शरद कोइराला/ उज्ज्वल ओझा
मानव सभ्यताको उद्गम नदीको किनारमा हुन्छ । सालीग्रामका लागि प्रख्यात काली गण्डकीको किनारमा आदिवासी कुमाल, दरै, बोटे जातिका व्यक्तिहरुको परापूर्व काल देखि बासस्थान रँहदै आएको छ।
दरै जाति नेपालको पश्चिमाञ्चल क्षेत्रमा विशेष गरी सेती, मादी र काली नदिको किनारमा बास बस्छन्। तनहुँको मादी किनारमा बसोबास गर्ने दर्राईहरु माछाको खोजिमा नै काली नदि किनारमा पुगेका हुन् । काली किनार डेढगाउँ, पीपलटार, रामपुर, पुट्टार जस्ता स्थानमा दरै जातिको बाहुल्यता रहेको छ ।
डेढगाउँमा दरैको बसोबास कहिले देखि सुरु भयो भन्ने एकिन नभए अहिलेको सबैभन्दा पाको पुस्ताका अनुसार उन्का जीजुबाजेहरु तनहुँबाट डेढगाउँ आइपुगेका हुन् । एक पुस्ता र अर्को पुस्ता बीचको फरक २५ वर्षराख्दा दरैहरु डेढगाउँ आएको २ सय वर्षभन्दा बढी भएको देखिन्छ।
डेढगाउँमा अहिले पूर्वथर, पश्चिमथर र मुखीयाथरमा गरेर ५५ घरभन्दा बढी दरैहरु रहेका छन् र दरैको जनसंख्या चार सयको हारहारीमा छ। ५० वर्षअगाडि सम्म पनि डेढगाउँ फाटमा दरै बाहेक अन्य जातिको बसोबास थिएन।
"हामी युवक हुँदा यता त सब झाडी थियो" घर वरीपरि औंलाले देखाउँदै पश्चिमथरका बद्रिमान दरैले भन्नुभयो। काली टाइम्समा दरै जातिका बारेमा केही लेख्ने उद्देश्यले दशैँको भोलीपल्ट हामी पश्चिमथर पुगेका थियौँ। दरैको दशैँ सकिएकै थिएन। खोजेकै मान्छे भेट्न केही बेर कुर्नुपर्यो। उमेरले सत्तरी काटी सकेका बद्रीमानसँगको वार्ताको सुरु नै दशैंबाट भयो।
"हाम्रो जातलाई चाडबाड नै धेरै लाग्छ, त्यसैले पछाडि परियो" बद्रीमानले आफूले सुनेका, भोगका र देखेका कुरा हामीलाई सुनाउन थाल्नुभयो। बेला बेलामा हामीले कुनै कुरा बुझ्न नसके प्रश्न सोध्दै जाने गर्थ्यौं।
डेढगाउँलाई पहिले ३२ से र रकुवालाई ५ सय भनिन्थ्यो। डेढगाउँमा दरैहरुको ३२ घर भएकाले ३२ से भनिएको हो। बद्रीमानका अनुसार उहाँले थाहा पाउँदा सम्म डेढगाउँ फाँटमा काईडाँडे मुखीया र तिम्सीना परिवार मात्र हुनुहुन्थ्यो। अरु सब रकुवा र डेढगाउँकै कोटथर, बाहुनथरमा बस्नुहुन्थ्यो।
दरैहरु गाई बस्तु पाल्ने र माछा मार्ने काममा विशेष रुचि दिन्थे। उतिबेला डेढगाउँमा नहर नभएकाले घैया र मकै उनीहरुले उब्जाउ गर्थे। दरै जातिले मलका लागि गाई बस्तु पाल्थे। दूध घ्यू मा दरै जातिको रुचि थिएन। अलि अलि भएको घ्यू त्रिवेणी, बुटवल पुर्याएर बेच्ने र नुन, तेल, कपडा लिएर आउँथे दरैहरु।
दुई साताको लागि सामल बोकेर, बाख्रा, सुठो, अदुवा सहपुर सम्म लगेर बेचेको अनुभव बद्रीमानले सुनाउनुभयो। तीहारे औंशी र माघे सक्रान्ति दरै जातिको मुख्य पर्व हो। चाडबाडमा चेलीबेटी बोलाउने र पीतृलाई खुवाउने दरैहरुको विशेषता रहेको छ। दरै जातिले बनाउने मुना (जाँड), जाँडलाई महिनौं, वर्षौ राखेर बनाइने मनुवा अहिले पनि यस क्षेत्रमा निकै प्रचलित छ।
अतिथि सत्कारमा असाध्यै ध्यान दिने दराईहरु कोही पाहुना आए भने मुना र माछा- मासु खुवाउन पाउँदा खुशी हुन्छन्।
आफ्नै जातमा प्राय भागी विवाह गर्ने परम्परा दरै जातिमा रहेको छ। मागेर विवाह असाध्यै कम हुन्छ। विवाह भइसकेपछि छोरीलाई माइतिमा बोलाएर टिका दिने चलन यस जातिमा रहेको छ। यो जातिको आफ्नै पुजारी छैनन्। मर्दा पर्दा बाहुन ल्याएर चोखिने चलन दरै जातिको रहेको छ। दरै जातिमा विशेष गरी लोग्ने मानिसले पटुका वाँध्ने र महिलाले गुन्यु चोलो लगाउने चलन छ।
आफ्नै मातृभाषा भएका दरैहरु नाचगानमा रुचि राख्छन्। असोज देखि माघसम्म हरेक साँझ झाम्रेमा रम्न रुचाउने दरैहरु माघ देखि जेठसम्म कौरामा झुम्थे। "पुराना पुस्ताका दरैहरुले अध्ययनमा उति सारो रुचि राखेनन्, विहान देखि राति सम्म मुना खाएर बस्नेले के को पर्ढाईमा अगाडि बढ्थे र?" बद्रीमानले भन्नुभयो, "विगतमा राम्रो खेत बारी दरै जातिको भए पनि बाहुन, क्षेत्री, नेवारले जब्बरजस्ति गरेरै भए पनि किन्थे।"
डेढगाउँमा चरनको अभाव दरै जातिको लागि पीरको कुरा हो । विगतमा गैंडीया देखि बालीघाट सम्म चरन भए पनि अहिले मानिस भरिए पछि अप्ठेरो परेको बद्रीमानले अनुभव सुनाउनुभयो।
विगतमा डेढगाउँमा तिरो उठाउने काममा दरै जिम्वाल र मुखीया हुने भए पनि तिन्को लेखा पढी नहुँदा लेखापढी गर्ने बाहुन क्षेत्रीले आफूहरुलाई ठगेको अनुभव बद्रीमानले सुनाउनुभयो।
तर, विगतको जस्तो अवस्था अहिले भने छैन, डेढगाउँमै पनि १० जना भन्दा धेरै दरैहरुले एस एल सी उतिर्ण गरिसकेका छन्। "अब हामीलाई कसैले हेप्न सक्दैन" जुद्धबहादुर दरैले भन्नुभयो, "दरै भाषा र जातिको संरक्षणका लागि अब दरैको युवा पुस्ता नै सक्रिय हुनुपर्छ।"