बर्माको पुरानो राजधानी रंगुनबाट करिब छ सय किलोमिटर उत्तर मग्वे प्रान्तको यात्रामा जाँदै थियौं।
‘यी हेर त मुसलमान प्रवेश निषेध भनेर लेखिएको छ,' सहकर्मीले त्यहाँको फोटो देखाउँदै भने, 'तिमीलाई अप्ठेरो पर्ने हो कि?’
रङ र बनोट हेरेर मलाई मुसलमान ठानिएला भन्ने साथीलाई चिन्ता रहेछ।
मैले फिस्स हाँसेर टारेँ।
नभन्दै मग्वेको होटलमा बुफे डिनर खाँदा सुँगुरको मासु प्लेटमा हाल्न खोजेको थिएँ। वेटरले तीनपटक सतर्क गराए, 'पोर्क, पोर्क, पिग मिट, वाता (बर्मेली भाषामा सुँगुरको मासु)।'
सहकर्मीले जिस्क्याए, ‘देखिस्, तँलाई मुस्लिम ठान्यो।’
मैले ती वेटरलाई हिन्दु धर्मको थोरै पाठ सिकाएँ, ‘हेर! ब्राह्मण हिन्दु परिवारमा जन्मेकाले खासमा मैले सुँगुर खान हुन्न, तर परदेशको कुरो छ। बाआमाले थाहा नपाएसम्म चल्छ।’
मैले देब्रे आँखा झिम्काएँ।
बर्मामा जता जाँदा पनि नेपालीभाषी खोज्ने बानी परिसक्यो। रंगुनबाहिर जानु परे बर्मेली नेपालीभाषीका अध्यक्ष सागर घिमिरे र अरु केही अगुवालाई सोध्छु, ‘त्यहाँ नेपालीभाषी भेटिएला?’
मग्वेको नाम सुनेपछि उनीहरुले मुख बिगारे। दायाँबायाँ टाउको हल्लाउँदै भने, ‘अहँ, त्यहाँ त कोही भेटिन्न। बरु अलिक सतर्क हुनुपर्ला है।’
बर्माको मध्यभाग बर्मेलीहरूको मुख्य थातथलो हो। यहाँ बौद्धमार्गी बर्मेलीबाहेक अरु सितिमिति भेटिँदैन। मग्वे त्यही मध्यमागमा पर्छ।
छ करोड हाराहारी जनसंख्या रहेको बर्मामा करिब ७० प्रतिशत बर्मेली जाति छन्। यहाँका सबैजसो पहाड र सिमानामा विभिन्न जातका आदिवासी र आप्रवासीको बसोबास छ। धार्मिक हिसाबले ८८ प्रतिशत बौद्धमार्गी छन्। बाँकी क्रिश्चियन, मुसलमान, प्रकृतिपूजक, हिन्दु र अन्य।
तीन दिनको परिश्रमपछि इन्द्रमाया वाग्ले र उनका श्रीमान् वासुदेव काफ्ले भेटिए।
वासुदेव १२ वर्षदेखि त्यहाँको हिन्दु मन्दिरमा पूजारी भएर बसेका रहेछन्। मलाई देख्नासाथ हिन्दीमा बोले। उनलाई म भारतीय हुँ भन्ने लागेछ। धेरै बर्मेलीलाई यस्तै लाग्छ। उनीहरु मलाई भारतीय मुसलमान ठान्छन्। त्यसमाथि नेपाली कहिल्यै नपुग्ने मग्वेमा वासुदेवको अनुमान स्वाभाविक थियो।
म नेपाली हुँ भन्ने थाहा पाएपछि उनी छक्कै परे। खुसी पनि भए।
‘अनि एक्लो लाग्दैन त?’ मैले कुराकानी सुरु गर्दै सोधेँ।
वासुदेवले जवाफ दिए, ‘अब त बानी परिसक्यो। १२ वर्षदेखि यहीँ बसिएको छ। पहिला फोन सम्पर्क केही नहुँदा त बसियो, अब अहिले त फोन छ।’
उनले अगाडि भने, 'हामीकहाँ कोही नेपाली नआउँदा पनि यी भगवान त हाम्रै हुन् नि। यिनै भगवानको मुख हेरेर न्यास्रो मेट्यो, बस्यो।'
उनको कुरा नसकिँदै इन्द्रमायाले थपिन्, ‘छोराछोरी नहुँदा दिक्कै लाग्थ्यो नि। अहिले त छोराछोरी छन्। यिनसँग बोल्यो बस्यो।’
