Sunday, September 2, 2018

'रुखमा पैसा फल्छ भनेर नेपालीलाई बर्मा ल्याएका थिए फौजीहरुले'

बर्माको पुरानो राजधानी रंगुनबाट करिब छ सय किलोमिटर उत्तर मग्वेमा भेटिएका इन्द्रमाया वाग्ले, उनका पति  वासुदेव काफ्ले र छोराछोरी। तस्बिर: दिपक भट्टराई

बर्माको पुरानो राजधानी रंगुनबाट करिब छ सय किलोमिटर उत्तर मग्वे प्रान्तको यात्रामा जाँदै थियौं। 
‘यी हेर त मुसलमान प्रवेश निषेध भनेर लेखिएको छ,' सहकर्मीले त्यहाँको फोटो देखाउँदै भने, 'तिमीलाई अप्ठेरो पर्ने हो कि?’
रङ र बनोट हेरेर मलाई मुसलमान ठानिएला भन्ने साथीलाई चिन्ता रहेछ। 
मैले फिस्स हाँसेर टारेँ।
नभन्दै मग्वेको होटलमा बुफे डिनर खाँदा सुँगुरको मासु प्लेटमा हाल्न खोजेको थिएँ। वेटरले तीनपटक सतर्क गराए, 'पोर्क, पोर्क, पिग मिट, वाता (बर्मेली भाषामा सुँगुरको मासु)।' 
सहकर्मीले जिस्क्याए, ‘देखिस्, तँलाई मुस्लिम ठान्यो।’ 
मैले ती वेटरलाई हिन्दु धर्मको थोरै पाठ सिकाएँ, ‘हेर! ब्राह्मण हिन्दु परिवारमा जन्मेकाले खासमा मैले सुँगुर खान हुन्न, तर परदेशको कुरो छ। बाआमाले थाहा नपाएसम्म चल्छ।’ 
मैले देब्रे आँखा झिम्काएँ।
बर्मामा जता जाँदा पनि नेपालीभाषी खोज्ने बानी परिसक्यो। रंगुनबाहिर जानु परे बर्मेली नेपालीभाषीका अध्यक्ष सागर घिमिरे र अरु केही अगुवालाई सोध्छु, ‘त्यहाँ नेपालीभाषी भेटिएला?’
मग्वेको नाम सुनेपछि उनीहरुले मुख बिगारे। दायाँबायाँ टाउको हल्लाउँदै भने, ‘अहँ, त्यहाँ त कोही भेटिन्न। बरु अलिक सतर्क हुनुपर्ला है।’
बर्माको मध्यभाग बर्मेलीहरूको मुख्य थातथलो हो। यहाँ बौद्धमार्गी बर्मेलीबाहेक अरु सितिमिति भेटिँदैन। मग्वे त्यही मध्यमागमा पर्छ। 
छ करोड हाराहारी जनसंख्या रहेको बर्मामा करिब ७० प्रतिशत बर्मेली जाति छन्। यहाँका सबैजसो पहाड र सिमानामा विभिन्न जातका आदिवासी र आप्रवासीको बसोबास छ। धार्मिक हिसाबले ८८ प्रतिशत बौद्धमार्गी छन्। बाँकी क्रिश्चियन, मुसलमान, प्रकृतिपूजक, हिन्दु र अन्य।
तीन दिनको परिश्रमपछि इन्द्रमाया वाग्ले र उनका श्रीमान् वासुदेव काफ्ले भेटिए।
वासुदेव १२ वर्षदेखि त्यहाँको हिन्दु मन्दिरमा पूजारी भएर बसेका रहेछन्। मलाई देख्नासाथ हिन्दीमा बोले। उनलाई म भारतीय हुँ भन्ने लागेछ। धेरै बर्मेलीलाई यस्तै लाग्छ। उनीहरु मलाई भारतीय मुसलमान ठान्छन्। त्यसमाथि नेपाली कहिल्यै नपुग्ने मग्वेमा वासुदेवको अनुमान स्वाभाविक थियो। 
म नेपाली हुँ भन्ने थाहा पाएपछि उनी छक्कै परे। खुसी पनि भए।
‘अनि एक्लो लाग्दैन त?’ मैले कुराकानी सुरु गर्दै सोधेँ। 
वासुदेवले जवाफ दिए, ‘अब त बानी परिसक्यो। १२ वर्षदेखि यहीँ बसिएको छ। पहिला फोन सम्पर्क केही नहुँदा त बसियो, अब अहिले त फोन छ।’
उनले अगाडि भने, 'हामीकहाँ कोही नेपाली नआउँदा पनि यी भगवान त हाम्रै हुन् नि। यिनै भगवानको मुख हेरेर न्यास्रो मेट्यो, बस्यो।'
उनको कुरा नसकिँदै इन्द्रमायाले थपिन्, ‘छोराछोरी नहुँदा दिक्कै लाग्थ्यो नि। अहिले त छोराछोरी छन्। यिनसँग बोल्यो बस्यो।’ 
कतिपय नेपालीभाषी गोर्खाली-बर्मेलीका छोराछोरीलाई नेपाली बोल्न सकस परेको मैले देखेको छु। इन्द्रमाया र वासुदेवका १० वर्षे छोरा र ७ वर्षकी छोरी भने शुद्ध नेपाली बोलिरहेका थिए। कपीको सट्टा पुस्तिका भन्थे। स्कुल नभनेर पाठशाला।

मग्वेस्थित हिन्दु मन्दिरका पुजारी वासुदेव पत्नी इन्द्रमाया र छोरीसँग। तस्बिर: दिपक भट्टराई


