Saturday, July 16, 2011

कुन दिन रेडियो र टिभीबाट बजेटको प्रसारण रोक्लान्

यस्ता सभासदहरुले के देशमा पारदर्शीता र आइटीको विकास गर्लान र। अर्थमन्त्रीले संसदमा बजेट पढ्न थालिसकेपछि अर्थमन्त्रालयको वेवसाइटमा बजेट राखेर के बिग्रियो ? फेरि पोहोर परार देखि नै यो चलन छँदै छ। पोहोरसम्म कसैले इन्टरनेट हेर्न जानेका रैनछन् कि के हो ?  कि के निहुँ खोजुँ र विरोधका लागि विरोध गर्न बसौं भनेर बसिरहेका सांसदहरुलाई कुनै बेबकुफले इन्टरनेटमा बजेट भाषण राख्यो भनेर भनिदिएर हो कि।

बजेट घोषणा हुनुभन्दा पहिल्यै पत्रिकामा बजेटका भन्सार दर, राजश्व सहितको जानकारी आउनु चाहिँ दुखद कुरा हो, त्यसमा गोपनियता राख्नुपर्छ। हिजो बिहानैको पत्रिकामा बजेटको धेरै बिबरण आएकोमा बजेट भाषण आउनु अगाडि विरोध भएको र त्यस विषयमा छानबिन हुनुलाई राम्रै मान्न सकिन्छ। तर अर्थमन्त्रीले संसदमा भाषण गर्न सुरु गरेपछि बजेट अनलाइनमा राखे भनेर जसरी नेपाली काँग्रेस सहितका केदी सभासदहरुले विरोध गरे त्यसमा तिनीहरुको अज्ञानता भन्दा अरु केही कुराको दोष छैन।

जो जोले पहिल्यै बजेट सार्वजनिक भयो भने तिनीहरु मन्त्री हुँदा बजेट बन्दै गर्दा व्यापारीलाई सूचना लिक गरिदिएर नेपालमा राजश्वमा धेरै घाटा भएको थाहा पाउने यहाँ छन् भन्ने कुरा तिनीहरुले हेक्का राखुन्। केही वर्ष अगाडि एक मन्त्रीले कुनै व्यापारी प्रतिष्ठानलाई नयाँ बजेटमा टेलिभिजनमा भारी कर लगाइदैंछ जति सक्नुहुन्छ टेलिभिजन ल्याउनु भनेर सूचना लिक गरेका थिए। हिजै विरोध गर्ने एक जना पूर्व मन्त्रीले एउटा कम्पनीलाई पहिला छुटमा टन्न सामान ल्याउन लगाएर बजेटमा त्यो सामान आयात गर्दा भन्सार दर उच्च पारिदिएका थिए।

इन्टरनेटमा बजेट राख्नु पहिले पत्रकारहरुले सांसदसँग बजेट किताब माग्नुपर्दथ्यो। अर्थ मन्त्रालयको कर्मचारीले पत्रकारलाई बजेट किताब दिन भनेपछि एकदम अप्ठेरो मान्थे। त्यो बेलामा सांसदले आफ्नो भ्यालु बढेको महसुस गर्थे। पाँच वर्ष यता आएर बजेट अनलाइनमा राखिदिँदा पत्रकारहरुले बजेट पाउनका लागि सांसदको अनावश्यक  चाकडी, जी हजुरी गर्नुपर्थेन। अहिले पनि त्यही खोजेका होलान् सभासदहरुले।

वेवकुफ सभासदहरु आवश्यक कुरामा ध्यान दिन्नन् अनावश्यकमा अत्तो थाप्छन्। अर्थमन्त्रीले संसदमा बजेट पढ्न सुरु गरि सकेपछि अर्थ मन्त्रालयको साइटमा राखेको पनि विरोध गर्नेले कुन दिन रेडियो टिभीबाट पनि बजेट भाषण लाइभ गर्न पाइदैंन भन्न नि के बेर। पहिले संसदलाई जानकारी दिनुपर्छ त्यो हाम्रो अधिकार हो अनि मात्र जनतालाई बजेटबारे थाहा दिनुपर्छ नत्र हामी सांसद भएको के फाइदा भयो भन्लान्।

No comments:

Post a Comment

Please leave your comment here