Monday, September 26, 2011

दशैं सबैभन्दा नरमाइलो


"दशैंमा सबभन्दा नरमाइलो लाग्छ," विकासे डकुमेन्ट्री खिच्न  परार साल चितवनको माडी पुग्दा मुना गुरुङले भनेकी थिइन्। नौ वर्षदेखि जतन गरिराखेको एल्बमका फोटो हेर्दै गरेको उनको भावनात्क दृश्य डकुमेन्ट्रीका लागि राम्रो सट हुँदै थियो। अझ त्यसमा मुनाको आँखा रसाएको दृश्य थप्न पाए। अरुको भावनालाई विक्री गर्ने मेरो पत्रकार मन स्वार्थी हुँदै थियो। आँसु झार्ने आशाले मैले सोधेको थिएँ, "सबैभन्दा नरमाइलो कहिले लाग्छ?"

दशैंमा परदेसिएकाहरु आउँछन्। सबैका घरमा रमाइलो हुन्छ। कान्छी छोरीले उसका साथीसँगीका घरमा बा आएका देखेर सोध्ने गर्छे,"हाम्रा बा कहिले आउनुहुन्छ ?" बाटामा थुप्रैका जोइपोई नारिएर हिडेका पनि देख्छु। त्यसैले होला दशै नरमाइलो लाग्छ। फेरि हाम्रो माया पनि दशैका बेलामा नै फस्टाएको हो। मुनाले यती भन्दा पनि उनको आँखा रसाएनन्।

यसअगाडि उनले यही कुरा धेरै पटक विभिन्न खाले मानिसका अगाडि पटक पटक दोहोर्याएकी थिइन् होला। त्यो बेला आँसु खसे पनि होला। तर अहिले यो भनाइ उनको लागि समान्य छ। मुनाका हजुरबा गोरखाबाट चितवनको माडीमा बसाई सरेर आएका हुन्। उनका बाबुले यतै बिहे गरे। मुनाको जन्म २०३१ साल साउनमा भएको हो। मुनाका दुई दाजु र एक बहिनी छन्। सानामा दाजुहरुसँगै स्कूल गए पनि मुनाले धेरै पढ्न सकिनन्। सात कक्षामा फेल भएपछि नै उनलाई स्कूल सम्झदाँ झिजो लाग्न थालेको हो। आठ कक्षा पढ्दा पढ्दै मुनाको मन पढाइमा अडेन। पढ्न भन्दा आमालाई घरको काममा सघाउन नै उनलाई रमाइलो लाग्यो।

माडीबासीको  ठूलो पीडा चितवन राष्ट्रिय निकुन्जको वन्य जन्तु हुन्। दुःख गरी लगाएका, हुर्काएका बाली, स्याहार्ने बेलामा जनावर आएर सखाप पारिदिन्छ। कहिले काँही त जँगली हात्तिको हुलले घर पनि लडाइदिन्छन्।

'निकुञ्जका कारण धेरैको घर खेत भत्किन्छ। तर मेरो भने जीवनै भत्काइदियो,' मुनाका आँखा अब भने रसाउलान् जस्ता देखिए। मैले क्यामेरामेनलाई क्लोजअप दृश्यका लागि इशारा गरेँ। मुना बैंसमा पक्का राम्री थिइन्। दुई छोरीका आमा र उमेरले ३५ टेक्दा पनि उनको रुपमा खोट लगाइहाल्ने ठाउँ छैन।

'उमेरमा होस् हुँदोरहनेछ। त्यो बेला वुद्धि पुर्याउन सकिएन। अहिले पछुताएर बसेकी छु' मुनाले आफ्नो (पूर्व ?) प्रेमीलाई सम्झिन थालिन्। पूर्वमा प्रश्नबाचक चिन्ह किन भने मुनाको कुरा सुन्दा अहिले पनि ती प्रेमीप्रति घृणा भए झैं लाग्दैन।