‘यो मन्दिर १२५ वर्षअघि गोर्खाली फौजले बनाएको हो। यहाँ पूजारी बस्ने कोही भएनछ। हिन्दु धर्म मान्ने भारतीय बर्मेलीले पूजारी खोज्दै गरेको मैले थाहा पाएँ,' वासुदेवले यति भनेपछि मन्दिरमा गोर्खाली फौजले बनाएको निशानी खोज्न मन लाग्यो। 
‘पहिले क्रस खुकुरीको निशानी थियो नि गेटमा,’ इन्द्रमायाले सम्झिइन्। 
मैले खोज्न दुःख दिएँ। घन्टौं खोज्दा पनि भेटिएन।
‘मेरा जजमान ४० घरजति छन्, सबै भारतीय बर्मेली हुन्। हिन्दु धर्म मान्छन्,’ वासुदेवले भने।
'त्यसो भए त अलि अलि समाज रहेछ नि,' मेरो यस्तो प्रतिक्रियामा उनले भने, ‘के को समाज, कसैले त हिन्दी बुझ्दैनन्। बर्मेली भाषा मात्र बोल्छन्। कति 'काव्या' भइसके, कति पूरै बर्मेली।’
यहाँ आप्रवासीले आदिवासी वा रैथानेसँग बिहे गरेर जन्मेको सन्तानलाई 'काव्या' भनिन्छ। आफूलाई वासुदेवको ठाउँमा राखेर सोचेँ, ‘ओहो! १२ वर्षसम्मको यस्तो बसाइ, जहाँ आफूसँग संस्कार र सँस्कृति मिल्ने, मातृभाषा बोल्ने भनेको श्रीमती र साना छोराछोरी मात्र।’
वासुदेवले थपे, ‘मेरा जजमान न छोराछोरी जन्मँदा न्वारन गर्छन्, न मातापिताको श्राद्ध।’ 
मलाई वासुदेवको जजमानले न्वारन र श्राद्ध नगरेको भन्दा पनि यिनको दक्षिणा गुमेकोमा पिर लाग्यो। सोधेँ, 'अनि तपाईं त पूजारी, कसरी चल्छ त घरखर्च? 
‘त्यो त मन्दिरको व्यवस्थापन धनी छ। राम्रै तलब महिनावारी दिन्छन्। हामीले यहाँबाट दुई सय किलोमिटरजति पर मान्डलेमा नेपालीहरूको बस्तीनजिकै जग्गा किनिसकेका छौं,’ इन्द्रमायाले थपिन्। 
‘यो नेपाली फौजले बनाएको मन्दिर भनेर मलाई यहीँका एक जना तीनफित्ते गोर्खाली विश्वकर्माले पनि भनेका थिए,’ वासुदेवले सम्झिए, ‘तिनका तीन छोराले सबै बर्मेलीसँग बिहे गरे। तिनका सन्तानले नेपाली जान्दैनन्। यो मन्दिरमा पनि आउँदैनन्। बौद्धमार्गी भए होलान्।’ 
तीनफित्ते भनेको बर्मेली सेनामा हवल्दार। ती तीनफित्ते विश्वकर्मा बितिसकेछन्। तिनका छोराहरूलाई भेट्न चाहे पनि पत्ता लगाउन सकिएन। 
वासुदेव ७२ वर्षका भए। नेपालीभाषीको बाक्लो बस्ती भएको उत्तरी भेग कचिन प्रान्तको मेचिनामा जन्मेका। उनका बुवा अंग्रेज फौजमा भर्ती भएर बर्मा ल्याइएका हुन्। 
‘बर्मामा त रुखमा पैसा फल्छ भन्ने गफ दिएर नेपालीलाई ल्याएका हुन् नि त फौजीहरूले। हाम्रा बाले भन्नुहुन्थ्यो, पैसा रुखमा फल्छ भनेपछि रुख चढ्न रिप्पु राई काका गाउँबाट सबैभन्दा अगाडि लाएर हिँडेका थिए रे,’ उनले भने। 
वासुदेवलाई नेपालमा आफ्नो थातथलो यकिन सम्झना छैन। यत्ति सम्झन्छन्, ‘बाले हामी नेपालको इलामबाट आएको हौं भन्नुहुन्थ्यो।' 
इलाम भनेको कता हो, उनलाई पत्तो छैन। 
बर्माका पहाड र फाँटमा मन लागेजति खोरिया फाँडेर बस्न पाइने बेलाको कुरा हो यो। सन् १९४०-५० को दशक। 
बर्माको माटै मलिलो। त्यसमाथि राम्रो वर्षा हुने। टन्न घाँसे मैदान। फाँट। त्यसैले लोभिएर यतै खेतीपाती र पशुपालन गरेर बिते वासुदेवका आमाबा। 
बीस वर्षको उमेरसम्म वासुदेवले पनि खेतीपाती र गाईभैंसी रेखदेख गरेरै बिताए। अंग्रेज शासनबाट बर्मा स्वतन्त्र भएको केही समयमै कचिन विद्रोहीहरूले राज्यविरुद्ध सशस्त्र संघर्ष सुरु गरे। त्यो विद्रोह चलिरहेकै छ। 
‘बागी निस्केपछि खेतीपाती छाडेर पूजारी बन्न हिडेँ,’ वासुदेवले भने। 
बर्मेली नेपालीहरु विद्रोहीलाई कि 'बागी' भन्छन्, कि 'जंगली'। अहिले पनि यहाँका विभिन्न राज्यमा एक दर्जनभन्दा धेरै सशस्त्र समूह स्वायत्त शासनसहितको संघीयता माग गर्दै सक्रिय छन्। 
पचास वर्षअघि पूजारी बनेका वासुदेव कहिले कचिन प्रान्तको मन्दिर, कहिले मान्डले प्रान्तको त कहिले कया प्रान्तको मन्दिर हुँदै अहिले मग्वे मन्दिरको पूजारी हुन आइपुगेका छन्। 
उनकी पत्नी इन्द्रमाया ४८ वर्ष पुगिन्। उनका हजुरबा नेपालबाट आएका हुन्। कहाँबाट आए, उनलाई थाहा छैन। उनका बुबाआमा यहीँ जन्मिए। 
मैले सोधिहालेँ, ‘नेपालसँगको साइनो नि?’

