सुख, सुविधा र सम्पन्नता मानवीय चाहाना हो। समय अनुसार सेवा र सुविधा नपाएको समाजले अन्यत्रको तुलनामा आफ्नो समाज पछाडि परेको अनुभूति गर्दछ। यस्तो अनूभूतिबाट असन्तोष, हीनताबोध र विद्रोहको भावना उत्पन्न हुन्छ। समय सापेक्ष समाजको विकास गर्न सचेत वर्गको महत्वपूर्ण भूमिका हुन्छ। सचेत वर्ग बीचबाटै नेतृत्वको विकास हुन्छ।
नेतृत्वकर्ताले समाज विकासका लागि स्रोतसम्म पहुँच पुर्याउनु, सेवाग्राहीलाई प्रोत्साहित गर्नु र उचित व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ। जुन समाजका अग्रजले यी तथ्य माथि ध्यान पुर्याउँछन् त्यस क्षेत्र वा समाजका बासिन्दाले समय अनुसारको सुविधा प्राप्त गर्दछन्।
जुन समाजले पाउनु पर्ने ठाउँबाट उचित सेवा र सुविधा पाउँछ, त्यही ठाउँका बासिन्दा समृद्धि बन्दै जान्छन्। सम्पन्नता प्रतिष्ठाको मापदण्ड पनि हो। आफ्नो र समाजको प्रतिष्ठाको लागि निरन्तर प्रयत्न गर्ने व्यक्ति नै सचेत व्यक्ति हो।
सुगम नवलपरासी जिल्लाको उत्तर पूर्वी भाग विकट पहाडी धरातल भएको क्षेत्र हो। तीन दशक अगाडि पाल्पा जिल्लाबाट नवलपरासीमा गाभिएको यो क्षेत्र समय अनुसारको विकास पूर्वाधारबाट वञ्चित छ। हालसम्म पूर्वाधार विकासका लागि जे जति प्रयत्न भएका छन्, ती प्रयासहरु स्थानीय बासिन्दाले अनुभूति गर्ने तरिकाबाट भएको देखिदैंन। फिनेडाको सहयोगमा उपलब्ध खानेपानीका धाराहरु र एक्सन एड नेपालको एकिकृत सामुदायिक सेवाका अतिरिक्त जनताका मन छुने सेवा र सुविधा कतैबाट पनि उपलब्ध भएका छैनन्।
निकै कष्टका साथ निर्माण भएका टेक्टर चल्ने मौसमी बाटाहरको स्थिति चिन्ताजनक छ। यी बाटाहरुले त समस्या थपेका हुन् कि हल गरेका हुन् जस्तो भान परेको छ। अनिश्चित जोखिम र खर्च समेत बढाएको छ ।
यसैले निर्माण भएका मुख्य मार्गहरुको स्तरीकरण, ग्रामिण विद्युतिकरण, थप प्राथमिक स्वास्थ्य केन्द्र, उन्नत कृषि तथा पशुपालन, भू- क्षय नियन्त्रण लगायत जनताको जीवनस्तर उकास्ने कार्यक्रम भरपर्दो र दीर्घकालिन रुपमा सञ्चालन नुहँदा यस क्षेत्रका बासिन्दाको जीवनस्तरमा अझै पनि ठूलो भिन्नता आउन सकेको छैन।
हाम्रा समस्याहरु केन्द्रसम्म अवगत गराउन र समाधानका लागि प्रयत्न नभएको पनि होइन। हाम्रो सर्वपक्षीय प्रयत्नबाटै यस क्षेत्रको पूर्वाधार विकासका लागि गैडाकोट देखि काली तिर हुँदै मुक्तिनाथसम्म मोटरमार्ग र दलदले देखि खैरनीटार जोड्ने मार्ग बीच काली गण्डकीमा पक्की पुल निर्माण जस्ता ज्यादै महत्वपूर्ण योजना परेका छन्। यी योजनाहरुको शिघ्र निर्माण र गुणस्तरका लागि हामी अझै खट्नु पनि आवश्यक छ।
सोचेजस्तो सेवा पाउन नसकिए पनि दूर संचारका लागि फोन सुविधा र सुरक्षा निकायको सेवा हामी कहाँ उपलब्ध भएको छ। उपलब्ध सेवाको स्तरीकृत र निरन्तरता एउटा पक्ष हो भने बाँकी सुविधाका लागि प्रयत्न अर्को पक्ष हो।
