Sunday, April 17, 2011

लिलामीमा छु म

म एकथरी नेपाली
मलाई  आन्दोलनको नारा देउ
क्रान्तिको नारा देउ, परिवर्तनको नारा देउ
जस्ले सबैभन्दा कडा नारा दिन्छ
जसले अरुले भन्दा ठूला क्रान्तिको कुरा गर्छ
जसले छिटै परिवर्तन गरिदिने वाचा गर्छ
मलाई उसैले किन्छ,
किनकि म लिलामीमा छु

मलाई सपना देखाउ
मेरा सानो घर र दुध दिने गाई हुने सपना
छोराछोरीले राम्रो स्कूलमा पढ्न पाउने सपना
बिरामी पर्दा सित्तैमा उपचार पाउने सपना
धनी र गरिव बीच फरक नुहने, सबै नेपाली समान हुने सपना
देशलाई स्विट्जल्याण्ड बनाउने सपना
जसले सबैभन्दा मिठो सपना देखाउँछ
मलाई उसैले किन्छ,
किनकि म लिलामीमा छु

म अर्कोथरी नेपाली
मलाई लोभ देखाउ
जस्को पछि लागेर हिड्दा, अरुको डर हुन्न
भ्रष्टाचार गरे पनि, चोरी डकैती गरे पनि
मान्छे कुटे पनि, मारे पनि
मैले जे जे गल्ति गरेपनि जस्ले छोपिदिन्छ
ठेक्कापट्टाबाट हुन्छ कि, कमिसनखोरबाट हुन्छ
अकुत सम्पति कमाउने मौका मिलाइदिन्छ
धन र व्यभिचारको लोभमा जस्ले मलाई तान्छ
बैंस र उन्मादको लोभमा जस्ले मलाई पौडिन सिकाउँछ
मलाई उसैले किन्छ किन कि म लिलामीमा छु।


दीपक भट्टराई
२०६८ चैत २३

2 comments:

  1. पत्रकारिता अनि साहित्य राम्रो मेलो सुरु भएछ । मदन पुरस्कार तिम्रालागि पर्खिराछ... । रचनाको भाषा साधारण तर प्रहार कडा .....

    ReplyDelete
  2. कुरा मीठा गर्छौ के रे दाजू !!!भोलिपर्सी दीपक भट्टाराई भन्ने मान्छे ले ठुलाई पुरस्कार हाताँ पार्यो अरे भनेको सुन्न पाम है त

    ReplyDelete

Please leave your comment here