वासुदेव काफ्ले


उनले फुपू काँकडभिट्टामा रहेको बताइन्। बर्माबाटै सन् १९६० दशकमा फर्केर गएकी।
नेपालीहरूको बाक्लो बस्ती भएको अर्को पहाडी क्षेत्र मोगोकमा जन्मेकी इन्द्रमायाले नौ कक्षासम्म अध्ययन गरेकी छन्। 
‘९ कक्षा पढ्दा पढ्दै देशमा आन्दोलन भयो, शिक्षकहरू हामीलाई पनि लिएर आन्दोलनमा गए। आन्दोलनको छैंठौं दिन हाम्रा आँखाअगाडि विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित २५ जनालाई सैनिकले गोली ठोकेर मारे। त्यसपछि बुवाले भो पढ्न पर्देन भन्नुभयो। अनि पढाइ छुट्यो,’ इन्द्रमायाले सुनाइन्।
यो घटना सन् १९८८ अगस्ट ८ देखि तत्कालीन सैनिक शासनविरुद्ध बर्मेली जनताले गरेको आन्दोलनको हो। १९८८ को आठौं महिना (अगस्ट), ८ तारिखबाट सुरु यो आन्दोलनलाई बर्माको इतिहासमा '८८८८' भनेर चिनिन्छ। यहाँ तीन हजारभन्दा धेरै बर्मेली सहिद भएका थिए। कतिपयले आन्दोलनमा मृत्यु हुनेको संख्या दस हजारसम्म पुगेको अनुमान गरेका छन्। यही आन्दोलनबाट बर्मेली प्रजातान्त्रिक नेतृ आङ सान सू चीको उदय भयो। 
‘मेरी आमाले १४ जना सन्तान जन्माउनुभयो, हामी १३ जना अझै छौं,’ इन्द्रमायाले भनिन् 'मेरो काकाको पनि एकै आमाबाट १४ जना छोराछोरी थिए।'
उनले यति भनेपछि मैले सोधेँ, ‘त्यो बेला धेरै सन्तान जन्माउने चलन रहेछ है नेपाली बर्मेलीको?’ 
मैले भेटेका ४० वर्षभन्दा बढी उमेरका धेरैजसो नेपाली बर्मेलीका सात-आठ जनाभन्दा धेरै दाजुभाइ, दिदीबहिनी छन्। 
इन्द्रमायाले खेतीपाती प्रशस्त भएपछि सन्तान जति जन्माउँदा पनि फरक नपर्ने बताइन्। पढाइ रोकेपछि व्यापार गर्दै चीन र भारतको सिमानासम्म पुगेकी इन्द्रमायाले बिहे गर्ने फुर्सदै पाइनछिन्। 
‘बिहे गर्ने १८-२० वर्ष उमेरमा म थलिने गरी बिरामी परेकी थिएँ। त्यही भएर मेरो बिहे ३५ कटेपछि भयो।’
मैले हिसाब निकालेँ। श्रीमान् र श्रीमतीको उमेरमा २४ वर्षको फरक रहेछ। 
‘वासुदेवजी, तपाईंले त ६० लागेपछि पो बिहे गर्नुभएको रहेछ, कुमारै हुनुहुन्थ्यो,’ मैले जिस्काएँ।
‘मेरो त १७ वर्षमै बिहे भएको थियो। पहिलेकी श्रीमतीबाट तीन छोरा र एक छोरी छन्। सबैले घरबार सम्हालिसके। कान्छी छोरी नै उमेरमा ३० काटिसकी। जेठी श्रीमती बिरामीले बितेको १० वर्षपछि यिनीसँग भेट भयो,’ वासुदेवले आफ्ना नक्कली दाँत जिब्रोले सार्दै भने। 
पाँच सय किलोमिटर पूर्व-पश्चिम मेचिना र मोगोकका यी दुईको बिहे इन्द्रमायाका दाइले गराइदिएका रहेछन्। 
‘यिनका दाइ पनि मन्दिरका पूजारी नै हुन्, पूजारी-पूजारी भेट हुँदा खैखबर सोधपुछ भयो, प्रसंग निस्क्यो, अनि बिहे भयो,’ वासुदेवले अनुहारमा चमक ल्याएर भने। 
उनकी छोरी थाइल्यान्डमा काम गर्दी रहिछन्। छोरीले पठाएको मोबाइलबाट उनी नेपालको सूचना थाहा पाउँछन्। आफूले पाएको पछिल्लो सूचनाअनुसार उनले मलाई सोधे, ‘नेपालमा असाध्यै धेरै बलात्कार हुँदोरहेछ है?’
त्यसैमा थपे, ‘सडक दुर्घटना पनि बेसी हुन्छ नेपालमा?’
छोरीले पूजारी बुवालाई सजिलो होस् भनेर ‘हाम्रो पात्रो’ एप्स डाउनलोड गरी मोबाइल पठाएकी रहिछन्। वासुदेव हाम्रो पात्रोबाट आउने सूचना रिठ्ठो नबिराई श्रीमतीलाई सुनाउँदा रहेछन्। 
‘यहाँ मन्दिरमा भएको भारतीय क्यालेन्डरमा अगस्ट १५ तारिखमा नागपूजा थियो, यो मोबाइलमा अगस्ट १६ तारिखमा देखेपछि मैले १६ मै गएर जजमानकहाँ नाग टाँसिदिएँ,’ हाम्रो पात्रो देखाउँदै वासुदेवले भने। 
‘नेपालमा डाक्टर पनि धेरै रहेछन्,’ नेपालका पछिल्ला समाचारबाट बढी नै प्रभावित देखिएका वासुदेवले बलात्कार, सडक दुर्घटनापछि गोविन्द केसी र डाक्टरहरूको आन्दोलन सम्झिए अनि मलाई सोधे, ‘विदेशमन्त्री केपी ओली पनि डाक्टर हुन्?’ 
आङ सान सू ची विदेशमन्त्री भएकाले वासुदेवले ओलीलाई परराष्ट्रमन्त्री ठानेको मैले अड्कल काटेँ। 
‘छोराछोरी यहाँ रमाएका छन् त,’ हिँड्नुअघि मैले सोधेँ।
जवाफ दिन इन्द्रमाया अघि सरिन्।
भनिन्, 'यिनीहरू पढ्ने स्कुलमा अस्ति छोरालाई ‘कला’ भनेर कुटेछन्। साथीहरूले दुःख मान्दै थियो। मैले स्कुल गएर कुरा गरेपछि शिक्षिकाले अरु विद्यार्थीलाई ‘यिनीहरू पूजारीका छोराछोरी हुन्। माछामासु केही खान्नन्’ भनिछन्। अहिले त साथीहरूले माया गर्छन् भन्छ केरे।’
बर्मेलीले आफ्नो जातिबाहेकलाई हेय दृष्टिले प्रयोग गर्ने शब्द हो- ‘कला’। 
मुसलमानविरुद्ध जातीय हिंसा भड्किदा ‘कला’ लाई खेद्नुपर्छ, मार्नुपर्छ लेखिएका फेसबुक स्ट्याटस यहाँ धेरै देखिएका थिए। अधिकारकर्मीहरूले फेसबुकसमक्ष यसको उजुरीसमेत गरेका थिए। 
त्यसो त भिक्षुलाई असाध्यै धेरै श्रद्दा गर्ने बौद्धमार्गीहरूको देश बर्मामा हिन्दु मन्दिरका पूजारी पनि सम्मानित नै छन्। फेरि जुनसुकै हिन्दु मन्दिरमा हिन्दु देवीदेवता समान बुद्ध मूर्ति राखेर पूजा गरिएकै हुन्छ।
‘अब धेरै त यहाँ बसिँदैन पनि। पाँच वर्षपछि छोराले १० कक्षा सक्छ, त्यसपछि मान्डले जाने हो, नेपालीहरूको बस्तीनजिकै घर बनाएर पसल खोल्ने योजना छ,’ इन्द्रमायाले भनिन्।
इन्द्रमायाको जोडीसँग विदा मागेर म डकुमेन्ट्री फिल्म खिच्न गाउँतिर लागेँ। हामी मुसलमान प्रवेश निषेध लेखिएको गाउँको दृश्य खिच्दै थियौं। सहकर्मीहरू गाउँलेले माया गरेर ल्याइदिएको चिसो पेय पिइरहेका थिए। मैले नपिएको देखेर एक जना वृद्धाले सोधिन्, ‘किन केही नपिएको?’ 
मैले यसै ‘म यस्ता पेय पिउन्नँ। दूध, मही, ताजा फलफूलका रस मात्र खान्छु’ भनेँ। 
हामी डकुमेन्ट्री खिचेर होटल फर्कन गाडीमा बसिसकेका थियौं। ७० वर्ष कटेजस्ती देखिने ती बर्मेली महिला एक गिलास तातो दूध लिएर गाडीमा आइन्। भनिन्, ‘तिमीले दूध खान्छौ भनेर म पल्लो गाउँ पुगेर खोजेर ल्याएकी।’
परदेशमा आफ्नी आमा सम्झेर आँखा रसाए। 
कहाँ मुलसमान प्रवेश निषेध लेखिएको गाउँ, कहाँ म ठ्याक्कै मुसलमानजस्तो देखिने केटाका लागि बौद्धमार्गी आमाले दुई घन्टा खर्चेर ल्याइदिएको तातो दूध!

