Monday, December 3, 2018

नेपालीभाषी बर्मेलीका धर्म र समाजका कुरा

‘दुई-चार घर मात्र भएका ठामका नेपालीले पनि सयौं असजिलो, दुःख, अपमान सहेरै हाम्रो भाषा, संस्कृति जोगाएर राखेका छन्। त्यो देखेपछि त्यसै आँशु रसाउँछ के भाइ!’

सधैं हँसमुख देखिने सागर घिमिरेका आँखामा पानी छचल्किएको हो कि भनेर मैले गहिरिएर हेरेँ। उनको स्वर मात्र कामेको थियो, आँखामा आँशु थिएन।

बर्मामा बस्ने नेपालीभाषीको साझा संस्था अखिल म्यान्मा देशीय गोर्खा हिन्दु धार्मिक संघका अध्यक्ष हुन्, घिमिरे। घिमिरेको टोली म्यानमारका ‘छिन’, ‘जघाई’ र 'शान' प्रदेश पुगेर भर्खरै यांगुन फर्किएको थियो। यीमध्ये छिन र जघाईमा नेपालीभाषीका थोरै थोरै बस्ती छन् भने शानमा बाक्लै छ।

म्यानम्यार नेपालभन्दा करिब पाँच गुणा ठूलो छ। जनसंख्या भने नेपालको भन्दा दोब्बर पनि छैन। बस्ती जताततै फैलिएको छ। एक लाख हाराहारी नेपालीभाषी पनि गाउँगाउँमा बाँडिएर बसेका छन्। सरकारी तथ्यांकले नेपालीभाषीको संख्या ९० हजार पनि देखाउँदैन। नेपालीभाषी अगुवाहरू भने म्यानमारमा सवा लाखभन्दा धेरै नेपालीभाषी रहेको बताउँछन्।

यहाँका रैथाने र अन्य जातिसँग बिहेबारी, थाइल्यान्डसहित विभिन्न देशमा बसाइसराइँ र धर्म परिवर्तनपछि भाषा संस्कृति विस्तारै बिर्संदै र छाड्दै जाँदा नेपालीभाषीको जनसंख्या कम हुँदै गएको छ।

संघका नेताहरू वर्षको एकपटक गाउँगाउँ पुगेर नेपालीभाषीका खैखबर गर्छन्। कसैलाई दुःख भए संघमार्फत् सघाउँछन्। कसैको सुख भए संगालेर फर्किन्छन्। अनि त्यो समाचार अन्त बसेका नेपालीभाषीसम्म फैलाउँछन्।

‘संघले बर्सेनि हजारौं विद्यार्थीलाई छात्रवृत्ति दिन्छ, स्वास्थ्य शिविरहरू सञ्चालन गर्छ। मन्दिर, पाटी, पौवाहरू बनाउन सहयोग गर्छ। यहाँका नेपालीभाषीलाई म्यानमाली नागरिकता दिलाउन मद्दत गर्छ। यहाँका नियम-कानुनबारे जानकारी दिने, युवाका लागि व्यक्तित्व विकास, महिलाका लागि नारी शिक्षाका कार्यक्रमजस्ता चेतनामूलक शिविरहरू गर्छ। यी सबै विषयमा जानकारी दिन पनि गाउँगाउँ जानुपर्छ,’ संघका महासचिव विष्णुबहादुर मरासिनी भ्रमणको कारण खुलाउँदै थिए।

अखिल म्यान्मा देशीय गोर्खा हिन्दु धार्मिक संघका अध्यक्ष सागर घिमिरे र कार्यालय प्रमुख तिलकराम पोख्रेल। तस्बिर सौजन्य: तिलकराम पोख्रेल

मलाई भने गाउँगाउँका नेपालीभाषीको कुन कुराले उनीहरूलाई उत्साहित बनायो, के कुराले दु:खी बनायो जान्ने उत्सुकता थियो।

‘फलाम सहरबाट १० किलोमिटर उत्तरमा जम्मा तीन घर रहेछ, गोर्खालीको। १७ जना नेपालीभाषीले पनि मन्दिर जोगाएर राखेका रैछन् दाइ,’ संघका कार्यालय प्रमुख तिलकराम पोख्रेलले अिघ सर्दै सुनाए, ‘बेलायती शासकले उपलब्ध गराएको जग्गामा एक सय १८ वर्षपहिले नेपालीले बनाएको मन्दिर पुगियो। बाहिरबाट ढल्न लागे पनि भित्र शिव र पाञ्चायन मन्दिरमा देवी-देवताका प्रतिमूर्ति मखमली र सयपत्री फूलले सिँगारिएका थिए।’

करिब पाँच लाख जनसंख्या भएको छिन प्रदेशमा ९० प्रतिशत बासिन्दा क्रिश्चियन धर्म मान्ने भइसके। अंग्रेजले सन् १८८५ मा छिन कब्जा गर्नुअघि त्यहाँका सबैजसो बासिन्दा प्रकृतिपूजक थिए। क्रिश्चियन धर्म प्रचारकहरू भेटिइरहने छिनमा सन् १९६६ को जनगणनाले जम्मा ३५ प्रतिशत क्रिश्चियन धर्मावलम्बी भएको देखाउँछ।

तिलकरामले ८२ वर्षीय बेदुरामलाई छिनको फलाममा भेटेछन्।

‘धर्म प्रचारकहरूले नर्कबाट बचाइदिन्छौं, विदेश लैजान्छौं, जागिर मिलाइदिन्छौं, पैसा दिन्छौं भनेर नेपालीभाषीहरूलाई क्रिश्चियन बनाएका रहेछन्। बेदुरामका छोरालाई पनि क्रिश्चियन बनाएर नर्वे लगेछन्। बेदुरामलाई पनि नाति/नातिनीका मायाको बल्छी थापेर उता लान खोजेका रहेछन्,’ तिलकरामले बर्मेली बेदुरामका कुरा सुनाए पनि मलाई भने आफ्नै देशको कथा म्यानमारमा कसैले भनिरहेझैं लागिरहेको थियो।

'बेदुराम बुबा जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी भनी बस्नुभएको रहेछ। भन्नुहुन्थ्यो- अंग्रेज-जापान लडाइँ, बर्मा-छिन लडाइँ बेला भारत गएर बसे पनि युद्ध सकिनासाथ यहीँ फर्केको हुँ। अब स्वदेशमै मर्छु,' तिलकरामले सुनाए।

नेपालीको त्यो मन्दिर त्यहाँबाट हटाउन छिनबासीले अनेक प्रपञ्च गरेछन्। कहिले ‘तिमीहरूको मन्दिर हटाएर सहर बाहिर लैजाओ, भनेजति जग्गा दिन्छौं’ भन्ने। कहिले बजार भाउभन्दा असाध्यै धेरै पैसा दिएर किन्न खोज्ने। कहिले डर देखाएर हडप्न कोशिस गर्ने।

यतिले नपुगेर बेलाबेला मन्दिर लडाउन र आगो लगाउन पनि खोजिएछ। बेदुराम र अन्य गोर्खालीले ‘बरु हाम्रो गर्दन काटेर लैजाओ, तर हाम्रा पुर्खाले बनाएको, सय वर्षदेखि पूजा गर्दै आएको मन्दिर हामी दिन सक्दैनौं’ भनेपछि अहिलेसम्म बाँचेको रहेछ।

बेदुरामका कुरा सम्झँदै तिलकरामले भने, ‘जीवन दाउमा राखेर मन्दिर बचाएका छौं। यही मन्दिर देखेर भए पनि गोर्खालीका सन्तानले आफ्ना संस्कृति सम्झेका छन्। हाम्रा चाडपर्व यहाँ मनाउन पाइएको छ। यो मन्दिर नरहे नेपाली कहाँ भेला होलान्? होटलमा शिवरात्रि, ऋषिपञ्चमी, रक्षाबन्धन मनाएर हाम्रो संस्कृति जोगिएला?’

‘हामीले अब त्यो मन्दिर जिर्णोद्धार गर्ने हो,’ कुइनोले टेबलमा अडेस लगाएर टाउकोमा हात राखी गमिरहेका अध्यक्ष घिमिरे बोले, ‘अब दुई वर्षभित्र त्यहाँ राम्रो मन्दिर बन्छ।’

म्यानमारको ल्वेका सहरमा भेटिएका नेपालीभाषी

छिन प्रदेशको फलामसँगै घिमिरे टोली जघाई प्रदेशको कले पनि पुगेको थियो। त्यहाँ २ सय २० घर नेपालीभाषी रहेछन्। कलेमा नेपालीभाषीहरू बौद्धमार्गी हुँदै गएका भेटेछन्।

म्यानमारमा अन्यत्र पनि थुप्रै नेपालीभाषी बौद्धमार्गी भएका भेटिन्छन्। चाहे नेपालीभाषीको बाक्लो बस्ती रहेको मोगोकमा होस् वा पुरानो राजधानी यांगुनमा वा दुई सय घर भएको ल्वाइको सहरमा। त्यहाँ गोर्खाली स्तुप र विहार बनिरहेका छन्, बढिरहेका छन्।

अखिल म्यान्मा देशीय गोर्खा थेरावाद बुद्ध धर्म प्रचारप्रसार संघका अनुसार म्यानमारमा ४० भन्दा धेरै बौद्ध स्तुप र विहार गोर्खालीहरूले निर्माण र सञ्चालन गरिसकेका छन् भने थप बन्दै छन्।

‘हामी मलाइ पुगेका थियौं, एकदमै दुर्गम गाउँमा। २२ जना नेपालीभाषी भेला हुनुभएको थियो,’ घिमिरेले थपे, ‘नेपाली भाषा पढाउने कोशिस गर्दा जम्मा दुई जना पढ्न आए भन्ने सुनियो। पढाउने मान्छे पनि अभाव रहेछ। तै पनि नेपालीपन उहाँहरूले छाड्नुभएको छैन।’

जघाई प्रदेशको राजधानी टमुमा भने गोर्खाली धर्मशाला छ। भारतीय सिमाना नजिकको टमु सहरमा नेपालीभाषीहरूले व्यापारबाट प्रशस्त आम्दानी गरेका छन्। टमुको नाम्फालौ मन्दिरमा हरेक औंशीपूर्णेमा गोर्खालीको भण्डार लाग्दो रहेछ। सयौं बर्मेलीले गोर्खालीको दालभात सित्तैमा खाँदा रहेछन्। तिहारमा टमुका नेपालीभाषीहरू मिलेर देउसी-भैलो खेलेछन्।

संघका महासचिव मरासिनीलाई मैले सोधेँ, ‘देशैभर घुम्दा तपाईं नेपालीभाषीको स्थिति कस्तो पाउनुहुन्छ? पहिले र अहिले के परिवर्तन भएको छ?’

‘म ६४ वर्षको भएँ। १५-२० वर्षअघिसम्म नेपालीभाषीहरू दुःखी तरिकाले बसेका देखिन्थे। खेतीपाती, पशुपालनमा निर्भर थिए। अहिले त परिवर्तन भयो। नेपालीभाषीहरू पनि ठूला साना सबैखाले व्यापार व्यवसायमा लागेका छन्। गाउँमा बसे पनि राम्रा घर छन्, शौचालय बनाएका छन्। गाडी, साइकल किनेका छन्। दुःख गर्ने नेपाली कम्ति हुँदैछन्। मैले त प्रगति नै देखेको छु,’ उनले भने।

मरासिनीले थपे, ‘कोही नेपालीभाषीले पैसा नभएर पढ्न छाड्न पर्दैन, डाक्टर इन्जिनियर, पिएचडी जे पढ्न मन छ संघले पढाइदिन्छ। हामीले चार हजारभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति दिएका छौं। बर्सेनि तीन करोडभन्दा धेरै त छात्रवृत्तिमै खर्च हुन्छ।'

टमुका नेपालीभाषीहरूमाझ अखिल म्यान्मा देशीय गोर्खा हिन्दु धार्मिक संघका पदाधिकारी। तस्बिर सौजन्य: तिलकराम पोख्रेल 

तीन-चार घर मात्र नेपालीभाषी रहेको फलामको सात माइलस्थित नेपाली मन्दिर। तस्बिर सौजन्य: तिलकराम पोख्रेल


मैले फेरि भ्रमणमै जोड्न चाहेँ।

त्यसै पनि तालुको कपाल झरेर निधार ठूला भएका घिमिरेले भुमरीबाट क्रमश: कपाल खुइलिँदै गएको टाउको उठाउँदै भने, ‘हाका भन्ने सहरमा तीन घर मात्र नेपालीभाषी रहेछन्। त्यो पहाडी भूभागमा सन् १९६२ अगाडि बाक्लै नेपालीभाषी भए पनि सैनिक शासन सुरु भएपछि मानिसहरू समथरतिर बसाइँ सरेछन्।’

उनले फेरि दोहोर्याए, ‘जति छन्, तिनले आफ्नो परम्परा जोगाएर राखेका छन्।’

अनि मलाई प्रश्न गरे, ‘लौन नेपाली परम्परा जोगाएर राख्नेलाई कसरी सम्मान गर्ने होला, हाम्रो संघको मात्र पैसाले त के के मात्र गर्ने हो र? नेपाली धर्म, संस्कृति, परम्परा जोगाउन कुनै आइएनजिओले सहयोग गर्दैन भाइ?’

सधैंझैं यसपटक पनि अप्ठ्यारो प्रश्नको जवाफ मैले फिसिक्क हाँसेर मात्र दिएँ।

समाजसेवामै करोडौं खर्च गरेका घिमिरे बढी नै उद्वेलित देखिए, ‘मैले गरेको समाजसेवा त केही पनि होइन। सयौं बाधा, अवरोध, अपजस, हेला सहेर पनि दुर्गम क्षेत्रमा रहेका मन्दिर, भाषा, परम्परा हाम्रा दाजुभाइ, दिदीबहिनीले जोगाएका छन्। तिनले हाम्रो संस्कृति जगेर्नामा गरेको दुःखलाई खोई कसरी सम्मान गर्ने हो? कसले हो तिनलाई सम्झनुपर्ने?’

मैले घिमिरेलाई थप भावावेशमा ल्याउने चाहेँ। सोधेँ, ‘हिजोआज बर्माका गाउँ-सहर जता घुम्दा पनि धर्म परिवर्तन गर्ने गोर्खालीहरू प्रशस्तै भेट्छु। त्यसले त तपाईंले भनेजस्तो नेपाली संस्कृति, परम्परा मासिन्छ जस्तो लाग्दैन?’

