Thursday, May 1, 2008

झलमल्ल हुने भयो बुलिङटार

उज्ज्वल ओझा
बुलीङटार, नवलपरासी
बुलीङ र अर्खलाको सिमानामा रहेको देवसत खोलामा २१ किलोवाटको लघु जलविद्युत परियोजना बन्ने भएपछि बुलीङटार बासीले विद्युतको उपभोग गर्न पाउने भएका छन् । "इसाप" नाम गरेको गैर सरकारी संस्थाले सत्र लाख पचासी हजार रुपैया अनुदान सहयोग दिएपछि देवसत खोलाबाट जलविद्युत निकाल्न लागिएको हो ।
४७ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको उक्त परियोजनाको लागि सांसद दामोदर बस्ताकोटीले संसदकोषबाट पचास हजार रुपैया उपलब्ध गराएको परियोजनाका सचिव सन्तबहादुर कुमालले बताउनुभयो ।
परियोजना निर्माणको ठेक्का पाएको थापा इन्जिनिएरीङ बुटवललाई निर्माण सामाग्री ढुवानी वापत तिनलाख पचास हजार रुपैया बुझाइसकेको कुमालले जानकारी दिनुभयो ।
२१ किलोवाट विद्युत मध्ये दुइ किलोवाट स्वास्थ्य कार्यालयलाई र वाँकी १९ किलोवाट विजुली बुलीङटार गाविसका वडा नम्बर १, २ र ५ का करिब दुइ सय ७५ घरधुरीलाई वितरण गर्ने योजना रहेकोछ । यसबाट दुइ हजार भन्दा धेरै बुलीङबासीले फाइदा लिन सक्ने तथा साना व्यवसायीक उद्योग पनि संचालन हुन सक्ने स्थानीय व्यवसायी भोला गौतमले जानकारी दिनुभयो ।
देवसत खोलामा वाँध हाली करिव ५ किलोमिटर लामो नहरबाट खसुवा खोला छेउमा पावरहाउस वनाई विद्युत निकाल्ने र त्यहाँबाट निस्कने पानीले करिव ३ हेक्टर खेत समेत सिंचाई हुने छ ।
स्थिति सहज भयो भने अर्को हिउँद सम्म विजुली निस्कने तथा भविष्यमा पानीघट्टा पनि त्यसैबाट चलाउने योजना रहेको सचिव कुमालले बताउनुभयो ।
वुलिङटारमा पाँच किलोवाट क्षमताको अर्को लघु जलविद्युत परियोजना तीन वर्षअगाडि देखि नै संचालन हुँदै आए पनि गत भदौमा आएको वाढीले क्षति पुर्‍याएपछि उक्त परियोजना बन्द भएको छ ।

No comments:

Post a Comment

Please leave your comment here