(सेतोपाटीमा पहिलोपटक  दिपक भट्टराई  को बाइलाइनमा मग्वे (म्यानमार) बाट भदौ १४, २०७५ मा  प्रकाशित)

Tuesday, August 21, 2018

बर्मामा नेपालीभाषी अधिराजकुमारी

 

म्यानमारको शान प्रदेशकी नेपालीभाषी पूर्वअधिराजकुमारी खिन मा न्यू आफ्ना पति राजकुमार उ साउ था थेनसँग। 


‘ठ्याक्कै कहाँ पढेको सम्झना छैन, बूढी पनि त भएँ। पढेको कुरा भने यस्तो थियो– जबसम्म हामी आफ्नो इतिहास बताउन सक्छौं, जबसम्म हाम्रा कथा बाँकी रहन्छन्, तबसम्म हामीलाई कसैले पराजित गर्न सक्दैन। जब हामी इतिहास बिर्सन्छौं, हाम्रा कथा सकिन्छन्, त्यसपछि हामीलाई कसैले पराजित गर्नै पर्दैन, हामी आफैं सकिन्छौं।’

उनले ठ्याक्कै यही त भनेकी थिइनन्। भनाइको आसय भने यस्तै थियो।

म्यानमारको शान प्रदेशमा भेटिएकी थिइन्, ड खिन मान न्यू। उनी नेपालीभाषी बर्मेली हुन्।

म्यानमारमा १४ प्रदेश छन्। शान सबैभन्दा ठूलो। टाउँज्जी यहाँको राजधानी। मैले दुई दिनसम्म टाउँज्जीका तीनवटा मन्त्रालय धाएर माइपान जाने अनुमति लिएको थिएँ। त्यही माइपानमा भेटिएकी हुन्, उनी।

मैले हात अघि सार्दै परिचय दिएँ। नेपालबाट आएको थाहा पाउनेबित्तिकै उनले खुसी हुँदै भनिन्, ‘आबुई गोर्खाली हो?’

उनले नेपाली भाषामै यति सोधेपछि के चाहियो?

नेपालभन्दा साढे चार गुना ठूलो म्यानमारमा म जहाँ जान्छु, त्यहाँका बर्मेली नेपाली भेट्नासाथ सोधिहाल्छु, ‘तपाईंको पुर्खा नेपालको कुन ठाउँबाट कहिले आएको?’

सुरु सुरुमा यसै सोध्थेँ। अहिले सोध्ने बानी परिसकेको छ।

खिन मा न्यूलाई भने सिधै यो प्रश्न सोधिनँ। मैले भनेँ, ‘माफ गर्नुहोस्, मलाई दरबारको चलन आउँदैन। तर, तपाईंसँग केही बेर गफ गर्न चाहन्छु। तपाईंको पुर्ख्यौली देशबाट आएको नाताले पनि तपाईंले नाइँ भन्न पाउनुहुन्न।’

हो, दरबारको चलन!

नेपालीभाषी बर्मेली खिन मा न्यू म्यानमारको सबभन्दा ठूलो प्रदेश शानकी एक पूर्वअधिराजकुमारी हुन्। उनको विवाह शानका गद्दिच्यूत राजकुमारसँग भएको छ। उनी अहिले पनि त्यतिबेलाको दरबारमै बस्छिन्। मैले उनलाई त्यही दरबारमा भेटेको हुँ।

हिङ नभए पनि हिङ बाँधेको टालो भन्ने उखानजस्तै पूर्वअधिराजकुमारी भए पनि दरबारका केही औपचारिकता हुन्छन्। तेह्र वर्षअघिसम्म राजतन्त्र रहेको नेपालबाट आएको मेरो निम्ति नौलो कुरा होइन। त्यो दरबारी औपचारिकता मिचेँ भने मैले खोजेको र चाहेजति कुराकानी नहुनसक्छ भन्ने डर मेरो मनमा थियो।

यही डरका साथ माफीसहित कुरा थालेपछि पूर्वअधिराजकुमारी न्यूले भनिन्, ‘हुन्छ नि, म राजकुमारसँग कुरा गर्छु। तर, तिमीलाई बर्मेली भाषा आउँछ?’

