसो गर भन्छन्। गाउँलाई साँच्चै माया गर्ने हो भने गाउँ फर्किएर आओ। यही गाउँमा बसेर गाउँ बनाऔं। नभए दोष मात्र नदिओ।'
Note: दशैंमा गाउँ गएर भाषण गर्ने हो भने होस गरम् है।

Thursday, October 18, 2012

यो दशैं परिवारका लागि

यसपालि दशैंमा न हाइकिङ, न ट्रेकिङ, न बाइकिङ, न कुनै घुमघाम, न कुनै ध्यान क्याम्प। बा- आमाको लागि हो एक साता।
यतिकुरा लेख्दै मन भरिएर आइसक्यो। जतिसक्दो छिटो गाउँ हिडिन्छ अब।

Sunday, September 30, 2012

सरकारी अस्पतालको ट्वाइलेट सफा गर्ने संस्था छैन कुनै?



हैन, सरकारले गरेको कामले मात्र जनताको फलिफाप भएन भनेर नेपालीको जीवनस्तर उकास्ने भन्दै यत्रा एनजिओ आइएनजीओ ले काम गरिरहेका छन् नेपालमा। सरकारले त सकेन सकने सरकारी अस्पतालको ट्वाइलेट सफा गर्ने कोही एनजिओ आइएनजीओ छैन भन्या यो देशमा ?
वीर अस्पताल भित्रको एउटा शौचालय बाहिरबाट हेर्दा यती राम्रो देखेर भित्र छिरेको। राम राम! सात वर्षदेखि पिनासबाट थलिएकाले पनि थाहा पाउने गन्धले धन्नै 'फेन्ट' भइएन।
सरकारी अस्पतालका शौचालय सफा राख्ने मात्र कुनै संस्था भए वर्षको पाँच हजार रुपैयाँ मै पनि दान गर्थे‌ सक्दासम्म त बरु। किन सरकारी अस्पतालका शौचालय त्यति विघ्न फोहर हुन् भन्या ?

Wednesday, September 26, 2012

तपाईंको शौचालय कहाँ छ कुन्नि ?

कतै सुनेको : खोल्सा-खोल्सी, रूख वा ढुंगाको कापमा लुकेर शौच गर्ने परिवार आर्थिक हिसाबले मात्र होइन ज्ञानको हिसाबले पनि 'गरिब' हो। घरको अलि पर कान्लाछेउमा बोराले घेरेको शौचालय छ भने गरिब भन्दा अलिक माथिका। आँगनको छेउ वा करेसाबारीनिर अर्धपक्की शौचालय बनाएमा 'मध्यमवर्गीय' तर्फको यात्रामा। घरसँगै टाँसिएका तर मूल ढोकाबाहिर शौचालय बनाएका 'मध्यमवर्गीय'। घरको मूल ढोकाभित्र शौचालय भए पक्कापक्की 'मध्यमवर्गीय'। शयनकक्षभित्र शौचालय भए त 'उच्च मध्यमवर्गीय'।
तपाईंको शौचालय कहाँ छ कुन्नि ?

अछाममा दुई धाराको कथा

अछाम सदरमुकाममा एउटै मुलमा दुई धारा छन्। भाँडाको बढी भिड भएको धारा चाहिँ कथित उपल्ला जातको। कम भएको चाहिँ तल्ला बनाइएका जातिको। आजभोलिका केही दलित युवाहरु भने बाहुन क्षेत्रीका भनिएका धारामा गएर पानी भर्दारहेछन्। तर अहिलेसम्म पनि सबैको त्यो हिम्मत आइसकेको रहेनछ।
उता दलित बाहेककाहरु पनि भिड बढी नै भए पनि पालो कुरेर कथित माथिल्लो जातकै भनिएको धाराबाट पानी भर्दा रहेछन्। भिड कम भए पनि दलितको लागि छुट्टयाइएको धारामा जाँदा रहनेछन्।

नेपाली फिल्ममा 'बाई वन गेट वन फ्री'

मलाई चलचित्रकर्मीहरु मन पर्छन् कारण एक त उनीहरुमा 'सेलिब्रेटी'को आकर्षण हुन्छ। अर्को नेपाली चलचित्रकर्मीले कहिलेकाहीँ रमाइला घटना सुनाउँछन्। आज एकजनालाई सोधेको थिएँ,'फिलिम कत्तिको पाइरहिएको छ?
उनले सुनाइन्, 'आजभोलि Buy one get one free चलेको छ नेपाली फिलिम क्षेत्रमा, मेरो पिताजी पनि फिलिम क्षेत्रकै हुनुहुन्छ त्यसैले मलाई लिएपछि बाले फ्रीमा अभिनय गर्दिने भएकाले खाली बस्नुपरेको छैन।'
अरु पनि छन् रे नेपाली फिलिम इन्डष्ट्रीमा बालाई डाइरेक्टर लिए छोरीले फ्रीमा हिरोइन खेल्दिने, छोरालाई फिल्ममा खेलाए बाउले फ्रीमा डान्स/फाइट डाइरेक्सन गर्दिने।

Sunday, September 23, 2012

दुई थरी विश्लेषकलाई सुन्न नपरे हुन्थ्यो


प्रभु दुई किसिमका विश्लेषकहरुको कुरा सुन्नबाट मलाई बचाइदेउ,
1) विश्वमा अन्यत्र यस्तो कतै हुनै सक्दैन/भएकै छैन भनेर संसारकै ठेक्का लिनेहरुबाट।

2) यो निर्वीकल्प हो अरु विकल्पै छैन भन्नेहरुबाट।
(निर्वीकल्प भन्ने पञ्चायती व्यवस्था त ढल्दो रहेछ। संसारमा निर्वीकल्प भन्ने एक दुई कुरा मात्र होलान्। श्वास प्रश्वास नफेरी बाँच्न सकिदैंन, परिवर्तन भन्ने कुरा निर्वीकल्प हो)

Friday, September 21, 2012

'सुन्न नसक्ने' भनेर किन थपेको ?

समाचारको शिर्षकमा बहिरा मात्र नभनेर किन सुन्न नसक्ने थप्न परेको होला?
यो समाचार लेख्ने, सम्पादन गर्नेलाई सुन्न सक्ने पनि बहिरा हुन्छन् भन्ने लाग्छ कि ?  बनेपास्थित बहिरा स्कूलको सूचना पाटीमा टाँसेर राखेको एउटा समाचार।