कतिपय नेपालीभाषी गोर्खाली-बर्मेलीका छोराछोरीलाई नेपाली बोल्न सकस परेको मैले देखेको छु। इन्द्रमाया र वासुदेवका १० वर्षे छोरा र ७ वर्षकी छोरी भने शुद्ध नेपाली बोलिरहेका थिए। कपीको सट्टा पुस्तिका भन्थे। स्कुल नभनेर पाठशाला।
‘यो मन्दिर १२५ वर्षअघि गोर्खाली फौजले बनाएको हो। यहाँ पूजारी बस्ने कोही भएनछ। हिन्दु धर्म मान्ने भारतीय बर्मेलीले पूजारी खोज्दै गरेको मैले थाहा पाएँ,' वासुदेवले यति भनेपछि मन्दिरमा गोर्खाली फौजले बनाएको निशानी खोज्न मन लाग्यो।
‘पहिले क्रस खुकुरीको निशानी थियो नि गेटमा,’ इन्द्रमायाले सम्झिइन्।
मैले खोज्न दुःख दिएँ। घन्टौं खोज्दा पनि भेटिएन।
‘मेरा जजमान ४० घरजति छन्, सबै भारतीय बर्मेली हुन्। हिन्दु धर्म मान्छन्,’ वासुदेवले भने।
'त्यसो भए त अलि अलि समाज रहेछ नि,' मेरो यस्तो प्रतिक्रियामा उनले भने, ‘के को समाज, कसैले त हिन्दी बुझ्दैनन्। बर्मेली भाषा मात्र बोल्छन्। कति 'काव्या' भइसके, कति पूरै बर्मेली।’
यहाँ आप्रवासीले आदिवासी वा रैथानेसँग बिहे गरेर जन्मेको सन्तानलाई 'काव्या' भनिन्छ। आफूलाई वासुदेवको ठाउँमा राखेर सोचेँ, ‘ओहो! १२ वर्षसम्मको यस्तो बसाइ, जहाँ आफूसँग संस्कार र सँस्कृति मिल्ने, मातृभाषा बोल्ने भनेको श्रीमती र साना छोराछोरी मात्र।’
वासुदेवले थपे, ‘मेरा जजमान न छोराछोरी जन्मँदा न्वारन गर्छन्, न मातापिताको श्राद्ध।’
मलाई वासुदेवको जजमानले न्वारन र श्राद्ध नगरेको भन्दा पनि यिनको दक्षिणा गुमेकोमा पिर लाग्यो। सोधेँ, 'अनि तपाईं त पूजारी, कसरी चल्छ त घरखर्च?
‘त्यो त मन्दिरको व्यवस्थापन धनी छ। राम्रै तलब महिनावारी दिन्छन्। हामीले यहाँबाट दुई सय किलोमिटरजति पर मान्डलेमा नेपालीहरूको बस्तीनजिकै जग्गा किनिसकेका छौं,’ इन्द्रमायाले थपिन्।
‘यो नेपाली फौजले बनाएको मन्दिर भनेर मलाई यहीँका एक जना तीनफित्ते गोर्खाली विश्वकर्माले पनि भनेका थिए,’ वासुदेवले सम्झिए, ‘तिनका तीन छोराले सबै बर्मेलीसँग बिहे गरे। तिनका सन्तानले नेपाली जान्दैनन्। यो मन्दिरमा पनि आउँदैनन्। बौद्धमार्गी भए होलान्।’
तीनफित्ते भनेको बर्मेली सेनामा हवल्दार। ती तीनफित्ते विश्वकर्मा बितिसकेछन्। तिनका छोराहरूलाई भेट्न चाहे पनि पत्ता लगाउन सकिएन।
वासुदेव ७२ वर्षका भए। नेपालीभाषीको बाक्लो बस्ती भएको उत्तरी भेग कचिन प्रान्तको मेचिनामा जन्मेका। उनका बुवा अंग्रेज फौजमा भर्ती भएर बर्मा ल्याइएका हुन्।
‘बर्मामा त रुखमा पैसा फल्छ भन्ने गफ दिएर नेपालीलाई ल्याएका हुन् नि त फौजीहरूले। हाम्रा बाले भन्नुहुन्थ्यो, पैसा रुखमा फल्छ भनेपछि रुख चढ्न रिप्पु राई काका गाउँबाट सबैभन्दा अगाडि लाएर हिँडेका थिए रे,’ उनले भने।
