Monday, May 28, 2012

सभासदहरु प्रति दया लागेर आयो

जीन्दगानीमा सभासदहरु प्रति साह्रै दया लागेर आयो अहिले ठ्याक्कै संविधान सभाको मृत्यु भएको अवस्थामा। बिचराहरुले संविधानसभा मृत्युको खवर पनि रेडियो र टिभी सुनेर थाहा पाउनुपर्ने भो। कमसेकम संविधानसभा अध्यक्षले सभासदहरुलाई बोलाएर बैठकमा बोल्न मन लाए जति बोल्न दिनुपर्ने थियो।

Saturday, May 26, 2012

संघीय प्रदेश बनेपछिको बन्द

महिनौं दिनका बन्दबाट वाक्क भएका मोफसलका नेपालीहरुले भोलिपर्सी संघीय प्रदेश बनेपछि आ-आफ्नो प्रदेशमा बन्द गर्न नपाइने र बन्द गर्नै गरी केही माग गर्न परे केन्द्रीय राजधानी गएर त्यहीं बन्द गर्नेपर्ने नियम बनाउलान्। भविष्यको नेपाल...

जान्नेले संघीयताबाट पनि पैसा कमाउँदै छन्

ए! संघीयताको बिबादमा अहिले कतिले त पैसा पो जम्मा पारिरा' रैछन्। बहिनीको गाउँबाट फोन आयो - गाउँलाई प्रादेशिक राजधानी बनाउन आन्दोलन गर्ने भन्दै घरघरबाट पाँच/दश हजार रुपैया उठाइरहेका छन् रे। अन्तका बजारहरुमा पनि प्रादेशिक राजधानी बनाउने भन्दै जान्नेले कति कति पैसा उठाइरहेका छन् होला? अझ प्रदेशै बनाउनका लागि आन्दोलन भन्दै पनि पैसा जम्मा गरिराका होलान्। आखिर राजधानी आफ्ना गाउँ/बजारमा होस् भन्ने मन कसलाई हुन्न र? रोगडा भेला पार्ने अनेक अनेक उपाए निकाल्छन् केटाहरु...

Friday, May 25, 2012

आखिर संविधान बनाउने यिनैले हो

सर्वोच्चको फैसलापछि संविधान आँफैले बनाउन पाइयो झैं गरी मानिसहरु तीन हात बित्ताको बुर्कुसी मारिरेहका छन्। तर 'संविधानसभा'ले बनाउने भनिएको संविधानको बाँकी भाग अब संसदले बनाउने भयो। के फरक भो? आखिर बनाउने यिनैले हुन्, प्रधान न्यायाधीश खिलराज रेग्मी आएर बनाइदिने होइनन्। धेरैले चिन्ता गर्ने गरेको सभासद (पर्सीबाट सांसद)को तलबभत्ता पनि सभासद हुँदा धेरै संसद हुँदा कम हुँदैन होला। जनता र अदालत संविधानसभा भंग भो भनेर मख्ख, सभासद संसद भइयो भनेर मख्ख, ठूला साना नेता आखिर संविधान बनाउने हामी नै हौं भनेर मख्ख। Win win situation भनेको यस्तै होला?

नेता बोलीमा एकछिन पनि अडिग हुन्नन्

आजभोलि फेसबुक भन्दा टि्वटर https://twitter.com/#!/dipakbhattarai चल्तीमा छ जस्तो छ। एकजनाले त्यसमा लेख्याथे: 'माधव नेपालले पहिलोपटक कुनै शिर्ष नेताका बारेमा टिप्पणी गर्दै सत्य बोलेका थिए त्यही नि फेरि २४ घन्टा नहुँदै माफ मागेछन्।' नेताहरु गतिलो कुरामा त एकछिन पनि टिक्नै सक्दैनन् किन हो? (हास्नुपर्ने कारण धेरै छन् हा हा हा....)

