Monday, August 22, 2011

तसलिमा काण्डपछि टि्वटर प्रयोगकर्ता बढ्लान

खाली फेसबुकमा मात्र फसेका मेरा केही मित्र 'तसलिमा नसरिन कान्ड' पछि टि्वट गर्न सिक्दैछन। राम्रै भो तसलिमाले गर्दा साथीहरुले सोसियल नेटवर्किङको प्रभावकारी मिडियामा पनि पहुँच बढाए। 
यस अगाडि प्रसिद्ध गायक ब्रायन आडम्स काठमाडौं आउँदा पनि धेरै जना टि्वटरमा आएको साथी दिनेश वाग्लेले बताए। ब्रायन आडम्सको फेसबुक एकाउन्ट रहेनछ। बेला बेला टि्वट चाहिँ गरिरहने भएकाले उनले नेपालका बारेमा गरेक कमेन्ट जान्न उनका फ्यान मात्र होइन कतिपय नेपाली पत्रकारहरुले पनि त्यतिबेला टि्वटर एकाउन्ट खोले। 

नेपालमा अहिले पनि फेसबुकको तुलनामा दश भागमा एक भागले पनि टि्वट गर्दैनन् होला।  नेपालमा ८ लाख ५० हजार भन्दा धेरैले फेसबुक चलाउँछन् भन्ने तथ्याङ्क केही महिना अगाडि सार्वजनिक भएको थियो। अझै पनि ८ हजार नेपालीको टि्वटर एकाउन्ट छैनन् होला। 

यो तसलिमा नसरिनको टि्वट कान्डले मलाई चाहिँ अमेरिकामा सन् १९८८ को राष्ट्रपति विल क्लिन्टन र मोनिका लेवन्सकी बीचको यौन प्रकरणको सम्झना भयो। त्यतिबेला सम्म पनि कतिपय अमेरिकीहरुका साथै पश्चिमाहरुले पनि इन्टरनेट चलाउँदैनथे। तर राष्ट्रपति क्लिन्टन र उनकी कार्यालयमा काम गर्ने लेवन्सकी बीचको गोप्य प्रेम र यौन प्रसङ्गका सामाग्री पत्रिकामा भन्दा इन्टरनेटमा धेरै छ भनेपछि त्यो बेला धेरैले इन्टरनेट सिेकेका थिए। विशेषगरी इन्टरनेटमा कम रुचि राखेका त्यतिबेलाका वयश्कहरु धेरैले इन्टरनेट त्यही बेलामा इन्टरनेट सिकेको मैले पढेको थिए। 

यो तसलिमा काण्ड चाहिँ टि्वटरमा अझै जारी छ। पहिलो अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा भाग लिन हिजो आइतबार काठमाडौं आउने भनेकी ब‌गलादेशी लेखिका नसरिन टि्वटरमा उनीप्रति गरिएको टिप्पणीलाई दोष देखाउँदै नेपाल आइनन्। अस्ति शनिबार बिना पासपोर्ट भारतीय राजधानी दिल्ली एयरपोर्ट गएकाले नेपाल आउन नपाएकी नसरिनले नेपाल आफूलाई विदेश जस्तो नलागेकाले पासपोर्ट लान बिर्सिएको टिप्पणी टि्वटरमा गरेकी थिइन्। 

नेपाल विदेश जस्तो नलागेको भन्ने नसरिनको भनाइ प्रति नेपालीहरुले टि्वटर मार्फत उनी समक्ष विरोध गर्दै माफी माग्न अनुरोध गरेका थिए। उनलाई संवोधन गरी लेखिएका केही टि्वट भने आपत्तिजनक पनि थिए। फेरि नेपालन्युज डटकमले त तसलिमाले नेपाललाई भातरकै एक प्रान्त झैं मानेर पासपोर्ट नलिई विमानस्थल पुगेको भन्ने समाचार दियो।  केही नेपाली टि्वटर प्रयोगकर्ताले नेपाल फरक देश हो भन्ने नजानेकी तसलिमाले नेपाललाई हेपेको र उनी यहाँ आए विरोध गर्ने र उनी नेपाल नआएकै वेश हुने खालका टि्वट गरे। 

आजसम्म जारी टि्वट दोहोरीमा नसरिनले अझै पनि आफ्नो भनाईलाई नेपालीले राम्रोसँग नबुझेको भनेर तितो पोखिरहेकी छिन्। कसै कसैले गरेका टि्वटलाई दोष देखाएर नेपाल आउने कार्यक्रम रद्द गरेको भनेपनि कतै यो बहाना मात्र हो कि भन्ने पनि लागिरहेको छ, किन कि धेरै नेपालीले टि्वटबाटै उनलाई नेपालमा प्रतिक्षा गरिरहेको र स्वागतका लागि आतुर रहेको बताएका थिए। 

जे होस् सामाजिक सञ्चाल टि्वटरको प्रभावकारिताका विषयमा कहिँ कार्यपत्र प्रस्तुत गर्न पर्दा होस् कि, भाषण गर्न पर्दा होस्  वा पढाउन पर्दा नै किन नहोस् 'तसलिमा नसरिनको नेपाल भ्रमण रद्द काण्ड' भने धेरै व्याख्यातालाई एउटा उदाहरण हुने भयो। 

1 comment:

  1. ल हिसाब गर्नुस त, नेपाल मा कतिवटा ट्विटर काण्ड भइसके ! :)

    ReplyDelete

Please leave your comment here