Monday, June 20, 2011

ट्याक्सी ड्राइभर


अफिस आउन ढिला हुन लागेपछि गएर सोधें, झम्सिखेल जाने? पत्रिकाबाट उसले आँखा यताउता डुलाएन। पाँच मिनेटपछि जीउ तन्कायो र सोध्यो कहाँ जाने रे, मैले बिस्तारै भने झम्सिखेल, उसले भन्यो - नजाने। चोकको ट्याक्सी ड्राइभरले पढ्दै गरेको पत्रिका यसो हेरें लेख्याथ्यो- १० वर्ष अगाडिको ट्याक्सी ड्राइभर पर्शुराम राजनीतिमा लागेर डन भएपछि अर्बपति बने...

शंकर लामिछानेको फोन नम्बर माग्ने पत्रकार

नेपाली साहित्यमा रिपोर्टिङ गर्छु भनेर नयाँ नयाँ परिचय भएकी एक जना पत्रकार बहिनीले भर्खरै अनलाइनमा सोधिन् - दाइ शंकर लामिछानेको फोन नम्बर होला तपाइसँग, दिनु न। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

Friday, June 17, 2011

राजा झैं बन्न नखोजम् न हो राष्ट्रपति जी

राष्ट्रपति रामवरण यादव केन्द्रीय तथ्यांक विभागका महानिर्देशक उत्तमनारायण मानन्धरलाई आफ्नो पारिवारीक लागत भराउँदै शुक्रबार बिहान । यहीबाट ११ औं राष्ट्रिय जनगणना सुरु भएको हो । तस्विर: सूर्यचन्द्र बस्नेत/रासस

हैन कति झुकेको हो यो तथ्याङ्क विभागका महानिर्देशक मानन्धर। पुरै निहुरी मुन्टी 'न' परेको छ। जनगणनाको लागत लिन गाको मान्छे, टिप्न कति गाह्रो भयो होला। कम्तिमा राष्ट्रपतिले पनि आफ्नो बिबरण लिन आउनेलाई कुर्चीमा बसाल्न पर्ने कि आफू पनि उठेरै लगत दिन पर्ने। जनगणनाको एउटा फारम भर्न आधा घन्टा जति लाग्छ भनेर रेडियो पत्रपत्रिकामा भनिरहेको छ। त्यो महानिर्देशकले चाकडी गरेर यसरी नै आधा घन्टा निहुरीमुन्टो लगाएर फारम भर्‍यो होला कि ?

राष्ट्रपति फेरि मजाले कुर्चीमा बस्याछ,  राजा हुन खोज्या हो कि ? जनताको छोराछोरी राष्ट्रपति भएपछि पनि उही पहिले राजाका अगाडि पर्‍या जस्तो गर्न पर्ने भए के को गणतन्त्र ? उहिले उहिले राजाले भाषणको अन्त्यमा 'पशुपतिनाथले हामी सबैको कल्याण गरुन्' भन्थे क्यारे आजभोलि राष्ट्रपतिले 'हामी सबै नेपालीको जय होस्' भन्ने गरेका छन्। सबै नेपालीको जय चाहने राष्ट्रपतिको व्यवहार पनि त्यस्तै हुन परो नि।

बिजुली चोर भगुमान


ई! टोलमा नयाँ मन्दिर बनाउने बित्तिकै भगुमानलाई सुरु मै चोर बनाइ दिएछन् छिमेकीहरुले त। तीन महिना जति अगाडि मन्दिर बनाउन भनेर पैसा उठाउँदै आथे। पाँच हजार सम्म रुपैयाँ दिनेको नाम मार्बलमा खोपेर राख्निने भनेकाले पाँच हजारै दिम् कि जस्तो पनि लाग्याथ्यो। तर यसो घाँटी हेरेको मार्बलमा नाम लेखाउन सकिएला जस्तो लागेन र दुई हजार मात्र दिएँ।

१० दिन जति अगाडि मन्दिरको उद्‍घाटन हुँदै थियो एक दिन कार्यालय आउँदै गर्दा देखेको थिए। अनि अफिसबाट साँझ घर पुग्दा राति हुँदा मन्दिर सँधै झलमल भएको देखेर मन्दिरको बिजुलीको पैसा कसले तिर्छ भनेर पुजारी बालाई सोधेको उनले तारमा लाको हुक देखाइदिए। यसो अरु मन्दिरमाँ नि विचार गर्‍या नेपालका सबै जसो भगुमानलाई मान्छेहरुले बिजुली चोर नै बनाइदिया रचन्.....

