Saturday, June 29, 2013

कुरान माथि टुथपेस्ट राखेकाले जेल

कतार जेलबाट भर्खरै रिहा भएर आएका नेपालीले भने, एकजना नेपाली कामदार एउटा पुस्तकमाथि टुथपेस्ट राखेर दाँत माझ्दै रहेछन्। उनले टुथपेस्ट राखेको पुस्तक संयोगले कुरान पर्न गएछ। अनि ती नेपाली अहिले कतारी जेलमा छन्। कहिले छुट्ने हो कुनै टुंगो छैन।
स साना कुराको ज्ञान नभएर कति नेपाली यसरी विदेशी जेलमा सडेका होलान्?

धन्न हिरो बन्ने सपना देखेर जोवन गएनछ?

धन्न यो Raanjhanaa भन्ने हिन्दी फिलिम ९० को दशकमा बनेनछ। नत्र त मेरो जोवन 'म पनि हिरो बन्छु' भनेरै जाने रहेछ। अनुहार उसको अलिक राम्रो होला, तर जिउ त त्यो बेलाँ मेरो जस्तो थियो त्यस्तै छ त फिलिमको हिरो धनुषको। हिन्दी फिलिममा कमै हुने कालो ख्याउटे, जीउमा कतै पोकापोकी नभएको, एक जनाले मुड्की हान्यो भने तीन हात पर पुग्ने जस्तो देखिने मान्छेलाई पनि हिरो बनाएको रहेछ यो फिलिममा। हिन्दी फिलिमको हिरो हुनलाई चाहिने गोरो अनुहार, जुल्फीवाला कपाल, सुडौलो शरीर र वलिष्ट हात पाखुरा केही देखिदैंन धनुषको।
अहिलेका कति युवाले पनि यो फिलिम हेरेर हिरो बन्ने सपना देखिरा' होलान् कि नाईं?

Thursday, June 20, 2013

पश्चिममा त घाम पनि डुब्न मात्र पुग्दो रहेछ

कोशीमा बाढी जानासाथ कलाकार, ठूला-साना मिडिया हाउस, NRN, खेलाडी, बैंकदेखि धेरैले सहयोग उठाउन पहल गरेको सम्झना छ। अहिले महाकाली र कर्णालीमा बाढी जाँदा चाहिँ ? पश्चिममा त घाम पनि डुब्न मात्र पुग्दो रहेछ।

Monday, June 17, 2013

न्यायाधीश सपथपछि पार्टी कार्यालयमा

अन्नपूर्ण पोष्टमा Madhav Dhungel ले लेख अनुसार- पुनरावेदन अदालतका नवनियुक्त १० जना न्यायाधीश आइतबार सपथ ग्रहण लगत्तै एमाले पार्टी कार्यालय बल्खुमा पुगेछन् र आफूहरुलाई न्यायाधीश बनाइदिएकोमा अध्यक्ष झलनाथ खनाललाई धन्यवाद दिएछन्।
न्यायाधीशहरु सपथपछि पार्टी कार्यालयमा पुग्ने देशमा जन्मने सौभाग्य पाउनुभएकोमा तपाईहरुलाई हार्दिक वधाई। बाँकी के राखेका छन् होला यहाँ नेताहरुले ?

Friday, June 14, 2013

बोर्डमा परेका विद्यार्थी खोज्दै सञ्चार माध्यम

यिनै रेडियो, टिभी पत्रपत्रिकाले पहिले SLC को बोर्ड प्रथाले विकृति ल्यायो। बोर्डिङहरु बोर्डमा विद्यार्थी पार्न लाखौं खर्च गर्न तम्सिए भने। सरकारले बोर्ड प्रथा हटायो। अहिले यिनै रेडियो, टिभी, पत्रपत्रिकाले को को बोर्ड आयो भनेर खोज्दैछन्। केही गरी सुख छैन यो संसारमा।

