Tuesday, March 5, 2013

खरबपतिलाई योगदान


विनोद चौधरीलाई अरबपति डलरको लिस्टमा टिकिरहन थप योगदान दिइयो । नेपाली रुपैयाँमा हिसाब गर्दा त अब खरबपतिको लागि पनि योगदान भयो ।
कार्यालय बाहिर खाजा खान पनि भ्याइएन कि मन लागेन। #waiwai जिन्दाबाद।
एक जना नेपाली संसारका अरबपति भएकोमा गौरव मानेका छौं । तर नेपालमा कर चाहिँ सही/सलामत नै तिरौं है।

Sunday, February 24, 2013

गाउँबाट आएको खवर

'पञ्चायत फालिएपछि नेपाली काँग्रेसको एकमना सरकार हुँदा काँग्रेसी भइकन शिक्षकमा स्थायी भएका थिए, एक जना दाजु । माओवादी शान्ति प्रकियामा प्रवेशसँगै माओवादीका नेता पनि भए, शिक्षक त छँदै थिए ।
अहिले आफ्नै पार्टीको सरकार भएको बेला भनेर खोलाखेतमा तटवन्ध बनाउने भन्दै जिविसबाट ४ लाख रुपैयाँ बुझेछन् । कामै नगरी कर्मचारीसँग मिलेर खर्च फर्स्यौट गरेछन्। गाउँमा खवर आएदेखि मान्छेहरु मुरमुरिएका छन्', गाउँबाट आएका आफन्तलाई खवर सोधेको थिएँ।

लाग्दैन कि बाडुली

माथि माथि आकाशमा सूर्यले खायो जुन
धर्तीमा मैले सकिन कि चिन्न मेरी प्रियतम हुन् कुन

उड्छ सँधै मन मेरो, तैपनि चरी हुन सकिन
रेल झैं दौडी आई तिमीलाई छुन सकिन

गुन्युचोली मिलाउँदै परालमा खेल्थ्यौं लडिबुडी
लाग्दैन कि आजभोलि तिमीलाई सम्झँदा बाडुली

वर्षेझरीले बढ्यो नदी, छैन घाटमा डुँगा
कहाँ छउ तिमी सँगीसँग, केवल छायाँ छ यहाँ।

Tuesday, February 19, 2013

पुस्तक पसलेको कथा

नारायणघाट शहरको चोकमा पुस्तक पसल थियो। पुस्तकबाट भन्दा भुटुवा-मासु (तास/सेकुवा) पसलबाट धेरै पैसा कमिने देखेपछि पसलेले पुस्तक पसल बेचेर १ किलोमिटर टाढा तास रेष्टुरेन्ट खोलेछन्।
आफूलाई पुस्तक पसल बेच्नेले भुटुवा-मासु पसल राखेर नाफा कमाएको देखेपछि नयाँ पुस्तक पसलेलाई लागेछ - मलाई भाडा तिर्न पनि धौ धौ हुने किताब पसल भिराएर आफूचाहिँ रेष्टुराँ चलाएर पैसा कमाउने।
लउजा भनेर भा'जति पुस्तक नयाँ पसलेले जलाएछन् र त्यहीँ भुटुवा-मासु कै रेष्टुरेन्ट खोलेछन्।
चोकको भुटुवा रेष्टुराँमा नाफा धेरै भएको सुनेपछि पुरानो पुस्तक पसलेले आफूलाई धिक्कारेछ, पहिल्यै मलाई त्यही चोकमा भुटुवा पसले खोल्ने वुद्धि किन आएन?

Tuesday, February 12, 2013

प्रचण्डलाई कस्तो पार्टनर चाहियो ?

प्रचण्ड - अहिले पनि मलाई गिरिजाप्रसाद जस्तै राजनीतिक पार्टनर चाहिएको छ ।
बाबुराम - हेटौंडा महाधिवेशनपछि हामी (प्रचण्ड र बाबुराम) एकले अर्काबाट छुट्याउन नसक्ने गरी एक भएर आएका छौं।
टिप्पणी : प्रचण्डलाई गिरजाबाबुलाई के दिंदा र'छन् हो, बाबुरामले पार्टनर मै छु नि भन्दा पनि नपुगेको ?

