Monday, December 3, 2018

नेपालीभाषी बर्मेलीका धर्म र समाजका कुरा

‘दुई-चार घर मात्र भएका ठामका नेपालीले पनि सयौं असजिलो, दुःख, अपमान सहेरै हाम्रो भाषा, संस्कृति जोगाएर राखेका छन्। त्यो देखेपछि त्यसै आँशु रसाउँछ के भाइ!’

सधैं हँसमुख देखिने सागर घिमिरेका आँखामा पानी छचल्किएको हो कि भनेर मैले गहिरिएर हेरेँ। उनको स्वर मात्र कामेको थियो, आँखामा आँशु थिएन।

बर्मामा बस्ने नेपालीभाषीको साझा संस्था अखिल म्यान्मा देशीय गोर्खा हिन्दु धार्मिक संघका अध्यक्ष हुन्, घिमिरे। घिमिरेको टोली म्यानमारका ‘छिन’, ‘जघाई’ र 'शान' प्रदेश पुगेर भर्खरै यांगुन फर्किएको थियो। यीमध्ये छिन र जघाईमा नेपालीभाषीका थोरै थोरै बस्ती छन् भने शानमा बाक्लै छ।

म्यानम्यार नेपालभन्दा करिब पाँच गुणा ठूलो छ। जनसंख्या भने नेपालको भन्दा दोब्बर पनि छैन। बस्ती जताततै फैलिएको छ। एक लाख हाराहारी नेपालीभाषी पनि गाउँगाउँमा बाँडिएर बसेका छन्। सरकारी तथ्यांकले नेपालीभाषीको संख्या ९० हजार पनि देखाउँदैन। नेपालीभाषी अगुवाहरू भने म्यानमारमा सवा लाखभन्दा धेरै नेपालीभाषी रहेको बताउँछन्।

यहाँका रैथाने र अन्य जातिसँग बिहेबारी, थाइल्यान्डसहित विभिन्न देशमा बसाइसराइँ र धर्म परिवर्तनपछि भाषा संस्कृति विस्तारै बिर्संदै र छाड्दै जाँदा नेपालीभाषीको जनसंख्या कम हुँदै गएको छ।

संघका नेताहरू वर्षको एकपटक गाउँगाउँ पुगेर नेपालीभाषीका खैखबर गर्छन्। कसैलाई दुःख भए संघमार्फत् सघाउँछन्। कसैको सुख भए संगालेर फर्किन्छन्। अनि त्यो समाचार अन्त बसेका नेपालीभाषीसम्म फैलाउँछन्।

‘संघले बर्सेनि हजारौं विद्यार्थीलाई छात्रवृत्ति दिन्छ, स्वास्थ्य शिविरहरू सञ्चालन गर्छ। मन्दिर, पाटी, पौवाहरू बनाउन सहयोग गर्छ। यहाँका नेपालीभाषीलाई म्यानमाली नागरिकता दिलाउन मद्दत गर्छ। यहाँका नियम-कानुनबारे जानकारी दिने, युवाका लागि व्यक्तित्व विकास, महिलाका लागि नारी शिक्षाका कार्यक्रमजस्ता चेतनामूलक शिविरहरू गर्छ। यी सबै विषयमा जानकारी दिन पनि गाउँगाउँ जानुपर्छ,’ संघका महासचिव विष्णुबहादुर मरासिनी भ्रमणको कारण खुलाउँदै थिए।

अखिल म्यान्मा देशीय गोर्खा हिन्दु धार्मिक संघका अध्यक्ष सागर घिमिरे र कार्यालय प्रमुख तिलकराम पोख्रेल। तस्बिर सौजन्य: तिलकराम पोख्रेल

मलाई भने गाउँगाउँका नेपालीभाषीको कुन कुराले उनीहरूलाई उत्साहित बनायो, के कुराले दु:खी बनायो जान्ने उत्सुकता थियो।