Thursday, May 24, 2012

प्रचण्डको डेरा

‎'प्रचण्डले नयाँबजारबाट लाजिम्पाट डेरा सर्‍या होइन सारिएको रहेछ लैनचौरबाट नजिक हुन्छ भनेर' - लास्टै जोक गर्छन् साथीभाइ।

Wednesday, May 23, 2012

सरकारले दिन सक्ने र नसक्ने

सरकारले दिन नसक्ने भनेको रोजगार, स्वास्थ्य उपचार, सुलभ र गतिलो शिक्षा, बिजुली, पानी, इन्धन, मल आदि रहेछ। पहिचान, राज्य, आरक्षण, आदीबासी जे माग्नोस् दिन तयार छ।

Tuesday, May 22, 2012

बन्दको रोग त पत्रकारमा पनि सरेछ

पत्रकारहरु माथि आक्रमणको विरोध भन्दै मंगलबार बुटवलका पत्रिका र एफएममा समाचार बन्द भयो। बुधबार र बिहीबार झापाबाट प्रकाशित हुने पत्रिका बन्द गर्ने निर्णय भएछ। बन्दको रोग त पत्रकारमा पो सरेछ...

Monday, May 21, 2012

मायाले अगाडि बन्द

मेरो घर छेउ बस्ने लैलालाई भेट्न एकजना मजनु RAV 4 जिपमा आइरहन्छन्। कान्छीलाई महिनाको १२ हजार रुपैयाँ पर्ने फ्ल्याट लिएर भाडामा राखेको भनेर कानेखुशी हुन्छ छिमेकमा। आजको यस्तो बन्दको (प्रेस र एम्बुलेन्सलाई पनि नछाडेका) दिन पनि उनी जिप लिएरै आए। नतमस्तक भएँ प्रभु....

११ प्रदेशले मर्का पर्ने भो

यो सहमति भयो भनिएको ११ प्रदेशको प्रस्तावले त मलाई साह्रै मर्का पर्ने भो। घर छ नवलपरासी जिल्लाको पहाड डेढगाउँमा। नुन तेल र बिहेबारीको सामान लिन तनहुँ र पोखरातिर पाइपर्छ। अहिले नवलपरासी जिल्लालाई बाँके-बर्दीयासँग लगेर जोडदिएछन्। जिल्ला सदरमुकाम परासी जान भन्दा अहिले त काठमाडौं आउन नजिक छ। भोलिपर्सी प्रदेशको राजधानी दाङ वा नेपालगञ्ज पुर्याए भने झन् के हाल हुनेहोला। यति बोलुँ संघीयता बिरोधी भन्देलान्। नबोलुँ आफूलाई मर्का परेको कुरो।

शुभकामना हजुर्बा .

अफिस आउँदा चक्रपथ परिक्रमा गर्ने बसको मसँगैको सिटमा अमेरिकामा ९ वर्ष काम गरेर फर्केका ७१ वर्षीय युवा भेटिए। वनस्थली घरमा एक्लै बस्दा दिक्क लागेर रिङरोडको बस यात्रामा निस्केका। उनको सर्टकर्ट कुरा: 'श्रीमती जेठो छोराको परिवारसँग अमेरिकामै बस्छु भनी, आउनै मानिन। कान्छो छोरा अमेरिकामै जर्मनी केटी बिहे गरेर जर्मन तिर लाग्यो। छोरी युकेको ज्वाइसँग उतै छे। मलाई उता बस्नै मन लागेन, म त यो उमेरमा एक्लै परें, त्यसैले अर्की बिहे गरौं कि भनेको अरुले जे सुकै भनोस्।' शुभकामना हजुर्बा ..

अर्को चुनावमा केही नेतालाई हराउनैपर्नेछ

‎'मिसप्लेस' भएको नागरिकता भेटिएपछि भोटर कार्ड बनाउनका लागि काठमाडौं निर्वाचन कार्यालय गएको थिएँ। मान्छेहरु दुई तीन घन्टा लगाएर लाइनमा बसी फोटो खिचाइरहेका थिए। एकजनालाई सोधें, नेपालीलाई अझै राजनीतिबाट वाक्क ला'रैनछ हगि। उनले भने, 'अर्को चुनावमा केही नेतालाई हराउनैपर्नेछ त्यही भएर भोट हाल्नु पर्नेभो।'
तिनी कुन जिल्ला कुन क्षेत्रका मतदाता भनेर सोध्नै बिर्सेछ। कसलाई हराउन खोजेका रैछन् कुन्नि ?