वासुदेवलाई नेपालमा आफ्नो थातथलो यकिन सम्झना छैन। यत्ति सम्झन्छन्, ‘बाले हामी नेपालको इलामबाट आएको हौं भन्नुहुन्थ्यो।'
इलाम भनेको कता हो, उनलाई पत्तो छैन।
बर्माका पहाड र फाँटमा मन लागेजति खोरिया फाँडेर बस्न पाइने बेलाको कुरा हो यो। सन् १९४०-५० को दशक।
बर्माको माटै मलिलो। त्यसमाथि राम्रो वर्षा हुने। टन्न घाँसे मैदान। फाँट। त्यसैले लोभिएर यतै खेतीपाती र पशुपालन गरेर बिते वासुदेवका आमाबा।
बीस वर्षको उमेरसम्म वासुदेवले पनि खेतीपाती र गाईभैंसी रेखदेख गरेरै बिताए। अंग्रेज शासनबाट बर्मा स्वतन्त्र भएको केही समयमै कचिन विद्रोहीहरूले राज्यविरुद्ध सशस्त्र संघर्ष सुरु गरे। त्यो विद्रोह चलिरहेकै छ।
‘बागी निस्केपछि खेतीपाती छाडेर पूजारी बन्न हिडेँ,’ वासुदेवले भने।
बर्मेली नेपालीहरु विद्रोहीलाई कि 'बागी' भन्छन्, कि 'जंगली'। अहिले पनि यहाँका विभिन्न राज्यमा एक दर्जनभन्दा धेरै सशस्त्र समूह स्वायत्त शासनसहितको संघीयता माग गर्दै सक्रिय छन्।
पचास वर्षअघि पूजारी बनेका वासुदेव कहिले कचिन प्रान्तको मन्दिर, कहिले मान्डले प्रान्तको त कहिले कया प्रान्तको मन्दिर हुँदै अहिले मग्वे मन्दिरको पूजारी हुन आइपुगेका छन्।
उनकी पत्नी इन्द्रमाया ४८ वर्ष पुगिन्। उनका हजुरबा नेपालबाट आएका हुन्। कहाँबाट आए, उनलाई थाहा छैन। उनका बुबाआमा यहीँ जन्मिए।
मैले सोधिहालेँ, ‘नेपालसँगको साइनो नि?’
उनले फुपू काँकडभिट्टामा रहेको बताइन्। बर्माबाटै सन् १९६० दशकमा फर्केर गएकी।
नेपालीहरूको बाक्लो बस्ती भएको अर्को पहाडी क्षेत्र मोगोकमा जन्मेकी इन्द्रमायाले नौ कक्षासम्म अध्ययन गरेकी छन्।
‘९ कक्षा पढ्दा पढ्दै देशमा आन्दोलन भयो, शिक्षकहरू हामीलाई पनि लिएर आन्दोलनमा गए। आन्दोलनको छैंठौं दिन हाम्रा आँखाअगाडि विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित २५ जनालाई सैनिकले गोली ठोकेर मारे। त्यसपछि बुवाले भो पढ्न पर्देन भन्नुभयो। अनि पढाइ छुट्यो,’ इन्द्रमायाले सुनाइन्।
यो घटना सन् १९८८ अगस्ट ८ देखि तत्कालीन सैनिक शासनविरुद्ध बर्मेली जनताले गरेको आन्दोलनको हो। १९८८ को आठौं महिना (अगस्ट), ८ तारिखबाट सुरु यो आन्दोलनलाई बर्माको इतिहासमा '८८८८' भनेर चिनिन्छ। यहाँ तीन हजारभन्दा धेरै बर्मेली सहिद भएका थिए। कतिपयले आन्दोलनमा मृत्यु हुनेको संख्या दस हजारसम्म पुगेको अनुमान गरेका छन्। यही आन्दोलनबाट बर्मेली प्रजातान्त्रिक नेतृ आङ सान सू चीको उदय भयो।
‘मेरी आमाले १४ जना सन्तान जन्माउनुभयो, हामी १३ जना अझै छौं,’ इन्द्रमायाले भनिन् 'मेरो काकाको पनि एकै आमाबाट १४ जना छोराछोरी थिए।'
उनले यति भनेपछि मैले सोधेँ, ‘त्यो बेला धेरै सन्तान जन्माउने चलन रहेछ है नेपाली बर्मेलीको?’
