Sunday, April 22, 2012

यहाँ खसाएको चिठ्ठी कहाँ पुग्ला?

विदेशीले यो पत्र मञ्जुषा देखे भने नेपालको कस्तो सोच बनाउलान्? सुन्धारा काठमाडौं मल नजिकको एउटा पत्र मञ्जुषा। देश बनाउँछौं भन्नेहरुलाई ठूलठूला कुरामा ध्यान छ यस्तो कुरामा कस्को ध्यान जाओस्।
तर खसखस लागेको कुरा चाहिँ यहाँ खसाएको चिठ्ठी कहाँ पुग्ला?

एक बोतल बियर; तीन घन्टा गनथन

हिमचिम भइनसकेको मानिससँग सोमरस पिउँदा कहिलेकाहीँ लाग्छ; यो मादक पदार्थको संगत नगरेकै भए बेस हुन्थ्यो। मैले पिएको दुई बोतल बियर वा तीन पेग व्हिस्कीको पैसा तिमीले तिरिदियौ भन्दैमा दुई/तीन घन्टासम्म तिम्रो पारिवारिक इतिहास, विश्वको भुगोल, मार्क्सको अर्थशास्त्र र देशको राजनीति सुन्न वाध्य म जस्तै साथीभाइ प्रति आज समवेदना प्रकट गर्दछु।

Saturday, April 21, 2012

मास्क (नाके लंगोटी) को व्यापार

सडक बिस्तार गर्ने भनेर पर्खाल र केही घर त भत्काइए। तर बेलैमा भत्काएका सामाग्री उठाएर व्यवस्थापन नगर्दा जताततै धुलो भएर हिंडी साध्य छैन काठमाडौंमा। कसैलाई 'फ्री'मा व्यापार आइडिया चाहिया भए: काठमाडौंमा सडक बिस्तार भाका ठाउँतिर गएर मास्क (नाके लंगोटी) को दुकान थाप्ने हो भने खुब चल्दो हो।

Thursday, April 19, 2012

३४ हजारबाट तीन हजार

मोटामोटी हिसाब: पहिले - ३४ हजार, अनमिन पहिलो प्रमाणिकरण - २३ हजार, अनमिन दोस्रो प्रमाणिकरण - १९ हजार, शिविरमा भेटिएका - १६ हजार। पहिलोपटक सेनामा जान इच्छुक - ९ हजार पाँच सय। अहिले सेनामा जान चाहने - ३ हजारको हारहारीमा। सेनाको ६ महिने तालिममा कति भाग्लान्, कतिले छाड्लान्। अन्तिममा त साँच्चै 'जनमुक्ति सेना'बाट नेपाली सेनामा समाहित हुने माओवादी सेना कति होलान् ? समयले बिस्तारै सबैलाई थकाउँदो रहेछ/ गलाउँदो रहेछ।

Saturday, April 14, 2012

विदेशमा ज्योतिषको माग

विदेशमा रहेका नेपालीहरुले नेपालबाट बेलाबेलामा कलाकार बोलाएर मनोरञ्जन गर्ने गरेको त थाहा थियो तर आज नयाँ कुरा थाहा पाइयो; कहिलेकाहीं ज्योतिषी पनि बोलाएर भाग्य देखाउने गरेका रहेछन्। कलाकारले भन्दा विदेश आउने ज्योतिषीले धेरै पैसा लिएर स्वदेश फर्कन्छन रे।

Saturday, April 7, 2012

चिन्ता वुद्ध र सगरमाथाको

संसारका जहाँ पुगेका नेपालीबाट पनि एउटा चिन्ता सुन्न पर्छ : ' कि त वुद्ध भारतमा जन्मेको भनेर लेखेका छन् यहाँका किताबमा कि सगरमाथा तिब्बतमा छ भनेर पढ्छन् यहाँका बालबालिका। कति मन्त्री, नेता, राजदूतलाई सच्याउनका लागि पहल गर्न भनियो सुन्दै सुनेनन्।'

Thursday, April 5, 2012

ओलम्पिकमा स्वर्ण जित्नेलाई एक करोड

सरकारले गज्जब निर्णय गरेछ त : ओलम्पिकमा स्वर्ण पदक जित्ने नेपाली खेलाडीलाई एक करोड रुपैयाँ दिने रे। अहिलेको अवस्थामा ओलम्पिक त के एसियाली प्रतियोगितामा पनि पदक जित्ने लक्षण छैन। निर्णय नै गर्न त कोही नेपाली चन्द्रमा पुगे भने १० करोड रुपैयाँ दिने फरमान जारी गरिदिए पनि भो नि।

