Tuesday, January 15, 2013

महिला ग्राहकका लागि रेष्टुरेन्टमा छुट्टै तला


महिला हिंसाका समाचार पढिरहेका बेला बनेपाको नेवा किचन रेष्टुरेन्टमा जान पाइयो। रेष्टुरेन्टले महिलाहरूका लागि एउटा छुट्टै तलामा खाने व्यवस्था गरेको रहेछ। तर मदिरा र चुरोट पिउने महिलाहरुलाई भने अलिक अप्ठेरो पर्दोहोला, No smoking, No Drinks Please लेखेको छ।

Thursday, January 10, 2013

पोखरामा भेटिएका रेडियो पत्रकार

'लाइसेन्स त बोक्दै बोक्दिन, कहिलेकाहीँ कुनै ट्राफिकले ब्लु-बुक खोस्यो भने यहाँका ट्राफिक हाकिमलाई फोन गर्छु। भोलिपल्ट ट्राफिक प्रहरीले अफिसमै ब्लुबुक ल्याइदिन्छन्,' सुशासन सम्बन्धि रेडियो कार्यक्रम बनाउने एक जना रेडियो पत्रकार भेटिएका थिए पोखरामा। अजब नेपाल, गजब नेपाल...

Thursday, January 3, 2013

फेसबुक स्टाटस बेचेर पैसा

आजको The Himalayan Times पत्रिकामा देखेको विज्ञापन : Wondering what to update as your FACEBOOK STATUS? type FBS and send it to 3131.
मैले SMS पठाएको चार रुपैयाँ खर्च भो तर रिप्लाई भने आएन। तै मनमा लागेको कुरा- बाठा मान्छेले फेसबुक स्टाटस पठाइदिन्छु भनेर नि पैसा कमाएकै छन् र, संसारमा जे पनि बेच्ने र किन्नेका कमी छैन।

Tuesday, December 18, 2012

अस्पतालमा पनि 'सोर्सफोर्स'

आफन्तका उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं  पुगेको थिएँ। एकजना चिनजानका काँग्रेसी युवा कार्यकर्ता भेटिएपछि सोध्नै परो, 'अस्पतालमा किन?'
उनले फर्काए, 'एकजना गाउँले दाइको घाँटीको अपरेशन चार महिना पछि भनेका रहेछन् डाक्टरले, भनसुन गरेर बल्ल अर्को सातालाई सारें।'
उपचारका लागि गएका मेरा आफन्तले म पट्टि पुलुक्क हेरे। उनको आँखाबाटै मैले बुझें, उनको अपरेसन तीन महिना पछाडि थियो अब अझ थप एक हप्ता पछाडि परेछ किन कि उनको भनसुन गरिदिने कोही थिएन।
जब देश 'सिस्टम'ले चल्दैन अनि अस्पतालमा उपचारका लागि पनि सोर्सफोर्स लाउन नि नेता खोज्दै हिड्नपर्छ। मेरो नेपाल...

धनीकोमा बस्नुस् न प्रधानमन्त्री

प्रधानमन्त्री जनताकोमा बस्न गएकोमा मलाई त रमाइलै लाइराछ। तै पनि एउटा सल्लाह, बाबुराम जी तपाई गरिब किसानकै घराँ जन्मेको हुँ भन्नुहुन्छ। गरिबको स्थिति कस्तो छ भनेर जान्न तपाईलाई गरिबका घरैमा गएर बस्न पर्छ झैं मान्दिन। बरु यसो धनीका घराँ घुम्नु, बस्नु। हामी गरिबलाई नि तिनै धनीको जस्तै व्यवस्था गरिदिनु। गरिबकाँ मात्र डुल्दा डुल्दा तपाईंले त अलिअलि भाकालाई त्यस्तै बनाइदिनुहुन्छ कि भन्ने डर भो।

