Wednesday, November 30, 2011

अर्कैको बिहेमा पुगेछ

अस्ति एक जना साथीले 'तँ त टिभी पत्रकार, बिहेको लागि क्यामेरामेन खोज्देन' भन्यो। (नेपालमा टिभी पत्रकारलाई अन्यले सबैभन्दा योग्य यही उत्सवका बेलाँ क्यामेरा खोज्नका लागि मान्छन् ) एकजना क्यामेरामेन साथीलाई पठाएँ। उताबाट बेहुला साथी फोनमा भन्छ - क्यामेरामेन देखेकै छैन। यता साथीले देको ठेगानाको गल्लीमा पसेर खिच्न थालेका क्यामेरामेन भन्छ 'म खिचिरहेकै छु।' टेलिकमको मोबाइलमा बल्लबल्ल दुई जनाबीच वार्ता हुँदा थाहा भएछ, क्यामेरामेन साथीले त अर्कैको बिहेमा आधा खिचिसक्यारछ।
कति धेरै हो बिहे आजभोलि... कति जना त भोज पनि अर्कैको खाएर फर्कँदा हुन्। एउटै पार्टी प्यालेसमा पनि बार बारेर दुई तीन वटा बिहे जो भइरहेको छ।

Sunday, November 27, 2011

बा. अ. फ. = बारी अब फर्कदैंन

अस्ति नै भाउ आका बेलाँ चार आना जग्गा बेचेर गाडी किनेका काठमाडौं काँठका दुई जना साथी आज एउटा बिहे भोजाँ भेट भो। एक जनाले भने - संघीयतामा गएसी टडक, गाडी, मोटरसाइकल सबका नम्बरप्लेट चेन्ज हुन्छ है। अर्काले थपे- अरुको जे भए नि हामी काँठकाले चढ्ने गाडीको नम्बर त बा. अ. फ. राख्नपर्ने है, अब यो गाडी बेचेर काँठाँ जग्गा किन्न सकिन्न केरे। ( बा. अ. फ. = बारी अब फर्कदैंन)

Saturday, November 26, 2011

लोभले ठाडै विलाप

बत्तीसपुतलीको एकजना पसले साथीले तँलाई हास्ने कारण हुनसक्छ भन्दै आज सुनाको। एकजना इन्डियन सपेराले यामानको सर्प ल्याएर उस्को पसलको सोकेस माथि राखेछ। एक हजारको नोट त्यो सर्प अगाडि राखिस् भने दुई हजार हुन्छ भनेर राख्न कर गरेको गरै गरेछ। पसलेलाई निकैबेर त पत्यार लागनेछ र टारिरहेछ। तर साह्रै कर गरेपछि राख्दिएको, त्यो सर्पले नोटै खाइदिएछ। एकछिन सपेरालाई सरापेछ, सपेरा नागको चित्त मत दुखाओ भन्दै हिडे‌छ... लोभले ठाडै विलाप।

नयाँ शब्द 'कलाली'

निकै नाम कमाएकी एक जना कलाकारसँग भेट भो। के काम गर्दै हुनुहुन्छ भनेर सोधेको, 'कलाली' भनिन्। अब आजभोलि नयाँ नयाँ खालका जागिर आइरहेका छन्, होला केही भनेर ए.... भन्दै बुझे झैं गरेर ङिच्च परिरहें। उनैले थपिन् - कलाकार+दलाली क्या ‍= कलाली (कलाकार कम दलाली बढी)। उनैले भनेको- जल्ले पैसा दिन्छ त्यल्लाई कलाकार बनार म्यानपावरले झै‌ विदेश उडाउने, फिलिम बनाउन लगार प्रोड्युसर डुवाइदिने मात्र हैन घरजग्गाको कारोबाराँ नि 'कलाली' हरुको विगबिगी छ। मान्छेले टिभीमा देखिने अनुहारलाई बढी पत्याउने भइहाले त । बाँची बसे नयाँ शब्द के के सिक्न पाइन्छ पाइन्छ।

पढ्दा लागेको ऋण तिरेर त सकियोस्..