‘फलाम सहरबाट १० किलोमिटर उत्तरमा जम्मा तीन घर रहेछ, गोर्खालीको। १७ जना नेपालीभाषीले पनि मन्दिर जोगाएर राखेका रैछन् दाइ,’ संघका कार्यालय प्रमुख तिलकराम पोख्रेलले अिघ सर्दै सुनाए, ‘बेलायती शासकले उपलब्ध गराएको जग्गामा एक सय १८ वर्षपहिले नेपालीले बनाएको मन्दिर पुगियो। बाहिरबाट ढल्न लागे पनि भित्र शिव र पाञ्चायन मन्दिरमा देवी-देवताका प्रतिमूर्ति मखमली र सयपत्री फूलले सिँगारिएका थिए।’

करिब पाँच लाख जनसंख्या भएको छिन प्रदेशमा ९० प्रतिशत बासिन्दा क्रिश्चियन धर्म मान्ने भइसके। अंग्रेजले सन् १८८५ मा छिन कब्जा गर्नुअघि त्यहाँका सबैजसो बासिन्दा प्रकृतिपूजक थिए। क्रिश्चियन धर्म प्रचारकहरू भेटिइरहने छिनमा सन् १९६६ को जनगणनाले जम्मा ३५ प्रतिशत क्रिश्चियन धर्मावलम्बी भएको देखाउँछ।

तिलकरामले ८२ वर्षीय बेदुरामलाई छिनको फलाममा भेटेछन्।

‘धर्म प्रचारकहरूले नर्कबाट बचाइदिन्छौं, विदेश लैजान्छौं, जागिर मिलाइदिन्छौं, पैसा दिन्छौं भनेर नेपालीभाषीहरूलाई क्रिश्चियन बनाएका रहेछन्। बेदुरामका छोरालाई पनि क्रिश्चियन बनाएर नर्वे लगेछन्। बेदुरामलाई पनि नाति/नातिनीका मायाको बल्छी थापेर उता लान खोजेका रहेछन्,’ तिलकरामले बर्मेली बेदुरामका कुरा सुनाए पनि मलाई भने आफ्नै देशको कथा म्यानमारमा कसैले भनिरहेझैं लागिरहेको थियो।

'बेदुराम बुबा जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी भनी बस्नुभएको रहेछ। भन्नुहुन्थ्यो- अंग्रेज-जापान लडाइँ, बर्मा-छिन लडाइँ बेला भारत गएर बसे पनि युद्ध सकिनासाथ यहीँ फर्केको हुँ। अब स्वदेशमै मर्छु,' तिलकरामले सुनाए।

नेपालीको त्यो मन्दिर त्यहाँबाट हटाउन छिनबासीले अनेक प्रपञ्च गरेछन्। कहिले ‘तिमीहरूको मन्दिर हटाएर सहर बाहिर लैजाओ, भनेजति जग्गा दिन्छौं’ भन्ने। कहिले बजार भाउभन्दा असाध्यै धेरै पैसा दिएर किन्न खोज्ने। कहिले डर देखाएर हडप्न कोशिस गर्ने।

यतिले नपुगेर बेलाबेला मन्दिर लडाउन र आगो लगाउन पनि खोजिएछ। बेदुराम र अन्य गोर्खालीले ‘बरु हाम्रो गर्दन काटेर लैजाओ, तर हाम्रा पुर्खाले बनाएको, सय वर्षदेखि पूजा गर्दै आएको मन्दिर हामी दिन सक्दैनौं’ भनेपछि अहिलेसम्म बाँचेको रहेछ।

बेदुरामका कुरा सम्झँदै तिलकरामले भने, ‘जीवन दाउमा राखेर मन्दिर बचाएका छौं। यही मन्दिर देखेर भए पनि गोर्खालीका सन्तानले आफ्ना संस्कृति सम्झेका छन्। हाम्रा चाडपर्व यहाँ मनाउन पाइएको छ। यो मन्दिर नरहे नेपाली कहाँ भेला होलान्? होटलमा शिवरात्रि, ऋषिपञ्चमी, रक्षाबन्धन मनाएर हाम्रो संस्कृति जोगिएला?’