‘लाग्नेहरू विभिन्न धर्ममा लागेका छन्, तर कतिले त आफ्ना परम्परा सम्हालेर पनि राखेका छन् नि,’ दुई आँखीभौंका बीचमा गाँठो पारेर एकछिन सोचेपछि घिमिरे हल्का मुस्कानसाथ बोले, ‘अब हाम्रो अखिल म्यान्मा देशीय गोर्खा हिन्दु धार्मिक संघको प्रमुख नारा भनेकै गोर्खालीले जुन जुन धर्म अपनाए पनि, जे जति संस्थाहरू बनाए पनि सबै मिलेर गोर्खाली परम्परा र संस्कृति बचाउनुपर्छ भन्ने हो। हाम्रो संस्कृति नरहे, हाम्रो परम्परा नबचे हामी रहँदैनौं।’

नेपालका जो ‘ठूलाबडा’ भनिनेहरू आउँदा पनि नेपाली भाषा, संस्कृति जोगाएर राखेको भन्दै लाख लाख बधाई पाइरहेका घिमिरेलाई असजिलो पो पर्ने हो कि भन्दै मनमा एकछिन गमे पनि मैले नसोधी रहन सकिनँ, ‘नेपाली भाषाको स्थिति चाहिँ कस्तो पाउनुभयो त? म गाउँ-सहर जाँदा त नयाँ पुस्ताले कमै नेपाली बोलेको पाउँछु।’

बर्सेनि स्कुल छुट्टी हुने गर्मीका तीन महिना संघले सञ्चालन गर्ने सयौं नेपाली पाठशालाको उदाहरण दिँदै घिमिरेले थपे, ‘हो, हामीले नेपाली भाषा जोगाउनुपर्ने छ। जहाँ जहाँ गोर्खाली बस्ती छ, त्यहाँ त्यहाँ गर्मीको छुट्टीमा नेपाली पाठशाला सञ्चालन गरी नेपाली भषा जोगाउने अथक प्रयास गरिरहेका छौं। जहाँ जहाँ गोर्खाली जन कम छन्, त्यहाँ भाषा बिग्रँदै गएको छ। टुटेफुटेको नेपाली बोल्नेहरू बढ्दै छन्। कति ठाउँमा बिर्सेका पनि छन्।’

बर्मामा पढाइ हुने नेपाली भाषालाई भाषिक परीक्षा लिएरै भए पनि नेपाल सरकार वा विश्वविद्यालय कतैबाट मान्यता दिए बर्मामा भाषा जोगाउन सजिलो हुने घिमिरेले आकलन गरे।

‘जसरी अंग्रेजी भाषाको आइइएलटिएस, टोफलजस्ता परीक्षा हुन्छन्, नेपाली भाषाको पनि त्यस्तै परीक्षा होस् र ती परीक्षार्थीले नेपालबाट आधिकारिक प्रमाणपत्र पाऊन्। त्यसका आधारमा नेपालमा थप अध्ययन गर्न चाहने बर्मेली विद्यार्थीलाई अवसर मिलोस्,’ घिमिरेले भने, ‘नेपालका विश्वविद्यालयहरूले केही नेपालीभाषी बर्मेलीलाई उच्च शिक्षामा छात्रवृत्ति दिए यहाँ नेपाली भाषा र संस्कृति जगेर्नामा थप सहयोग पुग्थ्यो।’

बर्मेली नेपालीभाषीहरू नेपाली टोपी ग्रहण गर्दै। तस्बिर सौजन्य: तिलकराम पोख्रेल

मलाइ निवासी नेपालीभाषीहरूको भेला। तस्बिर सौजन्य: तिलकराम पोख्रेल

घिमिरे नेतृत्वको टोली जघाई र छिनपछि म्यानमारको सबैभन्दा ठूलो प्रदेश शान पुगेको थियो। पहाडी भूभाग भएको शानको भौगोलिक बनौट नेपालका पहाडसँग मिल्छ। यांगुनमा अहिले ३५ डिग्रीको गर्मी हुँदा शान १५ डिग्रीको चिसो छ।

लाश्यो सहरमा गएका टाउकेहरूले नेपालीभाषीको न्यानो स्वागत मात्र पाएनन्, केही अप्ठ्यारा प्रश्न सामना पनि गर्नुपर्यो। बर्मेली नेपालीहरू नेतालाई 'टाउके' भन्छन्।

सबैभन्दा धेरै सोधिने प्रश्न त उही हो, किन नेपाली नभन्ने? किन गोर्खा भन्ने? वा, ठ्याक्कै त्यसको उल्टो।

‘बर्मेली भाषामा हामी गोर्खा नै हौं। नेपाली भनेर कसैले चिन्दैन,’ घिमिरे भन्दै थिए, ‘संघको दोस्रो महासभाले पितृभाषा नेपाली भए पनि गोर्खा भन्ने नामबाटै हाम्रो परिचय खुल्ने भएकाले गोर्खा शब्द प्रयोग गर्ने विधान पारित गरेको छ।’

नेपाली मातृभाषा मात्र सुनिरहेको मलाई ‘पितृभाषा’ शब्दले रमाइलो लाग्यो। नेपालीभाषी बर्मेलीहरू म्यानमारलाई मातृभूमि र नेपाललाई पितृभूमि भन्छन्।

अर्को विवाद अगाडि आयो, उत्तरी शानमा रहेका नेपालीले बनाएको दुर्गा मन्दिर प्रांगणमा बौद्धमार्गी नेपालीभाषीले दुर्गा माताको जत्रै गौतम बुद्धको प्रतिमा पनि राख्न पाउनुपर्छ भने।

‘हरेक नेपाली मन्दिरमा बुद्धको मूर्ति राखिएकै छ त। हामीले उतिनै सम्मानका साथ बुद्धलाई मान्दै, पुज्दै आएका छौं। किन हिन्दु मन्दिरमा हिन्दु देवीदेवताका जत्रै बुद्ध मूर्ति चाहिने,’ एक जना बुज्रुकले प्रश्न गरे।

‘हामी पनि नेपाली हौं, हाम्रा पुर्खाले बनाएका मन्दिरमा हाम्रो पनि उत्तिकै अधिकार होला। बुद्धको प्रतिमा अझ ठूला बनाउँदा गोर्खालीको इज्जत बढ्छ कि घट्छ?’ अर्को प्रश्न फेरि थपियो।

‘नेता हुन नि कति कठिन छ है,’ दुवैको प्रश्न सुनेपछि म सोच्दै थिएँ।

अहिले बर्मामा नेपालीभाषीले विभिन्न जातीय र फरक धर्मका संगठन खोल्ने चलन सुरु भएको छ। नेपालीभाषीका फरक-फरक संस्था बने सबै नेपालीभाषीको साझा थलो संघको भविष्य के पो हुने हो भन्ने चिन्ता उत्तिकै छ।

मलाइमा नेपालीभाषीको घर। तस्बिर सौजन्य: तिलकराम पोख्रेल

मलाइमा नेपाली पाठशाला भवन। तस्बिर सौजन्य: तिलकराम पोख्रेल

अध्यक्ष घिमिरे ‘धार्मिक विषयमा संघ तटस्थ बस्ने हो’ भन्छन्। बरु अखिल म्यान्मा देशीय गोर्खा थेरावाद बुद्ध धर्म प्रचारप्रसार संघ, किराँत गोर्खा साहित्यिक एवं साँस्कृतिक संघ, नेवारी संघ, तामाङ संघ, गुरूङ संघ, मगर संघ, विश्वकर्मा संघ, थापा-मगर संघ र अन्य संघहरूलाई अखिल म्यान्मा देशीय गोर्खा हिन्दु धार्मिक संघको छातामुनि संगठित गरेर आ-आफ्ना गतिविधि गर्ने र गोर्खालीका लागि सामूहिक आवाज संघमार्फत् उठाउनुपर्ने उनको तर्क छ।

‘यी सबै संघहरूको सहकार्यमा युवा सम्मेलन, महिला सम्मेलन, साहित्यिक कार्यक्रमजस्ता गतिविधि गर्ने हो,’ घिमिरेले सम्झाउँदै थिए, ‘नागरिकता वितरण, छात्रवृत्ति सञ्चालन, गोर्खा जातिलाई परेका समस्याबारे संघबाट सबै गोर्खालीको एउटै आवाज गराउनुपर्छ।’

‘संघको नामै परिवर्तन गर्ने हो कि?’ मैले सोधेँ।

बर्मामा बस्ने नेपालीभाषीको साझा संस्थाको नाम ‘अखिल म्यान्मा देशीय गोर्खा हिन्दु धार्मिक संघ’ भन्दा सुरु सुरुमा मलाई पनि खसखस भएको थियो। कारण- बर्मेली नेपालीभाषीमा २० प्रतिशतभन्दा धेरै अहिले बौद्धमार्गी छन् र माथि भनेझैं त्यो बर्सेनि बढ्दै छ। नेपालमा झैं म्यानमारमा पनि हिन्दु र बौद्धमार्गीहरू धर्म परिवर्तन गरी क्रिश्चियन बनेका भेटिन्छन्। नेपालीभाषीको मात्र पनि चर्च छ।

धर्म नमान्ने नेपालीभाषी पनि होलान्। हिन्दु धार्मिक संघले ती सबै नेपालीभाषीको प्रतिनिधित्व गर्ला कि नगर्ला? फेरि म्यानमार नलेखेर ‘म्यान्मा’ किन लेखेको होला नाममा?

‘सैनिक शासन बेला धार्मिकबाहेक अरू संघ-संस्था प्रतिवन्धित भएकाले संस्थाको नाम हिन्दु धार्मिक संघ भएको हो। त्यति बेला सबैजसो नेपालीले हिन्दु धर्म नै मान्थे,’ सन् १९८२ मा संघ स्थापना गर्दाको इतिहासबारे बताउँदै महाचिव मरासिनीले भने, 'नेपालीलाई यहाँ गोर्खा भनेरै चिन्छन्। त्यसैले त्यो बेलादेखि नै गोर्खा राखियो।'



फलाम सहरस्थित शिव मन्दिरको शिलालेख। तस्बिर सौजन्य: तिलकराम पोख्रेल

नाममा भएको म्यान्माबारे त बस्दै गर्दा मैले नै पत्ता लगाइसकेको छु, बर्मेली उच्चारणमा ‘र’ को ठाउँ रहेनछ। त्यसैले बर्मेलीले म्यानमारलाई ‘म्यान्मा’ भन्छन्। नेपालीभाषीले त्यही टिपे।

र, अर्को कुरा, विवाद भइनै रहे पनि नामको सुरुमा भएको ‘अखिल’ ले अर्थ्याउने ‘समस्त’ जस्तै अहिलेसम्म सबै नेपालीभाषी बर्मेलीको साझा संस्था अखिल म्यान्मा देशीय गोर्खा हिन्दु धार्मिक संघ नै छ। दुःखसुख बाँचेका हजारौं नेपालीभाषीलाई यसैले जोडेको छ।

मलाई ‘टाउके’ हरूको कुरा सुन्दा रमाइलो लागिरहेको थियो। कार्यालय प्रमुख तिलकराम पोख्रेल भने हतारमा देखिए।

‘उसको बिहे छ कि, यही मंसिर २९ गतेको लग्नमा, त्यसैले छट्पटिएको छ, नयाँ दुलाहा हुने बेला कस्तो हुन्छ?’ घिमिरे बल्ल आफ्नो लयमा फर्के।

त्यहाँबाट छुट्टिएको केही दिनपछि नेपालीभाषी ‘टाउके’ का भ्रमणको फोटो पठाउन मैले तिलकरामलाई फोन गरेँ। सुरुमा ‘बिहेको बधाई छ है भन्दै।’

‘दाइ, बिहे त सर्यो नि। मंसिर २९ गतेको लगन त भगवान राम-सीताको बिहे भएको लगन रहेछ,’ तिलकराम फोनमा बोल्दै थिए, ‘त्यो लगनमा बिहे गरे राम-सीताको जस्तै वर्षौं बिछोड हुन्छ भने पण्डितजीहरूले। अब माघ ४ मा हुन्छ दाइ बिहे।’

सानो स्वरमा तिलकरामले थपे, ‘तपाईं नेपालीको बिहेमा नबोलाइकन गएको पढेको थिएँ। मैले त बोलाएको छु। नेपालीहरूको बाक्लो बस्ती भएको मोगोक जाने हो जन्ती। नेपालीभाषी भेट्न रुचाउने तपाईंले चाहेजति भेट्न पाउनुहुन्छ। मेरो बिहेमा आउनुहोस् है।’

नेपालीभाषी बर्मेलीका कुरा।

यो लेख पहिलोपट सेतोपाटी अनलाइनमा आएको थियो। प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५

Wednesday, November 14, 2018

शौच कागजको भरमा बानी पर्न कति समय लाग्ला ?

२०४६ सालको परिवर्तनपछि पहिलोपटक प्रधानमन्त्री भएका वखत गिरिजाप्रसाद कोइराला राष्ट्रसंघको निमन्त्रणामा अमेरिका गएका रहेछन्। कोइरालाको भारत वा अन्य एसियाली देशमा जता जाँदा पनि  बाल्टीमा पानी थापेर लोटा/मग/कचौराले उभाएर नुहाउने बानी रहेछ। तराईमा चापाकलको पानी बाल्टीमा थापी नुहाएर हुर्केका कोइरालाका लागि प्रधानमन्त्री निवास बालुवाटारको स्नान कक्षमा पनि बाल्टी र मगको व्यवस्था गरिएको थियो, पक्कै।

अमेरिकामा उनी बसेको होटलको स्नान कक्षमा न पानी थाप्ने बाल्टी थियो न पानी उभाउने लोटा / कचौरा नै। तर, कोइराला त दिनदिनै नुहाउँथे। धाराको पानी (सावर)मा सिधै नुहाउने बानी नभएकाले उनले होटलको  आफ्नो कोठामा स्वकीय सचिव गोकर्ण पौडेललाई बोलाएर भनेछन्,  'बाल्टी र मगको व्यवस्था गर्नु।'

गोकर्णले सुनाए अनुसार, होटलसँग बाल्टी र मगको माग गरिएछ। तर होटलको हाउसकिपिङ विभागले पहिले त बाल्टी र मगको व्यवस्था गर्नै नसकिने बताएछ। तर नेपालको प्रधानमन्त्री कै माग हो भनेपछि होटलमा तत्काल उपलब्ध नभएकाले एक दिन कुरेमा व्यवस्था गरिन्छ भनेछन्।

प्रधानमन्त्री कोइरालालाई त्यो विषयमा जानकारी दिँदा 'एउटा बाल्टी र मगको पनि व्यवस्था गर्न नसकेको' भनेर गाली खानुभन्दा बरु आँफै बजार गएर किन्ने विचार गोकर्ण जीले गरेछन्। होटललाई भनेर ट्याक्सी व्यवस्था भएछ। उनले अमेरिकी गोरा ट्याक्सी ड्राइभरलाई बाल्टी र मग पाउने पसलमा लान भनेछन्। तर बिचरा ट्याक्सी ड्राइभरले पहिलो त बाल्टी र मग भनेकै बुझेनछ। पछि बल्लबल्ल बुझे पनि त्यो कहाँ पाइन्छ भनेर उसले सजिलै पत्ता लगाउन सकनेछ।

न्यूयोर्क शहरमा बाल्टी र मग खोज्न तीन घन्टा भन्दा धेरै समय लागेको र साँझ ७ बजे होटलबाट निस्केका गोकर्ण जी राति १० बजे मात्र होटल फर्केछन् । आफू बाल्टी र मगको जोहो गरेर फर्किँदा कोइराला सुतिसकेको गोकर्ण जीले सुनाएका थिए।

काठमाडौंको असन बजार जस्तो सबै चिज पाइने ठाउँ सायद न्यूयोर्कमा छैन होला। जति ठूलो शहर उती खोजेका समान कहाँ पाइएला भनेर पत्ता लगाउनै अप्ठेरो हुन्छ। यो त भयो कोइरालाको बानीको कुरा। यो बानी भन्ने चिज ज्यादै असजिलो हुँदोरहेछ। 'आदत से मजबूर' भनेर हिन्दीमा उखान बनेको त्यस्सै कहाँ होला र ? हामी नेपाली थप बृहत्तर रुपमा भन्दा एसियालीको नै एउटा बानी छ दिर्घशौच गरिसकेपछि पानीले नै चाक धुनुपर्ने, अझ हात कै प्रयोग गरेर। यो बानीको म पनि मजबूर नै छु।

युरोप अमेरिका तिर सबैजसो र तिनका नक्कल गरेर एसियाली अनि हाम्रै शहरतिर पनि खोलिएका कतिपय ठूला होटल, सपिङ मल र कार्यालयका शौचालयमा चाक धुनका लागि पानीको व्यवस्था गरिएको हुँदैन। सिर्फ ट्वाइलेट पेपर अथवा शौच कागज हुन्छ। एसियाका धेरै ठाउँमा शौच गर्ने भाँडो कम्बोटको नजिक एउटा सानो पिचकारी जस्तो पाइप हुन्छ जसलाई पहिलोपल्ट देखेका युरोपेली/अमेरिकीहरुले चकित परेर त्यस विषयमा लेखेका पनि छन्। मलाई भने त्यो पाइप देख्नासाथ आनन्द आउँछ।

अचेल आधुनिक भनिएका शौचघरमा त सिर्फ चाक पुछ्ने ट्वाइलेट पेपर मात्र राखिएको हुन्छ। यो कागजले पुछेर मलाई चित्तै बुझ्दैन। हुन त केटाकेटीमा ढुंगा, मकैको खोइला र स्याउलाले पुछेर काम चलाएको हो तर आजभोलि के भो भो, पानी नै चाहिने भएछ। 'आदत से मजबूर।'

पहिलोपल्ट युरोपमा त्यस्तो कागजले पुछ्न मात्र मिल्ने शौचालय प्रयोग गर्न पर्दा दिनभर खसखस भएर मैले ब्रसेल्स शहर घुमेको मजा लिन सकेको थिइन। त्यसयता मैले मिलेसम्म त होटलको कोठामा हुने गिलासको प्रयोग, नभए मञ्जन/ब्रस राख्ने भाँडोको प्रयोग गरेरै भए पनि पानीले धुने गर्छु । मिल्ने ठाउँ रहेछ भने ट्वाइलेट पेपरमा पानी हालेर भए पनि काम चलाउने प्रयास गर्छु। तर त्यो कागजमा पानी परेपछि यति छिट्टै गल्छ कि भनीसाध्ये छैन।  केही नभए हात धुने धाराबाट अँजुलीमा पानी ल्याएर पनि काम चलाउने गरेको छु।

तर धेरै झैं सपिङ मल, कार्यालय, रेष्टुरेन्टमा त्यस्तो सुविधा हुँदैन, ट्वाइलेट सानो हुन्छ र हात धुने ठाउँ सामूहिक हुन्छ। शौच गरिसकेपछि कट्टु नलगाएर हात धुने ठाउँसम्म जान त सकिदैंन नि। शौच सकेर कागजले पुछपाछ गरेर निस्केपछि चाक वरपर खसखस भइरहन्छ, जबसम्म पानीले धुन वा नुहाउन पाइदैंन। त्यसैले कतिपटक खसखस भएरै बासस्थानसम्म फर्किन परेको छ।

यस्तो बारेमा लेख्ने साहस हुने कुरै भएन, लेख्ने मन पनि थिएन । तर, खासमा खसखस त्यहाँ मात्र कहाँ हो र मनमा पनि लागिरहेको हुन्छ। यही बेलामा पूर्व पत्रकार, हिमाल आरोही शैली बस्नेतले अमेरिकी स्टान्ड अप कमेडीमा,‘मेरा श्रीमान् (उनका श्रीमान् अमेरिकी हुन्) ले चाक पुस्छन्। मैले त पानी र हातकै प्रयोग गर्छु। बाजी लगाम यो हलमा म नै सबैभन्दा सफा छु’ भनेको सुनेपछि, लाज पचाएरै यति लेख्ने आँट आयो।

हुन पनि शैलीले भने झैं वरपर पानी हुँदाहुँदै कुन मुर्खले कागज प्रयोग गर्ने बानी बसालेको होला। अझ मलाई थप्न मन लागेको, यो कागज प्रयोगलाई अब त निरुत्साहित गर्नैपर्छ, त्यही शौच कागज बनाउन कति रुख पात पतिगंर प्रयोग गर्नुपर्छ होला बेकारमा वातावरणको नाश।

हुन त रङ्गभेद विरोधी कतिपयलाई यो मन नपर्ला। जिम्बाबेको पूर्व राष्ट्रपति रोबर्ट मुगाबे ट्वाइलेट पेपर सेतो रङको हुनेहुँदा दंग थिए। उनले भनेका छन्, 'रंगभेद तबसम्म रहिरहन्छ जबसम्म सेतो कारले कालो टायर प्रयोग गरिरहन्छ, जबसम्म कालो रङलाई दुर्भाग्य र सेतो रङलाई शान्तिको प्रतिक मानिन्छ, जबसम्म मानिसले परिश्रम गरी कमाएको धनलाई सेतो धन र लुटपाट तथा फट्याईं गरी कमाएको धनलाई कालोधन भनिन्छ।' भन्दै भन्दै मुगाबेले अन्त्यमा भनेका छन्, 'तर म कालो भएकोमा पीर लाग्दैन जबसम्म ट्वाइलेट पेपर सेतो हुन्छ।'

फेरि कुरा कहाँ पुग्न लाग्यो। खास कुरा चाहिँ हगी सकेपछि मजाले पानी र हातले चाक नधोएसम्म खसखस लागिरहनु नै हो।  हुन त त्यस्तो खसखस लाग्ने मै मात्र हुँ कि? अहिले जान्न मन लागेको चाहिँ ट्वाइलेट पेपरले मात्र चाक पुछेर पनि सन्तुष्ट हुने बानी पर्न कति समय लाग्छ होला ?

