Thursday, May 1, 2008

गाउँमा चुनावको लहर

विगतमा दुइ दुइ पटक मिति घोषणा भएर पनि हुन नसकेको संविधान सभा निर्वाचन यसपटक चैत २८ गते हुने भएपछि अन्यत्र झैं डेढगाउँमा पनि चुनावको लहर छाएको छ । जनताले चुनेका प्रतिनिधिरुले संविधान बनाउनका लागि हुन लागेको संविधान सभा निर्वाचनमा यसपटक नवलपरासी क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचन तर्फ १३ जना उम्मेदवार छन् ।
डेढगाउ, रकुवा मिथुकरम सहितका गाविस पहिले नवलपरासीको क्षेत्र नम्बर एकमा रहे पनि क्षेत्र निर्धारण आयोगको प्रतिवेदन पछि अहिले यी गाविस नवलपरासीको क्षेत्र नम्बर दुइमा परेका छन् । नवलपरासी जिल्लामा विगतमा चार वटा निर्वाचन क्षेत्र रहेकोमा अहिले ६ वटा निर्वाचन क्षेत्र छ ।
गाउँमा चुनावको लहर ल्याउन अरु दल भन्दा नेकपा माओवादी अगाडि देखिएका छन् । माओवादीले चुनावी सभा पनि गरिसकेका छन् । संविधान सभालाई निष्पक्ष गराउन चुनावी आचार संहितामा भित्ते लेखन गर्न नपाइने भनिए पनि डेढगाउँ र यस वरपर माओवादीले भित्ते लेखन गरेका छन् ।
नेकपा एमालेले पनि आँफ्नो सांस्कृतिक टोली सहित गाउँगाउँमा प्रचारका लागि हिडेका छन् भने डेढगाउँ लगायतका गाविसमा प्रचार प्रसार समिति बनाइसकेका छन् । उता, डेढगाउँ सहित तत्कालिन क्षेत्र नम्बर एकका पूव सांसद महेन्द्रध्वज जी. सी. पनि नेपाली काँग्रेसको प्रचारका लागि गाउँ गाउँमा हिडिरहेका छन् ।
काँग्रेस, एमाले र माओवादी चुनाव प्रचारमा अगाडि देखिए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका अन्य दलका नेता कार्यकर्ता पनि प्रचारका लागि गाउँमा आइरहेका छन् ।
यसपटक चुनावमा विगतमा भन्दा फरक दुइवटा मतपत्रमा छाप हान्नु पर्दछ । प्रत्यक्षका लागि यिनै उम्मेदवार मध्ये एक जना छान्नु पर्दछ भने समानुपातिक निर्वाचन प्रणालिका लागि निर्वाचन आयोगले मान्यता दिएका ५५ वटा दलमध्ये कुनै एउटालाई भोट दिनुपर्दछ ।

No comments:

Post a Comment

Please leave your comment here