Monday, September 17, 2012

दशैंमा घर आउँने तर सुटुक्क

बिदेशमा बस्ने मध्ये कति जना बिचरा नेपालीहरुले 'बिदामा घर जाँदैछु' भनेर आफ्ना नेपाली साथी भाइलाई भन्न पनि सक्दैन रहेछन्। 'दशैंका बेलाँ घर आउँदैछु। तर कसैलाई भन्न मिल्दैन है, यहाँबाट सामान लगिदे भनेर हैरान पार्छन'- अमेरिकाबाट दशैंमा घर आउन लागेकी एक जना भद्र महिलाले भन्नुभयो।

यस्तै अनुभव मलाई पनि कहिलेकाही विदेशबाट फर्कने बेलामा भएको छ। केही दिनका लागि जापान गएपछि त्यहाँका नेपालीहरु मध्ये केही गाउँलेहरुसँग भेट भयो । गाउँले भाइ बहिनीले यति धेरै माया दिनुभयो कि एकदिन टोकियोको हामी बसेको होटलमा नै खाना पकाएर ल्याएर खुवाउनुभयो। अर्को दिन आफू बसेको कोठामै बोलाएर खुवाउनु पिलाउनुभयो।

तर त्यस्को पीडा फर्कने दिन पो पर्यो। उहाँहरुले केही सामान नेपाल लगिदिन पर्यो भन्दै पठाउनुभयो। एयरपोर्ट पुग्दा त आफ्नै सामान बढी भइसकेको रहेछ। २० किलोको ठाउँमा २५ किलो त हाल्न दिए तर तर त्यति हुँदा पनि ५ किलो जति धेरै भयो। पाँच किलोको पैसा तिरौं भन्दा २० हजार भन्दा धेरै जाने।  उहाँहरुको सामान कसरी ल्याउने? अन्त्यमा आफ्नै सामान केही झिकेर फालियो र उहाँहरुले नेपालमा आफन्तलाई पठाएको सामान लिएर आइयो।
यता आइसकेपछि पनि त्यो सामान पुर्याउने चिन्ताले छाडेन। धेरै पटकको फोन र परिस्थिति मिलाएर मात्र सामान उहाँहरुले भन्नुभएको ठाउँमा पुर्याइयो।

कस्तो पिर हो नेपालीलाई विदेशबाट आफ्नो घर आउँदा पनि सुटुक्क आउन पर्ने।


  1. Like · ·

No comments:

Post a Comment

Please leave your comment here