उनका दुई छोरीको बाबुको नाम भोजबहादुर गुरुङ हो। जेठी छोरी १४ वर्षकी भइसकेकी छ। उ जन्मन भन्दा दुई वर्ष अगाडि नेपाली सेनाका जवान भोजबहादुर कसरा ब्यारेकमा सरुवा भएर आएका थिए। ब्यारेकको काम निकुञ्जको सुरक्षा गर्नु हो। भोजबहादुरले त्यहाँका जनावर र रुख विरुवाको सुरक्षा गरे/गरेनन्, मुनालाई धेरै चासो हुने कुरा भएन। भोजबहादुरले आफ्नो सुरक्षा गर्नेमा मुना ढुक्क थिइन्।

उनलाई याद छ दशैंका बेला थियो, गाउँमा रोँटे पिङ थियो। केटाकेटीहरु राति अबेलासम्म पिङमा झुम्मिन्थे। उतिबेलै ब्यारेकबाट भोजबहादुरहरु गाउँ तिर पस्थे। घर परिवार छोडरे बसेकाहरु चाडबाडको न्यास्रो मेट्न होला।

मुना र भोजबहादुरको भेट यस्तै साँझ भएको हो। पहिलो दिन देखादेख भो। भोलिपल्ट चिनापर्ची भो। पर्सीपल्ट दाउरा लिन निकुन्ज तिर लाग्दा भोजबहादुर फेरि भेट भो। मुनालाई सँधै निकुन्ज वरपर जान मन लाइरह्यो। वनै वनमा उनीहरुले पिरती साटे। साक्षी तिनै रुख विरुवा, चरा चुरुङ्गी, खरायो, मृग भए। भोजबहादुर अनेक बहानामा निकुन्जबाट निस्केर गाउँ तिर आइरहे। आम रुपमा जसरी हाम्रा गाउँघर तिर माया पिरती बस्छ त्यसरी नै मुना र भोजबहादुरको माया बस्यो।

अब गाउँमा हल्ला भयो।  मुनाका दाइ कडा थिए। बहिनीलाई केरकार गर्न सुरु गरे। बहिनीले लुकाउन सकिनन्। सप्पै कुरा भनिदिइन्। 'भोजबहादुर अरु आर्मी जस्तो होइन',  मुनाको मनले त्यसै भन्यो। अरु आर्मी भन्नाले त्यतिबेला पनि माडीमा १२/१५ त्यस्ता महिलाहरु थिए, जसलाई सैनिकहरु कसरा ब्यारेकमा बसिन्जेल प्रेम गरेका थिए र आफ्नो सरुवा अन्य ब्यारेकमा भएसँगै माया पनि अन्यत्रै लिएर सरेका थिए।

मुनाका दाइले भोजबहादुरलाई बोलाए। दाइले यसअगाडि गाउँका दिदी बहिनीले सैनिकबाट पाएको धोकाको कथा सुनाए। मेरी बहिनीलाई पनि त्यस्तै पार्ने त होइन भनेर प्रश्न सोधे, 'बिहे गरेर राम्रोसँग पाल्ने भए छुट्टै कुरा, होइन लपसप गरेर सरुवा भएपछि छोडेर हिड्ने हो भने बहिनीसँग हिमचिम बढाएको मन परेको छैन।' दाजु कठोर रुपमा प्रस्तुत भए, 'दुई दिनको रमाइलो हो र भोलि बहिनीलाई छोड्ने हो भने मै पाल्छु मेरी बहिनीलाई।' दाजुको कुराले भोजबहादुरको अनुहार रातो भएको मुनाले देखिन्।

भोजबहादुरले बिहेका लागि तयार भएको वयान दाजुसमक्ष दिए। 'बिहे भनेको खेलाँची हो र?' भोजबहादुरको उत्तरपछि बहिनीको आँखा हेरेका दाजुले केही भन्न सकेनन्। माडीमा नै बिहे भयो। श्रीनाथ गणका दुई चार जना सैनिक जवानहरु बिहेमा सरिक थिए। बिहे भएको वर्ष दिन नबित्दै जेठी छोरी अनिताको जन्म भयो।
मुनाले बच्चा पेटमा हुर्कदै गर्दा नै माइतीमा बस्न असजिलो लागेको बताएकी थिइन्। सँधै घर लान कर गरिरहिन्। भोजबहादुरले धेरै झैं बिदा नमिलिको कुरा त कहिलेकाँही तिमी मधेशको सुखमा हुर्केकी पहाडमा काम गर्न सक्दिन्नौ भन्दै टारिरहे।

