Monday, October 10, 2011

दशैंका दश खवर

1. गाउँको हाइस्कूलमा पढाउने एक जना सरले गाउँमा बोर्डिङ खोलेका थिए। बोर्डिङमा पढाउन भनेर सरले शहरबाट एक जना अधकल्चे उमेरले २० पनि नकाटेका मास्टर लिएर गएछन्। ती शहरेले सरकी १९ पनि नकाटेकी छोरी उडाइदिएछन्। पिर पोखे, 'छोरी उमेरै नपुगी पोइल गई। पोइल गई भन्दा पनि अब पढाइ रोक्ने हो कि भन्ने चिन्ता छ।'

2.  बोर्डिङ कै कुरामा गाउँकै स्कूलका अर्का शिक्षकले पनि बोर्डिङ खोलेछन्। 'एउटै गाउँमा दुईटा बोर्डिङ चल्ला र ?' भनेको सोधेको थिएँ। 'पैसा हुने जतिले शहर लगिहाल्छन् केटाकेटी, पैसा नहुनेका छोराछोरीलाई पढायो, समाजसेवा' भन्दैथिए।

3. अर्का बोर्डिङका साहुले सुनाए - बिदेश गएका बाउले पैसा पठाइदेलान् र तिनका छोराछोरीले गाउँमै अँग्रेजीमा पढ्लान् भनेर गाउँमा बोर्डिङ खोलेको। झन् दुश्मन कमाएर बसे जस्तो पो भाछ त। श्रीमान् विदेशिए पछि श्रीमतीहरु छोराछोरी पढाउने निहुँमा शहर जान पाइन्छ भनेर सोचेर बसेका हुँदारहेछन्। गाउँमै बोर्डिङ खोलेर यसले हामीलाई शहर जान रोक्यो भने झैं गर्छन्।
तर पनि गाउँको बोर्डिङमा अँग्रेजी पढाइ राम्रो हुँदैन भनेर शहर आएर छोराछोरीसँग बस्ने महिलाहरु धेरै रहेछन् गाउँका। सासु ससुराको कचकच सुन्दै पानीले रुझेको दाउरामा आँसु चुहाँउदै कति ढुम्रो फुक्नु ? महिनामा श्रीमानले पाँच हजार रुपैयाँ बिदेशबाट पठाए त शहरमा ग्याँसमा पकाएर खान पुगिहाल्छ।

4. गाउँमा चर्पी नभएको घरमा पनि  हिजोआज सोलार राख्न थालेछन्। गाउँमा बिजुली नपुगेकाले सोलार त वाध्यता नै भयो। तर सोलार राख्नुको प्रमुख कारण चाहिँ मोबाइल चार्ज गर्नका लागि रहेछ। सोलार नराखेका एका दुई घरका मान्छे भने मोइबालमा चार्ज गरिदिन माग्दै छिमेकीमा जाँदा रहेछन्। पहिले पहिले घरको अगेनोमा आगो निभे आगो माग्न छिमेकीमा जाँदाको सम्झना आयो।

5. मोबाइलकै कुरा आयो। मोबाइलको नेटवर्क सबै ठाउँमा नटिप्ने जहाँ टिप्छ त्यतातिर मान्छेको घुइंचो। अनि मोबाइल सेट पनि एकै जना सित तीन तीन वटा। किन हो भनेर सोधेको- नेटवर्कले गर्दा रे। घरी नेपाल टेलिकमको मोबाइलको नेटवर्क आउँछ, घरी एनसेलको नेटवर्क आउँछ, घरी घरी दुबैको नआएर सिडिएमए (स्काइ)को नेटवर्क आउँछ भन्दैथिए। तीन वटा मोबाइल भाकाले अर्को एउटा नि थप्ने योजना सुनाए - स्मार्ट टेलिकमको पनि घरी घरी नेटवर्क देखिंदोरहेछ। प्रत्येक घरमा भैंसी भन्दा धेरै मोबाइल सेट रहेछ। गाउँका मान्छेले भैंसी कम मोबाइल धेरै पाल्न थालेछन्।

त्यसै भएर गाउँका पसलमा पनि आजभोलि सबैभन्दा के बिक्छ भनेर सोध्यो भने रिचार्ज कार्ड भन्दारहेछन्। रिचार्ज कार्ड किन्न आएकी एक गाउँले दिदी भन्दै थिइन्,'मोबाइलले भात खाने भए पनि हुन्थ्यो नि,खाली पैसा खाएर धेरै नै भुक्तायो।' मान्छे अरप मलेसिया गएकै छन्। तिनलाई फोन गर्न पनि मोबाइल त चाहियो नै। मोबाइलले गर्दा गाउँमा केही भयो कि छिमेकीले भन्दा पहिले खवर अरपमा पाइन्छ भन्दैथिए एक अरपे।

