Tuesday, April 20, 2010

नयाँ वर्ष मनाउन पाए


गतिलो नयाँ नेता आउने आशामा
यसै वर्षभित्रै नयाँ संविधानको पर्खाइमा
नेपालीको आय र आयु दुवै बढ्ने विश्वासमा
लोडसेडिङको तालिका खोज्न नपर्ने दिनको प्रतिक्षामा
नयाँ वर्ष मनाउन पाए

ट्राफिक जाम हट्ने आशामा
राम्रा अभिनेता-अभिनेतृको अभिनयको पर्खाईमा
भ्रष्टाचार बिना काम हुने विश्वासमा
बेरोजगारीको अन्त्य हुने दिनको प्रतिक्षामा
नयाँ वर्ष मनाउन पाए

बन्दका दिनहरु अन्त्य हुने आशामा
इर्श्या गर्नेहरूको बानी परिवर्तन हुने पर्खाइमा
काठमाडौको फोहर बेलैमा उठ्ने विश्वासमा
गरिबीले डाँडा काट्ने प्रतिक्षामा
नयाँ वर्ष मनाउन पाए

अल्छीहरु जाँगरिला हुन् भन्ने आशामा
स्वार्थीहरु एकाएक मनकारी हुने प्रतिक्षामा
मुखमा रामराम बगलीमा छुरा गर्नेहरु बिलाउने विश्वासमा
चक्काजाम र तोडफोडका उच्चारण सुन् नपर्ने पर्खाइमा
नयाँ वर्ष मनाउन पाए

सुख शान्ति र उन्नतिको सुनिश्चिततामा नयाँ वर्ष मनाउन पाए पो मनाउनु
बन्द,हिंसा,हड्ताल,असुरक्षा,बेरोजगारी,अशिक्षा र फोहरमैलाका साथ
के नयाँ वर्ष मनाउनु।