बिहेपछि श्रीमान्‌को घर खान जाने नेपाली महिलाको चलन मुनाले चाहेर पनि पुरा गर्न पाइनन्। लमजुङ भुनुचोक जाने उनको इच्छा अधुरै रह्यो। ठूली छोरी दुई वर्षको हुँदा सिपाही भोजबहादुरको सरुवा भयो धनगढी। घर गाउँ नलगे पनि मुना उनीसँगै विरानो शहर पुगिन्। त्यहाँ करिब पाँच वर्ष बस्दा भोजबहादुरले कुनै कमी हुन दिएनन् मुनालाई। कान्छी छोरी पनि त्यही जन्मिइन्। उनीहरु सँगै घुमे।

जेठी छोरीलाई भोजबहादुरले काँधमा र कान्छी छोरीलाई मुनाले छातीमा बोकेर भारतको नैनितालसम्म पुगे।
मुनाले एल्बमका फोटोहरु देखाउँदै वर्णन गर्न थालिन्। यतिबेला म धन्दै हराएकी थिएँ। त्यतिबेला कान्छी छोरी पेटमा थिइ। उनले फोटो हेर्दै भन्दै गइन्। मलाई सँधै खुशी राख्छु, घुमाउँछु भन्थ्यो।
-----------------------------------------------------------------------------------------

मुनाले धनगढीमा नै सोच्दै नसोचेको कुरा सुन्नुपर्यो। भोजबहादुको त गाउँमा जेठी पनि रै छ  र उस्का छोरा-छोरी भइसकेका रहेछन्। अब कहाँ रह्यो र त्यो खुशी ? वेसीशहरबाट फोन आएको थियो भोजबहादुरलाई। भोजबहादुर ब्यारेकमा थिएनन्। एकजना सिपाहीले मुनालाई बोलाइदियो।

फोन गर्नेले आफ्नो श्रीमान् भोजबहादुरलाई खोजेको बताएकी थिइन्। मुनालाई फोन गर्ने तिनले के के भनिन् कुन्नि मुनाले धेरै कुरा त होसमा गर्दै गरिनन्। ती महिलालाई मुनाले केही बताइनन्। फोनको संवाद अपुरै रह्यो। साँझ सबैकुरा खुलिहाल्यो। अब ढाँट्न सकिन्न भन्नेमा भोजबहादुरले बुझिहाले। एकदिन खुल्थ्यो। अहिले नै कुरा खुल्यो भन्ने भोजबहादुरलाई लागेको हुनुपर्छ।

उनले आफ्नी जेठी श्रीमती कमला गाउँमा भएको र जेठो छोरा -छोरीलाई गाउँमै हुर्कीरहेको खुलासा गरे। "रुन त रोएँ नि धेरै तर रोएर के हुन्थ्यो र ?'  मुनाले आफ्नो व्यथा भन्दै गइरहेकी थिइन्। माइतीमा यी कुरा कसैलाई नभन्नु भनेर किरया खुवाए भोजबहादुरले। जे नहुनु थियो, त्यो भइसकेको थियो। माइतीमा गएर कसैलाई भन्नु आफैलाई गाली खुवाउनु थियो। परिवारले उतिबेलै होस् गर् भनेर पटक पटक चेताएकै थिए। आफैले विश्वास मानेर रोजेर विहे गरेको।

"मैले केही नि जान्दिन्न," मानिसले कि पढेर कि परेर जानिन्छ भन्छन् तर मुनाले परेर पनि नजानेको बताइन्। मुनालाई आफ्नो सौता छ भन्ने थाहा भयो तर भोजबहादुरले गर्ने मायामा केही फरक महसुस उनले गरिननन्। पाँच वर्षपछि भोजबहादुरको सरुवा हेटौंडा भयो। मुनालाई माइतीमा ल्याएर छोडी उनी काममा गए। मुनालाई भुल्नका लागि दुई छोरीहरु छँदै थिए।

