Friday, November 14, 2008

पाठक पत्र

निजी स्रोतका शिक्षकको पीडा

समान योग्यता भएकाहरुले उही समयमा एउटै काम गरेपछि सबैले बराबरी ज्याला पाउनु सामान्य सामाजिक न्याय हो। तर, नयाँ नेपालमा पनि विभेदको अन्त्य हुने कुनै लक्षण देखिएको छैन। हामी सरह नै आई ए पास भएकाहरुले उही कक्षालाई उति नै पीरियड स्कूलमा पढाउँदा मासिक नौ हजार रुपैया तलब बुझ्छन् भने म लगायत केही सहकर्मीहरुले मासिक एक हजार सात सय रुपैयामा काम गरिरहेका छौं।
२०६३ माघ देखि डेढगाउँ उच्च मा. वी मा प्राथमिक कक्षामा अध्यापन गर्ने मलाई सुरुमा महिनाको एक हजार दुइ सय रुपैया दिइन्थ्यो। बीचमा अरु शिक्षकको तलब बढ्दा तीन सय रुपैया बढाएर पन्ध्र सय पुर्‍याइयो।
अहिले नयाँ बजेट आउँदा अर्थमन्त्री बाबुराम भट्टर्राईले माथि देखि तल सम्म सबै कर्मचारीलाई महंगी एउटै हुन्छ भन्दै दुई देखि तीन हजार रुपैया सम्म बढाउनुभयो। तर हामी जस्ता स्थानीय स्रोतबाट अध्यापन गराइरहेका शिक्षक शिक्षिकाको लागि भने विद्यालयले भने महिनाको दुई सय रुपैया मात्र बढायो।
विगतमा गाविसले एक वर्षमा पाउने अनुदान १० लाख रुपैया मात्र भएकोमा अहिले बढेर ३० लाख रुपैया सम्म पुगेको छ। त्यस अनुपातमा स्थानीय स्रोतबाट अध्यापन गर्ने हामी शिक्षकको तलबमा पनि समयानुकल वृद्धिको माग गर्नु नाजायज हो जस्तो लाग्दैन। सम्वन्धित पक्षको यस तर्फ ध्यान जाओस्।
संगीत ओझा
शिक्षक, डेढगाउँ उच्च माध्यमिक विद्यालय