Tuesday, April 29, 2008

डेढगाउमा फेरी विजुली बाल्ने प्रयास

गत भदौको भिषण वषा पछिको पहिरोले विगारेको डेढगाउ लघुजलविद्युत परियोजनाको पुनः निर्माण कार्य छिटै सुरु हुनेभएको छ । पुसको अन्तिम साता बसेको परियोजनाको साधारण सभाले गोर्जेघाटमा रहेको विद्युत गृह देउमुडामा सारी विद्युत उत्पादन सुरु गर्ने निर्णय गरेकाले फेरी डेढगाउमा विजुली बल्ने आशा पलाएको हो ।
तर, देउमुडामा टरबाइन राख्दा विद्युत उत्पादन कम हुने भएकाले विगतमा ७० वाट क्षमता प्रयोग गरेका उपभोक्ताले अब ५० वाट मा नै चित्त बुझाउन सक्नुपर्ने परियोजनाका सचिव वालप्रसाद ठाडाले बताउनुभयो ।
विजुली कम उत्पादन भए पनि पुरानै बाडफाड अनुसार सबै घरधुरीलाई समान रुपमा बीजुली बाडिने भएकाले उपभोक्ताले कम वाटको विजुली उपयोग गर्नुपरेको हो ।
हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफको आर्थिक सहयोग, डि सी एस बुटवलको प्राविधिक सहयोग र जनश्रमदानबाट डेढगाउमा ६ वर्षअगाडि १४ किलोवाटको विजुली उत्पादन भएको थियो । २०५८ साल असोज देखि डेढगाउका पाच वटा वडाका करिब दुइ सय घर परिवारले विजुली बाल्दै आएका थिए । बेला बेलामा प्राकृतिक प्रकोपले विजुलीमा अवरोध पुराए पनि गत भदौमा गएको पहिरो पछि भने अहिलेसम्म पनि विजुली बल्न सकेको छैन । भदौको पहिरोले करिब ६ लाख रुपैयाको क्षति पुराएको उपभोक्ता समितिका पदाधिकारीले जानकारी दिएका छन् ।
जम्मा ५४ लाख रुपैयाको लगानीमा बनेको परियोजनामा ९ लाख रुपैयाको श्रमदान परेको थियो भने ४५ लाख रुपैया सहयोग आएको थियो । प्राविधिकहरुले १७ किलोवाट विद्युत उत्पादन हुन्छ भनेकोमा १४ किलावाट मात्र विद्युत उत्पादन भएपछि डि सी एस बुटवलले नौ लाख रुपैया क्षतिपूर्ति दिएको थियो ।
त्यो क्षतिपूर्ति मध्ये चार लाख रुपैया अझै पनि हिकोडेफले उपलब्ध नगराएको सचिव ठाडाले जानकारी दिनुभयो ।
परियोजनासग अहिले करिब एक लाख ५० हजार रुपैया छ भने बीजुली उपभोक्ताबाट पुरानो वक्यौता ६८ हजार रुपैया उठाउन बाकि रहेको उपभोक्ता समितिले जनाएको छ ।
साधारण सभाले छिटै परियोजनको पुनः निर्माण गर्ने निर्णय गरे पनि असन्तुष्ट उपभोक्ताले भने उपभोक्ता समितिको पदाधिकारीहरुलाई घचघच्याइरहनुपर्नेमा जोड दिएका छन् ।

No comments:

Post a Comment

Please leave your comment here