मैले टाउको दायाँबायाँ हल्लाउँदै भनेँ, ‘नेने नेने (थोरै थोरै)।’

‘मेरो नेपाली ब्रोकन छ, त्यसो भए अंग्रेजीमा कुरा गरौंला,’ उनले भनिन्।

म तयार भएँ।

न्यूले हामीलाई दरबारको एउटा कोठामा लगिन्। त्यहाँ मझौला आकारको सुनौलो बुद्धमूर्ति थियो। पूर्व फर्केको झ्यालबाट छिरेको प्रकाशले मूर्ति टिलिक्क टल्केको थियो। झट्ट हेर्दा सुनकै हो जस्तो लाग्थ्यो।

मैले कोठामा सर्सती आँखा डुलाएँ। त्यहाँ हाम्रो कुराकानी हुन पाएन। मेरा सहकर्मीहरू भिडियो खिच्दै थिए। उनले मलाई अर्को कोठामा लगिन्। त्यो कुनै पनि रूपमा दरबारको कोठाजस्तो देखिन्थेन। पुरानो दराज। कोठाको वरपर तार बाँधेर जताततै झुन्ड्याइएका कपडा। ढोकाछेउ खाना पकाउने सानो भान्सा।

दरबारभित्रै यस्तो सामान्य कोठा देखेर त्यसैबारे कुरा सुरु गरूँ जस्तो लाग्यो। गरिनँ। त्योभन्दा अगाडि म्यानमारमा भेटेका सयौं नेपालीभाषी बर्मेलीलाई सोध्ने प्रश्नबाटै कुराकानी थालेँ– नेपालमा उनको पुर्ख्यौली घरका बारेमा।

‘नानी, मेरा बाजे नेपालबाट आएका बाहुन हुन्। कहाँबाट आए नसोध, मलाई थाहा छैन। उनले यतैका शानीसँग बिहे गरे,’ उनले भनिन्।

शानी भनेका शान देशका आदिवासी हुन्। यिनीहरू म्यानमारका अल्पसंख्यकमा पर्छन्। सके आफ्नो छुट्टै देश, नसके स्वायत्त शासनसहितको प्रदेशका लागि बर्मेली सेना र सरकारसँग सशस्त्र विद्रोह गरिरहेका छन्। त्यही विद्रोह देखाएर शान प्रदेश सरकारले विदेशीहरूलाई राजधानी टाउँज्जीबाहिर जान अनुमति दिँदैन।

‘गाउँमा आतंककारीले जे पनि गर्न सक्छन्,’ शानका मन्त्रीले मलाई यसै भनेका थिए।

मैले उनको भनाइ प्रतिरोध नगरी भनेँ, ‘म यहाँको स्थानीयजस्तै देखिन्छु। हजुरले अनुमति दिनुभयो भने बजारसम्म मात्र पुग्छु।’

उनले अनुमति दिए। मेरो अनुमतिपत्रमा बजारको नामै किटान गरिएको थियो– लोइलुम, पेनालाङ, माइपान र लेचा।

‘तपाईंको नेपाली नाम के नि?’ मैले पूर्वअधिराजकुमारीलाई सोधेँ।

‘पार्वती देवी’

उमेर?

‘६१ वर्ष’

हरेकजसो नेपालीभाषी बर्मेलीका दुइटा नाम हुन्छन्। नेपालीभाषी मात्र किन? मुस्लिम, भारतीय बर्मेलीलगायत सबैको दोस्रो नाम हुन्छ। घरमा जे भने पनि स्कुल गएपछि हुने विभेद सम्झेर उनीहरू स्थानीय साथीभाइसँग मिल्ने नाम राख्छन्। कि अभिभावकले नै नयाँ नाम राखिदिन्छन्, नभए शिक्षकले।

पार्वती देवी पनि अपवाद थिइनन्।

‘बाको थर नि?’ मैले यहाँ भेटिने नेपालीलाई उनीहरूको जात र थर सोध्ने गरेको छु।

‘ओ बिर्सें पो नानी, क्षत्री हो। क्षत्रीको थर के हुन्छ?’

मैले आफूले सम्झेका केही थर भनेँ। उनले मैले भनेका कुनै थरमा सहमति जनाइनन्। आफू पनि सम्झन सकिनन्।

यो थर भन्ने गजबको हुन्छ। आफ्ना पुर्खाको थातथलो र थर थाहा भएका नेपालीभाषी बर्मेलीले आजभोलि फेसबुकमा त्यही थर खोजी खोजी आफन्त पत्ता लगाएका छन्। बर्मेलीका थर हुँदैनन्। चलनै त्यस्तै चलाए।

उनी भन्दै थिइन्, ‘मेरा बुवा भारतीय गोर्खा पल्टनका सिपाही हुन्। दोस्रो विश्वयुद्धका लागि यता आएका। यहीँ बिहे गरेर यतै बसे।’

‘म लोइलममा जन्मेँ, हुर्कें,’ उनले भनिन्, ‘टाउँज्जी गएर बिएडसम्म पढेँ। त्यसपछि श्यामा बनेर माइपानमा पढाउन आएँ।’

शिक्षिकालाई यहाँको भाषामा श्यामा भनिन्छ। यही क्रममा माइपानका राजकुमार उ साउ था थेनसँग उनको भेट भयो। विवाह भयो।

म्यानमारको यो दुर्गम भेगमा अहिले त अंग्रेजीमा राम्रो दख्खल भएका महिला देखिँदैनन्, पार्वतीको भने त्यो बेला नै अंग्रेजीमा राम्रो दख्खल थियो। अंग्रेजी साहित्यको राम्रो ज्ञान थियो।

‘उ साउ था थेनसँग कसरी भेट भयो?’