‘हामीले अब त्यो मन्दिर जिर्णोद्धार गर्ने हो,’ कुइनोले टेबलमा अडेस लगाएर टाउकोमा हात राखी गमिरहेका अध्यक्ष घिमिरे बोले, ‘अब दुई वर्षभित्र त्यहाँ राम्रो मन्दिर बन्छ।’

म्यानमारको ल्वेका सहरमा भेटिएका नेपालीभाषी

छिन प्रदेशको फलामसँगै घिमिरे टोली जघाई प्रदेशको कले पनि पुगेको थियो। त्यहाँ २ सय २० घर नेपालीभाषी रहेछन्। कलेमा नेपालीभाषीहरू बौद्धमार्गी हुँदै गएका भेटेछन्।

म्यानमारमा अन्यत्र पनि थुप्रै नेपालीभाषी बौद्धमार्गी भएका भेटिन्छन्। चाहे नेपालीभाषीको बाक्लो बस्ती रहेको मोगोकमा होस् वा पुरानो राजधानी यांगुनमा वा दुई सय घर भएको ल्वाइको सहरमा। त्यहाँ गोर्खाली स्तुप र विहार बनिरहेका छन्, बढिरहेका छन्।

अखिल म्यान्मा देशीय गोर्खा थेरावाद बुद्ध धर्म प्रचारप्रसार संघका अनुसार म्यानमारमा ४० भन्दा धेरै बौद्ध स्तुप र विहार गोर्खालीहरूले निर्माण र सञ्चालन गरिसकेका छन् भने थप बन्दै छन्।

‘हामी मलाइ पुगेका थियौं, एकदमै दुर्गम गाउँमा। २२ जना नेपालीभाषी भेला हुनुभएको थियो,’ घिमिरेले थपे, ‘नेपाली भाषा पढाउने कोशिस गर्दा जम्मा दुई जना पढ्न आए भन्ने सुनियो। पढाउने मान्छे पनि अभाव रहेछ। तै पनि नेपालीपन उहाँहरूले छाड्नुभएको छैन।’

जघाई प्रदेशको राजधानी टमुमा भने गोर्खाली धर्मशाला छ। भारतीय सिमाना नजिकको टमु सहरमा नेपालीभाषीहरूले व्यापारबाट प्रशस्त आम्दानी गरेका छन्। टमुको नाम्फालौ मन्दिरमा हरेक औंशीपूर्णेमा गोर्खालीको भण्डार लाग्दो रहेछ। सयौं बर्मेलीले गोर्खालीको दालभात सित्तैमा खाँदा रहेछन्। तिहारमा टमुका नेपालीभाषीहरू मिलेर देउसी-भैलो खेलेछन्।

संघका महासचिव मरासिनीलाई मैले सोधेँ, ‘देशैभर घुम्दा तपाईं नेपालीभाषीको स्थिति कस्तो पाउनुहुन्छ? पहिले र अहिले के परिवर्तन भएको छ?’

‘म ६४ वर्षको भएँ। १५-२० वर्षअघिसम्म नेपालीभाषीहरू दुःखी तरिकाले बसेका देखिन्थे। खेतीपाती, पशुपालनमा निर्भर थिए। अहिले त परिवर्तन भयो। नेपालीभाषीहरू पनि ठूला साना सबैखाले व्यापार व्यवसायमा लागेका छन्। गाउँमा बसे पनि राम्रा घर छन्, शौचालय बनाएका छन्। गाडी, साइकल किनेका छन्। दुःख गर्ने नेपाली कम्ति हुँदैछन्। मैले त प्रगति नै देखेको छु,’ उनले भने।

मरासिनीले थपे, ‘कोही नेपालीभाषीले पैसा नभएर पढ्न छाड्न पर्दैन, डाक्टर इन्जिनियर, पिएचडी जे पढ्न मन छ संघले पढाइदिन्छ। हामीले चार हजारभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति दिएका छौं। बर्सेनि तीन करोडभन्दा धेरै त छात्रवृत्तिमै खर्च हुन्छ।'