‎'पढ्दा लागेको ऋण तिरेर त सकियोस् त्यसपछि कि आफ्नै गाउँको विकासमा खट्छु कि त सन्यासी हुन्छु' भर्खरै इन्जिनियर भएर निस्केका एक जना भाइले सुनाए। लाग्यो समय त्यति साह्रै परिवर्तन भएको रहनेछ, म पनि त्यो उमेरमा त्यस्तै सोच्थें। तर समाजले यस्तो चक्रव्युह बनाएको हुँदोरहेछ, यहाँ फसेपछि...
जो त्यो चक्रव्युहबाट निस्केर साँच्चै आफ्नो मनबाट चल्छन् तिनलाई शुभकामना र सलाम।

Sunday, November 20, 2011

म गरिबले किन्न सकिन

काठमाडौं बसुन्धारा चौकीबाट झम्सिखेल ललितपुर अफिस आउँदा जाँदा म सँधैजसो चक्रपथ घुम्ने बस वा माइक्रो (बस) मा यात्रा गर्छु। म जस्तो माइक्रो पार्कबाट नभई बीच बाटोबाट माइक्रो चढ्नेले काठमाडौंमा माइक्रोमा सजिलरी यात्रा गर्न त्यो दिनको राशिफल उत्कृष्ट भएर मात्रै पनि पुग्दैन। संयोगले एक दिन माइक्रोमा अगाडिको सिटमा बस्न पाइयो। त्यही बेला माइक्रो अगाडिको ट्रकमा देखेको 'गुरुजी साहित्य'.....

सत्ताले लापरवाह बनाउँछ ?

२०६८ मंसिर ४ गते लिएको माओवादी वेवसाइट स्क्रिन सट
सत्तामा नपुगिन्जेल अझ त्यसमा पनि भुमिगत हुँदा अहिलेको एकिकृत नेकपा माओवादीको वेवसाइट सँधै अपडेट भइरहन्थ्यो। अहिले यसो माओवादीको वेवसाइट ( http://www.ucpnm.org/index.php ) खोलेर हेरेको त New भन्दै झिलिप झिलिप बत्ती बोल्ने माओवादीको पछिल्लो वक्तव्य नै २०६७ वैशाखको छ। जसमा लेखिएको छ : वर्तमान सरकार नेपालको इतिहासकै सबैभन्दा भ्रष्ट, नालायक, जनविरोधी र राष्ट्रघाती रहेका तथ्यहरु दिनको घाम जत्तिकै र्छलङ्ग छन् (तत्कालीन माधव कुमार नेपाल सरकारलाई भनेको हुनुपर्छ)।

यो सत्ता भन्ने कुरै कस्तो खराब भने मान्छेलाई पुरै निश्क्रिय र लापरवाही बनाइदिदोरहेछ। माओवादीलाई त यस्तो बनाइदियो।

प्रधानमन्त्रीले चियापानमा कति खर्च गर्न पाउने ?

शेरबहादुरले ४८ सदस्यीय र त्यसपछि बाबुरामले ४९ सदस्यीय मन्त्रीपरिषद् बनाएपछि एक जनाले लेख्याथे अब संविधानमा नै लेख्नपर्छ प्रधानमन्त्रीले कति जनासम्मको मन्त्रिपरिषद बनाउन पाउने भनेर। अब एउटै चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहालले ३ लाख रुपियाँ, प्रधानमन्त्री माधव कुमार नेपालले ५ लाख रुपैयाँ र प्रधानमन्त्री बाबुराम भट्टराइले २७ लाख रुपैयाँ सरकारी ढुकुटीबाट सकेपछि मलाई लागेको छ प्रधानमन्त्रीले एउटा चियापानमा कति रुपैयाँ खर्च गर्न पाउँछ भनेर पनि संविधानमा लेख्नपर्छ।

काठमाडौं खुला दिशा पिसाब मुक्त क्षेत्र हो कि होइन ?