फोन संवाद


- खोइ राम्रोसँग बुझिएन
- ए हो र, सुन्नु भाछैन
- अहँ सुन्याछैन।
- पछि फोन गरौं त
- हुन्छ पछि फोन गर्नु न
धेरैजसो मोबाइल फोनको संवाद..
(बुझ्या हो कि नबुझ्या हो कुन्नि फोन)

घर नजिकै कलेज

आफूलाई त न कुनै फेसन सो हेर्न नि पर्छ, न राति राति फेसन टिभी! घर नजिकै दुई तिनवटा कलेज खुलेका छन्। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा....)

Wednesday, June 15, 2011

सरकार न परो, जसलाई जे को नि विज्ञ बनाइदिन सक्दोरछ

हैन सरकारमा गएपछि मान्छेको दिमाग खुस्किन्छ कि के हो, अस्ति नै फिल्मकर्मी अशोक शर्मालाई खानेपानी लिमिटेडको अनुगमन गर्ने समितिमा ल्याएको थियो, अहिले अर्का फिल्मकर्मी युवराज लामालाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव बनाएछ। बाँची बसे कुन दिन यो देशमा गणेश थापालाई चलचित्र विकास बोर्डको अध्यक्ष बनाएको नि देख्न पाइएला। सरकार न पर्यो जसलाई नि, जे को नि विज्ञ बनाउन सक्दोरहेछ...

तरकारी - चाउचाउको झोल

थालमा भात र कचौरामा चाउचाउको झोल दिदैं रसुवाकी दिदीले भनिन्- काठमाडौंबाट आउनुभाको करेलाको तरकारी तितो मान्नुहोला भनेर अरु तरकारी नभएकाले यही चाउचाउको झोल तरकारी बनाएकी अनि अलिकति आलु पनि भुटेकी छु।' आँगनको डिलमा झ्याङ्क्रामा फलेको करेला हेर्दै चाउचाउको झोलसँग भात खाइयो। हाम्रो गाउँघर...

Saturday, June 11, 2011

घिमिरे सरकार


झलनाथ, माधव नेपाल, प्रचण्ड, शेरबहादुर, रामचन्द्र मात्रै हैनछ, पाए त हामी सबलाई आफ्नै सरकार चाहिया छ। नुवाकोट देबिघाटमा भेटिएको यो बसका साहु हो कि ड्राइभर कस्को थर घिमिरे भएर होला देश हाँक्न नपाए नि गाडी त हाँकेकै छु भनेर होला गाडीमै 'घिमिरे सरकार' लेखेछन्...

झलनाथलाई हाइसन्चो

प्रधानमन्त्री झलनाथ खनाललाई अहिले सबैभन्दा हाइसन्चो भाछ रे एकजना उनका सल्लाहकारले भनेका 'कम्तिमा मन्त्री बनाइदिनु भनेर अहिले कोही भन्न आछैन नत्र दिनमा तीन चार घन्टा त मन्त्री बनाइदिनु भन्नेहरुलाई फकाउनै समय लाग्थ्यो झलनाथलाई।'

उनका सुझाव छ अब नयाँ सरकार बनाउँदा तत्काल राजिनामा गर्ने सहमति सहित लेख्नुपर्छ। त्यसोभए प्रधानमन्त्रीलाई मन्त्री बन्नेले हैरान पार्नेछैनन्..

रामदेवको सिको कसैले गरे त हुने

नेपालमा रामदेवको योग गर्छु भन्नेहरु त धेरै नै छन् झैं लाग्थ्यो। तर धेरै मान्छेहरु मै जस्ता गफाडी रचन् कि के हो। झुक्किएर कुनै दिन योग गर्यो भने तीन महिना गफ दिने। नत्र अरु आसन भन्दा रामदेवको यो 'अनशन आशन'को जताततै चर्चा भा बेला भ्रष्टचारीलाई कारबाही होस् भन्दै खोई नेपालाँ अनशन। एक जना चिरञ्जिवी वाग्लेपछि अदालत पनि सुते झैं छ। रामदेव जस्ता कोही अनशनमा बसे केही हुन्थ्यो कि। तर बामदेवहरु धेरै भाको देशमा...

Saturday, June 4, 2011

भाले की पोथी सर


फस्ट टाइम वेटरको यस्तो प्रश्न इटहरी आएर सुन्न पाइयो - मटन कि चिकन खाना सर ? (जवाफ - चिकन) लोकल कि ब्रोइलर सर? - (जवाफ- ए! छनौट छ, त्यसो भए लोकल)  भाले कि पोथी सर ?
(हास्नुपर्ने कारण धेरै छ हा हा हा...)