Friday, June 6, 2008

गाउँ परिषद सम्पन्न, सिंचाई र मोटरबाटोमा धेरै रकम

उज्ज्वल ओझा
डेढगाउ

हरेक आर्थिक वर्षो पुस महिना सम्ममा बस्नु पर्ने गाउँ परिषदको बैठक डेढगाउँमा यसपटक बैशाख महिनामा मात्र बस्यो । सविंधान सभा निर्वाचनले गर्दा ढिला भएको बैठक गा.वि.स.को भवनमा बैशाख २४ र २५ गते दुइ दिन चलेको थियो ।
डेढगाउँ गा.वि.स. सचिव हरिनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले विभिन्न २१ वटा योजनामा गाविसको दश लाखको रुपैया खर्च गर्ने निर्णय गरेको छ । परिषदले गत वर्षाबाट भत्किएको डेढगाउँटार सिचांइ मर्मतका लागि दुइ लाख ७५ हजार रुपैया छुट्टयाएको छ । यस्तै गाउँ भित्रका शाखा मोटरबाटो मर्मतको लागि धेरै रकम छुट्याइएको छ ।
आफ्नो जग्गा जमिनमा मोटरबाटोले नछुने र नहरबाट पनि फाइदा लिन नपाउने कतिपय गाउँले गाउँ परिषदको यो निर्णयबाट असन्तुष्ट छन् । गाविस सचिव आचार्यले भने र्सवदलीय सहमति र बहुमतबाट गाविसको वजेट छुट्टयाइएकाले यसको कार्यान्वयनमा समस्या नआउने बताउनुभयो ।
यस पटकको गाउँ परिषदको बैठकले महिला, आदिवासी जनजाती, अशक्त अपाङ्ग र दलित सम्बन्धी कार्यक्रमका लागि तीस, तीस हजार रुपैया छुट्याएको छ ।
बैठकले रानीबेलको कालीगण्डकी प्रा.वि.मा पुस्तकालय भवन निर्माणका लागि तीस हजार रुपैया र अकला देवी प्रा.वि. गुरौटारमा भवन निर्माणका लागि २० हजार रुपैया दिने निर्णय गरेको छ । तर भवन निर्माणका लागि थोरै रकम मात्र छुट्याइएकाले ती योजना पुरा नहुने पो हो कि भन्ने शंका गाउँलेले गरेका छन् ।
गत वर्षडेढगाउँ उच्च मा.वि.मा एक कोठे भवन थप्न दिइएको रकम अपुग हुँदा अझै पनि निर्माण कार्य पुरा हुन सकेको छैन भने यसपटक पनि गाउँ परिषदले निर्माण पुरा गर्न रकम छुट्याएन ।
गाउँ परिषदले गत वर्षो वाढीबाट विग्रिएको वडा नं. ८ को सिंहटारी खानेपानी र वडा नं. १ को वाँकाखोला खानेपानी मर्मतका लागि दश, दश हजार रुपैया र वडा नं. २ को खानेपानी मर्मतका लागि आठ हजार रुपैया छुट्याएको छ ।
यस्तै शिव प्रा.वि. ढोड भञ्याङ्गमा कोठा ढलान तथा प्लास्टर र रकुवा उप-स्वास्थ्य चौकी डेढगाउँ भवन मर्मतका लागि पनि केही रकम विनियोजन गरिएको छ । अघिल्लो वर्षबजेट छुट्टयाइएका कतिपय योजनामा काम नहुँदा पनि रकम फर्र्छौट गरिएको भन्दै परिषद बैठकमा कतिपयले विरोध गरेका थिए । वडा नं. ४ र ३ मा बाटो मर्मतको लागि गत वर्ष छुट्याइएको कूल दश हजार रुपैया कामका लागि अपुग भएको भन्दै फिर्ता आएको पनि प्राविधिक सहायक नारायण ओझाले जानकारी दिनुभयो ।