जागिरको सिलसिलमा परदेशमा आएर एक वर्षदेखि कागजै मात्रको प्रयोग गर्नपर्दा पनि मलाई अझ खसखस लाग्ने बानी छाडेन। तपाईं विदेशमा लामो समयदेखि बस्ने नेपाली त बानी परिसक्नुभयो होला। लउन कसैले भनिदिनोस्न यो शौच कागजको भरमा बानी पर्न कति समय लाग्ला ? खसखस भइरह्यो ।

Tuesday, October 23, 2018

'बर्मामा आमाबा, श्रीमती/श्रीमान्, छोरी/छोराको पनि माया मारेर ज्यान जोगाउनुपर्ने बेला थियो'

नेपालीभाषी बर्मेली चन्द्रमाया। बर्माको कया प्रान्त अन्तर्गत ल्वेकमा भेटिएकी।

पहिलो कुरा, बर्मेलीलाई नाम सोध्दा थर भनेनन् भने अचम्म हुँदैन। किनभने, बर्मेलीको थर हुँदैन। नाम मात्र हुन्छ, जसरी यिनले भनिन्- चन्द्रमाया।

धेरै बर्मेलीका तीन शब्दका नाम हुन्छन्- फियो वाइ लिन, थेट उ मान।

कसैकसैको दुई शब्दको हुन्छ- राष्ट्रपति वी मिन्ट।

कसैकसैको चार शब्दको, परराष्ट्रमन्त्री आन सान सू ची। आन र सान भने बर्मेली नाममा धेरै प्रयोग हुने दुई शब्द हुन्।

दोस्रो कुरा, बर्मेली भाषामा नेपालीजस्तो अंक गणना हुँदैन। उनीहरूको गणनामा पचासी, चवालीस, त्रिसठ्ठीजस्ता शब्द छैनन्। उनीहरू अंग्रेजीमा झैं एट्टी फाइभ, फोर्टी फोर भन्छन्। नेपालीभाषी बर्मेली चन्द्रमायाले पनि आफ्नो उमेर त्यसैगरी बताइन्।

असी-पाँच। उनले पचासी भनिनन्।

तेस्रो कुरा, नेपालीभाषीले बर्माका सहर र गाउँलाई आफ्नै नाम दिएका छन्। जस्तो- चन्द्रमायालाई जन्मघर सोध्दा 'फापुङ' भनिन्।

मैले तीन-चार पटक सोधेपछि बल्ल थाहा पाएँ, उनले भनेको फापुङ त बर्मेलीले पा-हाँ भन्ने ठाउँ रहेछ। अंग्रेजीमा लेख्दा Hpa-An लेखिन्छ।

बर्मामा मान्छे वा स्थान जेको नाम पनि अंग्रेजी र बर्मेली उच्चारण फरक पर्छ। मेरो एक जना साथी छिन्, ट ट खाईं। उनी आफ्नो नाम अंग्रेजीमा Htet Htet Khine लेख्छिन्।

अब चन्द्रमायाका बारेमा कुरा गरौं।

चन्द्रामायाको जन्मघर फापुङ करेन राज्यमा पर्छ। करेन राज्यको नाम पनि अंग्रेजले शासन गर्दा बिगारिदिए भन्छन्, बर्मेलीहरू। अंग्रेजीमा Kayin State लेखिन्छ। बर्मेलीहरू 'कयेन' भनेर उच्चारण गर्छन्। विदेशीहरू 'करेन' भन्छन्।

म्यानमारमा करेनीको जनसंख्या बर्मेली र श्यानीपछिको तेस्रो स्थानमा छ।

चन्द्रमायालाई आफ्नो पुर्खा नेपालबाट आएको थाहा छ, तर कहाँबाट भन्ने यकिन छैन। यत्ति भन्छिन्, 'नेपालबाट सिधै फापुङ नै आएका हुन्।’

उनले भनेको फापुङमा अहिले एक जना पनि नेपालीभाषी भेट्न गाह्रो छ। मैले पाँच दिन प्रयास गर्दा पनि भेट्न सकिनँ। नेपालबाट आउनेहरू मेचिना, प्युलेँ, मोगोक, नाउँछ्यो, च्याउमे, लाश्यो, कलौ, टाउन्जी, मान्डलेमा धेरै भेटिन्छन्।

चन्द्रमायाले आफ्नो जन्मगाउँ जाने बाटो सम्झिइन्, ‘रंगुनबाट रेल चढेर थालिन नदीको किनारमा रहेको सहर, मलम्वाई। त्यसपछि लाइबुई, स्वेवाईं पट्वागाईं हुँदै बल्ल फापुङ।’

उनलाई मैले बर्माको पुरानो राजधानी रंगुनबाट करिब पाँच सय किलोमिटर उत्तरको ल्वेको सहरनजिकै '६ माइल' भन्ने गाउँमा भेटेको थिएँ। उनी भर्खरै गाईगोठबाट फर्केकी थिइन्।

बर्माका सहर र गाउँमा दुरी हिसाब गर्ने माइलसँग जोडिएका ठाउँका नाम प्रशस्तै भेटिन्छन्। सहरको केन्द्रबाट कुनै ठाउँको दुरी जति माइलको छ, त्यो ठाउँलाई त्यति नै माइल नाम दिने चलन छ। त्यसैले, यहाँ सहरैपिच्छे चार माइल, पाँच माइल, छ माइल, सात माइल भनिने ठाउँ छन्।

नेपालमा पनि त जिरो किलोमिटर भन्ने थुप्रै ठाउँ छन्।

चन्द्रमायाको बिहे १३ वर्षकै उमेरमा भयो। सात दशकअघि रजश्वला नहुँदै छोरीलाई कन्यादान दिने तागाधारीको चलन नेपालीले आफूसँगै बर्मा लिएर आएका थिए। चन्द्रमाया त्यसमा अपवाद हुन सकिनन्।

उनका मातापिता फापुङमै बिते। फापुङमा आम्दानी नभएपछि नेपालीहरू विस्तारै बसाइ सर्न थाले। चन्द्रमाया पनि श्रीमानलाई पछि लगाएर मोचीमा बसाइ सरिन्।

‘जन बढे, जग्गा बढेन, त्यसैले हामी सर्यौं,’ उनले भनिन्।

छ/सात दशक अघिसम्म यहाँ कस्तो चलन थियो भने, जुन ठाउँ सहर-बजार हुन थाल्छ, नेपालीभाषीहरू त्यो ठाउँ छाड्थे। त्यहाँबाट जंगलको छेउछाउ सर्थे। खेतीपाती गर्थे। गाईभैंसी पाल्थे। र, यसैगरी जीवन चलाउँथे।

किन त यस्तो?

यो प्रश्नमा चन्द्रमायाले भनिन्, ‘अरू जातिका नजिक बस्दा सबैभन्दा त जातधर्म नासिएला भन्ने पिर। अर्को, सहर-बजारको रहनसहन के हो हो!’

त्यति बेला ७० कटेका नेपालीभाषी बर्मेलीको पिरै 'कतै छोराछोरी ‘खोस्टे’ सँग सल्केलान् र जातधर्म नासिएला' भन्ने थियो। नेपालीभाषीले बर्मेलीलाई खसालेर भन्ने शब्द हो, खोस्टे।

करेनबाट हिँडेको चार दिनमा उनीहरू मोची पुगेका थिए। चन्द्रमायाको जोडीले फापुङबाट बसाइ हिँड्दा जोडा हात्तीमा सामान लादेका थिए। ‘व्यापार गर्ने भनेर पाँच सय बीसा गुड र पाँच सय बीसा नुन हात्तीमा हालेर ल्याका थिएम्,’ चन्द्रमायाले भनिन्।

बीसा भनेको बिसौली। बर्मामा अझै पनि मानापाथीजस्तै ढक र बीसाको चलन बाक्लो छ। एक बिसौली अर्थात् आधा धार्नी, एक किलो दुई सय पचास ग्राम।

‘थोरा आपतले आइएन त्यो चार दिनको बाटो,’ चन्द्रमायाले यात्रा वृत्तान्त लगाइन्, ‘हामी बाटोमा आउँदा आउँदै लौ बर्मेली घुसे रे मोचीमा भन्ने सुन्नमा आयो। चुनीमा पुगेपछि हात्तीधनीले सामान बाटामा अलपत्र फालेर करेन फर्के।’

बर्मा भर्खरै अंग्रेज शासनबाट मुक्त भएको बेला थियो। सन् १९४८ सम्म छुट्टै राज्यको अभ्यास गरिरहेका करेन, कया, श्यानमा त्यही बेला बर्माले आफ्ना सैनिक पठाएको थियो।

‘४५ च्याट तिरेर सामान नदी पार गर्न लगाइयो,’ त्यो बेलाको ४५ च्याट भन्नाले अहिलेको करिब ४५ हजार नेपाली रुपैयाँ हुनुपर्ने अनुमान मैले लगाएँ।

‘भिरै भिर हिंडेर आएको, जहाँ पाइताला टेक्यो, त्यहाँबाट ढुङ्गा गुड्थे,’ चन्द्रमायालाई भिरको मात्र पिर थिएन, ‘तल नदी किनारमा चिना जाति थिए, चिनाले पाए मार्छ भन्ने डर उत्तिकै थियो।’

‘बल्ल बल्ल बाँचेर आएको त्यो चार दिन चार वर्षभन्दा लामो भयो। सामान छन्, चोरडाँकाको डर छ, जंगलमा बास छ। जंगली जनावरको डर छ। खाने पिउने ठेगान छैन,’ चन्द्रमायाको कुरा नटुङ्गिदै मैले सोधेँ, ‘यहा आएका अरू नेपालीले पनि त्यस्तै दुःख पाए त्यति बेला?’

‘हाम्रा दुःख केही हैनन्, जापानीले मेचिनामा बम खसालेपछि नेपालीहरू चार महिना कहिल्यै नहिँडेका जंगलका बाटो वर्षामा लड्दैपड्दै भारतको लिडो पुगेका थिए रे,’ चन्द्रमायाले दोस्रो विश्वयुद्धताका नेपालीले पाएको दुःख विस्तार लगाइन्, ‘त्यति बेला हजारौं नेपाली हिँड्दा हिँड्दै हिँड्न नसकेर, बिरामी परेर बाटामै बिते। सबैभन्दा दुःखको कुरा त, बोक्न परेका बिरामी बालक, वृद्ध बाबुआमा, आफन्त, श्रीमान वा श्रीमतीलाई अलपत्र बीच बाटामै मर्न छाडेर भागेर नेपालीले ज्यान जोगाएका थिए।’

मलाई चन्द्रमायाको कुरामा विश्वास भएन। मान्छेले आफ्नै छोराछोरी, बाआमालाई मर्न छाडेर आफ्नो मात्र जीउ बचाउन हिँड्ला?

रंगुन फर्केर दोस्रो विश्वयुद्धताका नेपालीहरूले पाएको दुःखबारे प्रकाशित सामग्री खोज्न थालेँ।

त्यसरी हिँडेका टंकध्वज नेपालको पुस्तक फेला पर्यो। उनले लेखेका छन्, ‘बाटाभरि केटाकेटी, वृद्धका शव देखिन्थे, आफ्नो स्वार्थका लागि आफू बाँच्न मायामोह, आइनो-साइनोको नालीबेली सबै बिर्साएका थिए। … आज नपत्याउने कुरा भनिएला तर वास्तविकता। अलि समय अगाडिसम्म बाबुआमाको आँखाका तारा, मायाको पोका। तिनका लागि सर्वस्व त्याग्न तत्पर हुने बाबुआमा। आज तिनै केटाकेटीलाई बीच जंगलको बाटोमा अलपत्र छाडेर, तिनका रोईकराई नसुनेर आफ्ना जीउ बचाउन हिँडेका थिए। दया माया भन्ने शब्दको त्यहाँ कुनै अर्थ लाग्दैनथ्यो।’

त्यति दु:ख गरेर मोची आएपछि चन्द्रमायाको मनमा आशा पलाएछ। त्यो बेला मोचीमा राज गर्ने श्यानी रजौटाले उनीहरूलाई स्याबासी नै दिएछन्।

‘तिमीहरू करेनी छाडेर मेरो सरकार भनेर यता आयौ। ल यता जे जति जग्गा चाहिन्छ लिएर बस,’ श्यानी रजौटाले त्यसो भने पनि त्यहाँका सुरक्षाकर्मीले भने चन्द्रमायाका श्रीमानलाई दुई-चार थप्पड हानेछन्, कतै जासुस पो हो कि भनेर।

दुई वर्ष मोचीमा बसे पनि चन्द्रमायाको मन रमाएन। मोचीमा ठूलो फलाम खानी थियो। फौजीका साथ लाएर सुरु सुरुमा बर्मा आउने नेपालीहरू ती खानीमा काम गर्न आउँथे। अहिले मोचीमा पनि ज्यादै थोरै नेपालीभाषी बाँकी छन्। चन्द्रमायाले जस्तै अरू नेपालीभाषीले पनि मोची छाडेछन्।

‘यहाँ अमाजु, अमाजुको देवर, देवरका छोरी ज्वाईं र हामी गरी चार घर आएका हौं,’ चन्द्रमायाले मोचीबाट तीन सय किलोमिटर पश्चिम ल्वेको बसाइ सरेको सम्झना गरिन्।

‘मैले जीवनमा सबै काम गरेँ,’ चन्द्रमायाले कामको व्याख्या गरिन्, ‘मोचीमा होटल गरेँ। फापुङमा खेतीपाती र पसल गरेँ। अहिले कयामा गाईपालन गरेकी छु।’

उनले भनेको होटल बर्मेलीले भन्ने 'भात दुकान' हो, चिया र भात-तरकारी पाइने।

मलाई उनले हात्तीमा ल्याएको गुड र नुनको बारेमा बुझ्नु थियो।

‘त्यो त मोचीमा बिक्री भइहाल्यो नि,' चन्द्रमाया मज्जाले हाँसिन्, 'निकै नाफा भयो।’

‘अनि कयासम्मको बसाइ र अहिलेको बसाइ कस्तो छ त,’ दुईतले सिमेन्टले पोतेको घरको भुइँतलामा मैले उनलाई सोधिरहेको थिएँ।

‘१६ वर्षको उमेरमा आएको हो, ल्वेको। ७० वर्ष पहिले। जंगल त थियो। जंगल फाँडेर घरगोठ बनाइयो। खरघारी मात्रै थियो,’ चन्द्रमायाले थपिन्, ‘साता-दस दिन रूखैमुनि बसेर घर बनाएको हो। कसैले खर काट्ने, कसैले त्यही खरले घरगोठ छाउने गरियो।’

