Friday, June 6, 2008

सभासद गाउँ पुगे

कालीटाइम्स संवाददाता
रकुवा, नवलपरासी

चुनाव पछि नेता गाउँ पस्दैनन् भन्ने जनताको गुनासोलाई चुनौति दिदैं भर्खरै सकिएको संविधान सभाका विजयी तथा पराजित नेताहरु यसपटक भने गाउँ पसे । जेठको पहिलो साता विजयी र पराजित उम्मेद्वारहरु धन्यवाद दिदैं पालै पालो गाउँ आइपुगेका थिए ।
नवलपरासी क्षेत्र नं २ का संविधान सभा सदस्य महेन्द्रध्वज जि.सी. नेपाली काँग्रेसका क्षेत्रिय अध्यक्ष दुर्गा बहादुर राना, महिला संघ सभापति लक्ष्मी पाण्डे, नेपाल महिला संघ केन्द्रिय सदस्य वेलौती देवी खनाल सहित लिएर जेठ-१ गते देखि ६ गते सम्म नवलरासीको पहाडी भेग घुम्नुभएको थियो ।
जौवारी, नरम, रुचाङ्ग, रकुवाँ, डेढगाउँ, मिथुकरम, भारतीपुर हुदै धौवादी सम्म हिड्दा सभासद जिसीलाई पार्टी पक्ति र जनताले विभिन्न गुनासा र समस्या सुनाएका थिए । गाउँलेहरुले पहाडको विकासमा ध्यान केन्द्रित गर्न र शान्ति सुरक्षाको स्थिति राम्रो बनाउन जिसीलाई भनेका थिए ।
यसै अवसरमा सभासद जि.सी.ले रकुवा गा.वि.स. वडा नं. ४ वटाङमा राइका देखि दलदले सम्मकामे मोटरबाटोको उद्घाटन गर्नुभयो । सोही अवसरमा राइका देखि पिपलटारी सम्मको तीन किलो मिटर बाटोको पनि जि.सीले उद्घाटन गर्नुभएको थियो ।
उता नवलपरासी क्षेत्र नं. २ का पराजित उम्मेदवार नेपाल कम्न्यूस्ट पार्टी एमालेका जिवन श्रेष्ठ पनि आफ्ना मतदातालाई धन्यवाद दिदै गाउँ गाउँ पुग्नुभयो ।
एमाले नेता श्रेष्ठले पराजित भए पनि जनता प्रति कुनै गुनासो नभएको बताउनुभयो । उहाँले आफ्नो पराजय जनताको कारण भन्दा पनि पार्टी कार्यकर्ताबाट समन्वय अभावको कारण भएको प्रतिक्रिया कालीटाइम्सलाई दिनुभयो ।
एमाले नेता श्रेष्ठको टोली जेठ २ गतेबाट ५ गते सम्म जौवारी, नरम, रुचाङ, रकुवा, डेढगाउँ, मिथुकरम भारतीपुर हुँदै तर्राई झरेको थियो । भ्रमण जनतालाई धन्यवाद ज्ञापन गर्न र जनताका सल्लाह - सुझाव लिनमा केन्द्रित भएको श्रेष्ठले बताउनुभयो ।