Saturday, March 26, 2011

हिमानी (ट्रस्ट) लाई रक्तदान

रक्तदान गर्दै हिमानी।
रक्तदान नगरेको दुई वर्ष भइसकेको थियो। कान्तिपुर टेलिभिजन छोडेपछि रक्तदान गर्ने मौका मिलेको थिएन। त्यहाँ काम गरिन्जेल वार्षिकोत्सवमा रक्तदान कार्यक्रम पनि आयोजना हुन्थ्यो र कम्तिमा पनि वर्षको एकपटक रक्तदान गरिन्थ्यो। अनि फुर्ति लाइन्थ्यो, साथीभाइलाई - केटा हो अब पसिना दिइएकै छ कान्तिपुरलाई, एउटा रगत पनि दिइयो। पछि कुनै दिन भन्न पाइएला नि, त्यसै यी बिल्डिङ ठडिएका छैनन्। हाम्रै रगत पसिनाको बलले हो।
कान्तिपुर छाडेपछि कहिले के नमिल्ने कहिले के भएर रक्तदान गर्न पाइएको थिएन। अस्ति काठमाडौं बस्ने गाउँलेले रक्तदान आयोजना गर्दा पनि आफू बाहिर परियो। यसो कहिले मेसो मिल्ला भनेर पर्खिरहेको थिएँ।

ललितपुर झम्सिखेलस्थित म काम गर्ने कार्यालय नजिकै हिमानी ट्रस्टको अफिस छ। पूर्व युवराज्ञी हिमानी शाहले समाजसेवाका लागि ट्रस्ट खोल्या भनिन्छ। तर धेरैले त्यसको भित्री आशय राजनीति हो पनि भनेर आलोचना गर्छन्।

अफिस जाँदा आउँदा त्यही ट्रस्टको कार्यालय अगाडिकै बाटो प्रयोग हुन्छ। करिब १५ दिन अगाडि त्यहाँबाट हिड्दै गर्दा एक जनाले रक्तदान सम्बन्धी सूचना टाँसेको देखे‌। ए लउ रक्तदान हिमानी ट्रस्ट मै गर्न पर्छ कि के हो भन्ने लाग्यो। यसो सूचना पढेको त रक्तदान गर्ने स्थान महाराजगन्ज पो रहेछ। चैत १२ गते महाराजगन्जको अतिथी पार्टी भेन्युमा रक्तदान भनेर लेखिएको थियो।

त्यो दिन कुनै अरु विशेष काम परेन र काठमाडौं बाहिर गइएन भने चाहिँ यसपाली रगत चढाइने भयो पूर्व राजपरिवारको नाममा भन्ने लाग्यो। दरबारले जनताको रगत पसिना चुसेका छन् भनेर धेरै नेताले भनेको सुनिएकै थियो। आफ्नै रगत चुसेको चाहिँ थिएन अब चाहिँ चुसाइदिन पर्ला, पूर्व भइसकेका भए पनि दरबारलाई भन्दै मनमा कुरा खेलाउन थालेको थिएँ। सँगै काम गर्ने नारायण श्रेष्ठसँग सल्लाह पनि मागें। उनले चैत १३ गते देखि साता दिन लामो यात्रामा निस्कन लागेकाले रक्तदान नगर्न सल्लाह दिए।

मलाई पहिलोपटक रक्तदान गर्दाको आनन्दले सँधै रक्तदान गर्न अभिप्रेरित गरिरहन्छ। तर त्यस्तो आनन्द त्यसपछिको रक्तदानमा भएको छैन। करिब सात वर्ष अगाडि रक्तदान गरेपछि एकदम आनन्दको महसुस भएको थियो। शरीर नै हलुगों भए जस्तो करिब ५ दिन जति एकदम चङ्गा जीउ।

अफिस जाँदा आउँदा हिमानी ट्रस्टको कार्यालय देख्दा रक्तदान गर्ने भनेर सोंचे पनि प्राथमिकतामा नपरेकाले त्यो यस्सै विर्सिसकेको थिएँ। आज बिहान कान्तिपुर एफएमले समाचारपछि  आजका कार्यक्रम भन्ने बेलामा हिमानी ट्रस्टको रक्तदानबारे पनि बताएपछि फेरि सम्झे‌। घर नजिकै छ, मिल्यो भने भात बजारए निस्कन पर्ला शनिबार उसै पनि घरमा दिनभर कति बसिरहनु जस्तो लाग्यो।

बिहान साँढे १० बजे तिर भात खाएपछि जान्छु अब रक्तदान तिर भनेर निस्कें। रक्तदान नगरेका धेरै भइसकेकाले बा रगत दिएपछि उतै ढलिन्छ किन भनेर एक जना भाइलाई सँगै लिएर रक्तदान गर्ने ठाउँतिर लागे‌। तर कुन पार्टी प्यालेस हो भन्ने विर्सिसकेको रहेछु। कान्तिपुर एफएममा फोन गरेर पक्का गरे‌ र लागे‌ रक्तदानका लागि।

बाटामा लागिरह्यो फेरि साथीभाइहरुले कता हिमानी ट्रस्टको आयोजनामा रक्तदान गर्ंयो भनेर मन्डले भन्ने पो हुन् कि। मनलाई बुझाएँ, पूर्व राजपरिवारको एक जना सदस्य नै सही, समाज सेवा गर्छु भनेर आएकी छिन्। तिनलाई प्रोत्साहन दिँदा के बिग्रेला र ?