‘पैसा/तिरो तिर्नु परेन कसैलाई वन फाँड्न?’ मेरो प्रश्नले चन्द्रमायालाई अचम्म बनायो, ‘पैसा कल्लाई तिर्ने हो र? सरकारै को हो थाहा थिएन। सित्तैमा जति फाँडे पनि पाइन्थ्यो जंगल उतिखेर।’

‘मोचीबाट त दुई दिनमा आइयो, ल्वेका। जंगलीको डर हुन्थ्यो,’ उनले भनिन्।

नेपालीभाषीले बर्माका सशस्त्र विद्रोहीहरूलाई 'जंगली' भन्छन्। स्वायत्त शासनसहित संघीयता र सैनिक शासन पूर्ण अन्त्यको माग गर्दै ६ दशकदेखि सक्रिय सशस्त्र समूहहरू बर्मामा अहिले पनि कतिपय युद्धरत त कतिपय शान्ति प्रकियामा छन्।

‘यहाँ आएपछि जंगलीले दुःख दिएनन्?’ मैले सोधें।

‘खासै दिएनन्, बरु पिछेपिछे चोर लाएर, डाँका लाएर कति दुख पाइयो त्यो नभनम्।’

‘चारचोटि डाँका लागे। यहाँ आउँदा सुरु सुरुमा पनि लागे। अस्ति भर्खरै (१० वर्ष पहिले) नि डाँका पर्यो। कयनी डाँका आउँदाखेरि ढोका खोल् खोल् भन्छन्। के के सामान छ ले भन्छन्,’ चन्द्रमायाले डाँकाहरूलाई आफूले छक्याइरहेको बताइन्।

‘केही पैसा र रसद पानी त लान्छन्, तर गरगहना र ठूलो धन अहिलेसम्म लगेका छैनन्,’ चन्द्रमायाले एकपटक डाँका लाग्दाको घटना विवरण सुनाइन्, ‘राति ११ जति बजेको हुँदो हो। डाँका आए। बाउ-छोरालाई गोठमा लगेर बाँधे। बुहारी र मलाई बाहिर लगेर आँगनमा बाँधे। कोठाकोठा, बाकस सबै खोलेर हेरे। मैले सुनका गहना बाकसमा नराखेर तिल राखेको डालामा राखेकी थिएँ। बाकसमा एउटा चाँदीको आठ आनीको हार थियो। डाँकाको सर्दारले चाँदीको हार झिकेर कम्मरमा बाँध्यो, कम्ति राम्रो देखिएको थिएन जुनको उजेलोमा।’

डाँकासँग जोगिएको सुनका गहना चन्द्रमायाले माइला छोरालाई दिँदै भनिन् रे, ‘ला डाँकाले लगेको भए लगिहाल्थ्यो, यो बेचर मोटरसाइकल किन्।’

छोरा खुसी भए। वर्षौंदेखि मोटरसाइकलका लागि आमासँग गनगन गरिरहेका थिए।

मोटरसाइकल भएपछि दूध बजार लगेर बेच्न पनि त सजिलो हुन्छ। अहिले पनि चन्द्रमायाको गोठमा २५ वटा गाईबाच्छा छन्। ‘पहिले त ६०, ७० वटा थिए। अब काम गर्न कसले जाँगर मान्छ र,’ यसो भन्दै गर्दा चन्द्रमायाले आफ्नो श्रीमान् सम्झिइन्।

उनको श्रीमान् बितेको १६ वर्ष भयो। नौ जना छोराछोरीकी आमा चन्द्रमायाका जेठो र कान्छो छोरा खसे। माइलो छोरा सहरमा छन्। किराना पसल गर्छन्। अन्य छोराछोरी छिमकमै छन्। खेतीकिसानी गरिरहेका छन्।

‘दूध बेचेरै हुर्काइयो सबै सन्तानलाई। काँधमा दूध बोकेर मेरा बाहुन ६, ७ किलोमिटर पर जानुहुन्थ्यो दिनदिनै। सुरसुरुमा साइकल किन्ने पैसा पुग्थेन। पैसै भए पनि साइकल चलाउन जान्न पर्यो। पछि सिक्नुभयो र साइकलमै दूध पुर्याइयो,’ चन्द्रमायाले पुराना दिन सम्झिइन्।

विदा मागेर हिँड्नुअघि चन्द्रमायालाई मैले आजकाल मनमा के कुरा खेल्छ त भनेर सोधेँ, ‘आनन्द लाग्छ। बसाइ सर्ने पिर छैन। चोर डाँका लाग्लान् भन्ने चिन्ता पनि रहेन। उही हो, अब नातिनातिनाका राम्रा खबर मात्र सुन्न पाइयोस्। काठमाडौंमा पशुपतिनाथ छन् नि, तिनले सबै सन्तानका रक्षा गरून्, त्यत्ति हो।’

चन्द्रमायाको हाँसो मनमा गडिरह्यो।

(यो लेख पहिलोपटक सेतोपाटी अनलाइनमा बिहिबार, असोज ११, २०७५ मा प्रकाशित भएको थियो।)

Sunday, October 21, 2018

कसरी र किन बढ्दैछन् नेपालमा क्रिश्चियन

दसैंको टीकाको दिन नयाँ सर्ट र धोएको पुरानो प्यान्ट लगाएको थिएँ। आमाले ‘बासँग मागेर ढाका टोपी पनि लगा’ भन्नुभयो। बाको र मेरो टाउकोको आकार उत्रै रहेछ। उहाँको पुरानो टोपी भिरेँ। घरमा टीकाटालो सकेर आफ्नै खलकका काका बा र हजुरबाका भाइका घरतिर परिवारै हिँड्यौं।

मेरा हजुरबाका एक जना सौतेनी भाइ हुनुहुन्छ। उहाँ हाम्रो खलकमै अलि बढी धार्मिक प्रवृत्ति भएको मान्छे हो। उहाँसँग टीका थाप्दै थिएँ।

‘फल्नाका छोरा, फल्नाका नाति क्या बात भन्ने गराए’ भन्दै हजुरबाले टीका लगाइदिन थाल्नुभयो।

अनि अन्तिममा भन्नुभयो, ‘प्रभु येशुले तेरो सधैँ रक्षा गर्नेछन्।’

म झसंग भएँ।

हिन्दू धर्मअनुसार पूजापाठमा बढी नै रुचि राख्ने हजुरआमा पनि हजुरबासँगै मलाई टिका लगाइदिँदै हुनुहुन्थ्यो। हजुरबाको पछिल्लो आशीर्वादसँगै हजुरआमाले अनुहार रातो पार्नुभयो। मैले लगाएको ढाका टोपीमा जमरा राख्दा उहाँका हात कामेको मैले महशुस गरेँ। उमेरले हो वा लाजले, ठम्याउन सकिनँ।

‘अनि टीका लगाउन हुन्छ त क्रिश्चियन भएपछि,’ मैले सोधेँ।

‘प्रभुसँग मागेर, प्रभुलाई भनेर जे गर्दा पनि हुन्छ बाबु,' हजुरबाले भन्नुभयो, 'टीकाको दिन बिहानै प्रभुलाई प्रार्थना गरेँ। आज टीका हो। घरमा पाहुना आउनुहुन्छ। हामीलाई माफ गर्नुहोला भनेँ। पहिलेदेखिको चलन हो, टीका लगाउँछु र लगाइदिन्छु भनेँ।’

हजुरबाले परमेश्वरसँग क्षमा मागेरै हामीलाई टीका लगाइदिनु भएको रहेछ।

‘हामीलाई त अब क्रिश्चियन नभन्नू भन्नुभएको छ सरमिसले। हामी त विश्वासी हौं,’ हजुरआमाले जवाफ दिनुभयो।

‘किन क्रिश्चियन नभन्ने नि,’ मेरो जिज्ञासा झनै बढ्यो।

‘अलि घृणा गरे के बाबु गाउँलेले। धर्ममारा भन्न थाले। आखिर परमेश्वर एउटै छन् भनेर हिन्दू धर्मले नै भन्छ। खास परमेश्वर त परमपिता नै हुन् नि,’ हजुरबाले थप्नुभयो।

कति ठाउँमा क्रिश्चियन भन्दा गाउँलेले दुर्व्यवहार गर्ने, अर्मपर्ममा नबोलाउने, एक्ल्याउने र उस्तै परे भौतिक आक्रमण समेत भएछ। त्यसैले आजभोलि ‘सर मिस’ले क्रिश्चियन नभनेर 'विश्वासी' भन्ने रहेछन्। अझ 'सच्चाई धर्म' भन्दै बाइबल बाँड्दै हिँड्दा रहेछन्।

हजुरबाका ‘सरमिस’ मध्ये एक कमला थापालाई पछि पोखरामा भेटेको थिएँ। उनले दोलखा, उदयपुर, डोल्पा, पर्वतमा क्रिश्चियन धर्म प्रचारकमाथि भएको कुटपिटका समाचार मलाई देखाउँदै भनेकी थिइन्, 'आफ्नो आस्था मान्ने र त्यसको प्रवर्द्धन गर्ने अधिकार जति हिन्दू धर्मावलम्बीलाई छ, उति नै क्रिश्चियन मान्नेलाई पनि छ। मुस्लिम, बौद्धमार्गी सबैलाई छ। हामीले त्यही गरेका हौं। जबरजस्ति पो गर्न भएन। हाम्रा कुरा सुनेर कोही क्रिश्चियन बन्छ भने हामीलाई किन दुर्व्यवहार गर्ने?'

हजुरबा-आमाले आफूहरूलाई 'विश्वासी' भनेको यही भएर रहेछ।

टीका र प्रसाद ग्रहण गरेपछि सपरिवार अर्का हजुरबाका घरतिर लाग्यौं। बाटोमा बाले भन्नुभयो, ‘साईंला बा प्रभुतिर लागेको छ महिना जति भयो। यसपटक त टीका लगाइदिनुभयो। अर्को सालदेखि कुन्नि?’

बाको कुरा सुनेर म फिस्स हाँसे।

आठ/नौ वर्षयता गाउँका धेरै मान्छे क्रिश्चियन धर्मावलम्बी भइरहेका छन् भन्ने थाहा थियो। कतिलाई चिनेको पनि थिएँ। आफ्नै कूलमा क्रिश्चियन धर्म छिरेको भने थाहा पाएको रहनेछु। नवलपुरको पहाडी गाउँ डेढगाउँमा हाम्रो कूलका चार घर मात्र बाँकी छन्। अरु भट्टराई परिवार बसाइ सरेर कोही मधेश झरिसके। कोही सहर पसिसके। र, कोही विदेश पुगिसके।

बाटामा झुण्डिएको लिङ्गे पिङ देखेँ। दुई चार सर्को बल लगाउन कस्सिएँ।

‘दसैंमा भुइँ छाड्नपर्छ,’ आमाले सुनाउनुभयो।

टीकाको दिन आफन्तका घर चहार्दै सकियो। भोलिपल्ट गाउँ छाड्ने योजना थियो। तर कूलमा पसेको 'क्रिश्चियानिटी' का बारेमा बुझ्न मन लाग्यो। सहर पस्ने दिन सारेँ।

‘टीकाको भोलिपल्ट जेमघन्टाको दिन हिँड्न हुँदैन’ भन्ने आमा खुसी हुनुभयो।

एकादशीको दिन सखारै हजुरबाको घर गएँ।

‘अँ बाबु, ढाड दुख्ने बेथाले समात्यो। त्यसमा हिँड्न थालेपछि सन्च भा’ झैं लाग्याछ,’ हजुरबाले क्रिश्चियन धर्ममा लागेपछिको अनुभव सुनाउनुभयो, ‘छोराको घरबार पनि के-के भयो, भयो। तीन वटी बिहे गरिसक्यो। यसमा लागेपछि प्रभुले हेर्छन्। सबै राम्रो हुन्छ भन्नुभएको छ सरले।’

वर्ष दिनअघि गाउँमा 'संगति घर' बनेको रहेछ। हजुरआमा पनि हजुरबासँगै हरेक शनिबार चर्च जानु हुँदोरहेछ।

‘हजुरबाले जाम भनेपछि जान्न भन्न मिल्छ र बाबु मैले,’ हजुरआमाले थप्नुभयो, ‘भैंसी बिरामी थियो। सबै जनाले प्रार्थना गरिदिएपछि साता दिनमै राम्रो भयो।’

हजुरबा-आमाले ‘सर र मिस’ संबोधन गर्ने एक जोडी क्रिश्चियन धर्म प्रचारक हरेक साता गाउँ आउँदा रहेछन्। पोखराबाट शनिबार बिहान मोटरसाइकलमा गाउँ आइपुग्ने ‘सरमिस’ आइतबार साँझ फर्कँदा रहेछन्। तिनीहरूकै नेतृत्वमा ४०-५० जना महिला/पुरुष र तिनका छोराछोरी, नातिनातिना भेला भएर संगति घरमा प्रार्थना गर्ने र भजन गाउने गर्दा रहेछन्।

हजुरबासँग एकछिन गफिएपछि उहाँहरूसँग हरेक शनिबार संगति घरमा भेला हुने अरू गाउँलेका कुरा सुन्न हिडेँ।

यिनैमध्ये एक रहिछन् ५० वर्षकी पूर्णमाया विक। उनलाई मुर्छा पर्ने रोग लागेछ। र, उनका लागि यही रोग निदानको बाटो बनेछ क्रिश्चियन धर्म।

‘जति लामा धामी लाउँदा पनि भएन, ओखतिले पनि छोएन,' पूर्णमायाले भनिन्, 'विश्वासमा लागेपछि निको भए जस्तो भएको छ। रोग उपचार हुन्छ भनेरै क्रिश्चियन धर्म अँगालेको उनले बताइन्।

साँच्चै रोग निको भएको छ त?

उनका छिमेकी डम्मरसिंह विकलाई मधुमेह र उच्च रक्तचाप रहेछ। औषधि खाँदा-खाँदा भुक्तमान भइसकेका। क्रिश्चियन धर्ममा लागेपछि निको हुन्छ भनेर औषधि खान छाडेछन्।

डम्मरसिंह विक।

‘ओखती छाडेको तीन महिनापछि त धन्नै ढलिनँ नि। मरेर बाँचेको पो हो,’ डम्मरसिंहले सुनाए।

‘अनि फेरि क्रिश्चियन छाडेर ओखति सुरु गर्नुभयो त?’

मेरो प्रश्नले उनलाई दिक्क बनाए जस्तो लाग्यो। टोपी निधारबाट माथि सार्दै भने, ‘अब आफ्नो धर्म नछाड्नु छाडिहालियो। गाउँलेले डामीसकेपछि अब के फर्कनु? त्यसैमा लागिएको छ,’ डम्मरसिंहले थपे, ‘यस धर्ममा राम्रो पन छ के। जातभात केही हुँदैन। हामी सबै जातका एकै ठाउँमा बसेर प्रार्थना गर्ने हो। छोइछिटो हुँदैन।’

क्रिश्चियन धर्ममा लागेपछि रोग निको हुन्छ र जातभात केही हुँदैन भनेर धर्म परिवर्तन हुनेहरू गाउँमा अरु पनि भेटिए। धर्म प्रचारकहरूले 'विश्वासी/सच्चाई धर्म' मा लागेपछि जाँड-रक्सी खान पाइँदैन भन्ने रहेछन्। त्यसले गर्दा पुरुषका जाँड-रक्सी खाने बानीले हैरान भएका महिलाहरू पनि आफ्ना परिवारसहित चर्चमा हिँड्ने बानी परेका रहेछन्।

‘पैसा पनि दिँदा हुन् नि त?’ नेपालमा क्रिश्चियानिटी फैलाउन डलरको खेती भइरहेको छ भन्ने समाचार/विचार हप्तै पिच्छे सुनेको मैले तुलसी विकलाई सोधेँ।

‘केको पैसा दिने हो? हामीले उल्टो हरेक शनिबार आफूले सकेअनुसार १०/२० रुपैयाँ जम्मा गरेर सरमिसलाई दिन्छौं,' तुलसीले जवाफ दिइन्।

‘सरमिस’ले दिएको बाइबल देखाउँदै उनले थपिन्, ‘यी ६ सय रुपैयाँ तिरेर यो बाइबल र डेढ सय रुपैयाँ तिरेर भजनको किताब किनेको हो।’

तुलसीसँग कुरा गरिरहेकै बेला मेरा बाको मावली काका लोकनाथ पोख्रेल, मौकाले त्यहीँ आइपुग्नुभयो। उहाँले सामाजिक र साहित्यिक गरी १० वटा किताब लेखिसक्नु भएको छ। गाउँका समाजसेवी मानिनुहुन्छ।

