Saturday, February 26, 2011

ब्रायनलाई नचिनेर खादा अर्कैलाई


ब्रायन आडम्सलाई स्वागत गर्न एयरपोर्ट पुगेका कन्सर्ट आयोजकहरु, विमानस्थलका कर्मचारी र सुरक्षाकर्मीहरु झुक्किएर लगेका खादा जति सबै उनकै ब्यान्डका अर्का सदस्यलाई लगाइदिएर एकछिन हानथाप गरी फोटा खिचा रैछन्। पछि आडम्स आउँदा त उनलाई लगाइदिन त कसैसँग खादा नै बाँकी थिएन रे। कान्तिपुरको साप्ताहिक पत्रिकामा सुब्रत आचार्यले लेखेपछि बल्ल पो थाहा पाइयो। (हास्नुपर्ने कारण धेरै छन् हा हा....)


सुब्रतले लेखे अनुसार फेब्रुअरी १९ को दिउँसो २:२० बजे बंगलादेश एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि ब्रायनको स्वागतार्थ  तैनाथ आयोजक संस्थाका सदस्य तथा सुरक्षा निकायका पदाधिकारी मात्र होइनन्, विमानस्थलका कर्मचारीहरू पनि सजक भएका थिए। धेरैको हातमा 'खादा' तयार थियो। विमानबाट ओर्लिएपछि विमानस्थलको बसबाट प्रवेशद्वारसम्म आएका कैलो केश भएका अग्ला गोरा अधबैंसे देखा परे।

उपस्थित सबैमा कसले सबैभन्दा पहिले खादा पहिराउने भन्ने प्रतिस्पर्धा नै चल्यो। प्रायः सबैले मोहनलाई आफूले खादा लगाइदिँदाको तस्बिर  उतार्न आग्रह गरेका थिए। मोहन पनि तम्तयार थिए । सबैले ती गोरा अधबैंसेलाई खादा लगाएको तस्बिर खिचेपछि थाहा भयो कि ती व्यक्ति  ब्रायन एडम्स होइनन्, उनका किबोर्ड बादक गेरी ब्रेट हुन्।

गेरीलाई ब्रायन भनेर झुक्किने र अटोग्राफ लिनेहरूको घुइँचो पनि त्यहाँ देखियो।  केही मिनेटपछि पो कालो ह्याट जस्तो टोपीमा कालै ज्याकेट तथा पिआरजी कन्सर्ट टुर लेखिएको कालो झोला भिरेका ब्रायन एडम्स  नपत्याउने तरिकाले अतिविशिष्ट कक्षमा आइपुगे । उनलाई लगाइदिने खादा कसैसँग बाँकी थिएन । त्यसैले आयोजक सिमान्त गुरुङले हात  मिलाएरै ब्रायनको स्वागत गरे । कतै त्यो ब्रायनको भीडबाट बच्ने उपाय त थिएन ?

No comments:

Post a Comment

Please leave your comment here