टमुका नेपालीभाषीहरूमाझ अखिल म्यान्मा देशीय गोर्खा हिन्दु धार्मिक संघका पदाधिकारी। तस्बिर सौजन्य: तिलकराम पोख्रेल 

तीन-चार घर मात्र नेपालीभाषी रहेको फलामको सात माइलस्थित नेपाली मन्दिर। तस्बिर सौजन्य: तिलकराम पोख्रेल


मैले फेरि भ्रमणमै जोड्न चाहेँ।

त्यसै पनि तालुको कपाल झरेर निधार ठूला भएका घिमिरेले भुमरीबाट क्रमश: कपाल खुइलिँदै गएको टाउको उठाउँदै भने, ‘हाका भन्ने सहरमा तीन घर मात्र नेपालीभाषी रहेछन्। त्यो पहाडी भूभागमा सन् १९६२ अगाडि बाक्लै नेपालीभाषी भए पनि सैनिक शासन सुरु भएपछि मानिसहरू समथरतिर बसाइँ सरेछन्।’

उनले फेरि दोहोर्याए, ‘जति छन्, तिनले आफ्नो परम्परा जोगाएर राखेका छन्।’

अनि मलाई प्रश्न गरे, ‘लौन नेपाली परम्परा जोगाएर राख्नेलाई कसरी सम्मान गर्ने होला, हाम्रो संघको मात्र पैसाले त के के मात्र गर्ने हो र? नेपाली धर्म, संस्कृति, परम्परा जोगाउन कुनै आइएनजिओले सहयोग गर्दैन भाइ?’

सधैंझैं यसपटक पनि अप्ठ्यारो प्रश्नको जवाफ मैले फिसिक्क हाँसेर मात्र दिएँ।

समाजसेवामै करोडौं खर्च गरेका घिमिरे बढी नै उद्वेलित देखिए, ‘मैले गरेको समाजसेवा त केही पनि होइन। सयौं बाधा, अवरोध, अपजस, हेला सहेर पनि दुर्गम क्षेत्रमा रहेका मन्दिर, भाषा, परम्परा हाम्रा दाजुभाइ, दिदीबहिनीले जोगाएका छन्। तिनले हाम्रो संस्कृति जगेर्नामा गरेको दुःखलाई खोई कसरी सम्मान गर्ने हो? कसले हो तिनलाई सम्झनुपर्ने?’

मैले घिमिरेलाई थप भावावेशमा ल्याउने चाहेँ। सोधेँ, ‘हिजोआज बर्माका गाउँ-सहर जता घुम्दा पनि धर्म परिवर्तन गर्ने गोर्खालीहरू प्रशस्तै भेट्छु। त्यसले त तपाईंले भनेजस्तो नेपाली संस्कृति, परम्परा मासिन्छ जस्तो लाग्दैन?’

‘लाग्नेहरू विभिन्न धर्ममा लागेका छन्, तर कतिले त आफ्ना परम्परा सम्हालेर पनि राखेका छन् नि,’ दुई आँखीभौंका बीचमा गाँठो पारेर एकछिन सोचेपछि घिमिरे हल्का मुस्कानसाथ बोले, ‘अब हाम्रो अखिल म्यान्मा देशीय गोर्खा हिन्दु धार्मिक संघको प्रमुख नारा भनेकै गोर्खालीले जुन जुन धर्म अपनाए पनि, जे जति संस्थाहरू बनाए पनि सबै मिलेर गोर्खाली परम्परा र संस्कृति बचाउनुपर्छ भन्ने हो। हाम्रो संस्कृति नरहे, हाम्रो परम्परा नबचे हामी रहँदैनौं।’