उहाँ पनि यो विषयमा छिर्नुभयो।

‘हिन्दू र बौद्ध धर्म तहस-नहस पार्न युरोपियन युनियन नै लागेको छ के बाबु,’ हजुरबा पोख्रेलले आफ्नो विचार राख्नुभयो, ‘यो धर्मकाले सामूहिक भावना भने ल्याइदिएका छन्। सातामा एक दिन दुई-तीन घन्टा सबैजना एकै ठाउँमा भेला हुन्छन्। दुःख-सुखका कुरा गर्छन्। गीत गाउँछन्। नाच्छन्। अनि कसैको घर-परिवारमा कोही बिरामी भयो, कसैलाई अप्ठ्यारो पर्यो भने सामूहिक प्रार्थना गर्छन्। त्यसले त उपचारको काम गर्छ नि। हामी हिन्दूले छाड्यौं यी काम। क्रिश्चियन फैलाउनेले त्यही काम गरेर धर्म बेचिरेहका छन्।’

पोख्रेल हजुरबाका कुरा त सँधै सुन्न पाइन्छ। मलाई भर्खरै धर्म परिवर्तन गर्नेका कुरा सुन्न बढी रुचि थियो।

अञ्जु श्रेष्ठको घर पुगेँ। उनले ‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र’ नामको संस्था दर्ता गरेर आफ्नै घरमा कार्यालय राखेकी छन्। हरेक शनिबार यहाँ उनी बाइबल पढ्ने-पढाउने गर्दिरहिछन्।

आफ्नै घरमा ‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र’ खोलेकी अञ्जु श्रेष्ठ। 

‘दुई वर्ष भयो दाइ म लागेको,’ ३० वर्षीया अञ्जुले आफ्नो मनका पोको खोल्न थालिन्, ‘रितिरिवाज केही त्याग्न पर्दैन भनेर भन्नुभयो पोखराबाट आएका सरमिसले। श्रीमान परदेश हुँदा मनमा अनेक कुरा खेलिरहन्थ्यो। यसमा लागेर प्रार्थना गर्ने गरेपछि शान्त हुन्छ। मलाई त राम्रो लागेको छ।’

उनका सरमिसले के-के भन्छन्, थाहा भएन। अञ्जुले भने मनका कुरा मात्र हैन रक्त क्यान्सरदेखि हेपाइटाइटिस बीसम्मको उपचार परमपिता परमेश्वरको कृपाले हुने गाउँलेलाई बताउने रहिछन्। उनले मलाई पनि भन्न बिर्सिइनन्।

‘यसमा लाग्दै गएपछि पोखरा गइयो। सैयौं मान्छे भेला भएर प्रार्थना गरियो। काठमाडौं पनि गएर बस्ने ठाउँ छन्। साथीभाइ छन्,’ अञ्जुले सुनाइन्।

'उनलाई साथ चाहिएको थियो, यो धर्मले दियो' मैले अर्थ लगाएँ।

‘पवित्र बाइबल घरमा लगेर राख्यो भने मात्रै पनि रक्षा हुन्छ नि दाइ,’ अञ्जुले हिँड्ने बेलामा भनिन्।

मैले हाँसेर टाँरे।

गाउँमा हजुरबा, तुलसी, अञ्जु जस्तै क्रिश्चियन हुनेहरू छन् चाहिँ कति? मलाई जिज्ञासा भइहाल्यो।

विक्रम सम्वत् २०६८ सम्म सरकारी तथ्यांकले डेढगाउँमा कोही क्रिश्चियन देखाएको छैन। आठ/दस परिवारले धर्म परिवर्तन गरिसकेका थिए। तै जनगणनामा गाउँका कसैले क्रिश्चियन धर्म लेखाएनन्। वा गणकले लेखिदिएनन्। तर अहिले करिब ८० घरभन्दा बढीमा बाइबल पुज्ने गरेको भेटियो। यसमा अधिकांश घर दलित परिवारका छन्। केही मगर छन्। थोरै बाहुन पनि छन्।

‘गाउँमा चार हजार जनसंख्या होला। नयाँ धर्मवाला आठ सय जति पुगे,’ गाउँ डुलिरहन मन पराउने मेरा सहपाठीले भने।

डेढगाउँ, बौंदीकाली गाउँपालिकाको वडा नम्बर २ मा पर्छ। वडाध्यक्षको पनि कुरा सुन्न मनलाग्यो।

मसँग एक जना रैथाने भाइ रमेश पनि थिए। गाउँलेका कुरा सुन्न र विश्वास जित्न रमेशलाई सँगै लिएर घुमेको थिएँ। करिब २० वर्षदेखि दसैंमा मात्र चार-पाँच दिन घर जाने मेरो कुरा गाउँलेले नसुन्न पनि सक्थे। जवाफ नदिन पनि सक्थे।

रमेश र मैले वडाध्यक्ष बालप्रसाद ठाडा मगरलाई भेट्यौं। उनलाई भने गाउँमा क्रिश्चियन बढेसँगै अर्को ठूलो चिन्ता थपिएको रहेछ।

भने, ‘हेर्नु बाबु, त्यसै त हाम्रो वडामा सार्वजनिक जग्गा कम छ। त्यो धर्मकाले त मान्छे मरेपछि पोल्न हुन्न, गाड्नु पर्छ भन्दा रहेछन्। तिनले निवेदन दिएका छन्। अब दसैंपछि क्रिश्चियनको चिहान खोज्न पर्नेछ।’

वडाध्यक्षका कुरा सुनेपछि फर्कदैँ गर्दा रमेशले भन्यो, ‘दाइ तपाईंले कुरै बुझ्नुभएको छैन। धर्म परिवर्तन पनि सबै भोटको राजनीति हो। हेर्दै जानुस्, अर्को पटक चुनावमा क्रिश्चियन जति सबैले एकै ठाउँमा भोट हाल्छम् भन्छन्। त्यसपछि तिनले जे-जे माग्छन्, नेताहरूले त्यही पुर्‍याइदिन्छन्।’

छोराले बाइबल पढेको सुन्दै तारादेवी बिक (दाँया), उनकी छोरी र छोरा। 

(यो लेख पहिलोपटक सेतोपाटी अनलाइनमा मंसिर १, २०७५ मा प्रकाशित भएको हो।)

बर्मामा मम:ले जुराएको सम्बन्ध

आफ्नी श्रीमतीसँग गोपाल

गोपाल ज्ञवालीलाई म्यानमारको राजधानी नेपिद्अमा भेट्दा हामी दुवै अंग्रेजी सोमरसले रमरम भइसकेका थियौं।

आफूलाई नबोलाएको बिहेमा नेपालीको नाता जोडेर साखुल्ले पल्टिँदै पुगेको थिएँ, म। गोपाल भने दुलही पक्षबाट बकाइदा चाँदीको झल्को दिने बट्टा र त्यसभित्र हजारौं च्याट (बर्मेली पैसा) खर्च गरेर बनाइएको निमन्त्रणा पत्र पाएरै बिहेमा आएका थिए।

तीन सय ५० जति नेपालीभाषी बर्मेली र १५ जना भारतीय हिरा व्यापारीलाई दुलही पक्षले पाँचतारे होटलमा तीन दिनको गाँस, बास, खेल, मनोरञ्जन लगायत सबै व्यवस्था गरेको थियो। गोपालजस्ता आमन्त्रितलाई नेपिद्अ भ्रमण र यांगुनसहित म्यानमारका प्रमुख सहरबाट आउनेजाने व्यवस्था पनि दुलहीका पिता हिरा व्यापारी भेषराज न्यौपानेले गरेका थिए।

खाना खाने टेबल एउटै परेपछि मैले आफ्नो नाम भन्दै पछाडि थपेँ, ‘नेपालबाट।’

‘अनि म चाहिँ कहाँ’ट भन्ने सोच्या त?’ अलिक चर्को स्वर, अझ त्यसमा हाँसो थपेर गोपालले भने, ‘म नि नेपालै’ट हो।’

मसिनो स्वर भएका गोपाललाई बेलायती स्कचले स्वर उचो बनाउन सहयोग गरेको थियो।

‘हजुर हजुर,’ एक त सित्तैमा पाएको बेलायती स्कच र त्यसमाथि नेपालीभाषी बर्मेलीका सुखदुःखका कुरा धुत्न मैले भनेँ, ‘म त भर्खरै नेपालबाट आएको, यहाँ एउटा संस्थामा काम गर्छु। अनि तपाईं नि?’

‘ए,’ गोपालले लेग्रो तान्दै भने, ‘म रेष्टुरेन्ट चलाउँछु, रंगुनमा। कहाँ बस्नुहुन्छ?’

‘म नि रंगुनमै बस्छु। अफिसको कामले राजधानी नेपिद्अ आउन परेको थियो, यही बेला यहाँ नेपालीको बिहे रहेछ, छिरेँ,’ मैले ङिच्च दाँत देखाउँदै भनेँ।

‘डाकी न बोलाई, लेँडे पुच्छर डोलाई रहेछ,’ मैले पहिलोपटक यस्तो नेपाली उखान सुनेँ।

प्राय: नेपालीभाषी बर्मेलीका शब्द उच्चारण र वर्णविन्यास सुन्दा २० औं वर्ष भारतमा बसेर आएका पश्चिम पहाडका नेपालीको जस्तो लाग्छ।

‘रंगुनमा केही केस परे, कुनै प्रहरीले दुःख दिए मलाई भन्ने,’ गोपालले थपे, ‘सब पुलिसलाई भात खिलाउँछु, मिलटिरीसँग चाहिँ निहु नखोज्नू नि।’

पचास वर्षसम्म पूर्ण सैनिक शासनमा चलेको देशमा अहिले पनि अर्धसैनिक शासन छ। संसदमा २५ प्रतिशत सिट सेनाका लागि सुरक्षित छ। प्रधानसेनापतिले जर्नेल, कर्णेल र मेजरलाई संसदमा पठाउँछन्।

गृहसँगै रक्षा र सीमा सुरक्षा मन्त्रालयको जिम्मेवारी सेनाले नै लिएको छ। सैनिक प्रमुखले तोकेको व्यक्ति नै ती मन्त्रालयका मन्त्री हुन्छन्। गृह मन्त्रालय सेनाको हातमा भएपछि र कर्मचारी प्रशासनमा अहिलेसम्म पूर्वशासकले नियुक्ति गरेका सैनिकहरू नै भएपछि अर्धसैनिक शासन भन्नु अत्युक्ति नहोला।

‘तपाईंको रेष्टुरेन्टमा मम: खान आउन पर्‍यो,’ दुलहीका परिवार शाकाहारी भएकाले शाकाहारी बिहे भोजमा चिकेन मम:को स्वाद सम्झँदै मैले भनेँ, ‘तपाईंको रेष्टुरेन्टको ठेगाना दिनु त।’

‘ओहो, यो मोमो सुनेको त छु कि, बनाउन जानिएको छैन,’ पान खाँदा खाँदा खिया परेको दाँत देखाउँदै गोपालले भने।

सरकारी तथ्यांकअनुसार बर्माका ७० लाख जनसंख्या पानका अम्मली छन्। गाउँ-सहर जताततै पानले खिया परेको दाँत देखाएर हास्नेहरू बर्मामा टन्नै भेटिन्छन्।

‘म सिकाउँछु मम: बनाउन तपाईंलाई। तपाईंको रेष्टुरेन्टमा मम: बनाएर नखाई म नेपाल नफर्कने,’ आफ्नो केही ढंग नभए पनि श्रीमतीको सीप सम्झँदै मैले ध्वाँस दिएँ।

‘ल डिल है त डिल,’ गोपालले भने, ‘स्वीट नेपाली रेष्टुरेन्टमा मोमोको मेनु थपिन्छ।’

मैले सहमतिमा मुन्टो तलमाथि गर्दै भनेँ, ‘त्यो अब थपियो थपियो।’

केही दिनपछि गोपालको फोनले मोबाइलको घन्टी बज्यो। श्रीमतीलाई आफ्नो व्यथा सविस्तार सुनाएँ। नेपालबाट ल्याएको मम: उसिन्ने भाँडोसहित एक सप्ताहन्त हामी दुई गोपालको रेष्टुरेन्टमा हाजिर भयौं।

रेष्टुरेन्टमा चार जना १४/१५ वर्ष उमेरका बर्मेली नानीहरू खाना बनाउने, ग्राहकलाई पस्किने र भाँडा माझ्ने गर्दै थिए।

‘यिनका बाबुआमाले पैसा लगिसके,’ गोपालले भने, ‘दुई-तीन महिनामा एकपटक आउँछन्, पैसा पहिल्यै लान्छन्। यिनीहरूलाई मैले गाँसबासको व्यवस्था गरेर राखेको छु।’

अन्तर्राष्ट्रिय श्रम संगठनले सन् २०१५ मा निकालेको तथ्यांकअनुसार बर्मामा ११ लाख ३० हजारभन्दा बढी बाल श्रमिक छन्। बर्माका हरेकजसो सडकछेउका रेष्टुरेन्टमा स्कुल जाने उमेरका बालबालिका खाना पकाउँदै, जुठा भाँडा माझ्दै गरेका भेटिन्छन्। बाबुआमाले दिनको ५० नेपाली रुपैयाँभन्दा कम मूल्यमा छोराछोरीलाई बँधुवा मजदुरसरह काम गर्न साहुकहाँ पठाएका हुन्छन्।

श्रीमतीले तिनै नानीहरू र गोपालसँग मिलेर मम: बनाउन थालिन्। म भने गोपालका बुबासँग गफिन थालेँ।

‘मेरा बुबा नेपालको हुआँबाट आउनुभएको,’ गोपालका बुबाले भने।

हुआँ नेपालको कहाँ हो? यसको जवाफ न गोपालका बुबाले भन्न सके न त मैले पत्ता लगाउन सकेँ। गोपालले पछि मलाई भने, ‘गुल्मी हो रे, पुर्खाको थलो भन्ने थाहा पाएको छु।’

‘भारतको कलकत्ताबाट पानीजहाज चढेका मेरा बा सातौं दिनमा रंगुन आइपुग्नु भा होरे,’ गोपालका बुबाले भने।

त्यसपछि गोपालका हजुरबा रंगुनबाट ८ सय ८० किलोमिटर उत्तरपूर्वी सहर नाम्तु गएर बसेछन्।

नाम्तुको कोइला भट्टीमा काम गर्न धेरै नेपाली ८० वर्षअघि बर्मा पुगेका थिए। त्यसैमा एक जना रहेछन्, गोपालका हजुरबा पनि। भारतीयहरूले सञ्चालन गरेको त्यो भट्टीनजिक अहिले पनि एक सयभन्दा धेरै नेपालीभाषीको घर छ।

गोपालका हजुरबाले बर्मामै अर्की नेपालीभाषीसँग बिहे गरेछन्। ‘मेरी आमाको ७/८ वर्षकै उमेरमा पहिलो बिहे भएको रहेछ, बालविधुवी आमालाई बाले ३० वर्षको उमेरमा बिहे गर्नुभएको हो,’ गोपालका बुबाले भने।

गाईभैंसी हुर्काएर, बेचेर अलिकति पैसा जम्मा पारेपछि नेपाल फर्कने गोपालका हजुरबाको योजना थियो। त्यही बेला सन् १९४४ मा जापान सरकारले बर्मामाथि धावा बोल्यो। उनले जापानी पैसा लिएर गाईभैंसी बेचेछन्। त्यसको केही समयभित्रै बेलायतीले शासन लिएपछि त्यो पैसा काम नलाग्ने भएछ।

गोपालका परिवारले २०७७ सालमा घरैमा परिवारसँग खेलेका देउसी 

‘जापानी पैसा त खोस्टो भयो,' गोपालका बाबुले भने, 'पैसा कामै नलाग्ने भएपछि बा नेपाल फर्कन सक्नुभएन।’

नेपाल फर्कन नपाएका गोपालका हजुरबा नेपालीभाषीहरूको बाक्लो बस्ती मोगोक पुगेर भात दोकान (खाना खुवाउने होटल) गर्न थाले। त्यसको केही समयपछि रोगले थला परेर उनी मोगोकमै बिते।

‘मैले त सानैदेखि तुइनको काम गर्न थालेँ,’ गोपालका बुबाले पुराना दिन सम्झे।

बहुमूल्य रुबीपत्थर पाइने ठाउँ हो, मोगोक। रुबी खोज्न एक-दुई किलोमिटरसम्म जमिनभित्र सुरुङ खन्दै जानुपर्छ। तुइन चढेर भित्रसम्म जानुपर्ने भएकाले कहिले पहिरो त कहिले अक्सिजन कम भएर बर्सेनि १०-२० जना नेपालीभाषीको तुइनमा मृत्यु हुन्छ।

रुबी खानीमा काम गर्दागर्दै एकैपटकमा पाँच-छ सय जनाको मृत्यु भएका उदाहरण पनि छन्।

गोपालका बुबाले खानीमा काम गर्दै घरव्यवहार चलाए। उनका दुई छोरी र एक छोरा जन्मे। मैले नेपिद्अमा भेटेका एक मात्र छोरा गोपाल ४३ वर्षका छन्।

मोगोकबाट छोराको साथ लाएर रंगुन सहर बसाइँ सरेका गोपालका बुबाले पुराना दिन सम्झँदै भने, ‘हामीले मोगोकमा देउसीभैलो खेलेर एक वर्ष १२ वटा चिया पिउने कटौरा किन्यौं। अर्कान वर्ष मइन्टोल (पेट्रोमेस- मट्टीतेल हालेर बालिने र लाल्टिनले भन्दा धेरै उजेलो दिने दियो) किनियो। तिस्रा साल हार्मोनियम।’

गोपालका बुबाको सोख नै गानाबजाना हो।

‘एउटा दर्जी थियो मेरो साथी, उसैको सम्झना आउँछ आजभोलि यो सहरमा। उसले दुःखी तबेला बजाउँथ्यो। म गाउँथेँ। रमाइलो मोगोकमै थियो,’ बालपान, किशोरवय र आफ्नो पौरख गाउँमा गरेर सहर भित्रिने हरेक बाबुआमाका जस्तै छन् गोपालका बुबाको मन पनि।

गोपालका बुबासँग कुरा गर्दागर्दै मम: तयार भयो। मम:को डल्लो मुखमा हाल्दै गोपालले भने, ‘ओहो कति स्वादिलो हुँदो रहेछ नि!’

