Wednesday, July 16, 2008

सरकारी स्कूलमा एक कक्षा देखि नै अंग्रेजीमा पढाई

राजु प्रसाद कण्डेल/तारा प्रसाद वि.क.
मचेडी, मिथुरकम
मचेडीको धर्मात्मा माध्यमिक विद्यालयको प्राथमिक तहमा अंग्रेजी माध्यमबाट पर्ढाई सुरु भएको छ । गत जेठमा भएको अभिभावक भेलाले गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने भन्दै एक कक्षा देखि नै अग्रेजी माध्यमबाट अध्यापन गर्न थालिएको हो ।
जिल्ला शिक्षा अधिकारीको सहमति पछि अंग्रेजी माध्यममा पढाउन थालिएको प्रधानाध्यापक कृष्ण प्रसाद लामिछानेले बताउनुभयो । अँग्रेजी माध्यममा अध्यापन गर्नका लागि झापामा रहेको भुटानी शरणार्थी शिविरबाट ४ जना शिक्षक ल्याइएको विद्यालय प्रशासनले जानकारी दिएको छ ।
विद्यालयले गरिब, असहाय बालबालिकाका लागि छात्रवृत्तिको तथा निशुल्क पढाइको व्यवस्था पनि गरेको छ । अंग्रेजी माध्यममा पढाइ हुन थालेपछि बालबालिका र तिनका अभिभावक हषिर्त छन् । अग्रेजी माध्यममा पर्ढाई हुन थालेपछि विद्यार्थीको चाप पनि बढेको छ ।
तर केही अभिभावकले भने अँग्रेजीमा पढाउने निर्णय गरे पछि विद्यालयले निश्चित शुल्क लिन थालेकाले त्यस्ले आर्थिक स्थिति कमजोर हुने अभिभावकलाई अप्ठेरो परेको बताएका छन् ।
विद्यालयले गरीब तथा निसहाय बालबालिकालाई निशुल्क अध्यापन गराउन भने पनि आफूहरुसँग शुल्क मागेको अभिभावक बाबुराम भण्डारीले बताउनुभयो । आर्थिक कमजोरीको कारणले धर्मात्मा स्कुलमा पढिरहेका छोरछोरीलाई कृष्ण गण्डकी प्रा.वि.मा पढाउन थालेको भण्डारीको दावी छ ।