एक वर्ष हेटौंडा बस्दा दुई पटक जस्तो भोजबहादुर ससुराली आए। घरमा लान मुनाले जति जिद्धी गरे पनि काम लागेन। त्यसपछि उनको सरुवा काठमाडौं शिवपुरी डाँडामा भयो। काठमाडौं जान पाइने भयो भनेर मुनालाई खुब खुशी लाग्यो। ओ हो कस्तो होला शहर, कस्ता होलान् मानिस ? उनको गाउँमा त्यतिबेलासम्म टिभी थिएन। 'अहिले त टिभीमा देखेको छु तर पनि काठमाडौं पुगे हराइन्छ होला, एकपटक जाने मन छ' मुनाले आँखा ठूलो पार्दै भनिन्।

शिवपुरी आएपछि भने भोजबहादुरले मुनालाई खवर गर्न छोडे। 'सुरुमा म एक्लै जान्छु। पछि त्यहाँ बस्ने ठाउँ मिलाएर बोलाउँला' भनेका भोजबहादुरले आफ्नो वचन पुरा गरेनन्। तीन महिना पुग्दा पनि भोजबहादुरको अत्तोपत्तो नभएपछि मुनाको काठमाडौं जाने सपनामा तुवाँलो लाग्न थाल्यो। उनी राप्तीको वर्षे भेल तरेर बाबुसँग भरतपुर आइन्। बाटामा कसरा ब्यारेक पसेर शिवपुरी ब्यारेकको नम्बर लिइन्।

पाँच पटकसम्म फोनको कोशिषपछि बल्ल बल्ल भोजबहादुरको स्वर मुनाले सुन्न पाइन्। भोजबहादुरले आफू शान्ति सेनामा विदेश जान लागेको खवर मुनालाई सुनाए। 'शान्ति सेनामा एक वर्ष जति बसेर नेपाल फर्केपछि माडी आउँछु, छोरीहरुको हेरचाह गर्नु,' यही हो मुनाले सुनेको भोजबहादुरको अन्तिम स्वर।

शान्ति सेना गए/गएनन्, फर्केर आए/ आएनन्। त्यसयता १२ वर्ष भयो भोजबहादुरको जीवनमा के के भयो, मुनालाई केही थाहा छैन। "तर सपना छ नि भाइ," मुनाले भनिन् - 'सपनामा आइरहन्छ मोरो नाक ठूलो भएको ठ्याम्मै पहाडेले झै बोल्ने सपनामा पनि।'

मुनाले सपनामा देखिने अहिलेको भोजबहादुरको कुरा गर्न थालिन् - 'उ अहिले पेन्सनमा निस्किसकेको छ। काठमाडौंमा आफ्नी जेठी बुढीसँग बस्छ। छोरा छोरी पनि ठूला भइसकेका छन्। कुनै कम्पनीमा सेक्युर्टी गार्डको काम गर्दैछ।'

किन भोजबहादुर टाढिए त ? मुनालाई के थाहा - "उसैलाई सोध्नुस्" । भोजबहादुरले मोजमस्तिकै लागि मात्र बिहे गरेको जस्तो लाग्छ मुनालाई अहिले। त्यसपछि किन खोजी गरिनन् त मुनाले आफ्‍नो जीवन साथीको?
कारण स्पष्ट छैन। उनी छोरीहरु हुर्काउन लागिन्। आउला, आउला भन्ने आशा अझै बाँकी छ। काठमाडौं वा लमजुङ जाने आँट मुनामा कहिल्यै आएन। यसबीच बा आमा बिते। जीवन गुजारा गर्न खित्रेमित्रे समानको पसल खोलिन् र चिया पकाउन थालिन् माइती मै। दाइले आश्रय दिएकै छन्। राप्ती तरेर भरतपुर नआएको पनि ७ वर्ष भइसक्यो होला।