पतिना (पुदिना) को अचारसँगको मम: मलाई पनि राम्रै लागेको थियो।

‘एक जना नेपालबाट बैंकमा काम गर्न आउनुभएका दाइले अस्ति नै मोमो माग्नुभएको थियो। अब त बनाउन जानियो, गज्जब भयो,’ गोपालको आँखामा चमक थियो।

केही भारतीय मूलका ग्राहक र आफ्ना परिवारलाई गोपालले मम: चखाए। हामीलाई दालभात र खसीको मासु खुवाएर विदा गरे। मैले जति कर गरे पनि खानाको पैसा लिन मानेनन्। मम: भाँडो त्यहीँ छाडेर, मम: बिक्रीमा सफलता मिलोस् भन्ने शुभकामनासहित हामी फर्क्यौं।

म महिना, डेढ महिनामा गोपाललाई फोन गर्थें। ‘तपाईंको मोमो बनाउने भाँडा लिन आउनू नि,’ हरेकपटक उनी यसै भन्थे।

‘आउँला नि, मम: नि खाउँला’ म यसै भन्दै टारिरहन्थेँ।

चार महिनापछि गोपाललाई फेरि फोन गरेँ, ‘मम: खान आउनुपर्‍यो।’

उनले ‘आउनू आउनू रेष्टुराँमा’ भने। एक सप्तान्त फेरि गोपालको रेष्टुरेन्टमा पुगियो।

गोपाल मोगोकबाट रंगुन आएको नौ वर्ष भएछ। ‘रंगुन आएर डेढ साल एक्लै बसेँ, दसैं-दिवाली केही नभनी काम गरेँ,’ गोपालले थपे, ‘१२ वर्षको उमेरदेखि मोगोकमा रुबी बेच्न थालेको। त्यही रुबीको बिजनेस बढाउन रंगुन आइयो।’


‘कच्चा रुबी किन्यो, अलिकति नाफा कमायो, बेच्यो। कहिले घोटेर पलिस गरेर बेच्यो। त्यो बेला पैसा हुने त अर्बपति भए नि,' गोपाल १५, २० वर्षअघिका दिन सम्झँदै थिए, ‘अलिकति कमजोरी हुँदा (पैसा नहुँदा) मैले चाहिँ धेरै कमाउन सकिनँ।’

हातमा रुबीका केही टुक्रा देखाउँदै गोपालले भने, ‘यो एक टुक्राको दाम २५ लाख हो। मैले १५ लाखमा किनेको।’

मैले जिब्रो ओठबाहिर निकालेर टोकेँ। बर्मेली २५ लाख च्याट भनेको नेपाली त्यही दुई लाख रुपैयाँजति।

गोपालले रुबी मेरो हातमा थमाइदिए। कता त्यो खस्ला र हराउला भन्ने चिन्ताले मैले पाँच सेकेन्ड पनि ती साना बहुमूल्य ढुंगा आफ्ना हत्केलामा राखिनँ।

‘थाहा छ दाइ, बर्मामा ३० हजारजति नेपाली यही रुबीको काम गर्छन्। बरू त्योभन्दा धेरै नै होलान्, कम छैनन्,’ गोपालले भने।

बर्मामा जति पनि नेपाली धनी भएका छन्, ती सबै यही पत्थरले भएका हुन् भन्ने थाहा थियो। तर, ३० हजार नेपालीले यही काम गर्छन् भन्ने जानकारी थिएन। संख्यामा गोपालले अलि बढाइचढाइँ गरे कि?

‘यो रुबीको काम विश्वासको काम हो। एउटा सामान हजार, लाखदेखि तीन-चार हजार लाखसम्मको हुन्छ, अर्कालाई विश्वास गरेर दिनपर्छ। कहिलेकाहीं विश्वासघात हुनसक्छ,’ गोपालले आफ्नो पुरानो घटना सम्झे।

‘सन् २०१४ मा मोगोक गाउँकै चिनियाँसँग मिलेर दलाली गरेको। चार सय लाखमा किनेर ६ सय लाखमा चीनमा लगेर बेचेको रुबीको अहिलेसम्म पैसा पाएको छैन,’ गोपालले थपे, ‘मान्छे भाग्यो, हाम्रो लक (भाग्य) रहेनछ।’

रंगुनमा भर्खरै १ सय २० लाख च्याट (करिब १ करोड १० लाख नेपाली रुपैयाँ) मा किनेको नयाँ अपार्टमेन्ट देखाउँदै गोपालले भने, ‘त्यसमा नठगिएको भए त चार वर्षअघि नै घर हुन्थ्यो नि रंगुनमा।’

‘रुबीको कारोबारमा एक-दुईचोटि जसलाई नि घाटा हुन्छ। विश्वासघात हुन्छ। कसैले भन्छन्, कसैले भन्दैनन्,’ गोपाललाई मैले सोधें, ‘एउटै टुक्रा ढुंगा बेचेर तपाईंले चाहिँ अहिलेसम्म कति कमाउनुभएको छ त?’

‘एउटै रुबीबाट दुई सय लाखभन्दा ज्यादा पारेको छैन। नेपालीमा हिसाब गर्दा २० लाखसम्म नाफा पारेको छु,’ गोपाल मख्ख परे।

‘त्यत्रो नाफा हुने रुबीको काम मात्र नगरेर किन यो भात खुवाउने रेष्टुरेन्ट खोलेको त?’ मेरो प्रश्न नसकिँदै गोपालले भने, ‘वर्षाको भलजस्तो हो रुबीको व्यापार। रेष्टुराँ सधैं चल्छ, विस्तार हुँदै जान सक्छ। रुबीको त कुनै दिन ठगिन पनि सकिन्छ, व्यापार बन्द हुन नि सक्छ।’

उनले अझ गाँठी कुरा खोले, ‘खासमा ग्राहक भेट्न अनि बाआमा र श्रीमतीलाई व्यस्त राख्न पनि यो रेष्टुराँले सहयोग गर्छ। मैले २०११ देखि नै रेष्टुराँ चलाइरहेको छु।’

‘नेपाल पुग्ने मन छ कि दाजु, तर अरूजस्तो १०/१५ दिन जाने होइन। दुई महिना गएर आफ्नो पुर्खाको भूमि पुगेर इतिहास बुझेर आउने हो,’ गोपालले भने, ‘आगो लिन छिमेकमा गएजस्तो एकछिन जाने होइन नि, आफ्नो पितृभूमिमा।’

भर्खरै किनेको अपार्टमेन्ट देखाउन लगेपछि गोपाललाई मैले 'अब भविष्यमा के गर्ने त' भनेर सोधेँ। उनलाई रुबीको व्यापार सँगसँगै रेष्टुरेन्टको व्यापार बढाउने मन रहेछ।

‘अरू त हैन, यी छोरीहरूलाई विदेश पढ्न पठाएर आफू पनि त्यतै गएर रंगुनको रेष्टुराँ शाखा खोल्ने मन छ,’ १० र ७ वर्षका दुई छोरीका पिता गोपालले भने।

गफैगफमा साँझ पर्न लागिसकेको थियो। अक्टोबर महिनासम्म बर्खायाम नै रहने रंगुनमा ठूलो पानी पर्ने लक्षण देखियो। ढिलो हुन लागेको संकेत गर्दै मैले भनेँ, ‘मम: नखुवाउने त?’

मेरो प्रश्नले गोपालको अनुहार कागती निचोरेजस्तो बिग्रियो।

‘खासमा कि दाजु, मोमो त चलेन नि यहाँ, मान्छेले स्वादै रुचाएनन्,’ गोपालले मम: पकाउने भाँडा फिर्ता दिँदै भनेँ, ‘बर्मेलीलाई मनपर्ने स्वादको बनाउन अलिकति समय लाग्ने भो। म आजभोलि यो रुबीको व्यापारमा व्यस्त छु। फुर्सद भयो भने पछि मोमोको स्वाद चेन्ज गर्न पर्ला।’

म र श्रीमती खिस्रिक्क पर्‍यौं। प्लास्टिकमा हालेको मम:को भाँडा समातेर हिँड्न आँटेका थियौं, गोपालले सोधे, ‘यो झोल मोमो चाहिँ कस्तो हो भाउजू, अस्ति नेपालबाट भर्खरै बर्माको युएनमा काम गर्न आएकाले माग्दै थिए।’

श्रीमतीको सीप रंगुनमा नबिकेकोमा उनलाई नरमाइलो लागिरहेको थियो।

‘त्यही उसिनेको मम:लाई स्वादअनुसार पातलो अचारको झोलमा डुबाएर खाने हो,’ श्रीमतीले भनिन्, ‘आजभोलि युट्युबमा थुप्रै भिडियो छन्, मम: बनाउन सिकाउने। त्यहाँ हेर्दा पनि हुन्छ।’

गोपालले जुक्ति निकाले, ‘बर्मेलीले दालको सुप खुब रुचाउँछन्, दालको सुपमा मोमो हालेर पो झोल मोमो बनाएर बेच्ने हो कि?’

‘हुन्छ हुन्छ नयाँ नयाँ प्रयोग गर्दै गर्नू, कुनै दिन मम: मेनुमा राख्न मन लाग्यो भने सम्झनूस् है, हामी फेरि आउँछौं,’ मैले गोपालको परिवारसँग विदा माग्दै भनेँ।

(पहिलोपटक बुधबार, असोज ३१, २०७५ मा सेतोापटीमा  अनलाइना प्रकाशित। तर त्यतिबेला माथिको भिडियो सेतोापाटीमा प्रकाशित थिएन)

Sunday, September 2, 2018

'रुखमा पैसा फल्छ भनेर नेपालीलाई बर्मा ल्याएका थिए फौजीहरुले'

बर्माको पुरानो राजधानी रंगुनबाट करिब छ सय किलोमिटर उत्तर मग्वेमा भेटिएका इन्द्रमाया वाग्ले, उनका पति  वासुदेव काफ्ले र छोराछोरी। तस्बिर: दिपक भट्टराई

बर्माको पुरानो राजधानी रंगुनबाट करिब छ सय किलोमिटर उत्तर मग्वे प्रान्तको यात्रामा जाँदै थियौं। 
‘यी हेर त मुसलमान प्रवेश निषेध भनेर लेखिएको छ,' सहकर्मीले त्यहाँको फोटो देखाउँदै भने, 'तिमीलाई अप्ठेरो पर्ने हो कि?’
रङ र बनोट हेरेर मलाई मुसलमान ठानिएला भन्ने साथीलाई चिन्ता रहेछ। 
मैले फिस्स हाँसेर टारेँ।
नभन्दै मग्वेको होटलमा बुफे डिनर खाँदा सुँगुरको मासु प्लेटमा हाल्न खोजेको थिएँ। वेटरले तीनपटक सतर्क गराए, 'पोर्क, पोर्क, पिग मिट, वाता (बर्मेली भाषामा सुँगुरको मासु)।' 
सहकर्मीले जिस्क्याए, ‘देखिस्, तँलाई मुस्लिम ठान्यो।’ 
मैले ती वेटरलाई हिन्दु धर्मको थोरै पाठ सिकाएँ, ‘हेर! ब्राह्मण हिन्दु परिवारमा जन्मेकाले खासमा मैले सुँगुर खान हुन्न, तर परदेशको कुरो छ। बाआमाले थाहा नपाएसम्म चल्छ।’ 
मैले देब्रे आँखा झिम्काएँ।
बर्मामा जता जाँदा पनि नेपालीभाषी खोज्ने बानी परिसक्यो। रंगुनबाहिर जानु परे बर्मेली नेपालीभाषीका अध्यक्ष सागर घिमिरे र अरु केही अगुवालाई सोध्छु, ‘त्यहाँ नेपालीभाषी भेटिएला?’
मग्वेको नाम सुनेपछि उनीहरुले मुख बिगारे। दायाँबायाँ टाउको हल्लाउँदै भने, ‘अहँ, त्यहाँ त कोही भेटिन्न। बरु अलिक सतर्क हुनुपर्ला है।’
बर्माको मध्यभाग बर्मेलीहरूको मुख्य थातथलो हो। यहाँ बौद्धमार्गी बर्मेलीबाहेक अरु सितिमिति भेटिँदैन। मग्वे त्यही मध्यमागमा पर्छ। 
छ करोड हाराहारी जनसंख्या रहेको बर्मामा करिब ७० प्रतिशत बर्मेली जाति छन्। यहाँका सबैजसो पहाड र सिमानामा विभिन्न जातका आदिवासी र आप्रवासीको बसोबास छ। धार्मिक हिसाबले ८८ प्रतिशत बौद्धमार्गी छन्। बाँकी क्रिश्चियन, मुसलमान, प्रकृतिपूजक, हिन्दु र अन्य।
तीन दिनको परिश्रमपछि इन्द्रमाया वाग्ले र उनका श्रीमान् वासुदेव काफ्ले भेटिए।
वासुदेव १२ वर्षदेखि त्यहाँको हिन्दु मन्दिरमा पूजारी भएर बसेका रहेछन्। मलाई देख्नासाथ हिन्दीमा बोले। उनलाई म भारतीय हुँ भन्ने लागेछ। धेरै बर्मेलीलाई यस्तै लाग्छ। उनीहरु मलाई भारतीय मुसलमान ठान्छन्। त्यसमाथि नेपाली कहिल्यै नपुग्ने मग्वेमा वासुदेवको अनुमान स्वाभाविक थियो। 
म नेपाली हुँ भन्ने थाहा पाएपछि उनी छक्कै परे। खुसी पनि भए।
‘अनि एक्लो लाग्दैन त?’ मैले कुराकानी सुरु गर्दै सोधेँ। 
वासुदेवले जवाफ दिए, ‘अब त बानी परिसक्यो। १२ वर्षदेखि यहीँ बसिएको छ। पहिला फोन सम्पर्क केही नहुँदा त बसियो, अब अहिले त फोन छ।’
उनले अगाडि भने, 'हामीकहाँ कोही नेपाली नआउँदा पनि यी भगवान त हाम्रै हुन् नि। यिनै भगवानको मुख हेरेर न्यास्रो मेट्यो, बस्यो।'
उनको कुरा नसकिँदै इन्द्रमायाले थपिन्, ‘छोराछोरी नहुँदा दिक्कै लाग्थ्यो नि। अहिले त छोराछोरी छन्। यिनसँग बोल्यो बस्यो।’ 
कतिपय नेपालीभाषी गोर्खाली-बर्मेलीका छोराछोरीलाई नेपाली बोल्न सकस परेको मैले देखेको छु। इन्द्रमाया र वासुदेवका १० वर्षे छोरा र ७ वर्षकी छोरी भने शुद्ध नेपाली बोलिरहेका थिए। कपीको सट्टा पुस्तिका भन्थे। स्कुल नभनेर पाठशाला।

मग्वेस्थित हिन्दु मन्दिरका पुजारी वासुदेव पत्नी इन्द्रमाया र छोरीसँग। तस्बिर: दिपक भट्टराई