हाम्रा क्षेत्र विकट छ। वस्तिहरु छरिएको छ। सामाजिक सेवामा लागिरहने अगुवाहरुको पनि निजी समस्या हुनसक्दछ। देशमा अझै पनि राजनीतिक स्थिरता छैन। स्थानीय निकाय अपाङ्ग छन्। यस्तो अवस्थामा हाम्रा सवाललाई कसरी अगाडि लिएर जान सक्दछौ, भन्ने विषयमा सल्लाह र सहमतिको आवश्यकता अहिलेको टड्कारो विषय हो।
यतिबेला हामीले दुई वटा प्रमुख सबालमा ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ। विकास निर्माण र त्यस्को अनुगमनका हामीले पहिलो ध्यान दिनुपर्ने छ भने भोलि बन्ने संविधानमा राज्य पुनसंरचना हुँदा लिन पर्ने र सकिने फाइदाको विषयमा पनि छलफल हुन जरुरी छ।
विकास निर्माण र भौतिक संरचना
२१ औं शताब्दिमा पनि समयमा मट्टीतेल नपाउँदा र किन्न नसक्ने हुँदा धेरैका घर आँगन अन्धकार छाएको छ। केही हुनेखानले सोलार वत्ति राखे पनि त्यो धेरैलाई इर्श्या बढाउने माध्यम बनेको छ। नवलपरासी जिल्लाका पहाडी क्षेत्र बाहेक अन्यत्र सबै विद्युतिकरणको उज्यालो छ। यो पहाडी क्षेत्रको विद्युतिकरण हामी सबैको चासोको विषय हुँदा सामुहिक प्रयत्न पहिलो प्राथमिकता हो।
यस्तै स्वास्थ्य, सिंचाई, शिक्षा जस्ता समस्याका लागि पनि तत्काल केही नगरी नहुने स्थिति छ। विकास निर्माणका लागि राज्यबाट भएको लगानी र स्रोत साधनको उचित व्यवस्था तथा अनुगमन प्रभावकारी नहुँदा गुनासा, असन्तोष र द्वन्द्व समेत बढेको छ।
स्रोतसम्म पहुँच र पुनसंरचनामा ध्यान
राज्यबाट अधिकतम सेवा पाउन स्रोतसम्म पहुँच पुग्नैपर्छ। सेवादायी निकायहरु अपायक वा धेरै टाढा भएका व्यय भार र समयाभावको कारण स्रोतमा पहुँच कम पुग्दछ। जुन क्षेत्रका बासिन्दाको आर्थिक स्थिति नाजुक छ, त्यही क्षेत्रका बासिन्दाले धेरै खर्च गरेर राज्यबाट पाउनुपर्ने सामान्य सेवा लिनुपर्दा गरिबी माथि झन् मार पर्दछ। नयाँ बन्ने संविधानमा क्षेत्रगत प्रशासानिक वा राजनीतिक संरचना बन्दा न्यूनतम सेवा नजिकैबाट उपलब्ध हुन सक्ने गरी इलाका प्रशासन कार्यालय, मालपोत, कृषि सिचाई, प्राविधिक, स्वास्थ्य र शिक्षा जस्ता संरचनामा पहाडी क्षेत्र भित्रै व्यवस्था हुनुपर्ने मागका लागि हाम्रा साझा प्रयास हुनुपर्छ।
तनुहँको काली गण्डकीको गण्डकी बेशी र पूर्वी पाल्पाको छिमेकी बासिन्दाहरु बीच समेत अव बन्ने नया संरचना र हाम्रो सुविधाको विषयमा छलफल हुनुपर्छ।
राज्यको सेवा र सुविधा पुर्याउने निकायबाट हामी जति टाढा हुन्छौं, त्यति नै राज्यबाट उपलब्ध हुने सेवा र सुविधा पाउन पछि परिन्छ। हामी अगाडि जानु छ भने हामी पछाडि पर्यौं कि पार्यौं भनेर मात्र हुँदैन, त्यस्को कारण तर्फ ध्यान दिई समयमै सजग, सतर्क र सक्रीय हुन पनि आवश्यक छ। अत्यन्त महत्वपूर्ण यो समयमा हामी सबैको साझा हीत र सवालका लागि साझा प्रयत्न गरौं। हाम्रा राजनीति वा अन्य केही अन्तरविरोध र गुनासा भए थाति राखौं। आफ्नो क्षेत्रको गौरव र सम्वृद्धिका लागि जुटौं।
होमनाथ भट्टराई
भाइटीका २०६५