Thursday, February 7, 2013

प्रधान न्यायाधीश कि प्रधान सेनापति

माओवादीले प्रधानन्यायाधीसलाई प्रधानमन्त्री बनाएर चुनावी सरकार बनाउने प्रस्ताव गरेछन्। अब प्रतिपक्षले प्रधान सेनापतिको नेतृत्वमा चुनावी सरकार माग गर्ने कि ? त्यो नयाँ प्रस्ताव गर्ने जिम्मा नि केही दिनपछि प्रचण्डलाई नै दिने ?

Friday, February 1, 2013

सहयोगी खोज्दिन अनुरोध

'यहाँ म मौरी पालेर वर्षको १० लाख जति कमाउँछु। काम गर्ने सहयोगी छैन। छोरा वर्षको एक डेढ लाख लागि खाडी मुलुक जाँदैछ' पर्वतका किसानले Narayan Shrestha लाई भने‌, 'खान बस्न दिएर वर्षको एक लाख अहिले नै दिन्छु, सहयोगी आएर थप आम्दानी भए उनलाई एक लाख भन्दा धेरै दिउँला, लउन कोही काम गर्ने सहयोगी खोज्दिन सक्नुहुन्छ ?

Friday, January 25, 2013

पार्टीलाई घाटामा पुर्याएको आरोप लाग्ला

लालध्वज (उहाँलाई यही नाम प्यारो भएर होला टि्वटरमा प्रयोग गर्नुभएको छ) जीले पार्टीको काममा गएको हेलिकप्टर खर्च पार्टीले वेहोर्छ भन्नुभएको छ। पार्टीले भर्खरै निर्वाचन आयोगमा बुझाएको हिसाब किताबमा पार्टीसँग १७ लाख रुपैयाँ मात्र छ। दिनदिनै हेलिकप्टरमा उडेकै उडै हुनुहुन्छ। त्यो १७ लाख त हेलिकप्टरमा उड्दा दुई दिन मै सकिन्छ रे। आफू प्रधानमन्त्री भएका बेला पार्टीलाई घाटामा लगेको आरोप लाग्ला है....

Thursday, January 24, 2013

चाहेकै त्यही हो

सार्वजनिक यातयातमा कोही पनि बोलेनन् भने त्यो दिन साह्रै खल्लो लाग्छ। आज चाहिँ प्रधानमन्त्रीले 'युद्धका घटना ब्युँताउने र एकले अर्कालाई मुद्दा लगाउँदै जाने हो भने काङ्ग्रेस एमालेका नेता नि बाँकी रहदैनन्' भनेको सुनेका कान्तिपुर यातायातका चालकले भन्दै थिए, 'चाहेकै त्यही हो नि अहिलेका चाहे माओवादीका हुन् चाहे काँग्रेस एमालेका कोही नि नेता बाँकी नरहुन्।'

Tuesday, January 15, 2013

महिला ग्राहकका लागि रेष्टुरेन्टमा छुट्टै तला


महिला हिंसाका समाचार पढिरहेका बेला बनेपाको नेवा किचन रेष्टुरेन्टमा जान पाइयो। रेष्टुरेन्टले महिलाहरूका लागि एउटा छुट्टै तलामा खाने व्यवस्था गरेको रहेछ। तर मदिरा र चुरोट पिउने महिलाहरुलाई भने अलिक अप्ठेरो पर्दोहोला, No smoking, No Drinks Please लेखेको छ।

Thursday, January 10, 2013

पोखरामा भेटिएका रेडियो पत्रकार

'लाइसेन्स त बोक्दै बोक्दिन, कहिलेकाहीँ कुनै ट्राफिकले ब्लु-बुक खोस्यो भने यहाँका ट्राफिक हाकिमलाई फोन गर्छु। भोलिपल्ट ट्राफिक प्रहरीले अफिसमै ब्लुबुक ल्याइदिन्छन्,' सुशासन सम्बन्धि रेडियो कार्यक्रम बनाउने एक जना रेडियो पत्रकार भेटिएका थिए पोखरामा। अजब नेपाल, गजब नेपाल...

Thursday, January 3, 2013

फेसबुक स्टाटस बेचेर पैसा

आजको The Himalayan Times पत्रिकामा देखेको विज्ञापन : Wondering what to update as your FACEBOOK STATUS? type FBS and send it to 3131.
मैले SMS पठाएको चार रुपैयाँ खर्च भो तर रिप्लाई भने आएन। तै मनमा लागेको कुरा- बाठा मान्छेले फेसबुक स्टाटस पठाइदिन्छु भनेर नि पैसा कमाएकै छन् र, संसारमा जे पनि बेच्ने र किन्नेका कमी छैन।