नेपालका जो ‘ठूलाबडा’ भनिनेहरू आउँदा पनि नेपाली भाषा, संस्कृति जोगाएर राखेको भन्दै लाख लाख बधाई पाइरहेका घिमिरेलाई असजिलो पो पर्ने हो कि भन्दै मनमा एकछिन गमे पनि मैले नसोधी रहन सकिनँ, ‘नेपाली भाषाको स्थिति चाहिँ कस्तो पाउनुभयो त? म गाउँ-सहर जाँदा त नयाँ पुस्ताले कमै नेपाली बोलेको पाउँछु।’

बर्सेनि स्कुल छुट्टी हुने गर्मीका तीन महिना संघले सञ्चालन गर्ने सयौं नेपाली पाठशालाको उदाहरण दिँदै घिमिरेले थपे, ‘हो, हामीले नेपाली भाषा जोगाउनुपर्ने छ। जहाँ जहाँ गोर्खाली बस्ती छ, त्यहाँ त्यहाँ गर्मीको छुट्टीमा नेपाली पाठशाला सञ्चालन गरी नेपाली भषा जोगाउने अथक प्रयास गरिरहेका छौं। जहाँ जहाँ गोर्खाली जन कम छन्, त्यहाँ भाषा बिग्रँदै गएको छ। टुटेफुटेको नेपाली बोल्नेहरू बढ्दै छन्। कति ठाउँमा बिर्सेका पनि छन्।’

बर्मामा पढाइ हुने नेपाली भाषालाई भाषिक परीक्षा लिएरै भए पनि नेपाल सरकार वा विश्वविद्यालय कतैबाट मान्यता दिए बर्मामा भाषा जोगाउन सजिलो हुने घिमिरेले आकलन गरे।

‘जसरी अंग्रेजी भाषाको आइइएलटिएस, टोफलजस्ता परीक्षा हुन्छन्, नेपाली भाषाको पनि त्यस्तै परीक्षा होस् र ती परीक्षार्थीले नेपालबाट आधिकारिक प्रमाणपत्र पाऊन्। त्यसका आधारमा नेपालमा थप अध्ययन गर्न चाहने बर्मेली विद्यार्थीलाई अवसर मिलोस्,’ घिमिरेले भने, ‘नेपालका विश्वविद्यालयहरूले केही नेपालीभाषी बर्मेलीलाई उच्च शिक्षामा छात्रवृत्ति दिए यहाँ नेपाली भाषा र संस्कृति जगेर्नामा थप सहयोग पुग्थ्यो।’

बर्मेली नेपालीभाषीहरू नेपाली टोपी ग्रहण गर्दै। तस्बिर सौजन्य: तिलकराम पोख्रेल

मलाइ निवासी नेपालीभाषीहरूको भेला। तस्बिर सौजन्य: तिलकराम पोख्रेल

घिमिरे नेतृत्वको टोली जघाई र छिनपछि म्यानमारको सबैभन्दा ठूलो प्रदेश शान पुगेको थियो। पहाडी भूभाग भएको शानको भौगोलिक बनौट नेपालका पहाडसँग मिल्छ। यांगुनमा अहिले ३५ डिग्रीको गर्मी हुँदा शान १५ डिग्रीको चिसो छ।

लाश्यो सहरमा गएका टाउकेहरूले नेपालीभाषीको न्यानो स्वागत मात्र पाएनन्, केही अप्ठ्यारा प्रश्न सामना पनि गर्नुपर्यो। बर्मेली नेपालीहरू नेतालाई 'टाउके' भन्छन्।

सबैभन्दा धेरै सोधिने प्रश्न त उही हो, किन नेपाली नभन्ने? किन गोर्खा भन्ने? वा, ठ्याक्कै त्यसको उल्टो।

‘बर्मेली भाषामा हामी गोर्खा नै हौं। नेपाली भनेर कसैले चिन्दैन,’ घिमिरे भन्दै थिए, ‘संघको दोस्रो महासभाले पितृभाषा नेपाली भए पनि गोर्खा भन्ने नामबाटै हाम्रो परिचय खुल्ने भएकाले गोर्खा शब्द प्रयोग गर्ने विधान पारित गरेको छ।’