‘कति ठूलो छ र यो माइपान, स्कुलै एउटा त छ,’ उनले जवाफ दिइन्, ‘यहाँ आएका शिक्षक, डाक्टर, कुनै पनि सरकारी कर्मचारी दरबारका मान्छेका आँखामा परिहाल्थे, म पनि परेँ।’

मैले केही समयअघि मात्र गुगल गरेर शान दरबारका किस्सा र केही ऐतिहासिक दस्तावेज पढेको थिएँ। बेलायती उपनिवेश भोगेको शानको दरबारमा अंग्रेजी भाषा जानेकाहरूले कस्तो सम्मान पाउँथे भन्ने थौरै ज्ञान मैले पाइसकेको थिएँ।

‘म बिहे गरेर आउँदा त यो दरबारमा शक्ति थिएन नि नानी,’ पार्वती देवीले थपिन्।

शान प्रदेशका पूर्व राजपरिवारको दरबार। तस्बिर: दिपक भट्टराई

यहाँका अन्तिम राजा साओ साम टुनको हत्या जनरल आङ साङसँगै म्यानमारको राजधानी रंगुनमा भएको थियो। नेतृ आङसाङ सूचीको मात्र होइन, जनरल आङ साङ म्यानमारकै राष्ट्रपिता हुन्। भारतमा जसरी महात्मा गान्धीलाई पुजिन्छ, यहाँ उसैगरी जनरल आङ साङलाई सम्मान गरिन्छ।

त्यतिबेला अंग्रेजी उपनिवेशविरुद्ध लडेर देश स्वतन्त्र हुने निश्चित भइसकेको थियो। जनरल आङ साङको नेतृत्वमा तत्कालीन बर्मामा अन्तरिम सरकार गठन भएको थियो। त्यो अन्तरिम सरकारमा देशभरका राजारजौटाको प्रतिनिधित्व गर्दै साओ साम टुन मन्त्री बनेका थिए।

सन् १९४७ जुलाई १९ मा जनरल आङ साङसँगै नौ जना मन्त्रीको मन्त्रिपरिषद बैठक बसिरहेका बेला हत्या भयो। त्यसैमा मारिनेमध्ये एक थिए, यिनै पार्वती देवीका ससुरा पूर्वराजा साओ साम टुन।

‘उसले धेरै वर्ष राज गर्न त पाएन नि,’ पूर्वअधिराजकुमारीले भनिन्, ‘४० वर्षको उमेरमै उसको हत्या भयो।’

मैले पछि गुगल गरेर पत्ता लगाएँ, उनका ससुरा साओ साम टुनले १८ वर्ष शासन गरेका रहेछन्।

‘त्यसपछि त यो दरबार ओरालो लाग्यो, त्यसैले होला कि राजकुमारले मलाई बिहे गरेको,’ उनले भनिन्।

यसबारे मैले माइपानका राजकुमार उ साउ था थेनको पनि विचार जान्न चाहेँ।

'त्यो समय माइपानमा पढेलेखेकी केटी भेट्न मुश्किल थियो। अंग्रेजी जान्ने त झन् कोही थिँदै थिएन भन्दा हुन्छ,' राजकुमारले भने, 'खिन मान न्यूको अंग्रेजीमा राम्रो ज्ञान थियो। अंग्रेजी साहित्यमा पनि रुचि राख्थिन्। हाम्रो मन मिल्यो। बिहे भयो।'

उनीहरुको प्रेम र बिहेको कुरा सुन्दासुन्दै मैले पार्वतीलाई सोधेँ, ‘तपाईंको बाबाआमाको बारेमा नि भन्नु न।’

‘मेरो बाउ त फौजबाट रिटायर भएपछि कपडा व्यापारमा लागेको थियो,’ उनले सुनाइन्, ‘खुट्टा नचल्ने बिरामी भयो। उपचार गर्न भारत गएको फर्केरै आएन।’

‘चिठ्ठी पत्र?’

‘खोई उतै सानिमा बिहे गरेर बसेको भन्ने सुनियो। म २० वर्षको हुँदासम्म त चिठी आउँथ्यो। पछि त बाउ पनि खस्यो। छुटिगो नि,’ उनले भनिन्, ‘आमाले व्यापार, खेती गरेर मलाई र बहिनीलाई हुर्कायो। अहिले त आमा पनि छैन। बहिनी पनि ज्वाईं खसेपछि एक्लै छ।’

‘ए हे, अनि तपाईंको नेपाली भाषा त कस्तो राम्रो लाग्यो,’ मैले उनको नेपाली बोलीमा प्रतिक्रिया दिएँ।

मैले करबल गरेपछि पार्वती देवी नेपालीमै बोल्न थालेकी थिइन्। दुई घन्टाको बसाइमा पछिल्लो १५ मिनेट त नेपालीमै बोलेर अन्तर्वार्ता रेकर्ड गराइन्।



माइपानमा दुई घर छ नेपालीभाषी बर्मेलीको। एक जनाले चियाको दोकान गरेको छ। अर्को घर देवीको हो। देवी श्यामा (शिक्षिका) छिन्। पार्वती उनीहरूसँग कहिलेकाहीँ नेपालीमै बोल्छिन्। फर्रर बोल्न सक्दिनन्। उनीहरू पनि सक्दैनन्। अक्मकिन्छन्।

‘मर्यादा मिलाएर बोल्न जान्दैनौं हामी,’ उनले भनिन्।

‘यहाँ पहिलेदेखि नै नेपालीभाषीहरू यति थोरै कि?’ मैले सोधेँ।

त्यहाँ नेपालीभाषीको संख्या पहिले तीन–चार सय घर भएको मलाई जानकारी थियो। तै उनलाई सोध्न मन लाग्यो।

‘होइन नि, पहिला त नेपालीहरूको गाउँ थियो। बर्मामा सन् १९६२ देखि सेनाको शासनसँगै सबै सम्पत्ति सरकारीकरण भयो। यतातिर बर्मेली सेनाविरुद्ध शानीहरूले सशस्त्र विद्रोह गर्न थाले। दुवैको चेपुवामा परेपछि कति नेपाली आफ्नो देश फर्के। कति भारत गए। कति सहरतिर गए। यता त कोही कोही मात्र पो बाँकी रह्यो,’ उनले विस्तार लगाइन्।

म्यानमारमा कुनै समय तीन लाखभन्दा धेरै नेपालीभाषी थिए। सरकारी तथ्यांकले अहिले एक लाखभन्दा कम देखाउँछ। पूर्वराजकुमारीले पनि नेपालीहरू खेतीपाती, पशुपालन गर्दै म्यानमारमा बसेको र विस्तारै व्यापारतिर लागेको बताइन्।

मैले फेरि उनलाई दरबारतिर फर्काउन चाहेँ, ‘अहिले पनि राज्यले सेवा सुविधा दिन्छ होला नि तपाईंहरूलाई, पूर्व राजपरिवार भनेर?’

