Friday, November 14, 2008

घटुवारेको कथा- बालीघाटमा पुल देख्ने धोको

शरद कोइराला
बालीघाट

दशैंको टिकापछि बालीघाट पुग्दा पनि काली नदीको भेल तेज नै थियो। चाडबाडको बेला नहुँदो हो त नाङेटारका हेम बहादुर कुमाल डुँगा लिएर काली नदिको बढ्दो भेलसँग पौठेजोरी खेल्ने थिएनन्। हुन त दशैंको पूर्णिमा सम्म कुमालको घरमा टिका टालो गर्न आउने आफन्तहरुको भिड नै थियो। तर, कुमाल भने दशैंका लागि भन्दै सप्तमी देखि खोलेको घाटमा सिमलको डुँगा लिएर बटुवाहरुलाई वारपार गराइरहेका थिए।
एकाविहानै, चार बटुको जाँड पिएर हेमबहादुर काली तिरमा आइपुग्दा चार पाँच जना बटुवाहरु घटुवारे कुरेर बसिरहेका थिए। हेमबहादुरले उर्लदों नदीमा एक्लै डुँगा हाल्ने साहस गरेनन्। उनीसँगै बालीघाटमा डुँगा चलाउने ठेक्का पाएका आँपटारीका रुमलाल पुलामी दशैं मै व्यस्त थिए। हेमबहादुरले डुँगा चलाउन पौडी खेल्न गएका तिरन्दीका एक युवाको सहयोग मागे र दुई जना भएर चार जना मात्र बटुवा राखी बालीघाटमा डुँगा ठेले।
नाङेटार पट्टिबाट डेढगाउँ तर्फ डुँगा तार्दा त्यति अप्ठेरो थिएन। तर, डेढगाउँबाट तार्दा भने छाल डुँगामा पसेको प्रष्ट देखिन्थ्यो। त्यसैले पनि हेमबहादुर भन्दै थिए, "एक पटकमा चार जना भन्दा धेरै जना डुँगामा चढ्न मिल्दैन।" हेमबहादुरले हिउँदमा एकपटकमा १२ जनासम्म बटुवा यही डुँगाबाट तार्छन्।
हेमबहादुर र रुमलालले दुई वर्षका लागि २८ हजार रुपैया तिरेर पोहोर बालीघाटमा डुँगा चलाउने ठेक्का पारेका हुन्। उनीहरुले दिएको पैसा डेढगाउँको रानीबेल स्कूल र तनहुँ गड्यौंली स्कूललाई चौध चौध हजार रुपैया बाँडिन्छ। डुँगा बनाउनका लागि अग्लो सीमल खोज्नुपर्ने र त्यसलाई करिब १५ हजार रुपैया खर्च गरेर खोप्नु पर्ने हेमबहादुर बताउँछन्। "डुँगा बनाउनमा दरै जातिको सहयोग लिनुपर्छ हामी कुमालको ढङ्गै पुग्दैन" हेमबहादुर भने। डुँगा चलाउने ठेक्का डेढगाउँलेले नलिएर सँधै तनहुँकाले मात्र लिने गरेकोमा हेमवहादुरलाई अचम्म लागेकोछ।
एक पटक बनाइएको डुँगा २ वर्षभन्दा बढी खप्दैन । दुई वर्ष अघिसम्म एकै पटकमा ३० जना सम्म पनि बसेर तर्न मिल्ने डुँगा बालीघाटमा थियो।
डुँगा तारे वापत स्थानीय गाउँलेको एक परिवारले वर्षको एकपटक ठेकदारलाई तीन पाथी धान वा दुई पाथी कोदो, मकै अथवा गहुँ दिनुपर्छ। पैसा दिने भए वर्षको एकपटक एक सय पचास रुपैया तिर्नुपर्छ। बाली नतिर्ने बटुवालाई तारे वापत घटुवारेले वर्षमा दश रुपैया र हिउँदमा पाँच रुपैया लिने गर्छन्।
हुन त हेमबहादुरको जीविकोपार्जनको मेसो नै यही डुँगा हो। तर, उनलाई जति सक्दो छिटो बालीघाटमा पुल बनेर डुँगा चलाउन नपरे हुन्थ्यो भन्ने छ। रकुवाको साँघुरीघाटमा पुल बनेकोमा चित्त नबुझाएका हेमबहादुर भन्छन्, "पुलको लागि भनेर टुकराज सिग्देललाई सांसद बनाइयो, प्रचार पनि भयो, तर ठाउँमा बोल्ने मान्छे नभए पछि हामी कुमालले भनेका ठाउँमा पुल बनेन।"