तीन शिर्ष नेताले पालैपालो प्रधानमन्त्री बन्ने कुरा सुन्दा तपाइहरुलाई बाँडीचुँडी खाने खेलो जस्तो लाउला।
तर त्यसो भएमा
नम्बर १. दलहरुभित्र को प्रधान मन्त्री बन्ने भन्ने खिचलो सकिन्छ।
२. शिर्ष नेता नै प्रधानमन्त्री बन्दा पार्टीबाट अरु नेतालाई भन्दा धेरै समर्थन मिल्छ र काम गर्न सजिलो हुन्छ।
सोच्नुस् त बाबुराम भट्टराई प्रधानमन्त्री भएमा माओवादीबाट कति समर्थन पाउलान्? रामचन्द्र पौडेल प्रधानमन्त्री भएमा देउवा पक्षबाट कति समर्थन पाउलान् ? तपाइहरुले झलनाथ खनाल प्रधानमन्त्री हुँदा एमालेबाट धेरै समर्थन नपाउलान् भन्नुहोला तर तिनका लागि माओवादीको समर्थन र पार्टी भित्रका आधाले गरेको समर्थन पनि कामयावी हुन्छ।
त्यसैले प्रचण्ड, सुशील र झलनाथले ६/६ महिना सरकारको नेतृत्व गर्नुपर्छ। तीन जना ६/६ महिना प्रधानमन्त्री हुँदा त्यो अवधि भनेको अबको डेढ वर्षको समयावधि भित्र संविधान बनाउने र शान्ति प्रक्रिया टुङ्याएर नयाँ चुनाव गराउनुपर्छ।
पहिला को, दोस्रो को र तेस्रो को प्रम बन्ने भन्ने निर्णय सहमतिमा यिनले गर्न सक्दैनन्। जनताको म्यान्डेट अनुसार क्रमश गरे पनि केही बिग्रदैंन। तर मेरो सुझाव चाहिँ पहिले यी तीन मध्ये सानो दलबाट सुरु गरे अझ राम्रो हुन्छ।
तर के नेपालमा खेल्न चाहने शक्ति केन्द्रहरुले प्रधानमन्त्री चक्रीय प्रणालीमा हुने कामलाई स्वीकार गर्लान त ? कि तिनले पार्टीका नेताहरुमा महत्वाकाक्षा भरिदिएर आन्तरिक पार्टी र बाह्य पार्टी खिचलो बढाउलान्?