नेपाली मातृभाषा मात्र सुनिरहेको मलाई ‘पितृभाषा’ शब्दले रमाइलो लाग्यो। नेपालीभाषी बर्मेलीहरू म्यानमारलाई मातृभूमि र नेपाललाई पितृभूमि भन्छन्।

अर्को विवाद अगाडि आयो, उत्तरी शानमा रहेका नेपालीले बनाएको दुर्गा मन्दिर प्रांगणमा बौद्धमार्गी नेपालीभाषीले दुर्गा माताको जत्रै गौतम बुद्धको प्रतिमा पनि राख्न पाउनुपर्छ भने।

‘हरेक नेपाली मन्दिरमा बुद्धको मूर्ति राखिएकै छ त। हामीले उतिनै सम्मानका साथ बुद्धलाई मान्दै, पुज्दै आएका छौं। किन हिन्दु मन्दिरमा हिन्दु देवीदेवताका जत्रै बुद्ध मूर्ति चाहिने,’ एक जना बुज्रुकले प्रश्न गरे।

‘हामी पनि नेपाली हौं, हाम्रा पुर्खाले बनाएका मन्दिरमा हाम्रो पनि उत्तिकै अधिकार होला। बुद्धको प्रतिमा अझ ठूला बनाउँदा गोर्खालीको इज्जत बढ्छ कि घट्छ?’ अर्को प्रश्न फेरि थपियो।

‘नेता हुन नि कति कठिन छ है,’ दुवैको प्रश्न सुनेपछि म सोच्दै थिएँ।

अहिले बर्मामा नेपालीभाषीले विभिन्न जातीय र फरक धर्मका संगठन खोल्ने चलन सुरु भएको छ। नेपालीभाषीका फरक-फरक संस्था बने सबै नेपालीभाषीको साझा थलो संघको भविष्य के पो हुने हो भन्ने चिन्ता उत्तिकै छ।

मलाइमा नेपालीभाषीको घर। तस्बिर सौजन्य: तिलकराम पोख्रेल

मलाइमा नेपाली पाठशाला भवन। तस्बिर सौजन्य: तिलकराम पोख्रेल

अध्यक्ष घिमिरे ‘धार्मिक विषयमा संघ तटस्थ बस्ने हो’ भन्छन्। बरु अखिल म्यान्मा देशीय गोर्खा थेरावाद बुद्ध धर्म प्रचारप्रसार संघ, किराँत गोर्खा साहित्यिक एवं साँस्कृतिक संघ, नेवारी संघ, तामाङ संघ, गुरूङ संघ, मगर संघ, विश्वकर्मा संघ, थापा-मगर संघ र अन्य संघहरूलाई अखिल म्यान्मा देशीय गोर्खा हिन्दु धार्मिक संघको छातामुनि संगठित गरेर आ-आफ्ना गतिविधि गर्ने र गोर्खालीका लागि सामूहिक आवाज संघमार्फत् उठाउनुपर्ने उनको तर्क छ।

‘यी सबै संघहरूको सहकार्यमा युवा सम्मेलन, महिला सम्मेलन, साहित्यिक कार्यक्रमजस्ता गतिविधि गर्ने हो,’ घिमिरेले सम्झाउँदै थिए, ‘नागरिकता वितरण, छात्रवृत्ति सञ्चालन, गोर्खा जातिलाई परेका समस्याबारे संघबाट सबै गोर्खालीको एउटै आवाज गराउनुपर्छ।’

‘संघको नामै परिवर्तन गर्ने हो कि?’ मैले सोधेँ।

बर्मामा बस्ने नेपालीभाषीको साझा संस्थाको नाम ‘अखिल म्यान्मा देशीय गोर्खा हिन्दु धार्मिक संघ’ भन्दा सुरु सुरुमा मलाई पनि खसखस भएको थियो। कारण- बर्मेली नेपालीभाषीमा २० प्रतिशतभन्दा धेरै अहिले बौद्धमार्गी छन् र माथि भनेझैं त्यो बर्सेनि बढ्दै छ। नेपालमा झैं म्यानमारमा पनि हिन्दु र बौद्धमार्गीहरू धर्म परिवर्तन गरी क्रिश्चियन बनेका भेटिन्छन्। नेपालीभाषीको मात्र पनि चर्च छ।

धर्म नमान्ने नेपालीभाषी पनि होलान्। हिन्दु धार्मिक संघले ती सबै नेपालीभाषीको प्रतिनिधित्व गर्ला कि नगर्ला? फेरि म्यानमार नलेखेर ‘म्यान्मा’ किन लेखेको होला नाममा?