मैले भेटेका ४० वर्षभन्दा बढी उमेरका धेरैजसो नेपाली बर्मेलीका सात-आठ जनाभन्दा धेरै दाजुभाइ, दिदीबहिनी छन्।
इन्द्रमायाले खेतीपाती प्रशस्त भएपछि सन्तान जति जन्माउँदा पनि फरक नपर्ने बताइन्। पढाइ रोकेपछि व्यापार गर्दै चीन र भारतको सिमानासम्म पुगेकी इन्द्रमायाले बिहे गर्ने फुर्सदै पाइनछिन्।
‘बिहे गर्ने १८-२० वर्ष उमेरमा म थलिने गरी बिरामी परेकी थिएँ। त्यही भएर मेरो बिहे ३५ कटेपछि भयो।’
मैले हिसाब निकालेँ। श्रीमान् र श्रीमतीको उमेरमा २४ वर्षको फरक रहेछ।
‘वासुदेवजी, तपाईंले त ६० लागेपछि पो बिहे गर्नुभएको रहेछ, कुमारै हुनुहुन्थ्यो,’ मैले जिस्काएँ।
‘मेरो त १७ वर्षमै बिहे भएको थियो। पहिलेकी श्रीमतीबाट तीन छोरा र एक छोरी छन्। सबैले घरबार सम्हालिसके। कान्छी छोरी नै उमेरमा ३० काटिसकी। जेठी श्रीमती बिरामीले बितेको १० वर्षपछि यिनीसँग भेट भयो,’ वासुदेवले आफ्ना नक्कली दाँत जिब्रोले सार्दै भने।
पाँच सय किलोमिटर पूर्व-पश्चिम मेचिना र मोगोकका यी दुईको बिहे इन्द्रमायाका दाइले गराइदिएका रहेछन्।
‘यिनका दाइ पनि मन्दिरका पूजारी नै हुन्, पूजारी-पूजारी भेट हुँदा खैखबर सोधपुछ भयो, प्रसंग निस्क्यो, अनि बिहे भयो,’ वासुदेवले अनुहारमा चमक ल्याएर भने।
उनकी छोरी थाइल्यान्डमा काम गर्दी रहिछन्। छोरीले पठाएको मोबाइलबाट उनी नेपालको सूचना थाहा पाउँछन्। आफूले पाएको पछिल्लो सूचनाअनुसार उनले मलाई सोधे, ‘नेपालमा असाध्यै धेरै बलात्कार हुँदोरहेछ है?’
त्यसैमा थपे, ‘सडक दुर्घटना पनि बेसी हुन्छ नेपालमा?’
छोरीले पूजारी बुवालाई सजिलो होस् भनेर ‘हाम्रो पात्रो’ एप्स डाउनलोड गरी मोबाइल पठाएकी रहिछन्। वासुदेव हाम्रो पात्रोबाट आउने सूचना रिठ्ठो नबिराई श्रीमतीलाई सुनाउँदा रहेछन्।
‘यहाँ मन्दिरमा भएको भारतीय क्यालेन्डरमा अगस्ट १५ तारिखमा नागपूजा थियो, यो मोबाइलमा अगस्ट १६ तारिखमा देखेपछि मैले १६ मै गएर जजमानकहाँ नाग टाँसिदिएँ,’ हाम्रो पात्रो देखाउँदै वासुदेवले भने।
‘नेपालमा डाक्टर पनि धेरै रहेछन्,’ नेपालका पछिल्ला समाचारबाट बढी नै प्रभावित देखिएका वासुदेवले बलात्कार, सडक दुर्घटनापछि गोविन्द केसी र डाक्टरहरूको आन्दोलन सम्झिए अनि मलाई सोधे, ‘विदेशमन्त्री केपी ओली पनि डाक्टर हुन्?’