कति हुन् जापानमा नेपाली रेष्टुराँ

हैन हउ लाखे, भारतीय, तिब्बती वा एसियन जे लेखे पनि नेपालीले जापानमा चलाएका जति रेष्टुराँ नेपालमै चाहिँ नेपालीले चलाएका छन् कि छैनन् जस्तो पो लाग्न थाल्यो त। जो पनि रेष्टुराँका साहु भेट हुन्छ त जापानमा त। एक जना जाने बुझेका जापानबासी नेपालीले भन्थे नेपालीले खोलेका करिब एक हजार  रेष्टुराँ होलान् जापानमा।
जे होस् संसारमा अन्यत्र जे भए भने जापानमा चाहिँ नेपालीले 'भारत' नामलाई मस्तै बेचेका रहेछन्। नेपालीका हरेक रेष्टुराँमा इन्डियन लेखेका र कतिपयमा त भारतको झण्डा पनि राखेका रहेछन्। जापानमा करिब ३०, ५० लाख रुपैयाँ खर्च गरेपछि रेष्टुराँ खोल्न पाइने रहेछ र रेष्टुरेन्ट खोलेपछि नेपालबाट कुक भनेर दुई, तीन जनलाई जापान ल्याउन पाइने रहेछ। एक जनालाई जापान ल्याउँदा १२/१५ लाख रुपैयाँ लिएपछि आफ्नो लगानी पनि उठ्ने रहेछ। त्यसैले कतिले त महिना दुई महिनामा रेष्टुराँ परिवर्तन गर्दै पनि हिड्ने रहेछन्। तर सबै रेष्टुरेन्ट त्यस्ता भने छैनन्। कुनै साँच्चैका राम्रा चलेका नेपाली रेष्टुरेन्ट पनि छन्।
यहाँ कसैको भिसा सकियो भने पनि उसले रेष्टुराँ खोलेर बस्ने रहेछन्।

Wednesday, April 4, 2012

तारा हेर्न नेपाल

‎'जहाँतही हुने झिलिमिलीको बीच रातीमा आकाशको तारा राम्रो देखिन्न। त्यसैले नेपालमा तारा हेर्न आउने विचार गरेको छु' एक जना नेपालीलाई जापानीले भनेका रहेछन्। जाने त लोडसेडिङबाट पनि टुरिजम् क्षेत्रले फाइदा लिन सक्छ कि के हो ?

Monday, April 2, 2012

जापानमा ठमेल र मुस्ताङ बियर


जापानमा आज देखिएका दुई नयाँ चिज 1) मुस्ताङ नामको बियरको पोस्टर र 2) जापानमा ठमेल नाम राखेर खोलिएको पसल।
ब्रबिम कार्की भन्ने साथी भन्दैछन् : मुस्ताङ गाडी चढ्ने प्रधानमन्त्री बाबुराम भट्टराईले मुस्ताङ बियर त पिउन्नन् होला नि।

Sunday, April 1, 2012

परम्परागत पोशाक; नाइट ड्रेस

Narayan Shrestha सँग किमोनो (खासमा युकाता रहेछ पछि मात्र थाहा भयो; जापानी परम्परागत पोशाक)मा। जापानीले होटल बेडमा किमोनो राखिदिएका हुने रहेछन्, रात्री पोशाकमा प्रयोग गरोस् भनेर। यसो मनमा खेलेको हाम्रा होटलले पनि दौरा सुरवाल राखिदिए भने विदेशीले लाउँदा होलान् कि नाईं...

पत्रकार निर्यातमा नेपाल अग्रणी ?

हैन पत्रकार निर्यात गर्नेमा पनि नेपाल सबैभन्दा अग्रणी देशमा पर्छ कि के हो? जापानमा आएर यसो हिसाब गरेर ल्याउँदा जुन जुन विकसित देशमा पनि नेपाल पत्रकार महासंघको शाखा भाको पाइयो यस्तो तालले त कुनै दिन सबैभन्दा धेरै विदेशका शाखा भाको राष्ट्रिय स्तरको पत्रकारहरुको संगठनमा नेपाल पत्रकार महासंघ पर्छ कि जस्तो लाग्न थाल्यो।