‘कहाँ दिनु। कहिलेकाहीँ ठूला सभा–सम्मेलनमा भाग लिन जाँदा मात्र दिन्छ। राजाको सन्तान भए पनि के गर्नु? सुसारेहरू कोही छैनन्। हामी धेरै पैसावाला हैन। गरिब भयो नि, राजाको सन्तान भनेर के गर्नु?’ उनले भनिन्।

दरबारको हालत उनको भनाइसँग मिल्थ्यो। मैले सुरुमै देखेको त्यो अतिसामान्य कोठा दरबारको यथास्थिति बुझ्न पर्याप्त थियो। भत्कँदै गएका दरबारका अरू कोठा, पर्खाल र भर्याङ मेरा सहकर्मीहरूले बर्मेली भाषामा बन्दै गरेको डकुमेन्ट्रीका लागि खिच्दै थिए।

‘२० वर्ष त अझै टिक्छ भनेको छ यो दरबार,’ पार्वती देवीले भनिन्, ‘कति ठूलो बगैँचा थियो, सुसारे घरहरू थिए, आधा त बेचेर खाइसकियो।’

उनका अनुसार राजाका जेठा सन्तान अस्ट्रेलियामा बसाइँ सरेछन्, सैनिक शासनकै बेला। माइलो भने म्यानमारको पुरानो राजधानी यंगुन गएर बसेछन्। कान्छा पूर्वराजकुमार र यी नेपालीभाषी बर्मेली अधिराजकुमारी अंग्रेजी भाषामा ट्युसन पढाएर जिन्दगी बिताउँदै छन्।

‘६०, ७० जना विद्यार्थी छन्। मैले मात्र हैन, पूर्वराजकुमारले पनि अंग्रेजी ट्युसन पढाउँछ। त्यसैले जिन्दगी चलेको छ,’ पार्वती देवीले खुसीसाथ हाँस्दै भनेकी थिइन्।

‘धनको गरिब मात्रै हो,’ पूर्वअधिराजकुमारीले छुट्टिने बेला थपिन्, ‘ठ्याक्कै कहाँ पढेको सम्झना छैन, बूढी पनि त भएँ। पढेको कुरा भने यस्तो थियो– जबसम्म हामी आफ्नो इतिहास बताउन सक्छौं, जबसम्म हाम्रा कथा बाँकी रहन्छन्, तबसम्म हामीलाई कसैले पराजित गर्न सक्दैन। जब हामी इतिहास बिर्सन्छौं, हाम्रा कथा सकिन्छन्, त्यसपछि हामीलाई कसैले पराजित गर्नै पर्दैन, हामी आफैं सकिन्छौं।’

उनले ठ्याक्कै यही त भनेकी थिइनन्। भनाइको आसय भने यस्तै थियो।

‘अबो त हामी सकिनु लाग्यौं,’ उनले कुरा टुंग्याइन्।

(बर्माको जागिरे कालमा मैले सेतोपाटी सहित नेपालका केही अनलाइन र पत्रिकामा बर्माको बारे लेख, फिचर, समाचार लेखें। ती मध्ये सेतोपाटीमा छापिएको यो पहिले लेख हो। जुन साउन २८, २०७५, मा छापिएको थियो)

Tuesday, November 7, 2017

धर्म र राजनीति

विश्वभर म्यानमारबाट रोहिंज्या मुसलमान खेदिएका भन्दै आङ सान सू चीको आलोचना भइरहेको छ। तर रोहिंज्याको विपक्षमा बोलेरै म्यानमारमा अधिकांश वौद्धमार्गी बर्मेलीबीच सू चीको लोकप्रीयता थप बढेको देख्न सकिन्छ। रोहिंज्या काण्डले नै म्यानमारमा त्यस्तै लोकप्रीयता सू चीसँगै सरकार सञ्चालनमा सहकार्य गरिरहेको सैनिक नेतृत्वको पनि बढिरहेको भान हुन्छ।

सू ची र सेनाको समर्थनमा याङ्गुनमा मात्र पटक पटक हजारौंले प्रदर्शन गरिरहेका छन्। अब आउने चुनावमा वर्मा जातिको भोट पाउन सू चीलाई थप सहयोग हुने आंकलन वर्मेलीको छ।

उता बंगलादेशमा पनि रोहिंज्याहरुलाई शरण दिएको भन्दै कुनै समय तानाशाह भनी सकएकी प्रधानमन्त्री शेख हसिनाको लोकप्रियता बढेर नोबेल शान्ति पुरस्कारको माग भइरहेको छ। एउटा अल्पसंख्यक धार्मिक समूह विस्थापित हुँदा दुबै देशका सरकार प्रमुखहरुले राजनीतिक फाइदा लिइरहेका छन्। धर्म र राजनीति...

Saturday, June 11, 2016

माइक्रोमा स्टिम बाथ

नारानघाटअड एसीवाला भनी चढाओ। रामनगर नपुग्दै बिहेमा माड घुम्ने गतिमा छ, माइक्रो जामले। एसी चलाउन छोडो। नेपालीले नि ज्याकुजी र सोनाबाथको अनुभव लिउन् भनेर होला जापानीले हायस माइक्राको झ्याल नि बिरालोको टाउको नछिर्ने बनाएछन्। 15 सिटे गाडीमा 25 जना फ्री स्टिम बाथमा छम्, हजूर।

Thursday, June 9, 2016

शौचालयमा प्रयोग हुने सेन्ट

( विप्लव माओवादीले आव्हान गरेको बन्दका कारण ) कार्यालयसम्म डेढ घन्टा हिंडेर आउँदा पसिनै पसिना भइयो। अरुलाई गन्ध नराम्रो लाग्ला भनेर अफिसमा देखेको 'सेन्ट' जिउभरी छरें। पछि यसो घोरिएर बोतल हेरेको त शौचालयमा छर्ने 'सेन्ट' पो रहेछ। केही विखत् त नगर्ला नि...।