माओवादी नेताले गाई किसानलाई सुनाएको अनुभव

गाई किसानकै प्रसङ्ग चल्दा गोरखाका किसानले पालेका करिब दुई सय गाई हेरेपछि एमाओवादी वाइसिएलका एक जना नेताको प्रतिक्रिया तिनै किसानले सुनाएका :'हाम्रा केटाहरुले पनि गाई पाल्न सक्छन् कि भनेर बुझ्न आएको थिएँ, तर यहाँ तपाईंको लगन र परिश्रम हेरेपछि बुझें हाम्रा केटाहरुले बाँधेर राखेको गाई फुकाइदिएपछि नजिकैको माटो खाएर गोठमा आउने अनि एक पाथी दुध बाल्टीमा दिने भए मात्रै पाल्छन् नभए यति दु:ख गरेर पाल्दैनन्।'

दुग्ध सहकारीका अध्यक्षको गाई भैंसी छैन


दुई सय जति गाई पालेका, मेसिनबाट समेत दुध दुहुने, दैनिक पाँच हजार लिटर जति दुध बेच्ने गोरखाका एक जना किसानले भने, 'मैले धेरै गाई पालेर दुध बेच्छु भनेर के गर्नु, गाई भैसी नै नभएका मान्छे नेपालमा दुग्ध विकास सहकारीका अध्यक्ष छन्।'

Tuesday, December 11, 2012

गाला चड्काउन थप उत्साहित हुने पो हुन् कि

प्रचण्डलाई थप्पड हान्ने पदम कुँवरलाई देश/विदेशबाट आएको सहयोग अनि प्रचण्डले नै २८ हजार रुपैयाँ धरौटी दिएर जेलमुक्त गराइदिएपछि र पदम कुँवर अबिर माला लगाएर हिंडेको देखेपछि मलाई त केटाहरु ठूलाबडाका गाला चड्काउन थप उत्साहित हुने पो हुन् कि भन्ने डर लाग्यो त। होस गरौं है, बेलैमा सचेत बनाउने भन्दा अरु त मैले के नै गर्न सक्छु र ?

Monday, December 10, 2012

२८ हजार नहुँदा

पदम कुँवरले प्रचण्डलाई थप्पड हानेपछि कति देशी/विदेशीले त्यही प्रकरणको शोकमा र कति द‌ेशी/विदेशीले त्यसैको उन्मादमा २८ लाखको दारु खाए होलान् आजसम्म। तर, तिनै पदम कुवँर २८ हजार रुपैयाँ धरौटी राख्न नसकेर जेल चलान भएछन्। मलाई मेरो देश मन पर्छ।

बेलामा अफिस आउने अधिकार

बिहानैको ट्राफिक जामले बेलाँ अफिस आइपुग्ने अधिकार खोसियो। किन यति सबेरै जाम भएछ आज, भनेको त मानव अधिकार दिवसको उपलक्ष्यमा अधिकारकर्मीहरु जो सडक कब्जा गर्दै र्‍यालीमा हिंडिरहेका रहेछन्। जय मानव अधिकार...

Friday, December 7, 2012

किन तीन करोड भनिरहेको ?

मनमा लागिरहेको कुरो नि: नेपालको जनसख्या २ करोड ६४ लाख भनी तथ्याङ्क आइसक्दा पनि नेताहरूले भाषणमा 'तीन करोड जनताको सवाल छ ह्याँ', 'तीन करोड जनताको भावना विपरित हुन्छ' भनिरहेका छन्। कहाँकालाई जोडेका हुन् तिनले ?

Sunday, December 2, 2012

प्रचण्डले प्रमको नाम लिइदिएनन्

एकजना ठूलै नेताले मलाई भने भन्दै ठूलै पत्रकार सुनाएका, 'प्रचण्डले धेरैलाई प्रधानमन्त्री बाँड्दै हिंड्दा पनि मेरो नाम कतै आएन, लउ न एकपटक नाम लिइदिन भन्नुस्। पार्टीभित्र र बाहिर अलिकति भए नि इज्जत बढ्थ्यो कि।' कसलाई के को पिर कसलाई के को पिर।