चक्रपथ घुम्ने बस थियो, स्वयम्भु र सितापाइलाको बीचतिर आएपछि गाडी छेउ लगाएर ड्राइभर उत्रे। यात्रुहरु अलमलमा परे, टायर पन्चर भयो कि, गाडी बिग्रियो कि भन्दै थिए। ड्राइभर नजिकैको रुखतिर लागे, थैली खाली पारे, फेरि गाडीमा आए र गाडी चलाए। अन्त जाँदा त निकै जिल्ला खुला दिशा-पिसाब मुक्त क्षेत्र भएको बोर्ड देखिन्छ। काठमाडौं के के मुक्त क्षेत्र हो कुन्नि?

Friday, November 18, 2011

बाबुराम! रेकर्डै राखिसकेपछि अरुले तोड्न नसक्ने गरी राखम्

बाबुराम जी, लोकतन्त्र आएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर तराई मधेश लोकतन्त्र पार्टीमा गएका एक नेताले फोन गरेर मसँग साह्रै दुखेसो पोखेका छन् - ३० जना भन्दा धेरै मधेशी नेता मन्त्री हुँदा पनि म परिन, राजनीति छोड्दिम् कि भनेर। अब तपाइ बोर्डफस्ट भएको र कहिल्यै दोस्रो हुन नजानेको प्रमाणित त गरिदिइ हाल्नुभयो ४९ जनालाई मन्त्री बनाएर।

रेकर्डै राखिसकेपछि भोलिपर्सी अरुले जित्न नसक्ने गरी रेकर्ड राख्न मेरो सुझाव छ। ती दुखेसो पोख्ने मधेशी सहित कम्तिमा ७० जनाको मन्त्रिपरिषद् बनाउन पाए हुन्थ्यो। केही असन्तुष्ट मधेशी नेता र उता वैद्य-बादल ग्याङमा जाने संभावना भएका माओवादी कार्यकर्तालाई मन्त्री बनाउन पाए सरकार तत्काल ढल्थेन कि ?
बरु थप मन्त्रीको नाम खोज्न म पनि सहयोग गरुँला।

'डलर' बारे ज्ञानेन्द्र र बाबुराम

विदेशी पैसाको प्रभावकारिताबारे पूर्व राजा र वर्तमान प्रधानमन्त्री Without any comment :
'दुर्भाग्यवश अहिले हामीले सुन्छम् केही विदेशी पैसाको खोला बगाएर यो थलोमा केही न केही नचाहिँदो कुराहरु भइराख्याछ।' पूर्व राजा ज्ञानेन्द्र २०६२ असोज ६ बिहीबार, नागरिक समाज र अधिकारकर्मीले शाही कदमको विरोध गरेपछि।
'द्वन्द्वको खेती गरेर डलरको बाली भित्र्याउने जुन सानो समूह छ, त्यसले हल्ला गर्नुलाई हामीले अन्यथा मान्नु हुँदैन।' प्रधानमन्त्री बाबुराम भट्टराई २०६८ कात्तिक २६ शुक्रबार, नागरिक समाज र अधिकारकर्मीले माओवादी सभासद बालकृष्ण ढुंगेललाई आममाफी दिने सरकारी निर्णयको विरोध गरेपछि।

Monday, November 14, 2011

कुन दिन जहाजै बेचेर हरायो भन्छन्

नेपाल वायुसेवा निगम (Nepal Airlines) को ४ करोड रुपैयाँ पर्ने Flight Away Kit केही महिना अगाडिदेखि हराएको छ। निगमको बोइङको ३० लाख रुपैयाँ पर्ने दुइटा पाङ्ग्रा केही साता अगाडि कसले झिकेको हो पत्तो छैन। र, केही दिन अगाडि ८० लाख पर्ने ल्यान्डिङ गियर भन्सारबाटै चोरी भएछ।
यो समाचर पढेपछि मलाई त डर लागिरहेको छ कुन दिन वायुसेवा निगमका तस्करहरुले जहाज दिल्ली वा हङकङ पुगेका बेला उतै बेच्छन् र यता आएर जहाजै हरायो भन्छन्।