उमेर नपुगी आर्यघाट पुर्याइएकाहरु मध्ये केही टाइफाइड भएका बेलामा दारु खाएर, केही ब्लड प्रेसर हाइ हुँदा पनि ट्वाँट र बोसोयुक्त मासु कम नगरेर, केही न्युमोनिया भएको बेलामा लगातार सुरापान पेलेर र केही टन्न बिजुलीपानी पिएर मटरसाइकल चढेका हुँदारहेछन्। सानामा चिनी घोली घोली खोयाबिर्के खान सिकेको याद आइरहेछ ...
-------------------------------------------------------------------------------------------
यो वर्ष लागेपछि तीन पटक आर्यघाट जानु पर्यो मलामी बनेर। एक जना वृद्धको मलामी बनियो भने दुई जना युवाको, एक जना ४० वर्ष जतिका र अर्का ३० वर्ष जतिका साथीको मृत्युले आर्यघाट पुर्यायो। एउटै गाउँठाउँबाट काठमाडौं आएकाहरुको लामो समयपछि कहिलेकाहीँ भेट आर्यघाटमा हुन्छ। आखिर मर्दा पर्दा चाहिने त हो नि आफन्त, छिमेकी गाउँले पनि।
यो वर्षको सुरुमा आफ्नै गाउँमा स्कूल पढ्दा म भन्दा पाँच व्याज जुनियर साथीको मलामी गएँ। जन्डिस बिग्रिएपछि उनलाई एक महिना जति कहिले महाराजगञ्जको शिक्षण अस्पतालको आइसियुमा त कहिले निजी अस्पतालको आइसियुमा राखेर उपचार गरिएको थियो।
मान्छेलाई विदेश पठाउने काम गरेर र काठमाडौंमा नै झोला सिलाउने पसल गरेर राम्रै आम्दानी गरेका थिए मित्रले। तीन वर्ष अगाडि बिहे गरेका उनको सानो छोरा पनि थिए। छोराको भातखुवाइ (पास्नी) निकै धुमधाम साथ गरेका थिए पोहोर मंसिरतिर। उनको रक्सी खाने बानी असाध्यै धेरै रहेछ। जन्डिस भएको बेलामा थाहा पाई पाई हो कि हेलचेक्रयाँइ गरेर हो रक्सी पिएछन्। त्यसपछि तिन्को जीउ तङ्ग्रिनै नपाई ज्यान गयो। उनी त मरे मरे तर आइसियुमा राख्दा उनले कमाएको पैसा जति पनि लगभग सकेरै बिते जस्तो लाग्छ।
उनका आफन्तले आखिर बेलातिर मसँग पनि अलि अलि सापट मागेका थिए। काठमाडौंका निजी अस्तपाल सञ्चालकहरुले एकदिन आइसियुमा राखेकै ४/५ हजार रुपैयाँ लिन्छन्। त्यसमाथि औषधि पनि धेरै नै प्रयोग गर्न पर्छ। ती भाइका आफन्तले भन्थे अस्पतालले एकैदिनमा २/३ हजार सम्मको औषधि लेखिदिए रे। अनि उनीहरुलाई तेत्रो औषधि विरामीलाई प्रयोग गरेका छन् कि बेचेका छन् जस्तो पनि लागेछ।
अर्का एक जना त उमेर पुगेरै वितेका बुढा हुन्। एक साता अगाडि भने एक जना छिमेकीको मृत्यु भयो त्यही ४० वर्ष जतिका। दुई छोराका पिता र जमलमा एउटा गेस्ट हाउस सञ्चालन गरिबसिरहेका थिए। राति १२ बजेतिर उनको मृत्युको खवर पाएपछि अस्पताल पुगेको थिएँ। बिहान ४ बजेसम्म अस्पतालमा नै बसें। सबैको कुरा त्यही त हो रक्सीले नै मरे भन्नेहरु थिए। त्यो उमेरमा नै उच्च रक्तचापका विरामी रहेछन्। कसैले भनेकोमा नाइ भन्न नसक्ने एकदमै सहयोगी मानिस थिए। अब होटलमा आउने जाने सबैले खाउँ भन्दा अहँ भन्न सकेनन् होला। अरु पनि त्यही भन्थे। उच्च रक्तचापको बेला बोसो युक्त मासु र धेरै रक्सीले मुर्च्छा पारेरै ज्यान लाँदो रहेछ।
रातभर अस्पताल पछि आर्यघाट लाँदा आर्यघाटमै काठमाडौंका स्थानीय नेवार समुदायका जस्ता महिला पुरुष पनि रोइरहेका थिए। बेस्करी झरी परेकाले दुई ठाउँका मलामी एउटै छतको ओत लागेका थियौं। मैले बिस्तारै त्यहाँ आएका नेवारहरुसँग बुझ्दा थाहा भयो ती मर्ने पनि त्यही ४० वर्ष जतिका युवा रहेछन्। टाइफाइड भएको बेला औषधि खाएनन् रे बरु रक्सी खाए रे। तिनको श्रीमतीले कम्ति बिलौना गरेकी थिइनन्। के गर्नु मरेर जाने गइसके।
हाम्रा छिमेकीको श्रीमतीको बिलौना पनि एकदमै अत्यासलाग्दो थियो। तिनी फेरि मेरी श्रीमतीको साथी पनि हुन्। श्रीमतीको साथी विधवा हुँदा मनमा के के कुरा खेल्दोरहेछ अझ रातीमा बाहिरको दृश्य खासै नदेखिने मन एकान्त घोरिरहँदा के के कुरा मनमा आए आए। कस्तो विरक्ति लाग्न थाल्यो भने श्रीमतीको साथीले एकपटक मैलाई हेरेर सोधिन् के गरेर अब मैले जुनी काट्ने होला। अब म सँग दिनको लागि जवाफ केही थिँदा पनि थिएन, नआत्तिनोहोस् भन्नुभन्दा पर।
त्यहाँ बस्दा लाग्यो यो आर्यघाट ल्याउने मध्येको मात्रै पनि अनुसन्धान गर्ने हो भने रक्सीका कारण मृत्यु हुनेको संख्या कति हुँदो हो। कतै अनुसन्धान त भएको छैन होला। तै पनि भन्न मन लागेको कुरा सकिन्छ भने मद्यपान त कहिले नि नगरेको राम्रो। गर्नेहरुले पनि ज्वरो आएको बेला, जीउ दुखेको बेला, अलिक असजिलो परेको बेला कृपया मादक पदार्थ सेवन नगर्नुहोला।
(नोट: म बाहुनको छोरा। घरका रक्सी वर्जित भएकाले ८/९ कक्षा पढ्दादेखि लुकी लुकी रक्सी पिउन थालेको थिएँ। माथि नै भनें नि चिनी घोलेर पनि दारु खाइयो कुनै दिन। अहिले भने एक वर्ष तीन महिना भयो रक्सी पिउन छाडेको, बीचमा एक गिलास बियर, बेलायतमा साह्रै चाख्न मन लागेर विशेष खाले बियर भनेकाले त्यो भन्दा अरु पिएको छैन।)
मार्मिक पनि लाग्यो भन्न पाइनु पर्यो दाई .... म पनि अब देखि सत्ते खान्न ... खाए पनि तेही महँगो जुस किनेर खान्छु बरु ...
ReplyDelete