6. मोबाइलकै कुरामा, गाउँका ट्वाइलेट त राम्रोसँग चुकुल नलाग्ने भइगए, पानी परेर काठका ढोका धेरै पसाङ्गिएर। पहिले पहिले त ट्वाइलेट बसिन्जेल गीत गाउने चलन हुन्थ्यो, भित्र कोही छ है भनेर सूचना दिन। आजभोलि त्यो काम मोबाइल नै गर्ने भएछ। मोबाइलमा भाको गीत बजाइदियो मजाले पेट सफा गर्‍यो। अर्को मान्छे आएमा त्यही गीत सुनेरै शौचालय व्यस्त भएको जानकारी लिएर फर्कँदो रहेछ।

7. भारतमा सुरक्षा गार्डको काम गरेका र दशैंमा घर आएका एक जना साथीले सुनाएका - आफू त जहिले पनि कुर्चीमा बसेर रातिमा ड्युटी गर्‍या दाइ, यहाँ आएदेखि ओछ्यानमा निन्द्रा नै परेको छैन। बरु कुर्चीमा बस्न पाए एकछिन झकाइन्छ कि झैं भाछ।

8. एसएलसी पास भएकालाई बधाई दिने कार्यक्रम थियो। बिहान ११ बजेको कार्यक्रम २ बजेसम्म पनि मान्छे नआएर सुरु भाथेन। पछि सुरु हुने बेलामा यसो हेरेको मञ्चमा बोलाइएका २८ जनाको आधा पनि थिएनन् तिनको भाषण सुन्ने मान्छे। गाउँमा सबै जना जान्ने बुझ्ने भएर अतिथी हुने भएछन्।

9. खेदुवा (कुखुरा/बाख्रा गाउँबाट खरिदेर बजारमा ल्याएर बेच्ने)लाई बोका खसी बेच्नेलाई गाउँलेले खसी बोका काट्दा मासु दिन छाडेछन्। 'आफ्नो खसी बोका चाहिँ दुई चार रुपैयाँ बढी पाइयो भनेर खेदुवालाई बेच्ने, अरुले दुःख गरेर खोजेर ल्याएर खसी बोका मासु चाहिँ किन्न खोज्ने। त्यस्तालाई दिइन्न।' किन हो भनेर काकालाई सोध्दा दिएको जवाफ। गाउँमा ८ सय रुपैयाँ धार्नी चल्यारहेछ खसी बोकाको दाम। 

10. छोरा बिदेसिएका बाउ आमा हुन् कि वा श्रीमान् विदेशिएकी श्रीमती सबैको चिन्ता फिलिपिनो केटी हुँदोरहेछ। बिदेशमा सँगै काम गर्ने वा उतै भेटिएकी फिलिपिनो केटी च्यापेर गाउँका केही केटाहरु बसेको खवर गाउँमा आउँदो रहेछ। 'फिलिपिनो केटी कस्ता हुन्छन् र बाबु ?' भनेर सोध्नेसँगै 'मेरो छोरा/श्रीमान‍ले यहाँबाट गरेको फोन उठाएन। काठमाडौंमा गएर गर्दिनुन एकपटक' भनेर फोन नम्बर टिपाउनेहरु भेटिए। एक जना भाउजुले 'फिलिपिनो बोक्सी छ रे उतै किन आउँथे र दशैंमा' भन्दै थिइन्। मैले 'दशैंमा दाइ आउनुभएन ?' भनेर सोधेको थिएँ।

8 comments:

  1. the sociological changes!! may be the most salient feature of developing countries transforming into techno-advanced countries!!

    ReplyDelete
  2. टुक्रे खबरहरु काईदाको लागो मलाई ता !

    ReplyDelete
  3. हँसाए यी दाइले । अरू खबर खै त? बूढाले फिलिपिनो राखे भनेर चिन्ता गर्नेहरू कोहीचाहिँ फिर्कौली (राति रंगेहात पक्रेर जिम्मा लगाए पनि बूढाले फिर्केर घरै बस भनेर फुन गरेछि फर्केका) भाउजूहरूका कथा खै त ?

    ReplyDelete
  4. fantastic! after long i found a real blog to read! :)) cheerz daju!

    ReplyDelete
  5. Ramaila kura haru le man nai fress paryou.. ajahi asagareko chou hai hamilai??

    ReplyDelete
  6. मलाई पनि गज्जब लाग्यो ब्लगको यो खण्ड त >> कृपया यस्ता ब्लग नियमित रुपमा अपडेट गर्दै गर्नु ल ..
    Admin of द spiritual blog >>www.blog.krishnasansar.com

    ReplyDelete
  7. पहिले पहिले त ट्वाइलेट बसिन्जेल गीत गाउने चलन हुन्थ्यो, भित्र कोही छ है भनेर सूचना दिन। आजभोलि त्यो काम मोबाइल नै गर्ने भएछ। मोबाइलमा भाको गीत बजाइदियो मजाले पेट सफा गर्‍यो, अर्को मान्छे आएमा त्यही गीत सुनेरै शौचालय व्यस्त भएको जानकारी लिएर फर्कँदो रहेछ :-)

    ReplyDelete
  8. ramukhanal2010@gmail.comOctober 18, 2011 at 4:00 PM

    dai philipino keta lai bhandan 6an, keti lai philipina bhanda 6an, bhasa sachhaynu paro lau

    ReplyDelete

Please leave your comment here