आङ सान सू ची विदेशमन्त्री भएकाले वासुदेवले ओलीलाई परराष्ट्रमन्त्री ठानेको मैले अड्कल काटेँ।
‘छोराछोरी यहाँ रमाएका छन् त,’ हिँड्नुअघि मैले सोधेँ।
जवाफ दिन इन्द्रमाया अघि सरिन्।
भनिन्, 'यिनीहरू पढ्ने स्कुलमा अस्ति छोरालाई ‘कला’ भनेर कुटेछन्। साथीहरूले दुःख मान्दै थियो। मैले स्कुल गएर कुरा गरेपछि शिक्षिकाले अरु विद्यार्थीलाई ‘यिनीहरू पूजारीका छोराछोरी हुन्। माछामासु केही खान्नन्’ भनिछन्। अहिले त साथीहरूले माया गर्छन् भन्छ केरे।’
बर्मेलीले आफ्नो जातिबाहेकलाई हेय दृष्टिले प्रयोग गर्ने शब्द हो- ‘कला’।
मुसलमानविरुद्ध जातीय हिंसा भड्किदा ‘कला’ लाई खेद्नुपर्छ, मार्नुपर्छ लेखिएका फेसबुक स्ट्याटस यहाँ धेरै देखिएका थिए। अधिकारकर्मीहरूले फेसबुकसमक्ष यसको उजुरीसमेत गरेका थिए।
त्यसो त भिक्षुलाई असाध्यै धेरै श्रद्दा गर्ने बौद्धमार्गीहरूको देश बर्मामा हिन्दु मन्दिरका पूजारी पनि सम्मानित नै छन्। फेरि जुनसुकै हिन्दु मन्दिरमा हिन्दु देवीदेवता समान बुद्ध मूर्ति राखेर पूजा गरिएकै हुन्छ।
‘अब धेरै त यहाँ बसिँदैन पनि। पाँच वर्षपछि छोराले १० कक्षा सक्छ, त्यसपछि मान्डले जाने हो, नेपालीहरूको बस्तीनजिकै घर बनाएर पसल खोल्ने योजना छ,’ इन्द्रमायाले भनिन्।
इन्द्रमायाको जोडीसँग विदा मागेर म डकुमेन्ट्री फिल्म खिच्न गाउँतिर लागेँ। हामी मुसलमान प्रवेश निषेध लेखिएको गाउँको दृश्य खिच्दै थियौं। सहकर्मीहरू गाउँलेले माया गरेर ल्याइदिएको चिसो पेय पिइरहेका थिए। मैले नपिएको देखेर एक जना वृद्धाले सोधिन्, ‘किन केही नपिएको?’
मैले यसै ‘म यस्ता पेय पिउन्नँ। दूध, मही, ताजा फलफूलका रस मात्र खान्छु’ भनेँ।
हामी डकुमेन्ट्री खिचेर होटल फर्कन गाडीमा बसिसकेका थियौं। ७० वर्ष कटेजस्ती देखिने ती बर्मेली महिला एक गिलास तातो दूध लिएर गाडीमा आइन्। भनिन्, ‘तिमीले दूध खान्छौ भनेर म पल्लो गाउँ पुगेर खोजेर ल्याएकी।’
परदेशमा आफ्नी आमा सम्झेर आँखा रसाए।
कहाँ मुलसमान प्रवेश निषेध लेखिएको गाउँ, कहाँ म ठ्याक्कै मुसलमानजस्तो देखिने केटाका लागि बौद्धमार्गी आमाले दुई घन्टा खर्चेर ल्याइदिएको तातो दूध!
(सेतोपाटीमा पहिलोपटक दिपक भट्टराई को बाइलाइनमा मग्वे (म्यानमार) बाट भदौ १४, २०७५ मा प्रकाशित)
No comments:
Post a Comment
Please leave your comment here