‘सैनिक शासन बेला धार्मिकबाहेक अरू संघ-संस्था प्रतिवन्धित भएकाले संस्थाको नाम हिन्दु धार्मिक संघ भएको हो। त्यति बेला सबैजसो नेपालीले हिन्दु धर्म नै मान्थे,’ सन् १९८२ मा संघ स्थापना गर्दाको इतिहासबारे बताउँदै महाचिव मरासिनीले भने, 'नेपालीलाई यहाँ गोर्खा भनेरै चिन्छन्। त्यसैले त्यो बेलादेखि नै गोर्खा राखियो।'



फलाम सहरस्थित शिव मन्दिरको शिलालेख। तस्बिर सौजन्य: तिलकराम पोख्रेल

नाममा भएको म्यान्माबारे त बस्दै गर्दा मैले नै पत्ता लगाइसकेको छु, बर्मेली उच्चारणमा ‘र’ को ठाउँ रहेनछ। त्यसैले बर्मेलीले म्यानमारलाई ‘म्यान्मा’ भन्छन्। नेपालीभाषीले त्यही टिपे।

र, अर्को कुरा, विवाद भइनै रहे पनि नामको सुरुमा भएको ‘अखिल’ ले अर्थ्याउने ‘समस्त’ जस्तै अहिलेसम्म सबै नेपालीभाषी बर्मेलीको साझा संस्था अखिल म्यान्मा देशीय गोर्खा हिन्दु धार्मिक संघ नै छ। दुःखसुख बाँचेका हजारौं नेपालीभाषीलाई यसैले जोडेको छ।

मलाई ‘टाउके’ हरूको कुरा सुन्दा रमाइलो लागिरहेको थियो। कार्यालय प्रमुख तिलकराम पोख्रेल भने हतारमा देखिए।

‘उसको बिहे छ कि, यही मंसिर २९ गतेको लग्नमा, त्यसैले छट्पटिएको छ, नयाँ दुलाहा हुने बेला कस्तो हुन्छ?’ घिमिरे बल्ल आफ्नो लयमा फर्के।

त्यहाँबाट छुट्टिएको केही दिनपछि नेपालीभाषी ‘टाउके’ का भ्रमणको फोटो पठाउन मैले तिलकरामलाई फोन गरेँ। सुरुमा ‘बिहेको बधाई छ है भन्दै।’

‘दाइ, बिहे त सर्यो नि। मंसिर २९ गतेको लगन त भगवान राम-सीताको बिहे भएको लगन रहेछ,’ तिलकराम फोनमा बोल्दै थिए, ‘त्यो लगनमा बिहे गरे राम-सीताको जस्तै वर्षौं बिछोड हुन्छ भने पण्डितजीहरूले। अब माघ ४ मा हुन्छ दाइ बिहे।’

सानो स्वरमा तिलकरामले थपे, ‘तपाईं नेपालीको बिहेमा नबोलाइकन गएको पढेको थिएँ। मैले त बोलाएको छु। नेपालीहरूको बाक्लो बस्ती भएको मोगोक जाने हो जन्ती। नेपालीभाषी भेट्न रुचाउने तपाईंले चाहेजति भेट्न पाउनुहुन्छ। मेरो बिहेमा आउनुहोस् है।’

नेपालीभाषी बर्मेलीका कुरा।

यो लेख पहिलोपट सेतोपाटी अनलाइनमा आएको थियो। प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५

No comments:

Post a Comment

Please leave your comment here