Tuesday, June 11, 2013

भ्रष्टाचार र रक्सीको नाता

लाउडा ताका लाख भ्रष्टाचारको समाचार आउँथ्यो, सुडान ताका करोड भ्रष्टाचारको कुरा आयो र अहिले त्रिशुलीका बेला अर्ब भ्रष्टाचारको खवर आइरहेको छ। भ्रष्टाचारको रकम बढे झैं नेपालमा भित्रिने रक्सी पनि महगिंदै गएको छ। पहिले १२/१५ सयको रेडलेबल, त्यसपछि ३५ सय/चार हजारको ब्ल्याक लेबल, अनि १३/१४ हजारको ब्लु हुँदै अहिले बोतलको ९९ हजार पर्ने रक्सी भित्रियो रे नेपालमा । रक्सी र भ्रष्टाचारको नाता गज्जब हुँदोरहेछ, जति भ्रष्टाचार बढ्दै जान्छ उति मह‌ंगो रक्सी नेपाल भित्रिदैं जान्छ।

Tuesday, May 28, 2013

भ्रमणको कि अन्तरवार्ताको निम्तो?

चीनबाट एमाओवादी अध्यक्ष प्रचण्ड फर्केको दुई महिना नहुँदै एमाले अध्यक्ष झलनाथ खनाल चिन जाँदै रहेछन्। त्यसपछि क्रमश: सुशील कोइराल र बाबुराम भट्टराईलाई पनि चिनले निम्ता दिने भन्ने समाचार पढियो। यसो सोचेर ल्याउँदा चिनले नेपालका नेताहरुलाई एक एक गरी भ्रणणका लागि नभई अन्तरवार्ताको लागि बोलाए झैं मानेको छु है, सबैलाई उही प्रश्न 'भाइ के छ तिम्रो चिनप्रतिको धारणा प्रष्ट पार।' अनि छान्ने होला चिनले योग्य उम्मेदवार।

Wednesday, May 22, 2013

काठमाडौंमा रुख मासिंदै

उसै त हरियाली कम भएको काठमाडौंमा सडक विस्तारका क्रममा रिङरोड र अन्यत्र भित्री मार्गमा पनि सबै रुख काट्न थाले। रुख जोगाएर नि सडक विस्तार गर्न सकिन्छ भन्ने चेतना र दबाब दिन पर्छ होला। नत्र त एउटा रुख हुर्काउन बिसौं वर्ष लाग्छ। अलिअलि बाँकी भएका रुख पनि काटिँदा भित्री काठमाडौंमा बस्नेहरु अक्सिजन नपाएर सुक्लान् है।

सगरमाथा नचढी मरेमा

एक बारको जुनीमा सगरमाथा नचढी मरियो भने त चित्रगुप्तलाई हिसाब देखाउन नसकेर, यमराजले फेरि पृथ्वीलोकमा फर्काइदेलान् जस्तो पो भो अइ।

Tuesday, May 21, 2013

भाउन्न हुने कुरा

भोट हाल्ने एक दिनका लागि लाखौं लाख तिरेर खेताला विद्यार्थी भर्ना गर्नेहरु देख्दादेख्दै पनि कोहीकोहीले युवा पिंढीलाई देशको जिम्मा दिने हो भने देश सुध्रिन्छ भनेको सुन्दा भाउन्न हुन्छ मलाई त।

Sunday, May 19, 2013

भालु आएर गहुँ हेर्दै फर्कदैं गरेको छ



'भालु आएर गहुँ पाकेको छ कि छैन भनेर हेर्दै फर्किने गरेको छ। अब पाकेपछि भालुबाट गहुँ कसरी जोगाउने होला। त्यही पीर छ मलाई', सोलुखुम्बु थाप्रेकी काईंली तामाङ, फाप्लुबाट जिरी हिंडेर फर्कदै गर्दा भेटिएकी।
यिनकै होटलमा एक कप नेपाली चिया र अर्को कप सु चिया पिएर हामी पिके पिक सम्मको भञ्ज्याङको यात्रा गरेका थियौं।

Monday, May 13, 2013

भ्रष्टाचार विरोधी संस्थाका अध्यक्ष

भ्रष्टाचार विरोधी जिल्ला स्तरीय संस्थाका अध्यक्षले फोन गरे- यसपालि एसएलसी दिएको छोराको पढाई एकदम राम्रो छ। परीक्षामा बिगारेको केही छैन । कसैलाई यसो केही गरेर 'नेपाल टप' बनाउन सकिएला ? पर्यो भने बरु केही पैसा गर्छ गर्न पनि तयार छु। तपाईं त पत्रकार धेरै जनासँग परिचय होला। केही आइडिया छ कि भनेर फोन गरेको हुँ। - गज्जब नेपाल।