‘यो मन्दिर १२५ वर्षअघि गोर्खाली फौजले बनाएको हो। यहाँ पूजारी बस्ने कोही भएनछ। हिन्दु धर्म मान्ने भारतीय बर्मेलीले पूजारी खोज्दै गरेको मैले थाहा पाएँ,' वासुदेवले यति भनेपछि मन्दिरमा गोर्खाली फौजले बनाएको निशानी खोज्न मन लाग्यो। 
‘पहिले क्रस खुकुरीको निशानी थियो नि गेटमा,’ इन्द्रमायाले सम्झिइन्। 
मैले खोज्न दुःख दिएँ। घन्टौं खोज्दा पनि भेटिएन।
‘मेरा जजमान ४० घरजति छन्, सबै भारतीय बर्मेली हुन्। हिन्दु धर्म मान्छन्,’ वासुदेवले भने।
'त्यसो भए त अलि अलि समाज रहेछ नि,' मेरो यस्तो प्रतिक्रियामा उनले भने, ‘के को समाज, कसैले त हिन्दी बुझ्दैनन्। बर्मेली भाषा मात्र बोल्छन्। कति 'काव्या' भइसके, कति पूरै बर्मेली।’
यहाँ आप्रवासीले आदिवासी वा रैथानेसँग बिहे गरेर जन्मेको सन्तानलाई 'काव्या' भनिन्छ। आफूलाई वासुदेवको ठाउँमा राखेर सोचेँ, ‘ओहो! १२ वर्षसम्मको यस्तो बसाइ, जहाँ आफूसँग संस्कार र सँस्कृति मिल्ने, मातृभाषा बोल्ने भनेको श्रीमती र साना छोराछोरी मात्र।’
वासुदेवले थपे, ‘मेरा जजमान न छोराछोरी जन्मँदा न्वारन गर्छन्, न मातापिताको श्राद्ध।’ 
मलाई वासुदेवको जजमानले न्वारन र श्राद्ध नगरेको भन्दा पनि यिनको दक्षिणा गुमेकोमा पिर लाग्यो। सोधेँ, 'अनि तपाईं त पूजारी, कसरी चल्छ त घरखर्च? 
‘त्यो त मन्दिरको व्यवस्थापन धनी छ। राम्रै तलब महिनावारी दिन्छन्। हामीले यहाँबाट दुई सय किलोमिटरजति पर मान्डलेमा नेपालीहरूको बस्तीनजिकै जग्गा किनिसकेका छौं,’ इन्द्रमायाले थपिन्। 
‘यो नेपाली फौजले बनाएको मन्दिर भनेर मलाई यहीँका एक जना तीनफित्ते गोर्खाली विश्वकर्माले पनि भनेका थिए,’ वासुदेवले सम्झिए, ‘तिनका तीन छोराले सबै बर्मेलीसँग बिहे गरे। तिनका सन्तानले नेपाली जान्दैनन्। यो मन्दिरमा पनि आउँदैनन्। बौद्धमार्गी भए होलान्।’ 
तीनफित्ते भनेको बर्मेली सेनामा हवल्दार। ती तीनफित्ते विश्वकर्मा बितिसकेछन्। तिनका छोराहरूलाई भेट्न चाहे पनि पत्ता लगाउन सकिएन। 
वासुदेव ७२ वर्षका भए। नेपालीभाषीको बाक्लो बस्ती भएको उत्तरी भेग कचिन प्रान्तको मेचिनामा जन्मेका। उनका बुवा अंग्रेज फौजमा भर्ती भएर बर्मा ल्याइएका हुन्। 
‘बर्मामा त रुखमा पैसा फल्छ भन्ने गफ दिएर नेपालीलाई ल्याएका हुन् नि त फौजीहरूले। हाम्रा बाले भन्नुहुन्थ्यो, पैसा रुखमा फल्छ भनेपछि रुख चढ्न रिप्पु राई काका गाउँबाट सबैभन्दा अगाडि लाएर हिँडेका थिए रे,’ उनले भने। 
वासुदेवलाई नेपालमा आफ्नो थातथलो यकिन सम्झना छैन। यत्ति सम्झन्छन्, ‘बाले हामी नेपालको इलामबाट आएको हौं भन्नुहुन्थ्यो।' 
इलाम भनेको कता हो, उनलाई पत्तो छैन। 
बर्माका पहाड र फाँटमा मन लागेजति खोरिया फाँडेर बस्न पाइने बेलाको कुरा हो यो। सन् १९४०-५० को दशक। 
बर्माको माटै मलिलो। त्यसमाथि राम्रो वर्षा हुने। टन्न घाँसे मैदान। फाँट। त्यसैले लोभिएर यतै खेतीपाती र पशुपालन गरेर बिते वासुदेवका आमाबा। 
बीस वर्षको उमेरसम्म वासुदेवले पनि खेतीपाती र गाईभैंसी रेखदेख गरेरै बिताए। अंग्रेज शासनबाट बर्मा स्वतन्त्र भएको केही समयमै कचिन विद्रोहीहरूले राज्यविरुद्ध सशस्त्र संघर्ष सुरु गरे। त्यो विद्रोह चलिरहेकै छ। 
‘बागी निस्केपछि खेतीपाती छाडेर पूजारी बन्न हिडेँ,’ वासुदेवले भने। 
बर्मेली नेपालीहरु विद्रोहीलाई कि 'बागी' भन्छन्, कि 'जंगली'। अहिले पनि यहाँका विभिन्न राज्यमा एक दर्जनभन्दा धेरै सशस्त्र समूह स्वायत्त शासनसहितको संघीयता माग गर्दै सक्रिय छन्। 
पचास वर्षअघि पूजारी बनेका वासुदेव कहिले कचिन प्रान्तको मन्दिर, कहिले मान्डले प्रान्तको त कहिले कया प्रान्तको मन्दिर हुँदै अहिले मग्वे मन्दिरको पूजारी हुन आइपुगेका छन्। 
उनकी पत्नी इन्द्रमाया ४८ वर्ष पुगिन्। उनका हजुरबा नेपालबाट आएका हुन्। कहाँबाट आए, उनलाई थाहा छैन। उनका बुबाआमा यहीँ जन्मिए। 
मैले सोधिहालेँ, ‘नेपालसँगको साइनो नि?’

वासुदेव काफ्ले


उनले फुपू काँकडभिट्टामा रहेको बताइन्। बर्माबाटै सन् १९६० दशकमा फर्केर गएकी।
नेपालीहरूको बाक्लो बस्ती भएको अर्को पहाडी क्षेत्र मोगोकमा जन्मेकी इन्द्रमायाले नौ कक्षासम्म अध्ययन गरेकी छन्। 
‘९ कक्षा पढ्दा पढ्दै देशमा आन्दोलन भयो, शिक्षकहरू हामीलाई पनि लिएर आन्दोलनमा गए। आन्दोलनको छैंठौं दिन हाम्रा आँखाअगाडि विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित २५ जनालाई सैनिकले गोली ठोकेर मारे। त्यसपछि बुवाले भो पढ्न पर्देन भन्नुभयो। अनि पढाइ छुट्यो,’ इन्द्रमायाले सुनाइन्।
यो घटना सन् १९८८ अगस्ट ८ देखि तत्कालीन सैनिक शासनविरुद्ध बर्मेली जनताले गरेको आन्दोलनको हो। १९८८ को आठौं महिना (अगस्ट), ८ तारिखबाट सुरु यो आन्दोलनलाई बर्माको इतिहासमा '८८८८' भनेर चिनिन्छ। यहाँ तीन हजारभन्दा धेरै बर्मेली सहिद भएका थिए। कतिपयले आन्दोलनमा मृत्यु हुनेको संख्या दस हजारसम्म पुगेको अनुमान गरेका छन्। यही आन्दोलनबाट बर्मेली प्रजातान्त्रिक नेतृ आङ सान सू चीको उदय भयो। 
‘मेरी आमाले १४ जना सन्तान जन्माउनुभयो, हामी १३ जना अझै छौं,’ इन्द्रमायाले भनिन् 'मेरो काकाको पनि एकै आमाबाट १४ जना छोराछोरी थिए।'
उनले यति भनेपछि मैले सोधेँ, ‘त्यो बेला धेरै सन्तान जन्माउने चलन रहेछ है नेपाली बर्मेलीको?’ 
मैले भेटेका ४० वर्षभन्दा बढी उमेरका धेरैजसो नेपाली बर्मेलीका सात-आठ जनाभन्दा धेरै दाजुभाइ, दिदीबहिनी छन्। 
इन्द्रमायाले खेतीपाती प्रशस्त भएपछि सन्तान जति जन्माउँदा पनि फरक नपर्ने बताइन्। पढाइ रोकेपछि व्यापार गर्दै चीन र भारतको सिमानासम्म पुगेकी इन्द्रमायाले बिहे गर्ने फुर्सदै पाइनछिन्। 
‘बिहे गर्ने १८-२० वर्ष उमेरमा म थलिने गरी बिरामी परेकी थिएँ। त्यही भएर मेरो बिहे ३५ कटेपछि भयो।’
मैले हिसाब निकालेँ। श्रीमान् र श्रीमतीको उमेरमा २४ वर्षको फरक रहेछ। 
‘वासुदेवजी, तपाईंले त ६० लागेपछि पो बिहे गर्नुभएको रहेछ, कुमारै हुनुहुन्थ्यो,’ मैले जिस्काएँ।
‘मेरो त १७ वर्षमै बिहे भएको थियो। पहिलेकी श्रीमतीबाट तीन छोरा र एक छोरी छन्। सबैले घरबार सम्हालिसके। कान्छी छोरी नै उमेरमा ३० काटिसकी। जेठी श्रीमती बिरामीले बितेको १० वर्षपछि यिनीसँग भेट भयो,’ वासुदेवले आफ्ना नक्कली दाँत जिब्रोले सार्दै भने। 
पाँच सय किलोमिटर पूर्व-पश्चिम मेचिना र मोगोकका यी दुईको बिहे इन्द्रमायाका दाइले गराइदिएका रहेछन्। 
‘यिनका दाइ पनि मन्दिरका पूजारी नै हुन्, पूजारी-पूजारी भेट हुँदा खैखबर सोधपुछ भयो, प्रसंग निस्क्यो, अनि बिहे भयो,’ वासुदेवले अनुहारमा चमक ल्याएर भने। 
उनकी छोरी थाइल्यान्डमा काम गर्दी रहिछन्। छोरीले पठाएको मोबाइलबाट उनी नेपालको सूचना थाहा पाउँछन्। आफूले पाएको पछिल्लो सूचनाअनुसार उनले मलाई सोधे, ‘नेपालमा असाध्यै धेरै बलात्कार हुँदोरहेछ है?’
त्यसैमा थपे, ‘सडक दुर्घटना पनि बेसी हुन्छ नेपालमा?’
छोरीले पूजारी बुवालाई सजिलो होस् भनेर ‘हाम्रो पात्रो’ एप्स डाउनलोड गरी मोबाइल पठाएकी रहिछन्। वासुदेव हाम्रो पात्रोबाट आउने सूचना रिठ्ठो नबिराई श्रीमतीलाई सुनाउँदा रहेछन्। 
‘यहाँ मन्दिरमा भएको भारतीय क्यालेन्डरमा अगस्ट १५ तारिखमा नागपूजा थियो, यो मोबाइलमा अगस्ट १६ तारिखमा देखेपछि मैले १६ मै गएर जजमानकहाँ नाग टाँसिदिएँ,’ हाम्रो पात्रो देखाउँदै वासुदेवले भने। 
‘नेपालमा डाक्टर पनि धेरै रहेछन्,’ नेपालका पछिल्ला समाचारबाट बढी नै प्रभावित देखिएका वासुदेवले बलात्कार, सडक दुर्घटनापछि गोविन्द केसी र डाक्टरहरूको आन्दोलन सम्झिए अनि मलाई सोधे, ‘विदेशमन्त्री केपी ओली पनि डाक्टर हुन्?’ 
आङ सान सू ची विदेशमन्त्री भएकाले वासुदेवले ओलीलाई परराष्ट्रमन्त्री ठानेको मैले अड्कल काटेँ। 
‘छोराछोरी यहाँ रमाएका छन् त,’ हिँड्नुअघि मैले सोधेँ।
जवाफ दिन इन्द्रमाया अघि सरिन्।
भनिन्, 'यिनीहरू पढ्ने स्कुलमा अस्ति छोरालाई ‘कला’ भनेर कुटेछन्। साथीहरूले दुःख मान्दै थियो। मैले स्कुल गएर कुरा गरेपछि शिक्षिकाले अरु विद्यार्थीलाई ‘यिनीहरू पूजारीका छोराछोरी हुन्। माछामासु केही खान्नन्’ भनिछन्। अहिले त साथीहरूले माया गर्छन् भन्छ केरे।’
बर्मेलीले आफ्नो जातिबाहेकलाई हेय दृष्टिले प्रयोग गर्ने शब्द हो- ‘कला’। 
मुसलमानविरुद्ध जातीय हिंसा भड्किदा ‘कला’ लाई खेद्नुपर्छ, मार्नुपर्छ लेखिएका फेसबुक स्ट्याटस यहाँ धेरै देखिएका थिए। अधिकारकर्मीहरूले फेसबुकसमक्ष यसको उजुरीसमेत गरेका थिए। 
त्यसो त भिक्षुलाई असाध्यै धेरै श्रद्दा गर्ने बौद्धमार्गीहरूको देश बर्मामा हिन्दु मन्दिरका पूजारी पनि सम्मानित नै छन्। फेरि जुनसुकै हिन्दु मन्दिरमा हिन्दु देवीदेवता समान बुद्ध मूर्ति राखेर पूजा गरिएकै हुन्छ।
‘अब धेरै त यहाँ बसिँदैन पनि। पाँच वर्षपछि छोराले १० कक्षा सक्छ, त्यसपछि मान्डले जाने हो, नेपालीहरूको बस्तीनजिकै घर बनाएर पसल खोल्ने योजना छ,’ इन्द्रमायाले भनिन्।
इन्द्रमायाको जोडीसँग विदा मागेर म डकुमेन्ट्री फिल्म खिच्न गाउँतिर लागेँ। हामी मुसलमान प्रवेश निषेध लेखिएको गाउँको दृश्य खिच्दै थियौं। सहकर्मीहरू गाउँलेले माया गरेर ल्याइदिएको चिसो पेय पिइरहेका थिए। मैले नपिएको देखेर एक जना वृद्धाले सोधिन्, ‘किन केही नपिएको?’ 
मैले यसै ‘म यस्ता पेय पिउन्नँ। दूध, मही, ताजा फलफूलका रस मात्र खान्छु’ भनेँ। 
हामी डकुमेन्ट्री खिचेर होटल फर्कन गाडीमा बसिसकेका थियौं। ७० वर्ष कटेजस्ती देखिने ती बर्मेली महिला एक गिलास तातो दूध लिएर गाडीमा आइन्। भनिन्, ‘तिमीले दूध खान्छौ भनेर म पल्लो गाउँ पुगेर खोजेर ल्याएकी।’
परदेशमा आफ्नी आमा सम्झेर आँखा रसाए। 
कहाँ मुलसमान प्रवेश निषेध लेखिएको गाउँ, कहाँ म ठ्याक्कै मुसलमानजस्तो देखिने केटाका लागि बौद्धमार्गी आमाले दुई घन्टा खर्चेर ल्याइदिएको तातो दूध!

(सेतोपाटीमा पहिलोपटक  दिपक भट्टराई  को बाइलाइनमा मग्वे (म्यानमार) बाट भदौ १४, २०७५ मा  प्रकाशित)

Tuesday, August 21, 2018

बर्मामा नेपालीभाषी अधिराजकुमारी

 

म्यानमारको शान प्रदेशकी नेपालीभाषी पूर्वअधिराजकुमारी खिन मा न्यू आफ्ना पति राजकुमार उ साउ था थेनसँग। 


‘ठ्याक्कै कहाँ पढेको सम्झना छैन, बूढी पनि त भएँ। पढेको कुरा भने यस्तो थियो– जबसम्म हामी आफ्नो इतिहास बताउन सक्छौं, जबसम्म हाम्रा कथा बाँकी रहन्छन्, तबसम्म हामीलाई कसैले पराजित गर्न सक्दैन। जब हामी इतिहास बिर्सन्छौं, हाम्रा कथा सकिन्छन्, त्यसपछि हामीलाई कसैले पराजित गर्नै पर्दैन, हामी आफैं सकिन्छौं।’

उनले ठ्याक्कै यही त भनेकी थिइनन्। भनाइको आसय भने यस्तै थियो।

म्यानमारको शान प्रदेशमा भेटिएकी थिइन्, ड खिन मान न्यू। उनी नेपालीभाषी बर्मेली हुन्।

म्यानमारमा १४ प्रदेश छन्। शान सबैभन्दा ठूलो। टाउँज्जी यहाँको राजधानी। मैले दुई दिनसम्म टाउँज्जीका तीनवटा मन्त्रालय धाएर माइपान जाने अनुमति लिएको थिएँ। त्यही माइपानमा भेटिएकी हुन्, उनी।

मैले हात अघि सार्दै परिचय दिएँ। नेपालबाट आएको थाहा पाउनेबित्तिकै उनले खुसी हुँदै भनिन्, ‘आबुई गोर्खाली हो?’

उनले नेपाली भाषामै यति सोधेपछि के चाहियो?

नेपालभन्दा साढे चार गुना ठूलो म्यानमारमा म जहाँ जान्छु, त्यहाँका बर्मेली नेपाली भेट्नासाथ सोधिहाल्छु, ‘तपाईंको पुर्खा नेपालको कुन ठाउँबाट कहिले आएको?’