अनि भेट्न मन लाग्दैन त श्रीमान्‌लाई ? डकुमेन्ट्रीलाई चाहिने  दृश्य पुरा भइसकेपछि पनि मैले किन यो प्रश्न सोधें मलाई थाहा छैन। तर यही प्रश्नले मलाई यो लेख लेख्न वाध्य बनायो। 'कहिले लाग्छ कहिले लाग्दैन' मुनाले  भनिन्,  'कहिले मरेको समाचार सुनेर चुरा फोर्न पाए हुन्थ्यो भन्ने लाग्छ। एकपटक भेट्न पाए मुखमा थुक्ने थिएँ। छोरीहरुले सुन्ने गरी तेरो बाउ मरोस् भन्छु। उनीहरु रुन्छन। तर सँधै त्यस्तो हुँदैन। बा उसलाई पो केही वाध्य भयो कि वा विरामी पो छ कि वा छैन कि। जेठीले पो यता आउन नदिएकी हुन् कि।  कुनै दिन आएर लिएर जान्छ र मलाई र दिदीलाई सँगै मिलाएर राख्छ कि भन्ने लाग्छ। के के लाग्छ लाग्छ। मन धेरै बोल्छ आजभोलि छोरीहरुसँग भुल्न पनि उनीहरु अब आफ्नै साथीसँग रमाइलो मान्ने भए।'

मुनाका जेठी छोरी अहिले कक्षा ८ मा र सानी छोरी पाँच कक्षामा पढ्छन्। मुनाले एल्बमबाट भोजबहादुरको दुईटा फोटो निकालेर मलाई दिंदै भनिन्, 'काठमाडौं गएपछि भोजबहादुरलाई खोजिदिनुहोस्। उसैसँग बस्ने मन छ।'

मलाई फोटो लिएर आउन मन लागेन। उनीसँग आफ्नो प्रेमीको फोटा ६ वटा भन्दा धेरै छैनन्। तीनवटाको त रङ धेरै उडिसकेको थियो। ती फोटा मैले लिएर आउनु भनेको भोजबहादुरको सम्झना परिवारमा घटाउनु पो हुन्छ कि जस्तो लाग्यो। ती फोटाको मुनालाई जस्तो महत्व मलाई पक्कै छैन। मैले ती फोटा हराउन सक्थेँ। फेरि १० वर्ष अगाडि खिचेका फोटा लिएर खोज्दै हिड्दा मानिस भेटिने पनि होइन। मैले उनको एल्बमका केही फोटोका डिजिटल क्यामेराबाट फोटो भने खिचें।

दुई दिने माडी बसाइमा मुनाले आफूजस्तै सैनिकबाट बिहे गरेर छोडिएका आठ जनासँग भेट गराइन्। माडीमा मात्र ४० जना यस्ता महिला भएको जानकारी सामुदायिक विकास भन्ने गैरसरकारी संस्थाले दियो। बाबुको माया नपाएका बच्चाहरु पनि ८० जनाको हारहारीमा रहेछन्।

राजधानी आएपछि बिहान बेलुकाको डुकुभातको व्यवस्था गर्दैमा दिन बित्छ। मुनाको सम्झना कति पो आयो र ? तर यसपटक फेरि दशैं आएको छ। मुनालाई नरमाइलो लाग्ने दिन आएको छ। भोजबहादुरलाई दशैको बेलामा कस्तो लाग्छ होला।

(मुना दिदीको बारेमा यहाँसम्म लेख्दा फेरि मेरो स्वार्थी पत्रकार मनले एउटा कल्पना गरिरहेको छ। मुनाको जीवनको एउटा डकुमेन्ट्री बनाउने। मुनाको माडीको जीवनी खिचेपछि उनलाई राजधानी सम्म यात्रा गराउने। नेपाली सेनाको केन्द्रीय कार्यालयको सहयोगमा उनको श्रीमान् खोज्ने। सेनाको पेन्सन त लिइरहेकै छन् होला। मुना र भोजबहादुर भेटेको दृश्य खिचेर डकुमेन्ट्री टुङ्गाउने।)
--------------------------------------------------------------------------------------
*यो लेखको केही अंश नागरिक दैनिकमा दुई वर्ष अगाडि 'धोका दियो पल्टनेले' शिर्षकमा छापिएको थियो।

3 comments:

  1. Wonderful Dipak jee! I did not know that you are such an awesome writer!!
    Great job!!
    -Navin Parajuli

    ReplyDelete
  2. मुटु नै चस्स पार्ने कथा रहेछ । समय ले दिएको घाऊ समय संगै पुरिंदै जाला ।

    ReplyDelete
  3. बिचमा कता-कता रुवायो । लेख धेरै राम्रो छ ।

    ReplyDelete

Please leave your comment here