Thursday, June 2, 2016

माइक्रो बसको यात्रा

म - के भो? 
चालक- ५ सयको चिट काट्यो। ४ सय हातमा हाल्दें। ७ जना बढी यात्रु लाँदा कमाइभएको ३ हजारमा ९ सय रुप्पे खर्च भो। 
म- अनि लाइसेन्स लिए? 
चालक - छैन। भए पो लिन्छ, अस्ति डुम्रेमा २ जना मान्छे मारेको भएर मेरो लाइसेन्स त अदालतमा छ। समिति ( पृथ्वी राजमार्ग माइक्रो बस सञ्चालक समिति) ले सात लाख तिरिदिएर केस मिल्यो। अब लाइसेन्स पाइन्छ।
म- राधे राधे। 

पोखराबाट काठमाडौं आउँदै गर्दा १४ यात्रु बोक्न अनुमति पाएको माइक्रो बसमा २१ जना थियौं। मुङलिङ नजिकै ट्राफिकले चालकसँग लाइसेन्स मागेका थिए। गाडीबाट ओर्लिएका ड्राइभर १० मिनेट जति पछि आए। 

त्यसपछि काठमाडौंसम्मको ३ घन्टाको घुमाउरो यात्रामा चालक भाइ २ घन्टा जति घरी 'काठमाडौं छु' भन्दै घरी 'पोखरा छु' भन्दै फरक फरक मान्छेसँग मोबाइल फोनमा व्यस्त भइरहे र जाममा बाहेक अन्यत्र बेतोडले गाडी उडाइरहे। एक दुई पटक 'गाडी रोकेर फोनमा कुरा गरम्न सर' भनें। 'अंकल पनि कति डराको हो, गिदी नगर्नु नि' भन्दै जवाफ फर्काए। तै पनि काठमाडौं आएर जिउ र छतमा राखेको झोला छामछुम पार्दा सबै ठिक छ हउ हजुर।

Tuesday, August 25, 2015

पुरानो कपडा लगाउँदा होस गर्नु

अलिक पुरानो जिन्स पेन्ट लाउँदा निकै होस गर्नैपर्ने रहेछ । लगाइरहेको जिन्स पेन्ट कमाकिइसकेको (मक्किइसकेको) रहेछ, पत्तो भएन । मोटरसाइकबाट ओर्लदाँ जाँघमा तीन इन्च जति च्यातिई त गो । आफू भने कार्यक्रमको अतिथी बन्न हिंडेको । पाइन्ट भित्र घुसारेको लामो सर्टलाई बाहिर ल्याएर, छोपेर काम चलाइयो। हास्नुपर्ने कारण धेरै छन् हा हा हा...

Monday, August 11, 2014

के हेर्दैछ सरकार ?

सुनकोशीमा पहिरो गएको ठाउँमा साझा सवाल रेकर्डिङ गर्न आउँदाको अनुभव नि एउटा- टेलिभिजन क्यामेराको पृष्ठभूमीमा सिन्धुपाल्चोकका सिडियो सुनकोशी पीडितहरुलाई राहत सामाग्री वितरण गर्दै थिए, सशस्त्र/नेपाल प्रहरी र नेपाली सेनाका सैनिकहरु उद्वार र खोजीको कार्य गर्दै थिए अनि क्यामेरा अगाडि रिपोर्टर कराउँदै थिए, खोई सुनकोशीमा सरकार ? किन अहिलेसम्म सरकार यहाँ आउन सकेको छैन? किन अहिलेसम्म राज्य विहिनताको स्थिति छ यहाँ ? I Like the style of this reporter, हरे राम।

त्यसमा इश्वर रौनियार मित्रले थपेका :  साथमा एक जना पिडीत भन्दै थिए - सिडियो, डिएसपी, मन्त्री, सेना, प्रहरी, नेता सबै आए, कुरा बुझे राहत नि दिए तर सरकारलाई भने अहिले सम्म देख्न पाएको छैन । अनि रिपोर्टर साथीले क्यामेरामा हेर्दै भन्नु भयो - यो राज्य विहिनताको स्थिति हैन ? के हेर्दैछ सरकार? कहाँ छ सरकार?

Saturday, February 22, 2014

पाइलटको मापसे चेक

'धेरै झैं पाइलटले रक्सी खाएरै जहाज उडाउने थालेकाले मैले त ब्रेथलाइजर राखिदिएको छु । एयरपोर्टमा मापसे चेक गरेर मात्रै जहाज उडाउन दिन्छु' हिजै एकजना मित्रले आफूलाई एउटा बायुसेवा कम्पनीको साहुले भनेको भन्दै सुनाएका थिए आजै काठमाडौंबाट विराटनगर आइपुग्न डेढ घन्टा जति लाग्यो। हल्का सातो चाहिँ गयो।

१९ अर्ब अमेरिकी डलर जतिको कुरो जो छ

नेपालमा त्यो Whatsapp भन्ने एपले कतिको काम गर्छ कुन्नि ? त्यसबाट के के फाइदा हुने हो ? जे भए नि १० हजारको एन्ड्रोइड वाला सामसुङ मोबाइलमा Whatsapp हाल्न पर्यो भनेको। नेपालको झण्डै ४ वर्षको बजेट १९ खर्ब रुपैयाँ (१९ अर्ब अमेरिकी डलर) जतिको कुरो जो छ।

Wednesday, February 19, 2014

अलिनो बिहे भोज

हाउ.... तेह्रथुम सदरमुकाम म्याग्लुङ बजारमा लिम्बु साथीको बिहे भोजमा किन पो अलि नुन/पिरो कम भनेको, 'बिहे भोजमा चर्को पिरो खुवाए/खाए बुढाबुढीको झगडा पो पर्छ भन्ने हाम्रो मान्यता छ' भन्ने जवाफ पाइयो।

Saturday, February 15, 2014

थरिथरिका जिब्रोले गर्दा भान्सेले सुख नपाएपछि

थरिथरिका जिब्रोले गर्दा भान्सेले सुख नपाएपछि लेखेको रे। बसन्तपुर बजार, तेह्रथुमको होटल याकमा। भिमनिधि तिवारीले लेख्नुभएको कविता रहेछ।