सुरु सुरुमा यसै सोध्थेँ। अहिले सोध्ने बानी परिसकेको छ।

खिन मा न्यूलाई भने सिधै यो प्रश्न सोधिनँ। मैले भनेँ, ‘माफ गर्नुहोस्, मलाई दरबारको चलन आउँदैन। तर, तपाईंसँग केही बेर गफ गर्न चाहन्छु। तपाईंको पुर्ख्यौली देशबाट आएको नाताले पनि तपाईंले नाइँ भन्न पाउनुहुन्न।’

हो, दरबारको चलन!

नेपालीभाषी बर्मेली खिन मा न्यू म्यानमारको सबभन्दा ठूलो प्रदेश शानकी एक पूर्वअधिराजकुमारी हुन्। उनको विवाह शानका गद्दिच्यूत राजकुमारसँग भएको छ। उनी अहिले पनि त्यतिबेलाको दरबारमै बस्छिन्। मैले उनलाई त्यही दरबारमा भेटेको हुँ।

हिङ नभए पनि हिङ बाँधेको टालो भन्ने उखानजस्तै पूर्वअधिराजकुमारी भए पनि दरबारका केही औपचारिकता हुन्छन्। तेह्र वर्षअघिसम्म राजतन्त्र रहेको नेपालबाट आएको मेरो निम्ति नौलो कुरा होइन। त्यो दरबारी औपचारिकता मिचेँ भने मैले खोजेको र चाहेजति कुराकानी नहुनसक्छ भन्ने डर मेरो मनमा थियो।

यही डरका साथ माफीसहित कुरा थालेपछि पूर्वअधिराजकुमारी न्यूले भनिन्, ‘हुन्छ नि, म राजकुमारसँग कुरा गर्छु। तर, तिमीलाई बर्मेली भाषा आउँछ?’

मैले टाउको दायाँबायाँ हल्लाउँदै भनेँ, ‘नेने नेने (थोरै थोरै)।’

‘मेरो नेपाली ब्रोकन छ, त्यसो भए अंग्रेजीमा कुरा गरौंला,’ उनले भनिन्।

म तयार भएँ।

न्यूले हामीलाई दरबारको एउटा कोठामा लगिन्। त्यहाँ मझौला आकारको सुनौलो बुद्धमूर्ति थियो। पूर्व फर्केको झ्यालबाट छिरेको प्रकाशले मूर्ति टिलिक्क टल्केको थियो। झट्ट हेर्दा सुनकै हो जस्तो लाग्थ्यो।

मैले कोठामा सर्सती आँखा डुलाएँ। त्यहाँ हाम्रो कुराकानी हुन पाएन। मेरा सहकर्मीहरू भिडियो खिच्दै थिए। उनले मलाई अर्को कोठामा लगिन्। त्यो कुनै पनि रूपमा दरबारको कोठाजस्तो देखिन्थेन। पुरानो दराज। कोठाको वरपर तार बाँधेर जताततै झुन्ड्याइएका कपडा। ढोकाछेउ खाना पकाउने सानो भान्सा।

दरबारभित्रै यस्तो सामान्य कोठा देखेर त्यसैबारे कुरा सुरु गरूँ जस्तो लाग्यो। गरिनँ। त्योभन्दा अगाडि म्यानमारमा भेटेका सयौं नेपालीभाषी बर्मेलीलाई सोध्ने प्रश्नबाटै कुराकानी थालेँ– नेपालमा उनको पुर्ख्यौली घरका बारेमा।

‘नानी, मेरा बाजे नेपालबाट आएका बाहुन हुन्। कहाँबाट आए नसोध, मलाई थाहा छैन। उनले यतैका शानीसँग बिहे गरे,’ उनले भनिन्।

शानी भनेका शान देशका आदिवासी हुन्। यिनीहरू म्यानमारका अल्पसंख्यकमा पर्छन्। सके आफ्नो छुट्टै देश, नसके स्वायत्त शासनसहितको प्रदेशका लागि बर्मेली सेना र सरकारसँग सशस्त्र विद्रोह गरिरहेका छन्। त्यही विद्रोह देखाएर शान प्रदेश सरकारले विदेशीहरूलाई राजधानी टाउँज्जीबाहिर जान अनुमति दिँदैन।

‘गाउँमा आतंककारीले जे पनि गर्न सक्छन्,’ शानका मन्त्रीले मलाई यसै भनेका थिए।

मैले उनको भनाइ प्रतिरोध नगरी भनेँ, ‘म यहाँको स्थानीयजस्तै देखिन्छु। हजुरले अनुमति दिनुभयो भने बजारसम्म मात्र पुग्छु।’

उनले अनुमति दिए। मेरो अनुमतिपत्रमा बजारको नामै किटान गरिएको थियो– लोइलुम, पेनालाङ, माइपान र लेचा।

‘तपाईंको नेपाली नाम के नि?’ मैले पूर्वअधिराजकुमारीलाई सोधेँ।

‘पार्वती देवी’

उमेर?

‘६१ वर्ष’

हरेकजसो नेपालीभाषी बर्मेलीका दुइटा नाम हुन्छन्। नेपालीभाषी मात्र किन? मुस्लिम, भारतीय बर्मेलीलगायत सबैको दोस्रो नाम हुन्छ। घरमा जे भने पनि स्कुल गएपछि हुने विभेद सम्झेर उनीहरू स्थानीय साथीभाइसँग मिल्ने नाम राख्छन्। कि अभिभावकले नै नयाँ नाम राखिदिन्छन्, नभए शिक्षकले।

पार्वती देवी पनि अपवाद थिइनन्।

‘बाको थर नि?’ मैले यहाँ भेटिने नेपालीलाई उनीहरूको जात र थर सोध्ने गरेको छु।

‘ओ बिर्सें पो नानी, क्षत्री हो। क्षत्रीको थर के हुन्छ?’

मैले आफूले सम्झेका केही थर भनेँ। उनले मैले भनेका कुनै थरमा सहमति जनाइनन्। आफू पनि सम्झन सकिनन्।

यो थर भन्ने गजबको हुन्छ। आफ्ना पुर्खाको थातथलो र थर थाहा भएका नेपालीभाषी बर्मेलीले आजभोलि फेसबुकमा त्यही थर खोजी खोजी आफन्त पत्ता लगाएका छन्। बर्मेलीका थर हुँदैनन्। चलनै त्यस्तै चलाए।

उनी भन्दै थिइन्, ‘मेरा बुवा भारतीय गोर्खा पल्टनका सिपाही हुन्। दोस्रो विश्वयुद्धका लागि यता आएका। यहीँ बिहे गरेर यतै बसे।’

‘म लोइलममा जन्मेँ, हुर्कें,’ उनले भनिन्, ‘टाउँज्जी गएर बिएडसम्म पढेँ। त्यसपछि श्यामा बनेर माइपानमा पढाउन आएँ।’

शिक्षिकालाई यहाँको भाषामा श्यामा भनिन्छ। यही क्रममा माइपानका राजकुमार उ साउ था थेनसँग उनको भेट भयो। विवाह भयो।

म्यानमारको यो दुर्गम भेगमा अहिले त अंग्रेजीमा राम्रो दख्खल भएका महिला देखिँदैनन्, पार्वतीको भने त्यो बेला नै अंग्रेजीमा राम्रो दख्खल थियो। अंग्रेजी साहित्यको राम्रो ज्ञान थियो।

‘उ साउ था थेनसँग कसरी भेट भयो?’

‘कति ठूलो छ र यो माइपान, स्कुलै एउटा त छ,’ उनले जवाफ दिइन्, ‘यहाँ आएका शिक्षक, डाक्टर, कुनै पनि सरकारी कर्मचारी दरबारका मान्छेका आँखामा परिहाल्थे, म पनि परेँ।’

मैले केही समयअघि मात्र गुगल गरेर शान दरबारका किस्सा र केही ऐतिहासिक दस्तावेज पढेको थिएँ। बेलायती उपनिवेश भोगेको शानको दरबारमा अंग्रेजी भाषा जानेकाहरूले कस्तो सम्मान पाउँथे भन्ने थौरै ज्ञान मैले पाइसकेको थिएँ।

‘म बिहे गरेर आउँदा त यो दरबारमा शक्ति थिएन नि नानी,’ पार्वती देवीले थपिन्।

शान प्रदेशका पूर्व राजपरिवारको दरबार। तस्बिर: दिपक भट्टराई

यहाँका अन्तिम राजा साओ साम टुनको हत्या जनरल आङ साङसँगै म्यानमारको राजधानी रंगुनमा भएको थियो। नेतृ आङसाङ सूचीको मात्र होइन, जनरल आङ साङ म्यानमारकै राष्ट्रपिता हुन्। भारतमा जसरी महात्मा गान्धीलाई पुजिन्छ, यहाँ उसैगरी जनरल आङ साङलाई सम्मान गरिन्छ।

त्यतिबेला अंग्रेजी उपनिवेशविरुद्ध लडेर देश स्वतन्त्र हुने निश्चित भइसकेको थियो। जनरल आङ साङको नेतृत्वमा तत्कालीन बर्मामा अन्तरिम सरकार गठन भएको थियो। त्यो अन्तरिम सरकारमा देशभरका राजारजौटाको प्रतिनिधित्व गर्दै साओ साम टुन मन्त्री बनेका थिए।

सन् १९४७ जुलाई १९ मा जनरल आङ साङसँगै नौ जना मन्त्रीको मन्त्रिपरिषद बैठक बसिरहेका बेला हत्या भयो। त्यसैमा मारिनेमध्ये एक थिए, यिनै पार्वती देवीका ससुरा पूर्वराजा साओ साम टुन।

‘उसले धेरै वर्ष राज गर्न त पाएन नि,’ पूर्वअधिराजकुमारीले भनिन्, ‘४० वर्षको उमेरमै उसको हत्या भयो।’

मैले पछि गुगल गरेर पत्ता लगाएँ, उनका ससुरा साओ साम टुनले १८ वर्ष शासन गरेका रहेछन्।

‘त्यसपछि त यो दरबार ओरालो लाग्यो, त्यसैले होला कि राजकुमारले मलाई बिहे गरेको,’ उनले भनिन्।

यसबारे मैले माइपानका राजकुमार उ साउ था थेनको पनि विचार जान्न चाहेँ।

'त्यो समय माइपानमा पढेलेखेकी केटी भेट्न मुश्किल थियो। अंग्रेजी जान्ने त झन् कोही थिँदै थिएन भन्दा हुन्छ,' राजकुमारले भने, 'खिन मान न्यूको अंग्रेजीमा राम्रो ज्ञान थियो। अंग्रेजी साहित्यमा पनि रुचि राख्थिन्। हाम्रो मन मिल्यो। बिहे भयो।'

उनीहरुको प्रेम र बिहेको कुरा सुन्दासुन्दै मैले पार्वतीलाई सोधेँ, ‘तपाईंको बाबाआमाको बारेमा नि भन्नु न।’

‘मेरो बाउ त फौजबाट रिटायर भएपछि कपडा व्यापारमा लागेको थियो,’ उनले सुनाइन्, ‘खुट्टा नचल्ने बिरामी भयो। उपचार गर्न भारत गएको फर्केरै आएन।’

‘चिठ्ठी पत्र?’

‘खोई उतै सानिमा बिहे गरेर बसेको भन्ने सुनियो। म २० वर्षको हुँदासम्म त चिठी आउँथ्यो। पछि त बाउ पनि खस्यो। छुटिगो नि,’ उनले भनिन्, ‘आमाले व्यापार, खेती गरेर मलाई र बहिनीलाई हुर्कायो। अहिले त आमा पनि छैन। बहिनी पनि ज्वाईं खसेपछि एक्लै छ।’

‘ए हे, अनि तपाईंको नेपाली भाषा त कस्तो राम्रो लाग्यो,’ मैले उनको नेपाली बोलीमा प्रतिक्रिया दिएँ।

मैले करबल गरेपछि पार्वती देवी नेपालीमै बोल्न थालेकी थिइन्। दुई घन्टाको बसाइमा पछिल्लो १५ मिनेट त नेपालीमै बोलेर अन्तर्वार्ता रेकर्ड गराइन्।



माइपानमा दुई घर छ नेपालीभाषी बर्मेलीको। एक जनाले चियाको दोकान गरेको छ। अर्को घर देवीको हो। देवी श्यामा (शिक्षिका) छिन्। पार्वती उनीहरूसँग कहिलेकाहीँ नेपालीमै बोल्छिन्। फर्रर बोल्न सक्दिनन्। उनीहरू पनि सक्दैनन्। अक्मकिन्छन्।

‘मर्यादा मिलाएर बोल्न जान्दैनौं हामी,’ उनले भनिन्।

‘यहाँ पहिलेदेखि नै नेपालीभाषीहरू यति थोरै कि?’ मैले सोधेँ।

त्यहाँ नेपालीभाषीको संख्या पहिले तीन–चार सय घर भएको मलाई जानकारी थियो। तै उनलाई सोध्न मन लाग्यो।

‘होइन नि, पहिला त नेपालीहरूको गाउँ थियो। बर्मामा सन् १९६२ देखि सेनाको शासनसँगै सबै सम्पत्ति सरकारीकरण भयो। यतातिर बर्मेली सेनाविरुद्ध शानीहरूले सशस्त्र विद्रोह गर्न थाले। दुवैको चेपुवामा परेपछि कति नेपाली आफ्नो देश फर्के। कति भारत गए। कति सहरतिर गए। यता त कोही कोही मात्र पो बाँकी रह्यो,’ उनले विस्तार लगाइन्।

म्यानमारमा कुनै समय तीन लाखभन्दा धेरै नेपालीभाषी थिए। सरकारी तथ्यांकले अहिले एक लाखभन्दा कम देखाउँछ। पूर्वराजकुमारीले पनि नेपालीहरू खेतीपाती, पशुपालन गर्दै म्यानमारमा बसेको र विस्तारै व्यापारतिर लागेको बताइन्।

मैले फेरि उनलाई दरबारतिर फर्काउन चाहेँ, ‘अहिले पनि राज्यले सेवा सुविधा दिन्छ होला नि तपाईंहरूलाई, पूर्व राजपरिवार भनेर?’

‘कहाँ दिनु। कहिलेकाहीँ ठूला सभा–सम्मेलनमा भाग लिन जाँदा मात्र दिन्छ। राजाको सन्तान भए पनि के गर्नु? सुसारेहरू कोही छैनन्। हामी धेरै पैसावाला हैन। गरिब भयो नि, राजाको सन्तान भनेर के गर्नु?’ उनले भनिन्।

दरबारको हालत उनको भनाइसँग मिल्थ्यो। मैले सुरुमै देखेको त्यो अतिसामान्य कोठा दरबारको यथास्थिति बुझ्न पर्याप्त थियो। भत्कँदै गएका दरबारका अरू कोठा, पर्खाल र भर्याङ मेरा सहकर्मीहरूले बर्मेली भाषामा बन्दै गरेको डकुमेन्ट्रीका लागि खिच्दै थिए।

‘२० वर्ष त अझै टिक्छ भनेको छ यो दरबार,’ पार्वती देवीले भनिन्, ‘कति ठूलो बगैँचा थियो, सुसारे घरहरू थिए, आधा त बेचेर खाइसकियो।’

उनका अनुसार राजाका जेठा सन्तान अस्ट्रेलियामा बसाइँ सरेछन्, सैनिक शासनकै बेला। माइलो भने म्यानमारको पुरानो राजधानी यंगुन गएर बसेछन्। कान्छा पूर्वराजकुमार र यी नेपालीभाषी बर्मेली अधिराजकुमारी अंग्रेजी भाषामा ट्युसन पढाएर जिन्दगी बिताउँदै छन्।

‘६०, ७० जना विद्यार्थी छन्। मैले मात्र हैन, पूर्वराजकुमारले पनि अंग्रेजी ट्युसन पढाउँछ। त्यसैले जिन्दगी चलेको छ,’ पार्वती देवीले खुसीसाथ हाँस्दै भनेकी थिइन्।

‘धनको गरिब मात्रै हो,’ पूर्वअधिराजकुमारीले छुट्टिने बेला थपिन्, ‘ठ्याक्कै कहाँ पढेको सम्झना छैन, बूढी पनि त भएँ। पढेको कुरा भने यस्तो थियो– जबसम्म हामी आफ्नो इतिहास बताउन सक्छौं, जबसम्म हाम्रा कथा बाँकी रहन्छन्, तबसम्म हामीलाई कसैले पराजित गर्न सक्दैन। जब हामी इतिहास बिर्सन्छौं, हाम्रा कथा सकिन्छन्, त्यसपछि हामीलाई कसैले पराजित गर्नै पर्दैन, हामी आफैं सकिन्छौं।’

उनले ठ्याक्कै यही त भनेकी थिइनन्। भनाइको आसय भने यस्तै थियो।

‘अबो त हामी सकिनु लाग्यौं,’ उनले कुरा टुंग्याइन्।

(बर्माको जागिरे कालमा मैले सेतोपाटी सहित नेपालका केही अनलाइन र पत्रिकामा बर्माको बारे लेख, फिचर, समाचार लेखें। ती मध्ये सेतोपाटीमा छापिएको यो पहिले लेख हो। जुन साउन २८, २०७५, मा छापिएको थियो)