Wednesday, May 21, 2008

दलदले खैरनीटार सडकलाई वैकल्पिक राजमार्गको रुपमा विकास गर्नुपर्नेछ: महेन्द्रध्वज जी.सी.


नवलपरासी क्षेत्र नम्बर दुइका निर्वाचित संविधान सभा सदस्य महेन्द्रध्वज जी.सी नेपाली काँग्रेसको घोषणापत्र अनुसार आफू अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुहुन्छ । निर्वाचन परिणाम घोषणापछि संविधानमा भाग लिन आएका जीसी सँग काली टाइम्सका लागि दिपक भट्टर्राईले लिनुभएको अन्तरवार्ताको सार संक्षेप :

विगतका चुनावी परिणामको तुलनामा यसपटक संविधानसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसले अधिकांश स्थानमा पराजय भोग्नुपर्‍यो । प्रत्यक्ष निर्वाचन तर्फकाँग्रेसका ३७ विजयी उम्मेदवार मध्ये तपाई एक हुनुहुन्छ । तपाईको विजयीको कारण के हो ?

देशभरको चुनावी परिणामलाई एउटा क्षेत्रको चुनावी परिणामसँग दाँजेर नहेरौं । जनताले कस्तो स्थितिमा मतदान गरे भन्ने कुरा सबैलाई थाहा भएकै छ । देशका विभिन्न भागमा स्वतन्त्र र निष्पक्ष चुनाव हुन नसकेका कारण पनि चुनावी परिणाम यस्तो स्थितिमा आयो । नवलपरासी २ नम्बर क्षेत्रमा नेपाली काँग्रेसको विजय हुनुमा पार्टीले सुदृढ संगठन, कार्यकर्ताले योगदान, र त्यहाँका जनताले म माथि गरेको विश्वास पनि हो ।


विभिन्न पार्टी नेताहरुले चुनावमा माओवादीको त्रास र आसका कारण आफ्नो पराजय भएको बताइरहेका छन् । तपाईले चाँही त्यस्तो समस्या भोग्नुपरेन ?

त्यो कुरा त त्यहाँका स्थानीय जनतालाई सोध्दा थाहा भइहाल्छ नी । आतंकको स्थितिमा चुनावको प्रचार प्रसार गर्नुपरेको थियो । विशेषगरी पहाडी भेगको कुरा गर्ने हो भने नरम गाविसका नेपाली काँग्रेस कार्यकर्ता कमान सीं थापालाई माओवादीले अपहरण नै गरेर लगेका थिए । पछि डेढगाउँमा प्रहरीले थापालाई अपहरण मुक्त गर्‍यो ।डेढगाउँमै मेरो चुनावी सभा विथोल्ने प्रयास भएको थियो । हामीले संयमता अपनायौं अन्यथा स्थिति तनावपूर्ण बन्न सक्थ्यो । जनताको ठूलो तप्काले हामीलाई र्समर्थन गरेका कारण कुनै ठूलो घटना भने हुन पाएन ।


छ सय एक सदस्यीय संविधानसभामा तपाईको भूभिका के हुन्छ ?

नेपाली काँग्रेसको घोषणापत्र लिएर म चुनावमा गएको हुँ । घोषणा पत्र अनुसार संघीय गणतन्त्रात्मक लोकतान्त्रिक संविधान निर्माण गर्न मैले आफ्नो ठाउँबाट सक्दो योगदान दिने नै छु । अधिकार सम्पन्न विभिन्न राज्यहरु निर्माण गर्ने तथा गणतन्त्रको कार्यान्वयन गर्ने पार्टीले नीति लागु गर्नु पर्नेछ । यस्तै अब बन्ने संविधान पूर्ण प्रजातान्त्रिक होस् भन्नेमा हामीले ध्यान दिनु पर्नेछ ।


तपाईलाई मत दिने जनताको लागि तपाईको अन्य केही कर्तव्य छ ?

निश्चय नै । मैले आफूलाई मत दिने त्यस क्षेत्रका जनताका लागि रोजगार, शिक्षा, स्वास्थ्य, सडक, विद्युत र विकास निर्माणमा जोड दिनु पर्छ । तनहुँको खैरनीटार देखि भिमाद नवलपरासीको डेढगाउँ हुँदै दलदलेसम्म जोड्ने मोटरबाटोलाई बैकल्पिक राजमार्गको रुपमा विकास गर्नुपर्नेछ ।यस्तै बाढी, पैर्‍होबाट हुने क्षति न्यून गर्न पहाडी खोला तटवन्धनमा पनि ध्यान दिनुपर्नेछ । आय आर्जनका लागि रोजगार मूलक कुनै काम गर्नुपर्ने आवश्यकता छ भने यस भेगको नगदे बाली अदुवा खेतिलाई व्यवस्थित बजार बनाई किसानको उत्पादनलाई बढाउनुपर्ने छ ।


यस क्षेत्रको पहाडी गाविसका जनताका आवश्यकता के के हुन् भन्ने तपाईलाई लाग्छ ?

हिलो त सरकारी कर्मचारीहरु पहाडी भेगमा बस्न मान्दैनन् । त्यस्को अन्त्य गर्नुपर्नेछ । यस्तै स्वास्थ्यको क्षेत्रमा डेढगाउँमा त्यस भेगकै भरपर्दो स्वास्थ्य केन्द्रको आवश्यकता रहेका छ । त्यहाँको स्वास्थ्य चौकीलाई अस्पतालमा परिणत गरी चिकित्सकको नियमित व्यवस्था गर्नुपर्नेछ ।


तपाईका मतदाताका लागि केही सन्देश दिन चाहनुहुन्छ ?

त्यस्तो प्रतिकुल अवस्थामा पनि मलाई मत दिएर निर्वाचित गराउनुभएकोमा सबै आम जनसमुदायलाई धन्यवाद दिन चाहन्छु । सबैलाई आश्वस्त पार्न चाहुन्छु, अब बन्ने संविधानमा सबै जनजाति, वर्ग, आदिवासी सहितका व्यक्तिहरुको भावनाको प्रतिनिधित्व मैले अवश्य गर्नेछु । नेपाली काँग्रेस र मलाई मत दिने जनताको विश्वास खेर नजाने प्रतिवद्वता म यहाँ व्यक्त गर्न चाहन्छु ।

No comments:

Post a Comment

Please leave your comment here