राजपरिवारले अरबौं सम्पति जनताबाट चुसेका भनेर पढिएको थियो। कहिलेकाही मैले पनि समाचार बनाएको थिएँ अरुलाई उद्घृत गर्दै दरबारको सम्पति यति छ उति छ भनेर। यदी तेत्रो सम्पति छ भने त्यस्को सानो हिस्सा नै पनि कसैले सामाजिक काममा लगाउँछु भनेर ट्रस्ट स्थापना गरेको छ भने प्रोत्साहनै गर्न पर्छ जस्तो लाग्यो। रक्तदानलाई लिएर जसले जे भने पनि सहन पर्ला भन्ने सोचे‌।

हिमानी र तिनका चार जना नन्द त होलान् नि। तीन जना त स्योर हो। एउटीलाई अलिक चिनिन। यी अरु तीन जना मोटीहरुले किन रगत दिएनन् कुन्नि, शारीरिक कारण भए त ठीकै हो। नत्र मलाई चित्त बुझेन।
११ बजेतिर रक्तदान गर्ने स्थान अतिथी पार्टी प्यालेसमा पुगियो‌। गेटभित्र छिर्नासाथ नाम टिपाए। रक्तदान सुरु भइसक्यो भनेर सोध्दा नाम टिप्नेले - सरकारको सवारी भएकै छैन, भने‌। मैले कस्को सरकार र को सरकार हो र भाइ भनेपछि त्यहाँ भएका तीन चार जना भर्खरका ठिटाहरु स्त्रिसुलभ मुस्कान दिए। अहिले त झलनाथको सरकार छ भनिदिएँ।

एकछिन हिमानी र तिनका आफ्नै नन्द र अरु उनका देवरका तीन छोरीहरु जस्तो लाग्छ, दुईवटा जीपमा आए। औपचारिक कार्यक्रममा भयो उद्घाटनको, मैले खास ध्यान दिइन।  हिमानी र तिनका नन्दहरुका केही फोटा खिचें। हिमानीको भाषण चाहिँ सुनें‌। उनले अहिलेसम्म कृत्रिम तरिकाले रगत बनाउन सफलता वैज्ञानिकहरुलाई नमिलेको भन्दै रक्तदानले धेरैको ज्यान जोगिने हुँदा रक्तदान जस्तो पुण्य काम संस्थाको तर्फबाट गर्न पाएकोमा गर्व भएको बताइन्। उनले रक्तदान गर्नेहरुलाई अग्रिम धन्यवाद पनि दिइन्।

औपचारिक कार्यक्रमपछि रगत थुत्लान् कि भनेको त सुरुमा हिमानी शाहको पो थुत्ने रहेछन्। उनी गएर चेकअप गराइन् र रक्तदानका लागि तयार भइन्। हिमानी भन्दा उनका तीन जना नन्दहरु यामानका मोटा थिए तर रगत दिन तिनीहरु कोही तम्सेनन्। औपचारिक कार्यक्रम चलिरहँदा नै मैले आवश्यक फारम भर्ने र परिक्षण गराउने काम सकिसकेको थिएँ। हिमानी नजिकैका झलुङ्गे कुर्चीमा अरुहरु तछाड मछाड गएर लम्पसार परे। म अलिक परको कुर्चीमा गएर दाहिने हात पसारे‌। रक्तदान गर्दै गर्दा एक दुई जना चिनेका साथीहरु पनि देखिए। उनीहरुले एक दुई फोटा पनि खिचिदिए।

साथीहरुले उडाउछन् कि जस्तो लाग्यो, रक्तदान सकिएपछि उनीहरुले सोध्नु अगाडि नै भने - के गर्नु अब हिमानी (ट्रस्ट) लाई अरु के दिन सकिन्छ र। यही रगत दिएँ केटा हो।


2 comments:

  1. हा हा हा..... स्त्रिसुलभ मुस्कान :) नयाँ कुरा थाहा पाइयो दाजु। मेरो डिक्सनरीमा लेखिने भयो यो कुरा।

    तीन-तीन महिनामा ब्लड डोनेशन गर्ने भए हाम्रो संगत गर्नुस् है दाजु। हामी त ब्लड बैंकमै गइन्छ तर साला त्यहाँका कर्मचारीहरुले बाल दिँदैनन्। ब्लड दिन आउनु भको हो? आउनुस् भन्नु त कहाँ हो कहाँ झर्किएर भन्छन्- पहिला त्यो फर्म भरेर आउनुस्। अनि आफैँहरु भीड लगाएर हामीलाई पो झपार्छन् भीड नगर्नुस् भनेर। कुन दिन झोँक चल्छ र के के हुन्छ हेर्न बाँकी छ।
    KEEP IT UP!

    ReplyDelete
  2. beautiful experience. loved it. :)

    ReplyDelete

Please leave your comment here